निर्णय नं. १४९ - ज्यान

निर्णय नं. १४९ ने.का.प.२०१८
सिंगल बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
नं. १७३४
वादी : अजुध्या मगर्नी
विरुद्ध
विपक्षी : जनबहादुर राई समेत
मुद्दा : ज्यान
(१) घा जाँच गर्दा भाँचिएको अंग थाहा हुने । घा जाँच रिपोर्टमा उल्लेख नभएको लासजाँचमा देखिन आएको तत्वबाट प्रतिवादीहरू उपर लगाइएको दोष मान्न हुने वा नहुने ।
यदि त्यसै अबस्था (घा जाँच गर्दा) स्टर्नम् हड्डी भाँचेको भए सो अबश्य थाहा हुनु पर्ने र घा जाँच रिपोर्टमा त्यसको उल्लेख हुनु पर्ने । त्यसो नभई मानिस मरी सकेपछि लासजाँचमा मात्रै स्टर्नम हड्डी भाँचिएको देखिन आएको हुनाले प्र. हरूको कुटपीटबाट भाँचेको भन्न नमिल्ने ।
(प्रकरण नं. १०)
(२) नील सामान्य भए – लागेको चोटबाट मरेको नठहरिए र प्रहार गर्ने प्रष्ट नदेखिएमा सजाय गर्न नमिल्ने ।
प्र. जनकबहादुर राई र प्र. मानबहादुर राई वारदातमा सामेल थियो भन्ने ठहरिएको तर कसको चोटबाट मर्नेको छातीमा नील पर्न गएको मिसिलमा नदेखिएको र सो नील सामान्य भनी डाक्टरले लेखेको र त्यस चोटबाट खड्गबहादुर मरेको नठहरिएको हुनाले निज जनकबहादुर मानबहादुरलाई थुनाबाट तुरुन्त छाडी दिन फोन दिने ।
(प्रकरण नं. १३)
फैसला
१. यसमा ०१ साल फाल्गुण ११ गते बेलुका पवित्रा मगरनीले गुहार भनी हल्ला गर्दा मेरा लोग्ने खड्गबहादुर, दिल्ली सिं गुरुङ, हित मान मगर समेत पवित्राको घरमा गएका थिए । निजहरू फिरी आएपछि प्र. ७ जना पवित्राका घरमा रहेछन् । भुते राईले भात छोई दिएछ । किन यस्तो ग¥यौ ? भन्दा भनाभन भई कुटपीट गरे भन्थे । निज लोग्ने खड्गबहादुर १४ गते देखि हिंडडुल गर्न नसकी थला परी २६ गते मरे । कुटपीटको चोटपिरबाट मरे । अघिको इबी थिएन भन्ने व्यहोराको अजुध्या मगरनीको फिराद बयान भएपछि इलाम अमिनीले स्थानीय डाक्टरबाट लासजाँच गराई सरजमिन गर्दा प्र. भुते राईले भात छोई दिएर किन यसो गरेको भन्दा तलाई कुटछौं भने । गुहार भनी कराउँदा मर्ने खड्गबहादुर समेत ३ जना आए । भनाभन झगडा भई कुटाकुट गरे । म डरले ढोका थुनी बसें । एक घडी जति हल्ला गर्दै थिए ३।४ घडी पछि हेर्दा कोई थिएन । भोलिपल्ट बिहान खड्गबहादुर आई मलाई समेत कुटे । घा जाँच गर्न जान्छौं भन्थे । १४ गते देखि हिंडडूल गर्न सकेनन् । कुटेकै पिरबाट मरेका हुन् भन्ने लाग्छ भन्ने पवित्रा मगरनी ।
२. कुटपीट भएको घा जाँच गरेको र मरेको सुनेको हुँदा कुटपीटकै चोटले मरेका हुन् भन्ने लाग्छ भन्ने सरजमिन ५२ जना ।
३. माजरा स्थानमा हामी थिएनौं । त्यस अघि नै बिदेश गएका थियौं । ०२।०३ सालमा मात्र घर आएका थियौं भन्ने प्र. जनकबहादुर राई र प्र. मानबहादुर राई, मचानबाट खसी सो चोटपिरले मरे होला भन्ने दुबै प्रतिवादीहरूको बयान ।
४. बुझिएसम्म प्रमाणबाट कुटपिट वारदातमा प्र. हरू भएकै ठहर्छ । घा जाँच फाराममा छातीमा नील भन्ने र पछि सोही नील भएको ठाउँमा हड्डी भाँचिएकोबाट मरेको भन्ने डाक्टरले लेखेको । यसले पहिला चोट छोड्यो भन्ने समेत अरु कुरा खुल्न नसकी ७ जनाले कुटपीट गरे भन्ने लेखिएकोले ज्यान सम्बन्धीको २५ नं. बमोजिम दामल गर्नु पर्ने हो कि ? भन्न यिनैहरूका पिरबाट मरेको पनि देखिन नआएको । यतिकैबाट दामलको सजाय चर्को पर्ने । ज्यान सम्बन्धीका ३२ नं. मा ३ बर्ष देखि ६ बर्षसम्म तजविजले कैद गर्नु भन्ने भएकोले तजविजबाट तोकी बक्सेको सजाय गर्ने । फरार रहेका ५ जनाका हकमा मुल्तवी राख्ने भनी इलाम अमिनीले जाहेरी फैसला गरेको ।
५. वारदातमा प्र. हरू सामिल भएको शुरुले ठहराएको मुनासिब सजायका हकमा यस्तामा ज्यानसम्बन्धी २५ नं. को ऐनमा प्रष्टै खुलेको । त्यस्तोमा चर्को पर्ने ठहरिए राय लगाउनु पर्नेमा सजाय तोके जस्तै गरी लेखेको शुरुको गल्ती । प्र. २ जनालाई ऐनले दामल हुने ठहर्छ । मार्नु पर्ने रीसइवी अघिको नदेखिएको । यसैका चोटले मरेका भन्ने पनि नखुलेको । ढुंगा लाठी मुडकीले हानेको भन्ने देखिएको । कुटपीट भएपछि हिंडी इलाम अस्पतालसम्म आई घा जाँच गराई हिंडी घर गएको । घा जाँच केस फारम र लासजाँच केस फारमको घाको कारण केही फरक जस्तो देखिनाले अ. बं. को २३५ नं. बमोजिम राय लेखी जाहेर गरेका छौं । दामलै गर्न र घटी सजाय गर्न जो निकासा बक्सिन्छ सोही बमोजिम गर्ने भनी धनकुटा अपीलको जाहेरी फैसला।
६. लासजाँचका फारमबाट कुटपीटकै चोटले करङ भाँची सोही पिरबाट मरेको भन्ने देखिएकोले समेत २ जना प्र. हरूलाई दामल गर्ने ५ जनालाई मुल्तवी राख्ने समेत ठहराएको इन्साफ सजाय अपीलको मुनासिब । दामल हुनेमा जेल सुधार गजेट बमोजिम २० बर्ष कैद गर्न निकासा बक्से बमोजिम गर्ने भनी प्र. न्या. पहिला फाँटको जाहेरी फैसला ।
७. कुटपीट भएको २००१।११।११ गते बेलुका केश फारमको मिति फाल्गुण १२ गते र घा जाँच भएको फाल्गुण १३ गते १० बजे बिहान पुलिस केस फारममा देखिन्छ । यसै केश फारममा ३५ दिनमा निको हुने छातीको अग्रभागमा ४१/२३ को सामान्य नील लाठा ढुंगाबाट भएको र दाहिना र बायाँ खुट्टामा र घुँडामा दाहिने हातको कुहिनामा दाहिने गालामा लडेर वा घिस्राहटबाट छाला खुइलेको भन्ने देखिन्छ । यस बाहेक अरु केही चोट नदेखिएको । छातीमा दर्दछ भनी घा जाँच गराउने मानिसले भनेको भन्ने डाक्टरको रिपोर्ट । केस फारममा यस मानिसको उमेर ७० बर्ष लेखेको ।
८. पुलिसकेस लासजाँच रिपोर्टमा मर्ने दुब्लो अस्थिपन्जर भएको बुढो, छातीको अग्र भागमा ४१/२ “३” को नीलबाहेक अरु बाहिरी केही चोट नदेखिएको । छाती र पेटको छाला मुनी रगत र छातीको स्टरनम हड्डी २ भाँचेको र यसलाई चिरफार गर्दा पिप आएको र पेरिकारडिएममा पनि पिप भरेको र यसैकारणले मरेको । कसैले हिर्काएकोबाट हड्डी भाँचेको भन्ने डाक्टरको रिपोर्ट ।
९. पहिलेको घा जाँच केस फारम र त्यसपछिको लासजाँच फारम दुबै स्थानीय डा. जगदिश चन्द्र सिंह एम. वी. वी. एस. लाई जचाउँदा पेरिकारडिएम फोक्सोको माथि हुन्छ । त्यसमा पिप भएको र मुटु पनि फोक्सोसँगै भएको हुनाले शारीरिक रोगबाट मुटुको रगतको गतीमा हेरफेर हुँदा पेरिकारडिएममा पिप जम्न गएको र मुटुको दाहिने र बायाँ पट्टी एडिएम र मेन्डिकलमा फ्याटी डिजेनेरेशन भएको लासजाँच रिपोर्टमा नै देखिएको हुनाले कुनै शारीरिक रोगले यो भएको र यसैबाट मृत्यु भएको भन्ने डा. जगदिशको राय । यदी कसैले हिर्काएको चोट भए छातीको छाला मुनीको रगत जमी पिप भई सक्नु पर्ने । तर त्यसो नभई भित्र फोक्सो माथिको पेरिकारडिएममा पिप जमेको र स्टर्नम हड्डी भाँचेको भए सास फेर्न नसकी यस्ता चोट पाएका मानिस लडी हाल्थे । त्यसो नभई मर्ने मानिस १५ दिन अघि घरबाट २४ कोस हिंडीं इलाम अस्पताल आई घा जाँच गराई घर फिर्ता जानै नसक्ने । घा जाँचमा पनि स्टर्नम हड्डी भाँचेको केही उल्लेख नभएकोले डा. जगदिशको रायमा मानिस मरेपछि मुर्दा लासजाँच गर्न ल्याउँदा वा अरु केही कारणबाट स्टर्नम हड्डी भाँचेको हुनु पर्छ । छातीको छाला मुनि रगत जमी सक्नु पर्ने । त्यसो नभएको लासजाँच रिपोर्टमा देखिएकोले समेत अघि घा जाँच हुँदाको अबस्थामा स्टरनम हड्डी भाँचेको नभई मानिस मरी लासजाँच गराउने अघि भाँचेको हुनु पर्छ भन्ने डा. जगदिशको स्पष्ट किटानी राय भएको ।
१०. प्रतिवादीहरूको कुटपीटको चोटले मरेको भन्ने अभियोगमा शुरु अमिनी लगायत प्र. न्या. पहिलाको समेत राय भएको हुनाले यस मुद्दामा घा जाँच र लासजाँच रिपोर्टको आधारमा नै मुद्दा फैसला हुनु पर्नेमा कुनै अदालतले पनि डाक्टरको रिपोर्टको मजबुन बुझ्न नसकेको जस्तो देखिन्छ । धनकुटा अपीलले घा जाँच र लासजाँच रिपोर्टमा फरक छ सम्म लेखी डाक्टर बोलाई यो रिपोर्टहरूको तात्पर्य खुलाएको मिसिलमा नदेखिएको । प्र. न्या. पहिलाले ता यी रिपोर्टहरूको वास्तै नराखी फैसला गरेको देखिन्छ । घा जाँच रिपोर्टमा स्पष्ट लेखिएको छ कि छातीको नील सामान्य हो । यदि त्यसै अबस्था (घा जाँच गर्दा) स्टर्नम हड्डी भाँचेको भए सो अबश्य थाहा हुनु पर्ने र घा जाँच रिपोर्टमा त्यसको उल्लेख हुनु पर्ने त्यसो नभई मानिस मरी सकेपछि लासजाँचमा मात्रै स्टर्नम हड्डी भाँचिएको देखिन आएको हुनाले प्र. हरुको कुटपिटबाट भाँचेको भन्न नमिल्ने । अब, सो हड्डी कहिल भाँचेको हो ? भन्ने तर्फ बिचार गर्दा लासजाँच फारममा “छातीको सामुन्ने र बगलमा र पेटमा समेतको ठाउँमा छाला मुनी धेरै रगत ढेलिएको” भन्ने उल्लेख भएकोले कुटपीटको वारदातमा नै सो हड्डी भाँचिएको भए १६ दिन पछिको अबस्थमा सो रगत ढेलिएको नभई पिप भई सक्नु पर्ने भन्ने डा. जगदिशको राय हुनाले सो स्टर्नम हड्डी लासजाँच हुनु भन्दा १।२ दिन अघिमात्र भाँचिएको देखिन आउँछ । प्र. हरूको भनाई अनुसार मर्ने मानिस मचानबाट अकस्मात खसी सोही हड्डी भाँचेको भन्ने सुनेको तर त्यस्तो सबुद प्रमाण केही नआएको र डा. जगदिशको रायमा सो हड्डी मानिस मरी सकेपछि कुनै कारणबाट भाँचिएको हुन पर्छ भन्ने र सो स्टर्नम हड्डी कुटपीटको वारदातमा नै भाँचिएको भए त्यस्तो चोट पाउने मानिसले सास फेर्ने गतीमा नै अबरोध भई मुर्छा पर्ने अबस्था भई घा जाँच गर्नलाई इलाम अस्पताल सम्म हिंड्नै नसक्ने हुन्छ भन्ने समेत डा. जगदिशको राय हुनाले पनि पहिले कुटपीटको वारदात भएपछि १।२ कोस हिंडी इलाम अस्पतालमा घा जाँच गराई हिंडेर नै घर गई ३।४ दिन पछि विमार भई मरेको भन्ने मिसिलमा देखिएकोले कुटपीटबाट स्टर्नम हड्डी भाँची त्यसैको चोटले मरेको भन्न नमिल्ने ।
११. के कारण परी मर्यो होला भन्ने तर्फलाई लासजाँच रिपोर्टमा “माथि लेखिए बमोजिम मेरो रायले मर्नेको कारण छ कि लात घुस्साको चोटबाट भाँचिएको ठाउँ फरक भई ह्दयकोषबाट पीप आएबाट मरेको हो भन्ने इलाम अस्पतालमा डाक्टरको राय । “माथि लेखिए” भन्नाले लासजाँचमा पाएको प्रकृतिहरू बुझिन्छ ।
१२. सो प्रकृतिहरूको बिषय अघि नै यस, फैसलामा उल्लेख भई पहिले प्र. हरूले गरेको कुटपीटबाट हड्डी भाँचीएको नभई कुनै कारणबाट त्यस वारदातको पछि भाँचिएको ठहरेको र त्यस वारदात पछि यिनी प्र. हरूले फेरि कुटपीट गरी स्टर्नम हड्डी भाँचेको भन्न नमिल्ने । सो डाक्टरको रायमा हड्डी भाँचिएको ठाउँ फरक भई भन्नाले हड्डी भाँचीएको ठाउँबाट पिप आएको नदेखी “ह्दयकोषबाट पिप आएबाट मरेको हो” भन्नाले ह्दयकोष केही कारणले बिग्रन गई मानिस मरेको स्पष्ट बुझिन्छ । डा. जगदिशको रायमा पनि कूनै रोगको कारण परी कारडिएममा फ्याटी डिजेनेरेशन भएकाले कुनै रोगले यस्तो भई मरेको भन्ने र मेडिकल जुरिसप्रुडेन्स माथि लेखिएमा ह्दय रोगको व्याख्यान गर्दा औलो जोर (मलेरिया) आँउ (डिसेन्ट्री) कालाजोर बेरी बेरी इत्यादि रोग र व्याधको अभाव र आवहवाले गर्दा मुटुलाई प्रचुर मात्रामा रगत संचारको काममा धपेडी पर्न जाँदा मुटु भित्रको यन्त्र (कारडिएमको) मद्दतले सकेसम्म सम्पादन हुन्छ र यसैबाट मुटुको रोग हुन्छ भन्ने उल्लेख भएकाले यस्तै मुटुको रोगको प्रकृति लासजाँचमा देखिन आएकाले “ह्दयकोषबाट पिप आएबाट मरेको हो” भन्ने लासजाँच गर्ने डाक्टरको राय समर्थन हुन्छ र खड्गबहादुर मगर मुटुको रोगले नै मरेको ठहरिन्छ ।
१३. प्र. जनबहादुर राई, र प्र. मानबहादुर राई वारदातमा समेल थियो भन्ने ठहरिएको । तर कसको चोटबाट मर्नेको छातीमा नील पर्न गएको मिसिलमा नदेखिएको र सो नील सामान्य भनी डाक्टरले लेखेको र त्यस चोटबाट खड्गबहादुर मरेको नठहरिएको हुनाले निज जनबहादुर, मानबहादुरलाई थुनाबाट तुरुन्त छाडी दिन फोन दिने ।
१४. शुरु अमिनी लगायत धनकुटा अपील र प्र. न्यायालय पहिला फाँटका हाकिमहरूले घा जाँच लासजाँचको मजबुन नै नबुझी फैसला गरी प्र. हरूलाई यतिका बर्ष थुनामा राखेकोमा सख्त नसिहत दिई भविष्यमा यस्तो नहोस् भनी निजहरूको नोकरी किताबमासमेत जनाई राख्नु । अरु सजाय केही गर्नु पर्दैन ।
१५. कुटपीटका चोट पिरबाट मरेको नठहरिएको हुँदा फरार रहेका प्रतिवादी ५ जनाका हकमा मुल्तवी राख्न पर्दैन । प्र. जनबहादुर मानबहादुरलाई दामल गर्ने गरेको लगत काट्न र प्रतिवादी जनबहादुर, मानबहादुर, राम ध्वज, श्री ध्वज, जुदे साइला राई, कागे राईको भाई कान्छो राई समेत ६ जनाको रोक्का रहेको सर्वश्व फुकुवा गरी दिन समेत मिसिल धनकुटा अपीलमा पठाई दिनु ।
इति सम्बत् २०१७ साल श्रावण २६ गते रोज २ शुभम् ।