निर्णय नं. १२० - बकसपत्र बदर

निर्णय नं. १२० ने.का.प.२०१८
डिभिजन बेञ्च
का. मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
दे. अ. नं. २
अपीलाट, वादी : मधुसुधन उपाध्याय
विरुद्ध
विपक्षी, प्रतिवादी : श्यामा देवी समेत
मुद्दा : बकसपत्र बदर
(१) वादीले आफै बन्देज तोडेमा प्रतिवादीले मात्र बन्देजको अधिनमा रहनु पर्छ भनी कर लगाउन नमिल्ने । वादी स्वयम् आफैले आफ्नो पंक्ति मौजा भैरवप्रसादलाई बिक्री गरी बन्देज तोडेको देखिएको हुँदा प्र. श्यामा देवीले मात्र सो ८१ सालको बन्देज अधिनमा रहनु पर्छ भनि कर लगाउन नमिल्ने ।
(प्रकरण नं. ७)
(२) आफ्नो पतिको सम्पत्ति आफ्नो खुसी गर्न पाउँदैन भनि भन्न नमिल्ने । बिधवाको सम्पत्ति हुँदा बिधवा अंश धनको १ नम्बरको देहाय २ दफाले चलमा सबै अचलमा दशौंद बाँकी राखी अरू श्री सम्पत्ति आफ्ना खुस गर्न पाउने ।
प्र. श्यामा देवीले आफ्नो पतिको सम्पत्ति आफू खुसी गर्न पाउँदैन भनि भन्न मिल्दैन । बिधुवाको सम्पत्ति हुँदा के कति निजले आफू खुसी गर्न पाउँछिन् ? भनि बिधवा अंश धनको १ नम्बरको देहाय २ दफा हेर्दा चलमा सबै अचलमा दसौंद बाँकी राखी अरू श्री सम्पत्ति आफू खुस गर्न पाउने लेखिएको देखिँदा सो ऐन बमोजिम अचलमा दसौंद सम्म बदर गरी अरू बकसपत्र दिएको सदर ठहर्नेमा जम्मै बदर गरेको ललीतपुर अदालतको र जम्मै सदर गरेको अपील दोश्राको इन्साफ केही गल्ती ठहर्छ ।
(प्रकरण नं. ७)
प्रतिवादी तर्फबाट : प्लिडर हेरम्बप्रसाद
फैसला
१. अघि दिएको फिरादमा वतन नमिलेको भनी खारेज भएकोले अघिका फिराद जिकिर बमोजिम ३ पुस्ता भित्रको ऐनले उमेर नपुगेका बिधवा भाउजु श्यामादेवीको र मेरो ८१ साल चैत्र ३० गते बन्देजको मन्जुरनामा भएको । सो मन्जुरी समेतको बर्खिलाप प्रतिवादी भाउजु श्यामा देवीले मौजे मुरैया पंक्ति समेत मुक्तिनाथका नाउँमा चल अचल श्री सम्पत्ति अष्ट लोह गै¥ह शेषपछिको बकसपत्र ९४ साल पौष १३ गते पास गराई लिनु दिनु गरेको हुँदा सो बकसपत्र बदर गरी पाउँ भन्ने समेत वादी मधुसुदन उपाध्यायको फिराद ।
२. श्यामादेवीले मधुसुधनका सल्लाह बेगर केही गर्ने छैन भन्ने बन्देजको कागज झुक्याई गरेको हो र सो कागज ऐन बर्खिलाप हुँदा त्यसै रद्दी हुन्छ । श्यामादेवीको आफ्नो हकको मौजी समेत मलाई बकसपत्र गरी दिएको । सो मलाई गरी दिएको बकसपत्रले मैले पाउने हुँदा बकसपत्र सदर गरी पाउँ भन्ने समेत प्रतिवादी मुक्तिनाथ ।
३. बर्दिया जिल्लाको मुरैया मौजाको जिमिदारी ससुराको शेषपछि मेरो खसम नरनाथका नाउँमा दर्ता भएको शेषपछि सासु महादेवीका नाउँमा दर्ता भयो । ८१ सालमा सासु मरेकी र म केही नजान्ने देखि बाजेका पालैमा माना छुट्टीसकेका ३ पुस्ता परको वादीले सो मुरैया मौजा दर्ता हवस भनी बर्दिया मालमा दर्खास्त दिँदा मैले उजुर गरेपछि वादीले तिमीले जिमिदारी काम चलाउन सक्तैनौं । जो गर्नु पर्ने काम गरी साल भरको बासलात बनाई आधा काम गरे वापतमा खान्छु । तिम्रो हक कायमै रहने गरी आधा मेरा नाउँमा र आधा तिम्रो नाउँमा दर्ता गराउदा राम्रो हुन्छ । सो गराउन कागजमा सही गरी दिनु पर्यो भन्दा सही गरी दिएपछि सो बमोजिम किनार लाग्यो भनेको र सोही बमोजिम गरी आएको । पछि ८४ साल देखि आयस्ता नदिएकाले ८६ सालमा उजुर गरेबाट वादीले लिनु पर्ने ठहरेको रूपैयाँ तुरुन्त दिलाई दिनु । नदिए प्रतिवादीको नाउँमा दर्ता भएको सो मुरैया मौजा समेत लिलाम गरी भराई दिनु । सो नभएसम्म थुनामा राख्नु भन्ने समेत खड्गनिशाना सदर भएपछि सो आधा मौजा वादीले भैरवप्रसादलाई बिक्री गरी थुनाबाट निस्की गएपछि सो मुरैया आधा मौजा लगायत सानी आमाको छोरा भाई मुक्तिनाथलाई ९४ सालमा शेषपछिको बकसपत्र गरी दिई निजकै घरमा बसेकी हुँ । वादीले प्रमाण दिएको वादीको सल्लाह बेगर मैले बेचबिखत दानदातव्य केही गर्न नपाउने भन्ने लेखिएको कागज ऐन बर्खिलापको हुँदा बदर हुने र ८१ साल चैत्र ३० गते अर्को कागज गरी दिएको भनेको ८१ सालको आम्दानी खर्चको बासलात बुझेको र अरू लहन् तहन् वादीका जिम्मा लागेको । फाँटबारीसम्म खडा भई सहीछाप गरी दिएको हो । सो बाहेक अरू गरेको छैन । वादीका दावीबाट फुर्सत गरी बकसपत्र सदर गरी पाउँ भन्ने समेत प्रतिवादी श्यामा देवीको प्रतिवादी ।
४. यिनै वादी प्रतिवादीको आयस्ता दिलाई पाउँ भन्ने मुद्दामा भएका ०६।५।२० गतेमा सदर भएको खड्गनिशानाबाट पनि ८१ साल चैत्र ३० गते भएको बन्देजी कागज बदर नभई कायमै रहेको देखिएकोले त्यस्तो यो वादीको मन्जुर बेगर दिन नहुने मुरैया मौजा समेत खान पाउने गरी हकदार समेत कोही नभएको भनी झुट्टा कुरा लेखी लिए दिएको प्रतिवादीको बकसपत्र बदर हुने ठहर्छ भन्ने समेत ०१२ साल बैशाख ४ गते रोज १ मा ललितपुर अदालतबाट गरेको फैसला ।
५. ललितपुर अदालतबाट गरेको इन्साफ उपर चित्त बुझेन भनी प्र. श्यामादेवीको र प्र. मुक्तिनाथको अपील परेकोमा बन्देजको सो लिखत उपर केही निर्णय गर्न नपरेको । आफ्नो हक ऐन बमोजिम लेखिदिएको सदरै मान्नु पर्ने । हेरविचार नगर्ने पटक पटक मुद्दा मामिला गरी रहने हकदार भएपछि बिधवा अंश धनको ऐनले बिधवाले आफुखुस गर्न पाउने नै हुँदा हकदार नभएको भनी लेखिंदैमा बदर गर्न नहुने हुनाले समेत ऐन बमोजिम दिन लिन पाउने दिए लिएको बदर गरी पाउँ भन्ने वादीको दावा पुग्न सक्दैन । बदर गर्ने गरी ल. पु. अदालतबाट गरेको इन्साफ गल्ती ठहर्छ भन्ने ०१३ साल श्रावण ८ गतेको अपील दोश्राबाट फैसला भएको ।
६. सो अपील दोश्राले फैसला गरेको इन्साफमा चित्त बुझेन भन्ने वादी मधुसुदनको अपील परी पेश हुँदा बर्दिया मालमा कबुलियत गर्दा बेचविखन दानदातव्य गर्दा दुवै जनाका सल्लाह बेगर केही गर्न नपाउने गरी का. दर्ता भएको भन्या ८१।११।१३ गते बर्दिया मालका र सो सदर गरी रा. का. दे. पै. को ८९।१२।१३ गतेका मिसिल सामेल रहेका फैसला नक्कलबाट देखिएकोले शुरुको इन्साफ मुनासिब अपीलको बेमुनासिव भई सहमत नमिलेको हुँदा विपक्षीहरूलाई झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने स. अ. सिंगल बेञ्चको ०१६।४।७। को आदेश ।
७. यसमा उक्त आदेश बमोजिम पेश हुन आएको यो मुद्दामा प्र. श्यामादेवी, मुक्तिनाथ वादी अपीलाट मधुसुधन समेत राखी प्र. को विद्वान वकिल हेरम्बप्रसादको बहस समेत सुनी बुझ्दा प्र. श्यामादेवीले मेरो मन्जुरी बेगर बकसपत्र गरी दिन पाउने होइन । सो बकसपत्र बदर हुन्छ भन्ने वादी दावी भएकोमा, वादी स्वयम् आफैले आफ्नो पंक्ति मौजा भैरवप्रसादलाई बिक्री गरी बन्देज तोडेको देखिएको हुँदा प्र. श्यामादेवीले मात्र सो ८१ सालको बन्देज अधिनमा रहनु पर्छ भनी कर लगाउन नमिल्ेन, र निज वादीले समय समयमा दुःख दिई प्रतिवादीले धेरै पटक मुद्दा गरी रहनु परेको समेतबाट हेर विचार गरेको भन्न पनि नहुने हुनाले प्र. श्यामा देवीले आफ्नो पतीको सम्पत्ति आफू खुसी गर्न पाउँदैन भनी भन्न मिल्दैन । बिधुवाको सम्पत्ति हुँदा के कत्ति निजले आफू खुसी गर्न पाउँछिन् भनी बिधुवा अंश धनको १ नम्बरको देहाय २ दफा हेर्दा चलमा सबै अचलमा दसौंद बाँकी राखी अरू श्रीसम्पत्ति आफू खुस गर्न पाउने लेखिएको देखिदा सो ऐन बमोजिम अचलमा दसौंदसम्म बदर गरी अरू बकसपत्र दिएको सदर ठहर्नेमा जम्मै बदर गरेको ललितपुर अदालतको र र जम्मै सदर गरेको अपील दोश्राको इन्साफ केहि गल्ती ठहर्छ । सिंगलको राय बमोजिम गर्नु पर्दैन । केहि इन्साफ सदर भए तर्फ अपील गरेमा सजाय गर्नु पर्छ कि भन्न कोर्ट फी लागि दायर भएको मुद्दा हुँदा अपीलाटलाई केही गर्नु पर्दैन । ऐनले दिन पाउने भन्दा बढी दसौंद समेत बकसपत्र गरी लिए दिएमा वादीबाट रहेको कोर्ट फी मोरु ५ । मध्ये दसौंद मोरु ।५० प्र. श्यामादेवी मुक्तिनाथबाट वादी मधुसुदनले भरी पाउने हुँदा ऐन सवाल बमोजिम भराई दिनु भनी लगत दिई मिसिल नियम बमोजिम बुझाई दिनु ।
इति सम्वत् २०१७ साल आश्विन ३ गते रोज १ शुभम् ।