शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४० - खुन (ज्यान)

भाग: साल: २०१८ महिना: कार्तिक अंक:

निर्णय नं. १४०                  ने.का.प.२०१८

फुलबेञ्च

का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

फौ. फु. नं. ४

निवेदक, प्र : अम्बरबहादुर समेत

विरुद्ध

विपक्षी वा. : चन्द्रबहादुर राई

मुद्दा : खुन (ज्यान)

(१)   यसैले यसो गरी दिएको भन्ने कुराको एकै मुख भएमा फलाना फलानै कारणबाट फलानै ठाउँमा भन्ने कुरामा दुई राय नभएमा आगोमा हाली पोली दियोभन्ने शब्दबाट आगो सल्की गरेको अर्थ नआउने कामातुरबाट मानसिक स्थितिमा बाधकलाई जे गर्न पनि सम्भावना हुने । खुन जस्तो फौज्दारी मुद्दामा नियत र मनसायको धेरै महत्व हुने ।

            आइमाईको बयानको कुरामा आगोमा हालेको समयमा केही फरक देखिए पनि यिनै सिपाहीहरूले नै पोली दिएको कुरामा सबैको एकैमुख भएको । मर्नेकी आमा आफ्नो छोरा हेर्न लिन जाने बिषयमा बयानहरूमा केही कुरा फरक परेको हकमा ८ जना मध्ये ६ जनाको बयानमा स्वास्नी मानिसहरूले घर गई भनेपछि नै आमा गएकी । उसमा पनि पुलिसमा पहिला रिपोर्ट दिने मर्नेकी बाबुले आफ्नो जहानहरूबाट नै कुरा सुनी थाहा पाई छोरी बुहारीले भन्न आएपछि आमा गएको भनेको नै भएकोले त्यतिको फरक परेको भन्न नहुने । मुख्य आरोप लगाइएका सिपाहीहरू त्यति रातको बीच आफ्नो क्याम्पको अडर उर्दी मिची सो वारदात भए गरेको खलागरामा लुकी छिपी गएकोमा साबितै रहेको । त्यस्तो आफू र आफ्नु नोकरीमा समेत धक्का पुग्ने किसिमको काम साधारण रूपले नै गर्‍यो होला भन्न नमिल्ने । उजुरवालाहरूको यिनै सिपाहीहरू सित केही अधिको रीसइवी थियो भनी कतैबाट देखिन नआउने । तसर्थ, ति आइमाईहरूले आफूहरुमाथि त्यस्तो बेईज्जत हुने कुरा बनाई झुट्टा आरोप लगाउने कारण देखिन नआएको । मर्नेकी आमाले घटनास्थलबाट छोरा ल्याएपछि पुलिस कारवाई पट्टी नगई प्रथमतः त्यहि फुश्रे मलाया क्याम्पमा नै गई उजुरी गरेको कुरा मेजर मानशेर राईको बयानबाट पनि देखिन आएको । निज सिपाहीहरूको बयानबाट वारदात भएको दिन बेलुकी ४ बजेको टायममा सर्दुखोलामा नुहाउँन गएको बखत राइनी केटीहरूले भरे राती तपाँईहरू खलामा आउनु भनेबाट गएको र सबै मिली रक्सीहरू खाएको देखिएको र त्यसपछि करणीको कुरा बिषय ति आइमाईहरूको बयानमा किटानसाथ उल्लेख भएकोले त्यस्तो कामातुरको अबस्थामा पुगेपछि त्यसमा बाधक हुनेलाई जे गर्न पनि सम्भावना हुन जाने । पोष्टमार्टम रिपोर्टबाट मर्ने चंखे आगाले नै पोली मरेको र दुबै पक्षका कुराबाट पनि मर्नको कारण घटनास्थल इत्यादि कुरामा २ राय नभएको र मर्ने चंखेले आमालाई आगोमा हाली पोली दियो भन्ने कुराबाट पनि आफै आगो सल्की डढी मरेको भन्ने अर्थ गर्न नमिल्ने । यस्तो खुन जस्तो फैजदारी मुद्दामा नियत र मनसायको पनि धेरै महत्व हुने । त्यस्को सम्भावनाको बिचार गर्दा वादी तर्फबाट प्रतिवादी सिपाहीहरूले जिकीर लिए जस्तो बदनाम गराउने नियतबाट नै गरेको हो कि ? भन्नालाई त्यस्तो आगामा पोली छोरो मरणासन्न भएको अबस्थामा छोरोको ज्यान औषधी उपचारको आशा समेत लिई जाने आमाले सो मलाया क्याम्पमा पुगेपछि नभए नगरेको आरोपको कुरा गर्न जानु स्वभाबिक नदेखिने र उसमा पनि छोरालाई घटनास्थलबाट वर ल्याएपछि अरु निहित स्वार्थ भएका व्यक्तिहरूसँग मर्नेको आमाको राय सल्लाह भेटघाट मुलाकात भए गरेको न कसैको जिकीर भएको न कतैबाट देखिन आएको । उता प्रतिवादीहरू पट्टीको सम्भावना बिचार गर्दा माथि उल्लेख भए बमोजिम कामातुर भईसकेको मानसिक स्थितिमा बाधकलाई जे गर्न सक्ने पनि सम्भावना रहने भएकोले र सर्वोच्च अदालत डिभिजन बेञ्चको २०१६।५।२८।१ मा भएको फैसलामा लेखिएका बुँदा प्रमाणबाट समेत प्रतिवादीहरूले आगोमा हाली डढाई दिएका पीरबाट चंखेबहादुर मरेकोले निवेदक प्रतिवादीहरूलाई दामल गर्ने ठहराई छिनेको सो सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मुनासिब छ ।

 (प्रकरण नं. १५)

            (सर्वोच्च अदालत डिभिजन बेञ्च २०१६।५।८।१ को फैसला हेर्नोस् प्रकरण नं. १४ मा !)

निबेदक तर्फबाट : सि. एडभोकेट देवनाथप्रसाद वर्मा र वैतनिक एडभोकेट तोपबहादुर

फैसला

            १.     २०१४।८।१८ गते धान झाँट्न छोरो कृष्णबहादुर निजकी जहान पशुपति, काहिलो छोरो चंखबहादुर भतिजी ठिकीमाया समेत गएको । फुस्रे ब्रिटिस मलाया क्याम्पका नेपाली सिपाही ५ जना सो ठाउँमा अं. ८ बजे रात आई सगाउँछौं भनी धान झाँटे । आधा धान झाँटेपछि २ जना फर्के । बाँकी ३ जनाले छोरा कृष्ण बहादुरलाई घर जाउ भनी लप्की झप्की गर्न लाग्दा निज घर तर्फ लागेछ । छोरो चंखबहादुर खलाको पूर्व पट्टी सुतेछ । किन गएन भनी अन्यायीले भन्दा भाउजु दिदीलाई एक्लै कसरी छोडेर जानु म त जान्न भन्दा यो ता निकै बाठो हुँ भन्दो रहेछ । यसलाई खतम गर्नु पर्छ भनी धान परालमा आगो लगाई सोही बल्दो आगोमा ३ जनाले नै जबरजस्ती पकडी आगोमा हाली भतिजी बुहारीलाई जवरजस्ती पक्री करणी गरेछन् । बुहारी समेत राती ३ बजे घर आई भन्दा मेरो जहानवाला सुरी हेर्न जाँदा आगो लगाएको ठाउँमा छोरो नदेखि यताउती खोज्दा पहरामा आमै मरें मरें भनी कराउँदो रहेछ । सो सुनी जहानले घर लगी राखी १९ गते मलाया क्याम्पमा कराउँदा औषधि गरी दिन्छु भनी लगी औषधि गर्न लागेपछि, म मदेसबाट आई जाहान समेतबाट थाहा पाइ हेर्न जाँदा सो दिन ५ बजे बेलुका छोरो चंखबहादुर मरेकाले लास समेत मेरा जिम्मा दिएको उठाई वारदातमा छाडेको सतीसालको मुठ्ठी भरको लठ्ठी समेत लिई दाखेल गरेको छु । छोरो चंखबहादुर कर्तव्यबाट मर्न गएकाले भतिजी छोरो बुहारी समेत बुझी मार्ने अपराधीको सनाखत समेत गराई कसूर अनुसार सजाय समेत गरी पाउँ भन्ने ०१४।८।२० को चन्द्रबहादुर राईको दर्खास्त र छोरोको लास मलाया क्याम्पका अफिसरले धरान ठानामा दाखेल गरे भन्ने सुनें । धरान अस्पतालमा देखाउँदा देखें भन्ने र छोरी बुहारीलाई करणी गर्ने नियतमा छोरालाई नहटेकोबाट आगोमा हालेको होला भन्ने समेत निजकै ०१४।८।२१ गतेको बयान ।

            २.    ०१४।८।१८ गते मर्ने देवरसमेत घरबाट आई धान दाँई गरी रहेको बखत ८/९ बजे तिर मलाया क्याम्पका मिल्टरी ५ जवान आई केहि छिन पछि २ जना फर्के । ३ जनाले १२ बजे तिर घर जा भनी लोग्नेलाई कुट्न खोज्दा लोग्ने भागी गए । त्यसपछि देवरलाई हकार्दा दिदी भाउजु छोडी जान्न भन्दा देवर देखि रिसाई ३ जना मध्ये १ जनाले धानको कुरियामा सलाई कोरी आगो बाली आगो बलेपछि ३ नै जनाले देवर चंखबहादुरलाई आगोमा फाली दिई २ जनाले मलाई समाई राखी १ जनाले फरीया उठाइ जबरजस्ती करणी गरिसके पछि निज उठी निजले समाई अर्काले फेरी जवरजस्ती करणी गरेपछि छाडी भागे र म पनि उठी घर जान लाग्दा बहिनीलाई भेटी दुवै एक छिन डरले बारीमा बसी बिहानपख गई सासुलाई भने पछि सासु आई देवरलाई घर ल्याई राखेको बिहान मलाया अस्पताल लगेको । उसै दिन साँझमा मरे । सो व्यहोराबाट देवरलाई मारी करणी गरेको हो । अड्डाको रोहवरमा देखाई नाउँ सोध्दा अम्बरबहादुर गजुर सिं भनेकोले निजहरू करणी गरी रहेको बखत देवरले भाउजु भनी कराई रहेको थियो । करणी गरे पछि निजहरूले उठाई पाखामा फालेको हो भन्ने समेत बयान र मेरो बयानमा लेखिएका मानिस बाहेक फागुण सरी १ देवर साहिला भक्तबहादुर १ मोहनीबहादुर १ डिठ्ठा भन्ने राई सिमेन्टि वा बालु मिसिन चलाउने १ समेत थिए । बयानमा २ जनाले करणी गरे भनी सनाखत गरेकेमा गजुर सिंहले मात्र करणी गरेको हो । त्यस बेला डरले भन्न नसकेकी हुँ भन्ने समेत पशुपति राइनीको ततिम्बा बयान ।

            ३.    सो मार्ग १८ गते म समेत धान झार्न लागेका थियौं । रातको ८/९ बजे मलाया क्याम्पका सिपाई ५ जना आई सगाई लागि केही बेर काम गरी २ जना गए । ३ जना थिए । दाजु कृष्णबहादुरलाई तँ यहाँ नबस् भनी धम्की दिंदा भागी गएँ । चंखबहादुर भागेन । बरु तिमीहरू जाओ भनी जवफ दिई भाउजु दिदी छाडी जान भनेपछि मलाई करणी गर्ने चाहिंले परालमा सुतेको चंखेलाई सलाई बाली परालमा आगो बाली पोली दिए । अरु २ जनाले समाती आगोमा हाली दिए । सो बखत १/२ बजेको हुँदो हो । त्यति गरेपछि मलाई १ जनाले बलजफतीबाट १ पटक करणी लिएको हो । त्यस पछि म र भाउजु भई आमा बलेस्वरीलाई सबै कुरा सुनाई दिएका हौं भन्ने समेत टिकी मायाको बयान र पशुपतिको ततीम्बा बयान बमोजिमका मानिस भएका अबस्थामा मलायाको मानिस आएर पछि डिठ्ठा भन्ने र मोहिनीबहादुर गए । अरु मात्र थिए भन्ने निजकै ततिम्बा बयान ।

            ४.    मार्ग १८ गते छोरो कृष्णबहादुर निजकी स्वास्नी २ जना र भतिजी मर्ने चंखबहादुर धान झार्ने काममा अएका थिए । राती धान झारी कसैले खलो कुरी छोरो कृष्णबहादुर रात ३ बजे घर आयो र निज सुतेको र त्यसको केहि बेरमा मेरो निंद्रा टुटी राती बाहिर निस्की हेर्दा खेतमा आगो बलेको देखी दौड्दै खेतमा आउँदा खलोमा आगो लागेको र खलो देखि १० गज पछि अ‍ैया अ‍ैया भनेको आवाज सुनी हेर्दा छोरालाई घायल देखि के भयो भन्ने कुरा गर्दा मलाई आगोमा हाली पोली दिए भन्ने कुरा बोलेको । यो यस्ले पोले भन्न नसकी बेहोस भएकाले रातमा छोरालाई म आफैले बोकी घर ल्याएकी हुँ । खेतमा छोरी बुहारीलाई देखिंन । म घर पुगेपछि छोरी पनि घर पुगिछन् । सोधनी गर्दा करणी गरे पोलेको कुरा भनेबाट १९ गते मलाया क्याम्पमा गई भन्दा औषधी गर्न लगेको सो दिन ४।४।। का बखत छोरो मरेको हो । भतिजा बुहारीले सनाखत गरेको जवान उपर शंका लाग्छ भन्ने समेत बलेश्वरीको बयान ।

            ५.    २०१४।८।२१ मा पोष्टमार्टम (पुलिस केश फारम) र ०१४।८।२२ देखि ऐ २३ गते तक सरजमिन मौका तहकित मुचुल्का समेत भएको ।

            ६.    सो १८ गते बेलुका ४ बजे हामी गजुर सिं, डम्बर सिं समेत सर्दु खोलामा नुहाउन गएको थियौं । तामाखान गाउँको राइनी केटी बसी रहेकी रहेछ । त्यहाँ पुगेपछि नुहाउँने तरखर ग¥यौं । त्यसै बखत ति दुबै केटीहरूले हाम्रो धानको खलो त्यहीं नीर छ, भरे राती तपाँईहरू तिनैजना आउनु होला । हामी तिहीं रहनेछौं भनेकाले ९,१० बजेको टायममा आउँला भनी दिएपछि उनीहरू गए । हामी क्याम्प तर्फ आयौं । भात खाई डिउटीको उर्दी भई सकेपछि र सबै सुती सकेपछि हामी ३ जना खलो तर्फ गएका हौं । पौने १० बजे हामी पुगेपछि २ जना केटी र अर्को एउटा मैले नदेखेको केटी र १ हामीलाई बोलाउने मध्येकीको लाग्ने १ उस्को भाई (डडेको भनेको) १ समेत र नाउँ नजानेको तामाखान गाउँकै लोग्ने मानिस २ जना दाँई गरी रहेका रहेछन् । हामी आगो तापी हेरी रहेका थियौं । एक छिनपछि उनीहरू दाँई छोडी आगो ताप्ने ठाउँमा सीत छल्ने किसिमको धान रुङ्ने कटेरो रहेछ । त्यै कटेरामा ति सबैजना बसी आगो ताप्तै सबै जनाले रक्सी खाए । हामीले पनि रु. १ को १ बोतल रक्सी तिनीहरूसँगै किनेर तिनै जना साथिहरूले खायौं । केही बेर बसी राती १०।। बजे तीर फर्की आफ्नो क्याम्पमा आई सुतेका हौं । उजुरी सरजमिन सुन्यौं । त्यस्तो अपराध गरेको हैन । झुठ्ठा इल्जाम लगाएको हुन् भन्ने समेत मलाया क्याम्पको सि. अम्बरबहादुरको बयान ।

            ७.    सो मार्ग १८ गतेका राती (अम्बरबहादुरका बयान बमोजिम) जाँदा मर्नेको दाजु भाउजु र २ जना केटाहरू पनि थिए । धान झाँटन लाग्दै थियो । हामी ताहाँ बसी हेरेपछि हामी ३ जनालाई रक्सी खुवाई आफूहरूले पनि खाए । त्यसबाद एकछिन पछि त्यहाँ रहेका केटाहरू झगडा गर्न थाले । १० बजे हामी हिंड्यौं । क्याम्पमा पुग्दा ११ बजेको थियो र सुत्यौ । म समेत भई आगोमा हालेको र लेखिएको मानिसलाई मैले जवरजस्ती करणी गरेको होइन । चंखबहादुर के गरी मरे वादीहरू नै जान्लान ? भन्ने समेत डम्बरबहादुरको बयान ।

            ८.    सो मार्ग १८ गते उक्त (डम्बरबहादुरको बयान बमोजिम) जाँदा ४ केटा र बोलाउने भन्ने समेत ३ जना केटीहरू खलामा धान फिंजाई धान दाउनी गरी रहेको थियो । हामी पुगेपछि बस्नु भनेबाट बसेर केही बेरपछि निजहरूले पनि रक्सी खाए । हामीलाई पनि खान भनी १ बोतल रक्सी दिएकोमा २ जना साथीले खाए । मैले नखाने हुनाले खाईन । त्यसपछि निज केटाकेटीहरू समेत राई कुराबाट खचपच भएका र १०।। बजेकाले जाउँ भनी आई ११ बजे पुगी सुत्यौं । म समेतले करणी गरेको र आगोमा हालेको समेत हैन । मलाया क्याम्पका मानिसहरूको बेइजत गर्न समेतबाट उचाली झुठ्ठा उजुर गराएको होला भन्ने समेत गजुरसिंह लिम्बुको बयान ।

            ९.    चन्द्रबहादुरको किमुटार भन्ने खेतमा गए मंसीर महिनामा गई धान माडी रहेका अबस्था गते बारको सम्झना छैन । एक दिन रातको आधारात बितेको अबस्था मलाया क्याम्पका ५ जना सिपाईहरू सो ठाउँमा आए । त्यस ठाउँमा पशुपति १ ठिकीमाया १ मोहनीबहादुर १ किष्णे राई १ एक मर्ने चंखे १ बसेर धान माडी रहेका थियौं । धान माडि रहेकै नजिकै पराल माथि बसी ५ जनाले सिगरेट खाए । १/१ सिगरेट पिई सकेपछि २ जना फर्के । १ जना लिम्बु २ जना अरु बसी रहे । केहि बेरपछि ति तिनै जनाले म समेतका ३ नै जना स्वास्नी मानिसलाई १/१ जनालाई समाई तान्दा कृष्णेले किन यसरी समात्छौं अर्काकी स्वास्नीलाई ? भन्दा निजहरूलाई मारपीट गर्न तैयार भई निज भए तर्फ गएकाले डरले भागी किष्णे घर गयो । फेरि आई हामीलाई समाई दाँतमा सुन लाउने लिम्बुले मलाई समाई यि तिनै जनाले १/१ जनालाई खलागरामै लडाई सुताई करणी गर्न लाग्दा चंखेले किन त्यसो गछौं ? भनी कराई रहे पनि नछाडि करणी पुगेपछि उठी तिनै जनाले चंखेलाई समाती पराल भएको ठाउँमा लगी मलाई करणी गर्नेले सलाई कोरी बालेपछि तिनै जनाले समाती आगोमा चंखेलाई हालेपछि चंखे उफ्री १० हात फरकमा पुग्यो र तिनै जनाले पक्री फेरी त्यसै गरी हाले । फेरी निस्क्यो र समाई हाले पछि आगोबाट निस्कन सकेन । केहि बेरपछि आगो बन्द भइ निभेपछि अब त मरी सक्यो होला भनी तिनै जनाले बोकी खलाबाटै ३।४ हात पश्चिमको भिरमा लगी फाली दिए । लाँदा धुकधुकी सास थियो । त्यसरी फाली गए र हामी तिन जना स्वास्नी मानिस चंखेको घर गई भन्यौ । बालासुरी तिकीमायाको आमाले चंखेलाई घर लगे भन्ने समेत फागुसरीको बयान ।

            १०.    राती ३ जना आए । चुरोट खादै खोला तिर गए भन्ने सुबाराइनी अमरबहादुर समेत गएको देखिएन भन्ने समेत चौकीदार, बिरबहादुर, ह.टिकाराम, नायक धनबहादुर, चौकिदार नरबहादुर, रणबहादुर, झलकबहादुर समेतको बयान ।

            ११.    चंखबहादुर पोलिनु भन्दा अगाडि म चन्द्रबहादुरका खेतमा जाँदा फागुसरी, पशुपति, तिकी, चंखे मलायाका २ जाना सिपाही थिए । १ घण्टा बसी म फर्के भन्ने समेत मोहिनीबहादुर राई १ हाम्रो खेतमा दाँई गर्न दाज्यू रहमान, किष्णे, भाउजु, दिदी गएका थिए । भोलिपल्ट बिहान आई राती चंखेलाई मलायाका सिपाहीले पोली दिए भने । आमा गई चंखेलाई ल्याइन । ठाउँ ठाउँ पोलेको रहेछ । बोल्न सकेन । मलाया अस्पतालमा लगेका थिए भन्ने समेत भक्तबहादुर, खेतमा धान ओसार्दा ज्वरो आएकाले घरमा आएँ । भाई माहिलो धान झाँट्न गए । आधा रातमा घर आई मलायाका सिपाहीले कुट्न खोजे भनी सुत्यो । त्यसका केही बेरपछि खेतमा आगो बलेको देखि आमा समेत गए । चंखेलाई आगोमा हाली दिए छन् भनी भन्ने समेत रहमान राईको बयान।

            १२.   मलायाका सिपाहीले हकारेपछि कृष्णबहादुर डराई भाग्नु स्वभाविकै र सबै मानिसको कुरा फरक परेको भन्ने शंकालाई अदना जंगलबासी स्त्री जाति आफ्नो छोरो देवर त्यसरी मरेको अबस्था कुरा मिलान् हुने गरी भन्न सकेन भन्दैमा झुठ्ठा अपवाद लगाएको होलान् भन्न नहुने र बोलाएकोबाट गएको भन्ने कुरा अम्बरबहादुरका बयानबाट देखिंदा अघि देखि सहबास भएकैले बोलाए गएको सिद्ध हुन आउँने र मुख्य कुरा दाउनी गरेको ठाउँमा प्रतिवादी गएको भन्ने कुरामा सबैको एकै मिलान र टिकीमाया पशुपतिले बोलाएबाट ताहाँ गएका भन्ने कुरामा अम्बरबहादुर गजुर सिं डम्बरबहादुर साबित । यिनीहरू ९।। बजे देखि १ बजेसम्म ताहाँ गयो होलान् भन्ने मेजरमानशेर राईले मौका तहकीकात मुचुल्कामा लेखी दिएको । यिनीहरू आफ्नो डिउटीमा नरही कानूनको उल्लंघन गरी थाहा नदिई जानुको कारण करणी गर्ने उद्देश्यले गइ रक्सी खाए ख्वाएको प्रतिवादीका बयानबाट देखिन आएको । रक्सीका जोशमा पशुपतिको लोग्नेलाई हकारी भगाई चंखेबहादुर नमानेबाट करणीमा बाधा पुर्‍याउने भनी आगो बाली आगोमा हाली कसूर गरी सकेपछि चंखे माँचमा पुग्न सक्ने अबस्था भएको । चंखेबहादुरले आमालाई भन्दा आगोमा हाली पोली दियो भन्ने शब्द बोलेको । सो शब्दले आफै पोलिएको सल्की डढेको भन्न नभइ कसैले आगोमा हाली दिएकै भन्ने हुने र पोष्टमार्टममा लेखिएको जखमहरूको बिचार गरी हेर्दा कसैले आगोमा झिल्स्याइ डढाएको जस्तो देखिने भइ प्रतिवादीहरू कसुरदारै रहेछन् भन्ने मिसिल परिबन्दबाट सिद्ध हुन आएको हुनाले चंखेबहादुरलाई प्रतिवादी ३ जनाले धान परालमा आगो बाली आगोमा हाली पिल्सी दिएबाट सो पीरले कर्तव्य भइ मरेको ठहर्छ । प्रतिवादी ३ जनालाई ज्यान सम्बन्धीका २६ नं. ले कैद बर्ष २० का दरले गर्ने भन्ने समेत बिराटनगर अमिनीका का. मु. डि. कृष्णबहादुरले गरेको फैसला । सो फैसला उपर चित्त बुझ्दैन भन्ने प्र. अम्बरबहादुर समेत ३ जनाको अपील पर्दा चन्द्रबहादुर र बालासुरीको बयान नमिलेको, पशुपति टिकीमाया फागुशरीको बयान बाझिएकोले प्रतित मान्न लायक नपर्ने र खास निज पशुपति समेतले बोलाएबाट प्रतिवादीहरू खलामा करणीको अभिलासाले गएको देखिने । चंखेलाई ३ जनाले आगोमा हालेको भए ३ जना स्वास्नी मानिसले रोक्नु पर्ने । सो गरे भएको भन्न नसकेकोले समेत दैवगत आगो लागी निंदाएका बखत चंखे पोलिएकोमा प्रतिवादीहरूले आगोमा हाली दियो भन्ने कुरो एकदम झुट्टो भन्ने सिद्ध छ । आफूहरू खलो, छाडी अन्त गएबाट चंखे आगोले पोलिएको देखिएपछि आफ्नो कसुर छिपाउन प्रतिवादीहरुको बदमासीबाट भएको भन्ने कुरो पढाउँदै सिकाउँदै लाँदा १ मिलान हुन नआएकोले आगोमा हाली दिएको भन्ने पशुपति टिकीमाया फागुसरीको र १०।। बजे फर्की गएको छ भन्ने प्रतिवादीको जिकीर झुट्टा ठहर्छ ।

            १३.   फागुसरी समेतलाई कैद महिना ।५ का दरले गर्ने र उल्टीमा शुरुको हाकिमलाई हा. का. १६ नं. को १ दफा बमोजिमको सजाय निकाशा भएपछि लगत दिने समेत भनी मोरंग बिराटनगर अपीलका सुब्बा बद्रीबहादुरले फैसला गरेको ।

            १४.   मो. वि. अपीलको इन्साफमा चित्त बुझेन भन्ने बिराटनगर अमीनाको हाकिम डि. कृष्णबहादुरको र वादी जाहेरवाला चन्द्रबहादुरको र प्रतिवादी सि. अम्बरबहादुर डम्बरबहादुर गजुर सिंको अपील परेमा प्रतिवादीहरू धानको खलामा गएकोमा साबित । रातको समय सो ठाउँमा जानु बेबिचारको निमित्त बाहेक अरु केहि भन्न सकिदैन । हाम्रो सत्तित्व डगाउने कसूदार यिनै हुन् भनी सनाखत गरी चिनी पोलेका बिनाकारण पोल्नु नपर्ने हुँदा करणी तर्फको कुरा होइन भनी ठहराउन नहुने भएकोले करणी गरेको सत्य हो भन्ने देखिएको छ । आगोमा डढेको कारणबाट चंखेको मृत्यु भएछ भन्ने सिद्ध छ । आमाले सोद्धा आगोमा हालिदिए भन्ने शब्द चंखेको मुखबाट निस्कियो । त्यस अन्तिम वाक्यबाटै अरुले डढाई दिएको रहेछ भन्ने सिद्ध गरी दिएको र दिदी भाउजुको सतित्वहरण गर्न लाग्दा बाधा बिरोध गर्नु स्वभाविकै भएकोले चंखेले बिरोध गरेको । कामासक्त र रक्सी खाई बेबिचारमा व्यस्त भएको प्रतिवादीहरूले चंखेलाई आक्रामण गर्नु पर्ने स्वभाविक नै भएको । यदि त्यस्तो नभए प्रेमी नाठालाई ३ जना स्वास्नी मानिसले १ स्वरसँग चंखेलाई आगोमा हाली दिएका हुन भन्न नपर्ने र आगोमा हाली दिए भन्ने चंखेको शब्दलाई यि तिनै जना स्वास्नी मानिसले समर्थन गरेका छन् । प्रत्येकका बयान मिलान नभएको भन्ने तर्फलाई मामुली कुरासम्म फरक परेको भए पनि चंखेलाई आगोमा हाली दिएका हुन् भन्ने कुरा एकै मिलान भएकोले जनानाको सत्तित्व अपहरण गरी बालहत्या समेत गर्नेलाई रिहाई दिई छाडी दिन मिसिल प्रमाण रोहबाट समेत मिल्न सक्तैन । उपर लिखित प्रमाण अस्पताल जांच र अमिनीका फैसलाका बुँदा प्रमाण समेतबाट अमानुसिक तवरबाट चंखेलाई प्रतिवादीहरूले आगोमा हाली दिएबाटै डढी मरेको ठहर्छ । ज्यान सम्बन्धीका २६ नं. ले दामल र अंश सर्वस्व समेत हुन्छ । २० बर्ष कैद गर्ने भन्ने अमिनी र ज्यान तर्फका वारदातै ठहर्दैन भन्ने मो. वि. अपीलको इन्साफ गल्ती ठहर्छ भन्ने समेत सर्वाेच्च अदालतका श्री माननीय न्यायाधीश रत्नबहादुर विष्ट, श्री माननीय न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको डिभिजन बेञ्चबाट ०१६।५।२८।१ मा फैसला गर्नु भएको ।

            १५.   दामल गर्ने गरेकोले मर्का पर्‍यो । एकपल्ट फुलबेञ्चबाट मुद्दा दोहराई दिनु भन्ने हूकूम प्रमांगी पाउँ भन्नेसमेत प्र. डम्बरबहादुर, अमरबहादुरको निवेदनमा फुलबेञ्चबाट दोहराइदिनु भन्ने ०१६।७।१३ मा हूकुम प्रमांगी भई आएको यो मुद्दा निवेदकतर्फका विद्वान वकिल सिनियर एडभोकेट देवनाथप्रसाद शर्मा र बैतनिक वकिल एडभोकेट टोपबहादुरले गर्नु भएको बहस समेत सुनी प्रस्तुत मुद्दा हेरिएमा निवेदक तर्फको बहसमा वादी तर्फको विभिन्न मानिसको विभिन्न अबस्थाको कुरा नमिलि फरक परेको । डिभिजन बेञ्चको फैसलामा मर्ने छोराले आमालाई आगोमा हाली पोली दियो भनेको कुरालाई अन्तिम (मर्ने समयको) बयान जस्तो बढ्ता मान्यता दिइएको । त्यस्तो कुरा अरु सूत्रबाट समर्थन नभएसम्म त्यस्तो मान्यता दिन नहुने । आगोमा हाली पोली दिए भनी भनाई भएकोमा पनि यो यस्ले पोलेको नभनेकोले यिनै सिपाहीले नै पोलेको त्यसै ठहर्न नसक्ने भन्ने समेत इत्यादि मुख्य जिकिर गरेको बिचार गर्दा आईमाईको बयानको कुरामा आगोमा हालेको समयमा केही फरक देखिए पनि यिनै सिपाहीहरूले नै पोली दिएको कुरामा सबैको एकै मुख भएको । मर्नेकी आमा आफ्नो छोरा हेर्न लिन जाने बिषयमा बयानहरूमा केहि कुरा फरक परेको हकमा ८ जना मध्ये ६ जनाको बयनामा स्वास्नी मानिसहरूले घर गई भनेपछि नै आमा गएकी । उसमा पनि पुलिसमा पहिला रिपोर्ट दिने मर्नेको बाबुले आफ्नो जहानहरूबाट नै कुरा सुनी थाहा पाइ छोरी बुहारीले भन्न आएपछि आमा गएको भनेको नै भएकोले त्यति फरक परेको भन्न नहुने । मुख्य आरोप लगाइएका सिपाहीहरू त्यति रातको बीच आफ्नो क्याम्पको अडर उर्दी मिची सो वारदात भए गरेको खलागरामा लुकी छिपी गरेकोमा साबितै रहेको त्यस्तो आफु र आफ्नो नोकरीमा समेत धक्का पुग्ने किसिमको काम साधारण रूपले नै गर्‍यो होला भन्न नमिल्ने । उजुरवालाहरूको यिनै सिपाहीहरू सित केही अघिको रीसईवी थियो भनी कतैबाट देखिन नआउने । तसर्थ, ति आईमाईहरूले आफूहरू माथि त्यस्तो बेइज्जत हुने कुरा बनाई झुट्ठा आरोप लगाउने कारण देखिन नआएको । मर्नेको आमाले घटनास्थलबाट छोरा ल्याएपछि पुलिस कारवाई पट्टी नगई प्रथमतः त्यहिं फुश्रे मलाया क्याम्पमा नै गई उजुरी गरेको कुरा मेजर मानशेर राईको बयानबाट पनि देखिन आएको । निज सिपाहीहरूको बयानबाट वारदात भएको दिन बेलुकी ४ बजेको टायममा सर्दुखोलामा नुहाउँन गएको बखत राइनी केटीहरूले भरे राती तपाँईहरू खलामा आउनु भनेबाट गएको र सबै मिलि रक्सीहरू खाएको देखिएको र त्यसपछि करणीको कुरा बिषय ति आईमाईहरूको बयानमा किटान साथ उल्लेख भएकोले त्यस्तो कामातुरको अबस्थामा पुगेपछि त्यस्मा बाधक हुनेलाई जे गर्न पनि सम्भावना हुन जाने । पोष्टमार्टम रिर्पोटबाट मर्ने चंखे आगोले नै पोली मरेको र दुवै पक्षका कुराबाट पनि मर्नको कारण घटनास्थल इत्यादि कुरामा २ राय नभएको र मर्ने चंखेले आमालाई आगोमा हाली पोली दियो भन्ने कुराबाट पनि आफंै आगो सल्की डढी मरेको भन्ने अर्थ गर्न नमिल्ने । यस्तो खून जस्तो फैजदारी मुद्दामा नियत र मनसायको पनि धेरै महत्व हुने । त्यसको सम्भावनाको बिचार गर्दा वादी तर्फबाट प्रतिवादी सिपाहीहरूले जिकिर लिए जस्तो बदनाम गराउने नियतबाट नै गरेको हो कि ? भन्नालाई त्यस्तो आगोमा पोली छोरो मरणासन्न भएको अबस्थामा छोराको ज्यान औषधि उपचारको आशा समेत लिई जाने आमाले सो मलाया क्याम्पमा पुगेपछि नभए नगरेको आरोपको कुरा गर्न जानु स्वभाविक नदेखिने र उसमा पनि छोरालाई घटनास्थलबाट वर ल्याएपछि अरु निहित स्वार्थ भएको व्यक्तिहरूसँग मर्नेका आमाको राय सल्लाहा भेटघाट मुलाकात भए गरेको न कसैको जिकीर भएको न कतैबाट देखिन आएको । उता प्रतिवादीहरू पट्टीको सम्भावना बिचार गर्दा माथि उल्लेख भए बमोजिम कामातुर भईसकेको मानसिक स्थितिमा बाधकलाई जे गर्न सक्ने पनि सम्भावना रहने भएकोले र सर्वोच्च अदालत डिभिजन बेञ्चको २०१६।५।२८।१ मा भएको फैसलामा लेखिएका बुँदा प्रमाणबाट समेत प्रतिवादीहरूले आगोमा हाली डढाई दिएका पीरबाट चंखेबहादुर मरेकोले निवेदक प्रतिवादीहरूलाई दामल गर्ने ठहराई छिनेको सो सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मुनासिब छ । इन्साफ दोहराएमा सजाय गर्नु पर्छ कि भन्न निवेदकहरूलाई दामल सजाय भएकाले थप सजाय केहि गर्नु पर्दैन । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

इति सम्बत् २०१८ साल बैशाख १४ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु