शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६५७ - जालसाजी फैसला बदर

भाग: २८ साल: २०४३ महिना: असार अंक:

निर्णय नं. २६५७    ने.का.प. २०४३  अङ्क - ३

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको दे.पु.नं. ४६०

फैसला भएको मिति : २०४२।१२।१०।१ मा

 

पुनरावेदक/वादी : ल.पु.जि.छम्पी गा.पं.वार्ड नं. ३ घाइछाप बस्ने रुपबहादुर गौतम

विरुद्ध

विपक्षी/प्रतिवादी : का.जि.सोखेल गा.पं.वार्ड नं. ५ कोरीखाना बस्ने दिव्यश्वरी चौलागाईसमेत

 

मुद्दा : जालसाजी फैसला बदर

 

(१)         दाताकै हक नरहेपछि वादीका हक रहने प्रश्नै नहुँदा विवादीत जग्गा बण्डा हुने ठहर गरेको ल.पु.जि.अ.को फैसला बदर गरी पाउँन भन्ने वादी दावी नपुग्ने भनी ठहर गरेको इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ ।

(प्रकरण नं. १३)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय

 

फैसला

न्या.बब्बरप्रसाद सिंह :     मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।१।२६।३ को फैसलामा कानुनी त्रुटि हुँदा चित्त नबुझी उक्त फैसला उपर वादी रुपबहादुर गौतमको पुनरावेदनको अनुमति पाउँ भनी यस अदालत समक्ष पर्न आएको प्रस्तुत जालसाजी फैसला बदर मुद्दाको संक्षिप्त विवरण तथा निर्णय निम्न प्रकार छन् :

२. मेरो हक भोग तिरोको ल.पु.छम्पी गा.पं.वार्ड नं. २(ख) कि.नं. ३४ को रोपनी ५१४२ र ऐ.ऐ.कि.नं. ३६ को ४१०× बाट मेरो हक मेट्ने गरी वादी देवप्रसाद लोकबहादुर प्रतिवादी रामचन्द्र समेत भएको जालसाजी मुद्दामा ०३६।३।१९ मा भएको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको रुपबहादुरको फिरादपत्र ।

३. अ.बं. ७२ नं. को प्रतिकूल भएको फिराद बमोजिम फैसला बदर गर्न पाउने अधिकार जिल्ला अदालतलाई कुनै ऐनले दिएको छैन । फिराद दावीको जग्गा तायदातीमा परि रोक्का समेत भएको कुरा ०३५।५।६।३ मै थाहा भएकोले हक हनन् भएको भए तेसै बखत उजूर गर्नुपर्ने थियो । हाल मात्र सो कुरामा फिराद दिन आएको हुँदा उक्त फिराद खारेज हुनुपर्छ भन्ने समेतको दिव्यश्वरी समेतको संयुक्त प्रतिउत्तरपत्र रहेछ ।

४. फैसला बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेतको ०३८।९।२४ को ल.पु.जि.अ. को फैसला रहेछ ।

५. ल.पु.जि.अ.को उक्त फैसलामा चित्त बुझेन भन्ने समेतको वादी रुपबहादुरका बा.अं.अ.मा परेको पुनरावेदनपत्र ।

६. जालसजी मुद्दामा भएको फैसलाबाट वादीलाई प्रतिकूल असर परेको भन्न सकिएन तसर्थ वादी दावी नपुग्ने गरी शुरु जि.अ.ले गरेको फैसला मिलेकोले पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत बा.अं.अ.को ०३९।४।२२ को फैसला रहेछ ।

७. बा.अं.अ.को ०३९।४।२२ को उक्त फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेतको      वादी रुपबहादुर तथा प्रतिवादी दिव्यश्वरीको छुट्टाछुट्टै म.क्षे.अ.मा परेको निवेदनमा न्या.सु.ऐन, २०३१ को दफा १३(४) बमोजिमको अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ. सिंगलबेञ्चको मिति ०४१।७।१० को आदेश रहेछ ।

८. ०३०।३।२० को सट्टापट्टाको लिखित जालसाजी ठहरी फैसला भएबाट मुक्तिनाथकै हक समाप्त हुने भएपछि रुपबहादुरको हक कायम रहि रहने अवस्था नहुँदा फैसला बदर गरी पाउँ भन्ने वादी दावी नपुग्ने गरी गरेको बा.अं.अ.को फैसला मिलेकै देखिन्छ । तर दावी नपुग्ने भएपछि सो ठहरलाई असर पर्ने गरी बुँदा उल्लेख गर्न नमिल्ने हुँदा दावी नपुग्ने भनिएको ठहरको विरोध पर्ने गरी उल्लेख गरिएको बुदाँसम्म बदर हुने ठहर्छ भन्ने समेत म.क्षे.अ.को ०४१।१।२६।३ को फैसला रहेछ ।

९. कानुनी व्याख्याको त्रुटि समेत गरी वादी दावी नपुग्ने ठहर गरेको बा.अं.अ.को फैसलालाई केही उल्टी गर्दै गरेकोमा म.क्षे.अ.को फैसलामा चित्त बुझेन, पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी रुपबहादुर गौतमको यस अदालत समक्ष पर्न आएको निवेदनमा जालसाजी मुद्दा चलेको बखत विवादको जग्गाको स्वामित्व वादी रुपनारायणमा आएकोमा निजलाई पक्ष नै नबनाई गरेको मुद्दामा भएको फैसला बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको म.क्षे.अ.को ०४१।१।२६ को निर्णयमा अ.बं. ८६ नं. को त्रुटि देखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको ०४१।३।३२ को आदेश रहेछ ।

१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रही बेञ्च समक्ष उपस्थित भएको वादी तथा प्रतिवादी दुवैपक्षका वा. समेतलाई रोहवरमा राखी पुनरावेदक वादी रुपबहादुरको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री लबदेव भट्ट तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मेरो पक्ष वादीले भूसिनाथबाट राजीनामा लिएको कि.नं.३४।३६ को जग्गा मुक्तिनाथले रामचन्द्रबाट ०३०।३।२८ मा सट्टापट्टाको लिखत गरी लिएको लिखत जालसाजी ठहर्ने गरी ल.पु.जि.अ.बाट ०३६।३।१९ मा फैसला भएकोबाट मेरो पक्षलाई असर पर्न गएकोले सो फैसला बदर हुनु पर्नेमा वादी दावी नपुग्ने गरी गरेको म.क्षे.अ.को फैसला बदर हुनुपर्छ भन्ने बहस जिकिर प्रस्तुत गर्नुभएको प्रत्यर्थी र प्रतिवादी तर्फका कानुन व्यवसायी श्री केदारचरण रायले आफ्नो तर्फबाट पेश गर्नुभएको लिखित बहस समेत सुनियो अवलोकन गरियो ।

११. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

१२. यसमा रुपबहादुरले मुक्तिनाथबाट राजीनामा लिएको कि.नं.३४ र ३६ को जग्गा मुक्तिनाथले रामचन्द्रबाट ०३०।३।२८ मा सट्टापट्टाको लिखत गरी लिएको लिखत जालसाजी ठहर्ने गरी ल.पु.जि.अ.बाट ०३६।३।१९ मा फैसला भएकोबाट हकमा असर पर्न  गएकोले उक्त फैसला बदर गरिपाउँ भन्ने वादी पुनरावेदकको मुख्य जिकिर भएको पाइन्छ ।

१३. वादी रुपबहादुरले रामचन्द्रबाट हक प्राप्त गरेको नभई मुक्तिनाथबाट हक प्राप्त गरेको भन्ने निवेदन लेखबाट देखिन्छ । मुक्तिनाथले ०३०।३।२८ मा रामचन्द्रबाट सट्टापट्टा लिनु भन्दा अगावै ०२९।१२।१४ मा ल.पु.जि.अ. मा अंश मुद्दा परी सोही फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी रामचन्द्रले देभप्रसाद चौलागाईलाई समेत अंश दिनुपर्ने भई विवादीत जग्गा अंशबण्डामा परेको पाइन्छ । उक्त जि.अ.को फैसलाबाट विवादीत जग्गा बण्डा हुने भएकोमा अंश मुद्दाको प्रतिवादी र विपक्षीको दाता रामचन्द्रले विरोध गर्न सकेको देखिँदैन । रामचन्द्रबाट मुक्तिनाथलाई गरिदिएको सट्टापट्टाको लिखतमा लिखत कच्चा ठहरे सट्टापट्टा गरेको जग्गा आआफ्नो हकमा जोत्ने भन्ने बोली समेत परेको देखिन्छ । सो लिखत सम्बन्धमा देभप्रसाद लोकबहादुरको उजूर परी लिखत जालसाजी ठहरेको असर पर्ने रामचन्द्र र मुक्तिनाथले अन्यथा गराउन सकेको नदेखिएबाट वादी रुपबहादुरको दाता मुक्तिनाथले नै आफ्नो हक कायम गराउन नसकेपछि वादीको हक कायम रहिरहने भन्न मिल्ने देखिएन । तसर्थ दाताकै हक नरहेपछि वादी रुपबहादुरका हक रहने प्रश्नै नहुँदा उक्त विवादीत जग्गा बण्डा हुने ठहर गरेको ल.पु.जि.अ.को मिति ०३६।३।१९ को फैसला बदर गरी पाउँन भन्ने वादी दावी नपुग्ने भनी ठहर गरेका इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही मुद्दा दायर भएको देखिँदा केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४२ साल चैत्र १० गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु