निर्णय नं. ३०६८ - कीर्ते

निर्णय नं. ३०६८ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको फौ.पु.नं. ५४१
सम्वत् २०४३ सालको फौ.पु.नं. ५४२
मुद्दा : कीर्ते ।
पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पं. वा.नं. २ लाजिम्पाट बस्ने माधव प्रसाद उपाध्याय।
ऐ.वा.नं २९ बकैनापाटी बस्ने लीलादेवी थपलिया ।
विरुद्ध
विपक्षी/वादी: गुल्मी अर्ताथोक तोस घर भई का.जि.का.न.पं.वा.नं. १७ क्षेत्रपाटी डेरा गरी बस्ने माधवप्रसाद उपाध्याय अर्याल ।
फैसला भएको मिति : २०४३।९।६।१ मा
पुनरावेदन तहबाट नै निर्णय गर्न सकिने हुनाले एक पटक बोलिसकेको कुरामा नै पुनः निर्णय गर्न पठाउने गरेको फैसला बदर हुने ।
(प्रकरण नं. १५)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दाः X
फैसला
न्या.हरिहरलाल राजभण्डारीः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।१९।४ को फैसला उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. लक्ष्मीकुमारी मानन्धरका नाउँमा काठमाडौं मालको साविक मौजा ठमेलको हा.नं. ११७ को लगतमा हिलेडोल भन्ने खेत २ रोपनी दर्ता भएको २०२१ सालमा भू.सु. नापी हुँदा गोंगबुं पञ्चायत वा.नं. ४(ग) कि.नं. २८९ को क्षेत्रफल ०–१५–० पन्ध्र आना जग्गामा जग्गाधनी लक्ष्मीकुमारी र मोहीमा म फिरादीको नाम देखाई मेरो हकमा दाजु जीवराम समेतले सही गर्नु भएको छ । सो बमोजिम नापीमा दर्ता हुन बाँकी भई कृष्णकुमारी र लक्ष्मीदेवीको मालपोत कार्यालयमा निवेदन परी कारवाही भइरहेको अवस्थामा लीलादेवी थपलियाले उक्त जग्गामा घर बनाउने नक्शा पास गरिपाउँ भनी का.न.पं. मा दर्खास्त दिएकोमा जग्गावालाको उजूर परी नक्शा पास हुन सकेन । सो सम्बन्धमा विपक्षीहरूले माल र का.न.पं. मा पेश गरेका प्रमाणहरू हेर्दा विपक्षी माधवप्रसादले आफूलाई मोही भनी पशुपति अमालकोटमा उक्त जग्गा दर्ता गराई सोही आधारमा लीलादेवी थपलियालाई बकसपत्र गरी दिएको रहेछ । सो मुद्दामा प्रतिवाद गर्दा विपक्षी माधवप्रसादले मोही आफैं हो भनी झुठ्ठा व्यक्ति खडा भई आएको हुँदा विपक्षीले कीर्ते कागजको १, ३ र ४ नं. को अपराध गरेको स्पष्ट हुँदा फिल्डबुकमा लेखिएको माधवप्रसाद मलाई नै कायम गरी विपक्षीलाई कीर्ते कागजको १५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको गुल्मी घर हुने माधवप्रसाद उपाध्याय अर्यालको मिति २०३७।१२।१० मा काठमाडौं जिल्ला अदालतमा परेको फिरादपत्र ।
३. विपक्षीले दावी गरेको जग्गा पशुपतिनाथको गुठी हो र नापीमा सो नाम लेखिनु पर्नेमा भूलबाट लक्ष्मीकुमारी लेखिएको सो जग्गा पशुपति अमालकोट कचहरीमा दर्ता भएको जग्गा हो । सो जग्गा अघिदेखि नै मैले जोत कमोद गरिआएको मोही हुँ । सोही बमोजिम मेरा नाममा मोही दर्ता र जग्गाधनीमा पशुपति माल अवालको नाम दर्ता हुन मैले निवेदन दिई सोही बमोजिम गोरखापत्रमा सूचना प्रकाशित गर्दा पनि विपक्षीबाट उजूर पर्न नआई मबाट बाली असूल गरी लिई दर्ता गरी रसीद दिएको हुँदा प्र.मध्येकी लीलादेवी थपलियालाई मिति २०३६।११।२६ मा हालै देखिको बकसपत्र पारीत गरी दिएको हुँ । वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत लाजिम्पाट बस्ने माधवप्रसाद उपाध्याय अर्यालको मिति २०३८।२।२३।६ को प्रतिउत्तरपत्र ।
४. वादी दावी झुठ्ठा हो विवादको भनेको जग्गा लाजिम्पाट बस्ने माधवप्रसाद अर्यालको जोतको जग्गा हुँदा मिति २०३६।११।२६ मा हालै देखिको बकसपत्र गरी पारीत गरी मेरो हक हुन आई मैले अमालकोट चकहरीका लगतमा आफ्नो नाममा नामसारी दर्ता समेत गराई सो कि.नं. २८९ को ०–१५–० जग्गा मध्ये ०–३–० जग्गामा घर बनाउन नक्शा पासका निमित्त काठमाडौं नगरपञ्चायतमा निवेदन दिई सो नगर पञ्चायतबाट म्याद टाँस हुँदा विपक्षीको उजूर पर्न सकेको नहुँदा झुठ्ठा दावीबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको लीलादेवी थपलियाको मिति २०३८।२।२३।६ को प्रतिउत्तरपत्र ।
५. वादी दावी नपुग्ने भई प्र.का उपर झुठ्ठा उजूर गरेको ठहर्याई कीर्ते कागजको १५ नं. ले कीर्ते ठहरे प्र.लाई रु. १०।– जरिवाना हुनेमा अपराध सावित गराउन नसक्दा दण्ड सजायँको १८ नं. बमोजिम आधा रु. ५।– वादीलाई नै जरिवाना हुने समेत ठहर्याई मिति २०३९।१।५।१ मा काठमाडौं जिल्ला अदालतबाट भएको फैसला ।
६. काठमाडौं जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेन सो फैसला बदर गरी फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेतको व्यहोराको गुल्मी घर हुने माधवप्रसाद उपाध्याय अर्यालको मिति २०३९।२।१८।३ मा वागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
७. दे.पु.नं. ६६७ मा दर्ता नामसारी बदर मुद्दामा र दे.पु.नं. ५५४ को बकसपत्र बदर मुद्दामा भएको फैसलाबाट विवादास्पद कि.नं. २८९ मा मोहियानीमा तेरो मेरो परेको देखिएको, मोहियानीमा तेरो मेरो परेको मुद्दामा फैसला गर्न यस अदालतलाई अधिकार क्षेत्र नभएको र भूमिसम्बन्धी (संशोधन सहित) ऐन, २०२१ को दफा ५४(च) ले प्रस्तुत मुद्दा पनि मोहियानी तेरो मेरो मुद्दा हेर्ने अधिकारीले नै निर्णय गर्नु पर्ने समेत कारणबाट वादी दावी नपुग्ने गरी शुरु जिल्ला अदालतले गरेको फैसला मिलेको हुनाले पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतको मिति २०३९।६।४।२ को फैसला ।
८. मलाई हराएको का.जि.अ. र वागमती अञ्चल अदालतको फैसला कानूनको त्रुटि गरी खास प्रमाण छाडी तल माथि गरेको हुँदा उक्त इन्साफ जाँच गरी दिनु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतका नाममा हुकुम प्रमांगी बक्स पाउँ भनी गुल्मी घर भएका माधवप्रसाद उपाध्याय अर्यालले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विषेश जाहेरी विभाग मार्फत चढाएको विन्तिपत्र ।
९. व्यहोरा साँचो भए वागमती अञ्चल अदालतबाट छिनिएको विन्तिपत्रमा लेखिएको कीर्ते मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानून बमोजिम गर्नु र प्रमांगीको जनाउ विन्तिपत्रवालालाई दिनु भन्ने समेत म.क्षे.अ.का नाममा श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई आएको ।
१०. वागमती अञ्चल अदालतको फैसलामा आधार लिएको दर्ता नामसारी बदर तथा बकसपत्र बदर मुद्दामा मुख्य रुपले विवादित जग्गा वादीका नामको मोहियानी दर्ताको जग्गा हो वा पशुपति अमालकोट अन्तर्गतको गुठी जग्गा के हो भन्ने प्रश्न विद्यमान रही दर्ता नामसारी बदर मुद्दामा पशुपति गुठीमा दर्ता गर्ने पशुपति अमालकोट कचहरी समेतलाई प्रतिवादी तुल्याई फिराद गरेकोमा सो मुद्दामा भएको वादी दावी नपुग्ने भन्ने वागमती अञ्चल अदालतको ठहर समेतबाट विवादको जग्गा पशुपति गुठीमा दर्ता गरे गराएको कायम रहन गएको देखिन्छ । उक्त मुद्दामा भएको फैसलामा पनि मोहियानी तेरो मेरो सम्बन्धमा यस अदालतबाट हेर्न नमिल्ने भन्ने समेत आधार उल्लेख गरेको भए पनि सो विवादको जग्गा पशुपति अमालकोटको दर्तालाई नै कायम हुने गरी ठहर गरेको स्पष्ट देखियो । त्यसको अतिरिक्त विवादको जग्गा गुठीको कायम भएको अवस्थामा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिमको मोहियानी तेरो मेरो सम्बन्धी मुद्दा सरह तोकिएको अधिकारीले हेर्न मिल्ने समेत देखिन नआउने । सो ऐन अन्तर्गत तोकिएको अधिकारीले हेर्ने भएको अवस्थामा पनि अदालतले हेर्ने अधिकार क्षेत्र नभएको मुद्दामा दावी पुग्न नसक्ने भनी इन्साफ ठहर गर्नु पर्नेमा खारेजीको बुँदा आधारबाट दावी नपुग्ने भनी इन्साफ ठहर गरेको देखियो। यसरी फिराद दावी बमोजिम माधवप्रसाद अर्याल भन्ने कीर्ते मानिस खडा भई पशुपति अमालकोटले आफ्नो नाममा समेत जग्गा दर्ता गराएको भन्ने दावीका सम्बन्धमा सबुद प्रमाणको समुचित मूल्यांकनका आधारमा कीर्ते हो होइन ठहर गर्नु पर्नेमा मोहियानी तेरो मेरो सम्बन्धी यस अदालतको अधिकार क्षेत्र भित्र नपर्ने भनी दावी नपुग्ने ठहर्याएको वागमती अञ्चल अदालतको फैसला कानून अनुरुप नदेखिएको र साथै विवादको जग्गा पशुपति अमालकोट दर्ताको गुठी जग्गा भन्ने मिति २०४०।१०।१५ मा भूमिसुधार कार्यालयबाट निर्णय भएको र सो उपर वादीले सर्वोच्च अदालतमा रिट निवेदन दिएकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतमा परिरहेको कीर्ते मुद्दा समेतबाट ठहर हुने भनी सो रिट निवेदन खारेज भएको भन्ने समेत देखिने र त्यसबाट पनि प्रस्तुत कीर्ते मुद्दा अदालतबाट ठहर निर्णय हुनु पर्ने स्पष्ट देखिन आएको सन्दर्भमा समेत निर्णय गर्नु पर्ने भएकोले सो फैसला बदर हुने ठहर्छ । कानून बमोजिम जो जे गर्नु पर्छ गरी सबुद प्रमाणको मूल्यांकन समेतको आधारमा फिराद दावीको सम्बन्धमा ठहर निर्णय गर्नु भनी हाजिर रहेका पक्ष विपक्षहरूलाई तारेख तोकी मिसिल वागमती अञ्चल अदालतमा पठाई दिनु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।१९।४ को फैसला ।
११. भू.सु.का.को निर्णय स.अ.बाट समर्थित भइसकेको स्थितिमा वागमती अञ्चल अदालतले मोहियानी तेरो मेरो सद्दे कीर्ते हेर्ने मिल्ने स्थिति नरही क्षेत्राधिकार नभएकोमा क्षेत्राधिकार ग्रहण गर्न पठाइएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा अ.बं. ३५ नं. भूमिसम्बन्धी ऐनको दफा ३१(क), ५३, ५४ र ५५ को त्रुटि छ । आफूले इन्साफ गर्नु पर्ने कुरामा वागमती अञ्चल अदालतको निर्णय बदर गरी निर्णय गर्न पठाएको उक्त म.क्षे.अ.को फैसलामा प्रमाण ऐनको दफा ३ र ५४ तथा न्याय प्रशासन सुधार ऐनको दफा ९ समेतको विपरीत हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।१९।४ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने लाजिम्पाट बस्ने माधवप्रसाद उपाध्याय अर्यालको र का.जि.का.न.पं. वा नं. २९ वकैनापाटी बस्ने लीलादेवी थपलियाको यस अदालतमा छुट्टाछुट्टै परेको निवेदन ।
१२. कीर्ते सम्बन्धमा बोली सकेको कुरालाई पुनः सोही विषयमा निर्णय गर्नु भनी गरेको म.क्षे.अ.को फैसलामा मु.ऐ. अ.बं. २०९ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को गम्भीर कानूनी त्रुटि देखिएको र सो त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्याय प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम प्र.माधवप्रसाद–१ र लिलादेवी–१ समेतलाई पुनरावेदनको अनुमति प्रदान गरिएको यस अदालत डिभिजन बेञ्जको मिति २०४२।१२।२०।४ को आदेश ।
१३. पुनरावेदक प्रतिवादी माधवप्रसाद उपाध्याय तर्फबाट बहसका निमित्त उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रतिवादी मोही भई अघि देखि जोत कमोद गरी आएको पशुपति अमालकोटमा दर्ता हुनु पर्ने जग्गा भूलबाट जग्गाधनी लक्ष्मीकुमारी लेखिँदैमा पशुपति अमालकोट स्वामित्वबाट अलग हुनु पर्ने अवस्था नदेखिँदा सो भूल सच्याउन प्रतिवादीले निवेदन दिई सो बमोजिम गोरखापत्रमा सूचना प्रकाशित भई म्याद भित्र कसैको उजूर समेत नपर्दा प्रतिवादीका नाममा मोही दर्ता भएको हो । सो जग्गाका वास्तविक मोही प्रतिवादी नै हुन सोही आधारमा का.जि.अ. र वागमती अं.अ.बाट फैसला भएको हो सो सदर हुनु पर्ने इन्साफ बदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ बदर हुनु पर्छ भन्ने र पुनरावेदक प्रतिवादी लीलादेवी थपलियाका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले आफूले जोत कमोद गरी आएको आफ्नो हकको जग्गा प्रतिवादी माधवप्रसादले लीलादेवीलाई बकसपत्र गरी दिएको अवस्थामा लीलादेवीले सो जग्गा भोगचलन गर्न पाउनु पर्ने हुनाले म.क्षे.अ.को फैसला बदर हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । वादी माधवप्रसाद उपाध्याय अर्यालका तर्फबाट बहसका निमित्त उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विवादित जग्गा वादीले कमाई आएको जग्गा हो । मोहीका रुपमा झुठ्ठा व्यक्ति खडा गरी लक्ष्मीकुमारीका नामको जग्गालाई पशुपति अमालको जग्गा हो भनी सोही बमोजिम दर्ता गराई कीर्ते काम गरेको देखिएको हुनाले प्रतिवादीलाई सजायँ भई जग्गाधनीमा लक्ष्मीकुमारी र वादी नै वास्तविक मोही हुनाले वादीलाई नै मोही कायम गर्ने गरी इन्साफ हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. नियमानुसार आज निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१५. यसमा निर्णयतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतमा प्र.माधवप्रसाद उपाध्यायले प्र.लीलादेवी थपलियालाई बकसपत्र गरी दिएको विवादित जग्गा सम्बन्धी बकसपत्र बदर मुद्दा–१, र नामसारी दर्ता बदर मुद्दा–१ समेत चलिई हाल मुलतवीमा राखेको देखिन्छ । न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १५(ग) अन्तर्गत प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको पुनरावेदन तहबाट नै निर्णय गर्न सकिने हुनाले वागमती अञ्चल अदालतलाई एक पटक बोली सकेको कुरामा नै पुनः निर्णय गर्न पठाउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।१९।४ को फैसला बदर हुन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट नै कानून बमोजिम कारवाही किनारा गर्नु भनी रुजु पक्ष विपक्षलाई तारिख तोकी पुनरावेदनको लगत कट्टा गरी मध्यमाञ्चल क्षेत्रीय अदालतमा मिसिल पठाई दिनु । रेकर्ड मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४३ साल पौष ६ रोज १ शुभम् ।