शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४४ - लिखत बदर

भाग: साल: २०१८ महिना: मंसिर अंक:

निर्णय नं. १४४            ने.का.प.२०१८

डिभिजन बेञ्च

का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

अ. नं. ७३३

अपीलाट, वादी : टीकाराज पाध्या

विरुद्ध

विपक्षी, प्रतिवादी : बाबुलाल माडवारी समेत

मुद्दा : लिखत बदर

(१)   आफ्नै उजुरबाटै अंशबण्डाको कागज तैयार भई बण्डापत्रमा मन्जुर समेत गरी सकार गरी सकेपछि मन्जुरी बेगर भएको भनी बदर गर्न नमिल्ने दावी गरेकोमा एकलौटी हकको सबुद पुराउनु पर्ने हक सबुद गुजार्न नसके दावी साँचो भन्न नहुने ।

            अपीलाटले नै मेरो भाग अंश पाउँ भनी उजुर गरेबाट उहाँको पिताज्यू कुवलयराज बुझ्दा मेरो १ भाग जयराजको १ भाग समेत २ भाग जयराजलाई र टिकाराजको १ भाग निज जिम्मा दिनु भन्ने जवाफ आएबाट अंशबण्डा गर्ने कागज बनाई अपीलाटलाई देखाउन पठाउदा भाग बण्डा मिलाएको ठिक दुरुस्त छ । सो बमोजिम भाग बण्डा गरी लिन दिनामा मेरो मन्जुर छ भनी अपीलाटले नै मन्जुर गरेबाट २०००।४।१०।१ मा अंशबण्डाको खड्गनिशाना भएको मिसिल सामेल रहेको खड्गनिशाना नक्कलबाट देखिएको । उसबखत अंश पाउँ भनी उजुर गर्ने आफैं बण्डा मिलाएको ठीक छ । सो बमोजिम लिना दिनामा मन्जुर गरी बण्डा लिने आफै त्यो बण्डामा कदाचित चित्त नबुझेको भए अंश पाउँ भनी उजुर गर्न सक्नेले चित्त नबुझेको कुरामा उसै बखत मौकैमा उजुर गर्न सक्नुपर्ने, नगरी आफ्नै मन्जुरी बमोजिम बण्डाको खड्गनिशाना भई सो बमोजिम आफ्ना भागमा परेको बण्डा सकार गरी लिएपछि सो खड्गनिशाना अंशियारको मन्जुरी बेगर भएकोले बदर हुने भनी दावी गर्दैमा बिक्री भएको घर जग्गा एकलौटी हक हो भन्ने सबुद प्रमाण बेगर अपीलाटको अपील जिकिर उजुर दावी साँचो मान्न नहुने हुनाले समेत वादी अपीलाटको उजुर झुट्टा ठहराएको इन्साफ अपील दोश्रा फाँटको मुनासिब छ ।

 (प्रकरण नं. ५)

अपीलाट तर्फबाट : प्लीडर नारायणप्रसाद

 

फैसला

            १.     यसमा पिताज्यू भू. पू. बडागुरुज्यू कुवलयराजको म कान्छो र माहिला जयराज छोरो हुन् । १९७६ सालमा पिताजी साथ बम्बई गएको । म उमेर पुगेपछि पिताजी दाजुसँग छुट्टी बेगल डेरा गरी बसेको । ८२ सालमा आई घर जग्गा खोजी गरी घर जग्गा मैले कब्जा गरी भोगचलन गरेको । अंशबण्डा ३७ नं. ले उहाँहरूको हक पुग्न नसक्ने । ज. मि. १ नं. ले मेरो हक पक्का भईसकेको । मेरो घर जग्गालाई दाजु जयराजले म उपर कुनियत चिताई मो. रु. ७०००१। बाबु लालबाट लिई १४।८।४ मा पर्सा मालमा पास गरी माडबारी सेवा समितिलाई बिक्री गरी दिनु भएछ । २०००।४।३० का खड्गनिशाना बमोजिम बण्डा भएको भन्ने लेखिएको अंशबण्डा ४९ नं. ले अंशियारको मन्जुरीबाट बण्डापत्र खडा गरी रजिष्ट्रेशन पास भएको हुन पर्ने नभएकोबाट खड्गनिशाना बदर हुने । अंश अ‍ैले सम्म पाएको छैन । बिदेशको नागरिकता प्राप्त गरी सकेकोले नेपालको सम्पत्तीमा हक रहन नसक्ने । मेरो हकको जग्गा प्रतिवादीहरूले ऐन विरुद्ध बिक्री गरेको । सो लिखित बदर गरी पाउँ भन्ने समेत टिकाराज उपाध्यायको फिरादपत्र ।

            २.    उहाँहरू भातरमा गइ बसे भन्दैमा नेपालको अंश हरण हुन नसक्ने । वादीले एकलौटी खान पाउने कुरा थिएन । असूल तहसील बडागुरुज्यू तर्फबाटै भईरहेकोमा सो झिकी ९२।७।२९ गते देखि नगदी तहवीलबाट गरी वादीलाई महिनावारी दिई रहेको । पछि २००० सालमा उहाँहरूको अंशबण्डा हुँदा भाग खोली खड्गनिशाना भएकोबाट वादीका भागको वादी जिम्मा लागिसकेको कुवलयराजज्यूको भाग जेठा छोरा जयराजलाई दिई २ भाग मध्ये जयराजज्यूको भागको घर जग्गा उहाँबाट लिई माडबारी सेवा समितिमा रही १० सालदेखि रोगीको उपचार भई मेरो नाउँबाट फार्से गरी लिई धेरै खर्च लगाई मर्मत गरी सकेको जसको हकको हो, उसबाट लिएको हुँदा लिएको सदर हुने भन्ने समेत बाबुलाल माडवारी र २००० साल श्रावण १० गते ३ मा अंशबण्डाको खड्गनिशानी भएको । त्यस मिति भन्दा पहिलेको सम्पत्तीमा कसरी ज. मि. १ नं. लागु हुन सक्छ ? बण्डा छुट्टीएपछि आफ्नु भाग वादीले बन्दोवस्त समेत गर्नु पर्ने गरी भोगेको छ । ११ सालसम्म बहादुर शम्शेरका तहवीलबाट तरतहसील र १२ साल देखि आफैले असूल तहसील गरी भोग भई घर जग्गा पैले बिक्री गरी दिएको हुँ । पिताले आफ्नु सबै अंश भाग कं. रु. २१४३७१ मा मलाई दिएकोले सोहो कुरा स्वीकृति भई खड्गनिशाना भइसकेको छ भन्ने समेत जयराजको प्रतिवादी ।

            ३.    खड्गनिशानालाई वादीले मान्यता नदिएको । अंशबण्डाको कुराको मन्जुर छैन भन्दा भन्दै कर लगाई मन्जुर हुनै पर्छ भन्न नहुने । अंश लिने दिनेको मन्जुरी सहीछाप भएको नदेखिएको । रजिष्ट्रेशनका १४,१५ नं. बमोजिम रीत पुर्‍याउन पर्ने रीत नपुगेको । अंशबण्डा ४९ नं. ले सदर नहुने समेत हुँदा लिनु दिनु गरेको लिखत बदर हुने ठहर्छ । अड्डैबाट बदर गरी दिन मनासिब नभएकाले जाहेर गरेको छु भन्ने समेत देवानी पहिला ना. सु. प्रेमलालले फैसला गरेको । सो फैसलामा चित्त बुझेन भन्ने प्र. जयराज बाबुलालको अपील परेको ।

            ४.    अघि भएको ऐन कानून बमोजिम वादी टिकाराजकै अंश पाउँ भन्ने उजुरबाट वादी टिकाराजलाई अंशबण्डाका ३९, ४०, ४१ नं. समेतका ऐन बमोजिम सुनाई वादी समेत मन्जुर हुनु भएकोबाट खड्गनिशाना अड्डैका रुलबाट भएको देखिएको । सो रजिष्ट्रेशनका ३,,७ नं. ले पास गर्नु पर्ने खड्गनिशानामा सहीछाप गराउनु नपर्ने हुँदा उजुरै नपरेको । खड्गनिशाना उपर नलाग्ने ऐन बुँदा लगाई जाहेर गरेको शुरुको इन्साफ मुनासिब भन्न नहुने हुँदा एकलौटी हक गराएको प्रमाण वादीले दिन नसकेको । देश जाँदा प्रतिवादी कसैले हक नपाउने गरी जफत भएको नदेखिएको । प्रतिवादीको अंश नभएको भन्न नहुने । सो बण्डापत्र कागजजाँचका १९ नं. ले रीत पुगी भएको दन्ड स. १९ नं. ले समेत बदर गराउन नहुने बदर नहुने । जयराजयको हक ठहर्ने । साहु आसामीका ६।८ नं. ले जयराजले बिक्री गर्न पाउनेमा बदर गरी पाउँ भन्ने टिकाराजको दावी पुग्न सक्तैन । शुरुका इन्साफ उल्टी ठहर्छ भनी अपील दोश्रा फांटका सुब्बा शारदाप्रसादले १५।१२।११ मा फैसला गरेकोमा चित्त बुझेन भन्ने वादी टिकाराजको अपील परेको यो मुद्दा हद माथिको भनी मध्यमान्चल उच्च अदातलबाट यस अड्डामा सरी आएको र मुद्दा चाँडो छिनी दिनु भन्ने प्रमांगी पाउँ भनी प्र. बाबुलालका बिन्तिपत्रमा यसमा व्यहोरो साँचो भए तुरुन्त छिनी जाहेर गर्नु भन्ने १८।३।४ मा हुकुम प्रमांगी भई आएको ।

            ५.    अपीलाट वादी टिकाराजको वारिस गोबिन्दप्रसाद राखी निज तर्फका वकिल प्लीडर नारायणप्रसादले गर्नु भएको बहस समेत सुनी अपील जिकीर समेतको प्रस्तुत मुद्दा हेर्दा अपीलाटले नै मेरो भाग अंश पाउँ भनी उजूर गरेबाट उहाँको पिताज्यू कुवलयराज बुझ्दा मेरो १ भाग जयराजको १ भाग समेत २ भाग जयराजलाई र टिकाराजको १ भाग निज जिम्मा दिनु भन्ने जवाफ आएबाट अंशबण्डा गर्ने कागज बनाई अपीलाटलाई देखाउन पठाउदा भाग बण्डा मिलाएको ठीक दुरुश्त छ । सो बमोजिम भाग बण्डा गरी लिन दिनमा मेरो मन्जुर छ भनी अपीलाटले नै मन्जुर गरेबाट २०००।४।१०।१ मा अंशबण्डाको खड्गनिशाना भएको मिसिल सामेल रहेको खड्गनिशाना नक्कलबाट देखिएको । उस बखत अंश पाउँ भनी उजुर गर्ने आफै बण्डा मिलाएको ठीक छ । सो बमोजिम लिना दिनामा मन्जुर गरी बण्डा लिने आफै त्यो बण्डामा कदाचित चित्त नबुझेको भए अंश पाउँ भनी उजुर गर्न सक्नेले चित्त नबुझेको कुरामा उसै बखत मौकैमा उजुर गर्न सक्नु पर्ने नगरी आफ्नै मन्जुरी बमोजिम बण्डाको खड्गनिशाना भई सो बमोजिम आफ्ना भागमा परेको बण्डा सकार गरी लिएपछि सो खड्गनिशान अंशियारको मन्जुरी बेगर भएकोले बदर हुने भनी दावी गर्दैमा बिक्री भएको घर जग्गा एकलौटी हक हो भन्ने सबुद प्रमाण बेगर अपीलाटको अपील जिकीर उजुर दावी साँचो मान्न नहुने हुनाले समेत वादी अपीलाटको उजुर झुट्ठा ठहराएको इन्साफ अपील दोश्रा फाँटको मुनासिब छ । कोर्ट फी लागि दायर भएको मुद्दा हुँदा अपीलाटलाई केही गर्नु पर्दैन । नियम बमोजिम मिसिल बुझाई दिनु । हुकुम प्रमांगी बमोजिम जाहेर गरी पठाउनु ।

 

इति सम्बत् २०१८ साल श्रावण ८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु