शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६५२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २८ साल: २०४३ महिना: असार अंक:



निर्णय नं. २६५२    ने.का.प. २०४३  अङ्क - ३

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको रि.नं. १८२६

आदेश भएको मिति :  २०४३।१।२१।१ मा

 

निवेदक : ल.पु.न.पं.वडा नं.२२ न्याघल बस्ने सम्यक गुठी नाग बहालका थकाली आशाकाजी बज्राचार्य

विरुद्ध

विपक्षी : श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय ललितपुरसमेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)         श्रेस्ता अड्डा मालपोत कार्यालयको निर्णय उपरको पुनरावेदन सुनी प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको देखिन्छ, त्यसरी पुनरावेदन हेरी सबूद प्रमाणको आधारमा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयलाई अधिकार विहिन भन्न सकिने स्थिति नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने ।

(प्रकरण नं. ११)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल

विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री प्रकाश बस्ती

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : जिल्ला कार्यालयको मिति २०४०।९।२५ को मालपोत कार्यालयको  मिति २०४०।५।९ र २०४०।१०।१५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :

२. नाग बहालमा अघि हाम्रा पूर्खाका पालादेखि सम्यक गुठी राखी परा पूर्वकाल देखि आलोपालो गरी चार वर्षमा एकपटक पाटन, काठमाडौं र भादगाउँका समेत गरी तीनै जिल्लाका तेतीसकोटी देवताहरूको पूजा पाठ दान, दक्षिणा समेत गरी श्री ५ महाराजाधिराज सरकार समेत प्रसाद चढाई आएको आउने गुठी हो । उक्त सम्यक गुठीको हक अधिकारको जग्गा तत्कालीन थकाली मानवडेनीका नाममा मौजे नागबहाल साविक २६३ नं. का पोता लगतमा दर्ता भएको बिर्ता उन्मूलन समेत ऐन, ०१६ बमोजिम २०२१।११।४ मा मानवडेनीकै नाममा गुठी जनिई रैकरमा दर्ता परिणत भएको सोभाहिटी भन्ने खेत रोपनी ३० जग्गा ल.पु.न.पं.वडा नं.५(ज्ञ) कि.नं. १९९ बाट नापी भई रोपनी ३० कायम भएको छ । नापी हुँदा सम्यक गुठी जनिइ जग्गावाला मानवडेनी हो भन्ने र मोहीमा विपक्षी बलबहादुर बुढाथोकी जनिएको थियो । निज मानबडेनी २०२३ सालमा निधन भएकोले गुठी थकाली अन्य व्यक्तिका नाममा नामसारी गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा लिन बाँकी थियो । गुठीका थकाली म रिट निवेदक भएको छु । उक्त जग्गा विर्तावाला मानवडेनीले रैकर परिणत नगराई त्यसै रहेको म मोही भएकोले मेरा नाममा रैकर परिणत गरी दाखिल दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ भन्ने विपक्षी मोहीले निवेदन दिनु भएकोमा विपक्षी मालपोत कार्यालयबाट राजगुठीमा दर्ता गर्न गुठी संस्थान गुठी तहसिल कार्यालय ललितपुरमा पठाई दिने भन्ने मिति २०४०।५।९ मा निर्णय भएछ । विपक्षी बलबहादुरको जिल्ला कार्यालयमा पुनरावेदन पर्दा राजगुठीमा दर्ता हुने अवस्थाको नदेखिएकोले मालपोत कार्यालयको मिति २०४०।५।९ को निर्णय बदर हुने ठहर्छ । पुनरावेदन जिकिरको ल.पु.न.पं.वडा नं.५(ज्ञ) कि.नं. १९९ को क्षेत्रफल ३० जग्गा पुनरावेदक बलबहादुरका नाममा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा दिनुपर्ने ठहर्छ भनी विपक्षी जिल्ला कार्यालयबाट मिति २०४०।९।२५ मा निर्णय भएको छ । सो निर्णय अनुसार विपक्षी मालपोत कार्यालयबाट विपक्षी बलबहादुरलाई मिति २०४०।१०।१५ मा जग्गाधनी दर्ता प्रमाण पूर्जा दिन निर्णय समेत गरिएको छ । नक्कल उतार गरी हेर्दा व्यहोरा जानकारी हुन आएकोले निवेदन गर्न आएको छु ।

३. विर्ता उन्मूलन ऐन, २०१६ अन्तर्गत मालपोत कार्यालयले गरेको निर्णय उपर पुनरावेदन हेर्ने अधिकार जिल्ला कार्यालयलाई नभएकोमा पुनरावेदन लिई हेरेको निर्णय बदरभागी छ । थकाली मानवडेनीका नाममा गुठी जनिई पा. गाबहाल २६३ नं.का पोता लगतमा सोभाहिटी भन्ने खेत रोपनी ३० जनिई कि.नं. १३ मा २०२१।११।४मा रैकर परिणत भएकोले श्रेस्ता नहेरी निर्णय गरिएको मनमाना र त्रुटिपूर्ण छ । मानवडेनी नाम भएकोलाई मानवडेनीका नाममा म्याद पठाएको अ.बं. ११० नं. को रीत पुगेको देखिँदैन । निज थकाली मानवडेनी २०२३ सालमा निधन भइसकेको हुँदा गुठीयार तथा थकालीहरूका नाममा अर्को म्याद जारी गर्नुपर्ने गरिएन । विपक्षी जिल्ला कार्यालयले गरेको निर्णय श्रेस्ता प्रमाण विपरीत र विर्ता उन्मूलन ऐन, २०१६ को दफा ४, ७ (१) तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश अनुसार बदरभागी हुँदा उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी जिल्ला कार्यालयको मिति २०४०।९।२५ को निर्णय विपक्षी मालपोत कार्यालयको २०४०।५।९ र २०४०।१०।१५ को निर्णय बदर गरिपाउँ भन्ने निवेदन जिकिर ।

४. विपक्षीसँग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको मिति २०४१।१०।१९  को आदेश ।

५. यस कार्यालयको निर्णय जिल्ला कार्यालयको निर्णयले बदर गरी निवेदकका नाममा रैकर परिणत दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा दिने भनी निर्णय भए अनुरुप यस कार्यालयको मिति २०४०।१०।१५ को निर्णयको उक्त जिल्ला कार्यालयको निर्णय कार्यान्वयन सम्म गरिएको हो । यस कार्यालयबाट कानुनी त्रुटिपूर्ण निर्णय गरिएको छैन । रिट निवेदन जिकिर निरर्थक छ खारेज होस् भन्ने समेत मालपोत कार्यालय ललितपुरको लिखितजवाफ ।

६. जिल्ला स्तरीय सरकारी श्रेस्ता कार्यालयहरूले शुरु कारवाही गरी गरेको निर्णय उपर पुनरावेदन लिई कारवाही किराना गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८ को उपदफा (४) ले यस कार्यालयलाई अधिकार दिएको हुँदा सो अनुसार पुनरावेदन लिई कानुन बमोजिम निर्णय गरिएको हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ, भन्ने समेत प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय ललितपुरको लिखितजवाफ ।

७. रिट निवेदकलाई निवेदन दिने हक अधिकार नभएको प्रष्ट छ । दर्ता बदर दर्ता कायम मुद्दा जग्गा मिच्नेको महल समेत टेकी जिल्ला अदालतमा उजूर गर्नुपर्ने प्रष्ट छ । अ.बं. ११० नं. प्रतिकूल भन्ने जिकिरमा अ.बं. २०८ नं. को प्रकृया अपनाउनु पर्ने जिल्ला कार्यालयलाई पुनरावेदन सुन्ने अधिकार भएको प्रष्ट छ । रैकर परिणत भएको प्रमाण दिन नसकेको समेतबाट निवेदन माग दावी बमोजिम आदेश जारी हुने अवस्था छैन । खारेज गरिपाउँ भन्ने समेत बलबहादुर बुढाथोकीको लिखितजवाफ ।

८. उक्त जग्गा मानवडेनीका नाममा रैकर परिणत भएको छ, छैन भनी सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।९।१० को आदेशानुसार बुझेकोमा मानबडेनीका नामको फायल ताहाँ कार्यालयमा पठाई सकिएको सो बाहेक अन्य कुनै पनि फायल यस कार्यालयमा नरहेको भनी मालपोत कार्यालय ललितपुरबाट महान्यायाधिवक्ताको कार्यालयलाई लेखेको मिति २०४२।११।२९ को पत्र ।

९. निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले सम्यक गुठीका थकाली मानवडेनीका नाममा रैकर परिणत २०२१ सालमा भएको छ । सो श्रेस्ता प्रत्यर्थी कार्यालयमा छ । तर श्रेस्ता नहेरी गरेको निर्णय त्रुटिपूर्ण छ । विर्ता उन्मूलन ऐन, २०१६ अन्तर्गत मालपोत कार्यालयले गरेको निर्णय उपरको पुनरावेदन हेर्ने अधिकार जिल्ला कार्यालयलाई छैन । तसर्थ त्रुटिपूर्ण निर्णय बदर हुनु पर्दछ भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले मोहीको रैकर परिणत गरिपाउँ भन्ने निवेदन पर्दा रैकर परिणत गरेको देखिन नआएकोबाट समेत प्रत्यर्थी मोही बलबहादुरका नाममा रैकर परिणत गर्ने गरेको निर्णय अधिकार क्षेत्रभित्र रहेर गरेको हो, त्रुटि छैन, भन्ने समेत र प्रत्यर्थी बलबहादुर तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश बस्तीले मानबडेनीका नाममा रैकर परिणत भएको श्रेस्ताबाट देखिँदैन । तसर्थ मोहीका नाममा जग्गा दर्ता गर्ने गरी पुनरावेदन समेत हेरी अधिकार क्षेत्रभित्र रही निर्णय गरेको हुँदा रिट खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१०. प्रस्तुत निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो, होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

११. यसमा निर्णयतर्फ हेर्दा मानवडेनीका नाममा रैकर परिणत २०२१।११।४ मा भएको श्रेस्ता नहेरी गरेको निर्णय समेत बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर देखिन्छ । तर निवेदकका लेखाई बमोजिम मानवडेनीका नाममा विवादीत जग्गा रैकरमा परिणत भएको भन्ने कुराको आधार देखाउन सकेको छैन । डिभिजनबेञ्चको मिति २०४२।९।१० को  आदेशानुसार रैकर परिणत सम्बन्धी मिसिल झिकाइएकोमा पनि सो मिसिल आउन सकेको पनि देखिँदैन । श्रेस्ता अड्डा मालपोत कार्यालयको निर्णय उपरको पुनरावेदन सुनी प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको देखिन्छ । त्यसरी पुनरावेदन हेरी सबूद प्रमाणको आधारमा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयलाई अधिकार विहिन भन्न सकिने स्थिति नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४३ साल बैशाख २१ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु