निर्णय नं. ३०७० - अंश

निर्णय नं. ३०७० ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४३ सालको दे.पु.नं. ५११
मुद्दा : अंश ।
पुनरावेदक/प्रतिवादी: जि.बारा गंजभवानीपुर गा.पं. वडा नं. ८ बस्ने मीश्रीलाल साह कानु।
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. बस्ने मटुक साह कानु ।
फैसला भएको मिति: २०४३।११।३।१ मा
एका सगोलको सम्पत्ति नै अंशियारमा भागबण्डा हुनु पर्ने सम्पत्ति हो, प्रतिवादीले तायदातीमा निजी आर्जनको भनी देखाएको देखिन्छ तापनि निजी आर्जनको हो भन्ने सबुद निजले पेश गर्न सकेको देखिँदैन, निजी आर्जनको सम्पत्ति भागबण्डा नलाग्ने भन्ने ऐनको संशोधन पछि मात्र निजी आर्जनको सम्पत्ति भाग बण्डा नलाग्ने हुँदा प्रतिवादीले तायदातीमा खुलाई देखाएको सगोलको सम्पत्ति अंश भाग लाग्ने नै देखिन आयो ।
(प्रकरण नं. १३)
भूमिसुधारको फैसला स्वतन्त्र रुपमा भएको देखिँदैन, किनभने शुरु जि.अ.को फैसलाको परिणाममा पहिलो फैसला भएको तथा क्षेत्रीय अदालतको फैसला पछि दोश्रो फैसला भएको छ, जुन फैसलाले अदालतको फैसलामा प्रतिकूल असर पार्न नसक्ने ।
(प्रकरण नं. १३)
पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस
फैसला
न्या.प्रचण्डराज अनिलः श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०४३।१।७ को इन्साफमा चित्त नबुझी पुनरावेदक प्रतिवादी मिश्रीलाल साह कानुको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. बलदेवका २ छोरा जेठो म फिरादी मटुक साह र कान्छो विपक्षी मिश्रीलाल साह कानु भएको, बाबु बलदेव र आमा जसोदिया अघि पछि गरी स्वर्गवास हुनु भएको धेरै वर्ष व्यतित भई सक्यो । बाबु आमाको स्वर्गवास पछि पनि विपक्षी र म फिरादी एकसाथ सगोलमा रही बसी सगोलमै सबै सम्पत्ति जोड्दै दाजु भाइले भोगचलन गर्दै आएकोमा, दुवै भाइका सल्लाहले २०२९ सालमा घरसारमा बण्डापत्रको कागज लेखिएकोमा फेरी दुवैको सल्लाहले बण्डापत्र पास नगर्ने भनी पास भएन र सगोलमा नै बसी श्रीसम्पत्ति भोग गर्दै श्रीसम्पत्ति बढाई आएकोमा यता एक वर्ष देखि विपक्षीले परिवारमा समानता नदेखाई आफ्नो परिवारमा बढी खर्च गर्न थालेकाले मनमोटाव भई केही महीना देखि बराबर अंश माग्दा नदिएकोले, नालिश परेका अघिल्ला दिनसम्मको सम्पूर्ण चल अचल श्रीसम्पत्तिको ऐन बमोजिम तायदाती फाँटवारी विपक्षीबाट लिई २ खण्डको १ खण्ड मेरो अंश भाग विपक्षीबाट छुट्याई मेरा नाउँमा दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको मटुक साह कानुको मिति २०४०।१।५ को फिरादपत्र ।
३. बाबु आमाको स्वर्गवास भएपछि घरको मुख्य व्यक्ति विपक्षी दाजु नै हुनुहुन्थ्यो । विपक्षी दाजुले नै मिति २०२९।१।१७ मा घरसारमा बण्डापत्र खडा गरी अंश वापतमा निजले आफ्ना नाउँ दर्ताको जि.वारा गंगभवानीपुर गा.पं. वडा नं. ८ को कि.नं. ६४ को जग्गामा बनी राखेको खपडाको छाना भएको घर जग्गा ०–०–४ मध्ये पूर्व तर्फबाट ज.वि. ०–०–७ तथा ऐ.ऐ. वडा नं. ९ को कि.नं. २० को ०–११–० मध्ये पूर्वतर्फबाट ०–५–१० तथा ऐ.ऐ. वडा नं. ८ को कि.नं. ६८ को ०–३–१० मध्ये पूर्वतर्फबाट ०–१–१५ समेत जम्मा ज.वि. ०–७–१२ मिति २०२९ सालकै बाली देखि मलाई दिई भिन्न गरिदिनु भएकोमा मैले पाएको उक्त जग्गा दाजुकै नाउँमा राखी भोगचलन गरी आई रहेको छु । हाम्रो बीच भएको मिति २०२९।१।१७ को बण्डापत्र लिखत अंशबण्डाको ३० नं.ले सदर हुने प्रष्ट छ । मानो जोडिएको लिखतको अभावमा हामी सगोलमा रहे बसेको भनी मान्न सकिने अवस्था छैन । विपक्षी दाजुले रामवृक्ष साह कानुसंग मिति २०३४।१।१९ मा रु. २,०००।– ऋण लिंदा गरेको लिखतमा निज ऋणीको भिन्न बसेको भाइ भनी म समेत साक्षी बसेको छु । त्यसबाट पनि म सगोलको भन्ने विपक्षको कथन झुठ्ठा देखिन्छ । हामी मिति २०२९।१।१७ मा नै भिन्न भई सकेको हुँदा विपक्षीको दावी अंशबण्डाको ३० नं. समेतको विपरीत हुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको मिश्रीलाल साह कानुको प्रतिउत्तरपत्र ।
४. आफ्नो जिम्मा नाउँको सम्पत्ति प्रतिवादीलाई दिएपछि बण्डापत्रको सम्पत्ति भोगचलन वादीले गर्न नपाउने कुनै अवस्था नभएको र दुवै पक्षले राजी खुशीबाट बण्डापत्र गरेपछि पुनः सगोलमै बसेको भन्ने वादीको जिकिरतर्फ समर्थनमा कुनै ठोस सबुद प्रमाण वादी पक्षबाट गुजार्न सकेको पाइँदैन । यस्तो स्थितिमा अंशबण्डा गरिपाउँ भन्ने वादीको दावी पुग्न सक्ने कुनै अवस्था नदेखिँदा अंशबण्डा पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरुबारा जिल्ला अदालतबाट मिति २०४०।८।२८ मा भएको फैसला ।
५. बारा जि.अ.को फैसलामा चित्त बुझेन फिराद दावी अनुसार आधा अंश दिलाई पाउनु पर्ने समेत हुँदा शुरुको फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको वादी मुटुक साह कानुको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
६. निजी आर्जनको सबुद पेश गर्न मौका दिँदा पनि प्रतिवादी पक्षबाट निजी आर्जनको ठोस सबुद प्रमाण पेश गर्न सकेको देखिएन । सगोलको अंशियार मध्ये जुनसुकै अंशियारको नाउँमा दर्ता श्रेस्ता रहेको अचल सम्पत्ति भए पनि सगोलको मान्नु पर्ने कानूनी व्यवस्था रहेकोले वादी दावी बमोजिम नरम गरम मिलाई २ खण्डको १ खण्ड अंश वादीले पाउने र सो सम्पत्ति दर्ता समेत हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१।७ को फैसला ।
७. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा कानूनी त्रुटि विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको पुनरावेदक प्रतिवादी मिश्रीलाल साहको मिति २०४३।२।६ को निवेदन ।
८. २ खण्डको १ खण्ड अंश वादीले पाउने र सो सम्पत्ति दर्ता समेत हुने ठहर्याएको म.क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको मिति २०४३।३।१८ को आदेश ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दास र विपक्षीतर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले गर्नु भएको बहस समेत सुनियो ।
१०. पुनरावेदकतर्फका विद्वान अधिवक्ताले बण्डापत्र भएको कुरामा कुनै विवाद छैन, मेरो पक्षले बण्डापत्र बमोजिमको अचल सम्पत्ति अद्यावधिक भोग गर्दै आइरहेकाले शुरुको इन्साफ उल्टी हुने ठहर्याई म.क्षे.अ.बाट भएको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनु पर्छ भन्ने र विपक्षीतर्फका विद्वान अधिवक्ताले बण्डापत्र भए पनि सो बण्डापत्रको कागज पास हुनु पर्नेमा पास हुन सकेको छैन यसरी रजिष्ट्रेशन पास हुनु पर्ने लिखत जब रजिष्ट्रेशन पास भएको छैन भने त्यस्तो लिखत भएपनि सोको कुनै कानूनी मान्यता नहुने भएकोले मेरो पक्ष र पुनरावेदकको बीचमा भएको बण्डापत्रको कागजको कुनै मुल्य नभएबाट शुरुको उल्टी हुने ठहर्याई क्षेत्रीय अदालतले गरेको निर्णय मनासिब नै हुँदा सोही इन्साफ सदर हुनु पर्छ भनी आ–आफ्नो तर्फको बहस जिकिर प्रस्तुत गर्नु भयो ।
११. विद्वान अधिवक्ताहरूले प्रस्तुत गर्नु भएको उल्लेखित बहस जिकिर समेतलाई ध्यानमा राखी इन्साफतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले शुरुको इन्साफ उल्टी हुने ठहर्याई गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको नै निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा पुनरावेदक र विपक्षी दुई अंशियार भएको र मिति २०२९।१।१७ मा यी अंशियारहरू बीच घरसारमा बण्डापत्र गरिएको कुरा दुवै पक्षले स्वीकार गरेको भए पनि सो बण्डापत्रको कागज रजिष्ट्रेशन पारीत भएको नदेखिनु, सो अनुसार दर्ता नामसारी, दाखिल खारेज र दर्ता फुटाएको र बण्डा बमोजिम अलग अलग भोगचलन गरेको पनि नदेखिनुबाट सो बण्डापत्रको कागज प्रभावकारी भएको देखिन आउँदैन । यदि मुटुक साह कानुका नाउँमा दर्ता भएको जग्गा बाँडफाँड भएको मान्ने हो भने दुईजना अंशियारमा अंशबण्डा बाँडफाँड हुँदा मुटुक साह कानुले प्रतिवादी मिश्रीलाल साह कानुको नाउँमा दर्ता रहे भएको जग्गामा अंश हिस्सा पाएको देखिनु पर्ने तर सो कुरा कहीँबाट देखिन नआएकोले यी दुई अंशियारहरू बीच अंश भाग बाँडफाँड भएको रहेछ भनी सम्झन मिल्ने देखिँदैन ।
१३. मिश्रीलालको छोरा श्रीमतीहरू एका सगोलमा रहे भएको भन्ने मिसिलबाट देखिन्छ। एका सगोलको सम्पत्ति नै अंशियारमा भाग बण्डा हुनु पर्ने सम्पत्ति हो । प्रतिवादीले तायदातीमा निजी आर्जनको भनी देखाएको देखिन्छ तापनि निजको आर्जन हो भन्ने सबुद प्रमाण निजले पेश गर्न सकेको देखिँदैन । निजी आर्जनको सम्पत्ति भाग बण्डा नलाग्ने भन्ने ऐनको संशोधन पछि मात्र निजी आर्जनको सम्पत्ति भाग बण्डा नलाग्ने हुँदा प्रतिवादीले तायदातीमा खुलाई देखाएको सगोलको सम्पत्ति अंश भाग लाग्ने नै देखिन आयो । पुनरावेदकतर्फका अधिवक्ताले बहसमा उठाउनु भएको भूमिसुधारको फैसलाको सम्बन्धमा भूमिसुधारको फैसला स्वतन्त्र रुपमा भएको देखिँदैन । किनभने शुरु जि.अ.को फैसलाको परिणाममा पहिलो फैसला भएको तथा क्षेत्रीय अदालतको फैसला पछि दोश्रो फैसला भएको छ । जुन फैसलाले अदालतको फैसलामा प्रतिकूल असर पार्न सक्तैन । तसर्थ शुरुको इन्साफ उल्टी गरी २ खण्डको १ खण्ड अंश पाउने ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मिलेकै हुँदा पुनरावेदन जिकिर पुग्न सक्तैन । क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकलाई सजायँ गर्नु पर्छ कि भन्दा कोर्ट फी रही दायर भएको मुद्दा हुँदा केही गर्नु परेन, म.क्षे.अ.को फैसलाले प्रतिवादीबाट वादीलाई भराई दिने गरेको कोर्ट फी रु. १,६३१।७५ धरौट रहेको मिसिलबाट देखिँदा वादी मुटुक साह कानुलाई ऐन कानूनको रीत पुर्याई फिर्ता लिन आए फिर्ता दिनु भनी सम्बन्धित बारा जि.अ.लाई लेखी पठाइदिनु भनी का.जि.अ.त.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४३ साल फाल्गुण ३ गते रोज १ शुभम् ।