निर्णय नं. १४३ - अंश जालसाजी

निर्णय नं. १४३ ने.का.प.२०१८
डिभिजन बेञ्च
न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
डि. अ. नं. २०२
अपीलाट, वादी : तुल्सीबहादुर डंगोल
विरुद्ध
विपक्षी, प्रतिवादी : शेरबहादुर डंगोल समेत
मुद्दा : अंश जालसाजी
(१) शेषपछिको बकसपत्र भएमा – दाता जीवितै भए बकस पाउनेको हक नलाग्ने हुँदा जालसाज बिषयको मुद्दा २ बर्ष पछि हदम्याद नाघेर उजुर गरेको भन्न नमिल्ने । पेवाको सबुद दानदातव्यको ४ नं. मुताविक गुजार्न पर्ने – सगोलको अंशियारको आर्जनमा अंशबण्डाको ३७ नं. मुताविक सबै अंशियारको हक पुग्ने ।
यसमा ९० साल कार्तिक ११ गते रोज ६ मा पास भएको तमसुकमा प्रतिवादी कान्छी डंगोल्नीको दाइजो पेवाबाट खरीद भएको भनि नजनिएको र सो भएको मितिले २ बर्ष भित्र उजुर गर्न पर्ने भन्ने हकलाई वादी त्यस बखत नाबालक भएको र सो दाइजो पेवाबाट खरीद भएको साँचो भए प्रतिवादी कान्छीले नै आफ्नु नातिनीहरूलाई ११।१०।११ मा लेखी दिएको बकसपत्रमा पनि लेखिन पर्ने । सो पनि नभएको । अंश मुद्दामा नालिस गर्दा प्र. शेरबहादुरले आफ्नो प्रतिउत्तरपत्रमा लेखेको व्यहोराबाट मात्र अंश मार्न जाल गर्न थाले भनी थाहा पाउनु स्वभाविकै हुँदा र त्यस मितिले ऐनका म्याद भित्र यो जालसाजीमा उजुर परेकै देखिएकाले अरु सिंगलका रायमा लेखिएका बुँदा प्रमाणबाट समेत प्रतिउत्तरपत्रको व्यहोरा जालसाज गरेको होइन भन्न नमिल्ने ।
(प्रकरण नं. ८)
अंशबण्डा हुने घरलाई अंश मार्न जाल गरी प्रतिउत्तर दिए भन्ने दावी भएकोबाट ९० सालको खरिदी मितिको २ बर्षको हद लाग्न र शेषपछि बकस पाउनेको हक पुगी भोग भएका २ बर्षसम्म दानदातव्यको १५ नं. ले नालिस लाग्नेमा कान्छी जीवतै हुनाले बकस पाउने नातिनीहरूको हकै पुगी नसकेबाट बकसपत्र उपर उजुर नगरेको भन्न समेत नमिल्ने र दानदातव्यको ४ नं. को रीत पुगेको पेवाको सबुद नआएको । अंश बण्डाको ३७ नं. ले सगोलको अंशियारको आर्जन सबै अंशियारलाई भाग बण्डा लाग्ने । अघिको स्वबासी घर ७९ सालमा प्र. शेरबहादुरले बिक्री गरेपछि ९० सालमा कान्छीका नाउँमा खरिद गरेको । पछि बनाउदा पनि सगोलमै बनाएको घर वादीको अंश लाग्दैन भन्न नभई ।
(प्रकरण नं. ७)
अपीलाट तर्फबाट : प्लिडर नारायणप्रसाद ।
प्रतिवादी तर्फबाट : प्लिडर बलभद्र मिश्र ।
फैसला
१. यसमा बाबु शेरबहादुरका नाउँमा अंशमा नालिस गरेकोमा मेरो घर १ थियो । ७९ साल मै बिक्री भई सक्यो । कान्छी स्वास्नीको पेवाबाट नरेन्द्रबहादुरसँग मोरु १०००१। मा ९०।७।।११ मा घर किनी स्वास्नीकै पेवाबाट भन्ने जालसाजी प्रतिवादी दिएकोले ऐन बमोजिम सजाय गरी पाउँ भन्ने समेत वादी ।
२. वादीको आमा मरी कान्छी ल्याएपछि निजको पेवाबाट र निजले सुढेनी भई कमाएकोबाट जोरेको हुँदा निजको खुस गर्न पाउने हुँदा निज कान्छीकै छोरीको छोरी नातिनीहरूलाई ११।१०।११ मा म हकदार लोग्ने साक्षी राखी शेषपछिको बकसपत्र लेखी पास गरी दिएको हुँदा र पछि सडकमा घर पर्नेलाई का. मिनिसिपल्टीबाट झिकाई कान्छीकै मन्जुरी गराएको छ । जालसाज गरेको भए म्यादै भित्र उजुर गर्न सक्नु पर्ने । म्याद नाघेपछिको उजुर हुँदा खारेज गरी पाउँ भन्ने समेत प्रतिवादी ।
३. मु. नरेन्द्रबहादुरबाट ९० सालमा कान्छीले फार्छे पास गरी लिएको देखिएको । सगोलको धनबाट कान्छीका नाउँमा जालसाज गरी लिएको थियो भने ९०।७।११ का मितिले किर्ते कागजका २१ नं. बमोजिम २ बर्ष भित्रै उजुर गरी बदर गराउन सक्नु पर्ने नसकी प्रतिवादी दिंदा जालसाजी गरे भनेको पक्का सबुद प्रमाण वादी तर्फबाट गुजार्न नआएको हुँदा जालसाजी भन्ने वादीको दावी पुग्न सक्तैन भन्ने ०१४।३।३१।५ को देवानी दोश्राको फैसला ।
४. यो जालसाजी गर्यो भन्ने कुरामा २ बर्ष भित्र नालिस गर्नु नपर्ने कारण के भने बाबुले आफ्नु कमाई धनबाट कान्छी आमाका नाउँमा घर खरीद गरेको कुरा ९७ साल देखिनै मानु छुट्टी सकेकोले थाहा नहुने हुँदा प्रतिउत्तरबाट थाहा पाएका ३५ दिन भित्र नालिस दिएकै छु । पेच गर्दा म्याद नाघेको रहेछ भने आफूलाई फुर्सत भएका ३५ दिन भित्र नालिस दिए लाग्छ भन्ने अ. बं. ६८ नं. भएको र दाइजो पेवा भए कसले दिएको थियो ? लिखित प्रमाण समेत दाखिल गर्न सक्नु पर्ने नसकेको भएपछि दाइजो पेवा भन्न नहुने हुँदा निजको जाालसाजी व्यवहार बदर र बाबुकै हकको घर कायम गरी त्यसबाट समेत अंश पाउने गरी हक इन्साफ पाउँ भन्ने तुल्सीबहादुरको अपीलपत्र ।
५. ११।१०।११ मा बकसपत्र उपर उजुर गर्न नसकेको र बाबुकै आर्जनको घर भन्ने प्रमाण पुर्याउन नसकेकोबाट शुरुको इन्साफ मुनासिब भन्ने १४।१२।१४ को अपील तेश्राको फैसला।
६. मेरी आमा परलोक भएपछि अं. ७८ सालमा पाचुके गरी बाबुले कान्छी ल्याएको । ९७।१२।१७ मा म घरमा सौतेनी पेचबाट मानु छुट्टी भिन्न बसेको कुरामा प्रतिवादीहरू साबितै छन् । त्यसो हुँदा सगोलमा कमाएकोमा जो जस्ले कमाएकै भए पनि सबैको अंश लाग्नु पर्ने । घर खरीद हुँदा म १३ बर्षको थिएँ । कान्छीको नाउँबाट बाबुले खरीद गराए पनि सो तमसुकमा पेवा भन्ने बोली पनि छैन । खास म सगोल छँदै जोरेको घर मेरो अंश नलाग्ने गराउनु न्याय होइन । इन्साफ पाउँ भन्ने तुल्सीबहादुरको अपीलपत्र ।
७. ९० सालमा कान्छीका नाउँबाट खरीद गरेको जालसाज हो भन्ने वादी दावी नभई अंशबण्डा हुने घरलाई अंश मार्न जाल गरी प्रतिउत्तर दिए भन्ने दावी भएकोबाट ९० सालको खरिदी मितिको २ बर्षको हद लाग्न र शेष पछि बकस पाउनेको हक पुगी भोग भएको २ बर्षसम्म दानदातव्यको १५ नं. ले नालिस लाग्नेमा कान्छी जीबितै हुनाले बकस पाउने नातिनीहरूको हकै पुगी नसकेबाट बकसपत्र उपर उजुर नगरेको भन्न समेत नमिल्ने र दानदातव्यको नं. ४ को रीत पुगेको पेवाको सबुद नआएको । अंशबण्डा को ३७ नं. ले सगोलको अंशियारको आर्जन सबै अंशियारलाई भाग बण्डा लाग्ने । अधिको स्वबासी घर ७९ सालमा प्र. शेरबहादुरले बिक्री गरेपछि ९० सालमा कान्छीका नाउँमा खरीद गरेको । पछि बनाउदा पनि सगोलमै बनाएको घर वादीको अंश लाग्दैन भन्न नभई २ अड्डाको इन्साफमा सहमत नुहँदा छलफलमा प्रतिवादीहरूलाई झिकाई निर्णय निमित्त डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगल बेञ्चको आदेश ।
८. अपीलाट तुल्सीबहादुर र झिकाई आएका शेरबहादुर, कान्छी डंगोल्नी समेतको वा. इश्वरीमान डंगोल समेतलाई राखी पेश गर्न ल्याएकोमा तुल्सी बहादुरका विद्वान वकिल प्लिडर नारायणप्रसाद श्रेष्ठ र प्र. शेरबहादुर समेतको विद्वान वकिल प्लीडर बलभद्र मिश्र समेतको बहस सुनी बुझ्दा यसमा ९० साल कार्र्तिक ११ गते रोज ६ मा पास भएको तमसुकमा प्रतिवादी कान्छी डंगोल्नीको दाइजो पेवाबाट खरीद भएको भनी नजनिएको र सो भएका मितिले २ बर्ष भित्र उजुर गर्नु पर्ने भन्ने हकलाई वादी त्यसबखत नाबालक भएको र सो दाइजो पेवाबाट खरीद भएको साँचो भए प्रतिवादी कान्छीले नै आफ्नु नातिनीहरूलाई ११।१०।११ मा लेखी दिएको बकसपत्रमा पनि लेखिनु पर्ने । सो पनि नभएको । अंश मुद्दामा नालिस गर्दा प्र. शेरबहादुरले आफ्नो प्रतिउत्तरपत्रमा लेखेको व्यहोराबाट मात्र अंश मार्न जाल गर्न थाले भनी थाहा पाउनु स्वभाविकै हुँदा र त्यस मितिले ऐनका म्याद भित्र यो जालसाजीमा उजुर परेकै देखिएकाले अरु सिंगलका रायमा लेखिएका बुँदा प्रमाणबाट समेत प्रतिउत्तरपत्रको व्यहोरा जालसाज गरेको हैन भन्न नमिल्ने हुँदा शुरु र अपीलले खारेज गर्ने गरेको इन्साफ बदर हुने ठहर्छ । सुरु र अपीलको इन्साफ उल्टी भएकोले रेकर्ड राख्न रजिष्ट्रार अफिसलाई सूचना दिई अरु तपसिल बमोजिम भएको दन्ड जरिवानाको लगत दिई मिसिल बुझाई दिनु ।
तपसिल
अपीलाट तुल्सीबहादुरको १४।४।३१।५ का शुरु रा. का. दे. दोश्रा फांटका फैसलाले गर्ने गरेको दन्ड मोरु २।५० को १४।१२।१४।५ का अ. तेश्रा फांटका फैसलाले गर्ने गरेको दण्ड मोरु ।२५ पैसा १५।१।६।६ मा अ. त. बाट लागत दिईसकेको । सो मोरु ।२५ पैसा नलाग्ने हुँदा असूल भईसकेको भए फिर्ता दिने र असूल भई नसकेको भए व्यहोरा जनाई लगत काटी दिनु भनी बाँड फांट तहसीलमा लगत दिने मोरु दुई रूपैयाँ पचहत्तर पैसा ...................१
देहायका प्रतिवादीहरूको शुरुबाट दण्ड जरिवाना केही नगरेको हुँदा जालसाज गरी वादीका दावी बमोजिम प्रतिउत्तर दिएको ठहरेकाले किर्ते कागजका १३ नं. ले तजबिजी मोरु ५। का दरले दन्ड हुन्छ । वारिस हुँदा असूल गर्न लगत दिने मोरु ......................२
प्र. शेरबहादुर के मोरु ५। रूपैया ५।
प्र. कान्छी डैगोलनी के मोरु ५। दण्ड हुनेमा स्वास्नी मानिस हुँदा स. २ नं. ले आधी मोरु दुई रूपैया पचास पैसा २।५०
वादी तुल्सीबहादुरले राखेको विद्वान वकिल पलीडर नारायणप्रसाद श्रेष्ठको १ पटकको बहसको फीस मोरु १५ पन्द्र रूपैयाँ सर्वोच्च अदालत नियमावलीको २४ दफा बमोजिम प्र. शेरबहादुर समेतबाट भरी पाउँ भनी तुल्सीबहादुरको ऐनका म्यादभित्र दर्खास्त परेमा दसौंद नलिई भराई दिनु भनी अ. त. बिगो फांटमा लगत दिने मोरु पन्द्र रूपैयाँ १५।
देहायका अड्डा अड्डाका हाकिम कारिन्दा के इन्साफ उल्टीमा रेकर्ड राख्न रजिष्ट्रार अफिसलाई सूचना दिने ..........................................................................३
अपील पैलाका देहायका हाकिम कारिन्दा के –
का. मु. सु. रामबहादुर पान्डे क्षेत्री १
का. मु. अ. डि. दिल्लीबहादुर श्रेष्ठ १
वि. पद्मराज मिश्र १
रा. का. देवानी दोश्राका हाकिम कारिन्दा के १
हा. ना. सु. गुणनाथ उपाध्याय १
अ. डि. गुणराज उपाध्याय १
वि. भरतप्रसाद उपाध्याय १
ईति सम्बत् २०१६ साल मार्ग २१ गते रोज १ शुभम् ।