निर्णय नं. ३०७४ - लिखत बदर

निर्णय नं. ३०७४ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.नं. ५१०
मुद्दा : लिखत बदर ।
पुनरावेदक/वादी: ल.पु.जि.चापागाउँ गा.पं. वडा नं. ६ ताहाखेल बस्ने रामकुमार विष्ट
ऐ.ऐ २ को सरक्षिका आमा भै आफ्ना हकमा समेत ईश्वरी विष्ट ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ल.पु.चापागाउँ गा.पं. वडा नं. ६ बस्ने सानुनानी विष्टिनी
ऐ.ऐ. वडा नं.४ बस्ने मुकुन्द प्रसाद आचार्य ।
फैसला भएको मिति: २०४३।८।९।२ मा
सगोल अंश हकको जग्गा बकसपत्र गरी दिँदा सगोलको अंशियारको मन्जूरी लिन पर्ने । (प्रकरण नं. १३)
अंशबण्डाको १९ नं. मा भएको व्यवस्थामा स्वास्नी छोरा वा विधवा बुहारी भएका मानिसलाई आफ्नो घर व्यवहार चलाउन अचलको आधिसम्म आफ्नो खुश गर्न पाउने गरी अधिकार प्रदान भएको देखिन आउँछ, प्रस्तुत मुद्दामा जस्तो विधवा बुहारी नाति छोरा भएका स्वास्नी मानिसलाई सो अधिकार दिएको भन्न मिल्दैन, प्रस्तुत मुद्दामा सगोलको सम्पत्ति राजीनामा बिक्री गरी दिएको नदेखिई हालैको बकसपत्र गरी दिएको देखिन आएको दान बकसको महलमा सो बमोजिम गर्न पाउने अधिकार कसैलाई प्रदान गरेको नदेखिने ।
(प्रकरण नं. १३)
पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल
उल्लेखित मुद्दाःX
फैसला
न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।५।१२ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. विपक्षी सासू बजै सानुनानी र देवर कान्छा बाबु सानुकाजी विष्ट तथा हामी फिरादीहरू सगोलमा बसी आएको, हाम्रा पति बाबुको स्वर्गे भइसकेकोमा विपक्षीहरूले बाजे, ससुरा, रणबहादुरका नाउँमा रहेको जग्गा मध्ये ल.पु.जि.चागागाउँ गा.पं. वार्ड नं. ६ कि.नं. २ को २–८–२ हामीहरूलाई थाहा नदिई लेनदेन व्यहोराको १० नं. विपरीत मुकुन्दप्रसाद आचार्यलाई २०३९।१।७।३ मा हालैको बकसपत्र गरिदिएकोले ३ खण्डको १ खण्ड बकसपत्र लिखत बदर गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३९।२।२४ को फिरादपत्र ।
३. वादी दावी झुठ्ठा हो । विपक्षीका लोग्ने बाबु गणेशबहादुर प्र.मध्ये सानुकाजी समेतले २०३३ सालमा मलाई थाहा नदिई २०३३।७।२७ मा जिल्ला कार्यालय ललितपुरमा मिलापत्र गरेको छु । सो मिलापत्र अनुसार मैले बकसपत्र गरिदिएको जग्गा सानुकाजीको अंश भाग हो, गणेशबहादुरको भाग पनि छुट्याई निजले भोग गरेको हो । तसर्थ झुठ्ठा दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको सानुनानी र सानुकाजीको संयुक्त प्रतिउत्तरपत्र ।
४. विपक्षीका पति बाबु र प्र.सानुसानी, सानुकाजी बीच पहिले अंशबण्डा छुट्टि सकेको छ, अंश बण्डा लाग्ने भन्ने जग्गामा पनि सो महलको १९ नं. ले घरको मुख्यले अघिसम्म व्यवहार चलाउन आफूखुस गर्न पाउने व्यवस्था छ, तसर्थ झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने मुकुन्दप्रसाद आचार्यको प्रतिउत्तरपत्र ।
५. आधा भन्दा बढी जग्गा प्रतिवादीले मौजुदै राखी विवादित २–८–२ जग्गा हालै देखिको बकसपत्र गरिदिएको कानून अनुरुप नै देखिँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको मिति २०३९।८।९ को फैसला ।
६. सो फैसलामा चित्त बुझेन इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको वादीहरूको वागमती अञ्चल अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।
७. प्रमुख जिल्ला अधिकारीको कार्यालयमा गरेको मिलापत्रबाट विवादित जग्गा वादीका सासू सानुनानी विष्टको नाउँमा परेको देखिएको, अंशबण्डाको १९ नं. ले सासू घरको मुख्य मानिस भएको र आधासम्म घर व्यवहार चलाउन सानुनानीले मञ्जूरी लिइरहन पर्ने आवश्यकता नभएको त्यसमा पनि आफ्नो अंशहकको जग्गा बिक्री गरेको समेत मिलापत्र मिसिल संलग्न देखिँदा लिखत बदर नहुने ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत वागमती अञ्चल अदालतको मिति २०४०।९।२५ को फैसला ।
८. उक्त फैसला उपर चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीहरूको तर्फबाट म.क्षे.अ.मा पर्न आएको निवेदन ।
९. सानुनानीले सगोलको अचल सम्पत्ति आफूखसु गर्न वादीको समेत मञ्जूरी लिनुपर्ने बाध्यता हुँदाहुँदै नलिई बकसपत्र गरेको बदर नठहर्याएको बा.अं.अ.को फैसला नमिलेको हुँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने म.क्षे.अ.को मिति २०४१।२।२९ को आदेश ।
१०. ज.रो. २–८–२ सानुनानीले मुकुन्दप्रसाद आचार्यलाई बकसपत्र दिई सकेपछि पनि निजका नाउँमा आधा भन्दा बढी जग्गा बाँकी नै रहेको देखिएको समेतबाट बा.अं.अ.समेतको फैसला मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को मिति २०४२।५।१२ को फैसला ।
११. अंशबण्डाको १९ नं. को प्रयोग गरी गरेको म.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीहरू तर्फबाट यस अदालतमा पर्न आएको मिति २०४२।६।१० को फैसला ।
१२. म.क्षे.अ.को फैसलामा अंशबण्डाको १९ नं. र लेनदेन व्यवहारको १० नं. को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत यस अदालतको मिति २०४२।६।२३ को आदेश ।
१३. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट देवेन्द्र शमशेर विरुद्ध लिला शमशेरको लिखत बदर मुद्दामा सर्वोच्च अदालत फुलबेञ्चबाट प्रतिपादित सिद्धान्तको आधार लिई व्यवहार चलाउनको लागि आधाभन्दा बढी भई बाँकी राखी बकसपत्र गरिदिएको देखिएको भन्ने आधारमा लिखत बदर नहुने ठहर्याएमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको निवेदन परी पेश हुँदा हालै देखिको बकसपत्र गरिदिँदा वादीको मञ्जूरी लिनपर्ने सो नलिएको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई पेश हुन आएकोमा निवेदकतर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी मुकुन्दप्रसादको तर्फबाट विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले गर्नु भएको बहस जिकिरलाई ध्यानमा राखी म.क्षे.अ.को इन्साफ मिले नमिलेको के हो भन्ने तर्फ विचार गरेमा वादी विपक्षीको दाता सानुनानीको सगोलको अंशियार हो भन्ने विपक्षी तर्फबाट यिनै वादी भई दिएको अंश मुद्दामा अंश पाउने ठहर्याएको अञ्चल अदालतको फैसला उपर विपक्षीको पुनरावेदन नपरेकोबाट स्पष्ट हुन आएको छ र विवादको लिखतको जग्गामा म.क्षे.अ.बाट समेत वादीका दावी बमोजिम लिखत बदर नहुने ठहर्याए पनि दामासाहीबाट सो लिखतबाट वादीले पाउने जग्गाको सट्टा अंश मुद्दाबाट वादी पुनरावेदकलाई विपक्षी सानुनानीको भागबाट कट्टा गरिदिए उपर पनि विपक्षी सानुनानी समेतको यस अदालतमा समेत कुनै निवेदन नपरेकोबाट बकसपत्र गरेको जग्गामा वादीको हक रहेको कुरा स्वीकार गरेकै देखिन आएको छ । यसरी वादीको समेत सगोल अंश हकको जग्गा बकसपत्र गरिदिंदा सगोलको अंशियार वादीहरूको मञ्जूरी लिन पर्नेमा सो नगरी आफ्नो अंश हक नपुग्ने जग्गा समेत दानबकस गरिदिएको दानबकसको १ नं. विपरीत भएको स्पष्ट देखिन आएको छ । यस सम्बन्धमा विपक्षीका विद्वान कानून व्यवसायीले मुकुन्दप्रसादको दाता घरको मुख्य भएको र अंशबण्डाका १९ नं. ले त्यस्तो घरको मुख्यले व्यवहार चलाउनको लागि अचलमा आधीसम्म मञ्जूरी बेगर पनि आफूखुश गर्न पाउने भएको र स.अ.बाट भएका फैसलाहरू समेतबाट क्षेत्रीय अदालतबाट भएको इन्साफ सदर हुनुपर्ने भन्ने जिकिर लिएको पाइन्छ । तर अंशबण्डाको १९ नं. मा भएको व्यवस्थामा स्वास्नी छोरा वा विधवा बुहारी भएका मानिसलाई आफ्नो घर व्यवहार चलाउन उक्त जिकिर बमोजिम अचलको आधीसम्म आफ्नो खुश गर्न पाउने गरी अधिकार प्रदान भएको देखिन आउँछ । तर प्रस्तुत मुद्दामा जस्तो विधवा बुहारी नाति छोरा भएका स्वास्नी मानिसलाई सो अधिकार दिएको भन्न मिल्ने देखिन आउँदैन । उसमा पनि प्रस्तुत मुद्दामा सगोलको सम्पत्ति राजीनामा बिक्री गरिदिएको नदेखिई हालैको बकसपत्र गरिदिएको देखिन आएको दानबकसको महलमा सो बमोजिम गर्न पाउने अधिकार कसैलाई प्रदान गरेको देखिन नआएकोले समेत लिखतमा बकसपत्र गरिदिएको जग्गाको मोल खुलाउनको लागि रु. १५,०००।– उल्लेख भएकै कारणबाट घर व्यवहार चलाउन सो लिखत गरेको सदर हुनुपर्ने भन्न नमिली विपक्षीतर्फको यो जिरह मनासिब नदेखिई वादीतर्फका विद्वान वकिलको बहस मनासिब देखिन आएकोले दावी बमोजिम वादीतर्फको भाग ३ खण्डको १ खण्ड बदर गर्नुपर्नेमा सो नगरी दावी बमोजिम लिखत बदर नहुने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी रामकुमार विष्ट, कृष्ण कुमार विष्ट र इश्वरी विष्टके माथि इन्साफ खण्डमा लेखिए बमोजिम लिखत बदर हुने ठहरी इन्साफ उल्टी भएकोले शुरु ल.पु.जि.अ.मा फिराद दायर गर्दा वादीहरूले राखेको कोर्ट फी रु. १०।– वागमती अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. १।५० म.क्षे.अ.मा पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फी रु. १।५० र सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फी रु. १।५० गरी जम्मा रु. १४।५० देहयका प्रतिवादीहरूबाट बराबरका दरले भरिपाउने हुँदा ऐनका म्यादभित्र दर्खास्त परे कानून बमोजिम गरी भराई दिनु भनी शुरु ल.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१
प्र.सानुनानी विष्टनी....१
प्र.मुकुन्दप्रसाद आचार्य...१
मिसिल नियम बमोजिम गरी बुझाई दिनु...१
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४३ साल मार्ग ९ गते रोज २ शुभम् ।