निर्णय नं. १२९ - बकसपत्र बदर गरी पाउँ

निर्णय नं. १२९ ने.का.प.२०१८
डिभिजन बेञ्च
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
दे. डि. ठा. नं. २५६
निवेदक : ख. तेजराज पाध्या
विरुद्ध
विपक्षी : गायात्राकुमारी समेत
मुद्दा : बकसपत्र बदर गरी पाउँ
(१) “हेरबिचार, पालन–पोषण, टहल चाकरी गरी आएको हुँदा सो रिजवापत हामी मरेपछि दागबत्ति, काजक्रिया, पिण्डपानी समेत तिमीले गरी गराई” भन्ने बोली परेको कागजलाई शेषपछिको बकसपत्र भन्न पर्ने ।
तिमी ख. तेजराजले हेरबिचार पालन–पोषण टहल चाकरी गरी आएको हुँदा सो रिजवापत र हामीहरू मरेपछि दागबत्ति, काजक्रिया, पिण्डपानी समेत तिमीले नै गरी–गराई भन्नेसमेत बोली परेको ०१४।८।२८।७ को कागजलाई शेषपछिको बकसपत्र नभनी बन्देजको कागजमात्र हो भनी भन्न नमिल्ने हुँदा र ०१७।४।२।१ का डिभिजन बेञ्चको फैसलामा लेखिएको हुँदा प्रमाणबाटसमेत शुरु अपीलले छिनेको सदर गरी गरेको इन्साफ उक्त ०१७।४।२।१ का डिभिजन बेञ्चको फैसला मुनासिब ठहर्छ ।
(प्रकरण नं. ३)
फैसला
१. यसमा हामी सासु–बुहारी, छोरा–छोरी नभएका विधुवा भएकोले र तपाँईंहरूलाई पालताल गरी शेषपछि बाँकी रहेको खाउँला । हामीलाई शेषपछिको बकस दिनुहोस् भनी प्रतिवादीले भनेकोले हामीलाई पालताल गर्ने कोही नहुँदा र निजहरू हकदार हुँदा हुन्छ भनेमा आयस्ता जीउ छउन्जेल हामीहरूले नै खान पाउने । जग्गाको हकमा हालै बकस गरी दियौं भनी जाली व्यहोरा पारी झुक्याई पास गरेको बकसपत्र लिएपछि हामीलाई पालताल केही नगरी दुःख दिएकाले सो बकसपत्र बदर गरी पाउँ भन्नेसमेत गायात्राकुमारी, चन्द्रकुमारीको फिराद ।
२. वादी दुवै विधुवा भएपछि ८।१० बर्षमा नै मोहरू ६४०। जति कर्जा अरुको मोहरू ४००। कर्जा हामीहरूको पुगेपछि हिलेपानी बाहेक पातलेखेत बन्धकीमा छाडी अरुको कर्जा चुक्ता गरी पाखो बारीबाट निजलाई खान नपुग्ने हुँदा वादीले भनेबमोजिम हाम्रो सावाँ–ब्याज कर्जा मोहरू ८००। लाई आफ्नातर्फबाट खर्च लगाई पालताल गरेको सकार गरी बदर नहुने नगराउने मनसायबाट पास भएको दान–दातव्य १२ नं. बमोजिम पास गर्ने अड्डाले मात्र बदर गर्ने हुँदा यो नालिस खारेज गरी बकसपत्र सदर गरी पाउँ भन्नेसमेत तेजराज कमुद केसरीको प्रतिवादी ।
३ ज्यूताभर बकस दिनेले नै जग्गा खाने र बकस पाउनेले समेत बेचबिखन गर्न नपाउने भएपछि बकसपत्र हालैदेखि दिएको भन्न नभई हालै भन्ने अक्षर घुसाउँदैमा हक जान नसक्ने हुनाले समेत बकसपत्र बदर गर्ने ठहर्छ भन्नेसमेत शुरु बागलुङ अदालतले छिने उपर तेजराजको अपील पर्दा सुक्रिविक्रीसमेत केही गर्न पाउँदैनौं भन्नेसमेत पालन–पोषण गरी खानु भन्ने लिखतमा बोली लेखेको हुँदा शेषपछिको बकसपत्र हुँदा इन्साफ शुरुको मुनासिब भनी पाल्पा अपीलले फैसला गरेउपर निजै तेजराजको अपील पर्दा बेचबिखन, दान–बक्स गर्न नपाउने बन्देजको बकसपत्र देखिनाले शेषपछिको भन्न नमिल्ने हुँदा दाबी पुग्न नसक्ने भन्नेसमेत सिंगल बेञ्चको राय भएमा डिभिजन बेञ्चमा पेश हुँदा, वादीको रेखदेख प्रतिवादीबाट भएको देखिन नआएको । वादीको सम्पत्ति भएकोले आयस्ता वादीहरूले ज्यूताभर खाने भन्ने र माया मारी दियौं भन्ने नहुनाले समेत इनसाफ पाल्पा अपीलको सदर गराई सर्वोच्च अदालत पश्चिम दौडाहा मुकाम पाल्पाबाट १५।१२।२१।६ मा फैसला भएउपर चित्त बुझेन दोहर्याई पाउँ भन्नेसमेत तेजराजको निवेदनको पर्दा रिभ्यू गरिदिनु भन्ने हुकुम प्रमांगी भई दोहरी पेश हुँदा सर्वोच्च अदालत पश्चिम दौडाहा डिभिजन बेञ्चको इन्साफ मुनासिब ठहराई १७।४।२।१ मा सर्वोच्च अदालत डिभिजन बेञ्चले छिनेउपर पुनः निवेदक ख. तेजराजको दोहराई पाउँ भन्ने निबेदनमा व्यहोरा साँचो भए दोहराई ऐन सवालबमोजिम गर्नु भन्ने हुकुम प्रमांगीबमोजिम दायर हुन आएको प्रस्तुत मुद्दामा निवेदकको वा. शेषराजसमेतलाई राखी बुझ्दा तिमी ख. तेजराजले हेरबिचार पालन–पोषण, टहल–चाकरी, गरी आएको हुँदा सो रिजवापत र हामीहरू मरेपछि दागबत्ति काजकृया, पिण्डपानीसमेत तिमीले नै गरी–गराई भन्नेसमेत बोली परेको ०१४।८।२८।७ को कागजलाई शेषपछिको बकसपत्र नभनी बन्देजको कागजमात्र हो भनी भन्न नमिल्ने हुँदा र ०१७।४।२।१ का डिभिजन बेञ्चको फैसलामा लेखिएका बुँदा प्रमाणबाट समेत शुरु अपीलले छिनेको सदर गरी गरेको इन्साफ उक्त ०१७।४।२।१ को डिभिजन बेञ्चको फैसला मुनासिब ठहर्छ । दोहर्याएमा निवेदक ख. तेजराजके हा. का. ११ नं. ले शुरु दण्ड ने. रु. २।५० को सयकडा १० ले ने. रु. ।१५ पन्ध पैसा दण्ड हुन्छ । वारिस हुँदा लगत कसी असूल गर्न तहसीलमा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्बत् २०१७ साल माघ १८ गते रोज ३ शुभम् ।