निर्णय नं. ३०११ - बहुविवाह

निर्णय नं. ३०११ ने.का.प. २०४४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको फौ.पु.नं. ५००
मुद्दा : बहुविवाह
पुनरावेदक/वादी : नजिवुल्ला मियाँको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि. झापा बनियानी गा.पं. वा.नं. ९ बस्ने इन्द्रिस मियाँ।
ऐ.ऐ बस्ने वच्चा मियां।
फैसला भएको मिति : २०४४।२।५।३ मा
ऐनमा भएको व्यवस्थाले नेपाल अधिराज्यका नेपाली नागरिकलाई एउटा स्वास्नी भई भई कन निजसंग सम्बन्ध विच्छेद हुनु बेगर अर्को स्वास्नी मानिससँग विवाह गर्न निषेध गरेको हुँदा नेपालको नागरिकको हैसियतबाट निज जहाँसुकै रहे पनि निजउपर सो ऐनले लगाएको प्रतिबन्ध छुट्न नसक्ने ।
(प्रकरण नं. १८)
पुनरावेदक, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह, विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.
विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्त श्री नैनविनोद नेउपाने
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।३।२४।२ को फैसला उपर यस अदालतबाट वादी श्री ५ को सरकारलाई पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :
२. बनियानी गा.पं. वा.नं. ९ बस्ने बिलमहमद मियाँले पालनपोषण गरी राखेकी भतिजी बच्चा मियाँनिलाई भुँडी बोकाई २०३७ साल वैशाखमा भारत लगी २०३७ साल ज्येष्ठ ११ गते निजको छोरा इन्द्रिस मियाँलाई विवाह गराई छोरा बुहारी घरमा आएका छन् । इन्द्रिस मियाँको पहिलो विवाह गरेकी श्रीमती छँदैछ, बहुविवाह गर्ने उपर कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको २०३७।४।२३ को नजिवुल्ला मियाँको जाहेरी ।
३. २०३७।२।२१ गते इन्द्रिस मियाँले बच्चा मियाँलाई विवाह गरी २०३७।३।३ गते भारतबाट आएको थाहा पाई वार्ड अध्यक्षको हैसियतले हुलाकद्वारा जाहेरी दिएको छु । बहुविवाह गरेकोमा कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरवाला नजिवुल्ला मियाँको प्रहरीमा गरेको कागज ।
४. बच्चा मियाँ मेरो तीन पुस्ता भित्रकी भतिजी हो । छोरा इन्द्रिसको १० वर्ष अगाडि अपतरुन मियाँनीसँग विवाह भई एक छोरी छ, पुनः २०३७ साल वैशाख १७ गते भारत पारसरीमा लगी पुनः विवाह आफैंले गरेको हो । बच्चा मियाँनीलाई मैले गर्भवति बनाएको होइन, छोराको गर्भ हो, मलाई दुश्मनीले उजूर गरेको हो भन्ने विलमहम्मद मियाँको २०३७।४।२६।१ को प्रहरीमा गरेको कागज ।
५. भारत बस्ने बच्चा मियाँनीलाई भारतमै विवाह गरी २०३७।२।१० गते घरमा ल्याएको हुँ । बच्चा मियाँनीसंग विवाह नहुँदै देखि करणी लिनु दिनु थियो, गर्भवति भएको ५ महिना भयो, मेरी जेठी श्रीमती पनि घरमै छ । खाँसीको विमारी छ, बच्चा मियाँलाई मेरा बाबुले गर्भवति तुल्याएको होइन, बच्चा मियाँ मेरो चार पाँच पुस्ता परको बहिनी हो, विवाह गर्न हुन्छ । मैले प्रेम विवाह गरेको हुँ भन्ने समेत व्यहोराको इन्द्रिस मियाँले २०३७।४।२८।३ मा प्रहरीमा गरेको कागज ।
६. मुलुकी ऐन बिहावारीको ९ नं. को विपरीत बहुविवाह गर्ने इन्द्रिस मियाँ र जानीजानी स्वास्नी भई बस्ने बचा मियाँनी समेत २ जना उपर सोही ऐनको १० नं. बमोजिम सजायँ हुने र बिल महम्मदले बच्चा मियाँलाई गर्भवति तुल्याएको कहिँ कतैबाट नदेखिँदा कारवाही गर्नु नपर्ने भन्ने समेतको व्यहोराको २०३७।५।९।२ को प्रहरी प्रतिवेदन ।
७. अपतरुन मियाँसंग मेरो विवाह भएको अहिले १० वर्ष भयो । १ वर्षकी छोरी छ । जहानलाई दमको विमार भई ठीक नभएकोले व्यवहार नहोला भन्ने लागी घरैमा पाली राखेकी काकाकी छोरी बहिनी नाताकी बच्चा मियाँसँग दुई वर्ष अगाडिदेखि करणी लिनु दिनु भएको हाल ५ महिनाको गर्भ रहेको छ । २०३७ साल वैशाख १७ गते भारतमा बच्चा मियाँको बाबु भएकोले रीति अनुसार विवाह गरी २०३७ साल ज्येष्ठ १७ गते घरमा ल्याएको हुँ । बच्चा मियाँले बोकेको गर्भ मेरो हो भन्ने समेत व्यहोराको प्र.इन्द्रिस मियाँले २०३७।५।११।४ मा अदालतमा गरेको बयान।
८. अर्की स्वास्नी राखेमा हुने कसूर सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची १ भित्र नपर्ने र स्वास्नी राखी गर्भ रही वा सो भन्दा पछि जहिले सुकै रीत पुर्याउने कार्य गर्नुलाई विवाह भएको मिति कायम गर्न नमिल्ने हुँदा बहुविवाह गरेकोमा सजायँको माग गरेको प्रहरी तथा स.स.अ.को प्रतिवेदन दावीसंग सहमत नभएकोले अभियोगबाट प्रतिवादीले सफाई पाउने ठहर्छ भन्ने २०३८।१०।२५।१ को झापा जिल्ला अदालतको फैसला ।
९. बिवाहवारीको २ नं. ले मानेको कुरा प्र.इन्द्रिस र बच्चा मियाँनीबाट स्पष्ट हुँदाहुँदै स.मु.स. ऐन अनुसूची १ भित्र नपर्ने भनी सफाई दिएको कानून र न्याय प्रतिकूल फैसला भएकोले उक्त फैसला बदर भई प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्ने स.अ. तथा स.अ.को मेची अञ्चल अदालतमा परेको पुनरावेदन ।
१०. प्रतिवादीले दोश्रो विवाह गरेको कुरा स्वीकार गरेकोमा शुरुले सफाई दिएको इन्साफ नमिल्ने हुँदा प्रतिवादीका नाममा अ.बं. २०२ नं. अनुसार कानून बमोजिम छलफलको म्याद पठाई म्यादमा हाजिर भएमा वा गुजारेमा नियमानुसार पेश गर्नु भन्ने २०३९।५।२ को मेची अञ्चल अदालतको आदेश ।
११. प्र.मध्येका इन्द्रिस मियाँले बहुविवाह गरेको र प्र.बच्चा मियाँनीले जानीजानी इन्द्रिससँग विवाह गरेको ठहर्दा प्रतिवादीहरूलाई बिहावारीको १० नं. बमोजिम कैद महिना १ र रु. एक हजारका दरले जरिवाना समेत हुन्छ । शुरु जिल्ला अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको मिति २०३९।८।२२ को फैसला ।
१२. उक्त मेची अञ्चल अदालतको इन्साफमा चित्त बुझेन, पुनरावेदनको अनुमति पाउँ भन्ने व्यहोराको इन्द्रिस मियाँको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदन ।
१३. मेची अञ्चल अदालतको फैसलामा कानूनी त्रुटि रहे भएको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ । कानून बमोजिम गरी पेश गर्नु भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।१।५ को आदेश ।
१४. जाहेरवाला नजिबुल्ला मियाँको जाहेरीको आधारमा प्रतिवादीहरू उपर मुलुकी ऐन बिहावारीको महल अन्तर्गतको अभियोगमा प्रस्तुत मुद्दा दायर हुन आएको देखिँदा जाहेरी दर्खास्तमा भारत किसनगञ्ज अदालतमा विवाह गरेको भन्ने उल्लेख भएको र विदेश स्थित भारतको अदालतमा विवाह गराएको कुरालाई लिएर निर्णय गर्ने कानूनी प्रावधानको अभाव देखिएकोले औचित्यतर्फ विचार गर्नु पर्ने नभई खारेज गर्नु पर्नेमा मेची अञ्चल अदालतले ठहर फैसला गरेको त्रुटिपूर्ण हुँदा सो फैसला बदर हुन्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।३।२४।४ को फैसला ।
१५. उक्त पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी बेञ्च समक्ष पेश हुँदा आफ्नो ईलाका भित्रका व्यक्तिको सम्बन्धमा मुद्दा हेर्न मिल्ने र हेर्नु पर्नेमा सो बमोजिम गरी निर्णय गरेको झापा जि.अ. र मेची अं.अ. समेतको निर्णय बदर गरी कानूनी प्रावधानको अभाव भनी खारेज गरेको पू.क्षे.अ.को निर्णयमा अ.बं. २९ नं. को त्रुटि भएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान भएको ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा श्री ५ को सरकारको तर्फबाट बहसका निमित्त उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. र विपक्षीतर्फबाट विद्वान अधिवक्ता श्री नैनविनोद नेउपानेले गर्नु भएको बहस समेत सुनी पू.क्षे.अ.को निर्णय मनासिब बेमनासिब के हो भन्नेतर्फ निर्णय दिनु पर्ने देखिन आयो ।
१७. यस सम्बन्धी मुलुकी ऐन बिहावारीको ९ नं. मा देहायका अवस्थामा बाहेक कुनै लोग्ने मानिसले आफ्नो स्वास्नी जीवित छँदै वा कानून बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्को स्वास्नी मानिससँग विवाह गर्न हुँदैन भन्ने व्यवस्था भएको र मुलुकी ऐन प्रारम्भिक कथनको दफा २ मा यो ऐन नेपाल अधिराज्यमा लागु हुनेछ भन्ने व्यवस्था भएकोबाट बिवाहवारीको ९ नं. मा भएको उक्त व्यवस्था नेपाल अधिराज्य भित्रका सबै नेपाली नागरिकहरूका सम्बन्धमा लाग्ने भन्ने कुरामा कुनै दुविधा रहेको देखिन आउँदैन । अर्थात् कुनै नेपाली नागरिकले आफ्नो एउटा स्वास्नी छँदै निजसँग सम्बन्ध विच्छेद नभएको अवस्थामा अर्को स्वास्नी मानिससँग विवाह गरेमा सो ऐनको व्यवस्थाले निषेध गरेको काम गरेको देखिने स्पष्ट छ।
१८. ऐनमा भएको यो व्यवस्थाले नेपाल अधिराज्यका नेपाली नागरिकलाई एउटा स्वास्नी भइकन निजसँग सम्बन्ध विच्छेद हुनु बेगर अर्को स्वास्नी मानिससँग विवाह गर्न निषेध गरेको हुँदा नेपालको नागरिकको हैसियतबाट निज जहाँसुकै रहे पनि निज उपर सो ऐनले लगाएको प्रतिबन्ध छुट्न नसक्ने स्पष्ट छ । प्रस्तुत मुद्दामा पनि अभियुक्त इन्द्रिस मियाँ बहस जिकिर बमोजिम नेपालको नागरिक होइन भन्ने कुनै सबूद नआई निजले अदालतमा बयान गर्दा समेत आफ्नै बाबुको र आफ्नो वतन समेत नेपाल सरहद भित्रको झापा जिल्ला बनियानी गा.पं. वडा नं. ९ मा रहेको भन्ने देखाएकोबाट निजलाई पनि यो कानून नलाग्ने भनी अन्यथा देखिनु बेगर भन्न मिल्ने देखिन नआई यस सम्बन्धी श्री ५ को सरकारतर्फको जिरह मनासिब देखिन आएकोले भारतमा विवाह गरेको भन्ने आधारमा मेची अञ्चल अदालतले गरेको ठहर उपर विचार नगरी पू.क्षे.अ.ले पुनरावेदन सुनी मुद्दै खारेज गर्ने गरेको मिलेको देखिएन, तसर्थः अं.अ.को ठहर उपर परेको पुनरावेदनबाट इन्साफ जाँची कानून बमोजिम गर्नु भनी उपस्थित विपक्षीलाई समेत तारेख तोकी पू.क्षे.अ.को रेकर्ड मिसिल र शुरु मिसिल समेत पू.क्षे.अ.मा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४४ साल ज्येष्ठ ५ गते रोज ३ शुभम् ।