शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०६६ - घरबाट उठाई निष्कासन गरिपाउँ

भाग: २९ साल: २०४४ महिना: श्रावण अंक:

निर्णय नं. ३०६६   ने.का.प. २०४४ अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको दे.पु.नं. ६९५

मुद्दा : घरबाट उठाई निष्कासन गरिपाउँ।

 

पुनरावेदक/वादी: का.जि.का.न.पं. वडा नं. ३२ रामशाहपथ पुतलीसडक बस्ने दलबबहादुर कार्की।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने दिलिपकुमार कार्की।

फैसला भएको मिति: २०४३।११।११।२ मा

    घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउन पर्ने भएमा ३५ दिन अगावै सूचना दिई उठाउन पाउने ।

(प्रकरण नं. ११)

पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री दीपकराज जोशी

विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

उल्लेखित मुद्दाःX

फैसला

न्या.हरगोविन्द सिंह प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।११।२२ को इन्साफमा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

२.  का.जि.का.न.पं. वडा नं. ३२ को कि.नं. ७४९ मा बनेको तीनतले आधुनिक तरिकाले बनेको पक्की घर मेरो स्वआर्जित सम्पत्ति हो । २०२०।२।७ को बण्डापत्रमा समेत सो घर मेरै अंश भागमा परेको हुँदा सो घरमा मेरो एकलौटी हक भएकोमा २०३८ साल कार्तिक सम्म कुनै खर खिचोला थिएन । विपक्षी दिलिपकुमारले गत मार्ग महीनामा आई मेरो घरमा मैल बहालमा राखेका व्यक्तिहरूलाई जबरजस्ती निकालेछन् । विपक्षीलाई मेरो घर छाडिदेउ भनी २०३८।९।३ मा लिखित सूचना समेत पठाएकोमा कुनै वास्ता नगरी बहाल समेत नदिई आजसम्म बसिरहेका छन् । म यहाँ नभएको मौका पारी विपक्षीले मेरो घर जबरजस्ती कब्जा गरेकोले मेरो घरबाट विपक्षीलाई अड्डैबाट निष्काशन गरिपाउँ भन्ने समेत व्यहोराको दलबहादुर कार्कीको मिति २०३८।१२।६ को फिरादपत्र ।

३.  प्र.दिलिपकुमारको नाउँको मिति २०३९।१।१६।५ मा तामेल भएको इतलायनामाको म्याद गुजारी प्रतिउत्तर नदिई गयल भई बसेको ।

४.  वादीले २०२०।२।७ को बण्डापत्रको आधारमा विवादको घरमा आफ्नो हक भएको प्रमाण पेश गरेकोबाट निजको हक पुगेको देखिएको र प्रतिवादीले बाबुको दावालाई खण्डन गर्न उपस्थित नभई बसेबाट दावामा चित्त बुझाएको भन्नु पर्ने अवस्था रहेको समेत हुँदा वादी दावी अनुसार प्रतिवादीलाई घरबाट उठाई दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को मिति २०३९।३।७ को फैसला ।

५.  वादीले सहारा लिनु भएको घर बनाउनेको महलको ८ र ९ नं. को व्यवस्था बहालमा बस्ने र बस्न दिने नातामा मात्र सीमित रहने कुरा हो हामी जस्तो बाबु छोराको रगतको नातामा मिल्ने कुरा होइन । अंशियारहरूको बीचमा आपसी समझदारी र सहमतिबाट सो काठमाडौं घर साझा सबैले उपयोग चलन गर्न पाउने गरी राखिएको कुरा २०२० सालको बण्डापत्रको शिर खण्डमा १२१५१५ जग्गा मात्र वादीले आफू खुस गर्न पाउने भनेबाट सो बाहेक अरुमा आफूखुस गर्न नपाउने स्वतः सिद्ध हुन आएको समेतबाट विपक्षी वादीले दुःखपूर्ण काम गर्नु भएको प्रष्ट भएकोले फिराद खारेज गरी झुठ्ठा दावाबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको दिलिपकुमार कार्कीको मिति २०३९।५।१५ को प्रतिउत्तर सरहको पुनरावेदनपत्र ।

६.  विवादको घर वादीको भागमा परेको कुरा प्रतिवादीले स्वीकार गरेको र त्यसरी वादीको भागमा परेको घरमा प्रतिवादी पनि बस्न पाउने स्पष्ट रुपमा सो बण्डापत्रमा उल्लेख नभएकोले वादी प्रतिवादी अंश बण्डामै छुट्टिई सकेकोले वादी दावी अनुसार सो घरबाट प्रतिवादीलाई उठाई दिने ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतको मिति २०४०।८।१९ को फैसला ।

७.  वादी भनाई अनुसार जबरजस्ती घरमा प्रवेश गरेको हो होइन यकिन गर्न साक्षी लगायतको प्रमाण समेत नबुझी गरेको बा.अं.अ.को फैसलाले मुद्दाको मूल विवाद विन्दूलाई समेत छुन नसकी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र.दिलिपकुमारको यस अदालतमा निवेदन परेकोमा ऐनले परिलक्षित गरेको व्यवस्था वादीकै लेखाईबाट नदेखिएकोले प्रतिवादीलाई घरबाट निष्काशन गरी दिनु पर्ने ठहर्‍याएको शुरुको इन्साफलाई सदर गरेको बा.अं.अ.को फैसला कानूनी त्रुटिपूर्ण हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) खण्ड (ख) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जबाट मिति २०४०।९।२५ मा भएको आदेश ।

८.  कानूनी आधार नलिई लाग्ने नसक्ने कानूनी आधार लिई आएको यो फिरादबाट इन्साफ दिन नमिली खारेज गर्नु पर्नेमा शुरु जिल्ला अदालतले यस्तो फिरादबाट इन्साफ गरेको मनासिब ठहर्‍याएको अञ्चल अदालतको इन्साफ गल्ती ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.डिभिजन बेञ्जको मिति २०४१।११।२२ को फैसला ।

९.  म.क्षे.अ.को इन्साफ चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदनमा अंशबण्डा समेतबाट आफ्नो हक अधिकार भएको घरबाट निष्काशन गरिपाउँ भनी परेको वादी खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा घर बनाउनेको ८ नं. तथा अ.बं. १८४(क) १८५ समेतको त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको मिति २०४१।१२।२८ गतेको आदेश ।

१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दीपकराज जोशी तथा विपक्ष तर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल समेतले गर्नु भएको बहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा वादी दावीको घर २०२०।२।७ को बण्डा पत्रबाट वादीको भागमा  परेको देखिन्छ । सो बण्डापत्रबाट प्रतिवादीले पनि भोगचलन गर्न पाउने भन्ने कुरा उल्लेख भएको पाइँदैन ।

११.  मुलुकी ऐन घर बनाउने महलको ९ नं. हेर्दा घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउनु पर्ने भएमा ३५ दिन अगावै सूचना दिई उठाउन पाउने कानूनी व्यवस्था भएको पाइन्छ । सो अनुसार सूचना दिएको देखिन्छ । सोही ऐनको ८ नं. को अवस्थामा मात्र ९ नं. आकर्षित हुने भन्ने मिल्ने देखिँदैन ।

१२. अतः वादीको हकको घरमा प्रतिवादी बसेकोलाई घरबाट उठाइदिने भन्ने जि.अ.को निर्णयलाई सदर गरेको बा.अं.अ.को इन्साफ मनासिब छ । वादीको दावी मुलुकी ऐन घर बनाउनेको महल अन्तर्गत नपर्ने भनी वादी दावी खारेज गर्ने गरेको म.क्षे.अ.को रायसंग सहमत हुन सकिएन तसर्थ म.क्षे.अ.को इन्साफ उल्टी हुने ठहर्छ । अरु कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी भएकोले का.जि.अ. र बा.अं.अ. को फैसलाले कायम गरेको लगत यथावत कायम रहने हुँदा म.क्षे.अ.ले सो लगत कट्टा गर्ने भनी लेखिएको बमोजिम लगत कट्टा गर्नु परेन...१ पुनरावेदक वादी दलबहादुर कार्कीले माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी भएको हुँदा वादीले शुरु जि.अ.मा राखेको कोर्ट फी रु. १०।र अन्य दस्तुर रु. ४।सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. १।५० समेत जम्मा रु. १५।५० प्रतिवादीबाट भरि पाउने हुँदा प्रतिवादीले म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको धरौटबाट र नपुग भए निजको घर जेथाबाट भराई पाउँ भनी कानूनको म्याद भित्र दर्खास्त परे भराई दिनु भनी लगत राख्न का.जि.अ.मा लगत दिनु...१

म.क्षे.अ.को इन्साफ उल्टी भएकोले मा.मु.न्या. श्री हिरण्येश्वरमान प्रधान र मा.न्या.श्री अरविन्दनाथ आचार्यको उल्टी रेकर्ड राख्नु ।

 

उक्त रायसंग म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४३ साल फाल्गुण ११ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु