शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३०७१ - कर्तव्य ज्यान

भाग: २९ साल: २०४४ महिना: श्रावण अंक:

निर्णय नं. ३०७१   ने.का.प. २०४४ अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको साधक नं. १०२

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी: कालो पुनको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी: जि.रुकुम नुवाकोट गा.पं. वार्ड नं. १ नाउँको बस्ने झुपे राना समेत ।

फैसला भएका मिति: २०४३।११।६।४ मा

    मृतकले जग्गा आफ्नो बाबुलाई नदिई देवरलाई घरसारमा दिई भन्ने रीसले आफ्नो घरमा बोलाई अमानुसिक किसिमबाट हत्या गरेकोमा कसको चोटबाट मृतक अमृतीको प्राण गएको हो सो खुल्न नआएकोले प्र. झुपे राना र प्र.देवबहादुर रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैद र प्रतिवादी दुर्गी रानाले मार्न संयोग पारी दिन निमित्त मृतकको जिउ हात खुट्टा समाती राखेको देखिनाले प्र.दुर्गी रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने इन्साफ मनासिब ठहर्छ ।

(प्रकरण नं. २०)

फैसला

न्या.प्रचण्डराज अनिलः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भई साधक निकासाको लागि पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.  जि.रुकुम नुवाकोट गा.पं. वार्ड नं. १ नाउली बस्ने अमृती पुनः मगर्नीलाई २०३९ चैत्र २२ गते विहान बाबु झुपे राना भेट्न भनी घरमा जाँदा बीचको तलामा २ वटी सानी छोरीहरू मात्र सुतेका र सो तलामा छोरी अमृतीलाई नदेखि भुँई तलाको ढोका खुला देखि पसी हेर्दा ऐ २१ गते राती कुन समयमा हो घरको निदालको पाखुरीमा भाउजू अमृतीले नाम्लाको पासो घाँटीमा लगाई झुण्डी मरेको देखि मृतकका बाबु झुपे रानाले तत्काल मलाई जानकारी दिएकोले गाउँ घरका मानिस र पञ्च सदस्य समेत भई दाइ सर्वजितको घरको भुँई तलामा गई हेर्दा झुण्डी मरेको देखि नाउलीका मानिसलाई लाश कुरुवामा राखी यो जाहेरी दर्खास्त चढाएको छु । भाउजू अमृती आफैं झुण्डी आत्महत्या गरी मरेको हुँदा कसै उपर शंका लाग्दैन लाश शदगतको पूर्जा पाउँ भन्ने समेत २०३९।१२।२३ को कालो पुनको जाहेरी दर्खास्त ।

३.  मिति २०३९।१२।२५ को लाश प्रकृति मुचुल्का रहेछ ।

४.  २०३९।१२।२० गते हामै्र गाउँका केशरबहादुर पुनका घरबाट ल्याएको मरेको भैंसीको मासु खान भनी बोलाए अनुसार २०३९।१२।२१ गते साँझ छोरी अमृती र दुई नातिनी आएका हुन्, सो साँझको खाना खाई सकेपछि छोरी अमृती र २ नातिनी माथिल्लो तल्लाको पूर्व पट्टि सुते छोरा देवबहादुर पनि सोही तलामा ढोका नजिकै सुत्यो म र स्वास्नी दुर्गी भुँई तलामा नै बस्यौं । दिउँला भनेको जग्गा हामीलाई नदिएर देवर कालो पुनलाई नै दिई तसर्थ निजलाई आज मौका परेको छ । मारिदिउँ भनी सल्लाह गरी सुती निदाएको अवस्थामा मैले छोरीको गला घाँटी वेश गरी दवाएँ दुर्गीले हात समाती छोरा देवबहादुरले खुट्टा दवायो । कोखा कोखामा मुक्काले हान्यो र उत्तीसको दाउराले निजको योनी मुत्रद्वारमा घुसार्‍यौ । यत्तिकैमा छोरी अमृती मरेको विश्वास लागेकोले, दुर्गी आफ्नै घरमा बसी र छोरा देवबहादुरले लाशलाई पीठिउँमा राखी म झुपे रानाले पछाडिबाट सहारा दिई झुण्डी मरेको बहाना पार्न निज मृतककै घरको पूर्व पट्टिको ढोकाबाट भुँइ तलामा लगी नाम्लो सहितको बरियो घाँटीमा गाँठो पारी निदाल अड्याउने थाममा रहेको चुकूलको उत्तर पट्टि भागमा झुण्डाई मृतकको थैलीमा रहेको साँचो निकाली घरको मूल ढोका खोली आफ्नो घर गयौं भन्ने समेत झुपबहादुर राना मगर, दुर्गी राना मगर्नी, देवबहादुर राना मगर समेत जना ३ ले जि.प्र.का. रुकुममा २०३९।१२।३०।४ मा गरेको एकै मिलानको साविती बयान ।

५.  मिति २०४०।१।४ गतेको घटनास्थल प्रकृति मुचुल्का ।

६.  मिति २०४०।१।४ गतेको सरजमीन मुचुल्का ।

७.  झुपे राना समेत जना ३ लाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. को देहाय दफा ३ अनुसार सर्वस्व सहित जन्मकैद हुने माग दावी भई दायर हुन आएको मिति २०४०।१।२० गतेको प्रहरी प्रतिवेदन ।

८.  २०३९ साल चैत्र २१ गते मासु खान भनी मृतक छोरी अमृतीलाई बोलाई मासु भात खान दियौं, मासु भात खाई सकेपछि म र श्रीमती दुर्गी भुँई तलाको कोठामा सुत्यौं । माथिल्लो तलामा पूर्वतर्फको कोठामा मृतक छोरीको ३ आमा छोरी, पश्चिमतर्फको कोठामा छोरा देवबहादुर सुत्यो । चैत्र २२ गते उज्यालो हुन  लागेको अवस्था मृतककै ७ महीनाकी छोरी रोई कराएकोले अमृती भनी बलाउँदा नबोलेको हुँदा कोठामा गई हेर्दा नदेखि कहाँ गइछ भनी खोज्दै म समेत मृतकको घर जाँदा भुँइ तलाको गाई, भैंसी बान्ने कोठामा बरियाको डोरीले निदालको चुकूलमा पासो लगाई झुण्डिएको देख्यौं हल्ला खल्ला गरे पछि गवाह कालो पुनले थाहा पाई जाहेर गर्न म समेत आएका थियौं । मृतकको लाशमा घा खत के गरी पर्‍यो मलाई थाहा छैन मेरो घरबाट मर्ने अमृती आफ्नो घर जाँदा केही थाहा भएन, छोरी अमृती आफैं झुण्डी मरेको ठहर्‍याउँछु कसै उपर शंका पनि छैन, मैले मारेको पनि होइन । प्रहरीले मलाई बयान गर्दा लाठी हातले हानी बयान गराएका हुन् राजी खुशीले बयान गरेको होइन भन्ने समेत प्रतिवादी झुपे रानाले २०४०।१।२० गते अदालतमा गरेको बयान ।

९.  अमृती मेरो माइती दिदी हुन्, निजलाई मैले कर्तव्य गरी मारेको छैन, मासुभात खान बोला भनी बाबु आमाले भनेकोले २०३९।१२।२१ गते बेलुका दिन अस्ताउने समयमा अमृतीको घर गई खबर गरी आएँ । भैंसीको मासु भात खायौं । पूर्वतर्फ कोठामा दिदी अमृता र छोरी २ समेत आमा छोरी सुतें म अगेना भएको पश्चिम कोठामा सुते बाबु र आमा भँइ तल्लाको कोठामा सुते, भोलिपल्ट २२ गते नै अमृतीको महीना ७ की छोरी रोएकी आवाज झुप्पेले थाहा पाएछन् र अमृती कता गई बच्ची रुन्छे भनी मलाई बाबु झुप्पेले उठाए पछि आमा पनि आइन कोठामा हेर्न जाँदा देखेनौं खोज तलास गरी नपाएकोले अमृताको घर खोज्न जाँदा भुइँ तल्लामा गाई भैंसी बाँध्ने कोठामा रहेको निदालमा बरियोले झुण्डिरहेको बाहिरबाट देख्यौं र नजिकको घरको तिखु रानालाई खबर गर्‍यौं । तिखु राना सदस्य बलबहादुर पुनलाई बोलाउन गए । बाबु झुप्पे मनवीर मुखियालाई खबर गर्न गए । म घरमा गए, गाउँघरमा हो हल्ला भई मानिस जम्मा भए । जाहेर गर्न बाबु झुप्पे राना, कालो पुन, रनवीर भिमुवली गए । प्रहरीमा गरेको बयान कागज मेरो राजीखुसीले भनेको बयान कागज होइन । प्रहरीले त्यस्तै भने बच्छस भनी मारपिट गरी गरेको बयान हो । आमा दुर्गी र बाबु झुपे रानालाई मारेकै भनी भने बच्छस् भनी फस्याई मारपिट गरी भनाउन लगाएका होलान र म समेतले अमृतीलाई कर्तव्य गरी मारेको हैन भन्ने समेत मिति २०४०।१।२० को प्रतिवादी देवबहादुर रानाले अदालतमा गरेको बयान ।

१०. २०३९ साल चैत्र २१ गते मरेको भैंसीको मासु छोरा देवबहादुरले ल्याएको थियो । मासु भात खाउँला छोरीलाई बोला भनी देवबहादुरलाई भनेकीले मेरो घर आई भैंसीको मासुभात खाई जग्गाको कुरा हुँदा जग्गा देवर कालो पुनले लिइहाले के गरी दिन काट्ने भनी मृतक अमृताले कुरा गरी, सुत्ने समय भएपछि माथि तल्लाको पूर्वतर्फका कोठामा मृतक छोरी अमृता सहित ३ आमा छोरी र पश्चिम तर्फको कोठामा छोरा देवबहादुर सुते, भूइतलामा म र श्रीमान झुप्पे राना सुत्यौं रात १ बजे तिर महीना ७ की अमृताकी छोरी रोएको आवाज लोग्ने झुपेले थाहा पाई किन रुन्छे भनी अमृतालाई सुतेको कोठामा बोलाउन जाँदा अमृतालाई नदेखी आफू र छोरा देवबहादुरले यताउती खोज्दा फेला नपरी मृतक छोरीको घर गएछन् र भुइतला भैंसी बाँध्ने कोठामा झुण्डी मरेको खबर ऐ २२ गते विहान थाहा भयो । छोरी अमृतालाई कर्तव्य गरी मारेमा कसै उपर शंका लाग्दैन । २०३९ साल असार महीनामा लोग्ने मरेको देवर गहाव कालो पुनले जग्गा लिई दिएको विरह मानी आफैं घरमा आत्म हत्या गरी मरेको ठहर्‍याउँछु, प्रहरीमा गरेको बयान मेरो हो तापनि छोरी अमृतालाई मारेको भनी भने जोगिन्छ भनी प्रहरी जवानले हप्काई भन्न लगाइएका हुन् राजीखुसीले गरेको बयान होइन, मृतक अमृतीलाई म समेतले कर्तव्य गरी मारेको पनि छैन भन्ने समेत मिति २०४०।१।२० मा प्रतिवादी दुर्गी रानाले अदालतमा गरेको बयान ।

११.  मर्ने अमृती आफैंले आत्महत्या गरी मरेकी नभई कर्तव्यबाट प्रतिवादी मध्येका झुप्पे र देवबहादुरले मात्र आफ्नो घरमा मारी अमृतीको घरमा लगी झुण्डयाएको  जस्तो लाग्छ दुर्गी उपर शंका लाग्दैन, मैले प्रहरीमा दर्खास्त दिँदा दिमाग बिग्रेकी समेत भएकोले आफैं झुण्डी आत्महत्या गरी मरेकी हुन् भनी जाहेर गर्नु पर्ने कारण प्रतिवादी मध्येका झुप्पे र भिमबहादुरले भनेकोले आफैं आत्महत्या गरी मरेकी हुन भनी जाहेरी दिएको हुँ भन्न समेत मिति २०३०।३।६ मा जाहेरवाला कालोपुनले अदालतमा गरेको बयान ।

१२. मर्ने अमृती आफ्नो घरको तल्लो तलाको भर्‍याङ मुनी झुण्डी मरेकी छन्, भन्ने २०३९ चैत्र २२ गते विहान नौ बजे सुने, हेर्न जाँदा आफ्नै घरको तल्लो तलाको भर्‍याङको निदालको चुकूलमा बरियोको डोरीले पासो लगाएको देखे पछि प्रहरी आई सदगत गराए भन्ने सुनेको हुँ, आफैं झुण्डी मरेकी हुन् वा कसैले मारेको हो मलाई थाहा छैन प्रतिवादीहरूले आÇनी छोरी, दिदीलाई मार्नु नपर्ने ठहर्‍याउँछु भन्ने समेत प्रतिवादीको साक्षी नरबहादुर पुन मगर, दिलबहादुर पुन मगर, भीम भन्ने भीमे वलीले २०४०।३।७।३ मा गरेको बकपत्र ।

१३. मर्ने अमृतीलाई प्रतिवादीहरूले कर्तव्य गरी झुण्डाएको पनि शंका देखाई गरेको सरजमीन बयान सत्य होइन । प्रहरीले सरजमीनमा सहिछाप गर्नु पर्छ गर भनेकाले सहिछाप गरिदिएको हो, हामीलाई नसुनाई सहिछाप गरेकोले सरजमीनको व्यहोरा साँचो होइन भने अमृती प्रतिवादीको छोरी दिदी हुँदा निजहरूले कर्तव्य गरी मारेमा शंका विश्वास लाग्दैन के भई मरेको हो हामीलाई थाहा छैन भन्ने समेत सरजमीनका मानिस भागीराम पुनः हुरमत पुन, परविर घर्ती, हर्कबहादुर राना समेतले मिति २०४०।९।२२ मा र चुके पुन, मनवीर पुन, मिउदे पुन, पनाबहादुर पुन, तिखु राना, हर्कसिं पुन, आशिराम पुन, मनिराम पुन समेतले मिति २०४०।९।२४।१ मा अदालतमा गरेको एकै मिलानको बकपत्र ।

१४. मर्ने अमृतालाई प्रतिवादी झुपे राना, देवबहादुर राना, दुर्गी राना समेत भई कर्तव्य गरी मारे होला जस्तो लाग्दैन, किनभने मर्ने अमृती प्रतिवादी झुपे रानाको सहोदर छोरी भएको हुँदा निजलाई मार्नुपर्ने कुनै अवस्था छैन मारेको पनि होइन, सरजमीनका मानिसले किन शंका देखाई लेखाई दिए सो कुरा मलाई थाहा छैन भन्ने समेत प्रतिवादीको साक्षी हर्क रानाले मिति २०४१।३।१८ गते गरेको बकपत्र ।

१५. अभियुक्तहरूले अदालतमा आई मृतक अमृतीलाई मारेको होइन भनी इन्कारी बयान गरेका र सो बयान निजहरूका साक्षी हर्क राना समेतको बकपत्रबाट समर्थित हुन आएको देखिनुका अतिरिक्त आफ्नै छोरी र दिदीलाई मार्नु पर्ने सम्मको रिसइवी अभियुक्तहरूमा भएको मिसिल संलग्न कुनै पनि प्रमाणबाट देखिन खुल्न आउँदैन, झुण्डी मरेको भनी जाहेरी दर्खास्त परेको देखिन्छ भने अदालतमा मृतक अमृतीको आमा दुर्गी उपर ज्यान मारेकोमा शंका लाग्दैन, देवबहादुर र झुपे उपर शंका लाग्छ भनी जाहेरवालाले बयान गरेबाट एकातिर जाहेरी दर्खास्त र बयानको कुरामा नै एकरुपता आएको देखिँदैन भने अर्कोतिर झुपे र देवबहादुर उपर पनि शंकासम्म मात्र व्यक्त गरेको देखिन्छ, सरजमीनको अधिकांश मानिसहरूले यस अदालतमा आई बकपत्र गर्दा मृतक अमृतीलाई अभियुक्तहरूले मारेको शंका विश्वास लाग्दैन भनी बकपत्र गरेको, सरजमीनका चक्रबहादुरले मात्र झुपे उपर शंका लाग्छ दुर्गी र देवबहादुर उपर शंका लाग्दैन भनी बकपत्र गरेको भए पनि शंकाको सुविधा अभियुक्तले पाउने छ भन्ने सर्वमान्य कानूनी सिद्धान्त भएको देखिँदा अन्य स्वतन्त्र ठोस सबुद प्रमाणको अभावमा त्यस्तो शंका र प्रहरीमा साविती भएको भन्ने आधारमा मात्र ज्यान जस्तो जघन्य अपराध गरेको भनी ठहर्‍याउन न्यायोचित नदेखिएकोले अभियुक्तहरू झुपे राना, देवबहादुर राना, र दुर्गी रानाले मृतक अमृतीको ज्यान मारेको ठहर्दैन । निज अभियुक्तहरूले प्रहरी प्रतिवेदन दावीबाट सफाई पाउने ठहर्छ भन्ने रुकुम जिल्ला अदालतको २०४१।४।२८ को फैसला ।

१६. मृतक अमृती मर्नु भन्दा अघिल्लो दिन बेलुका प्रतिवादीहरूको घरमा गएकी भन्ने कुरा प्रतिवादीहरूले अदालतमा पनि स्वीकार गरेका छन् । मृतक अमृतीको लाशको प्रकृति एवं घटनास्थल प्रकृति मुचुल्काबाट निज आफैं आत्महत्या गरी मरेकी नभई कसैको कर्तव्यबाट मरेको हो भन्ने प्रष्ट देखिन आउँछ । तसर्थ मृतकको लाश जाँच प्रकृति मुचुल्कालाई हेर्दा निजको मृत्यु दुई वा दुई भन्दा बढी व्यक्तिको हातबाट भएको हुनु पर्ने पनि प्रष्ट छ । निज आफैं आत्महत्या गरी झुण्डिएर मर्न नसक्ने अवस्था घटनास्थल प्रकृतिले जनाउँछ, मृतकको लाशले जमीनमा घुँडा टेकेको र जमीनबाट झुण्डिएको ठाउँ २ हात मात्र फरकमा भएको हुँदा आफैं मरेकी कुरै भएन । अन्यत्र मारी त्यही ल्याई झुण्डयाई दिएको भन्ने प्रष्ट भयो । त्यसकारण रुकुम जिल्ला अदालतबाट भएको उपरोक्त फैसला न्याय संगत नहुँदा सो बदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ होस् भन्ने श्री ५ को सरकारको मिति २०४१।६।५ को पुनरावेदन ।

१७. आरोपित कसूरमा प्रतिवादीहरू अधिकार प्राप्त अधिकारी समक्ष सावित भएका र लाश प्रकृति मुचुल्काबाट मृतकको कर्तव्यबाटै मृत्यु भएको देखिएकोले प्रतिवादीहरूलाई सफाई दिने ठहर्‍याएको शुरु रुकुम जि.अ.को इन्साफ नमिली फरक पर्ने देखिएकोबाट अ.बं. २०२ नं. तथा क्षे.अ.नि. ०३६ बमोजिम विपक्षीहरूका नाममा म्याद जारी गरी तामेल गरी हाजिर भए वा म्याद गुजारे नियम बमोजिम गर्न म.प.क्षे.अ.को मिति २०४१।१०।७ को आदेश ।

१८. प्रतिवादीहरूले मृतक अमृतीलाई यो यसले कर्तव्य गरी मारेको भन्ने शंका सम्म पनि गर्न नसकी आफैं झुण्डी मरेको जस्तो लाग्छ भनी बयान जिकिर लिए पनि झुण्डी मरेको कुनै लक्षण देखा नपरी कर्तव्यबाटै मरेको देखिन आयो । जाहेरवाला कालो पुन समेतले अदालतमा बकपत्र गर्दा मृतक अमृतीलाई प्र.झुपे राना, देबहादुर राना समेतले कर्तव्य गरी मारेको शंका लाग्छ भनी बकपत्र गरी दिएका छन् । अतएवं सम्पूर्ण प्रमाण परिवन्दबाट मृतक अमृतीले जग्गा आफ्नो बाबु झुपे रानालाई नदिई निजको देवर कालो पुनलाई घरसारमा जग्गा दिएको धारणाले आफ्नो घरमा बोलाई यी प्रतिवादीहरूले मृतक सुतेको अवस्था कर्तव्य गरी मारी कसूरबाट बच्न मृतकको लाश रातारात मृतक अमृतीकै घरमा लगी झुण्डी मरेको भन्ने पार्न वरियोले बाँधी झुण्डयाएको समेत ठहर्छ । कसको चोटबाट मृतक अमृतीको प्राण गएको हो सो खुल्न नआएकोले प्र.झुपे राना र देवबहादुर रानालाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद हुने र प्र.दुर्गी रानाले मार्न संयोग पारी दिन निमित्त मृतकको जिउ हात खुट्टा समाती राखेको देखिनाले निज दुर्गी रानालाई ज्यानसम्बन्धीको १३(४) अनुसार जन्मकैद हुन्छ । सर्वस्व सहित जन्मकैद हुनु पर्ने भन्ने सम्म श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरुले सफाई दिएको इन्साफ उल्टी हुन्छ भन्ने समेतको म.प.क्षे.अ.को मिति २०४२।७।१९ को जाहेरी फैसला ।

१९. नियम बमोजिम साधकको लगतमा चढी पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दामा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।

२०. मृतकको लाश जाँच प्रकृति मुचुल्का हेर्दा निज मृतक अमृतीको लाश रहेको घरको बाहिर ढोकामा साङलो मात्र लगाएको घर भित्र लाश झुण्डिएको बरियोको सुर्के गाँठो नभई हाडे गाँठो पारेको लाशले घुँडा टेकेको कुम गाला समेतमा निलडाम भएको योनीमा लाठी घुसाएको जस्तो भई ३ इञ्च चौडाई ४ इञ्च जति लम्बाई भई योनी खुल्ला रहेको भन्ने समेत देखिँदा मृतक अमृतीको मृत्यु कर्तव्यबाटै भएको देखिन्छ । अभियुक्त झुपे राना, दुर्गी राना र देवबहादुर रानाले अदालत  समक्ष बयान गर्दा प्रहरीमा कुटपिट गरी इच्छा विरुद्ध बयान गराएको, मृतक अमृती आफैं झुण्डी मरेको जस्तो लाग्छ हामीले कर्तव्य गरी मारेका होइनौ भनी इन्कारी बयान गरे तापनि अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा २०३९।१२।२१ गते मृतक अमृतीलाई मासु खान बोलाएकोमा साँझ खाना खाई सकेपछि मृतकले जग्गा मृतककै बाबु प्र.झुपे रानालाई दिने भनेकोमा नदिई घरसारमा देवर कालो पुनलाई दिएकोमा तत्सम्बन्धी कुरामा छलफल भई मृतक सुतेपछि प्र.झुपे राना, दुर्गी राना र देवबहादुर रानाले मृतक अमृतीलाई मार्ने सल्लाह गरी मृतक सुतेको ठाउँ घरको माथि तलामा गई प्र.झुपे रानाले मृतकको घाँटी अँठ्याउने दुर्गी रानाले हातखुट्टा समाउने र देवबहादुरले मुक्काले कोखा, पिठ्यूँ समेतमा हानी योनीमा उत्तिसको दाउरो घुसाई मृतक अमृतीलाई मारेको हो भनी एकै मिलानको साविती बयान गरेकोले निजहरूको अदालत समक्ष भएको इन्कारी बयान तथ्यमा आधारित नभई लाश जाँच प्रकृति मुचुल्काबाट अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान नै पुष्टी हुन आउँछ । मिति २०३९।१२।२१ गते राती मृतक अमृती प्रतिवादीहरू कै घरमा २ छोरी समेतको साथमा माथिल्लो तलामा सुतेको प्र.देवबहादुर राना पनि सोही तलामा सुतेको र प्र.झुपे राना तथा दुर्गी राना सोही घरको तल्लो तलामा बसेको भन्ने प्र.हरूले अदालत समेतमा साविती बयान गरेको देखिन्छ । सो राती मृतक अमृतीलाई बाहिरबाट कसैले बोलाई लगेको वा आफैं पनि बाहिर तिर निस्की गएको भनी प्र.हरूले भन्न सकेको पनि पाइँदैन । राती १ बजे तिर अमृतीकी सानी छोरी रोएपछि अमृती कता गई भनी खोज तलास गर्दा फेला नपारी प्र.झुपे राना र देवबहादुर रानाले खोज तलास गर्ने काममा मृतकको देवर कालो पुनलाई बोलाई मृतकको घर लाश रहेको ठाउँमा लगी गएको र लाश देखे पछि आफैं जाहेर नगरी कालो पुनलाई जाहेर गर्न लगाएको भन्ने प्र.झुपे राना समेतको अदालत समेतमा बयानबाट देखिन्छ । अतएव माथि उल्लेखित सम्पूर्ण प्रमाण परिवन्दबाट मृतक अमृतीले जग्गा आफ्नो बाबु झुपे रानालाई नदिई देवर कालो पुनलाई घरसारमा दिई भन्ने रीसले आफ्नो घरमा बोलाई अमानुसिक किसिमबाट हत्या गरेकोमा कसको चोटबाट मृतक अमृतीको प्राण गएको हो सो खुल्न नआएकोले प्र.झुपे राना र प्र.देवबहादुर रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैद र प्रतिवादी दुर्गी रानाले मार्ने संयोग पारी दिन निमित्त मृतकको जीउ हात खुट्टा समाती राखेको देखिनाले प्र.दुर्गी रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने ठहर्‍याई म.प.क्षे.अ.ले साधक जाहेर गरेकोमा म.प.क्षे.अ.को फैसला उपर प्रतिवादीहरूको पुनरावेदन नपरेको समेत हुँदा म.प.क्षे.अ.को मिति २०४२।७।१९ को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हिरण्येश्वरमान प्रधान

 

इतिसम्वत् २०४३ साल फाल्गुण ६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु