निर्णय नं. १५३ - न्वारान गराई पाउँ

निर्णय नं. १५३ ने.का.प.२०१८
फुलबेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री स. इश्वरीराज मिश्र
न्यायधीश श्री धनेन्द्रबहादुर सिंह
फौ. फु. नं. ७
निवेदक, प्रतिवादी : ना. डि. केदारमानन्धर
विरुद्ध
विपक्षी, वादी : पूर्णलक्ष्मी मानन्धर्नी
मुद्दा : न्वारान गराई पाउँ
(१) रगत जाँचबाट यसैको सन्तान हो भन्ने एकिन हुन नसक्ने ।
रतग जाँचबाट यसैको सन्तान हो भन्ने कुरा एकिन हुन नसक्ने भन्ने बिशेषज्ञहरूको रिपोर्टबाट देखियो ।
(प्रकरण नं. ३२)
(२) अनुहारको भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नहुने ।
वादीको छोरीको अनुहार हेर्दा धेरै जसो आमासँग मिल्ने देखिएको । नाक देखि मुन्तिरको भाग केही बाबुसँग मिल्ने देखिए तापनि त्यतिकै भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नदेखिएकाले ।
(प्रकरण नं. ३३)
(३) स्वास्नी माइतीमा हुँदा आउने जाने गरेको भन्ने स्वास्नी तर्फको भनाई भएकोमा – लोग्ने तर्फबाट ‘होइन’ भन्ने प्रमाण गुजार्न नसके आउने जाने गरेकै देखिने – र, सम्पर्क भएकै देखिने ।
०३ सालको घोडेजात्रा पछि माइत गएको भन्ने वादी । ३ साल श्रावणमा गएको भन्ने प्रतिवादी भएको । प्रतिवादीका टोलका सरजमिनले वादीलाई ३ साल श्रावण ४।५ गते देखि नदेखिएको भनेका र वादीका सरजमिनले ४ साल जेष्ठ महिना देखि ६।७ महिनासम्म प्रतिवादी वादीको माइतीमा आउने जाने गरेको देखेको हुँ भनि बकेको र प्रतिवादी तर्फका सरजमिनले वादीलाई घरमा नदेखे तापनि प्रतिवादी वादीको माइत जाने गरेका थिएन भनी भन्न नसकेको र वादी तर्फका साक्षी र सरजमिन दुबैले प्रतिवादी वादीका माइतमा आउने गरेको देखेको भनी किटानी साथ बकेको र प्रतिवादीले वादीको माइतामा जाने गरेको थिएन भनि सबुद पुर्याउन नसकेकोले वादीको प्रतिवादीसँग सम्पर्क भएकै देखियो ।
(प्रकरण नं. ३३)
(४) लोग्ने स्वास्नीको सम्पर्क भइरहेकै देखिएमा वैवाहिक सम्बन्ध रीतपूर्र्वक बिच्छेद भएको नदेखिएमा र गर्भ धारण गराउने अयोग्यता प्रमाणित गराउन नसकेमा गर्भ लोग्नेकै ठहर्ने ।
प्रतिवादीले वादीलाई विवाह गरी दुवै वैवाहिक बन्धनमा रहेको र पारपाचुकेद्वारा सो बन्धन बिच्छेद भएको पनि देखिएन । यस्तो अबस्थामा लोग्ने स्वास्नीको सम्पर्क भेटघाट थिएन भन्ने वा सम्पर्क भएर पनि गर्भ धारण गराउने अयोग्यता लोग्नेमा थियो भन्ने कुरा प्रमाणित नभएसम्म जन्मेको बालक लोग्नेकै ठहर्ने ।
(प्रकरण नं. ३४)
प्रतिवादी पक्षबाट : सिनियर एडभोकेट राधाकृष्ण बिहारी
फैसला
१. प्रतिवादीले जातको रीत पुर्याई ९९ साल फाल्गुण महिनामा मलाई विवाह गरी घर लगी राखेकोमा ०३ सालको घोडेजात्रा पछि मेरो महिनावारी बन्द भई खसमका करणी विर्जेबाट गर्भ रहन गएको । सो बखत म बिरामी भएकोले केही दिन माइत बसी औषधी गराई आउँछु भनी लोग्ने समेतसँग बिदा माँगी ०४ साल बैशाख २७।२८ गते के हो ? माइतमा गई औषधि गराउदै थिएँ । खसम बेला बेलामा आउने जाने गर्दै गर्नु भएको थियो । त्यस्तैमा खसमले मोजा बुन्ने धागो किन्न पर्यो भनी बाबुसँग ने. रु. ६००। लानु भएको र मलाई बाबुले दिएको सुनको बाला औंठी म लान्छु बाबु आमासँग नभन्नुु भनी लानु भएको थियो । पछि लानु भएको बाला औंठी दिनु होस गर्भ रहेको ९ महिना नाघी सक्यो माइत बसी रहन भएन घर जान्छु भनेमा बाला औंठी जुवाले हार्यो । तेरो माल खाँदिन भनी रिसाई घर लाने बारेमा जवाफै नदिई जानु भएको । त्यसपछि लोग्ने आउन छाडेका । बाबुले अष्टनारायणलाई भेटी ज्वाईले लगेको रूपैयाँ पठाई दिए हुन्थ्यो भने छन् र बाटामा वेइजत गर्ने भनी रिसाई गयो भनी बाबाले भनेका । ०४।९।२९ गते बिहान ६।। बजे बाबु समेत साथ लिई घर गएको । भित्र पस्नासाथ खसम समेत ओर्ली हामीलाई बाटामा इज्जत लिनेको छोरी किन आइस ? घरमाबस्न भनी खसमले भन्यो । घरमा किन बस्न नदिने ? भनी बाबुले भन्दा तेरो इज्जत नलिई छाड्दिन भनी खसम समेतले बाबुलाई कुटपीट गरी झगडा परेकोले पुलिसले पक्री लगेको र छिंडिमा मेरो गर्भ पैदा हुन लागेको देखी जेठानीहरूले तिमीलाई यहाँँ राख्न सक्तिन । बस्ने कोठा छैन । शंखरलालको बाबुका घरमा लान्छु । वहीं जाउ भनी नयाँसडकको घरमा पुर्याई अन्दाजी ९।। बजे छोरी पैदा भयो । पछि खसम समेत म भएमा आई शत्रुको छोरी यहाँ पनि राख्दैन भनी मलाई मनपर्दो गाली गरी तहाँबाट पनि निकाला गरे । जाने ठाउँ कहीं नभई सोही दिनको साँझमा मामली नक्सालमा गई बसी रहेकी थिए । ०४।१०।५ गते खसम कहाँ न्वारन गरी देउ भन्न पठाएमा न्वारान गर्दैन जो गर्न सक्छ गर भन्ने जवाफ पठाई आजसम्म छोरीको न्वारान गरी नदिएकोले ठाडै बुझी न्वारान गर्न लगाई दिनु भन्ने स. जं. कोतबालीका नाउँमा प्रमांगी पाउँ भन्ने समेत व्यहोराको पूर्णलक्ष्मी मानन्धरनीको निवेदनपत्र ।
२. व्यहोरा साँचो भए ठाडै बुझी ऐन सवाल बमोजिम गर्नु भनी फौजदारी अदालतमा पठाई दिनु भन्ने श्री कमाण्डर इन्चीफ साहेबबाट मर्जी बक्सेको छ भन्ने ०४।१२।१७ को प्रमांगी ।
३. मेरो बिन्तिपत्रमा लेखिए बमोजिम लोग्नेका विर्यबाट जन्मेकी छोरीको न्वारान गराई पाउँ भन्ने समेत व्यहोराको पूर्णलक्ष्मीको ०४।१२।३१ को बयान ।
४. वादीलाई मैले ९९ सालमा विवाह गरेको हुँ । निजको आचार व्यवहार खराब बुझिएको र ३ साल श्रावणमा म समेतलाई नसोधी माइतमा गएकी हो । ताहाँ देखि मैले भेटघाट समेत भए गरेको छैन । अहिले १८ महिना पछि पौष २९ गते बिहान ६ बजे वादीको बाबु समेत आई स्वास्नी बुझी लेउ भनी हुल बलले जवरजस्ती घरमा हुल्न लागेकाले त्यसमा झगडा समेत भयो । न्वारान गराई पाउँ भन्ने बिन्तिपत्र दिई प्रमांगी बमोजिम फौ. अ. ले बयान लिई मेरो नाउँमा म्याद आयो । पूर्णलक्ष्मीले कस्को गर्भबाट पेट बोकेकी हुँन ? मैले कसरी स्वीकार गर्ने ? यस्तो अबस्था परेकोले सो जन्मेको बालकको र मेरो रगत जाँच भएमा मेरो गर्भ होइन भन्ने जाहेर हुने भएकाले रगत जाँच गराई दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत व्यहोराको प्र. केदारमानको निवेदनपत्र ।
५. न्यायालयमा पठाई दिनु भन्ने ०५।१।२९ को श्री कम्याण्डर इन्चीफ साहेबको प्रमांगी ।
६. रा. का. फौ. अदालतके केदारमानको बिन्तिपत्रमा जो गर्नु भन्ने श्री कम्याण्डर इन्चिफ दाजैज्यूबाट एकछापे बक्स भई आएकोले ऐन सवाल बमोजिम गर्ने काम गर भन्ने समेत ०५।३।२२ को श्री ले. ज. मदन शम्शेरको आदेश ।
७. म हिन्दूस्थान खटिएकोले मुद्दा मुल्तवी राखी पाउँ भन्ने समेत केदारमानको निवेदन रा. का. फौ. अ. के व्यहोरा साँचो भए इस्तिहार बमोजिम मुल्तबी राखी दिनु भन्ने समेत ०५।७।४ को ज. हरि शम्शेरको आदेश ।
८. इस्तिहार बमोजिम मुद्दा मुल्तवी राखी दिने, जनाउ आएका बखत आउनु भनी वादीलाई सुनाई दिने भन्ने समेत ०५।७।२४ को रा. का. फौ. अ. को पर्चा ।
९. वादीलाई जातको रीत पुर्याई ९९ सालमा विवाह गरेको विवाहिते स्वास्नी हो । निजले पैदा गरेको जातक मेरो करणी विर्यको होइन र न्वारान नगरेको हुँ । विवाह गरी ल्याए देखि माइतमा गइन् । बोलाउन पठाउदा का. इ. नक्साल बुढी मावली बजैको हेरचाह गर्न गएकी छन् । बोलाई साथमा पठाई दिनु भनी बोलाउन जानेलाई पर्खाई बोलाई पठाई दिए तापनि १।२ दिन मात्र बस्ने । घरमा काम समेत नगरी बस्ने चलन भएकाले ठीक चलन व्यवहार नदेखिएबाट घर हुँदैन भनी बसी रहेको । ०३ साल श्रावण ३।४ गते के हो ? वादी माइतीबाट बोलाउन नआई म समेतलाई सोधपुछ नगरी माइत गएकी । त्यसपछि घरमा नआएकीले मेरो करणी विर्यबाट गर्भ रही जन्मेको जातक होइन कसका करणी विर्यबाट गर्भ रहेको हो ? मलाई थाहा छैन । वादीको माइतमा म आउने जाने गरेको छैन । बाला औंठी लिएको समेत होइन । रगत जाँच भए एकिन हुने छ । न्वारान गर्न नपरोस । वादीलाई छाडी सकेको पारपाचुके दिई नसकेको । अर्काबाट न्वारान गराउदा मेरो उजुर परी सजाय गराउने हुँदा सजायबाट बच्ना निमित्त झुट्टा उजुर गरेको भन्ने समेत व्यहोराको केदारमान मानन्धरको ०६।४।९ को बयान ।
१०. ०४ साल कार्तिकमा प्र. केदार उनको सालाहरूसँग टोलमा आवत जावत गरी रहेको र वादीको माइती घरमा प्रतिवादी पसेको देखेथें । त्यसको २।३ दिनपछि वादीको माइतीमा जाँदा कोठामा वादी प्रतिवादी र वादीको भाई समेत बसी रहेको मलाई थाहा छ । कस्को करणी विर्यको बालक हो ? मलाई थाहा छैन भन्ने समेत वादीको साक्षी सेतेमान श्रेष्ठको बकपत्र ।
११. ०३ सालको घोडेयात्राको ४।५ दिन पछि प्रतिवादीलाई वादीको माइती घरको झ्यालमा बसेको देखेको हुँ । बालख वादीको करणी बिर्यको हो । वादी माइतमा आएको बखत प्रतिवादी बराबर ससुरालीमा आएको मैले देखेको हुनाले वादीकै करणी विर्यबाट जन्मेको बालख हो भन्ने समेत वादीको साक्षी जोगसालको बकपत्र ।
१२. सो बालख प्रतिवादीका करणी विर्यको हो । प्रतिवादी बराबर वादीको माइतीमा आउँथ्यो । मेरो विर्यबाट जन्मेको होइन भन्ने प्रतिवादीको भनाई झुट्टा हो भन्ने समेत वादीको साक्षी देवनर सिं, रुद्रमान समेतको बकपत्र ।
१३. ०४ साल भाद्र देखी वादीलाई प्रतिवादीको घरमा नदेखिएको । इन्द्र नारनसँग तिम्रो भाउजु खोई भनी सोद्धा माइतमा गएको छ भनेको । कस्को करणी विर्यबाट जन्मेको हो ? मलाई थाहा छैन भन्ने समेत प्र. को साक्षी दानबहादुरको बकपत्र
१४. ०३ सालको श्रावण संग्रान्तीलाई वादीलाई बोलाई प्र. का घरमा ल्याई दिएको हुँ । अरु थाहा छैन भन्ने जमुनाको बकपत्र ।
१५. ०३ साल श्रावण ३।४ गते के हो ? प्र. का घरमा जाँदा वादीलाई नदेखेको । ०३ साल श्रावणमा माइत गएकी । तहाँ देखि घरमा आउँदै नआएकीले आज बिहान वादी पेट बोकेकीलाई घरमा ल्याएकोले हामी राख्दैनौ भनी झगडा हुँदा ठानामा लग्यो भनी प्र. को भाउजुले ०४।९।२९ गते प्र. को घरमा जाँदा भनेकी । कसको करणी विर्यको हो ? मलाई थाहा छैन । १८ महिनासम्म वादी लोग्नेका घरमा नभएकीले न्वारान गराई पाउँ भन्ने वादी दावा झुट्टा हो भन्ने समेत प्र. को साक्षी जुद्ध बीर, आशाकाजी समेतको बकपत्र ।
१६. आफ्नो करणी विर्र्यको नभए वादीलाई प्रतिवादीले मौकैमा पक्राउ गरी सौपुवा गर्न सक्नु पर्ने नसकेको र वादीका साक्षीका बकाईबाट माइतमा वादी रहेका बखत प्रतिवादी आउने गरेको देखिन आएको । प्रतिवादीको करणी विर्यको नभए वादी माइत घरबाट आफ्नो घरमा आउँदा हात हालाहाल भई पुलिसद्वारा पक्राउ भई गई छुटेपछि मेरो गर्भ होइन कस्को करणी गर्भको बालख पाएकीले, वादीलाई सौंपुवा गर्न वा गर्भ पत्ता लगाई पाउँ भनी वादीका नाउँमा नालिस गर्न सक्नु पर्ने सो नसकिएकाले समेत प्रतिवादीले न्वारान गरी दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको रा. का. फौ. अदालतको ०६।९।२९ को फैसला ।
१७. मेरो करणी विर्यको नभएकोमा मैले न्वारान गरी दिनु पर्ने ठहराएको फैसलामा चित्त बुझेन भन्ने समेत प्र. केदारमानको अपील ।
१८. ०४ साल जेष्ठ महिना देखि ६।७ महिनासम्म बराबर वादीको माइती घरमा प्रतिवादी आउने जाने गरेको देखें जानेको हुँ । कसको करणी विर्यको हो ? भन्ने जितबहादुर समेत १० जनाको र ०४ साल जेष्ठ महिनामा बराबर वादीको माइतमा प्रतिवादी आउने जाने गरेको मैले देखेको छु । अरु थाहा छैन भन्ने दानरत्न समेत ६ जनाको र वादीलाई ३ साल श्रावण १ गते प्र. को घरको झ्यालमा देखेको । त्यसपछि सोही ४।५ गते नदेखिएकाले प्र. सँग सोधेमा आचार बिचारबाट नैतिक पतन भएकोले हामीले पठाई सक्यौं भनेकाले सो कुरासम्म थाहा छ । ३ साल श्रावणदेखि माइत गई ४।९।२९ गते मात्र सुत्केरी हुन आएकीले प्र. को करणी विर्यबाट जन्मेको होइन भन्ने शंकरप्रसाद समेत ३६ जनाको ०९।३।११ को सरजमिन मुचुल्का ।
१९. इन्साफ शुरुको मुनासिब छ भन्ने अपील तेश्राको ०१०।४।२९ को फैसला
२०. रगत जाँचबाट मेरो र बच्चाको रगत नमिलेकोबाट सो बालख मेरो करणी गर्भको होइन भन्ने देखिएकैमा मेरो करणी गर्भको बालख ठहराई फैसला गरेकोमा चित्त बुझेन भन्ने समेत प्र. केदारमानको अपील ।
२०. सुत्केरी भएको घरधनी शंकरलाल मरिसकेको देखिएकोले निजको बाबु विष्णुलाल भएकोले निजलाई झिकाई बुझी पेश गर्नु भन्ने ०१२।३।२३ को प्र. न्या. डिभिजन बेञ्चको आदेश।
२१. ०४।९।२९ गते बिहान अन्दाजी ६।७ बजे वादीलाई बोकाई मेरा घर मुनी वादीको आमा आई मेरो छोरा शंखरलालसँग कुरा गरी मेरा घर भित्र ल्याएकोले मैले किन ल्याएको भनी छोरासँग सोद्धा मेरो साथीको बहिनी र आमा हुन् । लोग्नेकहाँ सुत्केरी गराउन नदिई झगडा भएकोले हाम्रा घरमा ल्याएको भन्थ्यो । बेथा लागि सुत्केरी भएकोले भगडा भएको मानिस राख्न दिन्न लैजा भन्दा सो दिन बेलुका मेरो घरबाट लगेका हुन् । कहाँ लगे थाहा छैन । सुत्केरी हुन प्रतिवादीका घरबाट ल्याएको होइन । वादीको आमाले ल्याएको हो भन्ने समेत १२।३।२६ को बिष्णुलालको बयान ।
२२. पूर्णलक्ष्मी मानन्धरनीको ब्लड ग्रुप ‘ए’ केदार मानन्धरको ब्लड ग्रुप ‘वि’ बच्चाको ब्लड ग्रुप ‘ए’ देखिएको र जब आमा भनाउदो बाबु र बच्चाको माथि लेखिए बमोजिमको ग्रुप देखिन आउँछ सो भनाउदो बाबु त्यही बच्चाको खास बाबु नै हो भनेर कुनै राय दिन असम्भव छ । टेष्टहरूबाट यस्तो देखिन आएमा ब्लड ग्रुपिंग टेष्टको कुनै फाईदा देखिंदैन भन्ने भारत सरकारको एम. डि. सिरालोजिष्टर केमिकल परिक्षकको रिपोर्ट ।
२३. रगत जाँचको कागज उल्था गर्न स्वास्थ विभागमा नक्कल पठाई उल्था भई आए पछि पेश गर्नु भन्ने ०१३।१२।२२ को डिभिजन बेञ्चको आदेश ।
२४. न्वारान गरी पाउँ भनेको पूर्णलक्ष्मीबाट जन्मेकी छोरीको अनुहार हेर्नालाई लिई आउनु भनी पूर्णलक्ष्मीलाई ७ दिने म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्ने ०१४।७।२७ को डिभिजन बेञ्चको आदेश ।
२५. खून जाँचबाट निश्चय हुन नसक्ने देखिन आएको । आफ्नो स्वास्नी भन्ने कुरामा साबित रही अर्काको गर्भ भए थाहा पाएपछि त्यसपछि उजुरी गरी अर्काको गर्भ कायम गराउन सक्नु पर्ने सो भए गरेको नदेखिनाले आफ्नो गर्भबाट जन्मेको बालखको गर्नु पर्ने न्वारान गरी नदिएको गर्नु पर्ने ठहराई शुरु अपीलले छिनेको इन्साफ मुनासिब ठहर्छ भन्ने ०१४।१२।४ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
२६. डिभिजन बेञ्चको फैसलामा चित्त बुझेन । रिभ्यू गरी पाउँ भन्ने प्र. केदारमानको निवेदनपत्र सर्वोच्च अदालत नियमावली ६३ दफा अनुसार नयाँ महत्वपूर्ण कुरा समेत केही नदेखिएकोले रिभ्यू हुन सक्दैन भन्ने डिभिजन बेञ्चको आदेश ।
२७. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहराई पाउँ भनी प्र. केदारमानले चढाएको निवेदनमा व्यहोरा साँचो भए दोहराई दिनु भन्ने हुकुम बक्सेकोले लेखेको छु भन्ने श्री ५ महाराजाधिराजको प्रमुख निजी सचिवालयको ०१५।६।१२ को पत्र ।
२८. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्नु होला भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूको ०१५।७।१५ को आदेश ।
२९. मुद्दा दोहरी टुंगो लागेको छैन । त्यस बिषय खाद्य मन्त्रीले पूर्णलक्ष्मीको निवेदन लिई गई गृह मन्त्रीलाई यो मेरो घरबेटीको छोरी हो । चाँडो गरी दिनु पर्यो भन्दा गृह मन्त्रीले उहाँले भने बमोजिम गरी दिनु भनी प्राइभेट सेक्रेटरीलाई भनेपछि निवेदन बमोजिम अड्डाबाट जितेको रहेछ भने लोग्नेलाई पक्री न्वारान गर्न लगाई दिनु । अंशको हकमा दिलाई दिने प्रबन्ध गरी दिनु भन्ने ०१६।११।११ मा गृह मन्त्रीको आदेश भएको भन्ने सुनें । लेखिए बमोजिमको आदेश प्रयोग गर्न नपाउने अवैधानिक कारवाई गरेकोले जाहेर गरेको छु । पूर्णलक्ष्मीका बाबु समेतले मलाई घरसम्म आई कुटपीट गरे । साँझ बिहान हिंडडूल गर्न पनि कठिन समस्या परेकोले जाहेर गरेको छु भन्ने समेत ना. डि. केदारमानको ०१६।११।२२ को निवेदनपत्र ।
३०. दोहराई जे ठहर्छ सोही बमोजिम गर्नु । सुरक्षालाई चाहिने बन्दोबस्त पनि गरी दिनु भन्ने हुकूम बक्सेकोले निवेदन पठाई दिएको छु भन्ने श्री ५ महाराजाधिराजको प्रमुख निजी सचिवालयको ०१६।११।२५ को पत्र ।
३१. श्री ५ महाराजाधिराजका प्रमुख निजी सचिवालयको ०१६।११।२५ को पत्र यसैसाथ छ । यसमा शान्ति सुरक्षाको प्रबन्धका लागि काठमाडौं मैजिष्ट्रेट अफिसलाई लेखि गएको हुँदा बक्स भई आएको हुकूम प्रमांगी बमोजिम गर्न मिसिल सामेल राखी ऐन सबाल बमोजिम गर्नु भन्ने का. मु. प्रधान न्यायाधीशज्यूको ०१६।१२।१७ को आदेश ।
३२. प्रस्तुत मुद्दामा प्रतिवादी पक्षबाट रहनु भएको विद्वान वकिल सिनियर एडभाकेट राधाकृष्ण बिहारी समेतको बहस सुनी बिचार गर्दा रगत जाँचबाट यसैको सन्तान हो भन्ने कुरा एकिन हुन नसक्ने भन्ने बिशेषज्ञको रिपोर्टबाट देखियो ।
३३. वादीको छोरीको अनुहार हेर्दा धेरै जसो आमासँग मिल्ने देखिएको । नाक देखि मुन्तिरको भाग केही बाबुसँग मिल्ने देखिए तापनि त्यतिकै भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नदेखिएकोले अरु सबुद प्रमाण तर्फ बिचार गर्दा ३ सालको घोडेयात्रा पछि माइत गएको भन्ने वादी । ३ साल श्रावणमा गएको भन्ने प्रतिवादी भएकोमा प्रतिवादीका टोलका सरजमिनले वादीलाई ३ साल श्रावण ४।५ गते देखि नदेखिको भनेका र वादीका टोलका सरजमिनले ४ साल जेष्ठ महिना देखि ६।७ महिनासम्म प्रतिवादी वादीको माइतमा आउने जाने गरेको देखेको हुँ भनी बोकेको र प्रतिवादी तर्फका सरजमिनले वादीलाई घरमा नदेखे तापनि प्रतिवादी वादीको माइत जाने गरेको थिएन भनी भन्न नसकेको र वादी तर्फका साक्षी र सरजमिन दुवैले प्रतिवादी वादीका माइतमा आउने गरेको देखेको भनी किटानी साथ बकेको र प्रतिवादीले वादीको माइतमा जाने गरेको थिएन भनी सबुद पुर्याउन नसकेकोले वादीको प्रतिवादीसँग सम्पर्क भएकै देखियो ।
३४. प्रतिवादीले वादीलाई विवाह गरी दुवै बैवाहिक बन्धनमा रहेको र पारपाचुकेद्वारा सो बन्धन बिच्छेद भएको पनि देखिएन । यस्तो अबस्थामा लोग्ने स्वास्नीको सम्पर्क भेटघाट थिएन भन्ने वा सम्पर्क भएर पनि गर्भ घारण गराउने अयोग्यता लोग्नेमा थियो भन्ने कुरा प्रमाणित नभएसम्म जन्मेको बालख लोग्नेकै ठहर्ने हुनाले वादीबाट जन्मेको छोरीको न्वारान प्रतिवादीले गरी दिनु पर्ने ठहराई ०१४।१२।४।२ मा डिभिजन बेञ्चबाट भएको फैसला मुनासिब छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
प्रतिवादी ना. डि. केदारमानन्धर के मुद्दा दोहर्याएमा हा. का. ११ नं. ले शुरु दण्ड रु. ५। को सयकडा १० ले नं. रु. ५०। पैसा जरिवाना हुन्छ रुजु हुँदा असूल गर्नु भनी का. फौ. त. मा लगत दिनु ............... १
नियम बमोजिम मिसिल बुझाई दिनु ...............२
इति सम्बत् २०१९ साल जेष्ठ २३ गते रोज ३ शुभम् ।