निर्णय नं. १३३ - सरसियोररीको रीट जारी गरी पाउँ

निर्णय नं. १३३ ने.का.प.२०१८
डिभिजन बेञ्च
न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
रि. नं. २८
निबेदक : गेडे बोहरा
विरुद्ध
विपक्षी : पुष्करनाथ समेत
मुद्दा : सरसियोररीको रीट जारी गरी पाउँ
(१) भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को (३) मुताविक सुरक्षित किसानको हकसम्मको निरोपणा गर्नु पर्ने भएमा – मालको हाकिम बडाहाकिमको सम्मिलित संयुक्त इजलासबाट हेर्न मिल्ने ।
सो जग्गाको पक्ष विपक्ष मध्ये सुरक्षित किसान कुन चाही हो ? भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएकोले लगत खडा गर्ने र सुरक्षित किसानको हक कायम गर्ने कुरामा लेखिएको निर्देशन बमोजिम रीत पुर्याई गर्नु पर्ने गरी सो कामको अभिभारा मालका हाकिम बडाहाकिम वा मैजिष्ट्रेटलाई नै भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को (३) ले प्रदान गरेको जग्गा कमाउने किसान भई तेरो मेरोको प्रश्न उठे पनि आखिर सुरक्षित किसानको हकसम्मको निरोपण गर्नु पर्ने हुनाले त्यस्तोमा मालको हाकिम बडाहाकिमको सम्मिलित संयुक्त इजलासबाट हेर्न नमिल्ने भनी भन्न मिल्दैन ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : एडभाकेट कृष्णप्रसाद भण्डारी
सरकार तर्फबाट : एटर्नी जनरल श्री शम्भुप्रसाद ज्ञबाली
आदेश
१. जगी विष्ट समेत ४ जनाको उजुरी परबाजेका दिन देखि प्रतिवादीका परबाजेहरूबाट बांझो पर्ति जग्गा माँगी आवाद गरी कुलो पानी झिकी जिल्लाका रीती स्थिति बमोजिम निजहरूकै नाउँमा जग्गा दर्ता राखी घर समेत बनाई तिरो दर्तावाला मार्फत बुझाउने गरी आएको रसीद दिने गरेको थिएन । तल्लो नायल खेत १ सान्सेरा गैरी खेत १ सान्सेरा खेत १ जिमु खोली गारो पाखो १ समेत जग्गा हामीले भोग चलन गरी मट्टेलाई मानी आएकोमा ०१५ साल मार्ग महिना देखि यो जग्गा हाम्रो हो जग्गा खान पाउँदैनौ भनी जग्गा खोसी पजनी गरेको थामी पाउँ भन्ने वादी दावी।
२. उक्त उजुरी झुट्टा नकरा भई निजहरू हाम्रो जग्गामा बसी खाई आएका छैनन् । जगीको दाज्यू नन्दे विष्ट सेरुवाको बाबु नरी विष्ट गोडेको बाबु उजले महर विरमानको घर धुरीसम्म दर्ता छ । निजको जग्गा ९५ साल देखि झगडियाहरूको भोगचलन छैन । गोडे महरको अघि पनि जग्गा थिएन । हाल पनि छैन । निजहरूबाट तिरो दिने गरेको छैन । गोडे महर जगी विष्ट बसत मौजामा रणध्वज गोपालबाट जग्गा लिई बसेको बीरमान थामी नौतड मौजामा अन्तराम जैशीबाट सेवाद्री भन्ने जग्गा लिई बसेको छ । सेरुवा विष्टले ललित विष्टको सिमल खेत भन्ने जग्गा अधियामा भागेको छ । झगडियाहरूले लेखेको जग्गा केही बल्देव विष्टले केही गेडे बोहराले केही गोपे खत्री समेतले र अरु अक्कलदेव समेतले भोग चलन गरेका छन् । ९५ सालमा उजुर गर्दा माघ महिनामा निकाला गर्यो भनी सबुद प्रमाण बुझाउन नसकी नापी गोश्वाराबाट जिती पाएको इवीले झुट्टा उजुर गरेका हुन् । जग्गामा उजुरवालाको कुनै हक प्राप्त छैन भन्ने मुख्य जग्गा दर्तावालाहरूको प्रतिवादी भएकोमा ।
३. अवैधानिक तबरबाट बैतडी गौंडाका बडाहाकिमज्यू र मालका हाकिम समेत मिली ०१६।१२।१८।६ मा बैतडी गौंडा माल कमिटिबाट गरेको फैसला भनी झगडा परेको जग्गा लेखिएको बुँदा प्रमाणबाट सुरक्षित किसान कायम गरी पाउँ भन्ने उजुरवालाको जिकीर मुनासिव ठहर्छ भनी मेरो दर्ता तिरीको जग्गाबाट बन्चित गरी अवैधानिक निर्णय गरेको कसैले पनि दाबी उजुर गर्दा अ. बं. को ९८ बिपरीत गई नालिस उजुर गर्न पाउने व्यवस्था प्रदान गरिएको छैन ।
४. जगी विष्ट समेतको एकोरो उजुर भए पनि म समेत जग्गावाला धनी निज अक्कलदेव विष्ट समेतको प्रतिवादी बयानबाट यो जग्गा निज उजुरवालाहरूले जग्गा कमाई अक्कलदेव विष्टले केही म गोडे बोहराले केही गोपे खत्री समेतले र जग्गा धनी अक्कलदेव समेतले कमाई भोग चलन गरेका छन् भनी र सरजमिन गराउदा पनि म समेतले जग्गा कमाई गरी आएको छु भनि बयान गरे पछि यो मुद्दामा केवल दर्तावाल र सुरक्षित किसानको हक अधिकारको झैंझगडा मात्र नभई सुरक्षित किसानको पनि निर्णय गरी दिनु पर्ने दुबै जग्गा कमाई खाने किसानको बीच बीचको तेरो मेरोको झगडा देखा परेको । सुरक्षित किसान हुँ भन्ने व्यक्तिहरूको बीचमा जग्गा भोग चलन गरी १० कर्म गरी कमाई खाने व्यक्तिको आपसी अधिकारमा तेरो मेरो झगडा उत्पन्न भएको । भूमिसुधार ऐन अन्तर्गत विपक्षी बडाहाकिमज्यूलाई निर्णय गर्न अधिकार नभएको । विपक्षी बीरमान धामी समेतले ९५ सालमा उजुर गर्दा ९ रुपैंया तिरोको हाम्रो जग्गा भनि उजुर गरेको र हालको उजुरीमा १२ रूपैयाँ तिरो जग्गा भनी फरक पारेको । कमाई गरेको भए तिरो यस प्रकार फरक नपर्ने । फेरि ९५ सालको र हालको जग्गा पनि फरक पारेको । निजहरू जग्गा धनी भए रसीद प्रमाण समेत पेश गर्न सक्नु पर्ने । ९५ सालमा निजहरूले उजुर गर्दा खड्गनिशाना समेतबाट निजहरूको उजुर खम्बीर हुन नसकी जग्गामा हक कायम गराई दिन नसकेपछि आज फेरि सोही जग्गामा सुरक्षित किसानमा उजुर गरको विपक्षी बडाहाकिमज्यूले भूमिसुधार ऐन अन्तर्गत कारवाई गरेको हो कि ? भन्नालाई भूमिसुधार ऐन अन्तर्गत कारवाई गरेको हो कि ? भन्नालाई भमि सुधार ऐन अन्तर्गत कारवाई गर्नलाई सो ऐनले निर्देश गरेको उचित तवरले पालन गर्न बाध्य छ । यसमा निम्न लेखिएको तबरबाट उक्त ऐनको मर्यादा भंग गरेको छ । भूमिसुधार ऐनको दफा १२ मा आफूले भोग गरी आएको जग्गाको परिच्क्षेद २ बमोजिम कुत तिरो टायम टायममा बुझाएसम्म निजको सो जग्गामा आफ्नो भोग चलन राख्ने हक रहीरहने छ भनी निर्देश गरेको हुनाले कुत तिरो टायम टायममा बुझाएको हुनु पर्छ । बिपक्षीले जग्गा भोग चलन गरेको कतैबाट नदेखिए पछि निजहरूको सुरक्षित किसानको हक प्राप्त छ भनी कतैबाट भन्न नहुने दावी बमोजिम घर जग्गा पनि सो ठाउँमा नभई अन्त छुट्टै भएको । यो जग्गा हामीले नै कमाएकोले निजहरू सुरक्षित किसान हुन नसक्ने । निजहरूलाई रसीद नदिएको भए उजुर गरी लिन सक्नु पर्ने । उक्त ऐनको दफा १८ (३) अन्तर्गत सुरक्षित किसानको झगडा पर्न जिल्ला आए बडाहाकिम वा मैजिष्ट्रेट वा निजले मनोनीत गरेको सरकारी कर्मचारी र इलाका मालका हाकिमले जो बुझ्नु पर्छ बुझी निर्णय गर्नु पर्ने । यसमा विपक्षी बडाहाकिमज्यूलाई मात्र त्यस्तो उजुरी सुनी सरजमिन बयान बकपत्र आदी कारवाई गर्न कुनै अधिकार नभएको । कारवाई गर्दा संयुक्त कमिटीबाट हुन पर्नेमा प्रस्तुत मुद्दामा सबै कारवाई बडाहाकिम एक्लैले गरी फैसला गर्दा मात्र मालको हाकिमलाई समाबेस गरी अवैधानिक कारबार्ई गरेको । सो अनाधिकार निर्णय बदर गर्न कानूनमा अरु उपाए नभएकोले उत्प्रेषण वा अन्य उपयुक्त रीटद्वारा सो निर्णय बदर गरी पाउँ भन्ने नबेदन ।
५. बडाहाकिम र मालको हाकिमबाट लिखत जवाफ आएपछि पेश गर्नु भन्ने समेत ०१७।३।३१ को डिभिजन बेञ्चको आदेश ।
६. रीट जारी हुन नपर्ने भन्ने समेत व्यहोराको ०१७।५।१५ को बैतडी मालका हाकिमको र सबै व्यहोरा मिसिलबाटै जाहेर हुनेछ भन्ने ०१७।९।८ को बडाहाकिम पुष्करनाथको जवाफी चिठ्ठी ।
७. यस बारेमा मिसिल झिकाई पेश गर्नु भन्ने ०१७।१०।२५ को र सरकारी वकिल झिकाई आएपछि पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको ०१८।२।२६ को आदेश ।
८. प्रस्तुत मामिलामा निवेदकको वा. कुवेरबहादुरलाई राखी निवेदक तर्फका विद्वान एडभोकेट श्री कृष्णप्रसाद भण्डारीको र सरकार तर्फबाट उपस्थिति हुनु भएको एटर्नी जनरल श्री शम्भुप्रसाद ज्ञबालीको बहस समेत सुनी बुझ्दा जगी विष्ट समेतको शुरु उजुरवाला र जग्गा धनी भनेका अक्कलदेव समेतले जग्गा कमाउनेमा गोडे बोहरासमेतको मोही देखाएकाले जग्गा कमाउने किसान भई तेरो मेरो भन्ने प्रश्न उठ्न आएकाले यो मुद्दा गोश्वाराले हेरी सुरक्षित किसानको हक ठहराई हक बेहक गर्न नहुने भन्ने समेत निवेदक तर्फका विद्वान वकिल कृष्णप्रसादले र सुरक्षित किसानको हक कायम गर्ने सम्मको कुरा हुँदा यस्तामा तेरो मेरो भएको भन्ने नभई भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को (३) ले मालको हाकिम र मैजिष्ट्रेट वा बडाहाकिमले ठहर गर्न पाउने हो भनी श्री एटर्नी जनरलले आफ्नु बहसमा भन्नु भयो ।
९. सुरक्षित किसान कायम गरी पाउँ भन्ने जगी विष्ट समेतको उजुरी परेपछि सोही जग्गा गोडे समेतले कमाएको भनी विपक्षीहरूले भने पनि आखिर सो जग्गाको पक्ष विपक्ष मध्ये सुरक्षित किसान कुन चाहिं हो ? भन्ने कुराको निर्णय दिनु पर्ने हुन आएकोले लगत खडा गर्ने र सुरक्षित किसानको हक कायम गर्ने कुरामा ऐनमा लेखिएको निर्देशन बमोजिम रीत पुर्याई गर्नु पर्ने गरी सो कामको अभिभारा मालका हाकिम बडाहाकिम वा मैजिष्ट्रेटलाई नै भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ (३) ले प्रदान गरेको जग्गा कमाउने किसान भई तेरो मेरोको प्रश्न उठे पनि आखिर सुरक्षित किसानको हकसम्मको निरोपण गर्नु पर्ने हुनाले त्यस्तोमा मालको हाकिम बडाहाकिमको सम्मिलित संयुक्त इजलासबाट हेर्न नमिल्ने भनी भन्न मिल्दैन ।
१०. उल्लेखित दावी इन्कारीमा सुरक्षित किसानको हक प्राप्तीका लागी हेर्न पाउने देखिए पनि अरु कारवाई तर्फ यिनै निवेदकका दाता भनेका अक्कलदेव समेतको र विपक्षी ब. हा. पुष्करनाथ समेतको सरसियोररीको रीट जारी गरी पाउँ भन्ने मुद्दामा आज यस बेञ्चबाट रीट जारी गर्ने आदेश भएको र अरु यसमा पनि सोही व्यहोरा मिलानको हुँदा उक्त मुद्दामा लेखिएका बुँदा प्रमाण परिबन्दबाट बैतडी गौंडाको बडाहाकिम र मालको हाकिमले गर्नु भएको फैसला बदर हुने ठहर्छ । सो कुरा बैतडी गौंडा माल समेतलाई सूचना दिई नियम बमोजिम मिसिल बुझाई दिने ।
इति सम्बत् २०१८ साल श्रावण १८ गते रोज ४ शुभम् ।