शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६६१ - चरेश बिक्री

भाग: २८ साल: २०४३ महिना: असार अंक:

निर्णय नं. २६६१     ने.का.प. २०४३  अङ्क - ३

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् ०४१ सालको दे.पु.नं. ६८८

फैसला भएको मिति : २०४२।१२।१३ मा

 

पुनरावेदक/प्रतिवादी : सिंजा नराकोट गा.पं.वार्ड नं.२ नराकोट बस्ने खड्ग सिंह भन्ने खड्गबहादुर खत्री

विरुद्ध

विपक्षी/वादी : प्रहरी जयबहादुर खत्रीको जाहेरीले वादी श्री ५ को सरकार

 

मुद्दा : चरेश बिक्री

 

(१)         सुनेका हौं भन्ने कुरालाई अन्य प्रमाणबाट समर्थन नभएसम्म प्रमाणमा लिन नमिल्ने ।

(प्रकरण नं. २३)

(२)        केबल प्रहरीमा भएको साविती बयानलाई आधार लिएर प्रतिवादीलाई कसूरदार ठहर्‍याउन नमिल्ने ।

(प्रकरण नं. २३)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री निरञ्जन अर्याल

विपक्षी/वादीतर्फबाट   : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।

२. ०३६।९।८ गते दिनको २ बजे जुम्ला तर्फबाट आएको खड्ग सिं माथि शंका लागि निजले बोकी ल्याएको कुटिरो खोली हेर्दा चरेश भेटिएकोले खड्गबहादुरलाई चरेश सहित दाखेल गरेको छु भन्ने जयबहादुर खत्रीको प्रतिवेदन ।

३. खड्ग सिंबाट बरामद भएको चरेश तौल गर्दा ५ के.जि. ६ ग्राम भएको भन्ने प्र.पं.बीरबहादुर समेतले गरि दिएको बरामदी मुचुल्का ।

४. श्रीमती परलोक भएकी, घरमा ११ वर्षको छोरा र आफू बिरामी मानिस भई कमाई गरी दिने कोही नहुँदा नेपालगञ्जमा बिक्री गरी औषधी गर्नु भनी चरेश लि आएका खल्ला गाउँमा आएपछि प्रहरीले मेरो कुटीरो खोली चरेश बरामद गरेका हुन भन्ने समेत व्यहोराको खड्ग सिंले प्रहरीमा गरेको बयान कागज ।

५.    बोकी दिए बापत दिनको रु.१०।दिई मेरो घरबाट चिलखाएसम्म पुर्‍याई दिन नारायणदत्तलाई भारी बोकाई दिएको, खल्ला भन्ने ठाउँमा प्रहरीले नारायणदत्तलाई पक्राउ गरेको कुरा चिलखाय भन्ने ठाउँमा सुने र म खलेलातर्फ फर्की आएँ । चरेश मेरो भनी मैले भनेपछि मलाई हिरासतमा राखी नारायणदत्तलाई छाडी दिएका हुन हाल कहाँ छन् मलाई थाहा छैन भन्ने खड्ग सिंले स.स.अ.तथा स.स.अ.मा गरेको बयान कागज ।

६. खड्ग सिं चिलखायबाट आए नआएको कुरा थाहा छैन । जुम्लातर्फ आएका खड्ग सिं समेत ५ जनाको सामान चेक गर्दा चरेश निस्केको कसको हो भनी सोधनी गर्दा खड्ग सिंले मेरो भनेकोले अरु मानिसलाई छोडी दिएको हुँ भन्ने समेत व्यहोराको जयबहादुरले डोरमा गरेको कागज ।

७. खड्ग सिं ले चरेश ल्याएको अवस्थामा खल्ला गाउँमा प्रहरीले पक्राउ गरेको भन्ने सुनेको हो भन्ने नरीलाल समेतको सरजमीन मुचुल्का ।

८. दिनको रु.१०।दिई नारायणदत्तलाई भरिया गराएको थिएँ भनी स.स.अ.मा खड्ग सिंहले बयान गरेको, नारायणदत्तलाई खोजी गर्दा फेला नपरेको, फेला परेको बखत कारवाही गरी छुट्टै मागदावी गर्ने र खड्ग सिंहको सम्बन्धमा चरेश औषधी गर्न ल्याएको छु भनी भनेकोले बुझिएका सरजमीनका मानिसले चरेश पक्राउ होला भन्ने कुरा जानी जानी ल्याएको होलान् जस्तो लाग्दैन । कानुनको ख्याल नहुँदा ल्याएको होला जस्तो लाग्छ । चरेश खड्सग सिंह बाहेक अरुले ल्याएको होला भन्न सक्दैनौ भनी बकी लेखाई दिएकोले लागू औषधी नियन्त्रण ऐन, ०३३ को दफा १४ को उपदफा (ख) अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

९. प्रहरी प्रतिवेदनको माग बमोजिमको राय नमिलेकोले निज नारायणदत्त उपाध्यायलाई लागू औषधी नियन्त्रण ऐन, ०३३ को दफा १४ को उपदफा (ग) अनुसारको सजायँ हुने गरी निजको नाउँमा अदालत बाटै समाव्हान जारी गर्ने र खड्ग सिंहको हकमा प्रहरी  प्रतिवेदन अनुसार होस् भन्ने स.स.अ.तथा स.स.अ. को राय ।

१०. स.स.अ.को राय मनासिब देखिएको भन्ने जुम्ला, मुगु तथा कालिकोट जिल्ला अदालतको आदेश ।

११. मलाई जिउ काम्ने रोग लागेको हुँदा घरबाट औषधी उपचार गर्न नेपालगञ्जतर्फ हिडेंको पौष ४ गते चिलखायबाट मलाई पक्राउ गरे । मैले नचिनेको मानिसबाट चरेश बरामद गरी पुलिसको कब्जाबाट भागे पछि निजले मेरो भनी दिएबाट मलाई पक्राउ गरेका हुन् चरेश मेरो होइन । प्रहरीले मेरो भन छाडी दिन्छु भनेबाट चरेश मेरो हो भनी भनेको हुँ भन्ने समेत व्यहोराको खड्गबहादुरले अदालतमा गरेको बयान ।

१२. ०३६।९।८ गते चिलखायमा बास बस्न गएको, खड्ग सिंह औषधी गराउन गएका चिलखाया गएको थिएँ । खल्ला गाउँ चौकीमा नारायणदत्तले अत्तर ल्याएको पक्रिए भन्ने सुने, खड्ग सिंहको पासमा अत्तर नभएको र बिक्री गर्ने खालको मानिस हैन भन्ने प्र.वा.लालचन्द्र उपाध्याय नारायणदत्तबाट बरामद भएको अत्तर खड्ग सिंहबाट किन दाखिल गराए मलाई थाहा छैन भन्ने प्र.सा.हरिभक्त खत्री समेतको बकपत्र ।

१३. मिति ०३६।९।८ गते खल्ला गाउँमा ४।५ जनाको साथ खड्ग सिंह नि आउँदा शंका लागि निजको भारी खोल्दा चरेश भेटिएको र चरेश नेपालगञ्जतर्फ बिक्री गर्न लगेको हो भनी भनेका हुन भन्ने जाहेरवाला जयबहादुरको अदालतमा भएको बकपत्र ।

१४. प्रहरीले चरेश बरामद गर्दा म बरामद स्थलमा थिइन । तपाई गाउँको प्र.पं.हुँदा बरामदी मुचुल्काको रोहवरमा बसी दिनु पर्‍यो भनी प्रहरीले भनेको हुँदा पक्राउमा परी आएका खड्गबहादुरको पासबाट चरेश निकाली देखाउँदा देखेको हुँ । अं. ३।४ के.जि. थियो पछि चरेश खड्गबहादुरको नभई नारायणदत्तको हो भन्ने सुनेको हु भन्ने समेत बरामद मुचुल्काको रोहवरमा बस्ने प्र.पं.वीरबहादुर शाहीको अदालतबाट जारी भएको बन्द सवालमा बकेको बकपत्र ।

१५. प्रहरी र स.स.अ.मा कागज हुँदा इच्छा विरुद्ध बयान भएको, गराएको भन्ने खड्ग सिंह खत्रीको भनाई समेत नदेखिँदा निजले प्रहरी प्रतिवेदन दावी अनुसार अपराध गरेको ठहर्छ । प्र. नारायणदत्तको हकमा अदालतबाट जारी भएको म्यादमा हाजिर नभई सफाइको लागि सबूद प्रमाण गुजार्न नसकी कसूरमा स्वीकार गरी बसेको, बुझिएसम्मको सबूद प्रमाणबाट निजले अपराध गरेको समेत ठहर्छ भन्ने शुरु जुम्ला जि.अ.को फैसला ।

१६. जुम्ला जिल्ला अदालतको फैसलामा प्रहरीको र स.स.अ.मा भएको कागजको आधारलाई मुल प्रमाणको रुपमा लिई गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरयोग्य छ भन्ने समेत व्यहोराको म.प.क्षे.अ.मा खड्ग सिं भन्ने खड्गबहादुर खत्रीको पुनरावेदन परेको रहेछ ।

१७. शुरु जिल्ला अदालतले पुनरावेदक विपक्षी खड्ग सिं खत्रीले कसूर गरेको ठहराएको इन्साफ मनासिब भएकोले सो सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४१।३।२७ को म.प.क्षे.अ.को फैसला ।

१८. म.प.क्षे.अ.ले शुरु जि.अ.को इन्साफलाई सदर गरेको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष त्रुटिपूर्ण हुन गएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको खड्ग सिंह भन्ने खड्गबहादुर खत्रीको निवेदनपत्र ।

१९. लागू औषधी (नियन्त्रण) ऐन, २०३३ को दफा १९ बमोजिम लागू औषधी नियन्त्रण अधिकारीले मुद्दा चलाउने नचलाउने निर्णय गर्न सक्ने अवस्था देखिन्छ । प्रहरीलाई सो अधिकार भएको पाइएन । तसर्थ यसरी सोझै प्रहरीबाट चलाएको मुद्दामा कारवाही र निर्णय भएकोले उक्त ऐनको दफा १९ को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजनबेञ्चको आदेश ।

२०. नियम बमोजिम पेशी सूचीमा चढी पेश भई  आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री निरञ्जन अर्याल र विपक्षी श्री ५ को सरकार तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नुभएको बहस समेत सुनियो ।

२१. प्रस्तुत मुद्दामा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

२२. निर्णयतर्फ विचार गर्दा यसमा प्र.खड्ग सिंह भन्ने खड्गबहादुरको साथबाट अवैध चरेश भेटिएको भनी निज उपर कारवाही चलाई कसूरदार ठहर्‍याई सजायँ समेत गर्ने गरी शुरु जुम्ला जिल्ला अदालतबाट फैसला भई सो इन्साफ उपर परेको पुनरावेदनमा पनि सोही इन्साफ सदर भएर मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको पाइन्छ । त्यसरी निजलाई कसूरदार ठहराउँदा प्रहरीमा भएको प्रतिवादीको साविती, जाहेरवालाको अदालतमा भएको बकपत्र तथा बरामदी मुचुल्कामा बस्ने प्र.पं.बीरबहादुरको बकपत्र समेतलाई आधारभूत प्रमाण मानी त्यसैको आधारमा कसूरदार ठहर्‍याएको पाइन्छ ।

२३. प्र. खड्ग सिंह भन्ने खड्गबहादुरले कसूर गरे नगरेकोतर्फ विचार गर्दा निजका पासबाट चरेश बरामद भएको भन्ने प्रतिवेदन परी निज प्र.खड्गबहादुरले प्रहरी समक्ष बयान गर्दा कसूरमा सावित भई बयान गरेको देखिन्छ । तर अदालत समक्ष प्रतिवादीले बयान गर्दा कसूरमा इन्कार रहेको देखिन्छ । निजको अदालतको बयान हेर्दा नचिनेका मानिसँग चरेश बरामद भएछ । मेरो भनेर ल्याउने मानिसले भनी भागेको हुँदा मलाई पक्राउ गरेका हुन, चरेश मेरो होइन, प्रहरीले हो भन् छाडी दिन्छु भनेबाट मेरो हो भनेको हुँ भनी बयान गरेको देखिन्छ । प्रहरीको आश्वासनबाट बयान गर्दा कसूरमा सावित भएको भन्ने देखिन आएको छ । मौकामा भएको सरजमीन मुचुल्का लेखाई दिने व्यक्तिहरूले खड्ग सिंहले चरेश ल्याएको भन्ने सुनेका हौं भनेर भनेका छन् । त्यस्तो सुनेका हौं भन्ने कुरालाई अन्य प्रमाणबाट समर्थन नभएसम्म प्रमाणमा लिन मिल्दैन । बरामदी मुचुल्कामा रोहवरमा बस्ने प्र.पं.वीरबहादुर शाहीले बन्दसवालमा बकेको बकपत्र हेर्दा चरेश प्रहरीले बरामद गर्दा बरामद स्थलमा म थिइन, तपाई प्र.पं.हुँदा रोहवरमा बसी दिन पर्‍यो भनेबाट म रोहवरमा बसेको हुँ । पछि चरेश खड्गबहादुरको नभई नारायणदत्तको हो भन्ने सुनेको हुँ भनी उल्लेख गरेको पाइन्छ । यस्तो बकपत्र भएपछि उक्त बरामदी मुचुल्कालाई आधार लिन मिलेन । यस्तै खड्ग सिंहको पासमा अत्तर नभएको र बिक्री गर्ने खालको मानिस हैन भनी प्र.सा. लालचन्द्र उपाध्यायले र नारायण सिंहबाट बरामद भएको अत्तर खड्ग सिंहबाट किन दाखेल गराए मलाई थाहा छैन भनी प्र.सा.हरिभक्त खत्रीले बकपत्र गरी दिएको देखिन्छ । यस्तो स्थितिमा प्र.खड्ग सिंह भन्ने खड्गबहादुरले कसूरमा सावित भएको प्रहरीको कागज बाहेक अन्य स्वतन्त्र प्रमाण केही देखिन आउँदैन । अदालत समक्ष इन्कारी रहेको देखिन्छ । सोही इन्कारीलाई समर्थन हुने गरी निजका साक्षीहरूले बकपत्र गरेका छन् । अतः यस्तो स्थितिमा केवल प्रहरीमा भएको साविती बयानलाई आधार लिएर प्रतिवादीलाई कसूरदार ठहर्‍याउन मिल्दैन । निश्चयात्मक सबूदको अभाव देखिएबाट निज प्र. खड्ग सिंह भन्ने खड्गबहादुरलाई आरोपित कसूरबाट सफाई दिने ठहर्छ । कसूरदार ठहर्‍याएको म.प.क्षे.अ.को इन्साफ नमिलेकोले उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.खड्ग सिंह भन्ने खड्गबहादुरले आरोपित कसूरबाट सफाई पाएकोले निजको सम्बन्धमा शुरु जुम्ला जि.अ.ले गर्ने गरेको कैद वर्ष ३ र जरिवाना रु.१०००।साथै म.प.क्षे.अ.ले इन्साफ सदर ठहरे बापत उक्त सजायँको सयकडा १० ले थप कैद ३ महीना १८ दिन र जरिवाना रु.१००।लाग्ने ठहर्‍याएकोमा सो कुनै पनि नलाग्ने हुँदा सो को  लगत कट्टा गरी दिनु भनी शुरु जुम्ला जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु .........१  

पुनरावेदक प्रतिवादी खड्ग सिंह भन्ने खड्गबहादुर के निजले शुरु इन्साफ उपर म.प.क्षे.अ.मा पुनरावेदन गर्दा कैद तथा जरिवाना बापत राखेको धरौटी रु.२६२०।र यस अदालतमा पुनरावेदनको अनुमति दर्ता गर्दा म.प.क्षे.अ.ले गर्ने गरेको थप जरिवाना तथा कैद बापत राखेको धरौटी रु.२६२ समेत जम्मा रु.२८८२ रुपैयाँ निजले कसूरबाट सफाई पाएकोले नलाग्ने हुँदा निजलाई कानुन बमोजिम गरी फिर्ता दिनु भनी शुरु जुम्ला जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु .... २

नियम बमोजिम मिसिल बुझाइदिनू ........३

 

उक्त रायमा म सहमत छु ।

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४२ साल चैत्र १३ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु