शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६० - अंश

भाग: साल: २०१८ महिना: फागुन अंक:

निर्णय नं. १६०                  ने.का.प.२०१८

फुलबेञ्च

प्रधान न्यायाधीश श्री हरिरप्रसाद प्रधान

न्यायाधीश श्री ले. ज. प्रकाश शम्शेर ज. ब. रा.

न्यायाधीश श्री भैरवराज पन्त पाध्या

न्यायाधीश श्री भगवतीप्रसाद सिंह

ठा. नं.

उजुरवाला, प्रतिवादी : हरिहर पाध्या

विरुद्ध

विपक्ष, वादी : ठगकुमारी उपाध्यानी समेत

मुद्दा : अंश

(१)   एकै लिखतमा केही पास गर्नु पर्ने र केही पास नगर्नु पर्ने कुरा लेखिएको भएमा पास गर्नु पर्ने कलममा नालिस उजुर लाग्दैन भनि खारेज गर्नु पर्ने । पास गर्नु नपर्ने कलममा इन्साफ दिनु पर्ने ।

            बन्देजको कुरा परेको केही कुरा पास गर्नु पर्ने पास नभएको भए पनि एउटै लिखतमा केही कुरा पास गर्नु पर्ने केही कुरा पास गर्नु नपर्ने लेखी लिखत भएमा लिखत कायम भएपछि पास गर्नु पर्ने कलममा पास नगरेकाले नालेस उजुर लाग्दैन भनि खारेज गर्नु पर्ने भए पनि पास गर्नु नपर्ने कुरा जतिमा उजुर सुनी इन्साफ दिनु पर्छ ।

 (प्रकरण नं. ५)

(२)   करकाप र धोकामा कागज गराएकोमा अ. बं. ६१ नं. का ऐनका म्याद भित्र उजुर गर्नु पर्ने।

            केही परिबन्दसँग करकाप र धोकामा सो कागज गराएको भए अदालती बन्दोवस्तका ६१ नं. का ऐनका म्याद भित्रको उजुर हुनु पर्ने ।

 (प्रकरण नं. ५)

(३)   हामी सँगै सगोल रहेका भन्नेले सबुद गुजार्न पर्ने सबुद गुजार्न नसके र तायदाती समेत दिन नसकेमा दावी गरेको साँचो मान्न नहुने ।

            मानो छुट्टी चल जति वादीहरूका लोग्नेले नै लिईसकेको ठहरी वादीहरूले चल अंश नपाउने गरी पाल्पा अपील देखि प्रधान न्यायालय लगायतबाट फैसला भएको । त्यसमा वादीहरूले अपील उजुर नगरी बसेकोले वादीहरू लाग्नेकै पालादेखि छुट्टीएको देखिने । सोभाकान्ता वादीहरूसँग बसेको कुनै सबुद नदेखिएको । प्रतिवादी हरिहरसँग बसेबाट निजको अंश धनमाल समेतको हरिहरले नै तायदाती दिएको । वादीहरूसँग बसेको भए सोभाकान्तको धनमाल वादीले तायदाती दिन पर्नेमा वादीहरूबाट तायदाती नआएको र वादीहरूसँग सोभाकान्त बसेको भए निजलाई पनि वादीहरूका भनाइ बमोजिम आयस्ता दिने गरेको लिखत भएको हुनु पर्ने सो लिखत छ भनी प्रमाण दिई दाखिल गर्न नसकेको ।

(प्रकरण नं. ५)

(४)   नीति पूर्वक अंशबण्डाभन्ने वाक्यांशको व्याख्या कस्तो अंशबण्डालाई नीति पूर्वकको अंशबण्डा भन्नु पर्ने ।

            अपुतालीका ६ नम्बरका ऐनमा नीति पूर्वक अंशबण्डा गरी लिई दिई भन्ने शब्द परेको र सो शब्दलाई चलमात्र बण्डा भएको अचल बण्डा नभएकोले नीति पूर्वक अंश भई नसकेकाले भिन्न बसेका टाढाका हकवालाले पनि त्यो अपुताली पाउनु पर्ने भन्ने वादी तर्फको बहसमा आएका प्रतिनिधिहरूले जिकीर लिई ऐनको व्याख्या गरेकोलाई सो नीति पूर्वक भन्ने अंशबण्डा १ नम्बर देखि १४ नं. तक नम्बर नम्बरका ऐनमा नीति पूर्वक बण्डा गर्ने कुराहरू लेखिएका छन् । सो बमोजिम बण्डा भएकालाई नीति पूर्वक भनी भनिन्छ । अंशबण्डाका ऐन बमोजिम अंश पाउनेहरूमा सोही नीति बमोजिम अंश गरी लिई दिई बेगल बसेकालाई नीति पूर्वक भनेको हो ।

            अंश गर्न कति बाँकी नराखी बाँकी सुन्य गरी बण्डा गरेकालाई नीति पूर्वक र अंशियारका मन्जुरीले माना छुट्टी भिन्न बसी केही बण्डा गरी लिई छुट्टी भिन्न भईसकेको केही बसी बण्डा गरी लिई छुट्टी भिन्न भईसकेको । केही अबण्डा राखेकोलाई अनीति हो, सो ऐन लाग्दैन भन्न सम्झन हुँदैन । न्याय पनि पर्दैन । किनभने जनतामा कसैको चल पूँजी धेरै, कसैको अचल पूँजी धेरै हुन्छ । कसैले चल अबण्डा राखी भिन्न हुन्छ । त्यसरी भिन्न भईसकेको कुरालाई नीति पूर्वक अंशबण्डा भएको रहेनछ भनी इन्साफ गरी दिने गर्दा सो भिन्न भएपछिका र अघिको समेत कमाएको धन लगाएको ऋणमा जनतामा ठूलो समस्या पर्न जाने हुन्छ । न्यायोचित अदालतबाट इन्साफ दिन बाधा पर्न जान्छ । त्यस कारण वादीका प्रतिवादीहरूले नीति पूर्वक अंश लिई दिई भन्ने सबुदको लेखिए माफिक जो व्याख्या गरे, त्यो व्याख्या जिकिर गलत देखिएको ।

(प्रकरण नं. ५)

फैसला

      १.     यसमा बुढा बाजे घनश्यामको ३ विवाहिता ब्राम्हनी मध्ये २ बज्यै तर्फ हाम्रो ससुरा छबीलाल हरिहर २ भाइ छवीलाल तर्फ हाम्रो लोग्ने कबी कुलकेशरी जन्मी बुढा बाजे ससुरा खसम परलोक भई हरिहर बुढी बजै सोभाकान्ता हामी समेतका चित्त नमिली भिन्न हुँदा गैर श्रीसम्पत्ति पछि बण्डा गर्ने अचलको आयस्ताले बजै सोभाकान्तालाई धान मुरी १८। नगदी रु. ३०।, हामीहरूलाई धान मुरी १८। नगदी रु. ३०।, हरिहरले साल साल बुझाउने गरी हरिहरसँग माना छुट्टी बजै र हामी सगोलमा बसी आएकोमा ०७ सालको ठेक आयस्ता बुझाउन नपाउँदै बजै परलोक हुनु भएको । ०६।०७ सालको हाम्रो ठेक धान नगदी नदिएकाले लक्ष्मीपती समेतलाई राखी २००७।१२।१४ का दिन आयस्ता अंश दिनुस् समयले गर्दा ठेक धान नगदीले जीवन वृत्ति गर्न सकेन भन्दा राँडी बुहारीलाई अंश दिन कर छैन भनी गाली गरी ०६।०७ सालको धान ३६। नगदी रु. ६० मध्ये २००७ साल जेष्ठ महिनामा धान मुरी ९। नगदी रु. १५। दिई एकाघरका सासुको ०७ सालको धान मुरी १८। नगदी रु. ३०। र हाम्रो २००६,२००७ सालको धान २७ नगदी रु. ४५। समेत जम्मा धान मुरी ४५ नगदी रु. ७५। समेत नगदी हामी बसेको घरमा ०८।१।१९ का दिन ताल्चा मारी निकाला गरेकाले धान समेतको बिगो रु. ९७५। र घरको मुख्य भई व्यवहार गर्ने प्रतिवादीबाट तायदाती लिई अंशियार हामी र प्रतिवादी हुँदा २ अंश गरी १ अंश समेत दिलाई पाउँ । आयस्ता दिने बारेमा कस्तो किसिमको हो ९५ सालमा कागज गराई लिएको छ । अन्दाजी धान मुरी ३०० आयस्ता भएकोमा ५४ मुरी मात्र देखाई अरु लुकाएको अंशबण्डा हुँदा खुलाई पाउँ भन्ने समेत वादीको बिन्तिपत्र बयान ।

      २.    ठगकुमारी बोधलक्ष्मीका लोग्ने कवि कुलकेशरी छँदै ९१ सालमा चल धनमाल बण्डा लगाई सौतेनी आमा सोभाकान्ता मसँग सगोलमा बसेको । अचल जग्गा साहु असामी बण्डा गर्न नपाउँदै ९१ साल आश्विनमा कुलकेशरी परलोक भएकाले अचल बण्डा गर्न बाँकी ९५८।१९ का दिन वादी ठगकुमारीको योवनाथ बोधलक्ष्मीको वृहस्पति राज दाजुहरू र अरु भैभलाद्मी जग्गा कमाउने मोहीहरू समेत बसी खेत समेत जाँची आयस्ता ठहराई साहुको व्याज तिरो पर सारी ठहरेको आयस्ता धान मुरी ५४। मा सोभाकान्ता म एकाघरमा बसेकाले २ भाग म तर्फ १ भाग धान मुरी १८। नगदी रु. ३०। वादीलाई साल सालै मैले दिई भरपाई लिने गरी कागज भएकाले साल साल बुझाई भरपाई लिएकोमा ०६ सालको बोधलक्ष्मीको २००७ सालको वादीहरूको जम्मै धान गरी धान मुरी २७। नगदी रु. ४५। बाँकी भएको । लिखत बमोजिम माथबर तारानाथ जिम्मा राखेको छ । सोभाकान्ता मसँग बसेकाले निजको छोरी मेरा बैनी २ लाई ९६,९८ सालमा विवाह गरी दिई आमालाई तिर्थ ब्रत गराई पालन पोषण गरी राखेको । २००७ सालमा परलोक भएकोले काजकृया गर्न समेत खर्चले नपुग्दा साहु काटेको समेत छ । वादीसँग बसेको भए ९५ सालमा लिखत हुँदा सोभाकान्ताको भनी लिखत हुनु पर्ने नभएकाले वादीसँग बसेको भन्ने झुट्ठा हुँदा सोभाकान्ता पट्टिको बिगो तिर्न पर्ने हैन । ०८।१।१३ का दिन माइती मावली समेत लिई मेरा घरमा आई धान धनमाल लुटेमा नालिस गरेको छु । ०८।१।१९ का दिन मैले ताल्चा मारी निकाला गरको छैन । आफैले ताल्चा मारी माइत गएका हुँन् । ८,१० बर्ष देखि आयस्ता लिन २।४ दिन घरमा बसी अघिपछि माइतै बस्ने गरेको छ । ठहरेको आयस्ता दिने बन्दोवस्तको कागज भएका हुन् । २०० मुरी आयस्ता आउने जमिन छैन । १।२ मुरी घटिबढीसम्म होला । लुटपीटमा नालिस गरेको इवीलेसम्म १२।१३ बर्ष लिखत बमोजिम आयस्ता लेनदेन भएकोमा झुट्टा बयान गरेको हो । जग्गा ऋण धन आयस्ता दिने बिषयमा वादीहरुले गरी दिएको लिखतबाट देखिन्छ । सो फाँटवारीमा लेखिएको जग्गा मध्ये माती बिर्ता खेत ।५ रिडी रिखेश्वरमा पुराण भन्न आयस्ता राखेको छ । मैले आयस्ता बुझाएसम्म लिखत बमोजिम वादीहरूले आयस्तै पाउनु पर्ने हो । अंश दिनु पर्छ भने सो लिखत बमोजिम वादीहरुले आयस्तै पाउनु पर्ने हो । अंश दिन पर्छ भने लिखत बमोजिम साहु बेहोरी आमा सोभाकान्त मसँग बसी परलोक भएकाले ३ अंश गरी २ अंश मलाई र १ अंश वादीहरूलाई दिन मन्जुर छ भन्ने समेत प्रतिवादी बयान ।

      ३.    बेगल बसेमा दुवै थर साबित भएको र अंश लिना खानामा मन्जुरै भएको । अंश बण्डाका ३१ नं. का ऐन बमोजिम अंश पाउने उमेर पुगेको दुवै थरी बराबरका अंशियार देखिएको । वादी प्रतिवादीको र मर्ने सोभाकान्ताका ऐन बमोजिम नीति पूर्वक बण्डा नहुँदै सोभाकान्ता मरेकाले अंश नहुँदै मरेकाको भाग सगोलमा बसे भन्ने प्रतिवादीले पाउँछ भन्नु अंशबण्डाको र अपुतालीका ऐनले नहुने । सोभाकान्ताले प्रतिवादीलाई दानबकस दिएको पनि नदेखिनाले ३ खण्डको २ खण्ड प्रतिवादी हरिहरले पाउँछ भन्न नभई अंशबण्डा र अपुतालीका ऐनले सगोलका श्रीसम्पत्तिमा वादी प्रतिवादीहरू बराबरका हकदार दुबै थरीले बराबर अंश पाउने देखी तायदाती मागेमा हरिहरले नदिएबाट वादीसँग लिएका तायदाती घटिबढी भए हाजिर हुन आउनु भनी म्याद टाँसेमा हाजिर भई हरिहरले दिएको फाँटमा अचल जग्गा जमिन घर दुवैको तायदाती मिलेको । धनमाल नमिले पनि प्र. हरिहरले दाखिल गरेको वादीहरूले आयस्ता लिने बारेको ९५।८।१९ को लिखतमा धनमाल जति बण्डा गरी लिई दिईसकेको व्यहोराको लिखत देखिएको । सो लिखत सद्दे भनी बयान गरेकाले वादी प्रतिवादीका धनमाल बण्डा गर्न नपर्ने । सोभाकान्ताको धनमाल हरिहर जिम्मा राखेको निजको बयान तायदातीबाट देखिएकाले हरिहरका भाग आधी धनमाल कट्टा गरी सोभाकान्ताको आधी धनमाल आधी समेत तपसिल बमोजिम धनमाल घर जग्गा वादीहरूले पाउँछ । साहु असामीको फाँटमा दुबैको मुख नमिलेकोले ऐन बमोजिम रीत पुर्‍याई उजुर गरेका बखत ठहरे बमोजिम हुने भनी सुनाई दिने । लिखत बमोजिम आयस्ता नदिएमा प्रतिवादी साबितै भएकाले सो बमोजिम आयस्ताको बिगो रु. ५८५। वादीहरूले भरी पाउने ठहर्छ भनी ०६ साल पौष ७ गते पाल्पा अपीलबाट फैसला गरेको ।

      ३.    साहु असामीका फाँटमा मुख नमिलेकाले ऐन बमोजिम रीत पुर्‍याई उजुर गरेका बखत ठहरे बमोजिम हुने भन्ने पाल्पा अपीलका फैसलामा लेखिएकै हुँदा ऐन बमोजिम नालिस गरेमा ठहरे बमोजिम हुने र सोभाकान्ताको ऐन बमोजिमको रीत पुगी नीति पूर्वक अंश नहुँदै माना छुट्टी सम्म बसेको अबस्थामा मरेकाले निजको अंश निजसँग बस्नेले मात्र पाइन्छ भन्न नभई माना छुट्टी सम्म बसेको अबस्थामा मरेकाले निजको अंश निजसँग बस्नेले मात्र पाउँछ भन्न नभई माना छुटेको भन्दा अघिको ऋण धन जीवित रहेका अंशियारको ऐन बमोजिम अंश हुने हुनाले समेत इन्साफ पाल्पा अपीलले ठहराई छिनेको मुनासिब ठहराई प्रधान न्यायालय सिंगल बेञ्चबाट ११ साल आषाढ २२ गते फैसला गरेको ।

      ४.    हरिहरले दिएको निवेदनपत्रमा भएको आदेश बमोजिम दायर भएको यो मुद्दा उजुरवालाको वारिस जुजुरत्न र ठगकुमारी समेतको वारिस खिमानन्दलाई राखी बुझ्दा ।

      ५.    ठगकुमारी बोधलक्ष्मीले गरी दिएको ९५ सालको कागजबाट निजको लोग्ने कबी कुलकेशरी छँदै ९१ सालमा माना छुट्टी आसामी र अचल बाहेक चल जति बण्डा गरी निज कबी कुलकेशरीले आफ्नु अंश लिईसकेको देखिएकोले सो कागजबाट अचलको हकमा पनि बन्देजको कुरा परेको । केही कुरा पास गर्नु पर्ने पास नभएको भए पनि एउटै लिखतमा केही कुरा पास गर्नु पर्ने केही कुरा पास गर्नु नपर्ने लेखी लिखत भएमा लिखत कायम भएपछि पास गर्नु पर्ने कलममा पास नगरेकाले नालिस उजुर लाग्दैन भनी खारेज गर्नु पर्ने भए पनि पास गर्नु नपर्ने कुरामा जतिमा उजुर सुनी इन्साफ दिनु पर्छ । सो कागज वादीहरूलाई सुनाउदा कागज गरी दिएमा साबित भएको देखिएको । केही परिबन्दसँग करकाप र धोकामा सो कागज गराएको भए अदालती बन्दोवस्तका ६१ नं. का ऐनका म्याद भित्रको उजुर हुनु पर्ने । सो नभएपछि सोही महलका ३४ नं. का ऐनले कागज सदर गर्नु पर्छ । सो कागजमा लेखिए माफिक ९१ सालमा मानो छुट्टी चल जति वादीहरुका लोग्नेले नै नलिईसकेको ठहरी वादीहरुले चल अंश नपाउने गरी पाल्पा अपील देखि प्रधान न्यायालय लगायतबाट फैसला भएको । त्यसमा वादीहरूले अपील उजुर नगरी बसेकाले वादीहरू लोग्नेकै पालादेखि छुट्टीएको देखिने । सोभाकान्ता वादीहरूसँग बसेको कुनै सबुद नदेखिएको । प्रतिवादी हरिहरसँग बसेबाट निजको अंश धनमाल समेतको हरिहरले नै तायदाती दिएको । वादीहरुसंग बसेको भए सोभाकान्ताको धनमाल वादीले तायदाती दिन पर्नेमा वादीहरुबाट तायदाती नआएको र वादीहरूसँग सोभाकान्ता बसेको भए निजलाई पनि वादीहरूका भनाई बमोजिम आयस्ता दिने गरेको लिखत भएको हुनु पर्ने । सो लखत छ भनी प्रमाण दिई दाखिल गर्न नसकेको । बुझिएका साक्षीले कृया प्रतिवादी हरिहरले गरेको भनी बकेकाले जीउ छउन्जेल स्याहार सम्भार मरेपछि काज कृया पनि सँग बस्ने हकवाला लोग्ने मानिस वादीबाटै भएको सम्झनु पर्ने देखिन्छ । सोभाकान्ता पनि प्रतिवादीसँग छुट्टी बेगल बसेको भए ९५ सालको कागजमा पनि निज सोभाकान्ता छुट्टी बसेको र आयस्ता नगदी दिएको क्यै न क्यै अंश भई छुट्टी बेगल बसेको कुरा सो कागजबाट देखिनु पर्नेमा वादीहरूलाई मात्र सालको धान मुरी १८। नगदी रु. ३० दिने र अंश लिई बेगल बसेको भन्ने लेखिएको र वादीहरू सोभाकान्ताका छुट्टी भिन्न भएको ३ पुस्ताका नाती बुहारी भएको र प्रतिवादी सौतेनी छोरो भएकोले भिन्न बसेको भए पनि अपुतालीका १ नम्बरले सोभाकान्ताको अपुताली वादीहरूले नपाउनेमा सँग बसेका नजिकका छोरा प्रतिवादी देखिएकाले सोही १ नम्बरले निज मर्नेको अपुताली सँग बस्ने सौतानी छोराले पाउने । छोरा भन्दा पनि पछिको बेगल बसेका ३ पुस्ताका हकवाला वादी ठगकुमारी समेतले पाउन नसक्ने देखिन्छ ।

            अपुतालीका ६ नम्बरका ऐनमा नीति पूर्वक अंशबण्डा गरी लिई दिई भन्ने शब्द परेको र सो शब्दलाई चलमात्र बण्डा भएको अचल बण्डा नभएकोले नीति पूर्वक अंश भई नसकेकाले भिन्न बसेका टाढाका हकवालाले पनि त्यो अपुताली पाउन पर्ने भन्ने वादी तर्फको बहसमा आएका प्रतिनिधिहरूले जिकिर लिई ऐनको व्याख्या गरेकोलाई सो नीति पूर्वक भन्ने अंशबण्डाका १ नम्बर देखि १४ नं. तक नम्बर नम्बरका ऐनमा नीति पूर्वक बण्डा गर्ने कुराहरू लेखिएका छन् । सो बमोजिम बण्डा भएकोलाई नीति पूर्वक भनी भनिन्छ । अंशबण्डाका ऐन बमोजिम अंश पाउनेहरूमा सोही नीति बमोजिम अंश गरी लिई दिई बेगल बसेकालाई नीति पूर्वक भनको हो । अंश गर्न कति बाँकी नराखी बाँकी सुन्य गरी बण्डा गरेकालाई नीति पूर्वक र अंशियारका मन्जुरीले माना छुट्टी भिन्न बसी केही बण्डा गरी लिई छुट्टी भिन्न भईसकेको केही अबण्डा राखेकोलाई अनीति हो, सो ऐन लाग्दैन भन्न सम्झन हुँदैन । न्याय पनि पर्दैन । किनभने जनतामा कसैको चल पूँजी धेरै, कसैको अचल पूजी धेरै हुन्छ । कसैले चल अबण्डा राखी अचल नीति पूर्वक बण्डा गरी भिन्न हुन्छ । कसैले चल नीति पूर्वक बण्डा गरी अचल अबण्डा राखी भिन्न हुन्छ । त्यसरी भिन्न भईसकेको कुरालाई नीति पूर्वक अंशबण्डा भएको रहेनछ भनी इन्साफ गरी दिने गर्दा सो भिन्न भएपछिको र अघिको समेत कमाएको धन लगाएको ऋणमा जनतामा ठूलो समस्या पर्न जाने हुन्छ । न्यायोचित अदातलबाट इनसाफ दिन पनि बाधा पर्न जान्छ । त्यसकारण वादीका प्रतिनिधिहरूले नीति पूर्वक अंश लिई दिई भन्ने सबुदको लेखिए माफिक जो व्याख्या गरे त्यो व्याख्या र जिकीर गलत देखिएकोले समेत ऐन बमोजिम छोरी भन्दा पछिको छुट्टी भिन्न बसेका हकवाला वादी ठगकुमारी बोधलक्ष्मीको सोभाकान्ताको अपुतालीमा दावी पुग्न सक्तैन । प्रतिवादी हरिहरले पाउँछ । सोभाकान्ताको अपुताली समेत बण्डा गर्ने गरी पाल्पा अपील प्रधान न्यायालय सिंगल बेञ्चबाट समेत केही गल्ती फैसला गरेको हठर्नाले अंश तर्फ तायदातीमा लेखिए मध्ये ९५ सालका कागजले बण्डा गर्न बाँकी रहेको सबै वादीहरूले ३ खण्डको एक खण्ड आफ्नु लोग्ने कुल केशरीको भाग ऐन बमोजिम पाउन्यै हुँदा सो बमोजिम ऐन सवालको रीतपुर्‍याई अंश छुट्याई दिनु भनी तपसिलको कुरामा तपसिल बमोजिम गर्न लगत दिई मिसिलै पाल्पा अदालतमा पठाउन पाल्पा अपीलमा पठाई दिनु ।

 

तपसिल

वादी देहायका मानिसके सोभाकान्ताका भाग अपुताली बिगो मो. रु. ९४४।६७ समेत पाउँ भनी दावी गरेमा नपाउने पाउँ भनेकाले अपुतालीका २६ नम्बरका ऐन बमोजिम सयकडा ५ ले दन्ड मो. रु. ४७।२३।२ हुनेमा स्वास्नी मानिस हुँदा दण्ड सजायका २ नं. ले अघि मोरु २३।६१।३

ठगकुमारी उपाध्यानीको वारिस हुँदा ऐन बमोजिम असूल गर्ने मोरु ११।८१

बोधलक्ष्मी उपाध्यानी के ऐ. ऐ ११।८१

देहायका मानिसके पाल्पा अपीलको ०९।९।७।१का फैसलाले केही झुट्ठा बकेमा भनी गर्ने गरेको जरिवाना नलाग्ने हुँदा असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी पाल्ला अपीललाई पुर्जी गर्ने

पाल्पा माडी गोठुवा बस्ने बाशीराज भुसाल के गर्ने गरेको रु.१।

ऐजनको कल डाँडा बस्ने भिमदेव लुईटेल के ऐ. ऐ. १।

ऐ. ऐ. बस्ने टुकुम पाध्या के गर्ने गरेको ऐ. १।

पाल्पा सीखर डाँडा साल धार बस्ने विश्वनाथ पाध्या के ऐ. ऐ.

वादी ठगकुमारी बोधलक्ष्मी प्रतिवादी हरिहरलाई बिगो मोरु ५१२५ को जग्गा र मोरु १८१।३४ को धनमाल आधी आधी गरी बण्डा गरी दिने भनी पाल्पा अपीलका फैसलामा लखिएकोमा माथि लेखिए बमोजिम बण्डा हुने हुँदा सो बमोजिम गर्न पर्दैन देहायका मानिस के केही झुट्ठा बकेमा अदालती बन्दोवस्तका नं. का ऐन बमोजिम जनही तजविजी मोहरू १। एकका दरले जरिवाना हुन्छ रुजु नहुँदा ऐन सबालको रीत पुर्‍याई असूल गर्न लगत दिने

पाल्पा अर्चले बस्ने लोकनाथ पाध्या के मोरु एक रूपैयाँ १।

पाल्पा सुनार गाउँ बस्ने बिष्णुप्रसाद पाध्या के ऐ १।

केही गल्ती फैसला गरेमा देहायका मानिसको नाउँ किताबमा जनाई राख्नु सु. शेर मान गुभाजु , ना. सु. हरिबहादुर श्रेष्ठ

 

इति सम्बत् २०१२ साल बैशाख ७ गते रोज ४ शुभम् ।

 

(यसमा ऐन सवाल बमोजिम रीत पुगी अंशबण्डा भएको हुनाले सोभाकान्ताको भाग समेत बण्डा गर्ने गरी अघिनै फैसला गरी सकेकोले १।३।३२।३ मा लेखिए बमोजिम गरी छिनेको सदरै गरी छुट्टै राय गरी दिएँ ।

प्रकाश शम्शेर, न्यायाधीश)

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु