निर्णय नं. २९९७ - अंश

निर्णय नं. २९९७ ने.का.प. २०४४ अङ्क २
पूर्ण इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको दे.फु. नम्बर ७८
मुद्दा : अंश
निवेदक/वादी:जिल्ला मोरङ बुधनगर गाँउ पञ्चायत वडा नं. ६ घर भई वीरगन्ज कारागारमा थुनामा परेको अवस्थामा मुत्यु भएको मिठन यादवको मु.स. गर्ने डोमी यादव।
विरुद्ध
विपक्षी/प्रतिवादी : जिल्ला मोरङ बुधनगर गा.पं. वडा नं. ६ बस्ने अनुपलाल यादवको मु.स. गर्ने विन्देश्वर यादव।
फैसला भएको मिति: २०४४।१।४।६ मा
थुनामा रहेका आफ्नो बाबु मरेको जानकारी नपाई मुद्दा सकार गर्न जाने अवस्था नै नपर्ने र सो जानकारी नभएबाट वादीको वारिस तारिख बसेको छँदै वादीले मुद्दा सकार गरी तारिखमा नरहेको भनी मुद्दा किनारा हुँदा प्रचलनमा रहेको मुलुकी ऐनमा भएको व्यवस्थाबाट पनि मुद्दा डिसमिस गर्न कानूनले नमिल्ने ।
(प्रकरण नं. १२)
क्षेत्रीय अदालतले गरेको इन्साफमा डिभिजन बेञ्चबाट सबूद प्रमाणको मूल्यांकन गरी क्षेत्रीय अदालतको इन्साफ सदर बदर गरेको देखिन नआएको डिभिजन बेञ्चको सो बमोजिम गरी क्षेत्रीय अदालतको इन्साफ सदर बदर गरी बोल्नु बेगर फुल बेञ्चबाट सो इन्साफमा सबूद प्रमाण मूल्यांकन गरी ठहर गर्न नमिल्ने ।
(प्रकरण नं. १३)
निवेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी,प्रतिवादी तर्फवाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४२।४।१५ को निर्णय दोहर्याई पाउँ भनी निवेदक डोमी यादवको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा परेको विन्तिपत्रमा नेपालको संविधान, २०१९ को धारा ७२(ख) बमोजिम प्रस्तुत मुद्दा दोहराई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. वादी ढोडाइको छोरा मुगालाल निजका छोरा मध्ये जेठा अनुपलाल कान्छा म मिठान यादव ढोडाई मरेपछि ढोडाईको नामको सबै जग्गा मुगालालले निजकै नाममा राखी मुगालाल मरेपछि ढोडाई दर्ताको सबै जग्गा अनुपलालका नाममा नामसारी भई सगोलमा रही भोगी आएका २०११ सालमा दाजु अनुपलाल उपर डाँका खुन मुद्दा लागी अनुपलालले सफाई पाएकोले मैले कसूर गरेको ठहरी फैसला भएको सर्वोच्च अदालतबाट सो फैसला सदर भएपछि तिमीलाई डाँकामा ठहर्याई दिएकोले र तिमी फरार भएकोले हामी दुवै भाइले आफ्नो मानो छुट्याई लिएमा हाम्रो धनमालको रक्षा हुन्छ भनी अनुपलालले भन्दा मलै स्वीकार गरी १५–११–१५ विगहा दाजु अनुपलालले चल सम्पत्ति आधी बण्डा गरिदिनु भयो र अचल जग्गाको हुने उब्जा आयस्ताको आधा हिस्सा मैले भोगी आएको यस्तैमा उल्लिखित डाँका खुन मुद्दाको फैसला बमोजिम २०२३ सालमा पक्राउ भई कैदमा बसेको छु । सो पछि मैले पाउने अंश वापतका जग्गा मध्ये ज.क.गा.पं.प्र. कटहरी मौजे बुदनगरेको जग्गा मेरो मन्जूरी बेगर मेरा छोरा डोमी यादवलाई विपक्षले खान निमित्त मौखिक छुट्याई दिएको थियो । सो जग्गा मेरो नाममा नहुँदा जग्गा चलन गर्न पाउँदैन भनी हटक दिएको कुरा थाहा भएपछि मेरो अंशका आधा जग्गा जे गर्नु पर्ने गरी बण्डा गरी दिनु होस् मन्जूरनामा कागज जेलबाट पठाई दिन्छु भनी प्रतिवादीलाई खबर पठाउँदा अब अंश पाउँदैन भनी जवाफ दिएको थाहा पाएकोले फिराद गरेको छु अंश नहुँदै मेरो बाबु मुगालाल परलोक हुनु भएकोले मैले पाउने आधी अंश हुँदा मेरो सबूद बुझी पिताको आर्जन के कति थियो सो मलाई सम्झना नरहेबाट पिता पूर्खाको आर्जनको जग्गा र सो बाट बढे बढाएको धन जेथाको रीतपूर्वकको तायदाती फाँटवारी प्रतिवादीबाट लिई दुई भाग लगाई मैले पाउने आधा अंशको एकभाग र कोर्ट फी समेत विपक्षीबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ।
३. वादी मिठान यादव मुगालालको छोरा नभई काका पोषणको छोरा हुँदा वादी काकाको छोरा भई मुगालालको छोरा म हुँदा वादीले देखाएको पुस्तावारी गलत हो बण्डा गरी छुट्याउने सम्पत्ति नहुँदा बाजे ढोडाईले निजका छोरा वादीका बाबु पोषण यादव र मेरा बाबु मुगालाललाई छुट्याई दिएबाट छुट्टिई गएपछि मेरा नाममा आर्जन हुन आई म समेतले आर्जेको सम्पत्तिमा वादीको दैया नपुग्ने हुँदा वादी दावा झुठ्ठा हो । छुट्टी बसी आएपछि मेरा पिता मुगालालले सम्पत्तिमा काका पोषणका छोरा यी वादी अपुतालीसम्म खान पाउने हकदार भई अंशियार नभएको कुरा मिति २०१२।११।२३ का फैसला बमोजिम वादीलाई लागेको जरिवाना असूल गर्न डोर जाँदा जायजेथा नभएको भन्ने भई आएको र वादीको पत्नी धनपतियाले यिनै वादी उपर २०२३ सालमा दायर गरेको अंश मुद्दामा हामीलाई अंश दिनु नपर्ने त्यसमा सम्म इन्कारी रही आफ्नो अंश हक देखाई प्रतिवादीले दिनु पर्ने यसबाट वादी अंशियार नभएको सिद्ध हुन आएबाट अंशमा पर्न आएको फिराद झुठ्ठा हो कुटपिट मुद्दा र ज्यान मुद्दा दायर भएको इविबाट मिठन र डोमी मिली दुःख दिन झुठ्ठा उजूर गरेका हुन भन्ने समेत व्यहोरको प्रतिवादी रहेछ ।
४. वादीले मिति २०३०।१०।२२ को तायदाती बमोजिम प्रतिवादीबाट ऋण धन समेतको आधी अंश छुटाई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोरको मोरङ जिल्ला अदालतको फैसला रहेछ।
५. सो फैसला उपर चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी अनुपलाल यादवको पुनरावेदनपत्र रहेछ ।
६. अंश दिलाएको इन्साफ मिलेको देखियो ऋण भनी बण्डा लाग्ने भनी निर्णय गरेतर्फ सम्बन्धित साहूको ऋण थैली दिलाई पाउँ भनी वादी परेका बखत कानून बमोजिम निर्णय हुने नै हुँदा ऋणमात्र बण्डा गरेकोसम्म मोरङ जिल्ला अदालतको इन्साफ गल्ती ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।८।२३।३ को फैसला रहेछ ।
७. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी अुनपलालको मुद्दा सकार गर्ने विन्देश्वरी यादवको निवेदनपत्रमा मुगालालको छोरा अनुपलाल यादव र म मिठन यादव भन्ने वादीतर्फ पेश गरिएको पुस्तावारीमा आपत्ति जनाउँदै प्रतिवादीबाट पेश गरिएको पुस्तावारीमा वादी मिठन अनुपको छोरा नभई ढोडाइको नाति पोषणको छोरा हुन भन्ने भएको र वादीको छोरा डोमी यादवले प्रतिवादी अुनपलाल उपर मिति ०१९।११।३ मा इलाका अदालत विराटनगरमा दिएको अंश मुद्दाको पोषणको छोरा मिठन र मिठनको छोरा डोमी भनी उल्लेख गरेको देखिन्छ । यस स्थितिमा वादीले अंश पाउने ठहर गरेको पाइन्छ । क्षेत्रीय अदालतको मिति २०३८।८।२३ को निर्णयमा सबूद प्रमाणको सही मुल्यांकन नभई अ.बं. १८४(क) को त्रुटि गरी निर्णय भएको देखिएको त्यस्तो त्रुटि सार्वजनि महत्वको समेत हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।३।२७।२ को आदेश ।
८. वादी मिठन यादव मिति २०३०।४।२६ गते मृत्यु भएको निजको छोरा डोमी यादवले म्यादभित्र मुद्दा सकार गरेको देखिँदैन । मुलुकी ऐन सातौं संशोधन ऐन २०३४।९।२७ देखि लागु भएको सो भन्दा अगावै दायर भएको र निर्णय भएको मुद्दामा उक्त संशोधन ऐन आकर्षित हुन नसक्नेमा त्यसतर्फ ध्यानै नदिई डिसमिस हुने मुद्दालाई मोरङ जिल्ला अदालतले र पूर्वाञ्चल क्षेत्रीय अदालतले अंश पाउने ठहर्याएको निर्णय त्रुटिपूर्ण देखिएकोले बदर गरी दिने ठहर्छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट गरेको मिति २०४१।४।१५ को फैसला ।
९. सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।४।१५ को फैसला त्रुटिपूर्ण हुँदा नेपालको संविधान २०१९ को धारा ७२(ख) बमोजिम फुल बेञ्चबाट दोहर्याई पाउँ भनी निवेदक डोमी यादवको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको मिति २०४१।६।१२ को विन्तिपत्र ।
१०. मिठन यादवको मृत्यु वीरगन्ज कारागारमा मिति २०३०।४।२६ मा भएको र मिति २०३१।६।३ मा सो को सूचना दिइएको भन्ने कुरा यी निवेदक समेत वादी र विपक्षी प्रतिवादी अनुपलाल भएको जालसाजी मुद्दाको शुरु मिसिलमा रहेको देखिन्छ । पूर्वाञ्चल क्षेत्रीय अदालतबाट झगडीया झिकाउने आदेशानुसार मिति २०३३।१२।३० मा निवेदकका नाममा म्याद तामेल भएको र म्याद अनुसार अदालतमा हाजिर भई मुद्दाको कारवाही चली पूर्वाञ्चल क्षेत्रीय अदालतबाट समेत मुद्दामा फैसला भएको छ । यस किसिमको स्थितिमा डिसमिस हुने मुद्दालाई मोरङ जिल्ला अदालत पूर्वाञ्चल क्षेत्रीय अदालतले अंश पाउने ठहर्याएको निर्णयहरू त्रुटिपूर्ण भनी बदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय अ.बं. ६२, १७९, १८५(क) र कारागार ऐन, २०१९ को दफा १३ समेतको त्रुटि भएको छ भन्ने समेत न्यायिक समिति राजदरवारको मिति २०४२।३।११ को पर्चा ।
११. निवेदक (वादी) तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले मिठन यादव केन्द्रीय कारागार कार्यालय वीरगन्जमा कैदमा रहनु भएका बखत कारागारबाटै वारिसद्वारा अंश मुद्दा दायर गर्नु भएको र मुद्दामा वारिसले पूर्पक्ष गर्दै गरेको र मोरङ जिल्ला अदालतबाट मिठनले अंश पाउने ठहरी फैसला भएको हो । मिठन यादव कारागारमै रहेकै अवस्था मिति २०३०।४।२६ मा स्वर्गे हुनु भएको कुराको जानकारी कारागारको मिति २०३१।६।३ को पत्रबाट पाएपछि निवेदक डोमी यादवले पूर्वाञ्चल क्षेत्रीय अदालतमा मुद्दा सकार गरी पूर्पक्ष गरी आएको हो । मोरङ जिल्ला अदालतमा मुद्दा सकार गर्नलाई मिठनको परलोक भएको जानकारी नपाएबाट मृत्यु हुँदा साथ सकार गर्न जाने प्रश्न उठ्दैन । अतः प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णयमा कारागार ऐन, ०१९ को दफा १३ दफा (१) अ.बं. ६२(३) समेतको विपरीत हुँदा उक्त निर्णय बदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१२. यसमा क्षेत्रीय अदालतले ऋणको हकमा पछि ठहरे बमोजिम हुने भनी वादी निवेदकले अंश पाउने ठहर्याएकोमा प्रतिवादीको पुनरावेदन गर्न अनुमति पाउँ भन्ने निवेदनमा अनुमति दिई परेको पुनरावेदनबाट डिभिजन बेञ्चले तत्काल प्रचलित मुलुकी ऐनले वादी मरेको ऐनका म्यादभित्र निवेदकले मुद्दा सकार गरी तारिख नरहेको हुँदा मुद्दा डिसमिस गर्नु पर्नेमा तहकिकात इन्साफ गरेको शुरु र क्षेत्रीय अदालतको इन्साफ बदर हुने भनी ठहर गरेकोमा निवेदकको सो डिभिजन बेञ्चको इन्साफ दोहर्याई पाउँ भनी न्यायिक समितिमा निवेदन परी न्यायिक समितिको सिफारिशमा मुद्दा दोहोर्याई दिने हुकुम प्रमांगी बक्स भई विपक्षी प्रतिवादी समेत झिकाई आजको तारिख तोकी पेश हुन आएकोमा प्रतिवादी विपक्षी तारिखमा उपस्थित नभए पनि मुद्दा किनारा गर्न नरोकिने हुँदा डिभिजन बेञ्चको उक्त ठहर मनासिब बेमनासिब के हो भन्नेतर्फ विचार गरेमा शुरु जिल्ला अदालतबाट मुद्दा मिति २०३१।२।६ मा किनारा हुँदा सम्म वादी मिठनको वारिस तारिखमा रहेको देखिएकोबाट बेजिल्ला वीरगन्ज कारागारमा थुनामा रहेका वादीको मृत्यु २०३०।४।२६ मा भइसकेको कुरा निज वारिस र निज वादीको जहान परिवारलाई थाहा हुन नसकी पछि मिठनको स्वास्नीले आफ्नो लोग्ने कहिले छुट्ने जानकारी पाउँ भनी २०३१।६।३ मा दिएको निवेदनबाट कारागारबाट २०३१।६।३ मा वादी मिठन २०३०।४।२६ मा स्वर्गे भएको र कारागार ऐनको दफा बमोजिम हकदारलाई दिएको सूचना समेत तामेल नभएको कुरा थाहा पाएको सो अवस्था जिल्ला अदालतबाट मुद्दा किनारा भई सो फैसला उपर प्रतिवादी अनुपलालको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनबाट वादीलाई झिकाइएकोमा यिनी निवेदक म्यादमा हाजिर भई मुद्दा सकार गरेको आफ्नो घरमा नरही अन्तै वीरगन्ज कारागारमा थुनामा रहेका आफ्नो बाबु मरेको जानकारी नपाई मुद्दा सकार गर्न जाने अवस्था नै नपर्ने र सो जानकारी नभएबाट वादीको वारिस तारिख बसेको छँदै वादीले मुद्दा सकार गरी तारिखमा नरहेको भनी मुद्दा किनारा हुँदा प्रचलनमा रहेको मुलुकी ऐनमा भएको व्यवस्थाबाट पनि मुद्दा डिसमिस गर्न कानूनले नमिल्ने भई शुरु जिल्ला अदालतले र क्षेत्रीय अदालतले प्रस्तुत मुद्दामा तहकिकात गरी इन्साफ गरेको मिलेकै देखिएकोले डिसमिस गर्न पर्नेमा इन्साफ गरेको शुरु जिल्ला अदालत तथा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ बदर हुने ठहर्याएको डिभिजन बेञ्चको इन्साफ मिलेको नदेखिएकोले बदर हुन्छ ।
१३. माथि लेखिए बमोजिम डिभिजन बेञ्चको उक्त ठहर बदर भएकोले क्षेत्रीय अदालतबाट भएको इन्साफ मिले नमिलेको यसै बेञ्चबाट विचार गर्नुपर्ने हो कि भन्नालाई डिभिजन बेञ्चको उक्त ठहरबाट क्षेत्रीय अदालतले गरेको इन्साफमा डिभिजन बेञ्चबाट सबूद प्रमाणको मुल्यांकन गरी क्षेत्रीय अदालतको इन्साफ सदर बदर गरेको देखिन नआएको डिभिजन बेञ्चले सो बमोजिम गरी क्षेत्रीय अदालतको इन्साफ सदर बदर गरी बोल्नु बेगर फुल बेञ्चबाट सो इन्साफमा सबूद प्रमाण मूल्याकंन गरी ठहर गर्न नमिल्ने हुँदा यस अदालतमा सो अवस्था पुनरावेदन गर्ने प्रतिवादी आजको तारिखमा उपस्थित नहुँदा निजलाई ७ दिनको म्याद दिई झिकाई निजको सो अवस्था परेको पुनरावेदन डिभिजन बेञ्चमा दर्ता गरी पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेतर्फ कानून बमोजिम ठहर गर्न भनी मिसिल डिभिजन बेञ्चमा पठाई दिने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।४।१५ को फैसला बदर भएकोले पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३८।८।२३ को फैसला बमोजिम कायम भएको लगत स.अ. डिभिजन बेञ्चको मिति ०४१।४।१५ को फैसला बमोजिम कट्टा गर्न मिलेन सो लगत कायमै राख्नु भनी मोरङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु..१
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.पृथ्वीबहादुर सिंह
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४४ साल बैशाख ४ गते रोज ६ शुभम् ।