निर्णय नं. २६५५ - आयकर (आ.ब.२०३० बै.चै.)

निर्णय नं. २६५५ ने.का.प. २०४३ अङ्क - ३
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं. ७३७
फैसला भएको मिति : २०४३।३।२।२ मा
पुनरावेदक : भक्तपुर स्थित नवदुर्गा चित्र मन्दिरको प्रोप्राइटर भ.पु.न.पं.वा.नं. १५ बस्ने दैवज्ञरत्न विजुक्ष
विरुद्ध
विपक्षी : कर कार्यालय, काठमाडौं
मुद्दा : आयकर (आ.ब.२०३० बै.चै.)
(१) डिष्ट्रीब्यूटर करको नामबाटै सो कर डिष्ट्रीब्यूटरले तिर्नु पर्ने भन्ने प्रष्ट रुपमा देखिएकोमा सिनेमा धनीले तिरेको देखिँदा सो सिनेमा धनीले तिरेको डिष्ट्रीब्यूटर कर मिन्हा दिनुपर्ने ।
(प्रकरण नं. ११)
(२) काम गर्नेहरूको भविष्यको बचत सम्बन्धमा राखेको र राख्न पर्ने रकम मनासिबै भएको र प्रतिष्ठाको लागि र कर्मचारी रहेछन भनी सर्वसाधारणले जान्नको लागि यूनिफर्मको समेत व्यवस्था गरेको हुँदा संचय कोष र यूनिफर्ममा खर्च गरेको विवादीत रकमहरू मनासिब नै देखिएको छ ।
(प्रकरण नं. ११)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : म.क्षे.अ.को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ :
२. आर्थिक वर्ष ०३० बैशाख चैत्रमा व्यापारबाट खुद नाफा ३२,४७२।४८ र पारिश्रमिकबाट रु.६९६०।३३ भएको उल्लेख गरिएको नाफा नोक्सान वासलात समेत साथै कर कार्यालय काठमाडौंमा ०३१।२।२ मा पेश गरेको आय विवरण ।
३. विल्डीङ मर्मत कौशी र पर्खाल मर्मत गरेको खर्च हो । फिल्ड डिष्ट्रीब्यूटर कर ११४६८।२७ कम्पनीहरूबाट फिक्समा लिएको हुँदा डिष्ट्रीब्यूटर कर तिर्न बुझाउन नमानेको हुँदा तिरिएको मिन्हा पाउनु पर्दछ । यूनिफर्म प्रत्येक साल दिई आएको छ । भन्ने व्यहोराको करदाताको बयान ।
४. आयकर ऐन, ०३१ बमोजिम मनासिब खर्च मिन्हा दिई आवश्यक भन्दा बढी देखिएको र मिन्हा दिन नमिल्ने निम्न रकम बिल्डीङ मर्मत रु.८५३०।७४ फिल्ड डिष्ट्रीब्यूटर कर रु.११४६८।२७ ओभर टाइम भत्ता रु.१३३७७।६६ स्टाफ सञ्चय कोष २७,२२९।२० शम्भुनाथ गुप्ताको तलब रु.९३५०।८८ युनिर्फम खर्च रु.४५७०।५० अतिथि सत्कार पूजाआजा आदि खर्च रु.८९४२।५४ मोटरभाडा खर्च मध्ये १५००।– र्हास कट्टी देखिएको रु.५४२७।५४ र विवरण अनुसारको ३२४७२।४८ तथा हलको प्रोप्राइटरले ने.बैं.लि.बाट पाएको पारिश्रमिक ६,६९०।३३ समेत गरी जम्मा खुद आय रु.१२९५६०।३४ कायम भएकोले सो मा आर्थिक ऐन अनुसारको लाग्ने कर रु.५२८२६।७९ मा अग्रिम कट्टी देखिएको रु.२०५।७० कट्टा गर्दा बाँकी हुन आउने रु.५२६२१।९ आयकर निर्धारण आदेश प्राप्त भएको ३५ दिनभित्र ने.रा.बैंकमा दाखिल गर्नु होला भन्ने समेत व्यहोराको ०३४।१२।२८ को कर कार्यालय काठमाडौंको आयकर निर्धारण आदेश ।
५. सो आयकर निर्धारण आदेश उपर खर्चका रकमहरू मिन्हा गरी पेश गरेको विवरण अनुसार खुद आय कायम गरी कर निर्धारण गरिपाउँ भन्ने व्यहोराको ०३५।२।३ मा राजश्व न्यायाधीकरण काठमाडौंमा परेको पुनरावेदन ।
६. फिल्म वितरक, कर, मर्मत खर्च, यूमिफर्म खर्च, सवारी खर्चमा उचित मिन्हा दिएकै हुँदा बढी खर्च नदिएको न्यायोचित नै छ । शम्भूनाथ गुप्ताको तलब रु.९३५०।८८ खर्च मिन्हा नदिएको हकमा जय नेपाल चित्रकारको निर्णयमा सो खर्च मिन्हा दिई आएको हुँदा सो रकम पुरै मिन्हा हुन्छ । र्हास कट्टी रु.५४२७।५४ मिन्हा नदिएको सम्बन्धमा आयकर ऐन, ०३१ मा व्यवस्था भए बमोजिम दर रेट नतोकिएको हुँदा साविकको नेपाल आयकर ऐन, २०१९ मा व्यवस्था भए बमोजिम रेटसम्म निर्णय दिनुपर्ने ठहर्छ भन्ने समेत राजश्व न्यायाधीकरण काठमाडौंको फैसला ।
७. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ.मा नवदुर्गा चित्र मन्दिरको तर्फबाट पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने म.क्षे.अ.को आदेश ।
८. सिनेमा हलको मर्मत गर्नमा रु.८५३०।७४ लाई पूजिंगत खर्च भनी मिन्हा नदिएको न्यायसंगत नदेखिँदा सो मिन्हा दिई सो कर निर्धारण आदेश मिलाउन भनी कर कार्यालय काठमाडौंमा फायल बापत पठाउने र डिष्ट्रीब्यूटर कर रु.९२९८।३६ को सम्बन्धमा पुनरावेदक पक्षबाट म.क्षे.अ.ले २०३३।३।२९ मा गरेको निर्णयले मिन्हा पाएको भन्ने देखाएको २०३२ सालमा दे.पु.नं. ५७०।७७७ आ.ब. २०२७–०२८–२०३९ को आयकर मुद्दामा डिष्ट्रीब्यूटर पक्षले कर तिरी सकेकोले मिन्हा दिनुपर्ने भन्ने उल्लेख भएको पाइन्छ । तापनि डिष्ट्रीब्यूटर कर डिष्ट्रीव्यूटरले तिर्न पर्ने हुँदा तिरेको मिन्हा हुने भन्ने ०३३।३।२९ को म.क्षे.अ.को निर्णयमा सहमत हुन नसक्दा न्या.प्र.सु.ऐन, २०३१ को दफा १४ बमोजिम श्री स.अ.मा साधक जाहेरी गरी पठाउने भन्ने समेत म.क्षे.अ.को मिति २०४०।११।२८।१ को फैसला ।
९. उक्त फैसलामा समेत चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी श्री नवदुर्गा चित्र मन्दिरको तर्फबाट यस अदालतमा निवेदन पर्न आएकोमा यसमा के कति कारणबाट पुनरावेदन जिकिर पुग्न सक्दैन, आफ्नो निर्णयमा आधारहरू समेत खोल्न सकेको पाइँदैन । अतः म.क्षे.अ.को फैसलामा अ.बं. १८५ र आयकर ऐन, २०३१ को दफा ४, १२ र दफा ३९ समेतको त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।
१०. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत पुनरावेदनमा पुनरावेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा र विपक्षी कार्यालय तर्फबाट खटिई आउनु भएको विद्वान सरकारी सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहस जिकिर समेत सुनियो । मुख्य तथा म.क्षे.अ.ले गरेको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।
११. निर्णयतर्फ विचार गर्दा यसमा कर कार्यालयले कर निर्धारण गरेकोलाई म.क्षे.अ.ले समेत सामान्य रुपमा फेर बदल गरी गरेको निर्णय न्यायसंगत नहुँदा पुनरावेदन जिकिर अनुसारको कलममा छुट दिई कर निर्धारण गर्नु भन्ने विपक्ष कर कार्यालयको नाममा आदेश गरिपाउँ भन्ने मुख्यतया पुनरावेदन जिकिर भएको पाइन्छ । सो बमोजिम गर्न मिल्ने हो होइन सोतर्फ हेर्दा आ.ब. २०३१ बै.चै.को फिल्म डिष्ट्रीब्यूटर कर लगाएको सम्बन्धमा हेर्दा फिल्म भाडा रु.४६,४८२।२० मध्ये डिष्ट्रीव्यूटर करको रु.१२९४५।४९ आर्थिक ऐनले वितरकले नै व्यहोर्नु पर्ने हुँदा सो रकमलाई आयमा समावेश गर्ने गरेको राजश्व न्यायाधीकरणको फैसलालाई हेर्दा आयकर ऐन, ०३१ को दफा ३६(१) बमोजिम श्रोतबाट नै भुक्तानी दिने हुँदा कट्टा गर्नुपर्ने डिष्ट्रीब्यूटरसँगको सम्झौता अनुसारै लाग्ने कर कार्यालयमा पठाई दिने नगरेको हुँदा सो रकम डिष्ट्रीव्यूटरले पाउँने रकममा जोडी खर्च लेखी पुनः कट्टा गरी दाखिल गर्नुपर्ने कुनै औचित्य देखिँदैन । कम्पनीबाट खर्च भएको रकम खर्च भएको छैन भनी विपक्षले भन्न समेत सकेको पाइँदैन । त्यस्तो स्थितिमा डिष्ट्रीब्यूटर करको नामबाटै कर डिष्ट्रीव्यूटरले तिर्नु पर्ने भन्ने प्रष्ट रुपमा देखिएकोमा सिनेमा धनीले तिरेको देखिँदा सो सिनेमा धनीले तिरेको डिष्ट्रीब्यूटर कर मिन्हा दिनुपर्ने देखिन आउँदछ । संचय कोष र यूनिफर्ममा खर्च भएको सम्बन्धमा हेर्दा चित्र मन्दिरमा काम गर्ने कर्मचारीहरूको भविष्यको बचत सम्बन्धमा राखेको र राख्न पर्ने रकम मनासिबै भएको सिनेमा हलको प्रतिष्ठाको लागि र सिनेमाहलको कर्मचारी रहेछ भनी सर्वसाधारणले जान्नको लागि यूमिफर्मको समेत व्यवस्था गरेको हुँदा संचयकोष र यूनिफर्ममा खर्च गरेको विवादीत रकमहरू मनासिब नै देखिएको छ । अतः डिष्ट्रीब्यूटर खर्च, संचयकोष र यूनिफर्ममा खर्च भएका रकम मिन्हा दिई अब कानुन बमोजिम आय निर्धारण गर्नु भनी विपक्षी कार्यालयमा फायल पठाई दिने ठहर्छ । सो बाहेक अन्य रकममा मिन्हा नदिएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४३ साल आषाढ २ गते रोज २ शुभम् ।