निर्णय नं. १३७ - जग्गा जालसाजी

निर्णय नं. १३७ ने.का.प.२०१८
डिभिजन बेञ्च
का. मु प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षत्री
दे. डि. नं. ४८८
निवेदक, वादी : ह. मानवीर मास्के राना मगर
विरुद्ध
विपक्षी, प्रतिवादी : विष्णुगोपाल उपाध्यायसमेत
मुद्दा : जग्गा जालसाजी
(१) अदालती कारवाई विविध व्यवस्था ऐन, २०१७ को दफा १८ अन्तर्गत कस्तो म्याद तारिख थामिने ? तारिख गुज्रेको थमाउने म्याद बाँकी नै भएमा र तारिख गुज्रेको कारण मनासिब नठहरेमा उपरोक्त ऐनले पाउने सुविधा दिन नमिल्ने ।
अदालती कारवाई विविध व्यवस्था ऐन, २०१७ को दफा २८ अन्तर्गत उक्त ऐनले पनि ३५ दिन भित्र निबेदनपत्र परेपछि थामिन पर्ने भन्ने हकलाई पनि उक्त ऐनको उक्त दफामा “प्रचलित नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभए गुज्रेको मितिले ३५ दिन सम्ममा मनासिब कारण देखाई थामी माग्न आएमा त्यस अघि जति पटक गुजारी थमाएको भए पनि थामी दिन सक्ने छ भन्ने उल्लेख भएको । यस्तो तारिख गुज्रेको थमाउने म्याद म्याद बाँकी भएकोमा तारिख गुज्रेको कारण मनासिब नठहरी तारिख नथामिएकोमा उक्त ऐनले पाउने सुविधा दिन मिल्दैन । अन्य कानूनले थाम्ने म्याद भित्र थामी त्यसपछि गुज्रेको तारिखमात्र यो ऐन अन्तर्गत कारण मनासिब परी गुज्रेको भए थामिने हुँदा निवेदकको तारिख कारण मनासिब नदेखि नथामिने भईसकेकोले यो ऐनबाट पनि नथामिने ।
(प्रकरण नं. ४)
फैसला
१. उक्त मुद्दा २०१४ साल पौष १६ गते श्री माननीय न्यायाधीश तिलक शम्शेरबाट फैसला गरेपछि ह. घमान बीरको निवेदनपत्र परी ०१५।१२।२१ गते पुनः बिचार गर्न भनी रिभ्यूको निस्सा गरी दिनु भएबाट दायर हुन आएकोमा निज निवेदकको वा. चन्द्र कान्तले ०१८ साल आषाढ १९ गते हाजिर हुनु पर्ने दोश्रा पटकको तारिख गुजारी ०१८ साल श्रावण १० गते सो दोश्रा पटकको तारिख ज्वरोको व्यथाले हाजिर हुन नसकी गुज्रियो दोस्रा पटक ३० तिस दिन भित्र हुँदा थामी पाउँ भनी निवेदनपत्र दिएकोमा का. मु. रजिष्ट्रारले थामी पाउने म्याद भित्रनै फाँटमा हाजिर भईरहेको भन्ने बुझिएकोले थाम्न चाहे ७ सातै दिन भित्र थाम्न सक्ने अबस्थामा पनि नथामी बसेको देखिनाले र कबीराजको सर्टिफिकेटबाट पनि सातौं दिन देखि मात्र आउँन नसक्ने अबस्थामा हुनुहुन्छ भन्ने देखिएकोले यो गुज्रेको तारिख थामिन सक्दैन । ऐन सवाल बमोजिम गर्नु भन्ने आदेश दिनु भई निबेदकको दोस्रा पटकको तारिख गुजारी थमाउने म्याद बाँकी नभएको भनी डिससिसको लागि पेश गर्न ल्याएको रहेछ ।
२. बिरामी भई दोश्रा पटकको तारिख गुज्रेको ३० दिन भित्रै श्रावण ८ गते हुलाकबाट निवेदनपत्र दिएको । अदालतको करवाईको बिशेष व्यवस्था गर्न बनेको ऐनको दफा २८ ले पनि ३५ दिन भित्रै निवेदन परेको । का. मु. रजिष्ट्रारले थामी दिन पर्ने तारिख थामिन सक्दैन भनि तोक लगाउनु भयो । तारिख थामी पाउँ भन्ने निवेदक ह. घमान बीरको वा. चन्द्रकान्तको र सर्वोच्च अदालतमै परेको अर्को बद्रीप्रसाद श्रेष्ठको र गणेश जंगको हरहिसाव गरी घर फिर्ता पाउँ भन्ने मुद्दामा आषाढ २० गतेको र आषाढ २८ समेत पटक पटक चन्द्रकान्त हाजिरै छन् । मुद्दा टुंग्याई दुःख हैरानी मात्र दिएको विविध ऐन अन्तर्गत भनी जो मागेको छ सो ऐनको मनसाय यस्तो आफूले साधारणतया पाउने पहिला दोश्रा पटक को जो कारण परि थाम्न मागेको छ सो झुट्टा ठहरी थामी नपाउने नथामिने भई सकेपछि उक्त ऐनले दिएको अर्को सुविधा अनर्थ गरी माग्दै हुनुहुन्छ भन्ने समेत विपक्षी विष्णु गोपालको वा. मनमोहनको समेत निवेदनपत्र परेको रहेछ ।
३. का. मु. रजिष्ट्रारले तारिख थामी नदिएको ठीक बेठिक के हो ? भनी हेर्दा सर्व प्रथम ज्वरो आई तारिख गुजिय्रो तारिख थामी पाउँ भनी चन्द्रकान्तको निवेदनपत्र । कबीराजले दिएको निस्सापत्रमा सुल भएको भनी लेखिएकोबाट कबीराजको भनाई र निवेदकको भनाई फरक परी बेहोरै झुट्टा देखिएको । दोश्रो बद्रीप्रसाद श्रेष्ठको र गणेश जंगको हरहिसाव गरी घर फिर्ता पाउँ भन्ने मुद्दामा यो चन्द्रकान्त २०१८ साल आषाढ २० गते ऐ. २८ गते श्रावण ३ गते समेत पटक पटक हाजिर भई तारिखमा रहेको देखिएको । त्यस्तो अरु मुद्दामा एउटै अड्डाको सोही फाँटमा पटक पटक हाजिर भई रहन सक्ने । यो मुद्दामा मात्र बेरामी परी हाजिर हुन सकिन भन्ने भनाईलाई भोलिपल्टै देखि उक्त मुद्दामा पटक पटक हाजिर भएको देखिएकोले बेरामी परेको कारणबाट अड्डामा हाजिर हुन नसकि तारिख नथमाएको भन्ने कारण मनासिव भन्न भएन ।
४. अदालती कारवाई विविध व्यवस्था ऐन, २०१७ को दफा २८ अन्गर्तगत उक्त ऐनले पनि ३५ दिन भित्र निवेदनपत्र परेपछि थामिन पर्ने भन्ने हकलाई पनि उक्त ऐनको उक्त दफामा “प्रचलित नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभए गुज्रेको मितिले ३५ दिन भित्र सम्ममा मनासिब कारण देखाई थामी माग्न आएमा त्यस अघि जति पटक गुजारी थमाएको भए पनि थामी दिन सक्ने छ” भन्ने उल्लेख भएको । यस्तो तारिख गुज्रेको थमाउने म्याद बाँकी भएकोमा तारिख गुज्रेको कारण मनासिब नठहरी तारिख नथामिएकोमा उक्त ऐनले पाउने सुविधा दिन मिल्दैन । अन्य कानूनले थाम्ने म्याद भित्र थामी त्यसपछि गुज्रेको तारिखमात्र यो ऐन अन्तर्गत कारण मनासिब परी गुज्रेको थामिने हुँदा निवेदकको तारिख कारण मनासिब नदेखि नथामिने भईसकेकोले यो ऐनबाट पनि नथामिने हुँदा उक्त कारणबाट निवेदकको तारिख का. मु. रजिष्ट्रारले नथामी दिएको मनासिब छ ।
५. निवेदकको तारिख थमाउने म्याद बाँकी नभएकोले अ. बं. २२६ नं. का ऐन बमोजिम डिसमिस हुन्छ । झिकाई आएको झगडियाको तारिख छुटाई दिनु । शुरु दन्ड मो. रु. २२०।८८ को सर्वोच्च अदालत ऐन, २०१३ (संशोधन सहित) को दफा १६ बमोजिम दोश्रा अपील सरह हा. का. १० नं. ले बिसौद रु. ११।५ को डिसमिस गराए वापत अ. बं. २२८ नं. ले सयकडा ५। ले ने. रु. ।५६ निवेदक घमान बीरलाई दन्ड हुन्छ । बेरुजु हुँदा तहसीलमा लगत दिई मिसिल नियम बमोजिम बुझाई दिनु ।
इति सम्बत् २०१८ साल भाद्र १४ गते रोज ४ शुभम् ।