निर्णय नं. १५७ - बकस जग्गा

निर्णय नं. १५७ ने.का.प.२०१८
फुलबेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री ले. ज. प्रकाश शम्शेर ज. ब. रा.
न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री भैरवराज पन्त पाध्या
न्यायाधीश श्री श्री महेन्द्रबहादुर महत
मुद्दा नं. – (मूलमा नै नभएको)
उजुरवाला वादी : नाबालक धनलक्ष्मी श्रेष्ठनी समेत
विरूद्ध
विपक्षी प्रतिवादी : थ. बमबहादुर श्रेष्ठ समेत
मुद्दा : बकस जग्गा
(१) अपुतालीका १ नं. छोराको अपुतालीमा बाबुको हक हुने – हक भएको जग्गा बन्धकी दिएको बदर गर्न मुनासिब नपर्ने ।
हक छाडी दातव्यपत्र गरी दिएकोबाट सो २ कित्ता जग्गा सो लिखत गरेको मितिदेखि नै मानलक्ष्मीको हक हुन आएको । निज मानलक्ष्मी २००३ सालमा मरेपछि अंशबण्डाका ३४ नम्बरका ऐन र दानदातव्यका ४ (क) नम्बरका ऐनले दाइजो पेवा पाउने मानलक्ष्मीले आफू खुशी गर्न पाउने हुनाले उ मरेपछि यसले खानु भनि लिखत गरी दिएको भए लिखत बमोजिम हुनेमा निजले पनि लिखत गर्न नपाइ परलोक भएकीले मानलक्ष्मी मरेपछि मानलक्ष्मीको छोरा इन्द्रबहादुरको हक हुन आएको । ईन्द्रबहादुर पनि २००४ साल आश्विनमा मरेपछि इन्द्रबहादुरको हकवाला उसको छोरा भए छोराले पाउनेमा छोरा नभई निजको अपुताली परेको हुनाले अपुतालीका नम्बरका ऐनले छोराको अपुताली बाबुको हुने हुँदा बाबु बमबहादुरले आफ्नु हक भएको जग्गा बन्धकी दिएको बदर गर्न मुनासिब नदेखिएको ।
(प्रकरण नं. ९)
(२) “सन्तान दरसन्तान” भन्ने शब्दले जनाउने हकवालाहरू – सन्तान दरसन्तान भन्नाले छोरातिर जनाउने – दातव्यपत्रमा “छोरा छोरी” भन्ने बोली परेमा मात्र छोरीले दावा गर्न पउने – छोरीसँग बसेका ३ पुस्ता भित्रको हकवाला पछिको हकवाला भन्ने ऐनमा देखिने ।
दातब्यको लिखतमा मानलक्ष्मीको सन्तान दरसन्तानले खानु भनि लेखिएकाले हामी छोरी पनि मानलक्ष्मीकै सन्तान हुँदा र ऐनमा पनि लिखत भए लिखत बमोजिम गर्नु भनी लेखिएकोले ऐन लिखत बमोजिम हामी छोरीकै हक हुनु पर्ने भन्ने वादी तर्फको जिकिरलाई पनि सो लिखतमा सन्तान दरसन्तान खानु भनि जो लेखिएको छ, त्यो दाताहरुले ऐनको रोलमा मिलाई लेखी दिएको ठहर्ने छोरा र छोरी दुवैले र दुवैका सन्तानले बराबर खान पाउने गरी लेखी दिएको भए अर्थात् छोरा भएको खण्डमा पनि छोरा छोरील बराबर खान पाउने गरी ऐन काटी लेखि दिएको भए सो कुरा अर्थात् ऐनले छोराले पाउने भए तापनि छोरा छोरी दुबैले बाँडी खानु भनी प्रष्ट किटानी साथ लेखिएको हुनु पर्ने सो नभएकोले ऐन काटी लेखेको भन्न नहुने कि ऐनको रोलमा मिलाई लेखेको भन्नु पर्ने । स्त्री पुरुष दुबैले आर्जेको चल अचलमा अंशबण्डाका ३३।३४ दानदातव्यका ४ (क) नं. मा ऐनले पुरूषको आर्जन छोरा स्वास्नी सबैले ऐन बमोजिम बाँडी खान पाउने । स्त्रीको आर्जन छोराहरूले मात्र बाँडी खान पाउने स्त्रीको आर्जन छोराहरूलाई छोरा भएसम्म खान पाउने गरी नलेखिएको हुँदा ऐनले आमाको दाइजो पेवा छोराकै हक हुने । छोराको सन्तान नभई अपुताली परेमा छोराको नजिकको हकदार बाबुको हक हुने । बाबु पनि नभएको र बाबु समेतसँग बसेका ३ पुस्ता भित्रको हकवाला छैन भने मात्र त्यस अबस्थामा छोरीले बाबु आमाको अपुताली खान व्यहोर्न पाउने गरी छोरीलाई सँग बसेको ३ पुस्ता भित्रको हकवाला पछिको हकवाला गराई ऐनमा प्रष्ट लेखिएको भई सो ऐनले इन्द्रबहादुरको अपुताली सँग बसेको हकवाला बाबुले पाउने देखिएको।
(प्रकरण नं. ९)
(३) अपुताली – स्याहार सम्भार पालन पोषण गर्नेले पाउने – तमसुकका साक्षी बसेको आधारबाट नै हेरबिचार गरेको सबुद पुग्न नसक्ने ।
अपुतालीका ४ नम्बरका ऐनले सो अपुतालीमा निजको हक हुन्छ कि भनि शंका गर्नालाई उसले स्याहार सम्भार पालन पोसन गरेको भन्ने पक्का सबुद कुनै नआएको । तमसुकमा साक्षी बसी एकैले हेरबिचार गरेको सबुद पुग्न नसक्ने । तमसुकको वतनबाट मानकुवेरका घरमा बमबहादुर, बमबहादुरका घरमा मानकुवेर गई बसेका र स्याहार सम्भार गरेको नदेखिएकोले अपुतालीको ४ नं. ले ससुराको अपुताली बमबहादुरको हक दावी नपुग्ने देखिएको ।
(प्रकरण नं. १०)
(४) उजुर दावी भएको कुरा – “होइन” भन्ने प्रतिवादी र सबुद नभएमा – उजुर दाबी साँचो देखिने ।
अपुतालीका १९ नम्बर वारिस भएपछि त्यो धन वारिसकै जिम्मा लगाई दिनु पर्ने । उसै घरमा बसी स्याहार गर्ने नातिनीहरू वारिस मानिने ।
यी वादीवालाहरुले उसका घरैमा गई बसी हेरचाहा स्याहार सम्भार गरेको भन्ने उजुर दावी भएकोमा सो कुरा हैन अरु यसले गरेको हो भनि प्रतिवादीहरूले लेख्न र अरुले गरेको पक्का सबुद केही नभएकोले इन्का घरमा गई स्याहार सम्भार गरेको भन्ने बादीहरुका उजुरी साँचो देखिन आएकोले अपुतालीका ११ नं. का ऐनले स्याहार सम्भार गर्नेले पाउने हुँदा ऐनले सो अपुताली वादीहरूकै हक भन्नु पर्ने । अपुतालीका १९ नं. का ऐनले पनि वारिस भएसम्म त्यो धन वारेसकै जिम्मा लगाई दिनु पर्नेमा अपुताली पर्ने मानकुबेरकै नातिनीहरू उनैका घरमा बसी स्याहार सम्भार गरी व्यहोरी आएकोले वारिस नभएको धन भन्न पनि नहुने । पहिले छोरीहरूलाई गरिदिएको बकसपत्रको लेखाइबाट पनि छोरीहरूकै सन्तानमा रहोस भन्ने उद्देश्यले छोरीहरूलाई लेखीदिएको बकसपत्रमा मानकुवेरले लेखी दिएको र छोरीहरू मरेपछि उस बखत भएका छोरीहरूको सन्तान नातिनी यी वादीहरूलाई मानकुवेर र निजको स्वास्नीले लगी आफ्नु घरमा राखी पाली आफ्नो सेवा स्याहार सम्भार गराइ आएको देखिएकोले समेत वाइलक्ष्मी मानकुवेरको अपुताली यो वादीहरूकै हक ठहर्ने ।
(प्रकरण नं. १०)
(५) अपुतालीका १८ नम्बर – अपताली खानेले कर्जी व्यहोर्नु पर्ने ।
मान लक्ष्मीको दाइजो पेवा निजको छोरा इन्द्रबहादुरको भई निज मरेपछि निजको बाबु बमबहादुरको हक हुने भई सो कर्जि निजको हक ठहर्ने हुनाले र मानकुवेरले तिर्नु पर्ने सो कर्जि अपुताली खानेले अपुतालीका १८ नम्बरका ऐन बमोजिम व्यहोर्न पर्ने हुँदा सो कर्जीको हकदार देखिएको बमबहादुरलाई लखमा भोग गर्ने साहुलाई तिर्न पर्छ । ऋण तिरी वादीहरूले जग्गा निखनी खान पाउँछ ।
(प्रकरण नं. १०)
फैसला
१. हामीहरूको आमा मानलक्ष्मी सानीआमा ननीकुमारी समेत २ दिनी बैनीलाई हामीहरूका शेषपछि मोहरू ४०१ धानमुरी १५१ मा जिलुटुना बोटे र जागलवति बिर्तावारी ८१।१।१५ मा बाजेले हाम्रो आमालाई बन्धकी लेखी दिएको आधी कर्जी सानीआमाले तिरी अष्टलोठ गैर बक्स जानी खानु सन्तान नहुनेको भाग सन्तान हुनेले शेषपछि खानु भनी बाजे मानकुवेर बजै वाइलक्ष्मीले ८१।१।२९ मा अमाल साक्षी राखी बकसपत्र गरी दिएकोमा सानीआमा विवाह नहुँदै परलोक भएकाले आमाको हक हुन आएको । बाजे २००५।२।२४ मा बजै २००४ साल आषढमा र आमा निजहरू भन्दा १।२ बर्ष अधि परलोक भएकाले हामीलाई बाजेकै घरमा लगी पाली विवाह गरी दिएकाले लोग्ने समेत बाजेकै घरमा ल्याई बसी हेरचाहा र परलोक भएपछि हाम्रो गहना बेची काजक्रिया गरेकाले र सन्तान हामी बाहेक अरु कोही नभएकोले हाम्रो हक हुन आएको बन्धकी बक्सेको जिलु भन्ने समेत जग्गा दधीरामलाई नारानदेउ भन्ने खेत माटो मुरी ।५ को कित्ता १ जगल वत्ति बिर्तावारी मकैको बिउ पाथी ।२ जाने कित्ता १ समेत रत्ननारायण जित नारायणलाई आमाको बजैले सन्तान दरसन्तानले खानु भनी दातव्य गरी दिएको मध्ये पोक्से भन्ने खेत कृष्णबहादुरलाई समेत बाबुले बिक्री गरे भन्ने सुनें । लिखत भएकोमा लिखतै बमोजिम हुन्छ भन्ने ऐन हुँदा सो लिनु दिनु गरेको बदर गरी सजाय गरी पाउँ भन्ने समेत वादी रहेछ ।
२. दाइजो पेवा लिए खाए वापत तमसुक लेखी दिएकाले समेत सो बकस पाउने मरी सकेको । छोरा नहुनाले दानदातव्यका ४ नम्बरका ऐनले लोग्नेको हक हुने भई व्यवहार चलाउन बन्धकी दिएको हुँदा दिए लिएको सदर गरी पाउँ भन्ने समेत ख. रत्न नारायण मु. कृष्णबहादुर थ. बमबहादुरको प्रतिवादी हरेछ ।
३. बकसपत्र गरी दिएको समेत मलाई थाहा छैन । मानकुबेरले ६८ साल देखि लिएको नगदी धान समेतमा निज परलोक भएपछि २००५।३।२ मा समेत जिलुटुनी बोटे खेत लेखी दिएकोले भोग गरी आएको छु भन्ने समेत दधीरामको प्रतिवादी रहेछ ।
४. बकसपत्रमा सन्तान नहुनेको शेषपछि सन्तान हुनेले खानु भन्ने लेखिएकोले लोग्नेले खाना पाउने लिखत भएको नभई सन्तान छोरा छोरी पत्नीबाट खाने लिखत भएको देखिँदा दानदातव्यका ४ नम्बरका ऐनले पनि लिखत भएकोमा लिखत बमोजिम हुने हुँदा हक नपुग्नेबाट लिए दिएको बदर गरी दिने भनी २००६।४।११ मा पूर्व २ नं. अदालतले फैसला गरेको रहेछ ।
५. लिखतबाट सन्तानले नै खान पाउने हुँदा इन्साफ पूर्व २ नं. अदालतको मुनासिब गरी २००६।१।१०।१३ मा अपील तेश्रा फाँटले फैसला गरेको रहेछ ।
६. यो जग्गा बाबुबाट पाएको अंश अपुताली नभई सन्तान दरसन्तान खानु भनी मावलीले बकस दिएको । यो बमबहादुर सन्तान नभएको । वादीहरूको दाजु वादीका आमाको सन्तानले वादीको बाबुलाई खानु भनी लिखत गरी दिएको पनि नभएकाले दानदातव्यका नं. ४ बमोजिम सन्तानकै मात्र लिखतबाट हक पुग्ने हुँदा इन्साफ अपील तेश्राको मुनासिब भनी प्रधान न्यायालय पहिला फाँटका कायम मुकायम सु. सौन्दर्य केशरीले र बकस पाउनेको छोरा इन्द्रबहादुर भएकाले बकस पाउने मरेपछि दानदातव्यका ४ नं. ले छोराको हुने । छोरा पनि २००४ सालमा मरेकाले निजको अपुताली अपुतालीका ३ नं. ले बाबु बमबहादुर छँदै बैनीहरूले पाउँछ भन्न नहुने हुँदा लिनु दिनु गरेको सदर ठहर्छ भनी गुरु पुरोहित सर्वज्ञराज समेतले राय बझाई २००७।१२।२१ मा फैसला भएको रहेछ ।
७. बकस दिने भन्दा लिने अघि मरेको भए पनि सो बकसपत्र बदर गराएको नदेखिएको । बमबहादुरको स्वास्नी मानलक्ष्मीसँग कर्जी लिई राखेको पनि देखिएकोले सो थैलीबाट समेत मानलक्ष्मीको हक हुन आएको निजको छोरा नहुँदा दानदातव्यको ४ नं. ले लाग्नेको हुने भई बमबहादुरले बन्धकी दिएको सदर ठहराएको मेम्बर फाँटवालाको राय मुनासिब गरी कायम मुकायम प्रधान न्यायाधीश बल्लभ शम्शेर जंगबहादुर राणाले २००८।४।२१ मा फैसला गरेको रहेछ।
८. नाबालक धनलक्ष्मी समेतले दिएको निवेदनपत्रमा भएका आदेश बमोजिम दायर भएको यो मुद्दा उजुरवाला नाबालक धनलक्ष्मी सन्तलक्ष्मी समेतलाई र बमबहादुरको वारिसले तारिख गुजारेकाले तारिखमा बसेको कृष्णबहादुर ख. रत्ननारायणलाई राखी बुझ्दा ।
९. दिललक्ष्मी सन्तलक्ष्मी नाबालक धनक्ष्मीको आमा मानलक्ष्मीलाई निजको मावली पट्टीको बजै लक्ष्मीप्रभाले दुलबु खेत मुरी ।६।५ पोकसे खेत मुरी ।४ तिमी नातीलाई दातव्य पत्र लेखी दिएँ । सो जग्गाको तल्सिङ बुझाई तिमी नातिनीको सन्तान दरसन्तान भोग गरी खानु भनी ६६ साल आश्विन २९ गते २ मा उसै मिति देखि हक छाडी दातव्यपत्र गरी दिएकोबाट सो २ कित्ता जग्गा सो लिखत गरेको मिति देखि नै मानलक्ष्मीको हक हुन आएको । निज मानलक्ष्मी २००३ सालमा मरेपछि अंशबण्डाका ३४ नम्बरका ऐन र दानदातव्यका ४ (क) नम्बरका ऐनले दायजी पेवा पाउने मानलक्ष्मीले आफुखुशी गर्न पाउने हुनाले उ मरेपछि यसले खानु भनी लिखत गरी दिएको भए लिखत बमोजिम हुनेमा निजले पनि लिखत गर्न नपाई परलोक भएकीले मानलक्ष्मी मरेपछि मानलक्ष्मीको छोरा इन्द्रबहादुरको हक हुन आएको । इन्द्रबहादुर पनि २००४ साल आश्विनमा मरेपछि इन्द्रबहादुरको हकवाला उसको छोरो भए छोरोले पाउनेमा छोरा नभई निजको अपुताली परेको हुनाले अपुतालीका १ नम्बरका ऐनले छोराको अपुताली बाबुको हुने हुँदा बाबु बमबहादुरले आफ्नु हक भएको जग्गा बन्धकी दिएको बदर गर्न मुनासिब नदेखिएको । दाताको लिखतमा मानलक्ष्मीको सन्तान दरसन्तानले खानु भनी लेखिएकाले हामी छोरी पनि मानलक्ष्मीकै सन्तान हुँदा र ऐनमा पनि लिखत भए लिखत बमोजिम गर्नु भनी लेखिएको ऐन लिखत बमोजिम हामी छोरीकै हक हुनु पर्ने भन्ने वादी तर्फको जिकीरलाई पनि मानलक्ष्मीकै सन्तमा हुँदा र ऐनमा पनि लिखत भए लिखत बमोजिम गर्नु भनि लेखिएकोले ऐन लिखत बमोजिम हामी छोरीकै हक हुनु पर्ने भन्ने वादी तर्फको जिकिरलाई पनि सो लिखतमा सन्तान दरसन्तान खानु भनी जो लेखिएको छ, त्यो दाताहरूले ऐनको रोलमा मिलाई लेखी दिएको ठहर्ने । छोरा र छोरी दुबैले र दुबैको सन्तानले बराबर खान पाउने गरी लेखी दिएको भए अर्थात् छोरा भएको खण्डमा पनि छोरा छोरीले बराबर खान पाउने गरी ऐन काटी लेखी दिएको भए सो कुरा अर्थात् ऐनले छेराले पाउने भए पनि छोरा छोरी दुबैले बाँडी खानु भनी प्रष्ट किटानसाथ लेखिएको हुनु पर्ने । सो नभएकोले ऐन काटी लेखेको भन्न नहुने । कि ऐनको रोलमा मिलाई लेखेको भन्नु पर्ने । स्त्री पुरुष दुवैले आज्र्येको चल अचलमा अंशबण्डाका ३३।३४ दानदातव्यका ४ क. नं. का ऐनले पुरुषको आर्जन छोरा स्वास्नी सबैले ऐन बमोजिम बाँडी खान पाउने । स्त्रीको आर्जन छोराहरूले मात्र बाँडी खान पाउने । छोरीहरूलाई छोरा भएसम्म खान पाउने गरी नलेखिएको हुँदा ऐनले आमाको दाइजो पेवा छोराकै हक हुने । छोराको सन्तान नभई अपुताली परेमा छोराको नजिकको हकदार बाबुको हक हुने । बाबु पनि नभएको र बाबु समेतसँग बसेका ३ पुस्ता भित्रको हकवाला छैन भने मात्र त्यस अबस्थामा छोरीकोले बाबु आमाको अपुताली खान व्यहोर्न पाउने गरी छोरीलाई सँग बसेको ३ पुस्ता भित्रको हकवाला पछिको हकवाला गराई ऐनमा प्रष्ट लेखिएको भई सो ऐनले इन्द्रबहादुरको अपुतालीसँग बसेको हकवाला बाबुले पाउने देखिएको । निज इन्द्रबहादुरको बैनीले पाउने कुनै ऐन नभएको । निज बाबु बमबहादुर छुटी भिन्न भएको भन्ने लिखतको पक्का प्रमाण पनि मिसिलबाट नदेखिएकाले ऐनले इन्द्रबहादुरको अपुताली बमबहादुरकै हक हुने देखिएको । २००७ साल चैत्र २९ गते जारी भएको अन्तरिम शासन बिधानको १४ दफामा लिंग बिषयको आधारमा कुनै नागरिकलाई भेदभाव गर्ने छैन भनी लेखिएकोले त्यस तर्फ बिचार गरिएमा पनि सोहि बिधानको २ दफामा यस भागमा उल्लेख गरिएका सिद्धान्तहरूले मुलुकका प्रचलित ऐन सवाललाई खण्डन गर्ने छैन तापनि यिनीहरू मुलुकको शासनमा मुल सिद्धान्त हुनेछन् । प्रचलित ऐन सवाललाई सकभर चाँडै र अब उप्रान्त बनाइने ऐन समेत यी सिद्धान्तमा ढाल्ने राज्यको लक्ष हुनेछ भन्ने लेखिएको र स्त्री पुरुषको हक र छोरा छोरीको हक एकै समान गर्नालाई धेरै ऐन व्यवहार बदली ऐन बनेपछि सो ऐन लागु भएमा ठीक पर्न जाने र यो व्यवहार ६६ सालमै उसबखत भईरहेको ऐन बमोजिम मानलक्ष्मीले दातव्य पाई उ मरेपछि इन्द्रबहादुरको हक निज पनि मरेपछि २००४ सालमै बमबहादुरको हक भोग भईसकेको कुरा हुँदा अदालती बन्दोवस्तका ५ नं. का ऐनले बमबहादुरको हक भईसकेको हक हालमा बदर हुन नसक्ने सदरै मान्नु पर्ने हुँदा बाबु बमबहादुरले भोग बन्धकीमा साहुलाई दिएको बदर गरी पाउँ भन्ने वादीहरूको दावी पुग्न सक्तैन । आफ्नु हक हुन आएको जग्गा बमबहादुरले बन्धकीमा दिएको सदर गरी श्री का. मु. प्रधान न्यायाधीश मे. क. बल्लभ शम्शेरले यस कलममा फैसला गरेको मुनासिब छ ।
१०. ८२ साल बैशाख १९ गते मानकुबेर वाइलक्ष्मीले छोरी मानलक्ष्मी मनीकुमारी २ जनालाई आफ्नु श्री सम्पत्ति गैर शेषपछिको बकसपत्र लेखी दिएको । यस कलममा दाताहरू जीवित छँदै दुबै छोरीहरू मरेको भई सो निजहरू मरीसकेपछि २००४ सालमा वाइलक्ष्मी, २००५ सालमा मानकुबेर मरी निज मानकुवेरको अपुताली परेको देखिएको । यो अपुताली कसले पाउने हो भनी बिचार गर्दा अरु ऐन बमोजिमको हकवाला कोही नदेखिएको । ज्वाई बमबहादुरले माथि उल्लेख गरिएको ६६ सालका दानपत्र भित्रको जग्गा २००३ सालमा बन्धक राख्दा मानकुवेर साक्षी बसेकोले ज्वाईले हेरबिचार गरेको भनी अपुतालीका ४ नम्बरका ऐनले सो अपुतालीमा निजको हक हुन्छ कि भनी शंका गर्नालाई उसले स्याहार सम्भार पालन पोसन गरेको भन्ने पक्का सबुद कुनै नआएको । तमसुकमा साक्षी बसिएकैले हेरबिचार गरेको सबुद पुग्न नसक्ने । तमसुकको वतनबाट मानकुवेरका घरमा बमबहादुर, बमबहादुरका घरमा मानकुवेर गई बसेको र स्याहार सम्भार गरेको नदेखिएकोले अपुतालीका ४ नं. ले ससुराको अपुतालीमा बमबहादुरको हक दावी नपुग्ने देखिएको । अब यी वादीहरूको उजुर परेको हद बाहिर–भित्र के रहेछ ? भनी हेरेमा पनि मानकुवेर मरेकै सालमा उजुर परेकाले हद भित्रकै उजुर देखिएको र उनकै घरमा गई हेरबिचार स्याहार सम्भार गरेको भन्ने मानकुवेरको नातिनी वादीहरूको उजुर पर्न आएको देखिएकाले निजहरूको उजुरी तर्फ बिचार गर्दा अरु नजिकको हकवाला कोही नभएको । स्याहार सम्भार मर्नेकै नातिनी यी वादीवालाहरूले उसका घरैमा गई बसी हेरचाह स्याहार सम्भार गरेको भन्ने उजुर दावी भएकोमा सो कुरा हैन अरु यसले गरेको हो भनी प्रतिवादीहरूले लेख्न र अरुले गरेको पक्का सबुद केही नभएकोले यिनका घरमा गई स्याहार सम्भार गरेको भन्ने वादीहरूको उजुरी साँचो देखिन आएकोले अपुतालीका ११ नम्बरका ऐनले स्याहार सम्भार गर्नेले पाउने हुँदा ऐनले सो अपुताली वादीहरूकै हक भन्नु पर्ने । अपुतालीका १९ नम्बरका ऐनले पनि वारिस भएसम्म त्यो धन वारिसकै जिम्मा लगाई दिनु पर्नेमा अपुताली पर्ने मानकुवेरकै नातिनीहरू उनैका घरमा बसी स्याहार सम्भार गरी व्यहोरी आएकोले वारिस नभएको धन भन्न पनि नहुने । पहिले छोरीहरुलाई गरिदिएको बकसपत्रको लेखाईबाट पनि छोरीहरूकै सन्तानमा रहोस् भन्ने उद्देश्यले छोरीहरूलाई लेखी दिएको बकसपत्रमा मानकुवेरले लेखी दिएको र छोरीहरू मरेपछि उस बखत भएका छोरीहरूको सन्तान–नातिनी यी वादीहरूलाई मानकुवेर र निजको स्वास्नीले लगि आफ्नु घरमा राखी पाली आफ्नु सेवा स्याहार सम्भार गराई आएको देखिएकोले समेत वाइलक्ष्मी मानकुवेरको अपुताली यो वादीहरूकै हक ठहर्ने हुनाले ८१ सालमा मानकुवेरले गरी दिएको बन्धकी तमसुक लेखिएको जग्गामा परेको कर्जी मानलक्ष्मीको हक पेवाको देखिएको । सो कर्जी यसले खानु भन्ने मानलक्ष्मीले केही लिखत गरी दिएको नदेखिएको । निज मानलक्ष्मीको दाइजो पेवा निजको छोरा इन्द्रबहादुरको भई निज मरे पछि निजको बाबु बमबहादुरको हक हुने भई सो कर्जी निजको हक ठहर्ने हुनाले र मानकुवेरले तिर्नु पर्ने सो कर्जी अपुताली खानेले अपुतालीका १८ नम्बरका ऐन बमोजिम व्यहोर्न पर्ने हुँदा सो कर्जीको हकदार देखिएको बमबहादुरलाई र लखमा भोग गर्ने साहुलाई तिर्न पर्छ । ऋण तिरी वादीहरूले जग्गा निखनी लिन र खान पाउँछ भनी सुनाई दिने ।
११. दोहराएमा उजुरवाला धनलक्ष्मी सन्तलक्ष्मीलाई शुरु दन्ड मोरु १। को सयकडा १० ले मोरु १०। दश पैसा दन्ड हुनेमा केही कुरा उजुर ठीक देखिएकोले दण्ड गर्नु पर्दैन ।
१२. दधीरामले बमबहादुरबाट बन्धकी लिएको बदर गरी शुरु पूर्व २ नं. अदालतले फैसला गरे उपर निजको अपील नपरेकोले सोही सदर हुने भएपछि प्रधान न्यायालय पहिला फाँटको मेम्बरहरूले सदर मामिला निक्सारीबाट समेत केही उल्टी भनी लेख्नु पर्नेमा उल्टी भनी लवजसम्म केही गल्ती लेखेको देखिन्छ । यसमा जरिवाना गर्न पर्दैन ।
इति सम्बत् २०१० साल बैशाख ९ गते रोज ३ शुभम् ।
प्रधान न्यायालयको ऐनको २५ (क) दफा बमोजिम बहुमतबाट भएको यो फैसला कायम हुने भए तापनि अन्तरिम बिधानको प्रतिकूल भएकाले सहमत नभई छुट्टै फैसला दिएको छु ।
– प्रधानन्यायाधीश
(श्री माननीय प्रधान न्यायाधीशज्यूको छुट्टै फैसला निम्न छः– सम्पादक)
फैसला
१. यसमा वादीकी आमा मानलक्ष्मीलाई निजकी बज्यै “आसाकी आमा” लक्ष्मीप्रभाले ६६।६।२९ मा दुलबुपोकस खेत “तिमी नातिनीको सन्तान दरसन्तानले भोग गरी खानु” भनी बकसपत्र गरी दिएबाट मानलक्ष्मीको भोग भइ आएको खेत र निज मानलक्ष्मीको बाबु मानकुवेर श्रेष्ठ र आमा वाईलक्ष्मीले निजहरूको जम्मै सम्पत्ति ८२।१।१९ मा मानलक्ष्मी र मनीकुमारी दुई छोरीहरूलाई “तिमीहरू र तिमीहरूका सन्तान दरसन्तानले खानु” भनी बकसपत्र लेखी दिएकोमा बज्यै लक्ष्मी प्रभा वादीकी आमा मानलक्ष्मी भन्दा अघी मरेकी र मानलक्ष्मी आफ्नो बाबु आमाको जिवितै अबस्थामा मरेकी र मानलक्ष्मी भन्दा अघिनै निजकी बैनी अविवाहित अबस्थामा नै मरेकीले सो लिखत बमोजिम वादीहरू मानलक्ष्मीको सन्तान हुनाले सो बकसपत्रबाट पाएको जम्मै सम्पत्ति वादीहरूले पाउनेमा निजहरूका बाबु बमबहादुरले सो सम्पत्ति प्रतिवादीहरूलाई केही बन्धक केही विक्री गरी दिए सो बदर गरी पाउँ भनी पूर्व २ नं. अदालतमा वादीहरूको नालिस पर्दा सो अदालत र अपील समेतबाट जितेकोमा प्रधान न्यायालयमा प्रतिवादीहरूको अपील पर्दा त्यस बेलाको प्रधान न्यायालय पहिला फाँटका कायम मुकायम हाकिम र असिष्टेन्टले शुरु र अपीलको राय सदर गरेको र मेम्बर बिचारीको राय फांटेकोमा तेस बेलाका कायम मुकायम प्रधान न्यायधीशले मेम्बर र बिचारीको राय सदर गरेकोमा वादीहरूको उजुरी परी मुद्दा दोहरिंदा “सन्तान दरसन्तान” भन्नाले छोरा छोरी दुवै सम्झनु पर्ने हो कि ? खाली छोराहरूलाई मात्र बोध हुने हो ? यद्यपि व्यवहारमा छोरा मात्र मानी आएकोमा अन्तरिम बिधानको १४ दफामा लिंगका आधारमा भेदभाव गरिने छैन भनी लेखिएकोले प्रचलित व्यवहारसँग बाझिन आएकोले छलफलका लागि फुलबेञ्चमा रहेको दुवै तर्फको बहस सुनी मुद्दाको रूप बिचार गर्दा मानलक्ष्मीको मावली बज्यै लक्ष्मीप्रभाले “तिमी मानलक्ष्मी नातिनीलाई दानदातव्य लेखी दियाँ । सो जग्गा २ को लागेको तल्सीं बुझाई तिमी नातिनीको सन्तान दरसन्तानले भोग गरी खानु” भनी स्पष्ट लेखी दिएकोबाट सो बक्स दिएको जग्गा मानलक्ष्मीले मात्रै होइन कि निजका सन्तान दरसन्तानले समेत भोग गरी खानु भन्ने बुझिन्छ । अब प्रश्न उठ्छ सन्तान दरसन्तान भन्नाले प्रचलित व्यवहार बमोजिम छोरा नातीहरूलाई मात्र सम्झने हो कि ? छोरी नातिनी समेतलाई बोध हुने हो ?
२. छोरीहरू मानलक्ष्मीको सन्तान कसरी नहुने ? छोरीहरू पनि एकै आमा मानलक्ष्मीको सन्तान होइन भनी कुन ऐनले र व्यवहारले भन्ने ? जस्तै छोराहरू आमाका सन्तान हुन् त्यस्तै छोरीहरू पनि एक आमाको गर्भबाट जन्मेकाले छोराहरू जस्तै आमाको सन्तान हो । न्यायकर्ता पुरुषहरू मात्रै भएकोले छोरीहरू आमाको सन्तान होइन भनी पहिले पहिले ठहराए पनि ऐनमा लिखत भए लिखत बमोजिम नै हुने भनी स्पष्ट किटान भएकोले यस मुद्दामा पनि लिखत बमोजिम नै हुनु पर्ने भन्ने वादीहरूको जिकीर ।
३. मानलक्ष्मीले निजकी बज्यै लक्ष्मीप्रभाबाट ६६ सालमा र निजका बाबु मानकुवेर आमा वाईलक्ष्मीबाट ८२ सालमा शेषपछिको बकसपत्र पाएकीले सो सम्पत्ति निजमानलक्ष्मीको पुरा हक भईसकेको र त्यसै किसिमसीत व्यवहार पनि गरी आएकी र निज मरेपछि निजको छोरा इन्द्रबहादुरको हक भई इन्द्रबहादुर मरेपछि निजको बाबु बमबहादुरको हक हुन आएकोले निज बमबहादुरले साहुलाई दिएको बन्धकी सदर हुने र वादीहरू छोरीहरू हुनाले दानदातव्यको ४ क. नं. को ऐनले स्वस्नीको सम्पत्ति निज मरेपछि मर्नेको छोराले र छोरा नभए लोग्नेले पाउने हुनाले मानलक्ष्मी मरेपछि निजको छोरा इन्द्रबहादुरको हक र निज मरेपछि निजको बाबुको हक हुन आएको भन्ने प्रतिवादीहरूको जिकीर ।
४. अब हेरौं, मानलक्ष्मीले कुन किसिमले सो जग्गाहरू पाएकी रहिछन् ? दुलबु खेत मुरी ६।५ र पोकस खेत मुरी ४ समेत जम्मा मुरी १०।५ मानलक्ष्मीले निजकी बज्यै लक्ष्मीप्रभाबाट ६६ सालको बकसपत्रबाट पाएकी । सो बकसपत्रमा तिमी नातिनीको सन्तान दरसन्तनले भोग गरी खानु । सो जग्गामा मेरो हकवाला दाजु भाईको लागि धाक नास्ती भनी लिखत भएकोले मानलक्ष्मीलाई मात्र नभई निजको दरसन्तानलाई बक्स दिएको भन्न पर्ने हुँदा मानलक्ष्मी मरेपछि सो जग्गाहरू निजको सन्तानको हक हुन आएको स्पष्ट देखिन्छ । ऐनमा सन्तान शब्दले कसलाई बोध हुने हो ? केही नखुलेको । खाली व्यवहारमा मात्र छोराको हक भनी छोरीलाई हक नदिएको । तर दानदातव्यको ४ क. नं. को ऐनमा लिखत भए लिखत बमोजिम हुन्छ भनी उल्लेख भएकोले मानलक्ष्मीको लिखत नभए पनि निजको दाताको लिखतमा नै तिमी नातिनीको दर सन्तानले भोग गरी खानु भनी स्पष्ट किटान भएकोले सो सन्तानहरूका हक हुनालाई मानलक्ष्मीको अर्को लिखत नचाहिने देखिन्छ । सन्तान शब्दको अर्थ ऐनमा कुनै व्याख्या नभएकोले प्रचलित व्यवहार बमोजिम छोरा नातीको मात्र बोध हुने हो कि ? प्राकृतिक नियम र साधारण अर्थ बमोजिम छोरा र छोरी दुवैलाई बोध हुने हो ? यसको निर्णयका लागि दाताको के इच्छा रहेछ ? हेर्नु पर्यो । दाता स्त्री जाती भई अरु कुनै हकवालालाई नदिई आफ्नै नातिनीको सन्तानलाई नै बकसपत्र दिएकी हुनाले नातिनीको छोरालाई मात्र बोध गरी सन्तान शब्द प्रयोग गरेको कसरी भन्ने ? स्वभावतः आमा बज्यैलाई छोरी नातिनी उपर नै ज्यादा स्नेह भएको व्यवहारमा पनि देखिएको हुनाले लक्ष्मीप्रभाले बकसपत्रमा नातिनी मानलक्ष्मीको सन्तान शब्द प्रयोग गर्न खाली नातिनीको छोराहरूलाई मात्रै बोध हुने गरी छोरीहरूले नपाउने गरी बकसपत्र दिएको भनी कसरी भन्ने ? हाम्रो पडोसी राज्य भारतको उदाहरण लिउँ भने पनि भारतमा शास्त्रको आधारमा बनेको प्रचलित हिन्दू ऐनमा आमाको स्त्री धनमा छोराको हक नभई छोरीको मात्र हक भएकोले उही हिन्दू शाश्त्रको आधारमा नेपाली जनताको आचरण ढालिएको हुनाले शास्त्रमा के रहेछ ? बिचार गरौं ।
मनुस्मृतिको नवम् अध्यायको १९५ श्लोकमा यो उल्लेख भएको छ :
अन्वाधेयं च यद्दत्त पत्या प्रीतेन चैव यत् ।
पत्यौ जीवति वृत्तायाः प्रजायास्तद्वनं भबेत ।।
यसको अर्थ हो कि – विवाह भएपछि पिता वा पति कुलबाट कन्याले पाएको धनलाई अन्वाधेय भन्दछन् सो अन्वाधेय धन र पतिले दिएको धन (पेवा) पतिको जीवितावस्थैमा त्यो मरी भने त्यसको पुत्र, पुत्री दुबै थरीको हुन्छ ।
नारदीय मनुसंहिताको दायविभाग स्त्रयोशं विवाद पद्मको २ श्लोकमा यो उल्लेख भएको छ:
वितर्युपरते पुत्रा विभजेयुर्धनं पितुः
मातुर्दुहितरोद्रभावे दुहितृणं तदन्वयः ।।
यसको अर्थ यो हो – पिता मरेपछि पिताको धन छोराहले बाँडी खानु । आमा मरेपछि आमाको धन छोरीहरूले बाँडी खानु । छोरी नभए छोरीको सन्तानले खानु ।
यज्ञावल्क्य स्मृतिको व्यवहारध्यायको ११६ श्लोकको अन्तर्गत यो उल्लेख भएको छ –
“मातुर्दुहितारः शेषमृणत्”
यसको अर्थ यो हो कि ? – आमाको ऋण तिरी शेष रहेको छोरीहरूले खानु ।
बिदेशीहरूको राज्य शासनमा शाताद्विसम्म भारत रहे तापनि हिन्दू शास्त्रको मर्यादा राखी शास्त्रोक्ति बमोजिम नै आमाको स्त्री धनमा छोरीको हक कायम राखेको छ । तर अत्यन्त खेदको बिषय छ कि एक मात्र हिन्दू राष्ट्रको शिरोमणी नेपालमा यस बिषयमा शास्त्रको बिपरीत आमाको स्त्री धनमा छोरा र बाबुको सर्वश्रेष्ठ हक राखी छोरा र बाबु नभएमात्र छोरीको हक गरी ऐन देखिन्छ ।
५. अब प्रजातन्त्र आएपछि नेपालको अन्तरिम बिधानमा के रहेछ ? बिचार गरौं । ऐन सवालको व्याख्या गर्दा बिधानको भाग २ को सिद्धान्तको अनुकूल हुनु पर्छ भनी भिमबहादुर र डि. आई. जी. को बिषयको ठाडो कारवाहीमा भएको यसै न्यायालयको फैसलामा स्पष्टीकरण भएकोले बिधान बमोजिम ऐनको व्याख्या गर्दा प्रचलित व्यवहारमा नमिल्ने भनी सो बिधानमा उल्लेख भएको सिद्धान्त बमोजिम ऐन नबनेसम्म बैधानिक सिद्धान्तलाई लागु नगर्नु बिधानको मर्यादा नराख्नु हो । यस मुद्दामा ऐनको व्याख्या गर्नु नपरी बकसपत्रको व्याख्या गर्नु परेको छ र यस्तो बैधानिक सिद्धान्त प्रयोग गरी व्याख्या गर्दा प्रचलित व्यवहारसँग मिल्न नआउने भनी बैधानिक सिद्धान्तलाई लागु नगराउनु न्यायालयको कर्तव्य होइन । नेपालको प्रचलित ऐन र व्यवहार एकतन्त्र शासन पद्धतिमा मिलाएर भएको हो । अब शाही इच्छा अनुसार यो अन्तरिम शासन प्रजातन्त्र ढंगले हुनु पर्छ भनी ०७ सालको शाही घोषणा बमोजिम १९५१ सालको अन्तरिम नेपाल सरकारको ऐन बनेको । सो शाही घोषणा र सो अन्तरिम नेपाल सरकारको ऐनलाई अन्तरिम बिधान मान्नु परेकोले सो बिधानमा उल्लेख गरेको सिद्धान्तलाई प्रचलित व्यवहारसँग मिल्दैन भनी लागु नगर्नु शाही घोषणाको अनादर गर्नु हो । प्रचलित ऐनलाई एकै पटक प्रजातन्त्रिक ढंगमा ढाल्न असम्भव हुनाले अन्तरिम नेपाल सरकारको ऐन बिधानको भाग २ को दफा २ मा त्यस भागमा उल्लेख भएका सिद्धान्तले प्रचलित ऐनलाई प्रभावित गर्ने छैन भनी बोली पारी सो सिद्धान्तहरू मुलुकको शासन व्यवस्थामा मूलभूत हुन् र जति सक्यो चाँडै प्रचलित ऐनलाई यिनै सिद्धान्तको अनुकूल लागु गर्नु भनी प्रष्ट शब्दमा उल्लेख गरिएकोले प्रचलित ऐनलाई प्रजातान्त्रिक ढंग बमोजिम लागु गर्नुलाई राज्यलाई करै लागेको छ । सो अन्तरिम बिधान लागु भएको पनि २ बर्ष भईसकेकोले सो बैधानिक सिद्धान्तको अनुकूल व्याख्या नगरेमा यो न्यायालय कर्तव्य पथबाट बिचलित भएको जनताले ठान्नेछ । ऐन सवाललाई बैधानिक सिद्धान्त अनुकूल व्याख्या गर्नु यस न्यायालयलाई करै लागेकोमा बकसपत्रमा परेको शब्दको सो सिद्धान्तको अनुकुल व्याख्या गर्नु ता झन बढ्ता न्यायालयको कर्तव्य हो । बिधानलाई ऐन भन्दा माथि र ऐन विधानसँग बाझिन आएमा ऐनलाई काटी बिधानलाई नै प्राधान्य दिनु पर्ने प्रजातान्त्रिक व्यवस्था हुनाले बिधान लागु हुनु अघि जे भए तापनि बिधान लागु भईसकेपछि ऐन सवाल बिधानको अनुकूल नै हुनु पर्ने हुनाले अ. बं. को ५ नं. को ऐनले बिधानलाई प्रभावित गर्न सक्तैन । बिधान अनुकूल नै बकसपत्रको व्याख्या हुनु पर्छ । दानदातव्यको ४ क. नं. को ऐनमा पनि लिखतलाई नै प्राधान्य दिई लिखत भए लिखत बमोजिम भनी उल्लेख भएकोमा मानलक्ष्मीको दाताले निज मानलक्ष्मीलाई मात्र लिखत गरी दिएको भए यस ऐन बमोजिम मानलक्ष्मीले अर्को लिखत गरी दिने अबस्था देखिन्छ । तर सो ६६ सालको बकसपत्रमा तिमी नातिनीको सन्तान दरसन्तानले भोग गरी खानु भनी सन्तान समेतलाई बकसपत्र गरी दिएकोले त्यसै बेलामानै दाताले मानलक्ष्मीको सन्तानलाई समेत बकसपत्र गरी दिएकोले मानलक्ष्मीले अर्को लिखत गर्नु पर्ने देखिंदैन । अब बैधानिक सिद्धान्त प्रयोग गर्दा सन्तान शब्दले कसलाई बोध हुन्छ ? बिचार गरौं ।
६. बिधान सरहको १९५१ सालको अन्तरिम नेपाल सरकारको ऐनको १४ दफामा लिंगको आधारमा भेदभाव गरिने छैन भन्ने स्पष्ट किटान भएकोले यस न्यायालयले सन्तान शब्दको व्याख्या गर्दा यो शब्दले छोरा मात्र बोध हुन्छ । छोरीहरू बोध हुँदैन भन्नु ता छोरीहरू आमाको गर्भबाट जन्मेकै होइन भन्ने जस्तो हुन्छ । ऐनमा व्यवहारमा जे भए पनि बिधानलाई सर्वथा मान्यता दिनु परेको र सो अन्तरिम बिधानको २ दफामा पनि सिद्धान्तहरू मुलुकको शासन व्यवस्थामा मूलभूत हुन् । जति सक्यो चाँडै प्रचलित ऐनलाई यिनै सिद्धान्तको अनुकूल लागु गर्नु भनी स्पष्ट किटान भएकोले सन्तान शब्दको व्यख्या गर्दा अन्तरिम बिधानको सिद्धान्तको अनुकूल नै व्याख्या गर्नु यस न्यायालयलाई बिधानले कर लगाएको हुनाले सो बकसपत्रमा सन्तान शब्दले मानलक्ष्मीको गर्भबाट जन्मेको सबै छोरा छोरीहरूलाई बोध गराएको ठहर्छ र मानलक्ष्मी मरेपछि निजको छोरा र छोरीहरूको सो बकसपत्रमा लेखेको जम्मै सम्पत्तिमा हक हुन आएको ठहर्छ । विवाहिता र कन्या छोरीहरूलाई सो बकसपत्रमा फरक नगरेकाले निजहरूको बराबर हक हुन आएको भन्नु पर्छ । मानलक्ष्मीको छोराहरूलाई दाताको दिने इच्छा नभए छोरा नाती शब्द प्रयोग गर्नु पर्ने, त्यसो नगरी गोल बोली सन्तान शब्द प्रयोग गरेकोले छोरा छोरी दुवैलाई बोध हुन्छ र सो बकसपत्रबाट दुबैको हक हुन आएको देखिन्छ ।
७. जीवित अबस्थामा नै मानलक्ष्मीले सो बकसपत्रमा लेखेको दुलबु र पोकस खेत कसैलाई बन्धक दिएकी रही छ भने निजका सन्तान छोरा छोरीहरूले सो साहुको थैली तिरी निखन्न पाउँछन् । मानलक्ष्मी २००३ सालमा मरेपछि निजको छोरा इन्द्रबहादुर २००४ सालमा मरेकोले अघि ६६ सालमा बज्यै लक्ष्मीप्रभाको बकसपत्रबाट आएको दुलबु र पोकस खेतमा इन्द्रबहादुरको शेषपछि निजको भागको सो जग्गा कसको हक हुने दानदातव्यको ४ क. नं. ऐनमा लिखत भए लिखत बमोजिम लिखत नभए मर्नेको छोरा भए छोरा नभए लोग्ने नभए कन्या सधवा बिधवा छोरीको हुन्छ भनी उल्लेख भएकोमा बज्यै लक्ष्मीप्रभाको ६६ सालका बकसपत्रमा तिमी नातिनीको सन्तान दरसन्तानले भोग गरी खानु भनी त्यसै बेलाको लिखतबाट नै मानलक्ष्मीको सन्तान छोरा छोरीहरूको हक हुन आएको र बकसपत्रमा पनि सो जग्गा दाताको नातिनीको सन्तान भित्रै राख्ने दाताको अभिप्राय भएको समेत देखिन आएकोले इन्द्रबहादुर मर्नु अघि नै बकसपत्रबाट पाएको जग्गा सो सन्तानहरूमा बण्डा नभएकोले अब जो बाँचेका सन्तान छोरीहरूको हक हुन आएको देखिन्छ ।
८. ८२ सालमा मानलक्ष्मीको बाबु मानकुवेर श्रेष्ठ र आमा वाईलक्ष्मीले छोरीहरू मानलक्ष्मी र मनीकुमारीलाई बकसपत्र गरी दिएको जग्गामा पनि मुद्दा पर्न आएकोले मिसिलमा भएको गवाही प्रमाणबाट बुझ्दा वाइलक्ष्मी २००४ साल आषाढमा र मानकुवेर २००५ साल जेष्ठ महिनामा परलोक भएको देखिएकै । निजहरूको जीवित अबस्थामा नै पहिले मनीकुमारी कन्या हुँदै र त्यसपछि मानलक्ष्मी परलोक भएकी र मानलक्ष्मी मरेपछि निजको लोग्ने बमबहादुरले कान्छी स्वास्नी ल्याएकोले मानलक्ष्मीको सन्तान वादीहरू र छोरा इन्द्रबहादुरलाई निजहरूको मावली बाज्ये बज्यैले नै पालेको र निजहरूले मावली बाज्ये बाज्यैलाई स्याहार सम्भार गरी बसेको र बाज्ये मानकुबेरको जिवित अबस्थामा नै २००४ सालमा इन्द्रबहादुर परलोक भएको र मानलक्ष्मी परलोक भएपछि सो ८२ सालको बकसपत्र निजको दाता बाबु आमाले बदर नगराएको देखिन आएको ।
९. इन्द्रबहादुर मरेपछि निजको बाबुले सो बकसपत्रमा लेखेको जग्गा प्रतिवादी साहुलाई २००४ सालमा बन्धकी दिएको । सो बन्धकीको कागजमा छोरा इन्द्रबहादुरको क्रिया खर्चको लागि लेखेको र मानकुबेर समेत साक्षी बसेको भन्ने प्रतिवादी साहुहरूको जिकीर ।
१०. ८२ सालको बकसपत्रले आमा मानलक्ष्मी र बाज्ये बज्यैको शेषपछि वादीहरू दुई छोरी मात्र जीवित हुनाले निजहरूको हक हुन आएकोमा निजहरूको हक मेटी हकै नभएको निजको बाबु बमबहादुरले बिक्री गरेको वा बन्धक दिएको सदर नहुने बदर गरी पाउँ भन्ने वादीहरूको उजुर ।
११. सो ८२ सालको बकसपत्र शेषपछिको र दाताहरूको जीवित अबस्थामा नै निजहरू दुवै छोरी जेठी मानलक्ष्मी र कान्छी मनीकुमारी परलोक भए तापनि दाताहरूले बकसपत्र बदर नगराएकोले सो बकसपत्र बहाल रहेको देखिन आएको र सो बकसपत्रमा तिमी छोरीहरू र तिमीहरूका सन्तान दरसन्तानले खानु । सन्तान नहुनेले सन्तान नहुनेको शेष पछि भनी उल्लेख भएकोले दाताको छोरीहरू परलोक भए पनि मानलक्ष्मीको सन्तान भएको र सो दाताहरुको अरु १३ दिने हकवाला समेत कोही नभएकाले हाम्रो श्रीसम्पत्ति खानुलाई लिखत नचाहिने हो तापनि भनी सो बकसपत्रमा उल्लेख भएकोले मानकुवेर र वाइलक्ष्मीको शेषपछि निजहरूको अरु कोही हकवाला नभएकोले बकसपत्रबाट र मानकुबेरको अरु कुनै हकवाला नभएकोले वादीहरूको हक हुन आएको । निजको बाबु बमबहादुरको हक नभएको ठहर्छ ।
१२. साहुहरूको दावी बिषयमा बिचार गर्दा, २००३ सालको तमसुकमा धनी भैरव नारान श्रेष्ठ असामी बमबहादुर भई लेनदेन गरेकोमा मानलक्ष्मीको ४५ दिनको कामलाई कर्जा लिएको र २००४ सालको तमसुकमा धनी मु. कृष्णबहादुर र आसामी बमबहादुर भइ लेनदेन गरेकोमा मानलक्ष्मीको बर्ष दिनको काम र छोरा इन्द्रबहादुरका ६ महिनाको काम र असार घर खर्च भनी लेखेको खर्च निजहरूको सम्पत्तिबाट व्यहोर्नु पर्ने हुनाले त्यसमा लागेका खर्च वापत कर्जा लागेको ठहरे बमोजिम तिरी वादीहरूले सो सम्पत्ति खान पाउँछ । साहु दधीरामको अपील नपरेको । त्यस तर्फ बिचार गर्नु नपर्ने निजको तमसुक सदर ठहर्दैन ।
१३. “सन्तान” र “हकवाला” भिन्न शब्द हुनाले पृथक पृथक अर्थ हुन्छ र यो शब्दहरू प्रयोग गर्दा दुवै शब्दको एकै व्याख्या गर्न हुँदैन । यस फैसलामा सन्तान शब्दको मात्र व्याख्या भएको छ । हकवाला शब्दको व्याख्या भएको छैन ।
१४. माथि लेखिए बमोजिम ठहरेकोले वादीहरूलाई कायम मुकायम प्रधान न्यायाधीशका फैसलाले गर्ने गरेको दण्ड सजाय लाग्दैन । असूल भए फिर्ता र असुल हुन बाँकी भए लगत काटी दिनु । इन्साफ उल्टीमा कायम मुकायम प्रधान न्यायाधीशलाई जरिवाना गर्न पर्दैन ।
इति सम्बत् २०१० साल बैशाख ९ गते रोज ३ शुभम् ।