निर्णय नं. १२२ - बेहिसावको नालिस खारेज गरी पाउँ

निर्णय नं. १२२ ने.का.प.२०१८
फुलबेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
दे. फु. नं. ४२
निवेदक : कृष्णप्रसाद न्यौपाने
विरुद्ध
विपक्षी : कालुमान शाक्य
मुद्दा : बेहिसावको नालिस खारेज गरी पाउँ
(१) अ. बं. ९० नम्बर – वारिस दिन हुने मुद्दामा अख्तियारनामा ऐन बमोजिम रीत नपुगेको भएमा रीत नपुगेको जति कुरा खोली ल्याएमा लाग्ने ।
ऐनले वारिस दिन हुने मुद्दामा वारिस हुनेलाई वारिस गरी पठाएमा वारिस भई आउनेले पेश गरेको अख्तियारनामा ऐन बमोजिमको रीत नपुगेको भए रीत नपुगेको जति कुरा खोली रीत पुर्याई ल्याए लाग्नेछ भनी सो अख्तियारनामाको पिठमा लेखि फिर्ता पठाउनु पर्ने अ. बं. ९० नं. मा व्यवस्था भएको ।
(प्रकरण नं. १५)
(२) अ. बं. ८९ नं. देहाय ३ दफा – नाउँ फरक भएको अख्तियारनामाबाट मुद्दा दायर गराई कारवाई गर्न नमिल्ने ।
अ. बं. ८९ नं. को देहाय ३ दफा बमोजिम अख्तियारनामा जुन सँगको मुद्दा हो, त्यसैको नाउँ खोली लेखि आएपछि वारिस हुनेको पनि सकारनामा गराई कारवाई हुनु गर्नु पर्ने भएकोमा सानुमान उपर घर हकसफाको नालिस दिई पुर्पक्ष गर्न अख्तियारनामा दिई कृष्णप्रसाद न्यौपानेलाई वारिस गरी पठाएकोमा अख्तियारनामामा नलेखिएको कालुमान उपरको फिरादपत्र दिए लिएको समेत ऐन बमोजिम भए गरेको देखिएन । त्यस्तो ऐनको रीत नपुर्याई लिएको बेरीतको फिरादपत्र लिई कारवाई भएको सो हकसफा मुद्दामा गोविन्दप्रसाद मुडभरीले लेखि दिएको अख्तियारनामामा लेखिएको मुद्दाको बिषय र फिरादपत्रमा लेखिएको मुद्दाको बिषय भिन्दा भिन्दै नभई एकै भएको । अरू सबै कुरा मिली सिर्फ नाउँ सम्म फरक देखिन आएको र कालुमानले सो झगडा परेको घर किनी लिएमा सावितै भई प्रत्तिउरत्तर दिएबाट सो अख्तियारनामामा लेखिएका सानुमान साक्य र फिरादपत्रमा लेखिएका यै वादीकालुमान भिन्दा भिन्दै नभई, एकै देखिन आउँछ तापनी अ. बं. ८९ नं. को देहाय ३ दफाले नाउँ फरक भएको अख्तियारनामाबाट मुद्दा दायर गराई कारवाई गर्न नमिल्ने भएबाट समेत अपीलको इन्साफ सदर ठहर्याएको ०१७।७।१८ गतेको डिभिजन बेञ्चको इन्साफ मनासिब भन्न मिल्ने देखिंदैन ।
(प्रकरण नं. १५)
(३) अड्डाका कर्मचारीका गल्तीले पक्षले ऐनबाट पाएको सुविधाबाट बन्चित हुनु नपर्ने ।
त्यस्तो बेरीतको फिरादपत्रबाट केहि कारवाई गर्नु नपरि खारेज हुने हो कि ? भन्नालाई बेरीतको अख्तियारनामा लिई फिरादपत्र दिन आएकै मौकामा अ. बं. ९ नं. बमोजिम गरी दरपिठ गरी फिर्ता दिएको भए उसैबखत ऐनको रीत पुर्याई अख्तियारनामा लिई म्यादै भित्र नालिस गर्न पाउने हुन जाने थियो । उस बखतमा त्यसो नगरी कारवाई हुँदै आएकोमा हाल त्यस्तो अख्तियारनामाबाट दिएको फिरादपत्रबाट केही कारवाई गर्न नमिल्ने भनी खारेज गरी दिँदा अड्डाका कर्मचारीका गल्तीले पक्षको ऐनबाट पाएको हक सुविधामा आघात पर्ने देखिन्छ । ईन्साफको रोह रीतबाट समेत जो पाउनु पर्ने सुविधा पक्ष विपक्षले पाउनु पर्नेमा अदालतका कर्मचारीका गल्तीबाट पक्षहरूले ऐनद्वारा प्रदत्त हकबाट समेत बन्चित हुँन पर्ने अवस्था पर्न आउने हुनाले हकसफा मुद्दा दिई इन्साफ माग्न ऐनको रीत पुर्याई आजका ३ दिन भित्र सम्बन्धीत शुरु इलाका अदालतबाट नालिस गर्न जानु ।
(प्रकरण नं. १५)
निवदेक तर्फबाट : वकिल श्री पुरेन्द्रप्रसाद मैनाली
विपक्षी तर्फबाट : वकिल श्री नारानप्रसाद श्रेष्ठ
फैसला
१. का. ई. बटु घर बनारस तुल्सीघाट बस्ने गोविन्दप्रसाद मुडभरीले सानुमानका नाउँमा नालिस गर्न भनी वारिसनामा गरी दिएको भनी किर्ते वारिसनामा खडा कालुमानका नाउँमा घर निखनाई पाउँ भन्ने रा. का. देवानीमा नालिस दिएको छु । किर्ते तर्फ छुट्टै नालिस गरेको छु । सानुमानका नाउँमा नालिस गर्नु भनि दिएको वारिसनामाबाट मेरो नाउँमा नालिस दर्ता गरी लिनै नहुने लिई दर्ता गरे गराएमा सजाय गरी सो मुद्दा खारेज गरी पाउँ भन्ने समेत कालुमानको वादी ।
२. वारिसनामामा सानुमान भन्ने लेखे तापनि सरकारनामा र वादीमा कालुमान नै भएको वारिसनामा नाउँ नमिलेकोमा मौकैमा मिलाई ल्याउनु भनी पठाउनु पर्नेमा सो बमोजिम नगरेमा कारिन्दालाई जरिवाना समेत भईसकेको । थर वतन समेत मिलेकै हुँदा खारेज गर्न नमिल्ने भन्ने समेत रा. का. दे. दो. का ना. सु. गुणनाथको प्रतिवादी रिपोर्ट ।
३. गोविन्दप्रसादले पठाएको वारिसनामामा सानुमान भनी लेखिएको भए पनि निज वादीलाई टोलमा कसैले सानुमान कसैले कालुमान भन्ने पनि गरेकोले कालुमान भन्नेका नाउँमा नालिस गरेको छु । घर उहाँले नै लिएकाले मुद्दा खारेज गरी पाउँ भन्ने वादीको उजुरै खारेज हुनु पर्ने भन्ने समेत कृष्णप्रसादको प्रतिवादी ।
४. बुझिएसम्मका प्रमाणबाट विश्वेश्वरप्रसाद मुडभरीले का. ई. प्यूखा बारीको पक्की घर सानाुमान शाक्य भिक्षुलाई बिक्री गर्नु भयो भन्ने सुनेको । सो घर निजको थैली तिरी मैले थमाउने इच्छा भएकोले हकसफा गराउनलाई देवानीमा नालिस दिन गोविन्दप्रसादले कृष्णप्रसादलाई अख्तियारनामा गरी दिएकोमा कालुमानको नाउँमा फिराद दिएको र सोही बोली पारी सकारनामा गराएको दे. दो. को मिसिलबाट देखिनाले वादीको विरुद्ध वारिसले नालिस गरेको भन्ने यो मुद्दाका वादीले प्रमाण पुर्याउन नसकेकाले समेत मुद्दा खारेज गरी पाउँ भन्ने वादी दावी पुग्दैन भन्ने समेत अपील तेश्राको फैसला ।
५. एकाका नाउँमा नालिस गर्नु भनी दिएको वारिसनामाबाट आर्कैका नाउँमा नालिस गरेको सदरै गरी छिनेमा चित्त बझेन भन्ने समेत कालुमानको अपील ।
६. यो मुद्दा डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत सिंगल बेञ्चको आदेश ।
७. सानुमानका नाउँमा नालिस गर्नु भनी दिएको वारिसनामाबाट कालुमानका नाउँमा नालिस गरेको देखिएको । यै वारिसनामा किर्ते भनी कालुमानले दिएका मुद्दामा कालुमान सानुमान एउटै हो भनी गोविन्दप्रसादले प्रतिवादीमा लेखेको । एउटै भए सो वारिसनामा गरेकै बखत पनि सोही बमोजिम लेख्नु पर्ने लेखेको नदेखिएको । कालुमानलाई सानुमान भन्ने गरेकोछ भन्ने लिखत सबुद प्रमाण गोविन्दप्रसादले दिन नसकेको सो वारिसनााबाट सानुमानका नाउँमा सम्म नालिस गर्न पाउनेमा कालुमानका नाउँमा नालिस दिएको । त्यस्तो नालिस दर्ता गर्न नहुने । अ. बं. ८९ नं. का देहाय ३ दफाले सो वारिसनामाबाट सानुमानका नाउँमासम्म नालिस गर्न पाउनेमा सानुमानाका नाउँमा नालिस नगरी कालुमानका नाउँमा नालिस दिएको । त्यस्तो नालिस दर्ता गर्न नहुने गरेको ठहर्छ । सो गल्ती गरेमा फाँटवालाई जरिवाना गरी सो वारिसनामाबाट नालिस दर्ता गरेको कायम गर्ने भनी बेरीत पर्चा गरी ऐन छाडेमा देवानी दोश्रालाई सदर गरी गल्ती इन्साफ गर्ने अपील तेश्रालाई उल्टीमा जरिवाना गर्ने समेत ठहराई १५।१।२२।१ मा डिभिजन बेञ्चको फैसला । डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन दोहर्याई पाउँ भन्ने समेत कृष्णप्रसादको वा. विश्वराजको निवेदन ।
८. नयाँ र महत्वपूर्ण बिषयको निवेदनमा जिकिर भएकोले रिभ्यूको निस्सा गरी दिएको छ भन्ने ०१७।३।३।५ को डिभिजन बेञ्चको आदेश ।
९. गोविन्दप्रसादको तोक नं. ७९४२ को निवेदन फुलकोर्टमा पेश हुँदा ०१५।६।९।५ मा फुल कोर्टबाट भएको निर्णय उतार ।
१०. प्रमाणको मिसिल सामेल रहेको गोविन्दप्रसादले कृष्णप्रसादका नाउँमा गरी दिएको वारिसनामामा सानुमान भन्ने लेखिएता पनि उक्त मुद्दामा अन्यायवालामा कालुमानकै नाउँ लेखिएको र झगडा परेको घर जग्गा मैले किनी लिएको हुँ भन्नेसमेत कालुमानले प्रतिवादी दिएको । सो प्रतिवादीमा सो घर जग्गा मैले लिएको होइन सानुमानले लिएको भनी अर्को मानिस देखाउन बताउन प्रतिवादीले नसकेको । वारिसनामाको व्यहोरा हेर्दा अरू मुद्दा गर्नालाई भनी गरी दिएको भन्ने पनि देखिन नआई सोही घर जग्गा निखनी मुद्दै गर्नाका लिए वारिसनामा लेखी दिएको भन्ने कुरा व्यहोराबाट सिद्धै हुन आएको । फिरादमा कालुमानको नाउँ लेखिएकोमा सानुमानसँगको मुद्दा भनी नाउँ फरक परेको वारिसनामा लिई अड्डाले फिराद दर्ता गरी सकेको । यदि सो वारेसनामामा अ. बं. ८९ नं. को ऐन बमोजिम रीत नपुगेको भए मौकैमा अड्डाले अ. बं. ९०।११३ नं. का ऐन बमोजिम यो यति रीत पुर्याई ल्याउनु भनी सो वारिसनामा दरपीट गरी फिर्ता लेखी दिएको भए उसै बखत वादीले म्यादैभित्र रीत पुर्याई वारिसनामा दाखिल गरी नालिस गर्ने म्याद पनि बाँकी नै छँदै अड्डाले सो उक्त अ. बं. ९०।११३ नं. का ऐन बमोजिम दरपीठ गरी फिर्ता नदिई वारिसामा लिई नालिस दर्ता गरी सकेको र त्यस्तोमा झगडियाको भुल गल्ती भन्न नहुने ठहराई अड्डैको भुल गल्ती कायम गरी सो भूल गल्ती गर्नेलाई अड्डैबाट ऐन बमोजिम जरिवाना तोकी पर्चा खडा गरी सकेको देखिन आएको । सानुमान कालुमानमा यस कारणबाट मानिसको भेदभाव छ भनी कालुमानले भन्न र त्यस कुराको सबुद गुजार्न सकेको नदेखिनाले समेत हकसफा मुद्दा खारेज गरी पाउँ भन्ने वादीकालुमानको दावी पुग्न नसक्ने हुँदा यो दावी पुग्न नसक्ने ठहराई अपील तेश्राफाँटबाट गरेको इन्साफ मुनासिब देखिन आएबाट सार्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१५।१।२३ मा भएको फैसलासँग सहमत नमिली रुलिङ बाझिएकोले नियम बमोजिम निर्णयको निमित्त यो मुद्दा फुलबेञ्चमा पेश गर्नु भन्ने ०१७।७।१८।५ को डिभिजन बेञ्चको फैसला ।
११. निवेदक कृष्णप्रसादले ०१७।४।२७ गतेको तारिख गुजारी बसेको हुँदा डिसमिस गरी दिनु भन्ने ०१७।९।४।१ को डिभिजन बेञ्चको फैसला ।
१२. कृष्णप्रसादको तारिख थामी पाउँ भन्ने निवेदन श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए गुज्रेको म्याद थामी दिनु भन्ने ०१७।११।२३।२ को हुकुम प्रमांगी ।
१३. बक्स भई आएको हुकुम प्रमांगी बमोजिम तारिख थामी डिसमिस जगाई झगडिया कालुमानलाई ऐन बमोजिम म्याद दिई झिकाई आएपछि डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१७।११।३०।२ को डिभिजन बेञ्चको आदेश ।
१४. ०१५।१।२३ का डिभिजन बेञ्चबाट भएका फैसलासँग सहमत नमिली रुलिङ बाझिएकाले नियम बमोजिम निर्णय गर्नको निमित्त यो मुद्दा फुलबेञ्चमा पेश गर्नु भन्नेसमेत ०१७।७।१८।५ मा सार्वोच्च अदालत डिभिजन बेञ्चबाट राय व्यक्त भई फैसला भएकोले सो फैसला बमोजिम रुलिङ बाझिएको निर्णय निमित्त फुलबेञ्चमा पेस नहुँदै निबेदक कृष्णप्रसादले तारिख गुजारेबाट ०१७।९।४।१ मा डिसमिस भएमा तारिख थामी पाउँ भन्ने कृष्णप्रसादको निवेदनमा गुजारेको म्याद थामी दिनु भन्ने ०१७।११।२३।३ मा हुकुम प्रमांगी भई आएकोले डिसमिस जगाई झगडिया कालुमानलाई झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१७।११।३०।२ मा डिभिजन बेञ्चबाट आदेश भएको र झगडिया कालुमान हाजिर भई तारिखमा रहेको यो मुद्दा उक्त ०१७।७।१८।५ मा डिभिजन बेञ्चबाट राय व्यक्त भई फैसला भईसकेको देखिएको र सो फैसला ०१५।१।२३ का डिभिजन बेञ्चका फैसलासँग सहमत नमिली रुलिङ बाझिएकोले नियम बमोजिम निर्णयको निमित्त यो मुद्दा फुलको लगतमा दर्ता गरी फुलबेञ्चमा पेश गर्नु भन्ने ०१८।१।१४।४ को डिभिजन बेञ्चको आदेश ।
१५. पेश हुन आएको यो मुद्दामा निवेदक प्रतिवादी कृष्णप्रसाद न्यौपाने विपक्षी वादीकालुमान शाक्यलाई रोहबरमा राखी सम्बन्धीत सबै मिसिल कागज हेरी निबेदक प्रतिवादी तर्फका विद्वान वकिल श्री पुरेन्द्रकुमार मैनालीको र विपक्षी वादी तर्फका विद्वान वकिल श्री नारानप्रसाद श्रेष्ठको बहस समेत सुनि बुझ्दा गोविन्दप्रसाद मुडभारीले का. इ. प्यूखाको सानुमान शाक्यका नाउँमा घर हकसफा मुद्दाको नालिस दिन कृष्णप्रसाद न्यौपानेलाई वारिस गरी १०।८।४।५ का अख्तियारनामा देखिएकोमा निज वा. कृष्णप्रसादले का. ई. प्यूखा टोल बस्ने कालुमान शाक्य भिक्षुका नाउँमा फिरादपत्र दिएकोमा नाम फरक परेको वारिसनामा लिने ना. रा. डम्बरबहादुर श्रेष्ठ लाई रु. ७। जरिवाना गरी मुद्दा कालुमानसँगको देखिएकोले ऐन बमोजिम कारवाई गर्ने भन्ने समेत ०११।५।१३।१ मा रा. का. दे. दो. बाट पर्चा भई कारवाई भईरहेको प्रमाण निमित्त साथमा रहेको उक्त मुद्दाबाट देखिएको । ऐनले वारिस दिन हुँने मुद्दामा वासिर हुनेलाई वारिस गरी पठाएमा वारिस भई आउनेले पेश गरेको अख्तियारनामा ऐन बमोजिमको रीत नपुगेको भए रीत नपुगेको जति कुरा खोली रीत पुर्याई ल्याए लाग्नेछ भनी सो अख्तियारनामाको पीठमा लेखी फिर्ता पठाउनु पर्ने अ. बं. ९० नं. मा व्यवस्था भएको र अ. बं. ८९ नं. को देहाय ३ दफा बमोजिम अख्तियारनामामा जुनसँगको मुद्दा हो त्यसैको नाउ खोली लेखी आएपछि वारिस हुनेको पनि सकारनामा गराई कारवाई हुनु गर्नु पर्ने भएकोमा सानुमान उपर घर हकसफाको नालिस दिई पुर्पक्ष गर्न अख्तियारनामा दिई कृष्णप्रसाद न्यौपानेलाई वारिस गरी पठाएकोमा अख्तियारनामामा नलेखिएका कालुमान उपरको फिरादपत्र दिए लिएको समेत ऐन बमोजिम भए गरेको देखिएन । त्यस्तो ऐनको रीत नपुर्याई लिएको बेरीतको फिरादपत्र लिई कारवाई भएको सो हकसफा मुद्दामा गोविन्दप्रसाद मुडभरीले लेखी दिएको अख्तियारनामामा लेखिएको मुद्दाको बिषय र फिरादपत्रमा लेखिएको मुद्दाको बिषय भिन्दा भिन्दै नभई एकै भएको । अरू सबै कुरा मिलि सिर्फ नाउँसम्म फरक देखिन आएको र कालुमानले सो झगडा परेको घर किनी लिएमा सावितै भई प्रतिउत्तर दिएबाट सो अख्तियारनामामा लेखिएका सानुमान शाक्य र फिरादपत्रमा लेखिएका यै वादीकालुमान भिन्दा भिन्दै नभई एकै देखिन आउँछ तापनि अ. बं. ८९ नं. को देहाय ३ दफाले नाउँ फरक भएको अख्तियारनामाबाट मुद्दा दायर गराई कारवाई गर्न नमिल्ने भएबाट समेत अपीलको इन्साफ सदर ठहराएको ०१७।७।१८ गतेको डिभिजन बेञ्चको इन्साफ मनासिब भन्न मिल्ने देखिँदैन । सो बेरीतको लिनै नहुने फिरादपत्र लिई गल्ती गर्ने कर्मचारीलाई रा. का. दे. दो. बाट जरिवाना भई नै सकेको र त्यस्तो बेरीतको फिरादपत्रबाट केही कारवाई गर्नु नपरी खारेज हुने हो कि भन्नालाई बेरीतको अख्तियारनामा लिई फिरादपत्र पनि आएकै मौकामा अ. बं. ९० नं. बमोजिम दरपीठ गरी फिर्ता दिएको भए उसै बखत ऐनको रीत पुर्याई अख्तियारनामा लिई म्यादैभित्र नालिस गर्न पाउने हुन जाने थियो । उस बखतमा त्यसो नगरी कारवाई हुँदै आएकोमा हाल त्यस्तो अख्तियारनामाबाट दिएको फिरादपत्रबाट केही कारवाई गर्न नमिल्ने भनी खारेज गरी दिँदा अड्डाका कर्मचारीका गल्तीले पक्षले ऐनबाट पाएको हक सुविधामा आघात पर्ने देखिन्छ । इन्साफको रोहरीतबाट समेत जो पाउनु पर्ने सुविधा पक्ष विपक्षले पाउनु पर्नेमा अदालतका कर्मचारीको गल्तीबाट पक्षहरूले ऐनद्वारा प्रदत्त हकबाट समेत बन्चीत हुन पर्ने अवस्था पर्न आउने हुनाले हकसफा मुद्दा दिई इन्साफ माग्न ऐनको रीत पुर्याई आजका ३५ दिन भित्र सम्बन्धीत शुरु इलाका अदालतमा नालिस गर्न जानु भनी गोविन्दप्रसादको वा. निवेदक प्रतिवादी कृष्णप्रसाद न्यौपानेलाई सुनाई दिनु पर्ने ठहर्छ । अपीलको इन्साफ उल्टी भएमा अपीलको हाकिमलाई समेत ०१५।१।२२ का डि. बे. का फैसलाबाट जरिवाना समेत भईसकेको र उक्त लेखिए बमोजिम ठहरेकोले झगडियाहरूलाई समेत दण्ड जरिवाना केही गर्नु पर्दैन । रुल नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
(यसमा ०१७।७।१८।५ का डि. बे. को फैसलामा राय व्यक्त भई सकेकै हुँदा सोही रायलाई समर्थन गरीएको छ । - का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह)
इति सम्वत् २०१८ साल जेष्ठ १३ गते रोज ६ शुभम् ।
(सम्पादकीय नोट : प्रस्तुत मुद्दा फुलबेञ्चबाट निर्णय भएकोमा माननीय न्यायाधीश श्री रत्नबहादुर विष्टज्यू र माननीय न्यायाधीश श्री नयनबहादुर खत्रीज्यूको एक राय भएको र माननीय का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहज्यूको वेग्लै राय भएको हुँदा बहुमतको फैसला प्रस्तुत नै छ र श्रीमाननीय का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहको मुद्दाको उतार र राय यसैको प्रकरण नं. १ देखिन १० सम्ममा अक्षर प्रतिअक्षर मिल्ने भएकोले सो नै फेरि वेग्लै दिन आवश्यक नदेखिएको हुँदा सूचित गरिएको छ ।)