निर्णय नं. ३०३५ - उत्प्रेषण

निर्णय नं. ३०३५ ने.का.प. २०४४ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४२ सालको रि.नं. १९८०
विषय : उत्प्रेषण
निवेदक : जि.सप्तरी हरिपुर गा.पं. वार्ड नं. ७ मा स्थापित राधाकृष्ण गुठीको स्व.गुरु मखनदास वैरागीको चेला ऐ.ऐ. बस्ने महन्थ पाचुंदास।
विरुद्ध
विपक्षी : सगरमाथा अञ्चलाधीश, सगरमाथा अञ्चलाधीशको कार्यालय राजविराज, सप्तरी।
हरिपुर गा.पं का राजविराज,सप्तरी।
ऐ.गा.पं वडा नं.७ बस्ने हजारी चौधरी।
ऐ.ऐ वडा नं.२ बस्ने खीलाल चौधरी।
ऐ.ऐ वडा नं.८ बस्ने असर्फी साह।
ऐ.ऐ वडा नं.८ बस्ने मनराजी चौधरी।
ऐ.ऐ वडा नं.५ बस्ने राम प्रसाद साह।
ऐ.ऐ वडा नं.४ बस्ने अच्छमितलाल चौधरी।
ऐ.ऐ वडा नं.७ बस्ने गोवर्धन चौधरी।
ऐ.ऐ वडा नं.३ बस्ने इस्माइल मियां।
आदेश भएको मिति: २०४४।३।२ मा
अञ्चलाधीशलाई गुठी विषयमा समिति गठन गर्न कुनै कानूनले अधिकार दिएको नदेखिने।
(प्रकरण नं. ८)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
विपक्षीतर्फबाट : द्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की
उल्लेखित मुद्दाःX
आदेश
न्या.पृथ्वीबहादुर सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ ।
२. जि.सप्तरी हरिपुर गा.पं. वार्ड नं. ७ मा स्थापित राधाकृष्ण प्रणामी धर्म संस्थाको गुठी स्थापित भई सो गुठीमा स्थायी सम्पत्ति जग्गा केही सो राधाकृष्ण गुठीको नाउँमा र केही निजको चेला हुने महन्थ भई आएकाको नाममा नामसारी हुँदै आइरहेको परम्परा छ । सो गुठीको आयस्ताबाट नित्य पूजा आजा धर्म सदावर्त चलिआएको छ । सो राधाकृष्ण भगवानको महन्थ मखनदाशको म एक मात्र चेला भएको हुँ । ०४०।७।५ मा मखनदाशको परलोक भएपछि नित्य पूजा आजा सदावर्त गरिआएको छु । म स्वतः सो गुठीको महन्थ भएको हुँ । मुलुकी ऐन गुठीको ११ नं. मा भएको व्यवस्थानुसार पनि मखनदाशको एकमात्र चेला म निवेदकको गुठीको जग्गाबाट गुठीको पूजा आजा गर्न मेरो हक हुन आएको हो । मखनदाशको चेला म पाचुंदाश भएको भन्ने नाता प्रमाणपत्र जि.का. सप्तरीबाट ०४१।१०।१ मा पाएको छु । प्रत्यर्थी नं. २ देखि १० का व्यक्तिले गुठीको आयस्ता हिनामिना गर्ने मनसायले आयस्ता हाम्रो जिम्मा लगाई हामीबाट पूजा आजाको लागि खर्च गर्नु पर्छ भन्दा त्यसो गर्न मिल्दैन भनी मैले भन्दा हरिपुर गा.पं. का प्रधानपञ्च सुनर चौधरीलाई हस्तक्षेप गर्न अगाडि सार्दा निषेधाज्ञाको रिट सगरमाथा अं.अ.मा दिँदा मैले महन्थ म भई पूजा आजा गर्ने र रेखदेख हरिहरपुर गा.पं. ले गर्ने गरी ०४१।५।१० मा मिलापत्र भई सो गुठीको नाउँमा रहेको जग्गाको आयस्ता र स्व.गुरु मखनदाशका नाउँको जग्गाको आयस्ताबाट नित्य पूजा आजा सदावर्त समेत चलिई आइरहेको छ । आफ्नो स्वार्थ पूर्ति नभएपछि अञ्चलाधीश ज्यूलाई गुहारी राधाकृष्ण प्रणामी धर्म संस्थाको नक्कल महन्थ कायम गरी चल अचल हिनामिना गर्न लागेको बुझिएकोले निम्न लिखित व्यक्तिको सदस्यतामा अर्को व्यवस्था नभएसम्मको लागि एउटा समिति गठन गर्ने निर्णय गरी चल अचल हिनामिना हुन नपाउने गरी पूजा आजाको व्यवस्था मिलाउन हुन भनी ०४२।८।२८ मा हरिहरपुर गा.पं. लाई पत्र लेख्नु भएको रहेछ । प्रत्यर्थीले सो मलाई देखाई धान रोकी दौनीसम्म गर्न नदिएको छ । सो पत्रमा उल्लेखित समितिमा विपक्षी नं. २ देखि १० सम्मका नाम रहेछन् सो समिति कहिले कुन समितिमा गठन भयो नक्कल माग्दा दिइएन । तसर्थ निवेदन गर्न आएको छु । म मखनदासको एकमात्र चेला भएको नाता प्रमाणपत्र लिएको छु । सगरमाथा अं.अ.मा मिलापत्र भएको हकलाई कुण्ठित गर्ने गरी निर्णय गर्ने, समिति बनाउने र मलाई नक्कली महन्थ भन्ने अधिकार नहुँदा अ.बं. ३५ ले स्वतः बदरभागी छ । अतः सगरमाथा अञ्चलाधीशले निर्णय गरी गठन गरिएको समिति समेत बदर गरी उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ साथै यो निवेदनपत्रमा टुंगो नलागेसम्म गुठीको आयस्ता नरोकोस् भनी अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन जिकिर ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेतको यस अदालत सिंगल बेञ्चको आदेश ।
४. निवेदक र उचितदास वैरागीको चेला कायम गरी खिचोला मेटाई पाउँ भन्ने सप्तरी जिल्ला अदालतमा चलिरहेको मुद्दा टुड्डो नलागेसम्मको लागि गुठीको आयस्ता संरक्षण गर्ने र शान्ति सुरक्षा कायम गरी धर्मलोप हुन नदिने उद्देश्यले ०४२।८।३० मा हरिपुरका प्र.पं. को अध्यक्षतामा समिति गठन गरिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको सगरमाथा अञ्चलाधीशको लिखितजवाफ ।
५. निषेधाज्ञा मुद्दामा प्रधानपञ्चसंग मिलापत्र गरेको प्रधानपञ्चको मनोमानी रोक्न मिलापत्र अनुरुप समिति गठन भएकोमा निवेदकको पूजा आजा गर्ने हक अधिकार कुण्ठित नभएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको खिलाल चौधरी समेत जना ३ को संयुक्त लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी र विपक्षी कार्यालयका तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्कीले गर्नु भएको बहस समेत सुनियो ।
७. अब प्रस्तुत निवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो वा होइन भन्ने कुराको निर्णय दिनु परेको छ ।
८. निर्णयतर्फ विचार गर्दा यसमा राधाकृष्ण गुठीको महन्थ मखनदास वैरागीको मृत्यु भएको भन्ने बारेमा विवाद छैन । निजको मृत्युपछि राधाकृष्ण गुठीका नाउँका जग्गा जमीन आयस्ता मैले पूजा आजा सदावर्त चलाई भोगी आएकोमा विपक्षीहरूले हस्तक्षेप गर्न खोजेबाट सगरमाथा अञ्चल अदालतमा निषेधाज्ञाको रिट दिएकोमा महन्थ भई पूजा आजा मैले गर्ने र हरिहरपुर गा.पं.ले रेखदेख गर्ने गरी मिलापत्र भएकोमा पुनः विपक्षी अञ्चलाधीशज्यूले समिति गठन गरी त्यसको बन्दोवस्त गर्ने गरी गरेको कारवाही बदर गरिपाउँ भन्ने समेतको मुख्य रिटनिवेदन जिकिर देखिन आयो । त्यसरी दुई थर बीच मिलापत्र भएको हैन छैन भनी विपक्षीहरूले भन्न नसकी त्यसलाई स्वीकार गरी लिखितजवाफ पेश गरेको देखिन्छ । उक्त मिलापत्र बमोजिम महन्थ भई निवेदकले काम गर्ने भन्ने व्यवस्था उल्लेख गरेकोमा पछि विपक्षीहरूले नक्कली महन्थ भन्न मिल्ने हुँदैन । उसमा पनि मिति ०४१।१०।१ को जिल्ला कार्यालय सप्तरीको मिसिल संलग्न नाता प्रमाणपत्रको नक्कलबाट मखनदासको एकमात्र चेला निवेदक भन्ने प्रमाणित भइरहेको पाइन्छ । त्यस्तो निवेदक महन्थ भएको राधाकृष्ण गुठीको सम्बन्धमा विपक्षी अञ्चलाधीशज्यूले मिति ०४२।८।३० मा हरिपुर गा.पं.का प्रधानपञ्चको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको भन्ने कुरा अञ्चलाधीश कार्यालय सगरमाथाको लिखितजवाफबाट पनि देखिन आयो । विपक्षी अञ्चलाधीशलाई गुठी विषयमा त्यस्तो समिति गठन गर्न कुनै कानूनले अधिकार दिएको देखिँदैन । अधिकार विहीन विषय वस्तुका सम्बन्धमा मिति ०४२।८।३० मा समिति गठन गर्ने गरेको विपक्षी अञ्चलाधीश कार्यालयका निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४४ साल आषाढ २ गते रोज शुभम् ।