निर्णय नं. १४२ - कर्तव्य ज्यान

निर्णय नं. १४२ ने.का.प.२०१८
डिभिजन बेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षत्री
प्र. सा. फौ. डि. नं. ४३/२०
रिपोर्टवाला : पुलिस इन्सपेक्टर अपिस कं. ठाना अ. स. ई. नरबहादुर विष्ट
विरुद्ध
विपक्षी : कहरसिंह गिरी समेत
मुद्दा : कर्तव्य ज्यान
(१) बयान स्वभाविक तवरले एक मुख मिलानको भएमा र पोलापोल गर्न पर्ने कारण नदेखिएमा अभियुक्तहरू परस्पर साक्षी जस्तो भइ बयान गरे तापनि साविति भई गरेको कुरा मान्य नै हुने ।
नभएको कुरा हो कि भनी शंका गर्न पनि हामी खोलामा माछा मार्न लागेका बखत मूल बाटोबाट हिंडी आएका । लाहुरे ३ त्यहीं ओडारमा बास बस्छन्, भरे तिनीहरूलाई मारी धनमाल लिन पर्छ भनी हामीले सल्लाह गरी घर घरमा गई भात खाई सकेपछि राती जम्मा भई आई लाहुरेहरू निदाएछन् भनी बुझी निदाएको पक्का गरी खुकुरीले हानी मारी धनमाल ल्याएको हो भन्ने कुरामा सबै प्रतिवादीले एक मुख मिलानसँग ठानामा र अदालतमा बयान गरेका । सबै वारदात बनावटी र परस्पर झुट्टा पोलमात्र गरेका हुन कि भन्ने कुरालाई वारदातमा भएको काम कुराको अभियुक्तहरूले बयान गर्दा स्वभाविक तवरले बयान गरेको । बनावटी हो भन्ने कतै शंका नदेखिने । फेरि आपसमा झुट्टा पोलापोल गर्न पर्ने कारण पनि केही नदेखिने । आफू साबित भएको र पोलिएको अर्को अभियुक्तले उसै गरी आफु साबित भई अरुलाई पोल गरेको देखिंदा वारदात भएको कुरामा अभियुक्तहरू परस्पर साक्षी जस्तो भई बयान गरेको देखिने हुँदा वारदात होइन र मानिस पनि मरेका होइनन् भन्न इन्साफमा नमिल्ने ।
(प्रकरण नं. ८)
फैसला
१. यसमा १४।१०।१४ मा स. गौं. का पुर्जीबमोजिम रुबीलालका निवेदनबाट वन जाँच गर्न र कसूरदार पक्राउ गर्न गई आउँदा सल्यान कालीमाटी जुगेना भन्ने गाउँको खोलामा धनसिंह कवर जोगीले तरुल खन्न लागेको रहेछन् । निजलाई डाक्दा भागी गएको र पक्राउ गरी किन भागेको भनी खारखेर गर्दा मैले पोहर २०१३ साल फागुण महिनामा यस खोलाको ओडारमा ३ जना लाहुरेलाई हामीले काटी मारेका हौं भनी धनसिंह कवर जोगी साबित भएकोले निजलाई पक्राउ गरी सौंपा गर्न ल्याएको छु भन्ने अ. स. इ. नरबहादुरको १४।११।३ को रिपोर्ट ।
२. २०१३।११।८ गते नजाने कहाँको हो तीन जना लाहुरे हिन्दुस्थान तर्फबाट आई जुगेनी देखि पूर्व तर्फ ठाडो ओडार भन्ने ठाउँमा बास बसेका रहेछन् । कहरसिंह जोगी १ लोतीराम जोगी १ चित्रमान गिरी १ कोटे गिरी १ सर्वेपु मगर १ समेत ५ जना मेरो घरमा गई डुल्न जाउँ भनी भने । जान्न भन्दा मार्छौं भनेकाले डरका मारे मन्जुर भई गई लाहुरे सुतेको ठाउँमा पुगी निजहरूले थाहा नपाउने गरी निजको सिलेवरको बिंड भएको खुकुरी झिकी लोतीरामले गर्दनमा चोट छाडी छिन्यो । निजको झोला गुन्टा सर्वे, कहरसिंह, लोतीराम, चित्रमान, कोटे समेतले लिएपछि दक्षिंण पट्टी सुतेको लाहुरेलाई निजकै खुकुरी थुती मैले चोट छाडेपछि छिन्यो । कहरसिंह, लोतीराम समेतले झोला गुन्टा बोकी पर राखी पश्चिम पट्टीको लाहुरेलाई निजकै खुकुरी झिकी कहरसिंह गिरीले चोट छोडी छिन्यो । निजको झोला गुन्टा समेत लिई सबै जनाले सर्वेपुका घरमा लगी खोली हेरी मलाई १० दरको नोट हो भनी २ दिए । अरु कपडा रूपैयाँ निजहरूले के कति लिए थाहा छैन भन्ने समेत धनसिंह कवरको १४।११।३ मा पुलिसमा कागज गरेको र निजहरूको लास खाडल खनी दवाएको भन्ने र अरु कागज मिलनाको बयान । चित्रे, सर्वे, लोतीराम, धनसिंह तिले, पहल सिंह मु. रूप सिंह कोटे समेत माछा मार्न गएका ३ जना लाहुरे ओडारमा बास बसेको देख्यौं । राती मारी धनमाल लिनु पर्छ भनी सल्लाह गरी घर गई खान पिन गरी राती गई मु. रूप सिंहले लाहुरे मार भनी लोतीराम म धनसिंह चित्रे गिरीलाई भनेकाले म समेत गई निजैहरूको खुकुरी झिकी काटी मारी झोला गुन्टा बटुली एकलास बगरमा गाडेको र २ लास जंगलमा फाल्यौं । सिरक दरी कं. रु. १५ मलाई दिएका हुन् भन्ने समेत कहरसिंह गिरी । सो मिलान चित्रमान गिरी, सर्वे पुन, मु. रूप सिं, तिले गिरी, लोते गिरीको पुलिसमा ठाडो कागज र अदालतमा बयान गरेका राती कहरसिंह समेत खोला तर्फ जान लागेको देखि चेवा बसी रहें । खोलाबाट आई सर्वे पुनका घर गए र म पनि गएँ । के गर्न आयौं भने । म घर तर्फ आएँ । भोलीपल्ट मलाई रु. १५। कहरसिंहले दिएको थियो भन्ने कालु गिरीको कागज र बयान भएको ।
३. घर खानतलासी गर्दा धनसिंहको घरबाट हरियो मसिनो किनारा भएको ठाउँ ठाउँ रगतको जस्तो दाग लागेको सात हाते मार्किनको धोती १ मात्र निस्केको । अरु कुनैको घरबाट कुनै धनमाल ननिस्केको । ठाडो ओडारमा गई ओर पर समेत खनी खोजी गर्दा लास गाडेको ठाउँ पत्ता लाग्न नसकेको । सो ओडारको उत्तर पट्टी प्वालमा मानिस छिरी भित्र गई हेर्दा अं. ४।५ माना पाक्ने सिलेवरको तस्ला १।। मानासम्म जाने सिलेबरको लोटा, सिलेवर डिप्ची र घन्के सिलेवरकै डाडु, सानु घन्टा, पुरानो फोन्टेन पेन, कुन्जी नभएको फलामे ताल्चा, टिनको गोल बट्टा, पुरानो जुत्ता १ ऐ जुत्ता जोर १ माल भेटिएको र पहले गिरी जहरसिंह गिरी गोले भन्ने जिउने गिरी असल चाल चलनका हुन् । निजहरू १३ साल मार्ग महिना देखि पहलसिंह खयर काट्न गई १४ साल बैसाखमा आयो । जहरसिंह जिउने मार्ग महिना देखि ठुटे भन्ने ठाउँमा बस्तु गोठ लिई गई १३ साल चैत्रमा मात्र फर्केको हुन् । अरुका हकमा निजहरूले गरेका कागज बमोजिम भए गरेको होला भन्ने समेत गणेश कवर समेतको सरजमिन मुचुल्का ०१४।१६।१६ को ।
४. १३ सालको मार्ग लाग्दै गाई गोठ लिई बाँके इलाका ठुटे भन्ने ठाउँमा गई चैत्र आखिरमा आएको । माछा मार्न गएको र लाहुरे ३ जना मारेको होइन । अरुले मारेको मलाई थाहा छैन । कोटेले झगडा परेको रिसले पोलेको हो भन्ने समेत जिउने जहरसिंह गिरीको र १३ साल मार्ग देखि हिन्दूस्थानको रेला भन्ने ठाउँमा खैर कटनीमा गई १४ साल बैशाखमा घर आएको हुँ । चित्रमान कहरसिंह कोटे सर्वेले झगडा परेको रिसले झुट्टा पोलेको हो भन्ने समेत पहले भन्ने पहलमान गिरीको बयान ।
५. लाहुरेलाई नमारेको भए काटी मारी धनमाल खाएको भनी ८ जना साबित हुन नपर्ने । कालेले निजहरू खोला तर्फ गएको देखे । र खोलाबाट फर्की आई घरमा गएको देखें । भोलिपल्ट रु. १५ दिए भनेको र मु. रूप सिंहलाई धन सिं बाहेक अरु साबित हुने सबैले र अरु ७ जनालाई आफू साबित भई पोलेको समेतबाट कर्तव्य गरी मारी धनमाल डाका गरी ल्याएको देखिएको । सरजमिनले पनि निजहरू साबित समेत भएबाट निजहरूले मारेका होलान् भन्ने ठहराउँछौं भनेको समेतबाट कहरसिंह, लोतीराम धनसिंहले खुकुरीले काटी र चित्रमानले लाठीले हानी मारेको र रूप सिंहले मार्नलाई बचन दिएको कोटे तिले सर्वे ३ जना मार्ने कुरामा मत सल्लाहमा पसी केही ओर बसेको र धनमाल डाका गरी लगी बण्डा गरी खाएको समेत ठहर्छ । कालेको हकमा कोटेले ठाडो कागजमा पोलेको । बयानमा होइन भनेको । अरु साबित हुनेले नपेलेको । डाका गरेको कुरा मलाई थाहा छैन भनेको । उजुरी पोलावट बेगर निज सहमतमा रही दवाएको रहेछ भन्न मुनासिब नपर्ने हुँदा निजले कसूर गरेको नठहर्ने । पहलमान जिउने जहरसिंहको हकमा निजहरू इन्कारी र साक्षी सरजमिनले त्यस टायममा अनेत्र गएको भनेकाले समेत निजहरूले कसूर गरेको समेत नठहर्ने र धनमाल नगदी रु. ३०० र धनमाल जिन्सीको रु. १३८।५० को समेत धनमाल डाका गरेको र बाटो हिंड्ने मानिस बास बसी निदाएको बखत मार भनी बचन दिने रूप सिंह, सो बचन मानी चित्र मानले लठ्ठीले कहरसिंह धनसिंह मोती रामले खुकुरीले काटी मारी धनमाल डाका गरेको समेत ठहर्छ । डाका तर्फ चोरी २१ नं. ले दन्ड कं. रु. ४५० मो. रु. २०७।७५ कैद बर्ष ६। का दरले र ज्यान तर्फ ज्यान सम्बन्धीका २५ नं. १ दफाले र दन्ड सं. ९० नं. ले कहरसिंह धनसिंह लोतीरामलाई दामल हुन्छ । लठ्ठीले हान्ने चित्रमानलाई ज्यान सं. २५ ले र बचन दिने रूप सिंलाई ऐ ४ दफाले दामल हन्छ । दं. स. २१ नं. ले दामल भए अरु खत नगाभिने हुँदा सर्वस्व गरी लालमोहर बक्साई खोदी दामलमा हाली दिने । मार्ने सल्लाह गरी केही नगरी वर बसी रहने धनमाल डाका गरी लिने कोटे गिरी सर्वे पुन तिले गिरीलाई डाका तर्फ चोरीका १६।१९ नं. ले बिगो दन्ड कं. रु. ४५० मो. रु. २०७।७५ कैद बर्ष ६। का दरले र ज्यान तर्फ ज्यान सम्बन्धीका ३१ नं. ३ दफाले ६ महिना देखि ३ बर्षसम्म निकास भई आए बमोजिम हुन्छ भन्ने समेत ठहराई शुरु सल्यान अदालतका हाकिम डि. ब्रम्हदत्त तिवारीले १६।२।७ मा जाहेरी फैसला गरे उपर प्रधान सिंह रूप सिंह लोतीराम कोटे सर्वे तिले कहरसिंह चित्र मानको हामीले कसूर गरेको होइन । कुटपीट गरेको ज्यान बचाउनको लागि साबिती कागज लेखी दिएको हो भन्ने समेत अपील पर्दा कुटपीटको चोटले साबित भएको भए उजुर हुँनु पर्ने । अदालतमा पनि साबित भई परस्पर मारेको भनी बयान गरेकोले मारेको होइन भन्न मुनासिव नपर्ने । कोटे सर्वे तिले जना ३ लाई दं. सजायको २३ नं. ले दोहोरो सजाय नखापिने हुँदा डाका तर्फको सजाय भएपछि ज्यान तर्फ ।६ महिना देखि ३। बर्षसम्मको सजाय नखापिने । अरु शुरुको इन्साफ मुनासिब भनी सल्यान अपीलका हाकिम सुब्बा बृषबहादुर थापाले ०१६।९।१७ मा जाहेरी फैसला गरे उपर रूपसिंह सर्वजित लोतीराम कहरसिंह कोटे चित्रमान तिलेको अपील पर्दा धनसिंहहरूले वारदात गरेको पुलिसले नदेखेको । धनसिंहलाई पक्राउ गर्न नखटिएको । ऐन सवालको अनुकुल नभएकोले यी कागज, अभियोगीको साबिती कागज अख्तियार नभई गराएको हुँदा प्रमाण लाग्न सक्तैन । पुलिसको सवाल ३ दफामा १४ अपराधमा पुलिसले नै रिपोर्ट गरे हुने लेखिएको र १४ अपराध भित्रै परेको हुनाले अदालतमा चलान गरेको सम्म मुनासिब छ । अदालतले जोर जुलुमसँग करकाप गरी गराएको भए अ. बं. ६२ नं. का म्याद भित्र उजुर गर्नु पर्ने नगरेकोबाट समेत अदालतमा गराएको बयान बदर हुन सक्तैन । कुनै करमा परी साबित भएको पनि देखिंदैन । हुँदै नभएको मानिस कसरी मारिन्छ ? अपराध भएकै छैन भन्ने शंका उत्पन्न भए पनि ठहर गर्ने हकमा दामल गर्ने ठहराएको मुनसिब भन्नु परेको छ । ३ जनालाई मारेको भनी ८ जनाले साबित भई बयान गरेकोमा ११ बर्ष भन्दा घटी कैद होस भनी राय लेख्न मुनासिब नलागेकोले दामल गर्ने ठहरेकोलाई ११ बर्षका दरले सर्वस्व नगरी कैद गर्नामा कानूनी तजबिज जो हुन्छ सोही बमोजिम गर्न दामल सजाय घटाउने साथैमा बिचार हुने भएमा पनि हाललाई सबै तिले कोटेको हकमा अपीलले ठहराएको मनासिब । धनी पत्तै लाग्न नसकेकोले चोरीका ३७ नं. बमोजिम डाकाको सजाय र बिगो लाग्न सक्तैन भन्ने समेत श्री माननीय न्यायाधीश हेरम्ब राजज्यूबाट राय भएको ।
६. काटी मारेको ३ जना लाहुरे भनिएका मानिस यो ठाउँमा यो मानिस हुन् भन्ने पत्ता लाग्न नसकेको । बर्ष दिनसम्म पनि खोज खबर गर्न कोही ननिस्किएको । अभियुक्त बाहेक अरु देख्ने सुन्ने कोही नभएको । साबित भएका हुनाले मारेका होलान् भनी सरजमिनले भनेकाले लास चिन्हसम्म पत्ता नलागेको । अभियुक्तको बयान बाहेक अरु कुनै सबुद प्रमाण देखिएन । साबिती बयानको विवरण परस्पर मिल्दैन । हावा बिग्रेको धनसिंहलाई पक्री निजले भनेको भरमा कुटपिट साबिती लेखेको भन्ने समेत अपील जिकीर छ । अदालतमा साबिती बयान भए पनि उपरोक्त साबिती बयानको भरले मात्र ज्यान मारे वापत सजाय दिन भन्न सकिंदैन । ज्यान मुद्दामा पहिले ज्यान मरेको कुरा त्यस पछि चोट कारवाईबाट भएको कुरा प्रमाणीत हुन सक्छ । सो नभएको । अघि साबित हुनेहरूले हाल इन्कार गरेकाले वारदात हो होइन ? भन्ने कुरा द्वीविधा हुन आएको छ । उपरोक्त किसिमको साबिती बयानका भरले खुन वारदात ठहराउँदा कानूनी सिद्धान्त नै बस्न जाने सम्भव हुँदा प्रस्तुत मुद्दामा जटिल कानूनी प्रश्न समावेस भएको देखिन्छ । प्रस्तुत मुद्दा जस्ता मुद्दाहरूका अभियुक्तलाई कसूरदार ठहराई सजाय दिन मिल्दैन । सजाय दिने गरी मा. न्या. हेरम्बराजज्यूले गर्नु भएको रायमा सहमत नभएकोले श्री मा. मु. न्यायाधीशज्यू समक्ष पेश गर्नु भन्ने समेत श्री मा. न्या. इश्वरीराजज्यूबाट राय भएको ।
७. कसूरवाला आफै साबित भई पोल गरेको कुरा ज्यान सम्बन्धीका ४५ नं. ले जुनसुकै बखत पनि उजुर दायर हुन सक्ने र सबै साबितीले नभएको कुरा पनि भन्न गारो र यस्तोमा साबितीका भरले सजाय दिन पनि नमिली जटिल कानूनी प्रश्न समावेस भएकोले सजाय गर्ने गरी सहकारी न्यायाधीशज्यूले राय गर्नु भएको हुनाले मुख्य न्यायाधीश छेउ पेश गर्नु भनी मा. न्या. इश्वरीराजज्यूले राय गर्नु भएकोमा उक्त उल्लेख गरिए बमोजिम यसमा जटिल कानूनी प्रश्न समावेस नभई इन्साफ छुट्याउन पर्ने हुँदा उहाँले गर्नु भएको राय यस मुद्दामा लागु हुन नसक्ने र शुरु अपीलको केही सदर गरी खुन डाका सजाय गर्नेमा राय लगाई घटी सजाय गर्ने गरी श्री माननीय न्यायाधीश हेरम्बराजज्यूले गर्नु भएको रायको हकमा पनि मारिएका मानिस पत्ता लाग्न नसकेका, कसैबाट जाहेर भई मौका सरजमिन हुन नसकेका,े पुलिसको हुलिया किताबमा लेखिएको पनि होइन । रहस्यमय दसी बरामत भई दायर भएको मुद्दा पनि देखिएन । जंगली मानिस १५।१६ जना पुलिस देख्दा भाग्नु स्वभाविकै थियो । सबै कुरा नखुले पनि केही केही गाउँ घरमा कुरा फिंजिई गाउँलेले जान्न सक्नु पर्ने स्वतः देखिएकोले अपढ जंगली व्यक्ति हुनाले कुनै आत्माको डरको भरबाट साबित भएको अबस्था देखिन आउँछ । धनसिंह मात्र साबित नभई निजले पोलेको सबै साबित भएकाले नभएको कुरा कसरी भन्ने ? यसमा साबिती हुनु नै मात्रा भन्दा बेसीको शंकाको अबस्था समावेश भएको छ । दिउँसै सल्लाह गरेका मानिसले कुनै हतियार लिई नजानु, १।१ जनाले १।१ जनालाई पालैसँग काट्नु, सो बखत लाहुरे नबिउँझनु, अर्काको खुकुरी लाग्ने नलाग्ने के हो ? बिचार नगरी हान्नु, एकै चोटमा घाँटी छिन्ने गरी हानी मारेको भन्ने कुरा इन्साफमा पत्यार लिन पनि नमिल्ने । मारिएको अबस्था बिलकुल अनपत्यारको देखिएकोले समेत यस्ता मुद्दामा ज्यान मारेको भनी दामल डाकाको सजाय दिनु रुल व्यवस्थाले मिल्न सक्तैन । सजाय नगरी छाड्न पनि आपसमा पोली साबित भई यत्रो खुन मुद्दा उठेकाले अन्धकारको मुद्दा हुँदा अदेखमा कसूर गरेको भए पनि सजाय व्यहोर्ने व्यक्ति र झुट्टा पोलापोल गरेकाले साबित भई अपील गर्ने समेत धनसिंह लोते चित्रमान रूप सिंह, कहरसिंह, सर्वे कोटे तिले समेतलाई ज्यान सम्बन्धीका ४५ नं. का १ दफाले झुट्टा पोलपाल गरेबाट कैद बर्ष ५ का दरले हुन्छ । सर्वोच्च अदालतबाट जाँच भई आएपछि लगत दिने र इन्साफ जाँच हुन जाने भएकाले अपीलाटलाई अपील म्याद समेत दिन परेन भन्ने समेत ठहराई श्री मुख्य न्यायधीश पशुपतिप्रसाद उपाध्यायले ०१७।२।१६।१ मा जाहेर गर्नु भएको ।
८. साधकद्वारा पेश हुन आएको पश्चिमाञ्चल उच्च अदालतबाट उक्त ३ न्यायाधीशहरूको ३ राय भई आएको यो प्रस्तुत मुद्दा हेर्दा, जुगेना खोलाको ओडार भन्ने ठाउँमा भएको । ओडार मानिसहरू हिंड्ने आते जाते मुल बाटो भएको भन्ने र ओडारमा बटुवा मानिसहरू बेलुका बास बस्ने गर्ने गर्दा रहेछन् भन्ने कुरा र सो ओडार खोलाको छेउ गाउँ घर भन्दा केही फरक टाढा भएको । टाढा टाढाको बटुवा परदेशी मानिसहरू बास बस्ने गर्दा रहेछन् भन्ने कुरा यी प्रतिवादी साबित हुनेहरूकै बयानबाट ति लाहुरे मानिसहरू यो ओडारमा बास बस्छन्, बसे राती यिनीहरूलाई मारी धनमाल लिनु पर्छ भन्ने कुरा माछा मार्दा दिउँसै सल्लाह गरेको भन्ने कुराबाटै त्यो जुगेना खोलाको ओडारमा परदेशी पथिकहरू बास बस्ने ओडार रहेछ भन्ने देखिने । त्यो ओडारमा मानिस बटुवा बास नबस्ने भए त्यहीं ओडारमा बास बसे भन्ने कुरै नउठ्ने भएकोले यि प्रतिवादीहरूले मारेको ३ जना लाहुरे भनेका मानिसहरू त्यही ओडारमा बास बसेका भन्ने कुरा देखिन आउने । ति लाहुरे भनेका मानिसको नाम जात वतन घर जिल्ला गाउँ यसका छोरा नाती यो देशबाट आएका कुन ठाउँ के दार्जाका जागिरे हुन् र कहाँबाट आएका काहाँ जाने हुन ? भन्ने समेत आए गए बसी रहेको ठाउँ जात वतन नाउँ पत्ता लाग्न सकेको मिसिलबाट नदेखिएकाले नभएका कुरा हो कि ? भनी शंका गर्न पनि हामी खोलामा माछा मार्न लागेका बखत मूल बाटोबाट हिंडी आएका लाहुरे ३ त्यहीं ओडारमा बास बस्छन्, भरे तिनीहरूलाई मारी धनमाल लिनु पर्छ भनी हामीले सल्लाह गरी घर घरमा गई भात खाई सकेपछि राती जम्मा भई लाहुरेहरू निदाएछन्, निदाएनछन् ? भनी बुझी निदाएको पक्का गरी खुकुरीले हानी मारी धनमाल ल्याएको हो भन्ने कुरामा सबै प्रतिवादीले एक मुख मिलानसँग ठानामा र अदालतमा बयान गरेको । सबै वारदात बनावटी र परस्पर झुट्टा पोलमात्र गरेका हुन् कि भन्ने कुरालाई वारदातमा भएको काम कुराको अभियुक्तहरूले बयान गर्दा स्वभाविक तवरले बयान गरेको । बनावटी हो भन्ने कतै शंका नदेखिने । फेरि आपसमा झुट्टा पोलापोल गर्न पर्ने कारण पनि केही नदेखिने । आफू साबित भएको र पोलिएको अर्को अभियुक्तले उसै गरी आफू साबित भई अरुलाई पोल गरेको देखिंदा वारदात भएको कुरामा अभियुक्तहरू परस्पर साक्षी जस्ता भई बयान गरेको देखिने हुँदा वारदात होइन र मानिस पनि मारेका होइनन् भन्न इन्साफमा नमिल्ने । घरबाट हतियार नलिई लाहुरेकै खुकुरी झिकी काटेको भनेकाले खुकुरी झिक्दा र पालैसँग काट्दा लाहुरेले थाहा पाउनु पर्ने भन्ने शंका तर्फ पनि दिउँसो भरी बाटो हिंडी थकाई लागेका र मादक पदार्थ खाई लठ्ठ परेका भन्ने प्रतिवादीका लेखाई भएको । त्यस्तो मादक पदार्थ खाने व्यक्ति भएमा खाएको मादकले लठ्ठ पर्ने कुरा सम्भव र मादक पदार्थ नखाएको भए पनि गुन्टा समेत झिटिमिटी बोकेका दिउँसो भरी हिंडी थकित भएका परदेशी बटुवा थकाईको जोड बलबाटै मस्त निद्रामा पर्दा निद्राले नछाडुन्जेल केही थाहा नपाउने पुरा अबस्था सम्भव पर्ने र मादक पदार्थ खाएका भएमा झन लठ्ठ मस्त पर्ने स्वभाविकै सम्भावना हुँदा थाहा पाउनु पर्ने भन्न पनि नमिल्ने र काटी मारेका लास बगरमा खाल्टो खनी गाडी पुरी हिंडेको भन्ने प्रतिवादीले भनेका । लास गाडेको ठाउँ र हाडखोर दशी निशाना चिन्ह समेत केही नभेटिएकाले कसो हो त ? भन्न पनि खोलाको छेउको बगरमा २०१३ साल फाल्गुण ८ गते वारदात भई गाडेको लास २०१४।११।१६ गते सरजमिन हुँदा नदेखिएको भनेकोमा २०१४ सालको वर्षादमा खोलाको छेउ बगरमा गाडेको लासको हाडखोर समेत बर्षाद खोला बाढीले बगाई लानाको पुरा सम्भवै हुँदा र बर्ष दिन बाद गाडेको ठाउँ हेरदेख हुँदा यही ठाउँ हो भनी चिनिन पनि असम्भवकै कुरा देखिने भएबाट लास हाडखोर पत्ता नलागेकोले होइन भन्न मनासिब नपर्ने । पुलिस ठानाले कुटेपिटेर साबिती लेखेको भन्ने अपीलमा र निवेदनमा जिकिर लिन्छन् तापनि पुलिसले कुटी पिटी ज्यान मारेको हुन् भनी साबित कागज गराउने अर्थात् साबित नभएको नभनेको कुरा आफ्नो मनमानले लेख्ने भए गाउँ घरमा भएको सरसल्लाहको कुरा र जुगेना खोलामा माछा मार्न को को गएका थिए ? तिनले के के कुरा गरे ? कसरी पुलिसले थाहा पाई लेख्नु ? पुलिस पनि माछा मार्न गएका थिए र थाहा पाई लेखेका हुन् भनी भन्न प्रतिवादीले नसकेका । जहरसिंह गिरीको बाबुलाई मेरो बाबुले जुगेना खेत बिक्री गरेको । सो खेतको आडमा कुलो लगी खेत बनाउने कान्लो थियो । मलाई दिईसकेको भनी खिचोला गरेकोले पुरा इवी परेको र काले गिरीसँग कुला पानीमा झगडा परेको । गोले भन्ने जिउनेले मलाई कुटपिट गरेकोले साह्रै रिस उठिरहेको थियोे र म ज्यान मुद्दाको कसूरदार भई गए तिनीहरूलाई पनि दुःख दिन्छु भनी ठानामा मैले झुट्टा पोलेको हुँ भनी कोटे गिरीले अदालतमा बयान गरी काले गिरी, जहरसिंह र जिउनेलाई सफाई दिएकोबाट नभएको कुरामा पोले भनी आफैंले कुरा सच्याएको देखिनाले भएको साँचो कुरा आफू समेत साबित भई अरु कसूरदारलाई पनि देखाएको र नभएको कुरामा सोही बमोजिम साफसाफ भन्ने रहेछन् भन्ने कुरा पनि देखिएको र काले गिरीको पुलिस ठानामा भएको कागज हेर्दा रातमा केहरसिंह समेत ७।८ जना खोला तर्फ जान लागेको देख्दा उनीहरू कहाँ जाने रहेछन् ? भनी पछि पछि चेवा गर्दै आई रहेको र निजहरू खोलै तिर झरेकोले म एक्लै डर लाग्यो गईन । गाउँ देखि अली वर चेवा बसी रहें र निजहरू खोलाबाट आई सर्वे पुनका घरमा गए । म पनि निजको घरमा जाँदा के गर्न आयो ? भने । चुप लागि बसेपछि म घर तर्फ आएपछि के के गरे ? मलाई थाहा छैन । भोलिपल्ट यसले थाहा पायो हल्ला गरी दिन्छ भन्ने डरको मारे हो वा के को निमित्त हो ? कहरसिंहले मलाइ कं. रु. १५ दिएको थियो । मैले के को रूपैयाँ भन्दा जे को भए पनि राख भनेकाले मैले राखेको हुँ । खुन गरी ल्याएको हो भनी जानी जानी लिएको होइन । म माछा मार्न र निजहरूको साथमा खुन गर्न गएको होइन भन्ने ०१४।१।११ मा पुलिस अदालतमा बयान कागज गरेको देखिएको । पुलिसले कुटपीट चुटी पिटी साबित गराउने भए निज कालु गिरीको पनि म पनि गई मारेको हुँ भन्ने कागज हुनु पर्ने । माछा मार्न पनि गइन । खुन गर्न पनि गइन । खुन समेत गरेको छैन भनी खुन डाका तर्फ इन्कारी कागज भएकोले जस्ले जुन कुरा भन्छ सो कुरा लेखेको रहेछ भन्ने प्रष्ट रूपमा देखिएकै हुँदा कुटपीट गरी साबित गराए भन्ने कहरसिंह समेतका साबिती प्रतिवादीहरूको अपील निवेदन जिकीरहरू मनासिव भन्न नहुने भएबाट र उक्त लेखिए बमोजिम बिदेशी ३ जना लाहुरेलाई बास बसी निदाएका बखत रातमा काटी मारी निजहरूको धनमाल ल्याई बण्डा गरी खाएको हुँ भन्ने कुरामा साबित हुने प्र. धनसिंह समेत कसूरदार होइनन् भन्न मुनासिब नपर्दा निज धनसिंह कबर जोगी १ कहरसिंह गिरी १ लोतीराम गिरी १ मु. रूप सिंह गिरी १ चित्रमान गिरी १ समेत ५ जनालाई दामल गर्ने र कोटे गिरी १ सर्वे पुन मगर १ तिले गिरी १ समेत ३ जनालाई डाका चोरी तर्फ र ज्यान तर्फ तजविजीले ६ महिना देखि ३ बर्षसम्म कैद सजाय गर्ने गरी शुरु अदालत सल्यानले र सो इन्साफ सदर गरेकोमा कोटे गिरी समेत ३ जनालाई ज्यान तर्फ सजाय नहुने अरु इन्साफ सजाय मुनासिब गरी छिनेको समेत सो सल्यान अपीलको र सो इन्साफ सदर गरेकोसम्म पश्चिमान्चल उच्च अदालत श्री मा. न्या. हेरम्बराजबाट गर्नु भएको राय मनासिब छ । खुन डाकाको सजाय गर्नेमा राय लगाई घटी सजाय गर्ने भन्ने श्री मा. न्या. हेरम्बराजज्यूको र उस्ले उसलाई पोलि यत्रो खुन मुद्दा उठाएकोले अन्धकारको मुद्दा हुँदा अदेखमै कसूर गरेको भए पनि सजाय व्यहोरिने व्यक्ति र झुट्टा पोला पोल गरेकाले समेत साबित भई अपील गर्ने धनसिंह समेतलाई कैद बर्ष ५ का दरले हुन्छ भनी श्री मु. न्या. पशुपतिप्रसादजीका र कानूनी सिद्धान्त कायम हुन नआएसम्म प्रस्तुत मुद्दा जसमा मुद्दाहरूका अभियुक्तलाई कसूरदार ठहराई सजाय दिन मिल्दैन भन्ने मा. न्या. इश्वरीराजको राय बमोजिम केही गर्नु पर्दैन । कोटे गिरी समेत ३ जनालाई ज्यानतर्फ ज्यान सम्बन्धीका ३१ नं. बमोजिम ३। बर्षका दरले कैद हुनेमा डाका चोरी तर्फ भएको दन्ड कैद बढी हुदा दं. स. २३ नं. ले ठूलो खतको डाका चोरी तर्फ शुरुले गरेको दन्ड कैदको सजाय भोग्ने हुँदा ज्यान तर्फको ३। बर्षका दरले हुने कैद ठेक्नु पर्दैन । धनसिंह कवर समेत ५ जनालाई ऐन सवालको रीत पुर्याई दामल गर्ने हकमा लालमोहर ऐन, २०१५ बमोजिम गर्नु भनी यो शुरु मिसिल सल्यान ईलाका अदालतमा पठाई दिनु भनी जि. अ. सल्यानमा पठाउन पश्चिमान्चल उच्च अदालतमा पठाई दिने ।
इतिसम्बत् २०१८ साल आश्विन १३ गते रोज ६ शुभम् ।