निर्णय नं. २६५८ - कपाली सामाब्याज समेत दिलाई पाउँ
निर्णय नं. २६५८ ने.का.प. २०४३
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् ०४१ सालको दे.पु.नं. ६४३
फैसला भएको मिति : २०४३।१२।२२।६ मा
पुनरावेदक/प्रतिवादी : का.न.पं.वडा नं.२१ बस्ने पुण्यविक्रम राणा
विरुद्ध
विपक्षी/वादी : का.न.पं.वडा नं.१७ ठहिटी बस्ने केशरबहादुर राजभण्डारी
मुद्दा : कपाली सामाब्याज समेत दिलाई पाउँ
(१) कानुनी म्याद छ वा छैन सो सम्बन्धमा स्वयं पक्ष नै जागरुक हुनुपर्दछ अन्यथा कानुनी हक गुम्न जाने हुन्छ र कानुनमा उल्लेख नभएसम्म कानुनमा कपालीको हदम्याद १० वर्ष तोकिएको अवधिपछि म्यादभित्रको मुद्दा हो भन्न मिल्दैन ।
(प्रकरण नं. ११)
(२) म्यादभित्र नपरी म्याद नघाई परेको वादीको फिरादबाट कारवाही गर्न नमिल्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा
प्रत्यर्थी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त र विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त
उल्लिखित मुद्दा : ०२६ सालको दे.फु.नं. ५९ निवेदक वादी युवराज सिं प्रधान विपक्षी मोहन सोनार समेत भएको लेनदेन मुद्दामा सिद्धान्त प्रतिपादित ।
फैसला
न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।६।२८।१ को फैसलामा चित्त नबुझी उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी पुण्यविक्रम राणाको निवेदनमा अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ :
२. ०२६।५।२६ गते विपक्षीले मसँग रु.३३,६४५।– लिनु भई साँवा बापत निजको हकको का.जि. लगनको ब्लक नं. ५।२७ को घर धितो लेखी सयकडा १०।– प्रतिशतका दरले ब्याज व्यहोराको लख बन्धकी कागज लेखी म्यादभित्र पास गरी दिउँला भनी सापटी दिनु भई म्यादभित्र पास नगरी दिएबाट लिखत पासमा फिराद परी सो लिखत करकाप सँग गराएको भनी विपक्षीको म उपर फिराद परी उक्त करकाप लिखत पास मुद्दा करकाप नठहर्ने गरी श्री सर्वोच्च अदालतबाट ०२९।२।२१ गते विपक्षीलाई हराई लिखत पासतर्फ लेखिएको सम्पत्ति विपक्षीको देखिन आएको पास नहुने ठहरी निर्णय भएबाट अन्तिम निर्णय भएको मितिले ३५ दिनभित्र फिराद गरेको छु । विपक्षीले लिएको ३३, ६४५। र त्यसको सयकडा १० प्रतिशतले हुने लेनदेन व्यवहारको ७ नं. बमोजिम ब्याज रु.३३,६४५।– समेत रु.६७,२९०।– कपाली सरह विपक्षीको जेथाबाट भराई पाउँ भन्ने वादीको ०३९।३।२४ को फिराद दावी ।
३. विपक्षीले ०२६।५।२६ को घरायसी लिखतको आधार लिई ०३९।३।२४ मा १२ वर्षपछि दिएको नालेश लाग्नै नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. वादी दावी बमोजिम रु.६७,२९०।– प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु का.जि.अ.को ०३९।६।१८ को फैसला ।
५. काठमाडौं जिल्ला अदालतको फैसलामा कानुनी त्रुटि हुँदा चित्त बुझेन, सो फैसला बदर गरी बुझाउनु पर्ने ठहरेको सामा ब्याज तथा कोर्टफी समेतबाट छुट्कारा गरी इन्साफ पाउँ भन्ने समेत प्रतिवादी पुण्यविक्रम राणको म.क्षे.अ.मा परेका पुनरावेदन ।
६. सर्वोच्च अदालतबाट ०३९।२।२१ मा लेखत पारीत नहुने ठहर भएपछि ३५ दिनभित्र साँवा ब्याज भराई पाउँ भनी परेको प्रस्तुत फिराद हदम्याद विपरीत भएको भन्न नमिल्ने हुँदा साँवा ब्याज भरी पाउने ठहर्याएको इन्साफ शुरु काठमाडौं जि.अ.को मनासिब ठहर्छ प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को ०४१।६।२८।१ को फैसला रहेछ ।
७. २०२६।५।२६ मा भएको घरायसी लिखतको आधार लिई बार्ह (१२) वर्षपछि अर्थात् ०३९।३।२४ मा म्याद नघाई दायर गरेको फिरादबाट साँवा ब्याज रु.६७,२९०।– मबाट भरी भराउ गर्ने ठहर गरिरहेको शुरु काठमाडौं जि.अ.को त्रुटिपूर्ण फैसलालाई सदर गरेको म.क्षे.अ.को फैसलामा चित्त बुझेन उक्त म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादी पुण्यविक्रम राणाको यस अदालतमा पर्न आएको पुनरावेदन ।
८. फैसला भएको मितिबाट हदम्याद शुरु हुन्छ भन्ने कानुनमा कतै व्यवस्था भएको नदेखिएबाट फैसलाको मितिबाट हदम्याद शुरु हुनुपर्ने होइन भन्ने स.अ.फुल बेञ्चबाट सिद्धान्त प्रतिपादन भइसकेकोले उक्त प्रतिपादित सिद्धान्त विपरीत म.क्षे.अ.ले गरेको निर्ण उपर न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्न अनुमति प्रदान गराएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति ०४१।९।१२।४ को आदेश रहेछ ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका वादी प्रत्यर्थीको वा.लाई बेञ्चबाट पटक पटक बोलाउँदा उपस्थित नभएका र बेञ्च समक्ष उपस्थित भएका पुनरावेदक प्रतिवादी पुण्यविक्रम राणाको वा.मीनराजलाई रोहवरमा समेत राखी पुनरावेदक प्रतिवादीको तर्फबाट बहसका लागि उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हाले वादीको फिराद लेनदेन व्यवहारको २ र ३ नं. को हदम्याद विपरीत छ । वादी लेनदेन भएको १२ वर्ष पछि मात्र फिराद गर्न आउनु भएको छ अदालतको फैसलाले हदम्याद बढाएको भन्न मिल्ने होइन र स.अ.बाट फैसला हुँदा फैसला भएको मितिले ३५ दिनभित्र नालेश गर्नु भन्ने समेत गरिएको छैन तसर्थ म्याद नाघी परेको फिरादबाट प्रतिवादीबाट वादीले साँबा ब्याज भरी पाउने गरेका शुरु जि.अ.को फैसलालाई सदर गरेको म.क्षे.अ.को फैसला मिलेको छैन उक्त फैसला उल्टी हुनुपर्छ भन्ने र प्रत्यर्थी वादीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री सुधानाथ पन्त तथा विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्तले ०२६।५।२६ मा भएको लिखतको सम्बन्धमा कानुन बमोजिम लिखत पारितमा नालेश पारी अन्तमा स.अ.बाट पारीत नहुने ठहरी ०३९।२।२१ मा फैसला भएको मितिबाट ३५ दिनभित्र वादीको शुरु जि.अ.मा फिराद परेको छ । अदालतबाट लिखत पारीत नहुने भन्ने ठहर नहुँदासम्म लिखत कपाली हुने अवस्थै छैन र लिखत पारीत नहुने ठहर भएपछि मात्र लेनदेन व्यवहारको ३ नं. को अवस्थामा कपाली हुने हो तसर्थ कानुन बमोजिम लिखत पारीत गरी पाउन फिराद गरेपछि त्यसको अन्तिम टुङ्गो नलागेको अवस्थामा साँवा ब्याजमा दावी लिई फिराद गर्न पर्ने भन्ने मिल्ने होइन र ०३९।२।२१ मा लिखत पारीत नहुने ठहर भएपछि ३५ दिनभित्र साँवा ब्याज भराई पाउँ भनी परेको फिराद हदम्यादभित्रकै हुँदा प्रतिवादीबाट मेरो पक्षले सामा ब्याज भरी पाउने ठहर गरेको शुरु जि.अ.को फैसला मिलेकै हुँदा सदर हुनु पर्दछ भन्ने समेत गर्नुभएको बहस जिकिरहरू समेत सुनियो ।
१०. प्रस्तुत मुद्दामा अदालतको फैसलाबाट हदम्याद कायम गरी गरेको म.क्षे.अ.को फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आयो ।
११. यसमा प्रतिवादी पुण्यविक्रमले वादी केशरबहादुर राजभण्डारीबाट ०२६।५।२६ मा घर धितो राखी रु.३३,६४५।– लिनु भई सयकडा १० प्रतिशतले ब्याज समेत बुझाउने गरी बन्धकी तमसूक लेखी म्यादभित्र पास नगराई दिएबाट लिखत पासमा मुद्दा परी पास नहुने फैसला भएको हुँदा निर्णय भएको मितिले ३५ दिनभित्र कपाली सरह विपक्षीको जेथाबाट भराई पाउँ भनी मिति ०३९।३।२४ मा फिराद परेको देखिन्छ । मुलुकी ऐन लेनदेन व्यवहारको २ नं. हेर्दा तमसूक भएका मितिले दश वर्ष भित्र केही ब्याज असूल पनि नभएको भाषापत्र पनि नगराएकोमा सो म्याद पछि नालेश लाग्न सक्दैन । दश वर्षको बीचमा भाषापत्र गराएको वा केही ब्याज असूल गरेको रहेछ भने सो मितिले फेरि दश वर्षको म्याद पाउँछ भोग वा दृष्टिबन्धकको हकमा यसै महलको ३ नम्बर बमोजिम हुन्छ भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । वादीले कपाली साँवा ब्याज भराई पाउँ भनी उक्त लेनदेन व्यवहारको २ नं. को १० वर्ष तोकिएको म्यादभित्र फिराद नपरी अर्थात् लिखत भएको मिति ०२६।५।२ बाट उक्त १० (दश) वर्षको म्याद नघाई बार्ह (१२) वर्षपछि मात्र फिराद परेको देखिन्छ । फैसला भएको मितिबाट हदम्याद शुरु हुन्छ भन्ने समेत कानुनमा कतै व्यवस्था भएकै पाइँदैन तर वादीको फिराद स.अ.बाट ०३९।२।२१ मा लिखत पारीत नहुने ठहर भएपछि मात्र सो मितिले ३५ दिनभित्र भनी फिराद परेको पाइन्छ । यस सम्बन्धमा २०२६ सालको दे.पु.न.५९ निवेदक वादी युवराज सिं प्रधान विपक्षी मोहन सोनार समेत भएको लेनदेन मुद्दामा यसै अदालत फुलबेञ्चबाट फैसला भएको मितिबाट हदम्याद शुरु हुन्छ भन्ने कानुनमा कतै व्यवस्था भएको नदेखिएबाट फैसलाको मितिबाट हदम्याद शुरु हुनुपर्ने होइन भन्ने समेत सिद्धान्त प्रतिपादन भएको पाइन्छ । कानुनी म्याद छ वा छैन सो सम्बन्धमा स्वयं पक्ष नै जागरुक हुनु पर्दछ अन्यथा कानुनी हक गुम्न जाने हुन्छ र कानुनमा उल्लेख नभए सम्म कानुनमा कपालीको हदम्याद १० वर्ष तोकिएको अवधिपछि म्यादभित्रको मुद्दा हो भन्न मिल्दैन । तसर्थ अदालतबाट फैसला भएपछि हदम्याद शुरु हुन्छ भन्ने प्रत्यर्थी वादीकोतर्फबाट बहसमा लिनु भएका विद्वान अधिवक्ताहरूको बहस जिकिरसँग सहमत हुन सकिएन । म्याद नघाई पर्न आएको फिरादबाट हदम्याद भित्रैकै मानी वादी दावी बमोजिम प्रतिवादी पुण्यविक्रम राणाबाट साँवा ब्याज रु.६७,२९०।– वादी केशरबहादुर राजभण्डारीले भरी पाउने ठहर गरेको शुरु जि.अ.को फैसला सदर गरेका म.क्षे.अ.को इन्साफ कानुन अनुरुपको नहुँदा उक्त शुरु जि.अ.को फैसला सदर गरेको इन्साफ कानुन अनुरुपको नहुँदा उल्टी हुने ठहर्छ । साथै म्यादभित्र नपरी म्याद नघाई परेको वादीको फिरादबाट कारवाही गर्न नमिल्ने हुँदा उक्त फिराद खारेज हुने ठहर्छ अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम क्षे.अ.को इन्साफ उल्टी हुने ठहरेकोले शुरु जि.अ.ले सावाँ ब्याजको बिगो रु.६७,२९०।– र फिराद गर्दा राखेको कोर्टफी रु.२,२८८।९० समेत जम्मा रु.६९,५७८।७० प्रतिवादी पुण्यविक्रम राणाबाट वादीलाई भराई दिने गरी राखेको लगत कायम गर्नु परेन, कट्टा गरी दिनु र उक्त कोर्टफीरु.२२८८।९० धरौट रहेकोबाट असूल भइसकेको भए नियमानुसार फिर्ता दिलाई दिनु भनी शुरु का.जि.अ.मा लगत दिनु........................ १
ऐ ऐ.ठहरेकोले पुनरावेदक प्रतिवादीले म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३४३।३५ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३४३।३४ समेत जम्मा रु.६८६।६९ वादीबाट प्रतिवादीलाई भराई दिनुपर्ने हुँदा भराई पाउँ भनी प्रतिवादीको म्यादभित्र दर्खास्त परे नियमानुसार भराई दिनु भनी शुरुमा लगत दिनु …........................................ २
इन्साफ उल्टीमाम.क्षे.अ.का तत्कालीन माननीय न्यायाधीश श्री केशवप्रसाद मुडवरी तथा माननीय न्यायाधीश श्री कृष्ण जङ्ग रायमाझीको रेकर्ड राख्नु ................... ३
मिसिल नियम बमोजिम गरी बुझाइदिनू ....................४
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४२ साल चैत्र २२ गते रोज ६ शुभम् ।