निर्णय नं. ३०३३ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. ३०३३ ने.का.प. २०४४ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको रिट नं. २००१
विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निवेदक : जि.पर्वत खुर्कोट गा.पं.वा.नं.३ पाङगोडा घर भई घरेलु तथा ग्रामिण उद्योग विकास शाखा बाग्लुङको ख.शेषराज रेग्मी।
विरुद्ध
विपक्षी : अञ्चलाधीशको कार्यालय धवलागिरी अञ्चल बागलुङ।
अंचल न्यायाधीशको अध्यक्षतामा गठित अंचल बढुवा समिति धवलागिरी,बागलुङ।
घरेलु तथा ग्रामिण उद्योग विकास,शाखा बागलुङ ख.वावुराम शर्मा।
आदेश भएको मिति : २०४३।१२।२९।१ मा
निवेदकले आंशिक (कम्पार्टमेन्टल) परीक्षा समेत दिई परीक्षा उत्तिर्ण गरेकोले निजामती सेवा नियमावलीको नियमले तृतीय श्रेणीको अंक दिइनु पर्ने प्रष्ट व्यवस्था गरेको समेत देखिँदा निज रिट निवेदकलाई निजले हासिल गरेको खण्डे एस.एल.सी. को शैक्षिक योग्यता वापत तृतीय श्रेणीको अंक नै दिनु पर्ने ।
(प्रकरण नं. १५)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
उल्लेखित मुद्दाःX
आदेश
न्या.पृथ्वीबहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ ।
२. घरेलु तथा ग्रामिण उद्योग विकास शाखा मुस्ताङमा रिक्त रहेको ना.सु. (रा.प.अ.नं.प्र.) पद बढुवाद्वारा पदपूर्ति गरिनेमा सम्भाव्य उम्मेदवार म र विपक्ष बाबुराम शर्मा भएकोमा बढुवा समितिले ०४२।५।३ का निर्णय अनुसार विपक्ष बाबुराम शर्मालाई बढुवाको लागि सिफारिश गरेको सूचना प्रकाशित गरेको म्याद भित्रै वर्गीकृत क्षेत्रमा काम गरेको अवधिको अंक र एस.एल.सी. द्वितीय श्रेणीमा उत्तिर्ण भएकोमा सो को अंक नदिई तृतीय श्रेणीको अंक दिइएबाट विपक्ष बाबुरामको भन्दा ३९ अंक घटी हुन गयो द्वितीय श्रेणीको अंक दिइएको खण्डमा विपक्ष बाबुरामको भन्दा ३.६१ अंक बेसी हुने हुँदा द्वितीय श्रेणीको अंक गणना गरी बढुवा पाउँ भनी अञ्चलाधीश कार्यालयमा मेरो उजूरी परेकोमा परीक्षा नियन्त्रण कार्यालयको जवाफ प्रतिक्षा गरी रहने समय बाँकी नभएकोले प्राप्त भएको रेकर्डहरूकै आधारमा निर्णय दिनु पर्ने भनेको र बर्गीकृत क्षेत्रको अंक सम्बन्धमा हाजिर भएको मितिदेखि वर्गीकृत क्षेत्रको अंक गणना हुने भन्ने लो.से.आ.को का.ले उल्लेख गरी पठाएको हुँदा बढुवा समितिको निर्णयलाई विचार गर्न परेन, खण्डे एस.एल.सी. को द्वितीय श्रेणी सरहको अंक भन्ने दावीमा परीक्षाको लेजरमा कुनै पनि श्रेणी उल्लेख नभएको भन्ने शिक्षा शाखा बागलुङबाट लेखि आएकोले नि.से.नि., २०२१ को नियम ३.५(६) मा श्रेणी नखुलेकोलाई द्वितीय श्रेणी सरहको अंक भन्ने उल्लेख भएपनि यस प्रकृतिको परीक्षाको लागि लागु हुने मनसाय उक्त नियमावलीको नहुँदा उक्त परीक्षालाई द्वितीय श्रेणीमा उत्तिर्ण भएको भन्ने मान्न नसकिएकोले निवेदकको उजूरी आधारहीन भएकोले ०४२।५।३ को बढुवा समितिको निर्णय मनासिब भएको भनी ०४२।८।२५ मा गरेको निर्णयको जानकारी ०४२।८।२६ मा गराइयो ।
३. शिक्षण पेशामा लागेका शिक्षकहरूको शैक्षिक स्तर बढाउने अवसर प्रदान गर्ने उद्देश्यले खण्डे एस.एल.सी. परीक्षाको व्यवस्था गरिएको हो भन्ने कुरा खण्डे एस.एल.सी. परीक्षा नियमावलीले प्रष्ट गरेको छ । मैले कूल अंक ४१९ प्राप्त गरी एस.एल.सी. परीक्षा पास गरेको छु । खण्डे एस.एल.सी परीक्षाको नियमावली, २०३१ को नियम ७(ग) मा उत्तिर्णाड्ढ प्रतिशत र यस नियमावलीमा नपरेको परीक्षा सम्बन्धी अन्य विषयहरू एस.एल.सी. परीक्षालाई निर्धारित भए बमोजिम नै हुनेछ भनिएको छ । मैले प्राप्त गरेको एस.एल.सी.को मार्कसिटमा नै द्वितीय श्रेणीको लागि ४०५ अंक प्राप्त गरेको हुनुपर्ने उल्लेख छ भने मैले ४१९ अंक प्राप्त गरेको छु । एस.एल.सी. को प्रमाणपत्र लिई नसकेको र त्यस सम्बन्धमा परीक्षा नियन्त्रण कार्यालयबाट जवाफ आउन नसकेको भनी द्वितीय श्रेणीमा उत्तिर्ण गरेको व्यक्तिलाई तृतीय श्रेणीको अंकको गणना गरी बढुवाबाट वञ्चित गर्ने गरी भएको बढुवा समिति तथा बढुवाको उजूरी सम्बन्धमा भएको निर्णय समेत न्यायिक मनको अभावमा हुन गएकोबाट प्राप्त सबूदको यथार्थ छानविन नगरी नि.से.नि., २०२१ को नियम ३.५(४) को समेत प्रतिकूल हुन गएबाट बदरभागी छ । खण्डे एस.एल.सी. को तृतीय श्रेणीमा गणना गर्ने भन्ने खण्डे एस.एल.सी. सम्बन्धी नियम वा नि.से.नि. मा उल्लेख छैन । तसर्थ द्वितीय श्रेणीमा एस.एल.सी. परीक्षा उत्तिर्ण गरेको व्यक्तिलाई तृतीय श्रेणीको अंकको गणना गरी बढुवाबाट वञ्चित गर्ने गरी भएको बढुवा समिति तथा बढुवाको उजूरी सम्बन्धमा भएको उजूरी सम्बन्धमा भएको निर्णय समेत त्रुटिपूर्ण रही निवेदकलाई संवैधानिक तथा कानूनी हकबाट वञ्चित गरेकोले त्यस्तो त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी द्वितीय श्रेणीको अंक गणना गरी निवेदकलाई बढुवा गरिदिनु भनी परमादेश समेत जारी गरी संवैधानिक तथा कानूनी हक प्रचलन गराई पाउँ भन्ने समेत रिटनिवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको जिकिर संक्षेपमा यस प्रकार छ ।
५. खण्डे एस.एल.सी.पास गरेको द्वितीय श्रेणीको नम्बर दिइएन भन्ने हकमा निवेदकले सरासर एस.एल.सी. पास गरेको नभई दोश्रो वर्षमा फेल भई तेश्रो वर्षमा मात्र पास गरेको र ३ सालको नम्बर जोड्दा द्वितीय श्रेणीका नम्बर पुगे पनि शिक्षा शाखा वाग्लुड्ड बुझ्दा परीक्षा परिणामको लेजर बुझ्दा कुनै पनि श्रेणी उल्लेख नभएको भनी लेखी आएको र स्वयं निवेदकलाई श्रेणी खुलाई ल्याउन पर्याप्त मौका दिएकोमा सकिन भनी निवेदन दिएका । फेल भई खण्डे वा आंशिक (कम्पार्टमेण्टल) पास गरेकोलाई जतिसुकै नम्बर ल्याएको भएपनि तृतीय श्रेणी भन्दा बढी मान्यता दिने चलन कतै पनि नभएको र कम्पार्टमेण्टल पास गरेकोलाई तृतीय श्रेणी सरहको नम्बर दिने भन्ने नि.से.नि., ०२१ को ३.५.६(ख)(३) मा स्पष्ट व्यवस्था भएकै हुँदा तदानुसार नम्बर दिइएकोमा निजको नम्बर नपुगी बढुवा नपाएको र श्रेणी नखोलिने डिग्री डिप्लोमाको लागि हो जस्तो त्रि.वि.को पुरानो वि.एल.को डिग्री तर परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालित एस.एल.सी. परीक्षा डिभिजन खोलिने परीक्षा हो । तसर्थ नि.से.नि.को नियम ३.५.६(ख)(२) को व्यवस्थानुसार श्रेणी नखुलेमा द्वितीय श्रेणीको नम्बर पाउने भन्ने सुविधा निवेदकले पाउन सक्ने होइन । तसर्थ रिटनिवेदन खारेज होस् भन्ने समेत अध्यक्ष कृष्णप्रसाद बस्याल, अञ्चल न्यायाधीश, धवलागिरी अञ्चल अदालत ।
६. निवेदकले एस.एल.सी. पास गरेको साल (०३३) को परीक्षाको लेजरमा कुनै पनि श्रेणी उल्लेख नभएको भन्ने शिक्षा शाखा वाग्लुङबाट लेखी आएको र पटक पटक शिक्षा मन्त्रालयमा सो बारे सोधनी हुँदा जवाफसम्म पनि प्राप्त हुन आएको नहुँदा श्रेणी नखुलेको खण्डे एस.एल.सी. परीक्षालाई द्वितीय श्रेणी मान्न सकिएन । नि.से.नि., २०२१ को नियम ३.५ अनुसार कम्पार्टमेण्टल परीक्षा पास गरेकोलाई तृतीय श्रेणीको दिइने व्यवस्था भएकोले ०४२।५।३ को निर्णयलाई मनासिब ठहर्याई यस कार्यालयबाट निर्णय भएको हुँदा सो निर्णयलाई मान्यता दिई निजको रिटनिवेदन खारेज होस् भन्ने समेत अञ्चलाधीश डा.नरेन्द्रबहादुर थापा अं.का.धवलागिरीको लिखितजवाफ ।
७. निजको मार्कसिटमा सेकेण्ड डिभिजन भन्ने उल्लेख छैन, केवल २ धर्को कोरिएको छ, सो निज आफैं वा कसैलाई कोर्न लगाएको हुन सक्छ । किनकी शि.शा.बागलुङमा रहेको रेकर्डमा कुनै पनि श्रेणी खुलेको छैन । साथै निज सो खण्डे एस.एल.सी. परीक्षा पनि असफल भएको विषयमा पुरक परीक्षा दिई उत्तिर्ण हुनुभएको छ । यसरी एक त निजले खण्डे एस.एल.सी. उत्तिर्ण गर्नु भएकोछ भने निजले लगातार पास नगरी कम्पार्टमेन्टल परीक्षा उत्तिर्ण गर्नु भएको । त्यस्तो कम्पार्टमेन्टल परीक्षा पास गरेकोलाई नि.से.नि., २०२१ को नियम ३.५(६) अनुसार तृतीय श्रेणीको अंक दिइने स्पष्ट व्यवस्था भएकोले कानूनको सही अर्थ नलगाई सत्य कुरा छिपाई निराधार रुपमा दिएको रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत ना.सु.बाबुराम शर्मा ।
८. नियम बमोजिम पेश भएको प्रस्तुत रिटनिवेदनको फाइल समेत अध्ययन गरी निवेदक तर्फबाट रहनु भएको यादवप्रसाद खरेलले निवेदकले खण्डे एस.एल.सी. परीक्षा दिई कूल अंक ४१९ अंक प्राप्त गरेको र द्वितीय श्रेणी हुनलाई ४०५ भए पुग्नेमा निजलाई द्वितीय श्रेणीको अंक दिइनु पर्ने हो, तृतीय श्रेणीको अंक दिइएको छ, मार्कसिटमा डिभिजन नखुलेकोमा नि.से.नि. बमोजिम द्वितीय श्रेणीको अंक दिइनु पर्नेमा तृतीय श्रेणीको अंक दिइने निर्णयबाट निवेदक बढुवा हुनबाट वञ्चित भएकाले त्यस्तो निर्णय बदर गरी द्वितीय श्रेणीको अंक दिई बढुवा गर्नु भनी परमादेश समेत हुनु पर्छ समेत भनी र विपक्षी कार्यालयहरूका तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले खण्डे एस.एल.सी. लाई श्रेणी नखुलाउने गरेको भन्ने परीक्षा नियन्त्रण कार्यालयबाट जवाफ आएको र निज निवेदकले खण्डे एस.एल.सी. पनि आंशिक दिई तेश्रो वर्षमा पास गरेकोबाट निजलाई द्वितीय श्रैणीको अंक दिने प्रश्नै आउँदैन, तसर्थ बढुवा समितिको निर्णय तथा बढुवा उपरको निर्णय समेत कानूनसंगत हुँदा रिटनिवेदन खारेज हुनुपर्छ समेत भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
९. अब निवेदकको माग बमोजिमको आदेश जारी गर्न पर्ने नपर्ने के हो सो को निर्णय दिन परेको छ ।
१०. निर्णयतर्फ विचार गर्दा यसमा निवेदकले खण्डे एस.एल.सी. परीक्षामा कूल अंक ४१९ प्राप्त गरेको हुनाले द्वितीय श्रेणीको अंक प्रदान गरिनु पर्नेमा तृतीय श्रेणीको अंक प्रदान गरेकोबाट निवेदक बढुवा हुनबाट वञ्चित हुनु परेकोले त्यस्तो त्रुटिपूर्ण निर्णय बदर गरी द्वितीय श्रेणीको अंक गणना गरी बढुवा दिनु भन्ने विपक्षीहरूका नाममा परमादेश समेत पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर देखिन्छ ।
११. उपरोक्तानुसार रिट निवेदकले उत्तिर्ण गरेको खण्डे एस.एल.सी. को प्रमाणपत्रलाई द्वितीय श्रेणी मान्ने या तृतीय श्रेणी भन्ने कुराको नै निरोपण गर्नु पर्ने देखिन आएको छ ।
१२. खण्डे एस.एल.सी. परीक्षाको व्यवस्था शिक्षण पेशामा लागेका (एस.एल.सी. पास नगरेका) शिक्षकहरूको स्तर बढाउने उद्देश्यले व्यवस्थित गरेको देखिन्छ ।
१३. निवेदकले सो सुविधा अन्तर्गत एस.एल.सी.उत्तिर्ण गरेको पाइन्छ । बढुवाको प्रयोजनको लागि खण्डे एस.एल.सी.को शैक्षिक योग्यता वापत अंक दिइँदा कुन श्रेणीको अंक दिने भन्ने सन्दर्भमा उठेको प्रस्तुत विषयमा वस्तुमा शुरु कारवाहीको सिलसिलामा नै शिक्षा शाखा वाग्लुड्डलाई यस विषयमा सोधनी हुँदा सम्बन्धित लेजर श्रेस्तामा श्रेणी नखुलेको भनी जवाफ दिएको आधारमा नै बढुवा समितिले निवेदकलाई तृतीय श्रेणीको मात्र अंक प्रदान गरेको देखिन आएकोले निजले प्राप्त गरेको ०३३ सालको लब्धांक पत्रमा (द्वितीय) श्रेणी उल्लेख भएको हकमा सम्बन्धित लेजरमा कुनै श्रेणी उल्लेख नभएको तथा त्यस्तो परीक्षालाई श्रेणी दिने नगरेको भन्ने समेत सम्बन्धित कार्यालयको जवाफ भएबाट उक्त कुरो शंकास्पद हुन गई त्यस्तो प्रमाणपत्रलाई भरपर्दो प्रमाणको रुपमा ग्राहृय गर्न मिलेन ।
१४. यस सम्बन्धमा अदालतले अझ स्पष्ट हुन यस अदालत संयुक्त इजलासबाट मिति ०४३।६।५ मा खण्डे एस.एल.सी.लाई श्रेणी कायम गर्न मिल्छ मिल्दैन जवाफ मगाउनु भनी भएको आदेशानुसार परीक्षा नियन्त्रण कार्यालयबाट आएको जवाफमा खण्डे एस.एल.सी. परीक्षामा डिभिजन बेञ्च कायम हुने नगरेको र निज (रिट निवेदक) लाई कुनै डिभिजन दिएको छैन भनी उल्लेख भएको सम्बन्धित फाइलबाट देखिएको छ । साथै निवेदकले २ खण्डमा विभाजित खण्डे एस.एल.सी.परीक्षा २ पटकमा उत्तिर्ण नगरी आंशिक दिई तेश्रो वर्षमा मात्र सफल भएको देखिन्छ।
१५. उपरोक्तानुसार खण्डे एस.एल.सी.लाई श्रेणी कायम गर्न नमिल्ने नै देखिएकोले रिटनिवेदन माग अनुसार त्यस्तो परीक्षालाई द्वितीय श्रेणी कायम गर्न मिलेन । निवेदकले आंशिक (कम्पार्टमेन्टल) परीक्षा समेत दिई उक्त परीक्षा उत्तिर्ण गरेकोले निजामती सेवा नियमावलीको नियमले तृतीय श्रेणीको अंक दिइनु पर्ने प्रष्ट व्यवस्था गरेको समेत देखिँदा निज रिट निवेदकलाई निजले हासिल गरेको खण्डे एस.एल.सी.को शैक्षिक योग्यता बापत तृतीय श्रेणीको अंक नै दिनु पर्ने देखिन आयो ।
१६. तसर्थ रिट निवेदकलाई खरदार पदबाट नायब सुब्बा पदमा बढुवा गर्ने क्रममा नियम बमोजिम शैक्षिक योग्यता वापत दिइने अंकमा खण्डे एस.एल.सी. लाई तृतीय श्रेणी कायम गरी तृतीय श्रेणीको अंक दिई मूल्याड्ढन गर्ने गरेको बढुवा समितिको ०४२।५।३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरेको अञ्चलाधीश कार्यालय धवलागिरीको ०४२।८।२५ को निर्णयमा कुनै त्रुटि नदेखिँदा अन्यथा गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४३ साल चैत्र २९ गते रोज १ शुभम् ।