निर्णय नं. ३००८ - अंश

निर्णय नं. ३००८ ने.का.प. २०४४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं. ४३४, ४३३
मुद्दा : अंश
पुनरावेदक/प्रतिवादी: जि. बाँके भवानीपुर गा.पं. वार्ड नं. २ बस्ने अयोध्या प्रसाद पाठक।
जि.बाँके महेन्द्र नगर गा.पं.वार्ड नं.५ बस्ने घनश्याम प्रसाद पाठक।
विरुद्ध
विपक्षी/वादी: जि. बाँके शिवपुरी गा.पं. वार्ड नं. १ बस्ने रामदुलारे पाठक
फैसला भएको मिति : २०४३।११।६।४ मा
लिखत कानूनले पास हुनु पर्नेमा पास नभएको भए पनि सो कागजको कानूनी असरमा सम्म मान्यता नपाउने भए पनि सो लिखतमा लेखिएको व्यहोरा सम्बन्धित पक्षका सम्बन्धमा प्रमाणमा लिन मिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी यस अदालतमा दिएको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न अनुसार रहेछ ।
२. स्वर्गीय बाबुराम लोटनको जेठो बच्चन, माइला राम पदारथ, साहिला म दुलारे कान्छा बाबुराम पाठक समेत ४ छोरा भएकोमा बच्चनको जेठो छोरा राममिलन परलोक भई निजको जेठो छोरा घनश्याम र निज बच्चनको कान्छा छोरा प्र.अयोध्याप्रसाद हुन । राम पदारथकी पत्नी प्र.सुरसतादेवी छोरा वीरेन्द्रकुमार र निज बाबुराम जेठो छोरा म रामसुन्दर काछो छोरा प्र.मनिजन समेतका एकाघर सगोलका अंशियार मध्ये बच्चन राममिलन रामपदारथ समेत परलोक भई सकेकोले बाँकी अंशियारहरूको अंश लाग्ने सम्पत्ति एकासगोलबाटै भोगचलन गरी आएकोमा प्रतिवादीहरूसँग हित्तचित्त नमिली अंशबण्डा गरौं भनी २०३७।५।२८ मा अंश माग्दा अंश दिन्न भनी जवाफ दिएकोले प्रतिवादीहरूबाट अंशको फाँटवारी लिई ४ भाग मध्ये १ भाग भराई दिलाई पाउँ भन्ने रामदुलारे पाठकको फिराद दावी ।
३. मूल पूर्खा राम लोटनको ४ छोराहरूको बीचमा २००० साल पौष २५ मा अंश बण्डा भई छुट्टाछुट्टै भोगचलन व्यवहार गरी आएका छौं म अयोध्याप्रसाद प्र.घनश्याम पनि २० वर्ष अघि नै छुट्टी भिन्न भई सकेकोले हामीहरू कुनै प्रतिवादी र वादी समेत सगोलमा छैनौं । हाम्रो घरसारमा अंशबण्डा गरिसकेको हुँदा फिराद दावीबाट फुर्सद गरिपाउँ भन्ने अयोध्याप्रसाद र घनश्यामको पृथक पृथक प्रतिउत्तर ।
४. रामलौटनका ४ छोराहरूले २००० सालमा नै अंश बण्डा भई अलग बसेका छन् । भूमिसुधार लागु हुँदाको बखत हाम्रा बाबु बाबुराम र वादी राम दुलारेले समेत ७ नं. फाँटवारी र मोही १ नं. लगत समेत छुट्टाछुट्टै भरी कसैले कसैलाई अंशियार नदेखाएकोले पनि फिराद दावी झुठ्ठा हो भन्ने समेत प्र.मुनिजरलाल पाठक, रामसुन्दर बाहुन समेतको संयुक्त प्रतिउत्तरपत्र ।
५. वादी प्रतिवादीहरू बीच अंशवण्डा भएको छैन वादी प्रतिवादहरू सगोलमा नै छन् भन्ने वादीका साक्षीहरूको बकपत्र ।
६. वादी प्रतिवादीहरूको बीच २००० सालमा नै अंशबण्डा भई सकेको हुँदा अंशबण्डा हुन बाँकी छैन भन्ने प्रतिवादीहरूका साक्षीहरूको बकपत्र ।
७. २०००।९।२५।१ को र २०३६।१०।२५ को घरसारको बण्डापत्र कागज देखें सुनें दुवै कागज सद्दे साँचो हुन सो बण्डापत्र बमोजिम अंश छुट्याई लिन सरसल्लाह नमिलेबाट पारीत नगराई सबै सम्पत्ति सगोलमा राखी सगोलमा नै बसी आएको भन्ने वादीको वा.सुल्तान अहमद सिद्धिको २०३८।९।१२ को बयान ।
८. वादीबाट पेश भएको कागज मैले गरेको नहुँदा सद्दे कीर्ते छुटयाउन सक्तिन अयोध्याप्रसादले गरेको कागज हुँदा निजैले जानुन भन्ने मनिजरलालले गरेको बयान ।
९. वादीले पेश गरेको कागज मैले खुसीराजीले गरिदिएको छु । सो कागजमा लेखिएको जग्गा ३ जनाको अंश लाग्ने मेरा बाबुको नाममा दर्ता रहेको बाबुको शेषपछि मेरा नाउँमा नामसारी भएकोले रामपदारथको श्रीमतीको नाउँमा बकसपत्र गरिदिएको छु । वादी राम दुलारेको भागमा पर्ने जग्गा पनि हालसम्म निजले नलिएकोले मेरा नाउँमा दर्ता छ । निजलाई दिन तयार छु भन्ने अयोध्याप्रसादको मिति २०३८।९।१२ को बयान ।
१०. वादी प्रतिवादीहरू एकासगोलका नभई २०००।९।२५ मा अंशबण्डाको कागज लेखी छुट्टी भिन्न भई अचल सम्पत्तिमा आ–आफ्नो भोगचलन दानपत्र र बिक्री व्यवहार समेत गरिदिएको देखिन आएकोले उक्त आधारमा अंशबण्डाको ३० नं. बमोजिम घरसारको कागज कानूनद्वारा मान्यता प्राप्त लिखत भएकोले यसतर्फ दावी बमोजिम जिकिर पुक्न सक्ने देखिएन । तसर्थ वादी दावी बमोजिम अंशवण्डा गर्नुपर्ने देखिँदैन । वादी दावी झुठ्ठा ठहर्छ भन्ने शुरु बाँके जिल्ला अदालतको फैसला ।
११. हामीहरूको अंशवण्डा नभई पूख्र्यौली जग्गा प्रतिवादी अयोध्याप्रसादका नाउँमा दर्ता रही आएकोले र निजै प्रतिवादीहरूले भोगचलन गरी बाली लगाई आएकोले अंशबण्डाको ३० नं. नलाग्ने हुँदा बाँके जि.अ. को त्रुटिपूर्ण फैसला बदर गरी वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत वादी राम दुलारे पाठकको म.प.क्षे.अ. मा पुनरावेदन परेको रहेछ ।
१२. २०००।९।२५ को लिखतमा वादीको सहिछाप नदेखिएको के कति जग्गा ककस्को भागमा परेको सो केही नखुलेको हुँदा सो लिखतलाई रीतपूर्वकको मान्न मिलेन । अंशबण्डाको ३० नं. बमोजिम वादी प्रतिवादीले नरम गरम मिलाई बण्डाको लिखत गरेको भनेकोमा पनि आफ्नो आफ्नो अंश भागको जग्गा जमीन आफ्नो आफ्नो नाममा दर्ता दा.खा. गराएको पनि देखिँदैन साथै बण्डा भएको भन्ने सम्बन्धमा प्रतिवादीहरूले प्रमाण पुर्याउन सकेको नहुँदा सम्पूर्ण सम्पत्तिको ४ खण्डको १ खण्ड वादीले अंश पाउने नै देखियो भन्ने समेत व्यहोराको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।७।२६।१ को फैसला ।
१३. म.प.क्षे.अ. को फैसलामा अ.बं. १८५ नं. प्रमाण ऐन, ०३१ को दफा ५४ र अंशबण्डाको ३० नं. समेतको त्रुटि भएको हुँदा चित्त बुझेन पुनरावेदनको लागि अनुमति पाउँ भनी प्रतिवादी अयोध्याप्रसाद पाठक र घनश्याम पाठकको पर्न आएको बेग्ला बेग्लै निवेदनमा २०००।९।२५ को घरसारको राजीनामा वादीको वा.सुल्तान अहमदलाई सुनाउँदा उक्त लिखत कागज सद्दे हो भनी अदालतमा बयान गरेको र २०००।९।२५ को वादीको सही परेको लिखत समेतबाट वादी प्रतिवादी बीच अंशबण्डा भई सकेको देखिएकोमा उक्त लिखतहरूलाई प्रमाणमा नै नलिई वादीले अंश पाउने ठहर्याएको म.प.क्षे.अ. को निर्णयमा अंशबण्डाको ३० नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्चको मिति २०४२।१।५।४ को आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा आज निर्णय सुनाउने तारेख तोकिएको हुँदा मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यस्मा क्षेत्रीय अदालतबाट बण्डा भई सकेको भनी पेश गरेको कागजबाट यो यति जग्गा यस्को भागमा परेको भन्ने नखुलेको र सो बण्डा बमोजिम दर्ता दाखेल खारेज समेत भई नसकेको प्रतिवादीहरू मध्येका रामसुन्दर बाहुनले रामदुलारेबाट गराई लिएको वि.का.ता. राजीनामा पास समेत भएको नदेखिएको भन्ने समेत आधारमा वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहर्याएको देखिन आउँछ । क्षेत्रीय अदालतको सो फैसला उपर प्रतिवादी मध्येका रामपदारथ बाहुन र बाबुरामको पुनरावेदन नपरी प्रतिवादी मध्येका बचन बाहुनको छोरा अयोध्याप्रसादको सम्म पुनरावेदन गर्ने अनुमति पाउँ भनी परेकोमा बेञ्च समक्ष पेश हुँदा मिति २०००।९।२५ को घरसारको बण्डापत्र कागज र आसामी रामदुलारे पाठक भएको घरसारको राजीनामा लिखत वादीको वारेसलाई सुनाउँदा उक्त लिखतहरू सद्दे साँचो हो भनी बयान गरेको र मिति २०००।९।२५ को घरसारको कागजमा वादीको सही परेको समेत व्यवहार प्रमाणबाट वादी प्रतिवादी बीच अंशबण्डा भइसकेको सो लिखतलाई प्रमाणमा लिनु पर्नेमा प्रमाणमा नलिई अंश पाउने ठहर्याएको नमिल्ने भन्ने समेत आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान गरी विपक्षीलाई समेत झिकाई पेश हुन आएकोमा पुनरावेदकतर्फबाट विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने र शिवराज अधिकारीले र विपक्षी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले गर्नु भएको बहस समेतलाई ध्यानमा राखी क्षेत्रीय अदालतले सबै प्रतिवादीहरूबाट अंश पाउने ठहर्याइएकोमा प्रतिवादी मध्येका रामपदारथ र बाबुरामको पुनरावेदन नपरी बचन बाहुनको छोरा अयोध्याप्रसाद र नाति घनश्याम सम्म पुनरावेदन परेकोबाट पुनरावेदन परेका घनश्याम र अयोध्याप्रसादको बाजे बाबु बचन बाहुनबाट अंश पाउनु पर्ने नपर्ने के हो भन्नेतर्फ विचार गरिएमा पुनरावेदन गर्ने अनुमति प्रदान गर्दा भएको आदेशमा उल्लेख भए बमोजिम बचन बाहुन र यी वादी र अरु प्रतिवादीहरूको बीचमा २०००।९।२५ मा बण्डाको कागज खडा भई यिनी वादी र प्रतिवादी रामपदारथ, बाबुराम पाठकले सो कागजमा उल्लेख भएका जग्गाहरू मध्ये केही जग्गा अफूले लिने र केही जग्गा बचन बाहुनले लिने गरी बण्डा कागज खडा गरी एक प्रतिमा बचन बाहुनले सही गरी वादी समेतलाई दिएको र अर्को प्रतिमा यिनी वादी समेतले सही गरी बचन साहुलाई दिएको देखिन्छ । सो कागजहरू वादीका वारेसलाई सुनाउँदा सद्दे हो भनी अदालतमा बयान गरेको र सो कागजको व्यहोरामा पुनरावेदकका बाबु बाजे बचन बाहुन र अरु प्रतिवादीहरूसित भिन्न भई सो कागजमा लेखिएका जग्गाहरू तथा अरु नगद जिन्सी समेत बण्डा गरी भिन्न बसेको देखिन आउँछ । यस कागजको सम्बन्धमा वादीतर्फबाट यो यति जग्गा भनी प्रष्ट नखुलेको गोश्वारा रुपमा सम्म उल्लेख भएको र सो बण्डा बमोजिम सम्बन्धित अंशियारको नाउँमा आवश्यक कागज भई दर्ता दाखेल समेत भई नसेकको हुँदा अंशबण्डाको ३० नं. ले पास नभएको सो बण्डा कागजले मान्यता नपाउने भन्ने जिकिर लिएको देखिन आउँछ तर सो कागजमा बण्डा गरेको जग्गाहरूको विवरण दिएको हेरिएमा बचन बाहुनको नाउँमा ९।– रुपैयाँ चानचुन लाग्ने बडैयाको नम्बरी जग्गा भन्ने एक कलम बचन बाहुनकै नाउँमा मौजे अमरपुरमा दर्ता भएको नम्बरी जग्गा भन्ने उल्लेख भई भाग बण्डा लगाएको देखिन आएको जग्गा उल्लेख भएको सो हुलियाबाट अंशियार मध्येका मानिसहरूलाई यो जग्गा हो भन्ने यकीन हुन नसक्ने भन्न मिल्ने देखिन आउँदैन । जहाँसम्म सो बण्डा बमोजिम दर्ता दाखेल खारेज नभएको भन्ने हकमा सो बण्डाबाट अरु प्रतिवादीले पाएका जग्गाहरू निजहरूलाई कागज गरी दिइसकेको र वादीको भागमा परेकोसम्म नलिएको भन्ने अंशियार बचनका छोरा अयोध्याप्रसादले अदालतमा आई बयान गर्दा देखाएको भए पनि निजको भागको जग्गा दिन मन्जूर गरी बयान गरेकोबाट बण्डाको सो जग्गा वादीले नपाउने कुनै स्थिति देखिन आउँदैन र सोही व्यहोराको निज अयोध्याप्रसादले ०३४ सालमा कागज समेत गरी दिएको पनि सो पेश भएको २०३४ को सक्कल कागजबाट देखिन आएकोले बण्डा कार्यान्वयन नभएको भन्ने कुरा मान्न मिल्ने देखिन आएन । यस्को अलावा वादी समेतका अंशियारहरूले आफ्नो भागको जग्गा आफ्नो आफ्नो नाउँबाट छुट्टाछुट्टै १, ७ नम्बरका फारामहरू भरी भूमिसुधार कार्यालयमा दाखेल गरेको र १ नं. फाराममा आफ्नै परिवारका मानिस मात्र देखाई दिएकोबाट पनि उक्त पास नभएको घरसारको बण्डा बमोजिम आफ्नो आफ्नो भागको जग्गा लिई आफ्नो आफ्नो छुट्टाछुट्टै व्यवहार गरी आएको देखिन आयो । अंशियारहरुको यही छुट्टाछुट्टै व्यवहारको फलस्वरुप रामसुन्दर बाहुनले यिनै वादीलाई आफ्नो जग्गा २०३६।१०।२५ मा घरसारमा राजीनामा गरिदिएको र प्रतिवादी मध्येको बाबुराम पाठकले यिनै वादीका छोरा सत्यनारायण पाठकलाई पनि २०३६।१०।२८ मा जग्गा राजीनामा गरी पास समेत गरिदिएको देखिन आएको छ । रामसुन्दर बाहुनले वादीलाई गरिदिएको कागजका सम्बन्धमा क्षेत्रीय अदालतबाट वादीतर्फको जिरह बमोजिम पास नभएको कारणबाट सो कागज प्रमाणमा आउन नसक्ने भन्ने राय व्यक्त गरेको देखिन आउँछ । तर लिखत कानूनले पास हुनु पर्नेमा पास नभएको भए पनि सो कागजको कानूनी असरमा सम्म मान्यता नपाउने भए पनि सो लिखतमा लेखिएको व्यहोरा सम्बन्धित पक्षका सम्बन्धमा प्रमाणमा लिन मिल्ने नै भएकोले यी २ लिखतबाट अंशियारहरूको बीचमा २०००।९।२५ को बण्डा कागज पछि आफ्नो व्यवहार मिलाउन लेनदेन कारोवार समेत भए गरेको देखिन आएकोले यस्तो अवस्थामा सो बण्डा कागज पास पनि नभएको र अंशबण्डाको ३० नं. बमोजिम मान्यता पाउन नसक्ने भन्ने वादीतर्फको जिरह मनासिब देखिन आएन । अतः वादी र यी पुनरावेदक प्रतिवादीका बीच २०००।९।२५ मा बण्डा कागजमै व्यवहार प्रमाण समेतबाट अंश लिनु दिनु गरी छुट्टी भिन्न भई सकेको देखिन आएको बण्डाबाट वादीले पाएको बचनको नाउँको जग्गा बचनको छोराले बयान बमोजिम दाखिल खारेज गराई नदिएमा निजको कागजको आधारमा दावी गरी लिन पाउने नै हुँदा प्रतिवादी मध्येको बचनको छोरा नातिबाट समेत अंश पाउने ठहर्याएको हदसम्म मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ति ठहर्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी मध्येका बचनको छोरा नातीबाट समेत वादीले अंश पाउने ठहराएको हदसम्म म.प.क्षे.अ. को इन्साफ गल्ती ठहरिएको हुँदा प्र.अयोध्याप्रसाद पाठकले मिति २०४१।४।८ मा दिएको फाँटवारी १ र प्र.घनश्याम पाठकको वा.अयोध्याप्रसाद पाठकले २०४१।४।८ मा दिएको फाँटवारी १ समेतमा लेखिएको चल अचल धन सम्पत्तिको ४ खण्डको १ खण्ड अंश कानून बमोजिम गरी वादीलाई छुट्याई दिलाई भराई दिनु भनी बाँके जिल्ला अदालतमा लगत दिने गरेको म.प.क्षे.अ. को लगत कायम राख्न परेन सो लगत कट्टा गरिदिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु .......१ माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने हुँदा मिति २०४१।७।२६।१ को म.प.क्षे.अ. को फैसलाले प्रतेवादीहरूबाट बराबरको दरले भराई दिने गरेको कोर्ट फी रु. ११४।३१(एकसय चौध रुपैयाँ एकतीस पैसा) पुनरावेदक वा.कालिरामले धरौटी राखेको देखिँदा उक्त धरौटी रु. ११४।३१ पैसा प्रतिवादीलाई फिर्ता दिनु भनी शुरु जि.अ. मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु ........२
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४३ साल फाल्गुण ६ गते रोज ४ शुभम् ।