शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९९८ - घरजग्गा खिचोला

भाग: २९ साल: २०४४ महिना: जेष्ठ अंक:

निर्णय नं. २९९८   ने.का.प. २०४४ अङ्क २

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४१ सालको दे.फु.नं. ७६

मुद्दा : घरजग्गा खिचोला

 

निवेदक/प्रतिवादी: का.जि. ज्ञानेश्वर बस्ने पोषणनाथ उपाध्याय।

        ऐ.ऐ बस्ने दामोदर प्रसाद उपाध्याय।

विरुद्ध

विपक्षी/वादी: ऐ.ऐ. बस्ने अम्बिकादेवी उपाध्याय

फैसला भएको मिति: २०४४।२।१५।६ मा

 

    लुटपिट र खिचोलातर्फ फिराद लिई आएकोमा खिचोलातर्फ मात्र इन्साफ हुँदै आएको देखिएकोले फौज्दारी र देवानी दुई विषयका दावी कुराहरू फिरादपत्रमा समावेश भएकै कारणबाट पूरै फिराद नलाग्ने भन्न सकिने स्थिति देखिँदैन ।

(प्रकरण नं. १८)

    प्रतिवादी कायम गरिएकालाई अदालतले झिकाई बयान गराउँदा निजको बयान समेतबाट निजलाई कारणी सरहदेखि प्रतिवादी कायम गरेको अ.बं. १३९ ले मिल्ने ।

(प्रकरण नं. १८)

निवेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल, विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ, विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता,श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दाःX

फैसला

न्या.रुद्रबहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३८।६।२ को फैसला दोहर्‍याई पाउँ भनी दामोदरप्रसाद उपाध्याय समेतको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तिपत्र परेकोमा उक्त मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.  का.जि. वानेश्वरको बुना महारानीको क्याम्प मध्ये पूर्व बासुदेव शम्शेरको विर्ता र बुना महारानीको पर्खाल साँध र वहाँकै बंगाला घरदेखि दक्षिण १७ फिट पूर्व वहाँकै जेठा छोरा मेहर शम्शेरको विर्ताको साँध, पश्चिम मूल सडक, उत्तर गुजेश्वरीको रथ लग्ने बाटो यति ४ किल्लाभित्रको विर्ता जग्गा रोपनी ७ र त्यसैमा बनेको उत्तर दक्षिण लङको दक्षिण मोहडाको ल.फु. ४२ ग.फु. २१।। को १ तले बंगला भुइँ घर १ र मेहर शम्शेरको घरको किलास गारोमा जोडिएको पुरानो उत्तर दक्षिण लङको पश्चिम मोहडाको ल.फु.३९ ग.फु. १४ को १ नाले २ तले घर सो घरहरूले चर्चेको लिग लगापात समेतको उक्त घरजग्गा समेत रु. १६,१०१। मा २००७।४।२८।४ मा बुना महारानीबाट फार्छे गरी लिई भोगी आएको बंगला भुइँ घरलाई किलास समेत थपी बसी आएकोमा उक्त पुरानो भई वारदली र झ्याल ढोका फेर्ने गाह्रो समेत मर्मत गर्ने हुँदा सामान ल्याई राखेकोमा उक्त घर २०२०।२।१७ का दिन अं. १० बजे विपक्षीहरूका मानिस समेत आई पोषणनाथको घर उत्तरपट्टिको गारो फोरी मेरो बारीमा आउन हुने गरी ढोका झिक्न लागेको र पोषणनाथको घर पश्चिमपट्टीको सडक पश्चिम हकभोगको जग्गामा पर्खाल भत्काई किन यसो गरेको भन्दा जे गर्छस गर भनी जवाफ दिएकोले उक्त घरजग्गा रोपनी १ सो घरमा रहेको बिगो रु २,६४०।भराई रु. १५,०००।पर्ने घर जग्गाको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद दावी रहेछ ।

३.  उक्त वादी दावीको घरजग्गा र ग्यारेज वादीको होइन । घरधनी पोषणनाथकै हक भई २०११ सालसम्म वहाँले र पछि आजसम्म खिचोला नभई भोगी आएको छु । २०११ सालमै पोषणनाथको आज्ञा बमोजिम मर्मत गरी सकेको र साविककै ठाउँमा पर्खाल बनाएको छु । वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको दामोदर र रामराजको संयुक्त प्रतिउत्तर जिकिर रहेछ ।

४.  उल्लिखित जग्गा घर मिति २००८।६।१।७ मा गरी दिएको राजीनामा जालसाजी हो भन्ने समेत व्यहोराको पोषणनाथको बयान रहेछ ।

५.  धनमाल कब्जा गरी लिए भनी वादीले दावा गरेतर्फ लुटपिटको अपराध भएको मितिले ९० दिनभित्र फिराद दायर गरेको हुनुपर्ने सो फिराद ९० दिन नाघी दायर भएको देखिन्छ। धनमाल लिए खाए भनी वादीले दावा गरेतर्फ इन्साफ दिन नमिल्ने हुँदा खारेज गर्ने र घरजग्गातर्फ बुना महारानीबाट वादीले र पोषणनाथले पनि राजीनामा लिएको पोषणनाथले राजीनामा पाएको घरजग्गा मध्ये केही जग्गामा कमलादेवी, सन्तवीरको बीच जग्गा खिचोला मुद्दा परी सर्वोच्च अदालतबाट यो पोषणनाथ समेत सन्तवीरले समेतले मिलापत्र गर्दा उक्त मिलापत्रबाट वादीले बुना महारानीबाट मिति २००७।४।२८ मा लिएको राजीनामालाई कायम मानी पोषणनाथ समेतले मिलापत्र गर्नु भएको वादी दावाको घरजग्गा देखि पश्चिमतर्फ उत्तर दक्षिण लम्वाई भएको ठाडो पर्खाल २०१९।१।१६ मा भएको नक्शामा नदेखिएको वादी दावाको घर जग्गामा कब्जा गरे गराए लिएको नभए मिति २०२०।६।३० मा भएको नक्शाबाट मात्र पर्खाल देखिन नपर्ने देखिएको हुँदा प्रतिवादीहरूले वादी दावाको घर जग्गामा दावी गरी कब्जा जमाई पर्खाल समेत लगाई खिचोला गरेको ठहर्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको फैसला रहेछ ।

६.  खिचोला गरेको ठहर्‍याई फैसला गरेकोमा चित्त बुझेन भन्ने रामराज, दामोदर, अम्बिकादेवी, पोषणनाथको बागमति अञ्चल अदालतमा परेको पुनरावेदनपत्र रहेछ ।

७.  घर बनाउन सिमेन्ट मालसामान कब्जा गरेको बिगो पाउँ भन्ने दावी गरेकोलाई यो बिगो लुटपिटको १ नं. को परिभाषाभित्र परेको ३ महिना म्याद नाघी सो दावी गरेकोले वादी दावी खारेज गरेको इन्साफ शुरुको मनासिब छ । जग्गा घरतर्फ मिति २०२९।८।२७ गतेमा यस अदालत मार्फत भएको न.नं. ३,,१ को जग्गा र २ नं. को घरमा झगडा जनाई न.नं. १ देखि पश्चिमतर्फ भत्केको पर्खाल भनी जनिएको ४।७ को वीचमा सीमाना छुट्याएको धर्सो र न.नं.. ३ देखि पूर्व पश्चिम दुवैतर्फको सीमाना छुट्याएको धर्सो देखिएको यो जग्गाको यो मुद्दा पर्नु भन्दा अगावै पोषणनाथ र सन्तवीर समेतको जग्गा मुद्दामा मिति २०१९।१।२६ गतेमा भएको नक्शा हेर्दा उक्त लेखिएको सीमाना छुट्याएको धर्सो रेखाहरू नदेखिएको र मिति २०२९।८।२७ गतेमा भएको न.नं. २ को घरमा तल्ला समेत खोली खरीद गरेको प्रतिवादी पोषणनाथतर्फबाट खरीद हुँदा २ नाले ग्यारेज घर भन्नेसम्म कायम हुने यस अदालतबाट मिति २०२९।८।२७ मा भई आएको नक्शा नं. ८ मा  जनिएको जग्गाको बंगला घरदेखि पूर्व १७ फिट घर जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला रहेछ ।

८.  उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी प्रतिवादी दुवै पक्षको पुनरावेदनपत्र ।

९.  लुटपीट र खिचोला मुद्दामा अ.बं. ७२ नं. ले दुवै हेर्न हुँदैन भन्ने तर्कलाई देवानी फौज्दारी यौटा दावा भएको दुवै खारेज गर्न मिल्दैन र मुख्य दावा खिचोला हुँदा लुटपीटलाई गौण मानी छोडी खारेज गरेको मिलेकैछ । अब जग्गातर्फमा २०१९ सालको नक्शाको न.नं. ३ मा सडक जनिएकोले सो घरको मोहडा दक्षिणतर्फ रहेको प्रष्ट हुन आउँदछ । पुनरावेदक वादीको जग्गाको किल्लाहरू उक्त तिनैको साँध देखिएको छ । सो कुनै नक्शामा पनि देखिन आउँदैन । उपरोक्त कारण तथा सबूद प्रमाणबाट खिचोलातर्फ शुरुको इन्साफ सदर गरी अञ्चल अदालतको पुनरावेदक प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको इन्साफ नमिलेको हुँदा उल्टी हुन्छ । माल सामान कब्जा गरे भन्नेतर्क लुटपिटको परिभाषाभित्र नपरेको हुँदा शुरु र अञ्चल अदालतले खारेज गर्ने गरेको इन्साफ मनासिब छ, भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला रहेछ ।

१०. उक्त इन्साफमा चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भनी वादीको श्री ५ महाराजाधिराजका हजुरमा विन्तिपत्र परी इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी भई आएको रहेछ ।

११.  मिति २०२९।८।२७ मा भएको नक्शा नं. २ को घर र न.नं. १ को बारी र न.नं. ३ को जग्गा समेतमा झगडा परेको देखिन्छ । प्रमाणमा ल्याएको वादी पोषणनाथ र पेटबोलीबाट बुझिएका प्रतिवादी सन्तवीर लामा समेत भएको मिति २०२१।४।२२ को मिलापत्र भएको जग्गा खिचोला मुद्दामा मिति २०१९।१।२६ गते भएको नक्शा र हाल यस मुद्दामा मिति २०२९।८।२७ मा भएको नक्शा भिडाई हेर्दा २०१९ सालमा भएको नक्शाका न.नं. ६, ८ र न.नं. ९ को उक्त बासुदेव शम्शेरको घर जग्गा जाने बाटो र पूर्व समर शम्शेरको बारी देखिने र हाल मिति २०२९।८।२७ मा भएको नक्शाको न.नं. १ को बारी र न.नं. २ को घरको उत्तरपट्टि गुहेश्वरीको रथ लाने बाटो र बासुदेव शम्शेरको घर जाने बाटो एउटै देखिने र पूर्वमा न.नं. ४ बुना महारानीको घरबाट निजको पर्खाल साँध न.नं. १ बाट हुँदै गुहेश्वरीको रथ लाने बाटो र बासुदेव शम्शेरको घर जाने बाटोसम्म गएको देखिनाले मिति २०२९।८।२७ को नक्शाको न.नं. १ को बारी र न.नं. २ को झगडीया घर समेत वादी अम्विकादेवी र प्रतिवादी पोषनाथले लिएको राजीनामाको एउटै किल्लामा पर्न गएको प्रष्ट छ । २००७।४।२८ को वादी अम्बिकादेवीको घरायसी राजीनामा पास गरिपाउँ भनी अदालतमा नालिश परेको मितिको आधारबाट प्रतिवादी पोषनाथको राजीनामा भन्दा, बढी अम्बिकादेवीको राजीनामा अघिल्लो मितिको भएकोमा विवाद देखिएन दोहरो लिखत हुँदा पछिल्लो लिखत बदर गरिपाउँ भन्ने फिराद दावी नहुँदा यस मुद्दाबाट लिखतको सम्बन्धमा निपटारा गर्न मिल्दैन भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको भनाई भएकोमा आफूले पाएको राजीनामाको नाताबाट आफ्नो हकको घर जग्गामा खिचोला उठेको अवस्थामा त्यस्तो घर जग्गामा पक्ष विपक्षले पाएको राजीनामा हेर्नु पर्ने हुन्छ र हक छुटाई लिएको कुरामा विवेचना गर्नुपर्ने हुन आउँछ । सो सन्दर्भमा विचार गर्दा २०२९।८।२७ को नक्शामा न.नं. १ को बारी र न.नं. २ को घर वादी अम्बिकादेवीको जेठो तमसुकको किल्लाभित्र पारी प्रतिवादीले पाउनु भन्दा अघि नै वादीले त्यस्तो घरजग्गामा दाता बुना महारानीबाट हक छुटाई लिई सकेकोले त्यस्तो घरजग्गालाई प्रतिवादी पोषणनाथले उनै दाता बुना महारानीबाट २ तल्ले मोटर ग्यारेज समेत भनी पछि लेखाई लिएको  नाताबाट त्यस्तो घरजग्गामा प्रतिवादीको हक पुग्छ भन्न मिल्दैन । मिति २०२९।८।२७ को न.नं. ३ को झगडीया जग्गातर्फ हेर्दा वादीले प्रतिवादीको लिखतको पश्चिम सीमाना न.नं. ६ लाई ढल भनी देखाएकोमा प्रतिवादीले सो न.नं. ६ मेरो ढल सीमाना होइन न.नं. ७ को ढल मेरो पश्चिममा सीमाना हो भनी देखाउनु भएकोमा वादी पोषणनाथको र प्रतिवादी कमलादेवी समेत भई मिति २०२१।४।२२ मा सन्तवीरसँग भएको जग्गा खिचोला मुद्दाको मिलापत्रको मिसिलमा रहेको २०१९।१।२६ को नक्शा हेर्दा प्रतिवादी पोषणनाथले मेरो जग्गा १३ नं. लेखिएको ठाउँदेखि बंगलाको बीचमा साविक ढल भई सो ढल बंगलाको छेउ हुँदा उत्तरतिर पोखरीमा खसेको छ भनी नक्शा जिकिरमा लेख्नु भएको पाइन्छ । हाल मिति २०२९।८।२७ मा भएको नक्शाको कि.नं.७ ढल बीचमा नरहनुको अतिरिक्त उत्तरतिर नगई दक्षिणतर्फ आएकोले न.नं. ७ को ढल मेरो पश्चिम सीमानाको भन्ने प्र.पोषणनाथको भनाई जिकिर अमिल्दो देखिन्छ, न.नं. ८ को जग्गामा रहेको घर अम्विकादेवी भएकोमा विवाद छैन । त्यस्तो घर वादी अम्विकादेवीले बुना महारानीबाट खरीद गरी लिँदा उत्तर दक्षिण लङको दक्षिण मोहडाको लम्वाई फिट ४२ र गज २१ फिट उल्लेख भएकोले न.नं. ८ मा रहेको घरको पूर्व पश्चिम चौडाई नक्शामा नाप्दा अन्दाजी फिट ३८ हुन आएको उक्त न.नं. ८ मा रहेको घरदेखि पूर्वपट्टी १७ सत्र फिटसम्म मेरो जग्गा छ भन्ने वादीको भनाई झुठ्ठा छ, भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको जिकिर भएकोमा वादीको राजीनामामा उल्लेख भएको घरको लम्वाई ४२ फिट देखिन्छ । मिति २०२९।८।२७ को न.नं. ८ मा रहेको वादीको घरको उत्तर दक्षिणको लम्वाई समेतबाट हाल नाप्दा ८० फिट हुन आउने हुँदा वादीले बढाएको घर पूर्वपट्टीको भन्न सक्ने स्थिति छैन । २०१९।१।२६ को नक्शामा न.नं. ९ को घर र न.नं. ६ को जग्गालाई वादी अम्विकादेवीले मेरो हो भनी प्रतिवादी पोषणनाथले किटानसाथ भन्न सक्नु भएको छैन र हाल २०२९।८।२७ मा भएको नक्शा र २०१९।१।२६ मा भएको नक्शा भिडाउँदा उक्त २०१९।१।२६ को नक्शाको न.नं. १० को उत्तर ढोका नदेखिने र न.नं. ६ मा पर्खाल र न.नं. ९ र न.नं. १० को घरको बीचमा बार्दली समेत नदेखिने वादीको घरजग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याएको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको मिति २०३८।६।२ को फैसला ।

१२. निवेदक प्रतिवादीतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री शम्भु थापाले दाता बुना महारानीबाट वादी अम्विकादेवीले २००७ सालमा घरायसी राजीनामाबाट लिएको जग्गा २००८ सालको नालिशबाट २०१० सालमा पारीत हुने ठहरी निर्णय भई २०१० सालमा पास भएको छ । निजै दाता बुना महारानीबाट पोषणनाथले २००८ सालमा प्रतिवादी जिकिरको जग्गा राजीनामा गरी लिई राजीनामाको पूरै जग्गा भोग गरी आउनु भएको छ । यदि वादीले प्रतिवादीले लिएको जग्गा एउटै पर्न गएको वा प्रतिवादीले वादीको जग्गा समेतमा खिचोला गर्न गएको भए त्यसै बखत खिचोलातर्फ नालिश पर्ने त्यसमा पनि २०१३ सालमा बुना महारानीको लिखतबाट पनि आफ्नो जग्गामा खिचोला परेको भए २ वर्षभित्र नालेश गर्न आउनु पर्ने आउन नसकी २००८ सालमा प्रतिवादीले राजीनामा लिई भोग गरेको जग्गा मेरो हो भनी खिचोला देखाई २०२० सालमा परेको फिराद हदम्याद भित्रको नाघी परेको छ । जसबाट फिराद नै लाउन नसक्ने स्थिति छ । मुद्दा दायर हुँदा पोषणनाथलाई प्रतिवादी बनाइएको छैन । प्रस्तुत मुद्दामा खिचोला र लुटपीट देवानी र फौज्दारी विषयका  कुरा गाभेर अ.बं. ७२ नं. विपरीत फिराद दायर भएको छ । नयाँ मुलुकी ऐन, २०२० आएपछि परेको प्रस्तुत मुद्दा हुँदा फिराद नै लाग्न सक्ने होइन । त्यसमा इन्साफ गरेको मिलेको छैन । मैले खरीद गरी लिई बसोवास गरी आएको घर कै पेटीबाट उत्तर दक्षिण पर्खाल लगाई पोषणनाथको घर र मेरो घरमा किनारा जोडिएको ठाउँमा निजको घरका झ्यालबाट मेरो घरको झ्यालमा आउन जान हुने गरी सानो बार्दली जोडी पोषणनाथको घर पश्चिमको सडक पश्चिमको मेरो जग्गाको समुच्चा पर्खाल भत्काई मेरो दुई तले पश्चिम मोहडाको २ तल्ले ग्यारेज समेत भएको घर पनि पर्खाल लगाई अलग क्याम्प बनाई पोषणनाथको घरको उत्तरपट्टिको गारो फोरी मेरो बारीमा आउन हुने गरी ढोका झिक्न लागि २ तल्ले घर सो घरको पूर्व पश्चिम उत्तर दक्षिण समेतको १ रोपनी जग्गा घर समेतमा दामोदर उपाध्यायले २०।२५ जवान मानिस ल्याई खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने वादी दावी छ । वादीले बुना महारानीबाट २००७ सालमा राजीनामा गरी लिँदा ७ रोपनी जग्गा र त्यसमा बनेको उत्तर दक्षिण लङको दक्षिण मोहडाको लम्वाई ४२ फिट गज फिट २१।। को १ तल्ले बंगला भई घर एक र मेहर शम्शेर घरको किल्लासम्म जोडिएको पुरानो घर भत्कन लागेको पश्चिम मोहडाको लम्वाई ३९ फिट गज फिट १४ को १ नाले २ तल्ले घर १ समेत लिएको छ । वादीले ग्यारेज घर राजीनामा गरी लिनु भएको छैन । फिराद दावीमा पश्चिम मोहडाको ग्यारेज घर १ भन्ने छ तर पश्चिम मोहडाको ग्यारेज घर नै छैन दक्षिण मोहडाको ग्यारेज घर पोषणनाथले राजीनामा गरी लिनु भएको हो । उक्त घर पोषणनाथ बसेको घरसँग जोडिएको छ । जुन कुरा ०१९ साल तथा २०२९ सालको नक्शाबाट समेत देखिन्छ । वादीले उल्लेख गरेको पर्खाल वादीको जग्गामा लगाएको भन्ने होइन । उक्त पर्खाल पहिले देखि छ र पर्खाल सीमाना हो । अम्विकादेवीले बुना महारानीबाट २००७ सालमा राजीनामा गरी लिएको अम्विकादेवी बसेको घर बंगला र पूर्व किल्लातर्फ बंगला देखि १७ फिट पूर्वसम्म मात्रको जग्गा वादीको हो । जसमा उत्तर घर पहिले पूर्व पश्चिम चौडाई २१ फिट थियो । पछि पूर्वतर्फ १७ फिट बढाउनु भई अब घरको चौडाई ३८ फिट भएको छ जसबाट पूर्वतर्फ वादीको घरसँग जोडिन पुगेको छ सोही ढल नै सीमाना हो डिभिजन बेञ्चको फैसलाले नयाँ बढाएको घरबाट अरु पूर्वतर्फ १७ फिट दिलाई दिने गरी निर्णय गरेको मिलेको छैन । वादीले पूर्वतर्फ घर बढाई पुरै १७ फिट जग्गामा घर बनाई सकेकोले वादीले पूर्वतर्फ १७ फिट दावी गर्न मिल्दैन वादी र प्रतिवादीको सीमानामा पर्ने ढल वाहाँनिर हो भन्नलाई सन्तवीरसँगको मुद्दामा भएको २०१९ सालको नक्शामा नं. १२ लाई ढल देखाइएको छ । प्रस्तुत मुद्दामा भएको २०२९ सालको नक्शाको न.नं. ७ लाई ढल भनी देखाएको छ । ०१९ साल र ०२९ सालको न.नं. ७ को ढल एकै मिलान र भिड्छ वादीले न.नं. ६ लाई ढल देखाएकोलाई ढल कायम गरेको डिभिजन बेञ्चको फैसला मिलेको छैन । नक्शामा सर्भे कि.नं. ९४२ को कित्तालाई झगडा जनाइएको छ । यसमा न.नं. १, , ३ समेत पर्दछ । सर्वोच्च अदालत डिभिजन बेञ्चले कि.नं. ९४२ को कित्तालाई वादी अम्विकादेवीलाई दिलाएको छ । वादीको कि.नं. ७५४ का जग्गा ६१ र कि.नं. ९४२ को ११ भनी विपक्षी वादीले रोपनी ७१ पाउने भएको छ । तर उहाँले लिएको २००७ सालको राजीनामामा जम्मा ७ रोपनी छ । जुन २०१० सालमा पारीत भएको थियो वहाँले लिखतले पाएभन्दा बढि पाउनु भएको छ । जबकी पोषणनाथले २००८ सालको राजीनामाबाट बुना महारानीसँग ६ रोपनी जग्गा लिनु भएकोमा सन्तवीरसँगको मुद्दामा २ रोपनी सन्तवीरलाई दिई मिलापत्र गरेकोबाट ४ रोपनी हुनु पर्नेमा कि.नं. ९४३ मा ज.रो. ०१३१ र कि.नं. १०२० मा ज.रो. ११ गरी जम्मा रोपनी ११३२ मात्र हुन्छ । जबकी वादीको लिएभन्दा रोपनी ०१ बढी हुन्छ । यसबाट  प्रतिवादी पोषण नाथलाई ज्यादै अन्याय पर्न गएको छ । दावी कि.नं. ९४२ को जग्गा पनि पोषणनाथको हकभोगको जग्गा हो उक्त जग्गा र देखाएको कि.नं. ९४३ र कि.नं. १०२० समेत मिलाउँदा पनि ४ रोपनी जग्गा पुगेको छैन २००८ सालको लिखत राजीनामा नक्शा भोग समेतबाट वादी दावीको घरजग्गा समेत वादीको नभई प्रतिवादी हकभोगको देखिएको छ । अतः ०१९।०२० र ०२९ सालको नक्शा लिखत भोग समेतका प्रमाणबाट मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर भई डिभिजन बेञ्चको इन्साफ बदर हुनु पर्दछ भन्ने र विपक्षी वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रथमतः विन्तिपत्रमा उल्लेख भएको हुकुम प्रमांगीको व्यहोराबाट प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्नु पर्ने स्थिति छैन । किन भने निवेदन जिकिर बमोजिम वादीका नाममा बढी जग्गा हक कायम हुने गरी निर्णय भएको छैन । वादी दावीको जग्गा र घर वादीको हो अघि कमलादेवी मुनिरुद्धिन र सन्तवीरसँग पोषणनाथको जग्गा खिचोला मुद्दा परेकोमा सो मुद्दामा ०१९।१।२६ र २०२०।६।३० मा नक्शा भएका छन् र २०२१।४।२२ मा मिलापत्र भएको छ । मिलापत्र हुँदा पोषणनाथले ४ रोपनी जग्गा दिई मिलापत्र गरेका छन् । मिलापत्रबाट दिएको जग्गा हाल विवाद नपरेको कि.नं. ९४३, १०२० र हाल झगडा परेको जग्गा समेत दिने हो भने प्रतिवादीको लिखत भन्दा १ रोपनी २ पैसा ३ दाम बढी हुन्छ । लिखत भन्दा बढी पक्रन मिल्दैन । अतः मुद्दा देहोर्‍याई हेर्न मिल्दैन । वादी दावी हदम्याद भित्रै परेको छ । खिचोलातर्फको नालेश जग्गामा खिचोला परेको मितिबाट कायम हुने हो । जहाँसम्म प्रतिवादीले अ.बं. ७२ नं. को विपरीत फौज्दारी र देवानी दुवै मुद्दा विषय गाभी दिएको नालेस खारेज हुन पर्ने भन्ने जिकिर लिएका छन्। त्यसमा दुवै खारेज हुने होइन एक कुरामा इन्साफ गर्दै ल्याउनु पर्छ विष्णुरमण उप्रेती विरुद्ध राजेश्वरीको मुद्दामा सर्वोच्च अदालतबाट देवानी फौज्दारी मिश्रित भएको भए पनि दुवै खारेज हुँदैन एउटामा इन्साफ गर्नुपर्छ भन्ने निर्णय भएकोबाट पनि इन्साफ गर्न मिल्छ प्रस्तुत मुद्दामा खिचोलातर्फ मात्र इन्साफ भएकोले दुवै दावी खारेज हुनु पर्ने होइन । वादीले बुना महारानीबाट २००७ सालमा ७ रोपनी जग्गा र घर बंगला र पश्चिम मोहडाको ग्यारेज समेत राजीनामा गरी लिनु भएको हो । जस मध्ये हाल विवाद नपरेको कि.नं. ७५४ मा जग्गा रोपनी ६१ झगडा परेको कि.नं. ९४२ को रोपनी ११ छ जसमा प्रतिवादीले खिचोला गर्नु भएको छ । उक्त जग्गाभित्र वादीको ग्यारेज घर समेत पर्दछ । दुवै कित्ता जोड्दा ७ रोपनी ५ आना २ पैसा १ दाम हुन्छ । रोपनी ०१ बढी देखाए जस्तै भए पनि सो नापीमा विवाद नपरेको कि.नं. ७५४ को जग्गामा नै नरबढी भएको हो । वादी दावीको पश्चिम मोहडाको ग्यारेज घरलाई प्रतिवादीले दक्षिण मोहडा भएको मेरो ग्यारेज घर भन्ने जिकिर लिनु भएको छ । उक्त ग्यारेज घर २०१९ सालको नक्शामा हेर्दा पश्चिम मोहडा देखिन्छ । दक्षिण मोहडा छैन । खाली दक्षिणतर्फ अलि चुच्चोसम्म परेकोलाई मोहडा भन्न मिल्दैन । यसबाट प्रस्तुत मुद्दामा भएको २०२९ सालको नक्शाको न.नं. २ को दावी ग्यारेज घर वादीको हो भन्ने प्रष्ट छ । २०२९ सालको नक्शामा देखाएको न.नं. १, , ३ का घर जग्गामा झगडा छ । न.नं. २ जसमा ग्यारेज घर छ । न.नं. १ बारी हो र न.नं. ३ वादीको बंगला घर देखि १७ फिट पूर्वसम्म वादीको खाली जग्गा हो । वादीको बंगला घरदेखि पूर्व उत्तर दक्षिण न.नं. ७ मा ढल छ सो ढल सीमाना हो सो ढलदेखि पूर्व पट्टिको जग्गा मेरो हो भन्ने पनि प्रतिवादीले जिकिर लिनु भएको छ । प्रतिवादीले देखाएको ठाउँमा ढल छैन २०२९ सालको नक्शामा न.नं. ६ मा ढल पर्दछ अतः न.नं. ७ ढल भनी सीमाना कायम गर्ने प्रतिवादीको जिकिर युक्तिसंगत छैन । अतः वादी दावी बमोजिम खिचोला ठहर गरेको डिभिजन बेञ्चको इन्साफ मिलेकै छ । अतः डिभिजन बेञ्चको इन्साफ सदर भई वादी दावी कायम हुनुपर्छ भन्ने समेत  बहस प्रस्तुत गर्नुभयो ।

१३. यस्मा निर्णयतर्फ हेर्दा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३८।६।२ को फैसलाबाट हामीलाई अन्याय पर्न गएकाले फुल बेञ्चबाट मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी दामोदर उपाध्याय समेतको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र परेकोमा प्रस्तुत घरजग्गा खिचोला मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ, भनी श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभागबाट लेखी आई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको देखियो ।

१४. प्रस्तुत मुद्दाको विषयवस्तु हेर्दा का.जि. ज्ञानेश्वरको स्वर्गीय बुना महारानीको क्याम्पा जग्गा मध्ये पूर्व वासुदेव शमशेरको विर्ता र बुना महारानीको पर्खाल साँध र उहाँकै बंगला घरदेखि १७ फिट पूर्व उहाँकै जेठा छोरा मे.क. मेहर शमशेरको विर्ता साँध पश्चिम मूल सडक साँध उत्तर गुहेश्वरीको रथ ल्याउने बाटो साँध दक्षिण निजकै जेठा छोराको विर्ता साँध यति चार किल्लाभित्रको विर्ता जग्गा रोपनी ७ र त्यसमा बनेको उत्तर दक्षिण लंगको दक्षिण मोहडाको लम्बा फुट ४२ गजफुट २१।। एकतल्ले बंगला घर एक र उहाँकै जेठा छोरा मे.क. मेहर शमशेरको घरको किलाश गारोमा जोडिएको पुरानो भत्कन लागेको उत्तर दक्षिण लंगको पश्चिम मोहडाको लम्बा फुट ३९। गज फुट १४ को १ नाले २ तल्ले घर र घरले चर्चेको लगापात समेतको घर जग्गा रु. १६,१०१।मा मिति २००७।४।२८ मा बुना महारानीबाट फार्छे गरी लिई भोग गरी आएकोमा मिति २०२०।२।१७ गतेका दिन प्रतिवादी दामोदर प्रसादले २०।२५ जना साथमा ल्याई मैले निर्माण कार्य गर्न राखेको ईंटा चुन बालुवा सुरकी सिमेन्ट समेत प्रयोग गरी म बसेकै घरकै पेटीबाट उत्तर दक्षिण पर्खाल लगाई बाटो बन्द गरी दिएँ यहि पर्खालबाट उत्तरतर्फ पनि पर्खाल लगाई उक्त २ तल्ले पश्चिम मोहडाको ग्यारेज समेतको घर आफ्नो कम्पाउण्डभित्र पारी पोषणनाथको घर र उक्त मेरो २ तल्ले घरको किलास जोडिएको ठाउँमा निजको घर र मेरो घरमा आउन जान हुने गरी बार्दली जोडे र पोषणनाथको घर पश्चिमको मेरो जग्गाको समुच्चा पर्खाल भत्काई उक्त तल्ले घर र एक रोपनी जग्गा समेत आफ्नो कब्जामा लिई खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने अम्बिकादेवीको फिराद दावी देखिन्छ ।

१५. वादीमा लेखिए बमोजिमको ग्यारेज घर लिगलगाभित्रको जग्गासमेत वादीको हकको होइन पोषणनाथको हकको भई २०११ सालसम्म उहाँले त्यसपछि मैले भोग गरिआएको छु । २०११ सालमा नै पोषणनाथको आज्ञा अनुसार घरको मर्मत तथा ठाउँ ठाउँमा भत्केका पर्खाल साविककै जग्गाम लगाएको हो । देवानी फौज्दारी दुवै विषयमा दावी भएर आएको प्रस्तुत मुद्दा फिराद खारेजभागी छ । त्यस्तै वादी दावी पनि हदम्याद नाघी परेको छ । वादी दावीबाट नै दावी जग्गामा हकदार देखिएका पोषणनाथ उपर उजूर गर्न नसकेको र राजीनामा बमोजिमको जग्गा भोगचलन गरी आएको हुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने दामोदर उपाध्याय समेतको प्रतिउत्तर परेको छ ।

१६. प्रस्तुत मुद्दामा वादी दावीको जग्गा ग्यारेज घर वादी वा प्रतिवादी मध्ये कसको हकको हो र दावी बमोजिम खिचोला भएको छ, छैन यहि मूलभूत प्रश्नको निराकरण गर्नुपर्ने अवस्था छ ।

१७. झगडा परेको घर जग्गाको धनी पोषणनाथ हुनुहुन्छ भन्ने दामोदर उपाध्यायको प्रतिउत्तर लेखलाई आधार बनाई पोषणनलाई शुरु काठमाडौं जिल्ला अदालतबाट अ.बं. १३९ नं. बमोजिम बुझ्दा बुना महारानीबाट २००८ सालमा राजीनामा पारीत गरी लिई लिखत अनुसारको जग्गा र ग्यारेज घर समेत भोग गरी आएको मैले लिएको घर जग्गा मध्येमा कमलादेवीसँगको  मुद्दामा सर्वोच्च अदालतबाट नक्शा हुँदा मैले आफ्नो हकभोगचलनको घर जग्गा देखिएको छु भन्ने पोषणनाथले बयान गरेकोमा निजलाई काठमाडौं जिल्ला अदालतबाट प्रतिवादी सरह कायम गरेको देखिन्छ ।

१८. प्रथमतः प्रस्तुत मुद्दा देवानी र फौज्दारी एउटै नालेशमा गाभेर ल्याएको फिराद नै लाग्न सक्ने होइन त्यसमा पनि मूल व्यक्ति पोषणनाथ उपाध्याय जसका उपर फिराद नै नपरेपछि फिराद नै खारेज गर्नु पर्नेमा पोषणनाथलाई अ.बं. १३९ नं. बमोजिम बुझी प्रतिवादी कायम गरेको मिलेको छैन भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताहरूको बहस जिकिर सम्बन्धमा हेर्दा मुलुकी ऐन अ.बं. ७२ नं. मा फिरादपत्र लिँदा देवानी र फौज्दारीको छुट्टाछुट्टै लिनु पर्छ सो बाहेक एउटै फिरादमा एउटै मानिसले एउटै मानिस उपर जतिसुकै झगडा विषयको कुरा लेखी ल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटै झगडाको विषयको कुरा लेखी ल्याएको भए पनि सो बमोजिम सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्छ लेखिए भन्दा बढ्ता कुरा एउटै फिरादपत्रमा लेखी ल्याएको रहेछ भने फिरादपत्र फिर्ता गर्न भने हुँदैन । बढी जति लेखी ल्याएको कुराको यस फिरादपत्रबाट इन्साफ गर्नु नपर्ने अरु अड्डा वा यसै अड्डाबाट अर्को फिरादपत्र दिए मात्र इन्साफ गर्नु पर्ने भनी सो फिरादपत्रबाट जति कुराको इन्साफ गर्नु नपर्ने हो उति कुरा सोही फिरादपत्रको सीरमा लेखी हाकिमले दस्तखत गरी सो इन्साफ गर्नु नपर्ने भएको जति कुरा फिरादपत्रवालालाई थाहा हुन निमित्त सोही फिरादको भर्पाईमा लेखिदिनु पर्छ भन्ने व्यवस्था भएकोबाट पूरै फिराद नै नलाग्ने भन्न मिल्ने देखिएन इन्साफ हुन सक्ने कुराको इन्साफ गर्न पर्ने व्यवस्था भएको र वादीले लुटपीट र खिचोलातर्फ फिराद लिई आएकोमा खिचोलातर्फ मात्र इन्साफ हुँदै आएको देखिएकोले फौज्दारी र देवानी दुई विषयका दावी कुराहरू फिरादपत्रमा समावेश भएकै कारणबाट पूरै फिराद नलाग्ने भन्न सकिने स्थिति देखिँदैन । अब प्रतिवादी दामोदरप्रसाद उपाध्यायको प्रतिउत्तरपत्रको पेटबोलीबाट बुझ्न पर्ने देखी अदालतले अ.बं. १३९ नं. बमोजिम झिकाई बयान गराई प्रतिवादी सरह कायम गरेका पोषणनाथलाई त्यसरी प्रतिवादी कायम गर्न मिल्ने हो कि हैन भन्नालाई मुलुकी ऐन अ.बं. १३९ नं. को व्यवस्था हेर्दा वादी र प्रतिवादीका पेटबोलीमा लेखिएको मानिस नबुझी मुद्दा नछिनिने देखिएमा प्रमाणका तवरले अड्डाबाट बुझ्न हुन्छ । सो बुझ्दा प्रतिवादी सरह कारणी देखिन आएमा प्रतिवादी सरह प्रमाण समेत खुलाई बयान लिई कारणी सरह तारिखमा राखी उसले दिएको प्रमाण समेत बुझी र सो व्यक्ति प्रमाण सरहसम्म देखिएमा बयानसम्म गराई फैसला गर्नुपर्छ भन्ने व्यवस्था भएको र प्रतिवादी कायम गरिएका पोषणनाथलाई प्रस्तुत मुद्दामा अदालतले झिकाई बयान गराउँदा निजको बयान समेतबाट निजलाई कारणी सरह देखी प्रतिवादी कायम गरेको अ.बं. १३९ नं. ले मिल्ने नै हुँदा पोषणनाथलाई प्रतिवादी कायम गर्न नमिल्ने भन्ने तर्क कानूनसंगत देखिएन ।

१९. प्रतिवादीले सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर मुद्दा फुल बेञ्चबाट दोहोर्‍याई हेरी दिनु भन्ने हुकुमको प्रमांगी बक्स गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा वादीको साविक दर्ता भन्दा पनि बढी जग्गा कायम हुने गरी निर्णय भएको रहेछ भने फुल बेञ्चबाट दोहोर्‍याई हेरिदिनु भन्ने हुकुम प्रमांगी बक्स भएको र डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीलाई लिखत भन्दा बढी जग्गा कायम गरिदिने गरी निर्णय भएको छैन । वादीले बुना महारानीबाट राजीनामा गरी लिएको घर जग्गाको कित्तामध्ये हाल विवाद नपरेको कि.नं. ७५४ र हाल झगडा परेको ९४२ हो, कि.नं. ९४२ मा वादीको ग्यारेज घर समेत छ । अघि कमलादेवी मनुरुद्धिन सन्तवीरसँगको जग्गा खिचोला मुद्दामा २०२१।४।२२ मा मिलापत्र हुँदा रोपनी ४० जग्गा दिई मिलापत्र गरेका छन् । अतः फुल बेञ्चबाट मुद्दा दोहोर्‍याई हेर्न  मिल्दैन भन्ने विपक्षी वादीतर्फका विद्वान अधिवक्ताले बहस जिकिर लिनु भएको पनि छ । सो जिकिर लिएतर्फ हेर्दा विपक्षी वादी अम्विकादेवीले दाता बुना महारानीबाट घर जग्गा खरीद गरी लिएको मिति २००७।४।२८ को राजीनामा लिखत हेर्दा ७ रोपनी जग्गा र त्यसमा बनेको एक तल्ले बंगला भुइँ घर १ तथा पुरानो भत्किन लागेको २ तल्ले घर एक राजीनामा गरी लिएको देखिन्छ । त्यस्तै प्रतिवादी पोषणनाथले बुना महारानीसँग मिति २००८।६।५ को राजीनामाबाट जग्गा रोपनी ६ र त्यसमा बनेको घर तथा ग्यारेज समेत खरीद गरी लिएको देखिन्छ । अघि कमलादेवी समेत सँगको जग्गा खिचोला मुद्दामा पोषणनाथले गरेको मिति २०२१।४।२२ को मिलापत्र हेर्दा २ रोपनी जग्गामा दावी छाडी मिलापत्र गरेको देखिन्छ । दुवै वादी प्रतिवादीले बुना महारानीबाटै एउटै क्याम्पको जग्गा राजीनामा गरी लिएको देखिन्छ । हाल विवादमा नपरेको कि.नं. ७५४ को जग्गा रोपनी ६१ वादीको हकको भएको कुरामा कुनै विवाद देखिँदैन । वादीलाई झगडा परेको कि.नं. ९४२ को जग्गा रोपनी ११ समेत कायम गरी दिँदा खरीद गरी लिएको भन्दा रोपनी ०१ बढी देखिन आउँदछ । यस स्थितिमा हुकुम प्रमांगी बमोजिम मुद्दा दोहर्‍याउन नमिल्ने भन्न मिल्ने देखिएन ।

२०. अब वादी दावी जग्गा घर वादी वा प्रतिवादी मध्ये कसको हो र प्रतिवादीले खिचोला गरेको हो होइन भनी मिसिल अध्ययन गर्दा म बसेकै बंगला घर कै पेटीबाट उत्तर दक्षिण पर्खाल लगाई बाटो बन्द गरी पश्चिम मोहडाको मेरो २ तल्ले घर ग्यारेज समेत आफ्नो कम्पाउण्डभित्र पारी सो घरमा आफ्ना घरबाट बार्दली जोडी मेरो पर्खाल भत्काई एक रोपनी जग्गा र पश्चिम मोहडाको २ तल्ले ग्यारेज घर एक समेत कब्जा गरी प्रतिवादीले खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने फिराद दावी देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०२९।८।२७ मा भएको नक्शा हेर्दा न.नं. १ को बारी न.नं. २ को घर र न.नं. ३ को जग्गामा झगडा जनाएको देखिन्छ । वादी अम्बिकादेवीले बुना महारानीबाट जग्गा खरीद गरी लिएको मिति २००७।४।२८ को राजीनामा लिखत हेर्दा उक्त लिखतमा पूर्व वासुदेव शमशेरको विर्ता र आफ्नो पर्खाल साँध र बंगलादेखि १७ पूर्व रहेको मेरो जेठा छोरा मेहर शमशेरको साँध पश्चिम मूल सडक उत्तर गुहेश्वरीको रथ ल्याउने बाटो दक्षिण निज छोराकै विर्ता साँध यति चार किल्लाभित्रको ७ रोपनी जग्गा र त्यसमा बनेको उत्तर दक्षिण लंगको दक्षिण मोहडाको लम्बाई ४२ फिट गज २१।। फिटको एक तल्ले बंगला भुँईं तल्ले घर र जेठा छोरा मेहर शमशेरको किलाश गारोमा जोडिएको पुरानो भत्कन लागेको उत्तर दक्षिण लंगको पश्चिम मोहडाको लम्बाई ३९ फिट गज १४ को एकनाले २ तल्ले घर १ समेत भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै बुना महारानीसंग खरीद गरी लिएको पोषणनाथको मिति २००८।६।५ को राजीनामा लिखत हेर्दा पूर्व समर शमशेरको चोक, पश्चिम बुना महारानीको वंगलादेखि पूर्वपट्टिको ढल र मूल सडक, नक्शाल जाने बाटो, उत्तर वासुदेव शमशेर समेतको घर जाने बाटो, दक्षिण सुरराज शमशेरको घर क्याम्प यति चार किल्लाभित्रको ६ रोपनी जग्गा र सो जग्गामा बनेको का.ई. ज्ञानेश्वरको पश्चिम मोहडा उत्तर दक्षिण ले. १।। नाले ७ कवले ३ तल्ले पक्की गारो जस्तापाताको छाना भएको घर सो घर सँगै सो जोडिएको दक्षिण मोहडा २ तल्ले मोटर ग्यारेज घर र सो देखि पश्चिमपट्टि बनेको चर्पी घर र सो घर जग्गामा लगाई राखेको पर्खाल समेत र सो पर्खाल चर्चेको लगापात समेत भन्ने उल्लेख भएको पाइन्छ । उक्त प्रतिवादी पोषणनाथको लिखतको किल्लाबाट प्रतिवादीका पश्चिम किल्ला बुना महारानी बंगला घर जुन अम्बिकादेवीले खरीद गरी लिनु भएको छ सो देखि पूर्वतर्फको ढल भन्ने देखिन्छ । नक्शा हुँदा वादीले ढल न.नं. ६ मा देखाएको छन् प्रतिवादीले न.नं. ७ लाई ढल भनेका छन् । उक्त न.नं. ७ को ढल अम्बिकादेवीको बंगला घरको पूर्वतर्फ पेटी हुँदै गएको देखिन्छ । प्रस्तुत  मुद्दामा भएको मिति २०२९।८।२७ को नक्शामा उक्त ढल न.नं. ७ मा देखिएको छ । त्यस्तै प्रमाणको मिसिल पेश भएको पोषणनाथ विरुद्ध कमलादेवी भएको जग्गा खिचोला मुद्दामा भएको मिति २०१९।१।२६ को नक्शाको न.नं. १२ ढल देखाएको छ । उक्त दुवै नक्शामा देखाइएको ढल एक मिलान देखिन्छ। अम्बिकादेवीको पूर्व साँध बंगला घरतर्फ बंगला घरदेखि १७ फिट पूर्व मेहर शमशेरको साँध भन्ने छ । राजीनामा गरी लिँदा उक्त १ तल्ले बंगला घर उत्तर दक्षिण लंगको दक्षिण मोहडाको लम्बाई फिट ४२ गज फिट २१ फिट रहेको देखिन्छ । उक्त घरमा वादीले पूर्व पश्चिम किलाश गारो थपी चौडाई बढाउनु भएको छ । जसबाट बंगला घरदेखि १७ फिट पूर्वसम्मको जग्गामा वादीले घर बढाउनु भएको भन्ने प्रतिवादी जिकिर छ, सो जिकिर लिएतर्फ हेर्दा २०२९।८।२७ को नक्शाको न.नं. ८ मा वादी अम्बिकादेवीको घर पूर्व पश्चिम ३८ फिट भएको देखिन्छ । वादीले बसेको भूँई घर तल्ला र किनारा थपी ठूलो बनाएमा फिराद प्रकरण नं. २ मा वादी सावित देखिन्छ । लिखत गरी लिँदाको बखत पहिले भएको गज फिट २१ फिटबाट बढेर ३८ फिट हुन गएको देखिँदा घरदेखि पूर्वतर्फ भएको वादीको १७ फिट जग्गामा समेत घर थपी बढाई ल्याएकोबाट पहिले १७ फिट पूर्वपट्टि रहेको ढल अहिले वादीको पेटी भएर गएको मिति २०२९।८।२७ को नक्शाबाट पनि प्रष्ट देखिँदा वादी दावी बमोजिम न.नं. ६ लाई ढल र हाल कायम रहेको घरदेखि पुनः १७ फिट पूर्व किल्ला कायम गर्न नमिली न.नं. ७ को ढलदेखि पूर्वतर्फको जग्गा प्रतिवादीको लिखत राजीनामा समेतबाट प्रतिवादीकै हक कै देखिन आयो ।

२१. जहाँसम्म प्रस्तुत मुद्दामा भएको मिति २०२९।८।२७ को झगडा परेको न.नं. २ को ग्यारेज घरको प्रश्न छ जसलाई वादीले मेरो भनी दावी लिनु भएको छ त्यसतर्फ हेर्दा वादीले बुना महारानीबाट घर जग्गा खरीद गरी लिएको लिखतमा ग्यारेज घर खरीद गरी लिएको देखिँदैन । बंगला भुँई घर १ र भत्कन लागेको पुरानो २ तल्ले घर १ सम्म खरीद गरेको देखियो सो घरको मोहडा पश्चिम भन्ने उल्लेख भएको छ । न.नं. २ को ग्यारेज घर प्रस्तुत मुद्दामा भएको मिति २०२९।८।२७ को नक्शा पोषणनाथ विरुद्ध कमलादेवी समेत भएको जग्गा खिचोला मुद्दामा भएको यहि जग्गाको मिति २०१९।१।२६ को नक्शा समेतबाट उक्त ग्यारेज घरको मोहडा दक्षिण नै रहेको देखिन्छ । प्रतिवादी पोषणनाथको मिति २००८ सालको राजीनामा लिखत हेर्दा ६ रोपनी जग्गा र ३ तले पक्की घर एक र सो घरसँगै जोडिएको दक्षिण मोहडाको २ तले मोटर ग्यारेज घर भनी प्रष्ट रुपमा उल्लेख भएको छ । प्रस्तुत मुद्दामा भएको मिति २०२९।८।२७ को नक्शा तथा प्रमाण निमित्त पेश भएको पोषणनाथ विरुद्ध कमलादेवी समेत भएको जग्गा खिचोला मुद्दामा भएको मिति ०१९।१।२६ को तथा २०२०।६।३० को नक्शाबाट समेत हाल न.नं. २ को ग्यारेज घर प्रतिवादी पोषणनाथको ३ तल्ले पक्की घरसंग जोडिएको प्रष्ट रुपमा देखिएकोले नक्शा किल्ला तथा राजीनामा लिखत समेतबाट वादी दावीको न.नं. २ को ग्यारेज घर वादीको नभई प्रतिवादी पोषणनाथकै हकको देखिन आयो ।

२२. अब मिति २०२९।८।२७ को नक्शाको न.नं. १ मा झगडा जनिएको बारी जसलाई वादीले आफ्नो हकको भन्नु भएको सो न.नं. १ को झगडा जग्गा बारी वादी वा प्रतिवादी मध्ये कसको हकको भनी हेर्दा वादीको राजीनामा लिखत तथा प्रतिवादी पोषणनाथको राजीनामा लिखतको चार जिल्लामा उत्तरतर्फको किल्ला साँध वासुदेव शमशेरको घर जाने बाटो जनिएको छ हाल वादीले झगडा जनाएको मिति २०२९।८।२७ को न.नं. १ को बारी हेर्दा प्रतिवादी पोषणनाथको घर र ग्यारेज देखि उत्तरतर्फ देखिन्छ । उक्त न.नं. १ को बारी वासुदेव शमशेरको घर जाने बाटोसम्म उत्तर पुगेको देखिन्छ । मिति २०२९।८।२७ को नक्शा तथा पोषणनाथ विरुद्ध कमलादेवी समेत भएको खिचोल मुद्दामा भएको मिति  २०२०।६।३० को नक्शाबाट उक्त जग्गा प्रतिवादी पोषणनाथको क्याम्पभित्रको देखिन्छ । यदि उक्त न.नं. १ को बारी वादीलाई दिलाउने हो भने प्रतिवादीको लिखत बमोजिम उत्तर साँध वासुदेव शमशेरको घर जाने बाटोसम्मको जग्गा प्र.ले नपाउने हुन्छ । लिखत प्रमाण तथा नक्शा समेतबाट उक्त न.नं. १ को जग्गामा पनि वादीको हक पुग्ने देखिएन । जहाँसम्म मेरो पर्खाल भत्काई नयाँ पर्खाल बनाई खिचोला गरे भन्ने वादी दावी छ प्रतिवादीले राजीनामा लिखत गरी लिँदा घर जग्गामा लगाएको पर्खाल समेत खरीद गरी लिएको लिखतबाट देखिन्छ । सोही पर्खालले वादी र प्रतिवादीका बीचमा सीमाना कायम गरेको भन्ने छ उक्त पर्खाल वादी र प्रतिवादीको साँधमा उत्तर दक्षिण रहेको कुरा प्रमाणका निमित्त आएको मिसिलमा रहेको मिति २०२०।६।३० को नक्शाबाट पनि देखिन्छ । प्रस्तुत मुद्दामा भएको मिति २०२९।८।२७ को नक्शा भिडाउँदा २०२० सालको नक्शाबाट देखिएको पर्खाल मिल्न भिड्न आएको देखिन्छ ।

२३. भोग चलन गरेतर्फ हेर्दा पनि विवादित हाल सर्भेमा कायम भएको कि.नं. ९४२ मिति २०२९।८।२७ को नक्शाको न.नं. १, , ३ को घर जग्गा प्रतिवादी पोषणनाथले घर जग्गा २००८ सालमा बुना महारानीबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी लिएदेखि नै भोगचलन गरी आएको देखिन्छ । वादीले आफूले राजीनामा गरी लिएको किल्लाको जग्गा पनि २०१० सालमा पारीत गराई लिई २०१३ सालदेखि मात्र जग्गामा भोगचलन गर्न जाने बुना महारानीबाट (चलन पुर्जी) (छोडपत्र) पाई भोग गर्न गएको भन्ने कुरा वुना महारानीले वादी अम्बिकादेवीलाई गरी दिएको मिति २०१३।९।१२ को लिखतबाट देखिन्छ ।

२४. अतः उपर्युक्त उल्लेख भए बमोजिम राजीनामा लिखत प्रमाण तथा नक्शा समेतबाट वादी दावीको हाल सर्भेमा कायम भएको कि.नं. ९४२ प्रस्तुत मुद्दामा भएको मिति २०२९।८।२७ को नक्शाको न.नं. १ को बारी न.नं. ३ को जग्गा तथा न.नं. २ को ग्यारेज घर पर्खाल समेतको घर जग्गाहरू वादीको हकको नदेखिई प्रतिवादीको हकको देखिन आएकोले वादी दावी बमोजिम प्रतिवादीहरूले खिचोला गरेको देखिन आएन । अतः वादी दावी बमोजिम खिचोला नठहर्‍याएको म.क्षे.अ.को मिति २०३३।५।१६ को फैसला मनासिब ठहर्छ । वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०३८।६।२ को निर्णय मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३८।६।२ को फैसला बदर भई निर्णय भएकोले सर्वोच्च अदालत डिभिजन बेञ्चको उक्त मिति ०३८।६।२ को फैसला बमोजिम कायम भएको लगत अनुसार केही गर्न परेन सो लगत कट्टा गर्नु र मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३३।५।१६ को फैसला बमोजिम लगत कायमै राखी सो लगत बमोजिम गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१ निवेदक (प्रतिवादीहरूले) मुद्दा दोहर्‍याउनका लागि राखेको कोर्ट फी रु. ७५।निवेदक प्रतिवादीहरूले वादीबाट भरी पाउने हुँदा उक्त कोर्ट फी रकम भराई पाउँ भनी वादीको जेथा देखाई ऐनका म्यादभित्र दर्खास्त परे कानूनको रीत पुर्‍याई वादीबाट भराई दिई भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

न्या.हिरण्येश्वरमान प्रधान

 

इतिसम्वत् २०४४ साल ज्येष्ठ १५ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु