शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८४६ - अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ ।

भाग: ५४ साल: २०६९ महिना: असोज अंक:

ने.का.प. २०६९,            अङ्क ६

निर्णय नं. ८८४६

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

०६८CI००७०

फैसला मितिः २०६८।१२।२२।४

मुद्दाः अबण्डा जग्गा बण्डा छुट्याई पाऊँ 

 

पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा, गा.वि.स. हरपतगंज वडा नं ३ वस्ने देवनाथ साह तेली

विरुद्ध

प्रत्यर्थीं वादीः जिल्ला पर्सा, गा.वि.स.हरपतगंज वडा न. ३ वस्ने नन्दु साह तेली समेत

 

शुरु फैसला गर्नेः

मा.न्या.श्री वीरसिँह महरा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री भूपध्वज अधिकारी

मा.न्या.श्री टंकबहादुर मोक्तान

 

§  सामूहिक भोगमा रहेको कुनै सम्पत्तिका हकमा बण्डापत्रमा सामूहिक वा साझा भोगमा रहने जनिएन भन्दैमा त्यो सम्पत्ति जसको नाममा छ उसैको एकलौटी हुने होइन । सम्पत्तिको प्रकृतिले यो पैतृक देखिई त्यो बण्डा हुने प्रकृतिको देखिन्छ र अन्य अंशियारको भोगमा समेत छ भने यस्तो सम्पत्तिलाई अंशबण्डाको ३५ नं. अनुसार बण्डाको माग गर्दै नालेस लाग्ने 

(प्रकरण नं.३)

§  बण्डापत्रमा कुनै सम्पत्तिको सम्बन्धमा केही नबोलिएको अवस्थामा त्यो जसका नाममा छ उसैको मात्र हुने अरु अंशियारको त्यसबाट हक लोप हुने भन्ने अर्थ लाग्न नसक्ने 

§  हकको समाप्ति प्रष्ट रुपमा लेखिएको अवस्थामा मात्र हुन्छ । कुनै सम्पत्तिको विषयमा केही लेखिदैन भने त्यसको प्रकृतिले त्यो बण्डा हुने वा नहुने निर्धारित गर्दछ । सो सम्पत्ति कुनै अंशियारको निजी हुने भन्ने प्रष्ट उल्लेख नभएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(ख) बमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अनुमान गरिने कानूनी व्यवस्था क्रियाशील हुने 

(प्रकरण नं.५)

 

निवेदकको तर्फबाटः

विपक्षीको तर्फबाट :

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  प्रमाण ऐन, २०३१ को दफा ६(ख)

§  मुलुकी ऐन, अंशबण्डाको ३५ नं.

 

फैसला

न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादीबाट यस अदालतमा पुनरावेदन पत्र दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

            स्व.करझिंगन साहको छोरा द्वारिका साह तेली भै द्वारिका साह तथा उहाँकी श्रीमतीको दाम्पत्य जीवनबाट जन्मेका तीन जना छोरामा क्रमशः म फिरादी नन्दु साह, देवनाथ साह र म फिरादी रामनाथ साह हुँ । आमा वावु आआफ्नो कालगतिले परलोक भै सक्नुभएको छ । तीनै जना दाजु भाइको राय सल्लाहबमोजिम पिता द्वारिका साहको नाउँमा नापनक्सा भएका जिल्ला पर्सा गा.वि.स.हरपतगंज वडा न. ३ गाउ कि .न ५६ को जग्गा र सोमा भएको घर १ विपक्षी देवनाथ साहको नाउँमा नापनक्सा भएको ऐ गा.वि.स. वडा न. २ मा कि.नं ४८ को ०३ जग्गा र सोमा रहेको गाई भैँसी बाँध्ने गरेको गोठ तथा विपक्षी देवनाथकै नाउँमा दर्ता रहेको ऐ वडा नं २ कि.नं १९२ को ०४ खरियानको रुपमा प्रयोग गरिरहेको जग्गा समेत अबण्डा राखी सगोलमै भोगचलन गर्ने र वाँकी सम्पूर्ण श्रीसम्पत्ति बण्डा गर्ने सहमति भै सोहीअनुरूप मिति २०३६।२।१५मा मालपोत कार्यालय, पर्सामा विधिवत अंशबण्डाको कागज हुँदा उल्लिखित जग्गा बण्डापत्रमा समावेश नगरी अबण्डा नै राखी तीनै जना भाइले बरावर रुपमा भोगचलन गरी आइरहेका थिय । हामी फिरादीहरूले अटुट रुपमा बराबरी रुपमा भोगचलन गरी आइरहेको, हामीहरूको समेत अंश हक निहीत रहेको विपक्षी नाउँ दर्ताको उक्त १९४ को मोल रु ४९,५००। जाने ०० अबण्डा जग्गामध्ये दक्षिणतर्फबाट म फिरादी नन्दु साहले भोगचलन गरी आइरहेको ०० जग्गा म नन्दु साहको तथा नन्दु साहभन्दा उत्तरतर्फ म फिरादी रामनाथ साहले भोगचलन गरिआइरहेको ज.वि. ०० जग्गा म फिरादी रामनाथ साहको नाउमा दर्ता हुने गरी हामी दुई जनाको अंशभाग छुट्याई हाम्रा नाममा पृथकपृथक दर्ता हुने गरी इन्साफ दिलाई पाऊँ भन्ने समेत व्यहोराको वादी दावी 

            वादी दावीको कि.नं. १९४ को जग्गामा विपक्षीहरूको भोगचलन नभई उक्त जग्गा साविक देखि हालसम्म मैले नै एकलौटी रुपमा हकभोग चलन गरी आएकोले वादी दावी अंशबण्डाको ३५ नं विपरीतको भै अ.वं. १८० नं बमोजिम खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकीर 

            मालपोत कार्यालय, पर्सावाट पारीत भएको मिति २०३६।२।१५ र.नं २८०३ को अंशबण्डाको लिखतको प्रमाणित प्रतिलिपि मिसिल संलग्न रहेको 

            एकपटक अबण्डा सम्पत्ति यो यति छ भनी फिराद दायर गरिसकेपछि अरु पनि अबण्डा छ भनी उसै वादीले उसै प्रतिवादीउपर दायर गरेको प्रस्तुत फिराद अ.व.७३ नं समेतले दिन नपाउने कानूनले व्यवस्था गरेबाट तथ्यमा प्रवेश गरिरहनु परेन, अ.व.१८० नं बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको २०६४।५।१० को फैसला 

            शुरु फैसलामा चित्त बुझेन, प्रस्तुत मुद्दामा अ.व. ७३ नं आकृष्ट हुने अवस्था छ भनी विपक्षीले प्रतिवाद गर्न सक्नु भएको छैन, अदालत आफैँले प्रश्न उठाई तथ्यभित्र प्रवेश गरी इन्साफ गर्न इन्कार गर्नु न्यायोचित हुँदैन । निजी आर्जनको भन्ने प्रतिवाद जिकीर समेत नरहेको र दावीको जग्गा पैतृक सम्पत्ति भै २०३६ सालमा बण्डापत्र हुँदा बण्डा नभै आजसम्म पनि विपक्षीको नाउँमा दर्ता रहेको र हामी पुनरावेदकले दुई खण्ड र विपक्षीले एक खण्ड आआफ्नो अंश भागको रुपमा भोगचलन गर्दैआएको भन्ने मिसिल संलग्न तथ्य र प्रमाणवाट समर्थित हुँदाहुँदै दावीको जग्गाबाट हाम्रो दुई खण्ड हक छुट्याई दिने गरी इन्साफ गर्नुपर्नेमा सो नगरी भएको शुरु फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकीर 

            वादी प्रतिवादीहरू तीन अंशियार रहे भएकोमा विवाद देखिँदैन । दावीको जग्गा वादी प्रतिवादीहरू बीच २०३६ सालमा अंशबण्डा हुनुभन्दा पहिलेदेखि नै यी प्रत्यर्थीको नाम दर्तामा रहे भएको देखिएको छ । दावीको जग्गा बण्डा नलाग्ने स्वआर्जनको हो भनी स्वयम् प्रतिवादीले जिकीर लिन सकेको समेत नदेखिएबाट सो जग्गा पैतृक सम्पत्ति रहे भएकै देखियो । यी वादी प्रतिवादीहरू बीच मिति २०३६।२।१५ मा अंशबण्डा हुँदा सो जग्गा बण्डा भएका वा सो बण्डापत्रमा सो जग्गा प्रतिवादीको भोगमा परेको भन्ने समेत उल्लेख भएको देखिँदैन । पुनरावेदक एवं विपक्षीहरूले आआफ्नो भागको सो जग्गामा भागशान्ति भोगचलन गर्दै आइरहेको र सो जग्गा निजी आर्जनको भन्ने प्रतिवादी जिकीर समेत नभएको तथा बण्डा नभई सगोलमा राखी भोगचलन गरी आएको जग्गाबाट आफ्नो अंशभागको जग्गा छुट्याई पाऊँ भनी जहिले सुकै माग गर्ने अधिकार अंशियारलाई कानूनले प्रदान गरेको पृष्ठभूमिमा दावीको जग्गावाट यी वादीहरूले आफ्नो अंशभाग छुट्याई लिन पाउने नै देखिन्छ । तसर्थ उल्लिखित आधार प्रमाण समेतबाट फिराद दावी खारेज हुने ठहर्‍याएको पर्सा जिल्ला अदालतको मिति २०६४।५।१० को फैसला मिलेको नदेखिँदा बदर भई फिराद दावीको कि.नं. १९४ को अबण्डा जग्गावाट तीन खण्डको दुई खण्ड जग्गा पुनरावेदक वादीहरूले छुट्याई दर्ता गरी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौँडाको फैसला 

            वादीले मउपर अबण्डा जग्गा बण्डा छुटयाई पाऊँ भनी वादी भई मुद्दा दिनु भएको छ र इन्कारी प्रतिवाद पनि गरेको अवस्था छ । सर्वप्रथम वादी भई आएकै व्यक्तिको फिराद हदम्यादभित्र छ छैन, वादीको हकदैया छ छैन भन्ने तथ्यउपर विचार गर्नुपर्ने हुन्छ । प्रमाण ऐन, २०३१ को दफा २६ मा देवानी मुद्दामा आफ्नो दावी प्रमाणित गर्ने भार वादीको हुनेछ भनी कानूनी व्यवस्था छ । वादीले दावी लिनु भएको मेरो नाउमा दर्ता रहेकै जिल्ला पर्सा गा.वि.स. हरपतगंज वडा न. २ कि.नं १९४ को ज.वि. ०० अबण्डा जग्गा हो भन्ने कुराको कुनै पनि लिखत प्रमाण वादीले पेश गर्न सक्नु भएको छैन । यसरी वादीले अबण्डाको प्रमाण पेश गर्न नसकेको अवस्थामा दावीको जग्गा बण्डा लाग्ने गरी भएको फैसला त्रुटिपूर्ण छ 

            दावीको कि.नं १९४ को जग्गा मेरो नाउमा दर्ता भएपश्चात् वादी तथा हाम्राबीच अर्थात् हामी तीन जना दाजु भाइहरूबीच अंशबण्डा हुँदा उक्त कि.नं १९४ को जग्गा अबण्डा रहेको कुरा सो बण्डापत्रमा कुनै कतै उल्लेख छैन । उक्त बण्डापत्र मिति २०३६।२।१५ मा भएको छ । सो बण्डापत्रमा वादीको चित्त नबुझेको भए सो बण्डापत्र लिखत पारीत भएको मितिले अंशबण्डाको ३२ नं ले बण्डापत्र खडा भएको मितिले तीन महिनाभित्र मुद्दा दायर गर्नुपर्ने थियो । तर, वादीले सो तीन महिनाको म्यादभित्रमा उजूरवाजूर नगरी २७ वर्षपछि प्रस्तुत मुद्दा दिएकोले सो मुद्दा खारेज गर्नुपर्नेमा न्यायकर्ताज्यूले दावीको जग्गा बण्डा लाग्ने गरी गर्नु भएको फैसला त्रुटिपूर्ण छ । पुनरावेदन अदालत हेटौँडाका न्यायकर्ताज्यूले पर्सा जिल्ला अदालतको मिति २०६४।५।१० को खारेजी फैसलालाई बदर हुने गरी र फिराद दावीको कि.न. १९४ को जग्गाबाट तीन भागको दुई भाग वादीहरूले छुट्याई दर्ता गरी लिन पाउने ठहर्‍याई मिति २०६५।१०।२०।२ मा गर्नु भएको त्रुटिपूर्ण फैसला उल्टाई पर्सा जिल्ला अदालतको मिति २०६४।५।१० को खारेज फैसला सदर हुने गरी र उक्त कि.न. १९४ को ज.वि.०० मा वादीको छुट्याई दर्ता गरी लिन नपाउने गरी न्याय इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा दायर भएको पुनरावेदन पत्र 

            नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहित शुरु तथा रेकर्ड मिसिल संलग्न कागजातहरू अध्ययन गरियो । यसमा २०३६।२।१५ मा बण्डापत्र हुँदा बण्डा नभै अबण्डा रहन गएको कि.नं १९४ को जग्गा तीनै जना दाजु भाइले बराबर भोगचलन गरी आएकोमा हाल सो जग्गामा भोगचलन गर्न दिन्न भनी विपक्षीले भनेकोले सो जग्गाबाट हामी फिरादीहरूको अंशभाग छुट्याई पाऊँ भन्ने मुख्य वादी दावी भएकोमा अ.बं. १८० नं बमोजिम फिराद दावी खारेज हुने ठहर्‍याएको शुरु फैसलाउपर वादीहरूको पुनरावेदन दायर हुँदा शुरु फैसला उल्टी भई दावीको जग्गाबाट तीन भागको दुई भाग पाउने गरी भएको पुनरावेदन अदालतको फैसलामा चित्त नबुझाई प्रतिवादीबाट प्रस्तुत पुनरावेदन पत्र दायर भएको स्थितिमा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन अर्थात् प्रतिवादीको पुनरावेदन जिकीर पुग्छ पुग्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो 

            २. इन्साफतर्फ विचार गर्दा प्रतिवादीले मुख्य रूपमा अंशबण्डाको ३५ नं को जिकीर लिँदै पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भनी जिकीर लिएको देखिन्छ । अंशबण्डाको ३५ नं. को कानूनी व्यवस्था हेर्दा देहायबमोजिम देखिन्छ :

३५ नं. अंशबण्डा नै नभएको वा बण्डा हुँदा अबण्डा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाव शान्ति दुवै थरको भोग भएकोमा जहिलेसुकै पनि र लिखत र भोगै नभएकोमा अघि बण्डा भै बाँकी रहेको वा दबाए छपाएको पाऊँ भन्न आएमा भिन्न भिन्न जीउसम्म मात्र नालिस लाग्छ अबण्डा गोश्वाराको लिखत भएकोमा आआफनो अंश हक लाग्ने जति अबण्डा आआफ्नो खुश हुन्छ 

 

            ३. प्रस्तुत कानूनी व्यवस्थाले गरेको प्रवन्धको अध्ययन गर्दा अंशबण्डा नै नभएको वा बण्डा हुँदा अबण्डा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाव शान्ति दुवै थरको भोग भएकोमा जहिलेसुकै पनि नालेस लाग्न सक्ने देखिन्छ । भोगै नभएकोमा अघि बण्डा भै बाँकी रहेको वा दबाए छपाएको पाऊँ भन्न आएमा भिन्न भिन्न जिउसम्म मात्र नालिस लाग्न सक्ने देखियो । यसबाट अंशबण्डा नभएका, लिखतमा अबण्डा जनिएका, लिखतमा नजनिए पनि सामूहिक भोग भएका र लिखत र भोग नभएकोमा बण्डा वाँकी रहेका चार प्रकृतिका सम्पत्ति पछिबाट पनि बण्डा हुन सक्ने देखियो । यस कानूनी व्यवस्थावाट बण्डापत्र हुँदा अबण्डा भन्ने जनिएन भन्दैमा सो सम्पत्ति अबण्डा हुनै नसक्ने होइन । कुनै सम्पत्ति पछिबाट बण्डा हुने हो होइन प्रकृति र भोगको अवस्थाबाट निर्धारण गर्नुपर्छ भन्ने अंशबण्डाको ३५ नं. को आशय हो । अंशियारबीच एकै पटक सबै सम्पत्ति बण्डा गर्नैपर्छ भन्ने कानूनी बाध्यता हुँदैन । कुनै सम्पत्ति मात्र पनि बण्डा गर्न सकिन्छ । तर यस्तो खण्डे अंश भएको प्रष्ट किसिमले देखिनु भने पर्दछ । सामूहिक भोगमा रहेको कुनै सम्पत्तिका हकमा बण्डापत्रमा सामूहिक वा साझा भोगमा रहने जनिएन भन्दैमा त्यो सम्पत्ति जसको नाममा छ उसैको एकलौटी हुने होइन । सम्पत्तिको प्रकृतिले यो पैतृक देखिई त्यो बण्डा हुने प्रकृतिको देखिन्छ र अन्य अंशियारको भोगमा समेत छ भने यस्तो सम्पत्तिलाई अंशबण्डाको ३५ नं. अनुसार बण्डाको माग गर्दै नालेस लाग्ने नै अवस्था हुन्छ ।     

            ४. प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरू तीन अंशियार रहे भएकोमा दुवै पक्षबीच मुख मिलेकै देखिन्छ । दावीको कि नं १९४ को जग्गाका सम्बन्धमा वादी प्रतिवादीहरू बीच २०३६।२।१५ मा अंशबण्डा हुँदा अबण्डा रहेको भनी लिखतमा परेको पाइँदैन । वादीले कि.नं. १९४ को ०० जग्गामध्ये दक्षिणतर्फबाट आफूले हिसावशान्तिले भोगचलन गरिआइरहेको भनी दावी लिएको देखिन्छ । यसै लगाउको २०६६RI०११८ को अबण्डा जग्गा बण्डा छुट्याइ पाऊँ भन्ने मुद्दामा आजै दावीबमोजिम बण्डा छुट्याइ लिन पाउने ठहराएको पुनरावेदन अदालतको फैसलामा मुद्दा दोहोर्‍याइ हेर्न मिलेन भनी आदेश भएको छ । उक्त मुद्दामा प्रतिवादी दर्ताका कि.नं.५२, ४८ र १९२ का जग्गा पनि बण्डा लाग्ने गरी फैसला भएको देखिन्छ । यी तीन कित्ता जग्गाको हकमा २०६३।३।२ मा फिराद दायर भएको छ भने प्रस्तुत मुद्दाको कि.नं.१९४ को हकमा २०६३।१२।१८ मा फिराद दायर भएको देखिन्छ । प्रस्तुत कि.नं. १९४ को जग्गा पनि २०३६।२।१५ को बण्डापत्र हुनुभन्दा पहिलेदेखि नै प्रतिवादीका नाम दर्तामा रहे भएको देखिन्छ । दाबीको जग्गा बण्डा नलाग्ने निजी आर्जनको हो भनी स्वयं प्रतिवादीले जिकीर लिन सकेको देखिदैंन । केवल २०३६ सालमा बण्डा भै सकेको छ, अबण्डाको लिखत छैन भन्ने मात्र जिकीर लिएको देखिन्छ । प्रतिवादीले यो यति कारणले आफ्नो मात्र हक लाग्ने हो, बण्डा गर्नुपर्ने होइन भन्ने जिकीर लिई सोलाई पुष्टि हुने गरी प्रमाण पेश गर्न सकेको देखिदैंन । यी पक्षविपक्षबीच २०३६ सालमा बण्डापत्र हुँदा यो जग्गा बण्डा भएको अर्थात् प्रतिवादीको भागमा परेको भन्ने समेत बण्डा पत्रको व्यहोराबाट देखिँदैन । एकासगोलमा रहँदा जुनसुकै परिवारको नाउँमा रहेको भए पनि सबै अंशियारको समान अंश हक लाग्ने र बण्डापत्र हुँदा सो सम्पत्तिका सम्बन्धमा नबोलिएको अवस्थामा सबै अंशियारको हक लाग्ने नै हुन्छ 

            ५. बण्डापत्र हुँदाको अवस्थामा कुल सम्पत्तिमध्ये के कुन सम्पत्ति कुन अंशियारको भागमा परेको हो स्पष्ट उल्लेख हुनुपर्दछ । बण्डापत्रमा कुनै सम्पत्तिको सम्बन्धमा केही नबोलिएको अवस्थामा त्यो जसका नाममा छ उसैको मात्र हुने अरु अंशियारको त्यसबाट हक लोप हुने भन्ने अर्थ लाग्न सक्दैन । हकको समाप्ति प्रष्ट रुपमा लेखिएको अवस्थामा मात्र हुन्छ । कुनै सम्पत्तिको विषयमा केही लेखिदैन भने त्यसको प्रकृतिले त्यो हेस्बण्डा हुने वा नहुने निर्धारित गर्दछ । सो सम्पत्ति कुनै अंशियारको निजी हुने भन्ने प्रष्ट उल्लेख नभएको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(ख) बमोजिम अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अनुमान गरिने कानूनी व्यवस्था क्रियाशील हुन्छ 

            ६. अबण्डा गोश्वाराको लिखत भएकोमा बण्डा नछुट्याई त्यो सम्पत्तिमा अन्तरभूत आफ्नो भाग आफूखूश गर्न अंशबण्डाको ३५ नं. ले अनुमति दिएको छ । यस्तो लिखत नभएको अवस्थामा बण्डाको लिखतले सो सम्पत्तिमा कुनै एक अंशियारको हक प्रष्ट शब्दमा सुरक्षित गरेको अवस्थामा बाहेक प्रमाणद्वारा त्यो सम्पत्ति बण्डा लाग्ने प्रकृतिको देखियो भने अन्य अंशियारको त्यस सम्पत्तिबाट हक लोप हुँदैन । यस्तै अवस्थालाई सम्वोधन गर्न अंशबण्डाको ३५ नं. ले लिखत नभए पनि हिसाव शान्ति दुवै थरको भोग भएकोमा जहिलेसुकै पनि नालिस लाग्ने व्यवस्था गरेको हो । नालिस लाग्ने भन्नुको तात्पर्य त्यस्तो सम्पत्तिमा भोगका नाताले हक प्राप्त हुने भन्ने नै हो 

            ७. प्रतिवादीले एकपटक अबण्डाको नालेश दिएपछि पुन अर्को नालेश लाग्न सक्तैन भन्ने जिकीरको सम्बन्धमा विचार गर्दा वादीले अबण्डा जग्गाको दावी गर्दा मुख्य गरेर अंशबण्डाको ३५ नं को आधार लिएको र उक्त नं.मा भएको कानूनी व्यवस्थाबाट भोग भएकोमा जहिलेसुकै र भोग नभएकोमा पनि जीउजीउ सम्म नालेश लाग्न सक्ने ब्यवस्था भै अन्य कुनै शर्तबन्देज लगाएको देखिँदैन । विवादित जग्गा यी पक्ष विपक्षबीच २०३६ सालमा अंशबण्डा हुनु पूर्वदेखि नै पैतृक सम्पत्तिको रुपमा रहेको र वादी प्रतिवादीले आआफ्नो भाग हिस्सा भोगचलन गर्दै आइरहेको कथन देखिन्छ । बण्डापत्र मौन रहेको अवस्थामा सामूहिक भोग गरिरहेको भन्ने वादीहरूको कथनलाई प्रतिवादीले इन्कार गरी भरपर्दो प्रमाणबाट त्यसलाई पुष्टि गर्न सकेको अवस्था छैन । पैतृक सम्पत्तिका हकमा एकलौटी भोग गरी आएको भन्ने कथनले त्यो निजको एकलौटी भन्न न्यायसंगत हुँदैन । सो जग्गा निजी आर्जनको भन्ने प्रतिवाद जिकीर समेत नभएको तथा बण्डा नभई सगोलमा राखी भोगचलन गरी आएको सम्पत्तिबाट आफ्नो अंशभाग छुट्याई पाऊँ भनी जहिलेसुकै माग गर्ने अधिकार कानूनले अंशियारलाई प्रदान गरेको परिप्रेक्ष्यमा दावीको सम्पत्तिबाट यी वादीहरूले आफनो अंश भाग छुट्याई लिन पाउने नै देखिँदा वादीहरूले आफनो हिस्सा छुटई लिन पाउने ठहर्‍याएको पुनरावेदन अदालत फैसला कानूनसम्मत् नै देखियो 

            ८. तसर्थ, माथि उल्लिखित आधार प्रमाण समेतबाट फिराद दावी खारेज हुने ठहर्‍याएको पर्सा जिल्ला अदालतको मिति २०६४।५।१० को फैसला उल्टी गरी कि.न. १९४ नं को अबण्डा जग्गाबाट तीन भागमध्ये दुई भाग जग्गा वादीहरूले छुट्याई दर्ता गरी लिन पाउने ठहर्‍याएको पुनरावेदन अदालत हेटौँडाको फैसला मुनासिव देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू 

उक्त रायमा सहमत छु 

न्या.कल्याण श्रेष्ठ

इति संवत् २०६८ साल चैत २२ गते रोज ४ शुभम्

इजलास अधिकृत :बिष्णुप्रसाद उपाध्याय

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु