निर्णय नं. ३०९९ - जालसाजी

निर्णय नं. ३०९९ ने.का.प. २०४४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
सम्वत् २०४१ सालको फौ.पु.नं. ६१०
मुद्दा : जालसाजी ।
पुनरावेदक/प्रतिवादी: वा.अं.काभ्रेपलाञ्चोक जिल्ला भुमे डाँडा गा.पं. वार्ड नं. ९ घिसिंग गाउँको हाल परिवर्तित सुनथान गा.पं. वडा नं. ९ दलिनचोक बस्ने गणेशप्रसाद दाहाल ।
विरुद्ध
विपक्षी/वादी: ऐ सुजथान गा.पं. वडा नं. ७ बस्ने मोहनप्रसाद सापकोटा ।
फैसला भएको मिति: २०४४।३।२३।३ मा
दुईथर वा सो भन्दा बेसी व्यक्तिहरूको संलग्नताको अभावमा तत्काल प्रचलित ऐनको व्यवस्थाले जालसाजी क्रियाको परिकल्पना गर्न नसकिने ।
(प्रकरण नं. १४)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
उल्लेखित मुद्दाःX
फैसला
न्या.हरिहरलाल राजभण्डारीः म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको लगतमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :–
२. बाबा कूलशेखरको पाँच छोरा जेठा भीमप्रसाद, माहिला पद्मप्रसाद, साहिला तीलप्रसाद, काहिला विपक्षी पीत प्रसाद र कान्छा म मोहनप्रसाद भएकोमा बाबा जीवित छँदै १९९६ सालमा जेठो, माहिलो, साँहिलो बेग्लै भई विपक्षी पीत प्रसाद र म सगोलमा बसी आएकोमा आफ्ना आफ्ना भागमा परेको जग्गाहरू २००४ सालमा बिजन जाँच हुँदा पूर्व ठाडोको खोल्सा रामप्रसादको बारी, पश्चिम रामप्रसादकै बारी, उत्तर तीलप्रसादको बारी दक्षिण खोल्सो यति चारकिल्ला भित्रको दलीन चोक घरवारी मध्ये आधी मेरो अंश हकको जग्गामा बिजन ।।।२।। र विपक्षी दाजु पीत प्रसादका अंश भागको जग्गामा बिजन ।।।२।। समेत जम्मा बिजन ।।।५ को जग्गा कित्ता १ पूर्व बोगटीको साध पश्चिम खोल्सो पधेरो र कृष्णप्रसादको साध उत्तर खोल्सो दक्षिण लोकबहादुरको पिपलको रुख यति चार किल्ला भित्रको दलिन चोक बारी मध्ये आधी मेरो अंश हकको जग्गामा बिजन ।।।२।। र आधी विपक्षी दाजुको अंश हकको जग्गामा बिजन ।।।२।। समेत जम्मा बिजन ।।।५ को जग्गा कित्ता १ समेत दुई कित्ता जग्गाको जम्मा बिजन माना ।।१ मध्ये बिजन मुठी ।।।५ मेरा नाउँमा र बिजन मुठी ।।५ विपक्ष दाजु पीत प्रसादका नाउँमा मु.चेतनाथ सापकोटा जिम्मा २००४ सालको बिजन मोठमा दर्ता गराई लिई तिरो भरो गरी २०१७ साल देखि म विदेश भारततर्फ गई नोकरी गरी बसी आयस्ता पनि बिजन बमोजिमको तिरो २००५ साल देखि २०२२ साल तक सगोलबाट मु.चेतनाथको दामकाम शीवलाल सापकोटा मार्फत तिरो बुझाई रसिदमा दुबै भाइको नाउँ जनाई लिई राखेको रसिद विपक्षी दाजुसंग भएको, २०२३ साल देखि २०२८ सालको तिरो प्र.पं.सुरथबहादुर मार्फत सगोलबाट बुझाई आएको थियो । २०३६।२।१३ मा म भारतबाट घरमा आएको बेला बिजन ।।५ को दलीन चोक घरवारी मध्ये आधी बिजन ।।।२।। दाजुले गणेशप्रसाद दाहाललाई हालैका बकसपत्र गरिदिएको कुरा थाहा पाई लिखतको नक्कल सारी हेर्दा प्र.पं. पद्म बहादुर, विपक्षी पीत प्रसाद र विपक्षी गणेशप्रसाद दाहाल मिली उल्लेखित २ कित्ता मध्ये पूर्व बोगटी प्रसादको साँध समेत चार किल्ला भित्रको दलीन चोकबारी मेरो अंश भाग समेतको जग्गामा जालसाजी गरी हालै देखिको बकसपत्र खडा गरी लिनुदिनु गरी अन्याय गरेकोले सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको मोहनप्रसादको फिरादपत्र ।
३. सगोलको सम्पत्ति बिक्री व्यवहार भएकोमा लेनदेन व्यवहारको १० नं. ले आफ्नो हक जतिमा बदर गराउनु पर्ने बकसपत्रको लिखत बदर र हक कायम तर्फ उजूर गर्न नसकेको २०२२ सालमा ७ नं. फाराम भर्नु पर्नेमा सो भर्न नसकेको २०३० सालको पञ्चायती लगतमा पीत प्रसादको एकलौटी दर्ता भएको समेत कारणबाट वादीको फिराद झुठ्ठा भएकोले झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पीत प्रसाद समेत जम्मा ३ को संयुक्त प्रतिउत्तरपत्र ।
४. विवादको जग्गा सगोलको भए नापीमा दर्ता हुँदा वादीले त्यस उपर उजूर गर्नु पर्नेमा नभएको कि.नं. ३३ को जग्गा नापी हुँदा प्रतिवादी पीत प्रसादको नाउँमा नापी भएको देखिएकोमा सो दर्ता उपर वादीको कुनै उजूर नभएको समेतका कारणबाट जालसाजी भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।
५. शुरुको फैसलामा चित्त बुझेन दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी मोहनप्रसादले वा.अं.अ.मा दिएको पुनरावेदनपत्र ।
६. विवादको जग्गा वादीकै भागमा परेको भन्ने प्रमाण पेश हुन नआएको एकमाना बिज मध्ये वादीको जग्गा कुन तर्फको हो खुलाउन नसकेको समेत कारणबाट एक अंशियारले अर्को अंशियारको हकको जग्गा पनि हक छाडी दिएको कारवाही जालसाजीको संज्ञा दिन मिल्ने नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वा.अं.अ.को फैसला ।
७. वा.अं.अ. को फैसलामा कीर्ते कागजको ३ नं. अंशबण्डाको ३० नं., अ.बं. १३३ प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी वादी मोहनप्रसादको म.क्षे.अ.मा परेको निवेदनपत्रमा पुनरावेदनको लागि अनुमति प्रदान भएको रहेछ ।
८. वादी समेतको हकको जग्गा प्रतिवादी पीत प्रसाद र गणेशप्रसादले हक मेट्ने उद्देश्यले वादीको हक नदेखाई बकसपत्र दिने लिने गरेको क्रिया जालसाजी नै देखिन आयो । तसर्थ जालसाजीमा दावी नपुग्ने भन्न मिलेन । प्र.पद्म बहादुर खत्रीले रसिद गरिदिएकै आधारबाट वादीको हक नरहेको भन्न मिल्ने नदेखिँदा दावी बमोजिम निजले जालसाजी गरेको ठहर्दैन प्र.पीत प्रसाद र गणेशप्रसादले जालसाजी गरेको ठहर्छ । वादी दावी नपुग्ने ठहर्याएको वा.अं.अ.को फैसला केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.बाट भएको फैसला रहेछ ।
९. वादी दावा भन्दा बाहिर गई अ.बं. ८५, ८६, लेनदेन व्यवहारको १० नं. नागरिक अधिकार ऐन, २०१२ को संशोधन सहितको दफा ३, ६ समेतको प्रत्यक्ष त्रुटि हुन गई भएको म.क्षे.अ.को फैसला मिलेको नहुँदा पुनरावेदनको लागि अनुमति पाउँ भनी निवेदक प्रतिवादी गणेशप्रसाद दाहालको यस अदालतमा परेको निवेदनपत्र ।
१०. यही विवादित लिखत जालसाज गरेमा सजायँ गरिपाउँ भनी यिनै प्रतिवादी उपर शिवलाल सापकोटाले दिएको फिरादपत्रमा सो बकसपत्र बदर नहुने ठहरी म.क्षे.अ.बाट भएको फैसला अन्तिम रुपमा रहेको भन्ने पनि देखिन्छ । पीत प्रसादले आफ्ना नाउँमा दर्ता भएको जग्गा निवेदक गणेशप्रसादलाई हालै देखिको बकसपत्र पास गरिदिएको पाइन्छ । पीत प्रसादकै छोरा रुद्रप्रसादले यिनै प्र.गणेशप्रसाद उपर विवादको लिखत बदर गरिपाउँ भनेर मुद्दा चलाएकोमा लिखत बदर नहुने ठहरी भएको फैसला अन्तिम भइरहेको यस्तो स्थितिमा आफ्ना नाउँको जग्गा बकसपत्र गरिदिएकोमा बकसपत्र लिखत जालसाजी ठहर्याई म.क्षे.अ.ले गरेको फैसलामा अ.बं. ८५, ८६ तथा १८४(क), १८५ समेतको त्रुटि भएको देखिन आएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्जबाट भएको आदेश ।
११. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल कागज समेत अध्ययन गरी पुनरावेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले गर्नु भएको बहस समेत सुनियो ।
१२. पुनरावेदकतर्फका विद्वान अधिवक्ताले आफ्नो पुनरावेदन जिकिरलाई समर्थन गर्दै मेरो पक्षले प्रतिवादी मध्यका पीत प्रसादसंग मिलोमतो गरी विपक्षीको हक टुटाउने उद्देश्यबाट जग्गा लिनु दिनु नगरी लिनु दिनु भएको जग्गाको भू.सु.का.मा भरिएको अनुसूची, फिल्डबुक श्रेस्ता र तिरो तिरेको रसिद जस्ता आदि कुराहरूबाट जग्गामा हकभोग पुग्ने व्यक्तिबाट लिनु दिनु गरेकोले जस्को हकभोग अधिकारमा जग्गा रहेको छ उसबाट हक हस्तान्तरण गराई लिएको हुँदा यस कार्यमा मेरो पक्षको प्रत्यक्ष सहभागिता रहेको भन्ने देखिन आउँदैन । किनकी जग्गा दिने र लिने व्यक्तिको वतन फरक फरक भएकोले जग्गा दिने व्यक्ति पीत प्रसादको घरायसी व्यवहार के कस्तो थियो आदि कुरा केलाई हेरिरहनु पर्ने अवस्था मेरो पक्षलाई नपरेको भन्ने कुरा पीत प्रसादले भू.सु.का.मा अनुसूची फाराम तिरो तिरेको रसिद श्रेस्ताहरू हेरेपछि त्यसबाट देखिने हुँदा मेरो पक्षको संलग्नता हुने प्रश्नै छैन । जसको हक अधिकारमा जग्गा रहेको छ उसबाट हक हस्तान्तरण गराई लिँदैमा जालसाजी गरेको भन्न मिल्ने अवस्था छैन तसर्थ क्षे.अ.को फैसला बदर गरी शुरुकै इन्साफ मनासिब हुनुपर्छ भनी भन्नु भयो भने विपक्षी तर्फका विद्वान वरिष्ठ अधिवक्ताले मेरो पक्षको समेत हक लाग्ने जग्गा पुनरावेदक समेत मिली मेरो पक्षको हक टुटाई लिने दिने गरेको प्रकृया जालसाजीबाट नै भएको हुँदा क्षे.अ.कै इन्साफ सदर हुनुपर्छ किनभने मेरो पक्ष र पीत प्रसाद दाजुभाइ हुन मेरो पक्ष विदेश भारतमा गएको अवस्था आफ्नो हकको जग्गा समेत पीत प्रसादलाई नै जिम्मा दिएको र तिरो समेत दुवैको नामबाट तिरिने गरेको संयुक्त दर्ताको जग्गा पुनरावेदक समेतका व्यक्तिहरू एक आपसमा मिली मेरो पक्षको हकै समाप्त पार्ने उद्देश्यले लिनु दिनु गरेबाट त्यस किसिमको क्रिया जालसाजीबाट नै भएको छ अतः क्षे.अ.को फैसला मिलेकै हुँदा मनासिबै ठहर्नु पर्छ भनी आफ्नो पक्षको तर्फबाट बहस प्रस्तुत गर्नु भयो ।
१३. विद्वानहरूको उल्लेखित बहस जिकिर समेतलाई ध्यानमा राखी निर्णयतर्फ विचार गर्दा म.क्षे.अ.बाट जालसाज ठहर्याई भएको इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आयो ।
१४. यसमा मेरो अंश भागको मु.चेतनाथ सापकोटा जिम्मा २००४ सालको बिजन मोठमा दर्ता भएको तिरोभरो ०१७ सालदेखि म विदेशमा भारततर्फ गई नोकरी गरी बसी आए तापनि बिजन बमोजिम २०२२ सालसम्म दुवै भाइको नामबाट सगोलमा तिरो तिरान भई आएको थियो । भारतबाट २०३६ सालमा, घरमा आएको बेला ।।५ को दलीन चौक घरवारी मध्ये आधी बिजन ।।।२।। दाजुले गणेशप्रसादलाई हालैको बकसपत्र गरी दिएकोले विपक्षी मध्येको गणेशप्रसाद समेत मिली जालसाजी हालै देखिको बकसपत्र खडा गरी अन्याय गरे सजायँ गरिपाउँ भन्ने वादीको मुख्य फिराद भएको र सगोलको सम्पत्ति बिक्री व्यवहार भएकोमा लेनदेन व्यवहारको १० नं. ले आफ्नो हक जतिमा बदर गराउनु पर्ने २०२२ सालको ७ नं. फाराम भर्नु पर्नेमा सो भर्न नसकेको पञ्चायती लगतमा पीत प्रसादको एकलौटी दर्ता भएको समेत कारणले दावीबाट फुर्सद पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फका विद्वान अधिवक्ताले आफ्नो बहसको सन्दर्भमा यो कार्यमा मेरो पक्ष यी पुनरावेदक विपक्षी वादीको हकको जग्गा हो भन्ने कुरा जानेर निजको हक टुटाई लिने खाने नियतले संलग्न नभएको प्रष्ट छ भनी उठाउनु भएको प्रश्नमा नै सर्वप्रथम विचार गरी वादीले दावा गरे अनुसार प्रतिवादीहरूले जालसाजी क्रिया गरेका हुन होइनन त्यसतर्फ विचार गर्नुपर्ने हुन आएको छ । तत्काल प्रचलित कीर्ते कागजको ३ नं. मा भएको व्यवस्था हेरिएमा ‘लेखिए बाहेक अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसंग नोक्सान पार्ने इत्यादी जुनसुकै मतलवले हवस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी मिति अंक व्यहोरा फरक पारी सहिछाप गरिदिने लिने दुवै थर मिली कागज लेखि सहिछाप गरिदिने लिने जालसाजी गर्ने ठहर्छ, भनी उल्लेख भएको पाइन्छ । जुन व्यवस्थाबाट जालसाजी क्रिया हुनलाई दुईथर व्यक्तिहरूको आवश्यकता पर्ने स्पष्ट हुन्छ अर्थात् सो व्यवस्थाबाट जालसाजी क्रियाको लागि दुईथर हुनु पर्ने आवश्यक हुन्छ । यसरी दुईथरको अभावमा जालसाजीको क्रिया हुन नसक्ने भएबाट जालसाजी क्रियामा दुवैथरको संलग्नता हुनुपर्ने देखिन आउँछ । अर्थात् दुईथर वा सो भन्दा बेसी व्यक्तिहरूको संलग्नताको अभावमा तत्काल प्रचलित ऐनको व्यवस्थाले जालसाजी क्रियाको परिकल्पना गर्न नसकिने स्पष्ट हुन्छ । माथि उद्धृत ऐनको बनौटले पनि सो कुरालाई पुष्ट्याई दिएको कुरा दुईथर मिली भन्ने वाक्याँश राखिएकोबाट मिल्ने नै देखिन आउँछ। अब प्रस्तुत मुद्दाको सन्दर्भमा विचार गर्दा बकसपत्र दिने र लिनेको संलग्नता छ या छैन भनी त्यसतर्फ विचार गरी हेरिएमा प्रतिवादी मध्येका पीत प्रसादले नै विवादित जग्गाको २०२२ सालमा ७ नं. फाराम भरेको २०३० सालको पञ्चायती लगतमा पीत प्रसादको एकलौटी दर्ता भन्ने उल्लेख भएको २०२८ साल देखि पछि तिरो तिर्दाको अवस्था सगोलमा नतिरिएको र प्रतिवादी मध्ये पीत प्रसादको भाइ विपक्षी वादी मोहनप्रसाद सापकोटा नोकरीका लागि भारतमै बढी रहने बस्ने गरेको कारण समेतबाट बकसपत्र गरिदिने जग्गाको सम्बन्धमा अन्यथा सोची शंकाकै भरले खोजविन गर्नुपर्ने स्थिति प्रस्तुत मुद्दाको तथ्यबाट देखिन आउँदैन । किनकी बकसपत्र दिने जग्गाको हक स्वामित्व भएको आधार प्रमाणहरू सबै देखाएपछि देखेपछि त्यसको पछि लागी शंकाको भरमा मात्रै बकसपत्र दिनेको अरु भाइहरू संगको व्यवहार के कस्तो छ आदि कुरा जान्नु पर्ने अवस्था पर्न आउँदैन । जग्गाको हकभोग स्वामित्वको प्रमाण ७ नं. फाराम, पञ्चायती लगत, तिरो तिरेको रसिद आदिबाट देखिसकेपछि ती कुराहरूको आधार प्रमाणहरूबाट बकसपत्र पाउने व्यक्तिले भर विश्वास नगरी रहन सक्ने अवस्था पर्दैन । अर्को कुरा बकसपत्र दिने र लिने दुवैको वतन एकै ठाउँको नभई फरक फरक वतनका देखिन आउँछन जसबाट बकसपत्र पाउने वाला व्यक्तिलाई बकसपत्र दिनेको व्यवहारसंग जानकारी हुन नसक्ने कुरा स्पष्ट हुन आउँछ । उपरोक्त उल्लेखित कारणबाट बकसपत्र पाउने व्यक्ति पुनरावेदक प्रतिवादीको विपक्षी वादीको हकभोग रहेको जग्गामा हक टुटाई लिने खाने नियतले संलग्नता रहेको भन्न सकिने अवस्था छैन । यसरी कसैको हक टुटाई लिने खाने नियतले संलग्न नरहेको अवस्थामा पनि सो क्रियामा संलग्न भई जालासाजी क्रिया गरेको भनी ठहर्याउन न्यायोचित हुने देखिँदैन । प्रस्तुत मुद्दाको विषय वस्तुको सन्दर्भमा बकसपत्र दिनेले आफ्नो हकभोगको आधारहरू देखाई बकसपत्र गरी दिएपछि बकसपत्र लिँदैमा त्यस्तो कार्यमा बकसपत्र लिनेको संलग्नता भएको मान्नु युक्ति युक्त हुँदैन । किनकी कसैले पनि कसैबाट हक टुटाई लिँदाको अवस्थामा हक छोडी दिने व्यक्तिको हकाधिकार भए नभएको नै पहिले हेर्छ । त्यसैले विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको यी पुनरावेदक समेत मिली जालसाज गरेको हुन भन्ने बहस जिकिरसंग सहमत हुन सकिएन । तसर्थ शुरु सदर गरी भएको वा.अं.अ. को इन्साफ केही उल्टी गरेको म.क्षे.अ.को इन्साफ उल्टी भई शुरु सदर गरेको वा.अं.अ.को इन्साफ मनासिब ठहर्छ ।
१५. प्रतिवादी मध्येका पद्म बहादुर खत्रीलाई जालसाजी गरेको नठहर्याए उपर वादीले पुनरावेदन नगरी चित्त बुझाई बसेको र प्रतिवादी मध्येको पीत प्रसादको हकमा जालसाजी गरेको ठहर्याए उपर निजको पनि पुनरावेदन नपरेको अवस्था भएपनि माथि उल्लेख गरिए अनुसार पुनरावेदन गर्ने प्र.मध्येका गणेश प्रसादको हकमा विपक्षी वादीको हकको जग्गा हो भन्ने कुरा जानी जानी थाहा पाएर निजको हक टुटाई लिने खाने नियतले जालसाजी गर्ने क्रियामा निजको संलग्नता रहेको नपाइएकोले प्रस्तुत यो मुद्दा जालसाजीको परिभाषा भित्र पर्न सक्ने देखिन नआएबाट जालसाजी गरेको ठहर्याए उपर पुनरावेदन नगरी बस्ने प्र.मध्येका पीत प्रसादको हकमा अ.बं. २०५ नं. बमोजिम हेर्नुपर्ने भएकोले त्यसतर्फ हेर्दा प्र.मध्येका गणेशप्रसादको सो क्रियामा संलग्नता देखिन नआएको कारणबाट जालसाजी गरेको नठहर्दा प्रस्तुत यो मुद्दा जालसाजीको परिभाषा भित्र पर्न सक्ने नदेखिँदा पुनरावेदन नगर्ने प्र.मध्येका पीत प्रसादको हकमा पनि जालसाजी गरेको ठहर्याएको म.क्षे.अ.को फैसला उल्टी हुने भई शुरु सदर गरी गरेको वा.अं.अ.को इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार प्र.मध्येका गणेशप्रसाद दाहालले जालसाजी गरेको नठहरेकोले क्षे.अ.को फैसला अनुसार निजलाई गर्ने गरेको जरिवाना रु. ३७।५० नलाग्ने हुँदा सो जरिवाना निजबाट असूल उपर भइसकेको देखिएकोले ऐनका म्यादभित्र फिर्ता माग्न आए रीत पुर्याई फिर्ता दिनु भनी का.प.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१ शुरु का.जि.अ. र वा.अं.अ. को फैसलाहरूले वादी मोहनप्रसाद सापकोटालाई लागेको जरिवाना फिर्ता दिनु भनी म.क्षे.अ.का फैसलामा उल्लेख भएको हकमा शुरु सदर गरी भएको वा.अं.अ.को फैसला मनासिब ठहरी फैसला भएकोले शुरु का.प.जि.अ.र वा.अं.अ.का फैसलाले निजलाई लागेको जरिवाना फिर्ता दिइरहनु पर्ने नभएकोले असूल उपर भइसकेको मिसिलबाट देखिँदा फिर्ता दिइरहनु परेन म.क्षे.अ.को फैसला अनुसारको लगत कट्टा गरिदिनु भनी शुरु का.प.जि.अ.लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...२
मिसिल नियमानुसार गरी बुझाई दिनु...३
उक्त रायमा म सहमत छु ।
न्या.रुद्र बहादुर सिंह
इतिसम्वत् २०४४ साल आषाढ २३ गते रोज ३ शुभम् ।