शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८४४ - जवर्जस्ती करणी

भाग: ५४ साल: २०६९ महिना: असोज अंक:

ने.का.प. २०६९,            अङ्क ६

निर्णय नं. ८८४४

 

सर्वोच्च अदालत,संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

२०६४CR०७३१

फैसला मितिः २०६९।१।४।२

मुद्दा : जवर्‌जस्ती करणी 

पुनरावेदक वादीः नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला धनकुटा, महाभारत गा.वि.स. वडा नं. ६ घर भई हाल ऐ. धनकुटा        नगरपालिका वडा नं ४ बस्ने शंकर विश्वकर्मा

 

पुनरावेदन फैसला गर्ने :

मा.मु.न्या.श्री कामानन्द प्रसाद देव

मा.न्या.श्री दीपकराज जोशी

मा.न्या.श्री फणिन्द्रदत्त शर्मा

 

§  राय कितावमा व्यक्त भएको रायविपरीत फैसला तयार गर्न मिल्दैन । राय कितावमा व्यक्त भएको राय भन्दा फरक राय व्यक्त गरी लिखित फैसला तयार गर्दा फैसलाको स्थिरता वा निर्णयको अन्तिमताको सिद्धान्तमा वाधा पुग्ने 

(प्रकरण नं.२)

§  न्यायाधीशले मुद्दाको सुनुवाइ गरी राय कितावमा राय व्यक्त गरी सही समेत गरिसकेपछि सो राय स्वयं निर्णयकर्तालाई पनि बन्धनकारी हुन्छ, अन्यथा राय नै कायम रहन नसक्ने र निर्णयहरू अविश्वसनीय, अभरपर्दो तथा जतिखेर पनि दुरुपयोग गर्न सकिने किसिमको हुन जान्छ । त्यस्तो प्रश्न अनुशासनको हिसावले गम्भीर हुने 

(प्रकरण नं.३)

§  नावालिका १६ वर्ष भन्दा मुनिको स्वास्नी मानिसलाई सहमतिले नै करणी गरे पनि मुलुकी ऐन, जवर्‌जस्ती करणीको महलको १ नं. को कसूरभित्र पर्ने हुँदा सहमतिमा करणी भएको जवर्‌जस्ती करणी हुँदैन भन्ने चmस्इन्कारी जिकीर स्वीकार्य नदेखिने 

(प्रकरण नं.७)

पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

फैसला

            न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालतको फैसलाउपर वादी पक्षबाट पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

            विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम प्रस्तुत मुद्दाको जाहेरवालीको परिचयात्मक विवरण गोप्य राखिएको छ 

            मिति २०६२।३।२८ गते राति अन्दाजी ९ बजेको समयमा धनकुटा नगरपालिका वडा नं. ४ स्थित धनमाया वि.क.को घरबाट यातना टेलिफिल्म हेरी फर्कदै गर्दाको अवस्थामा बाटो ढुकी वसेका शंकर विश्वकर्माले विरोध गरेमा सिध्याउने धम्की दिई छुरी देखाई जवर्‌जस्ती करणी गरी हिडेको हुँदा निज शंकर विश्वकर्मालाई आवश्यक कानूनी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको पीडित जाहेरवालाको जाहेरी दरखास्त 

            धनकुटा नगरपालिका ४ स्थित भएको घटनास्थल वरिपरि रहेको झारपात माडिएको, मानिसको खुट्टाको डोव पाइएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का 

            पीडितको योनीको हाईमेन जाली च्यातिएको भन्ने समेत व्यहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन 

            बाटो ढुकी वसेको शंकर विश्वकर्माले मलाई समाती लडाई एक हातले मुख थुनी हल्ला गरेमा मार्ने धम्र्की दिई उत्तेजित लिंग मेरो योनीभित्र छिराई स्खलन गरेको हुँदा सो कुरा आमालाई जानकारी गराई जाहेरी गरेको हुँ भन्ने समेत व्यहोराको पीडित जाहेरवालीको कागज 

            यातना टेलीफिल्म हेर्न आएको सुनितालाई घर फर्कदा वाटामा शंकर विश्वकर्माले करणी गरेछन् भन्ने सुनी थाहा पाएको हो भन्ने व्यहोराको धन कुमारी वि.क. को अनुसन्धान अधिकृत समक्षको कागज 

            सुनितालार्ई जवर्‌जस्ती करणी गरेको होइन । राजी खुशीले नै निजकै घरमा करणी गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी शंकर विश्वकर्माको अधिकार प्राप्त अधिकारी समेतको बयान कागज 

            मिति २०६२।३।२८ गते राति टेलिफिल्म हेरेर फर्कदा शंकर विश्वकर्माले छोरीलाई जवर्‌जस्ती करणी गरेको कुरा छोरीले भनेपछि थाहा पाएका हौ भन्ने व्यहोराको पीडितको वावु र आमाले अनुसन्धान अधिकृतसमक्ष गरी दिएको कागज 

            प्रतिवादी शंकर विश्वकर्मा खराव आचरण भएका मानिस हुन् । निजले पीडितलाई ज्यान मार्ने सम्मको धम्की दिई जवर्‌जस्ती करणी गरेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्का मानीसहरू लक्ष्मण विश्वकर्मा, सावित्री विश्वकर्मा, टंककुमारी विश्वकर्मा र कुलबहादुर विश्वकर्माले लेखाई दिएको कागज 

            शुरु जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, बुझिएका व्यक्तिहरूको कागज, वस्तुस्थिति मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतका सक्कल सबूद प्रमाणका आधारमा प्रतिवादी शंकर विश्वकर्माले मिति २०६२।३।२८ गते राति अन्दाजी ९ बजे पीडित सुनितालाई जवर्‌जस्ती करणी गरेको पुष्टि हुन आएकोले प्रतिवादी शंकर विश्वकर्मालाई मुलुकी ऐन जवर्‌जस्ती करणीको महलको १ नं. को कसूरमा ऐ. ३ को देहाय (२) बमोजिम सजाय गरी ऐ.१० नं. बमोजिम करणी गर्ने निज प्रतिवादीको आधा अंश समेत पीडितलाई भराई पाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र 

 

            अभियोग माग दावी झूठा हो । मैले पीडितलाई २०६२।३।२८ मा जवर्‌जस्ती करणी गरेको छैन । निजको सहमतिले निजकै सल्लाहअनुसार २०६२ वैशाखदेखि नै हामी बीच करणी लिनुदिनु भएको हो । मिति २०६२।३।२८ गते होइन । सो भन्दा अघिल्लो राति करणी गरेको हो । सुनिताले नै राति आफ्नो घरमा वोलाउने र विहान ४ बजे अरुले देख्लान भनेर उठाई घर पठाउने गर्दथिन् । अतः मैले पीडितलाई जवर्‌जस्ती करणी गरेको नहुँदा अभियोग दावीबाट सफाइ पाउनु पर्ने हो भन्ने समेत व्यहोराको शंकर विश्वकर्माको अदालत समक्षको बयान 

वादीका साक्षी जाहेरवाली, धनकुमारी विश्वकर्मा, लक्ष्मण विश्वकर्मा र कुमारी विश्वकर्मा तथा प्रतिवादीका साक्षी खगेन्द्र विश्वकर्मा र विशाल विश्वकर्माको बकपत्र मिसिल सामेल रहेको 

            प्रतिवादी शंकर विश्वकर्माले जाहेरवालीलाई जवर्‌जस्ती करणी गरेको ठहर्छ र सो ठहर्नाले निज प्रतिवादीलाई जवर्‌जस्ती करणीको महलको ३(२) नं. बमोजिम ७ (सात) वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको धनकुटा जिल्ला अदालतबाट मिति २०६२।७।९ मा भएको फैसला 

            जाहेरवालीको मिति २०६२।४।१० को जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजलाई जवर्‌जस्ती करणी भए नभएको भन्न नसकिने, पीडितको योनीको हाइमेन च्यातिएको (पुरानो) भन्ने उल्लेख भएको साथै शरीरका अन्य कुनै भागमा नीलडाम नभएको भनी स्पष्ट उल्लेख भएको छ । जवर्‌जस्ती करणी गर्दा स्त्रीको योनीमा अर्थात् शरीरको अन्य भागमा घाउ चोट नीलडाम घस्रिएको चिन्हहरू हुनुपर्ने सो नभएको साथै योनीमा वा योनीको वरीपरी र कपडामा वीर्य (sperm) देखिनु पर्ने सो कुराहरू कहीँकतै नदेखिएको अवस्थामा शुरु जिल्ला अदालतबाट जवर्‌जस्ती करणी गरेको कुरा ठहर्‍याई भएको फैसला उल्टी गरी पुनरावेदन जिकीरबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी शंकर विश्वकर्माको पुनरावेदन पत्र 

            अभियुक्तलाई मुलुकी ऐन जवर्‌जस्ती करणीको महलको ५ नं. को कसूरमा ऐ. ३(३) बमोजिम कैदमा आधासम्म कैद हुने देखिएको र पीडितको उमेर सम्बन्धमा जिल्ला अदालत धनकुटाबाट कायम गरेको आधार न्यायोचित् नहुँदा शुरुको फैसला केही उल्टी भई प्रतिवादीलाई कैद वर्ष तीन हुने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत धनकुटाको फैसला 

            माननीय न्यायाधीशहरूको कुनचाहीं राय पुनरावेदन अदालतको फैसला हो भन्ने स्पष्ट हुन सकेको छैन । माननीय न्यायाधीश दीपकराज जोशीको रायमा माननीय न्यायाधीश फणिन्द्र दत्त शर्माले समेत सहमति जनाई उक्त रायमा सहमति छ भन्ने उल्लेख गरी सहिछाप समेत गरी सकेपछि माननीय न्यायाधीश फणिन्द्रदत्त शर्माले मेरो छुट्टै राय पेज ६ मा छ भन्ने वाक्यांश कलमले थपी पेज ६ मा गएर प्रतिवादीलाई कैद वर्ष ३ हुने ठहर गरी मानीय न्यायाधीश दीपकराज जोशीले व्यक्त गर्नु भएको रायमा राय कितावमा सहमति जनाएको हुँ सो राय कितावमा लेखिएबमोजिम मेरो छुट्टै राय पछाडिको पेजमा लेखी व्यक्त गरेको छु भनी छुट्टै राय व्यक्त गरी फैसलाको अन्तिममा गएर शुरु जिल्ला अदालतको फैसला सदर गरेको देखिएकोले राय कितावमा एउटा राय उल्लेख गरी फैसलामा राय कितावको भन्दा फरक व्यहोरा उल्लेख भै रायवाझी फैसला भएको देखिएको तथा तेस्रो न्यायाधीशको इजलासबाट समेत रीतपूर्वक फैसला नगरी आदेश पर्चामा मुद्दाको निर्णय गरी फैसला भएबाट समेत पुनरावेदन अदालत धनकुटाको फैसला सो हदसम्म त्रुटिपूर्ण छ । प्रतिवादीले अदालतमा दिएको बयानमा पीडितलाई मिति २०६२।३।२८ गते करणी गरेको छैन सोको अघिल्लो दिन सहमतिले नै करणी गरेको हुँ भनी भनेपनि अधिकार प्राप्त अधिकारी समक्ष मिति २०६२।३।२८ गते पनि करणी गरेको हुँ भनी बयान दिएको, पीडितले आफूलाई प्रतिवादीले जवर्‌जस्ती करणी गरेको भनी जाहेरी दिएको र सोही व्यहोराको अदालतमा समेत किटानी वकपत्र गरेको तथा स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको हाइमन च्यातिएको पाइएको, घटनास्थल प्रकृति मुचुल्काबाट घटनास्थलमा माडिएको पाइएको, वारदात रातको समयमा भएको वारदातको केही समय अघि पीडित छिमेकीको घरबाट टि.भी. हेरी वाहिर निस्केको र त्यसको केही समय पश्चात् प्रतिवादी समेत आएको भनी टि.भी. भएको घरको घरधनीले अदालतमा वकपत्र गरेको समेतका प्रमाणबाट जवर्‌जस्ती करणीको वारदात भएको पुष्ट्याई भएको छ । १६ वर्षभन्दा मुनिको स्वास्नी मानिसलाई सहमतिले नै करणी गरे पनि मुलुकी ऐन, जवर्‌जस्ती करणीको महलको १ नं. को कसूरभित्र पर्नेमा पीडितको उमेरसम्बन्धी मिसिल संलग्न उल्लिखित प्रमाणहरूको त्रुटिपूर्ण मूल्याङ्कन गरी प्रतिवादीलाई दावी परिवर्तन गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरी प्रतिवादीको आधा अंश संर्वस्व गरी पीडितलाई दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा दायर भएको पुनरावेदन पत्र 

            यसमा, पुनरावेदन अदालतको राय कितावमा शुरुबाट भएको सजाय केही उल्टी भई प्रतिवादीलाई ३ वर्ष कैद हुने ठहराएको देखिन्छ । तर फैसलामा भने संयुक्त इजलासबाट दुवै न्यायाधीशका बीच राय फरकफरक व्यक्त भएको पाइयो । यस अवस्थामा पुनरावेदन अदालतको फैसलामा गम्भीरतम रुपले कार्य प्रक्रिया र निर्णय फैसलाको क्रममा त्रुटि रहेको पाइदा छलफल निमित्त विपक्षी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश 

            नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले पीडित सुनिताको उमेर १६ वर्ष भन्दा मुनि भएको अवस्थामा शुरु जिल्ला अदालतबाट जवर्‌जस्ती करणी ठहर गरी भएको फैसला मिलेकै हुँदा उक्त फैसला सदर गर्नुपर्नेमा सजाय घटाउने नाममा लाग्दै नलाग्ने दफा लगाई भएको पुनरावेदन अदालतको फैसला उल्टी गरी प्रतीवादीलाई सजाय गर्नुपर्दछ भन्ने वहस गर्नुभयो 

पुनरावेदन पत्रसहितको मिसिल कागजातको अध्ययन गरी विद्वान अधिवक्ताको उल्लिखित बहस बुँदा समेत मनन गरी इन्साफतर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन अर्थात् वादी नेपाल सरकारको जिकीर बमोजिम प्रतिवादीलाई अभियोगदावीबमोजिम सजाय हुने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो 

            २. पुनरावेदन अदालतमा सुनुवाइको लागि इजलास समक्ष पेश हुँदा इजलासमा रहेका माननीय न्यायाधीश श्री दिपकराज जोशी र श्री फणिन्द्र दत्त शर्माले शुरु जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर गरेको रायमा दीपकराजले मूल राय लेखी माननीय न्यायाधीश श्री फणिन्द्रदत्तले सहमति जनाएको रायकिताबबाट प्रष्ट देखिन्छ । राय कितावमा व्यक्त भएको रायविपरीत फैसला तयार गर्न मिल्दैन । प्रस्तुत मुद्दामा राय कितावमा व्यक्त रायभन्दा उल्टो र फरक हुने गरी माननीय न्यायाधिश फणिन्द्रदत्तले फैसला तयार पारेको देखिन्छ । फैसलामा सजाय ठहर्‍याइएको हुँदा खराव आचरणको आशंका गर्नुपर्ने अवस्था नभए पनि राय कितावमा व्यक्त भएको रायमा फरक राय व्यक्त गरी लिखित फैसला तयार गर्दा फैसलाको स्थीरता वा निर्णयको अन्तिमताको सिद्धान्तमा वाधा पुग्ने देखिन्छ 

            ३. न्यायाधीशले मुद्दाको सुनुवाइ गरी राय कितावमा राय व्यक्त गरी सही समेत व्यक्त गरेपछि सो राय स्वयं निर्णयकर्तालाई पनि बन्धनकारी हुन्छ, अन्यथा राय नै कायम रहन नसक्ने र निर्णयहरू अविश्वसनीय, अभरपर्दो तथा जतिखेरपनि दुरुपयोग गर्न सकिने किसिमको हुन जान्छ । त्यस्तो प्रश्न अनुशासनको हिसावले गम्भीर पनि हुन जान्छ । त्यसैले फैसला तयार गर्दा जे जसरी राय कितावमा व्यक्त रायभन्दा भिन्न राय दिएको भए पनि त्यसलाई अमान्य गरी राय कितावको रायअनुसार एकै राय कायम हुने गरी कायम मुकायम मुख्य न्यायाधीशले गरेको आदेशलाई अन्यथा भन्न पर्ने देखिएन । माननीय न्यायाधीश फणिन्द्रदत्तले राय किताव भन्दा फरक राय उल्लेख गरी फैसला तयार पारेको कार्यलाई पनि मान्यता दिन मिलेन 

            ४. केही उल्टी हुने ठहर गरेको पुनरावेदन अदालतको इन्साफ मिलेको छ छैन भन्नेतर्फ विचार गर्दा प्रतिवादी शंकर विश्वकर्माले मिति २०६२।३।२८ गते राति अन्दाजी ९ बजे पीडित सुनितालाई जवर्‌जस्ती करणी गरेको पुष्टि हुन आएकोले प्रतिवादी शंकर विश्वकर्मालाई मुलुकी ऐन जवर्‌जस्ती करणीको महलको १ नं. को कसूरमा ऐ. ३ को देहाय (२) बमोजिम सजाय गरी ऐ.१० नं. बमोजिम करणी गर्ने निज प्रतिवादीको आधा अंश समेत पीडितलाई भराई पाऊँ भन्ने मुख्य अभियोग दावी भएकोमा अभियोग दावीबमोजिम कसूर गरेको ठहर्‍याई ७ वर्ष कैद सजाय भएकोमा पुनरावेदन अदालत, धनकुटाबाट शुरु जिल्ला अदालतको फैसला केही उल्ट्याई मुलुकी ऐन, जवर्‌जस्ती करणीको महलको ३(३) नं.बमोजिम आधि सजाय अर्थात् तीन वर्ष मात्र कैद हुने गरी फैसला भएको देखियो 

            ५. पुनरावेदन पत्रमा वादी पक्षले मुख्य गरेर प्रतिवादीको उमेरका सम्बन्धमा प्रश्न उठाउँदै असान्दर्भिक दफालाई आधार लिइएको मिलेको छैन भनी जिकीर लिएको देखियो । प्रतिवादीले मुद्दा हेर्ने अधिकारी समक्ष बयान गर्दा करणी भएको कुरा स्वीकारेका र अदालत समक्ष बयान गर्दा अभियोग बमोजिमको दिनमा नभै अघिल्लो दिन अर्थात् आषाढ २८ गते सहमतिमा करणी भएको, अघिपछि पनि करणी हुने गरेको भनी बयान गरेको देखिन्छ । प्रतिवादीले पीडितलाई करणी नै गरेको छैन भनी भन्न सकेको देखिदैन । उनी र पीडितबीच करणीको वारदात घटेको तथ्य पीडितको बाबु आमाको कागज, पीडितको मौकाको कागज तथा अदालतमा भएको बकपत्र, वारदतस्थलको घटनास्थल प्रकृति मुचुल्का तथा पीडितको योनीको हाईमेन जाली च्यातिएको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भै रहेको अवस्थामा प्रतिवादी र पीडितबीच करणीको वारदात भएको तथ्यमा थप विवेचना गर्नुपर्ने आवश्यकता देखिदैन 

६. प्रतिवादीले जवर्‌जस्ती हैन सहमतिमा करणी भएको हो, सहमतिमा भएको करणी अपराध हुने होइन भनी बयानमा लिएको जिकीरको परिप्रेक्ष्यमा जवर्‌जस्ती करणीलाई अपराधिकरण गरेको कानूनी व्यवस्थाको उल्लेखन यहाँ सान्दर्भिक देखिन्छ । मुलुकी ऐन, जवर्‌जस्ती करणीको महलको १ नं मा कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा १६ वर्ष भन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई वा नलिई करणी गरेमा निजले जवर्‌जस्ती करणी गरेको ठर्हछ भन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । प्रस्तुत कानूनी व्यवस्थाले १६ वर्ष पूरा भएको महिलाको हकमा मञ्जूरीलाई अपराध नहुने कारक तत्वको रुपमा स्वीकारिएको देखिन्छ भने १६ वर्ष भन्दा कम उमेरको महिलाको हकमा मञ्जूरी हुनु वा नहुनुले करणी कार्यलाई अपराध हुनबाट अलग गरेको देखिदैन । १६ वर्ष भन्दा कम उमेरकी महिलालाई करणी नै गर्न नहुने, जुनसुकै तवरले करणी गरेको भए पनि सो अपराध हुने गरी ब्यवस्था गरेको देखियो 

७. प्रस्तुत मुद्दाकी पीडितको उमेरको कारणले प्रतिवादीको कार्य अपराध हो होइन भन्ने सम्बन्धमा निराकरण गर्नुपर्ने देखिएकोले पीडितको उमेरको सम्बन्धमा विचार गर्नुपर्ने देखियो । पीडितले जाहेरी तथा अदालतको वकपत्रमा आफ्नो उमेर १३ वर्ष भनी लेखाएको देखिन्छ । पीडित पढ्ने वालमन्दिर प्राथमिक विद्यालयको रेकर्डअनुसार निजको जन्म मिति २०४८।५।१२ भनी उल्लेख भएको देखिएको स्थितिमा उक्त मितिबाट वारदातको मिति २०६२।३।२८ मा निजको उमेर १४ वर्ष पूरा भएको देखिदैन । चिकित्सकबाट पीडितको उमेर सम्बन्धमा परीक्षण गर्दा निजको उमेर १३ देखि १६ वर्ष भनी उल्लेख गरेको पाइयो । प्रतिवादी स्वयंले पीडितको उमेर १४१५ वर्षको भनी उल्लेख गरेको यस स्थितिमा उल्लिखित आधार प्रमाणबाट उनको उमेर १६ वर्ष नपुगेको देखियो । यस्तो नावालिका १६ वर्ष भन्दा मुनिको स्वास्नी मानिसलाई सहमतिले नै करणी गरे पनि मुलुकी ऐन, जवर्‌जस्ती करणीको महलको १ नं. को कसूरभित्र पर्ने हुँदा सहमतिमा करणी भएको जवर्‌जस्ती करणी हुँदैन भन्ने प्रतिवादीको इनकारी जिकीर उल्लिखित कानूनी व्यवस्थाको आधारमा स्वीकार्य देखिन आएन 

८. पुनरावेदन अदालतबाट शुरु अदालतको फैसला केही उल्टी गरी जवर्‌जस्ती करणीको ५ नं को कसूरमा शुरुले गरेको सजायको आधा मात्र सजाय गरेको सम्बन्धमा मिले नमिलेतर्फ विचार गर्दा प्रतिवादीले सहमतिले करणी गरेको भने पनि जाहेरवालीले सहमति नभनी जवर्‌जस्ती करणी गरेको भनी जाहेरी आफैले दिई अदालतमा वकपत्र समेत गरेको देखिन्छ । माथिका अनुच्छेदमा उल्लिखित विश्लेषणको आधारमा उमेर नपुगेकी नावालिकालाई करणी गरेको तथ्य पुष्टि भै रहेको देखिन्छ । प्रतिवादीले करणी गरेको भनेको अवस्थामा पीडित नावालिकाको सहमति रहेको जिकीर साँचो भए र उमेर पुगेको भए क्षम्य हुन सक्छ तर उद्योग हुने अवस्था रहदैन । नावालिका भन्ने पीडितको जिकीर भएको अवस्थामा र अन्यथा प्रमाणित नभएमा करणी गरेको रहेछ भने कसूरको गुरुत्व बढ्ने कुरा आउँछ । उमेर पुगे वा नपुगेका महिलाको जवर्‌जस्ती करणी भएको भए सजायको मात्रासम्म फरक पर्न सक्दथ्यो । प्रतिवादी स्वयंले पीडितलाई सहमतिमा करणी गरेको तथ्यलाई स्वीकार गरेकोस्पीडित स्वयंको निजउपर किटानी जाहेरी तथा बकपत्र भै विशेषज्ञको शरीर परीक्षण प्रतिवेदनबाट समेत करणी भएको वारदात पुष्टि भैरहेको अवस्थामा मनोगत आधारमा लाग्नै नसक्ने दफा लगाई उद्योगको कसूर ठहराउनु कानून र न्यायको दृष्टिकोणले स्वीकार्य देखिएन । यस परिस्थितिमा सो पुनरावेदन अदालतले गरेको केही उल्टीको फैसला कायम रहन नसकी उल्टी भै अभियोग दावीबमोजिम प्रतिवादीलाई मुलुकी ऐन, जवर्‌जस्ती करणीको महलको १ नं को कसूरमा ऐ को ३ नं को देहाय दफा २ बमोजिम सात वर्ष कैद र ऐ को १० नं बमोजिम जाहेरवालीले प्रतिवादीको अंशवाट आधा अंश क्षतिपूर्तिस्वरुप भराइलिन पाउने ठहर्‍याएको शुरु धनकुटा जिल्ला अदालतको इन्साफ सदर हुने ठहर्छ । माननीय न्यायाधीश फणिन्द्रदत्त शर्माले राय कितावमा व्यक्त राय भन्दा फरक राय व्यक्त गरी फैसलाको पूर्णपाठ तयार गरेको देखिएकोले आगामी दिनमा त्यस्तो त्रुटि नदोहोर्‍याउनु भनी फैसलाको प्रतिलिपि समेत साथै राखी निजलाई जानकारी दिनु भनी यस अदालतको प्रशासन महाशाखालाई लेखी पठाउनू । अरु तपसीलबमोजिम गर्नू 

तपसील

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत धनकुटाको फैसला उल्टी भै शुरु धनकुटा जिल्ला अदालतको फैसला सदर हुने ठहरेकाले पुनरावेदन अदालतको फैसलाबमोजिम कायम भएको लगत कट्टा गरी धनकुटा जिल्ला अदालतको फैसलाबमोजिमको लगत कायम गरी कार्यान्वयन गुर्नु भनी शुरु धनकुटा जिल्ला अदालतमा लगत दिनू ...१

दायरीको लगत कट्टा गरी फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ........२

उक्त रायमा सहमत छु 

न्या.गिरीश चन्द्र लाल

इति संवत् २०६९ साल वैशाख ४ गते रोज २ शुभम्

इजलास अधिकृतः विष्णुप्रसाद उपाध्याय

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु