शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०३१ - थैली बुझाई लिखत पास गरिपाउँ

भाग: २९ साल: २०४४ महिना: असार अंक:

निर्णय नं. ३०३१     ने.का.प. २०४४ अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको दे.पु.नं. ५७८, ६२२

मुद्दा : थैली बुझाई लिखत पास गरिपाउँ

 

पुनरावेदक/वादी: जि.तेह्रथुम पोखरी गा.पं. वा.नं. ४ बस्ने घमण्ड बहादुर निरौला।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ. वडा नं.३ बस्ने समबहादुर लिम्बू।

            ऐ.ऐ वडा नं.४ बस्ने चक्रजंग निरौला।

            ऐ.ऐ बस्ने खेमजंग निरौला।

 

पुनरावेदक/प्रतिवादी: ऐ.ऐ.वडा नं. ३ बस्ने समबहादुर लिम्बू।

विरुद्ध

विपक्षी/वादी: ऐ.ऐ. वडा नं. ४ बस्ने घमण्डबहादुर निरौला।

प्रतिवादी:     ऐ.ऐ. बस्ने खेमजंग निरौला।

            ऐ.ऐ बस्ने चक्रजंग निरौला।

फैसला भएको मिति: २०४३।१२।१९।५ मा

     हकदारले कानून बमोजिम हक छाडेको लिखत बेगरै बीचको व्यक्तिले साल सालको लागेको मालपोत तिरी खाने शर्तमा भोगबन्धकीमा जग्गा जिम्मा लिई भोग गर्ने व्यक्तिकै परिवारलाई गरिदिएको चलानी पुर्जीका आधारबाट भोगबन्धकी दिने आसामीबाट जग्गाको स्वामित्व नै छुट्न सक्ने कुनै पनि कानूनी व्यवस्था नभएकोले सोही आधारमा राजीनामा लिखत पारीत हुन नसक्ने कपाली हुने भनी वादी दावी भन्दा बाहिर गई गरेको इन्साफ उल्टी हुने ।

(प्रकरण नं. २७)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल

विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंहः     पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि भएको हुँदा पुनरावेदनको अनुमतिको लागि वादी तथा प्रतिवादीतर्फबाट यस अदालतमा पर्न आएको निवेदनपत्रमा पुनरावेदनको अनुमति प्राप्त भई यस अदालत समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्नानुसार छ ।

२.    तेर्सो बाटो पूर्व टेकबहादुर लिम्बूको खेत पश्चिम, ठाडो खोली उत्तर, नरबहादुर लिम्बूको किपट खेत समेत दक्षिण, ४ किल्ला भित्रको आरु बोटे भन्ने किपट खेत प्र.मध्येका समबहादुर दौडिमानले प्र.चक्रजंग निरौलालाई रु. १,९०१।मा मिति २०१३।४।१९ मा बन्धकी पास गरिदिएको दौडिमान मरी समबहादुरको हक भएको थैली रु. १,९०१।को सटहीले रु. २,६४२।३९ तिरी खाने मबाट रु. १८,०००।लिई प्र.समबहादुरले सो जग्गा २०२३।३।८ गते राजीनामा तमसूक गरिदिएको सो को ६ महिना भित्र चक्रजंगको थैली रु. २,६४२।३९ मिति २०३२।८।१० गते तिर्न जाँदा बुझी नलिएको पास गरिदिनु होस् भन्दा पास गरी नदिई समबहादुरले गुजारी दिएकोले थैली बुझाई पारीत गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    प्र.मध्ये चक्रजंग धनी, मेरो बाबु ऋणी भई ०१३।४।१९ मा भा.रु. १,९०१।को लिखत बमोजिम आरुबोटे किपट खेत भोगबन्धकीमा भोगि आएको बाबु परलोक भएकोले रुपैयाँको आवश्यक परी चक्रजंगसंग माग्दा नदिएकोले बाबुले खाएको थैली समेत जम्मा रु. १८,०००।पुर्‍याई दिनुहोस् भनी वादीलाई भन्दा रु. १५,३५७।६१ थैली रु. १८,०००।को लिखत राजीनामा गरिदिएको हो । साहु चक्रजंगको बन्धकी थैली बुझाई पास गरिदिउँ भन्नु पर्नेमा सो नगरी झुठ्ठा नालेश गरेको भन्ने समबहादुरको प्रतिउत्तर ।

४.    वादी दावीको आरुबोटे खेत प्र.समबहादुरको बाबु दौडिमानले रु. १,९०१।मा भोगबन्धकी पास गरिलिएको सो ४ किल्ला भित्र केही खेत धेरै जसो पाखा हुँदा कुलबहादुर लिम्बूले खेमजंग निरौलालाई २०२१।९।७ मा चलानी पुर्जी गरिदिई समबहादुर दौडिमान दुवै बाबु छोरा रोहवरमा साक्षी बसी चलानी गरी दिएको र खेमजंगले २०२१ सालमा चलानी पाएको तिरो ०२२ साल देखि बुझी रामचन्द्रले गरिदिएको ७ नं. फाँटवारी क्रम संख्या १३ मा गायत्राले भरेको प्र.समबहादुर हक नपुग्ने ७ नं. फाँटवारी दाखिल गर्न सक्नु पर्ने नसकी लिखत गरी गराएको कानूनले सदर नहुने भन्ने समेत चक्रजंगको प्रतिउत्तरपत्र ।

५.    कूल बहादुरले खेमजंगलाई २०२१।९।७ मा गरिदिएको चलानी अर्काको व्यवहार भएकोले सद्दे कीर्ते भनी रहनै नपर्ने भन्ने वादी वा कर्णबहादुरको बयान ।

६.    लिखत सद्दे हो भन्ने अन्तर साक्षीको बयान र रु. १८,०००।को लिखत जालसाजबाट खडा गरेको भन्ने खेमजंगको बयान ।

७.    खेमजंगको नाउँमा चलानी दिन नपाउने सो चलानी बदर गरिपाउँ भन्ने समेत समबहादुरको बयान ।

८.    समबहादुरले बन्धकी थैली बुझाई पास गरिदिनु पर्नेमा नगरी दिएको चक्रजंगजले बन्धकी पास गरिलिई भोगी आएको जग्गा सगोलको भई खेमजंगले कुलबहादुरबाट चलानी लिन नहुने सो चलानी बदर गरिपाउँ भन्ने घमण्डबहादुरको बयान ।

९.    २०२१।९।७ को चलानी खेमजंगको घरमा बसी सो चलानी जालसाजबाट खडा गरेको हुन भन्ने समबहादुरको बयान ।

१०.    कुलबहादुरले खेमजंगलाई गरिदिएको चलानी सद्दे हो भन्ने खेमजंगको वा.छत्रबहादुरको बयान ।

११.    चलानी सद्दे साँचो हो भन्ने चन्द्रबहादुरको बयान ।

१२.   समबहादुरले बन्धकीवाला साहू चक्रजंगको थैली तिरी राजीनामावाला साहू घमण्डबहादुरले खानु  भनी घरसार राजीनामा गरेको तमसूक कानून अनुरुप छ । वादी घमण्डबहादुर साहु, र प्र.समबहादुर ऋणी भई गरेको २०३२।३।८ को राजीनामाको तमसूक चक्रजंग निरौलाको बन्धकी थैली तिरी पारीत हुने ठहर्छ भन्ने तेह्रथुम जि.अ.को फैसला ।

१३.   उक्त फैसलामा चित्त नबुझेकोले प्रतिउत्तर जिकिर अनुरुप इन्साफ पाउँ भन्ने चक्रजंग र खेमजंगको संयुक्त पुनरावेदनपत्र ।

१४.   चक्रजंगले बयन गर्दा रु. १८,०००।यो लिखतलाई जालसाज भन्ने तर्फ इन्साफ गर्दा बोलेको नदेखिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने अं.अ.को आदेश ।

१५.   कुलबहादुर सुब्बाले खेमजंगलाई गरिदिएको चलान सद्दे ठहर्छ । एउटै जग्गा दोहरी पजनी भएकोसम्म ठहर्न गएकोले वादीको लिखत समुच्चा जालसाज नठहरेकोले तेह्रथुम जि.अ.को फैसला उल्टी हुने ठहर्छ, भन्ने कोशी अञ्चल अदालतको फैसला ।

१६.    प्र.समबहादुर लिम्बूको विन्तिपत्र परी इन्साफ जाँची कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट पू.क्षे.अ.को नाउँमा हुकुम बक्स भएको ।

१७.   भई आएको हु.प्र.बमोजिम निर्णय गर्न विन्तिपत्रवाला र सम्बन्धित मिसिल झिकाई दर्ता गरी पेश गर्नु भन्ने पू.क्षे.अ.को सिंगलबेञ्चबाट भएको आदेश ।

१८.   नं. ५९३ को विपक्षी घमण्डबहादुरले दिएको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश।

१९.    कोशी अञ्चल अदालतको २०३९।८।८ को कानून त्रुटिको फैसलामा चित्त नबुझेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी घमण्डबहादुर निरौलाको निवेदन ।

२०.   को.अं.अ. को त्रुटिपूर्ण फैसला देखिन आएबाट न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ । इन्साफ जाँच गर्नु भन्ने मुद्दा साथै पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश ।

२१.   २०२१ सालको चलानी कीर्ते जालसाजी ठहर्दैन सो सालको चलानी सद्दे साँचो ठहर्छ। विवादास्पद जग्गामा प्र.समबहादुरको हक नपुग्ने र प्र.खेमजंग निरौलाको हक पुग्ने ठहर्छ । रु. १८,०००।को मिति २०३२।३।८ को लिखतको सम्बन्धमा लिखत गरिदिने समबहादुरले सकार नै गरेकोले सो लिखतमा उल्लेखित जग्गा निज समबहादुरको हकको नदेखिँदा वादीको जग्गामा हक पुग्दैन कपालीमा ऐनका म्याद भित्र नालेश परेको अवस्थामा कानून बमोजिम नै हुने हुँदा केही बोलिरहन परेन । २०२१ सालको चलानी सद्दे भई जग्गा प्र.खेमजंग निरौलाको हकभोगको ठहर्‍याई लिखत पारीत नहुने र बन्धकी थैली बुझाई पाउँ भन्ने दावी पनि नपुग्ने भनी कोशी अञ्चल अदालतको फैसलामा कुनै त्रुटि नदेखिँदा सो फैसलामा कुनै संशोधन गरिरहन परेन भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

२२.   उक्त फैसलामा चित्त बुझेन पुनरोदनको अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको प्रतिवादी समबहादुर लिम्बूको निवेदनमा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरको इन्साफमा विशेषज्ञलाई जिरह नगराएको हुँदा प्रमाण ऐन, २०३१ को दफा २३ को त्रुटि लेखिएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयको समेत हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था प्रस्तुत मुद्दामा विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतको डिभिजन बेञ्चको आदेश ।

२३.   उक्त उल्लेखित फैसलामा चित्त बुझेन मेरो वादी दावी बमोजिमको राजीनामा लिखत पारीत गरिपाउनको निमित्त पुनरावेदनको अनुमति पाउँ भनी वादी  घमण्डबहादुरले दिएको निवेदनमा उसमा यसै लगाउको नि.नं. २३३ को प्र.समबहादुरको निवेदनमा आजै अनुमति प्राप्त हुने गरी आदेश भएकोले यसमा पनि पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको तत्कालीन डिभिजन बेञ्चको आदेश ।

२४.   पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले र विपक्षी वादीतर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री हरिहर दाहालले गर्नु भएको बहस समेत सुनियो मुख्यत पु.क्षे.अ.ले गरेको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

२५.   बन्धकी थैली तिरी मेरो राजीनामा पारीत हुन पर्ने भन्ने वादीको मुख्य दावी र राजीनामा पारीत भई मैले वादीसंग लिएको रुपैयाँ कपालीबाट तिर्न नपर्ने कुरा हुँदा तिर्न नपरोस् र राजीनामा पारीत हुनु पर्ने गरी इन्साफ पाउँ भन्ने आसामी प्रतिवादी समबहादुरको मुख्य पुनरावेदन जिकिर भएको पाइन्छ ।

२६.   यसमा धनी चक्रजंग निरौला र ऋणी प्र.मध्ये समबहादुरको बाबु दौडीमान लिम्बू भई विवादित रु. ३।तिरो लागेको किपट खेत भा.रु. १,९००।मा ०१३।४।१९ मा भोगबन्धकी पारीत भएकोमा र सोही भोगबन्धकी थैली भा.रु. को हुने ने.रु. २,६४२।३९ तिरी खानु भनी बाबु दौडीमानका शेषपछि हकदार छोरा समबहादुर लिम्बूले पुनरावेदक वादी घमण्डबहादुर निरौलालाई मिति ०३२।३।८ मा रु. १८,०००।मा घरसारमा गरी दिएको राजीनामा लिखत पारीत गरिपाउँ भन्ने वादी दावी भएको र सो वादी दावी अनुसारको लिखत गरिदिएकोमा आसामी समबहादुरले पनि पूर्ण स्वीकार गरेको समेत पाइन्छ । अब प्रतिवादी जिकिर अनुसार सुब्बा कुलबहादुरले खेमजंग निरौलालाई ०२१।९।७ मा गरिदिएको चलन पुर्जी र मालपोत तिरेका रसीदका हकमा मालपोत तिरी खाने शर्तको भोगबन्धकी लिखत अनुसार विवादित जग्गा गत ०१३ सालदेखि नै खेमजंग चक्रजंग एकै परिवारका मानिस जिम्मा भोगमा भएकोमा विवाद देखिन्न ।

२७.   यस्तो स्थितिमा आफ्ना बाबु दौडीमानका नाउँको सुफत जग्गा बाबु दौडीमानको अथवा छोरा हकदारले कानून बमोजिम हक छोडेको लिखत बेगर बीचको व्यक्ति सुब्बा कुलबहादुरले साल सालको लागेको मालपोत तिरी खाने शर्तमा भोगबन्धकीमा जग्गा जिम्मा लिई भोग गर्ने व्यक्तिकै परिवारलाई गरिदिएको चलानी पुर्जीका आधारबाट भोगबन्धकी दिने आसामीबाट जग्गाको स्वामित्व नै छुट्न सक्ने कुनै पनि कानूनी व्यवस्था नभएकोले सोही आधारमा राजीनामा लिखत पारीत हुन नसक्ने कपाली हुने भनी वादी दावी भन्दा बाहिर गई कोशी अञ्चल अदालतले शुरुको इन्साफ उल्टाई गरेको निर्णयलाई सदर गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानून विपरीत गरेको देखिन आएकोले उल्टी हुने र वादी दावी बमोजिमको ०३२।३।८ को राजीनामा लिखत पारीत हुने शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । अरु तपसीलका कुरामा तपसील बमोजम गर्नु ।

तपसील

पुनरावेदक वादी घमण्डबहादुर निरौलाके माथि इन्साफ खण्डमा लेखिए बमोजिम कोशी अञ्चल अदालतले शुरुको इन्साफ उल्टी गरी प्रतिवादीहरूले शुरु फैसला बमोजिम वादीले भरी पाउने कोर्ट फी रु. ८८५।७८ धरौट राखेको प्र.लाई फिर्ता दिनु भनी लेखेको र प्र.हरूले अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. १३२।८६ वादीबाट भराई दिनु भनी लेखेकोमा अब सो बमोजिम गर्नु परेन । शुरु तेह्रथुम जिल्ला अदालतको इन्साफ सदर भएकोले सो अञ्चल अदालतको फैसलामा उल्लेखित सम्पूर्ण लगत काटिदिनु भनी शुरु तेह्रथुम जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.मा लगत दिनु....१ पुनरावेदक वादी घमण्डबहादुर निरौला क्षेत्रीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरुको इन्साफ मनासिब  भई अञ्चल अदालत र पूर्वाञ्चल अदालतको इन्साफ उल्टी हुने ठहरेकोले निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. ११२।५० भराई पाउँ भनी म्यादमा प्र.हरूको यसै सरहदको जेथा देखाई दर्खास्त परे कानून बमोजिम गरी प्रतिवादीहरूबाट भराई दिनु भनी शुरु तेह्रथुम जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु....२ मिसिल नियमानुसार गरी बुझाई दिनु....३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४३ साल चैत्र २९ गते रोज ५ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु