निर्णय नं. ३०६१ - लागु औषधि निकासी

निर्णय नं. ३०६१ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४३ सालको विन्तिपत्र नम्बर २७
विषय : लागु औषधि निकासी।
वादी: त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रले वादी श्री ५ को सरकार।
विरुद्ध
प्रतिवादी: थोमस कोनेन।
आदेश भएको मिति: २०४४।४।१५।६ मा
विदेशी हुँदा भागी जाने सम्भावना भएको भनी तारेखमा छाड्न इन्कार गर्नाको आधार खुलाई इन्कार गरेको कुरालाई अ.बं. १९४ नं. को (४) र (५) को विपरीत भयो भनी भन्न सकिने अवस्था देखिँदैन ।
(प्रकरण नं. ४)
वादीतर्फबाट: विद्वान महान्यायाधिवक्ता श्री मेघराजबहादुर विष्ट
आदेश
१. त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रले वादी श्री ५ को सरकार प्रतिवादी थोमस कोनेन भएको लागु औषधि निकासी मुद्दामा अ.बं. १९४ नं. को सुविधा दिने सम्बन्धमा सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट २०४३।६।८।४ मा भएको आदेश उपर दोहोर्याई पाउँ भनी श्री ५ को सरकारका तर्फबाट श्री ५ महाराजाधिराज सरकारमा चढाएको विन्तिपत्रमा “यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए त्यस अदालतको एक न्यायाधीशको इजलासबाट आदेश भएको विन्तिपत्रमा लेखिएको लागु औषध मुद्दाको प्रतिवेदन नम्बर ६७ संयुक्त इजलासबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउ विन्तिपत्रवालालाई दिनु” भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको व्यहोरा र प्रतिवेदन नं. ६७ नं. को आदेश सहितको प्रतिवेदन फाइलको व्यहोरा समेत पेश भई श्री ५ को सरकारका तर्फबाट बहस पैरवी गर्न उपस्थित हुनु भएका महान्यायाधिवक्ता श्री मेघराजबहादुर विष्टले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
२. यसमा यस अदालतको संयुक्त इजलासबाट २०४३।१२।११।४ मा विपक्षी थोमस कोनेन क्षेत्रीय अदालतमा उपस्थित भए नभएको बुझ्ने र निजलाई प्रतिवेदन दोहरिएको सूचना समेत दिने भन्ने आदेश भई गएको देखियो । सो बमोजिम क्षेत्रीय अदालतबाट निजले २०४३।८।२० को तारेख गुजारी बसेको भन्ने र कारागार शाखाबाट नगद धरौट राखी २०४३।६।१० मा छुटी गएको भन्ने मिति २०४४।१।१८ को पत्रबाट देखियो ।
३. मुलुकी ऐन अ.बं. १९४ को देहाय (४) ले धरौट जमानी इन्कार गर्दा सो कुराको आधार खुलाई पर्चा खडा गर्नु पर्छ भनी आधार खुलाउने कुरालाई बाध्यात्मक व्यवस्था गरेको पाइन्छ । त्यस्ता आधार मध्ये भनी देहायमा केही अवस्था खुलाएको पनि पाइन्छ । निवेदक थोमस कोनेन विदेश हलैण्डका नागरिक देखिएका र निज भागी जाने सम्भावना रहेको देखिँदा अ.बं. १९४ नं. को देहाय (४) बमोजिम धरौटी लिई तारेखमा छाड्न नमिलेको भनी आधार उल्लेख गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले धरौट लिई तारेखमा छाड्न इन्कार गरेको देखिन्छ । अ.बं. १९४ को देहाय (५) मा निकासी पैठारी सम्बन्धी मुद्दा भनी किटानी उल्लेख भएको समेत पाइन्छ ।
४. यस स्थितिमा मध्यमाञ्चल क्षेत्रीय अदालतले कोनेन थोमस विदेशी हुँदा भागी जाने सम्भावना भएको भनी तारेखमा छाड्न इन्कार गर्नाको आधार खुलाई इन्कार गरेको कुरालाई अ.बं. १९४ नं. को (४) र (५) को विपरीत भयो भनी भन्न सकिने अवस्था देखिँदैन । तसर्थः यस अदालतको एक न्यायाधीशको इजलासबाट भएको २०४३।६।८।४ को आदेश मिलेको नदेखिँदा बदर हुन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालत संयुक्त इजलासबाट २०४३।४।३१।६ मा भएका आदेश बमोजिम गर्नु भनी प्रस्तुत आदेश सहितका कागजात मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४४ साल श्रावण १५ गते रोज ६ शुभम् ।