निर्णय नं. ३०७६ - हक कायम लिखत बदर

निर्णय नं. ३०७६ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.नं. ४८६
मुद्दा : हक कायम लिखत बदर ।
पुनरावेदक/वादी: जिल्ला कास्की पो.न.पं. वडा नं. ५ पस्याङ बस्ने गीरा कोइराला ।
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने रमादेवी कोइराला ।
ऐ.ऐ बस्ने शंकर प्रसाद कोइराला ।
फैसला भएको मिति: २०४३।९।९।४ मा
अदालतमा मुद्दा नपरी घरसारको रजिष्ट्रेशन पारीत भएको बण्डापत्रमा अंशबण्डाको २० नं. को त्रुटि हुने अवस्था नै भएन बिज माना ।।२ को जग्गा मध्ये बिज माना ।।१ को जग्गा अंशियारको अंश भागमा पर्ने भन्ने उल्लेख भएको अवस्थामा बाँकी बिज माना ।।१ को जग्गाको सम्बन्धमा वादीलाई जानकारी भएन र बण्डापत्रमा जग्गा नै उल्लेख गरेन भन्न मिलेन ।
(प्रकरण नं. ९)
दावीको जग्गा राजीनामा गरिसकेपछि मात्र दपोटमा उजूर गरेको देखिँदा सगोलको सम्पत्ति किने बेचेको अवस्थामा वा सगोलमा रहँदाको अवस्थामा मात्र लेनदेन व्यवहारको १० नं. अन्तर्गत उजूर लाग्ने हुँदा लेनदेन व्यवहारको १० नं. को त्रुटि भएको भन्न पनि मिलेन ।
(प्रकरण नं. ९)
छुट्टी भिन्न भएको अंशियारले हस्तान्तरण भई सकेको सम्पत्ति लिखत बदर गराउन पाउँछ भन्न मिलेन ।
(प्रकरण नं. ९)
पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री रेवन्तकुँवर
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे
उल्लेखित मुद्दाःX
फैसला
न्या.रुद्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् :– बुढा ससुरा दिनानाथका नाउँमा २०१९ सालका जाँचमा द.नं. ८२ मा दर्ता भएको विजमाना ।।६ मध्ये बिजमाना ।।२ हाम्रो पछिको हक हुन आएकोमा हामीहरूको पनि ०३२।१०।२१ मा बण्डापत्र रजिष्ट्रेशन पास गरी अंश छुट्टि भिन्न भएको सो बिज ।।२ मध्ये बिज ।।१ बण्डापत्रमा कुनै उल्लेख छैन बण्डापत्रको कागजमा दवाएको रहेछ । दवाएको पाको गराउन पनि शंकरप्रसादले कान्छी सासु विपक्षी रमादेवीलाई हालको क्षेत्रफल उल्लेख गरी रु. १५,०००।– हजार मूल्य देखाई बेइलाका परासी मालपोत मार्फत ०३५।५।२६ मा राजीनामा पारीत गरेछन् यसरी दवाएर राखी बिक्री समेत गरेको सम्पत्ति मेरो हक लाग्ने हुँदा अंशबण्डाको २७ नं. र लेनदेन व्यवहारको ४० नं. बमोजिमको प्रयोजनार्थ उक्त लिखत बदर गरी हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको ०३७।६।३१ को फिरादपत्र ।
२. बण्डापत्र खडा गरेको कुरामा अंश बण्डाको २७ नं. प्रयुक्तै हुँदैन विपक्षी सासु ज्ञान धाराका भागमा बिज ।।१ भन्ने बण्डापत्र भई लेखिएको छ । हाल सर्भेबाट कायम भएको कि.नं. १०७२ को क्षेत्रफल ३–२–३½ मध्ये १–११–१ मात्र मैले लिएको हुँ १–७–२½ अझ बाँकी छ । विपक्षीको लोग्नेले सरकारी बाँकी बुझाउन म बाट रकम लिई त्यसमा जग्गा राजीनामा गरी दिएको हो पुरै लिखतको सम्पत्तिको हकदार पनि वादी होइनन् । दपोटको सम्पत्ति नहुँदा लिखत बदर हुनु पर्ने होइन भन्ने समेत व्यहोराको रमादेवीका प्रतिउत्तरपत्र ।
३. प्रतिवादीले अनिवार्य रुपमा लेनदेन व्यवहारको १० नं. बमेजिम लिनु पर्ने मञ्जूरी नलिई राजीनामा पारीत गरी प्रतिवादी रमादेवीले लिएको उक्त सम्पूर्ण लेखत बदर हुन्छ । कि.नं. १०७२ को जग्गा वादी दावी बमोजिम अंश बण्डाको २७ नं. बमोजिम हुने ठहर्छ भन्ने समेत ०३७।३।१३ को कास्की जिल्ला अदालतको फैसला ।
४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.रमादेवी कोइरालाको ग.अं.अदालतमा परेको पुनरावेदनपत्र ।
५. शुरु कास्की जिल्ला अदालतले प्र.शंकरप्रसादले प्र.रमादेवीलाई गरिदिएको सम्पूर्ण जग्गाको लिखत बदर गर्ने गरेको र कि.नं. १०७२ को जग्गा अंशबण्डाको २७ नं. बमोजिम हुने ठहर्याई ठरेको इन्साफ मिलेको नदेखिँदा शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत ०३९।३।१०।५ को गण्डकी अञ्चल अदालतको फैसला ।
६. गण्डकी अञ्चल अदालतको फैसला कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट दिएको रहेछ ।
७. वादी प्रतिवादीका बीच भएको ०३२।१०।११ को बण्डापत्रमा विवादित जग्गा मध्ये एक माना जग्गा ज्ञानधाराका भागमा परेको र प्रतिवादीको भनाई अनुसार प्रतिवादी शंकरप्रसादलाई मुद्दा लाग्दा बाँकी वापत चुकाउन रकम लिएको र पछि र राजीनामा गरी दिएको भन्ने देखिन्छ । राजीनामा गरिसकेपछि मात्र दपोट गरेको भन्ने वादीको दावी देखियो । उपरोक्त बण्डापत्रमा जग्गा नै उल्लेख नभएको अवस्था देखिएन । यस स्थितिमा दपोट गरेको भन्न मिलेन । त्यस्तो जग्गाको राजीनामा लिखतको हकमा छुट्टि भिन्न भएको अंशियारीले बदर गराउन पाउने भएन । तसर्थ गण्डकी अञ्चल अदालतको इन्साफमा कुनै कानूनी त्रुटि भएको नदेखिँदा परिवर्तन गर्नु परेन । गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।२।२३।४ को फैसला ।
८. उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी गीता कोइरालाले यस अदालतमा दिएको निवेदनमा मिति ०३२।१०।२१ मा बण्डापत्र रजिष्ट्रेशन पास हुँदा बिज ।।२ मध्ये बिज ।।१ बण्डापत्रमा उल्लेख नभएको उक्त जग्गा मेरो अंश हक मार्ने उद्देश्यले पनि शंकरप्रसादले सासु रमादेवीलाई राजीनामा गरिदिएकोले उक्त लिखत बदर गरी हक कायम गरिपाउँ भन्ने वादी दावा भएकोमा प.क्षे.अ.बाट निर्णय हुँदा अंश दपोटतर्फ कुनै निर्णय नगरी लिखत बदरतर्फ मात्र निर्णय गरेको फैसलामा अंशबण्डाको २०, २७ र लेनदेन व्यवहारको १० नं. को त्रुटि देखिएकोले यस अदालतबाट पुनरावेदनको अनुमति दिइएको रहेछ ।
९. यसमा नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रेवन्तकुँवरले घरसारको बण्डापत्र लिखत रजिष्ट्रेशन पारीत भएकोमा प्रतिवादी शंकर कोइरालाले दावीको जग्गा बण्डापत्रमा नदेखाएकोले अंशबण्डाको २७ नं. ले दपोट गरेको ठहर्ने र सो दपोट गरेको जग्गा राजीनामा गरेकोले राजीनामामा समेत बदर हुनु पर्दछ भन्ने समेत र विपक्षीतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले अदालतमा मुद्दा नपरी घरसारको लिखत रजिष्ट्रेशन पारीत गरेकोमा दपोट हुने कानूनी व्यवस्था छैन । अंश मुद्दा परी अदालतबाट तायदाती माग गरेको सन्दर्भमा पेश गरेको तायदातीको फाँटवारीमा नदेखाएको सम्पत्ति मात्र अंशबण्डाको २७ नं. अनुसार दपोट नठहर्ने कानूनी व्यवस्था छ । (ने.का.प. ०४२ पृ. ६२१ नि.नं. २४१५ नि.वा.रोहिणीप्रसाद पन्त समेत वि.पु.प्र.देवदत्त, वि.प्र. देवदत्त उपाध्याय समेतमा प्रकाशित) स.अ.डि.बे.बाट भएको फैसलामा अंश मुद्दा परी अदालतबाट माग गरेको अंशको फाँटवारीमा नदेखाएको सन्दर्भमा मात्र अंश दपोट हुने, घरसारको रजिष्ट्रेशन पारीत भएको लिखतको आधारबाट दपोट मुद्दा नलाग्ने भन्ने सिद्धान्त प्रतिपादित भइसकेको देखिन्छ । अतः प.क्षे.अ.ले गरेको इन्साफ सदर हुनु पर्ने भन्ने समेत बहस गर्नु भयो । अब प.क्षे.अ.बाट भएको फैसला मिलेको छ छैन भन्ने तर्फ विचार गरेमा मिति ०३२।१०।२१ मा बण्डापत्र रजिष्ट्रेशन पास हुँदा बिज माना २ मध्ये १ माना बण्डापत्रमा उल्लेख नभएको उक्त जग्गा मेरो अंश हक मार्ने उद्देश्यले शंकरप्रसादले रमादेवीलाई राजीनामा गरिदिएको उक्त लिखत बदर गरी हक कायम गरिपाउँ भन्ने वादी दावा भएकोमा प.क्षे.अ.बाट निर्णयमा अंश दपोटतर्फ कुनै निर्णय नै नगरी लिखत बदरतर्फ मात्र निर्णय गरेको अंशबण्डाको २०, २७ र लेनदेन व्यवहारको १० नं. को समेत त्रुटि देखिएको भनी यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको रहेछ । प.क्षे.अ.को फैसला हेर्दा दपोट गरेको भन्न मिलेन भन्ने समेत उल्लेख भइराखेको दपोटतर्फ पनि प.क्षे.अ.ले निर्णय गरेको पाइन्छ । अदालतमा मुद्दा नपरी घरसारको रजिष्ट्रेशन पारीत भएको बण्डापत्रमा अंशबण्डाको २० नं. को त्रुटि हुने अवस्था नै भएन । बिजमाना ।।२ को जग्गा मध्ये बिज माना ।।१ को जग्गा अंशियार ज्ञानधारीको अंश भागमा पर्ने भन्ने उल्लेख भएको अवस्थामा बाँकी बिजमाना ।।१ को जग्गाको सम्बन्धमा वादीलाई जानकारी भएन र बण्डापत्रमा जग्गा नै उल्लेख गरेन भन्न मिलेन । सर्भे नापी हुँदा शंकरप्रसादले जग्गा आफ्नो नाममा गराउँदा पनि सर्भे नापीको सन्दर्भमा पनि वादीले विरोध जनाई आफ्नो हक कायम गराएको देखिँदैन । प्र.शंकरप्रसादले दावीको जग्गा राजीनामा गरिसकेपछि मात्र दपोटमा उजूर गरेको देखिँदा सगोलको सम्पत्ति किने बेचेको अवस्थामा वा सगोलमा रहँदाको अवस्थामा मात्र लेनदेन व्यवहारको १० नं. अन्तर्गत उजूर लाग्ने हुँदा लेनदेन व्यवहारको १० नं. को त्रुटि भएको भन्न पनि मिलेन । छुट्टि भिन्न भएको अंशियारले हस्तान्तरण भई सकेको सम्पत्ति लिखत बदर गराउन पाउँछ भन्न मिलेन । अतः वादी दावी नपुग्ने ठहर्याएको अं.अ.को इन्साफ सदर गरेको प.क्षे.अ.को इन्साफमा कुनै त्रुटि देखिन नआएकोले प.क्षे.अ.को को इन्साफ मनासिब ठहर्छ। नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्र केशरी बास्तोला
इतिसम्वत् २०४३ साल पौष ९ गते रोज ४ शुभम् ।