शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६६४ - लिखत दर्ता बदर

भाग: २८ साल: २०४३ महिना: असार अंक:

निर्णय नं. २६६४     ने.का.प. २०४३  अङ्क - ३

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् ०४२ सालको दे.पु.नं. ४३०

फैसला भएको मिति : २०४३।१।७।१ मा

 

पुनरावेदक/वादी : जि.सर्लाही गा.पं.हथिऔला वडा नं.७ बस्ने रामस्वरुप सहनी मलाह

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने रामसेवक सहनी मलाहसमेत

 

मुद्दा : लिखत दर्ता बदर

 

(१)         वादी स्वयंले भिन्न भएको भनी उल्लेख गरेपछि भिन्न भएको छैन भन्न विबन्धनको सिद्धान्तले समेत नमिल्ने ।

(प्रकरण नं. ११)

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४२।२।३।५ मा भएको निर्णय उपर वादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी पुनरावेदन प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :

२. विपक्षी मध्येका रामसेवक सहनी मेरा भाइ भई निजले रीतपूर्वक बण्डापत्र नदिँदा मैले निज उपर अंश मुद्दा दिएकोमा ०३५।१२।२९ सम्मको चल अचल सम्पत्तिको तायदाती दाखेल गर्ने आदेश भई दाखेल गरेकोमा सो जग्गाहरू तायदातीमा नपरेकोले बुझ्दा विपक्षी रामसेवकको नाउँको बलरा गा.पं.वडा नं.४ को कि.नं.४५ को ज.वि.०, वडा नं.९ को कि.नं.८१ को ०१०, वडा नं.९ को कि.नं.१०९ को ज.वि. ०१५ जम्मा ज.वि. ०१३५ विपक्षी मध्येका लखन मण्डलको नाउँमा लेखत पारीत गरी दिएकोले म्यादै भित्र उजूर गर्न आएको छु ज.वि.०१२½ को लिखत र दर्ता बदर गरिपाउँ भन्ने ०३६।६।७।१ को फिरादपत्र ।

३. वादी दावी जिकिर तथ्यहिन एवं काल्पनिक छ ब्रज मोहनप्रसाद सिंह सितको मुद्दामा ०३४।९।२५ मा मिलापत्रमा मेरो भिन्न बसेको भाइ रामसेवक सहनी भनी उल्लेख भएबाट विपक्षी सगोलमा नरहेको दाता रामसेवक सहनीसँग भिन्न भएको हुँदा र सो जग्गाको दाताको निजी आर्जन हुँदा फिराद दावी खारेज हुनुपर्ने भन्ने ०३६।९।८ को प्रतिउत्तरपत्र ।

४. प्रतिवादी रामसेवक सहनीले आफ्नो हक भोगको जग्गा लिखत गरी धनीको नालेश गरी फैसला भई पारीत भएको कुरा आफूले पहिले अदालतमा व्यक्त गरिसकेको कुरामा विबन्धनको सिद्धान्त विपरीत नालेश गरेको देखिँदा फिराद दावी पुग्न सक्दैन भन्ने समेत सर्लाही जिल्ला अदालतको ०३७।६।५।१ को फैसला ।

५. उक्त इन्साफमा चित्त बुझेन भन्ने रामस्वरुप मलाहको ज.अं.अ. मा परेको पुनरावेदन ।

६. राम स्वरुप सहनी र रामसेवक सहनी अंशियार भई घरको मुख्य व्यक्ति रामस्वरुप नै रहे भएको कुरामा आजै निर्णय भएको अंश मुद्दाबाट देखिन आउँदा रामस्वरुपको हकमा बिक्री गरेको जग्गाको आधा लिखत  र दर्ता बदर हुने हुँदा सो हदसम्म शुरु इन्साफ उल्टी हुने ठहर्छ भन्ने जनकपुर अञ्चल अदालतको ०३९।३।२८।२ को फैसला ।

७. ज.अं.अ.को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा ०३४।९।२५।२ मा मिलापत्र गर्दा रामस्वरुप सहनीले मेरो भिन्न भएको भाइ रामसेवक भन्ने उल्लेख गरी निवेदन दिएकोमा सगोल भनी दावी लिन विबन्धनको सिद्धान्तले रोक लगाउनेमा आधी लिखत बदर गर्ने गरेको जनकपुर अं.अ.को इन्साफमा न्या.प्र.सु.ऐन, ०३१ को दफा २(३) अन्तर्गतको प्रश्‍नमा त्रुटि देखिँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने ०४०।१२।१६ को आदेश ।

८. यसमा रामसेवकले लखत मण्डललाई ज.वि.०१३५ मिति ०३५।१२।३१ मा पारीत गरी दिएको सम्बन्धलाई लिई लिखत दर्ता बदरमा प्रस्तुत फिराद पर्न आएको देखिन्छ । वादी रामस्वरुप र रामसेवकको बीच अंश मुद्दा चली जनकपुर अं.अ.बाट ०३९।३।२८ मा फैसला भएको र वादी ब्रज मोहनप्रसाद सिंह प्र.राम स्वरुप भएको लिखत पारीत मुद्दामा ०३४।९।२५ मा मिलापत्र गर्दा मेरो भिन्न बसेको भाइ रामसेवक सहनी भनी रामस्वरुपले उल्लेख गरेको समेत प्रमाणको मिसिलहरूबाट देखिन आउँछ । आफ्नो दाजु भाइ बीच चली निर्णय भएको अंश मुद्दाको असर अन्यथा प्रमाणित नभएसम्म मिलापत्रसँग सम्बन्ध नभएको अरु व्यक्तिले व्यहोर्नु पर्ने भनी मिलापत्र गर्ने पक्ष रामस्वरुपले सुविधा पाउने कानुनी व्यवस्था रहेको देखिँदैन । निज रामस्वरुपले भिन्न भएको भनी उल्लेख गरेपछि भिन्न भएको छैन भन्न विबन्धनको सिद्धान्तले समेत नमिल्ने देखिन्छ । तसर्थ लिखत दर्ता बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । दावी बमोजिम लिखत दर्ता बदर हुने ठहर्‍याएको जनकपुर अञ्चल अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको ०४२।२।३।५ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९. म.क्षे.अ.को इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा नि.नं. ८२७ निवेदक वादी रामस्वरुप सहनी मलाह विपक्षी प्रतिवादी रामसेवक सहनी मलाह समेत भएको मुद्दामा आजै यस बेञ्चबाट पुनरावेदनको अनुमति प्रदान भएको प्रस्तुत मुद्दा पनि उसै लगाउको हुँदा यसमा पनि अनुमति प्रदान गरिएको छ भन्ने स.अ.डिभिजनबेञ्चको ०४२।३।३१।२ को आदेश । नियम बमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी प्रतिवादी दुवै थरीलाई बेञ्च समक्ष उपस्थित गराई निर्णयतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको निर्णय ठीक बेठीक के रहेछ भनी निर्णयतर्फ विचार गर्दा ।

१०. यसमा पुनरावेदक वादी रामसेवकले स्व. आर्जनको जग्गा बिक्री गरेको हो वादी रामस्वरुपले बृज मोहनसँगको लिखत पारीत मुद्दामा मिलापत्र गर्दा भित्र भएको भाइ रामसेवक भनी उल्लेख गरेको छ । दावी बमोजिम लिखत दर्ता बदर हुनुपर्ने होइन । रामसेवकले विश्व मोहनलाई मिति ०३६।४।२१ मा जग्गा विगहा ०५ पारीत गरी दिएको सम्बन्धलाई लिई लिखत दर्ता बदरमा फिराद गर्न आएको देखिन्छ । वादी प्रतिवादी बीच अंश मुद्दा चली मिति ०३९।३।२८ मा जनकपुर अञ्चल अदालतबाट फैसला भएको र वादी व्रज मोहनप्रसाद सिंह र प्र. रामस्वरुप भएको लिखत पारीत मुद्दा ०३४।९।२५ मा मिलापत्र गर्दा रामस्वरुप सहनीले मेरो भिन्न बसेको भाइ रामसेवक सहनी भनी उल्लेख गरेको समेत देखिन्छ । आफ्नो दाजु भाइ बीच अंश मुद्दा चली भएको निर्णयले मिलापत्रसँग सम्बन्ध नभएको अरु व्यक्तिले व्यहोर्नु पर्ने भनी मिलापत्र गर्ने पक्ष रामस्वरुपले सुविधा पाउने कानुनी व्यवस्था देखिँदैन ।

११. वादी स्वयंले भिन्न भएको भनी उल्लेख गरेपछि भिन्न भएको छैन भन्न विबन्धनको सिद्धान्तले समेत नमिल्ने देखिन्छ । तसर्थ यस्तो स्थितिमा लिखत दर्ता बदर गराउने वादी रामस्वरुपको हक पुग्ने भन्न नमिल्ने नै देखिन्छ । वादी दावी नपुग्ने ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि समेत देखिन नआएकोले उक्त इन्साफ मनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी लागि मुद्दा दायर भएको हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४३ साल वैशाख ७ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु