निर्णय नं. २६५९ - ज्यान

निर्णय नं. २६५९ ने.का.प. २०४३ अङ्क - ३
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् ०४१ सालको फौ.पु.नं. ६०४
फैसला भएको मिति : २०४३।१।२५ मा
पुनरावेदक/प्रतिवादी : सदर खोर डिल्ली बजारमा थुनामा रहेकी माया तामाड्डनी
विरुद्ध
विपक्षी/वादी : जयबहादुर मुक्तानको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) तथ्य प्रमाणको अभावमा दोषी ठहर्याउनु न्यायोचित नहुने ।
(प्रकरण नं. १५)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री वैजनाथ उपाध्याय
विपक्ष/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान
फैसला
न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।८।२५।२ को फैसला उपर चित्त नबुझी प्रतिवादी माया तामाङ्गनीको पुनरावेदन परी पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ :
२. घरमा आई दिसा बस्न भनी जाँदा तेजबहादुर योन्जनको घर पछाडि अम्बाको रुख मुनी खैरो कुकुरले ख्रोसी रहेको देखी के रहेछ भनी हेर्दा बालकको लाश गाडिरहेको रहेछ । मायाँ तामाङ्गनी उपर शंका लागेकोले जाहेर गर्न आएको छु भन्ने व्यहोराको जयबहादुरको जाहेरी ।
३. मलाई मेरो लोग्ने दुर्गा तामाङ्ग र माइती गाउँका मुक्तानबहादुर तामाङ्गले संभोग गरेका थिए मेरो पेटमा गर्भ रहन गई १० महीना पछि मबाट छोरो जन्म भई सो छोरा जन्मी सकेपछि दुई पटक च्याँ च्याँ गरेको थियो केही बेर पछि नकराएकोले म आफैंले सो बालकलाई माटोमा गाडेको हुँ । मरिसकेको होला भन्ने विचारले गाडेको भन्ने माया तामाङ्गनीले प्रहरीमा गरेको बयान ।
४. माया तामाङ्गनीले आफूले बच्चा पैदा गरी बालकलाई गाडेकी रहीछ निजले सो जीवितै गाडेकी हो वा मरिसकेपछि गाडेकी हो निजनै जानुन भन्ने व्यहोराको सरजमीन मुचुल्का ।
५. निज प्र.मायाँ तामाङ्गनीले आफ्नो माइती घरमा बसी आफूबाट बच्चा पैदा गरी एकान्त ठाउँमा बच्चा पाई सो पाएको बच्चाको स्याहार नगरी जिउँदो बच्चालाई मरिसक्यो भन्ने विचारबाट बच्चालाई खाल्डोमा गाडेकीले निज मायाा तामाङ्गनीले ज्यानसम्बन्धीको महलको १ नं. को अपराध गरेकोले ऐ.ऐ.१३(३) अनुसार सजायँ हुन प्रस्तुत गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन ।
६. प्रहरीमा भएको बयान मेरो खुसी राजीबाट भएको हो । मेरो लोग्ने तथा २०३८ साल चैत्र महीनामा गाउँकै मुक्तानबहादुरले बेला बेलामा करणी गरी आएको हुँदा गर्भ रहेको र ९।१० महीना भएपछि २०३९ साल चैत्र १६ गतेका दिन अर्को माइती दक्षिणकाली गा.पं.वार्ड नं. ६ को पुगाउँका बाबुको घरमा सुतेको अवस्थामा मलाई बेथा लागेकोले विहान ३ बजेतिर बच्चा जन्मियो र जन्मिएपछि २ पटक च्याँ च्याँ गरेको थियो त्यसपछि म बेहोस भएँ होसमा आएपछि बच्चा नकराएकोले मरी सक्यो भन्ने ठानेर म बसेको घर पछाडि अम्बाको बोटमुनी लगी खाडल खनी पुरिदिएको हु भन्ने समेत व्यहोराको मायाँ तामाङ्गनीको ०४०।१।५ मा अदालतमा गरेको बयान ।
७. बच्चाको शरीरको पोष्ट मार्टम गर्दा महीना नपुगी जन्मेको भन्ने देखिन्छ । सरजमीनका व्यक्तिको भनाइबाट पनि निजले बच्चा जन्माई गाडेको भन्ने समेत देखिन आएकोले प्रहरी माग दावी बमोजिम निज अभियुक्त मायाँ तामाङ्गनीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुन्छ । भन्ने समेत व्यहोराको का.जि.अ.को २०४०।८।१२ को जाहेरी फैसला ।
८. उपरोक्त जि.अ.को फैसलामा चित्त नबुझी सो फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्र.मायाँ तामाङ्गनीको म.क्षे.अ.मा २०४१।२।९ मा परेको पुनरावेदन ।
९. जन्मेको जिउँदो बालकलाई प्रतिवादीले नै कर्तव्य गरी मारी गाडेको मिसिलको परिस्थितिजन्य प्रमाण आधारबाट देखिन आएकोले प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दावी बमोजिम कसूरदार ठहराई सजायँ गर्ने गरेको शुरुको इन्साफ मनासिब छ । तर प्रतिवादीको उमेर र निजबाट कसूर हुन गएको अवस्थाको विचार गर्दा चर्को हुने देखिँदा अ.बं.१८८ नं. बमोजिम कैद वर्ष ५ गर्न उचित देखिएकोले यो राय सहितको फैसलाको मिसिल साधकको लागि स.अ.मा पठाई दिने ठहर्छ भन्ने समेत म.क्षे.अ.को २०४१।८।२५ को फैसला ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट बच्चाको मृत्युको कारण स्पष्ट नभई केवल हचुवा किसिमको आधार ग्रहण गरी बच्चा मरी सकेको जस्तो लागि गाडेको हुँ भन्ने मेरो बयानलाई समेत आधार नबनाई र लास प्रकृति मुचुल्का समेतबाट फोक्सो च्यातिई रक्तश्राव भई मरेको भन्ने अवस्था विद्यमान छँदाछँदै ज्यान जस्तो कसूरमा अपराधी ठहर गरी गरेको म.क्षे.अ.को इन्साफ कानुन तथा नजीरहरूको त्रुटि हुँदा चित्त बुझेन उक्त फैसला बदर गरी उक्त अभियोगबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी माया तामाङ्गनीको सदर खोर कार्यालय डिल्लीबजार मार्फत यस अदालतमा पर्न आएको पुनरावेदन ।
११. प्रतिवादी माया तामाङ्गनीले अदालत समक्ष बयान गर्दा जन्मेको बच्चा मरी सकेको होला भन्ने सम्झी गाडेको भन्ने उल्लेख गरेको जिउँदो बच्चालाई मारी गाडेको भनी सावित नभएको, पोष्टमार्टस रिपोर्टबाट समेत फोक्सो च्यातिई रक्तश्राव भई मरेको भन्ने समेत देखिएबाट सबूद प्रमाणको अभावमा प्र. माया तामाङ्गनीलाई कसूरदार ठहर्याइएको म.क्षे.अ.को इन्साफ मिलेको नदेखिँदा मु.ऐ.अ.बं.२०२ नं. बमोजिम म.न्या.का.लाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति ०४२।९।११।५ को आदेश रहेछ ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत ज्यान मुद्दामा पुनरावेदक प्रतिवादी माया तामाङ्गनीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री वैजनाथ उपाध्याय तथा विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१३. प्रस्तुत मुद्दामा प्र. माया तामाङ्गनीलाई प्रहरी प्रतिवेदन माग बमोजिम जन्मकैदको सजायँ गर्ने गरी गरेको म.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१४. यसमा प्रतिवादी माया तामाङ्गनी उपर जिउँदो बच्चा मारी गाडेको अभियोगमा मु.ऐन ज्यानसम्बन्धीको १३(३) नं. बमोजिमको सजायँ माग दावी भई प्रहरी प्रतिवेदन दायर भएकोमा माग दावी बमोजिम शुरु जि.अ.ले प्र.लाई सजायँ गर्ने गरेको इन्साफलाई म.क्षे.अ.ले मनासिब ठहर गरेको पाइन्छ ।
१५. प्रतिवादी माया तामाङ्गनीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा निजबाट जन्मिएको बच्चा हेर्दा मरी सकेको जस्तो लाग्यो सो बच्चा मरी सकेको जस्तो देखेकोले निज आफैंले लासलाई लगी गाडी दिएकी हुँ भन्ने बयान गरी अदालत समक्ष पनि सोही प्रकारको बयान दिएको पाइन्छ । जिउँदो बालकलाई मारी गाडेको भन्ने कुराको प्रमाण पेश भएको मिसिलबाट देखिन आएन । पोष्ट मार्टम रिपोर्टबाट समेत जन्मेको मर्दाना बच्चा छाती भित्र फोक्सो च्यातिई रक्तश्राव भई शक भई मृत भएको भन्ने देखिन्छ । तर सो मृतक बच्चाको शरीरमा घाउ चोट निल परेको भन्ने समेत मिसिलबाट देखिँदैन । सरजमीनका व्यक्तिहरूले समेत अदालत समक्ष जिउँदो बालकलाई मारी गाडेको भन्ने भनाई देखिँदैन यस अवस्थामा जीउँदो बालकलाई मारी गाडेको भन्ने कुराको तथ्य प्रमाणका अभावमा प्रतिवादी माया तामाङ्गनीलाई दोषी ठहर्याउनु न्यायोचित नहुँदा निज प्रतिवादी माया तामाङ्गनीले सफाई पाउने ठहर्छ । प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्र. लाई सजायँ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी भई फैसला भएको हुँदा म.क्षे.अ. का मा.न्या.श्री कृष्ण जङ्ग रायमाझी तथा मा.न्या.श्री गोविन्दबहादुर श्रेष्ठको उल्टीमा रिकर्ड राख्नु............१
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४३ साल बैशाख २५ गते रोज शुभम् ।