निर्णय नं. २६६८ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. २६६८ ने.का.प. २०४३ अङ्क - ३
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको रि.नं. १६८६
आदेश भएको मिति : २०४३।३।२५।४ मा
निवेदक : ल.पु.न.पं.वार्ड नं. १६ बस्ने सामुदायिक वन विकास तथा वृक्षारोपण महाशाखा हात्तिसार काठमाडौंको सहायक वृक्षारोपण अधिकृत बद्रीराज जोशी
विरुद्ध
विपक्षी : श्री लोकसेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंसमेत
विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
(१) कुनै पनि कर्मचारी कुनै कार्यालयमा रुजु हाजिर रहेको भन्नाले सो कार्यालयमा कार्यरत रही सोही कार्यालयमै हाजिर रहेको हुनुपर्छ ।
(प्रकरण नं. २३)
(२) पाल्पामा लियन पद रही काठमाडौंमा काज रहेको अवधिलाई पाल्पामा रुजु हाजिर रहेको मानी सो अवधि समेत जोडी अंक प्रदान गरेको अनियमित तथा गैरकानुनी देखिने ।
(प्रकरण नं. २५)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल र विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय
आदेश
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : बढुवा समिति वन तथा भू–संरक्षण मन्त्रालय काठमाडौंको मिति ०४१।२।३० को बढुवा सम्बन्धी निर्णय समेत उत्प्रेषणद्वारा बदर गरिपाउँ भनी नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ ।
२. नेपाल वन सेवा जनरल फरेष्ट्री समूहको राजपत्राङ्कित प्रा.द्वितीय श्रेणीको ३ पद आन्तरिक मूल्याङ्कनद्वारा बढुवाको लागि ०३९ पौष मसान्तसम्ममा हुने सम्भाव्य उम्मेदवारहरूले दर्खास्त दिनु भनी लोकसेवा आयोग (तथ्याङ्क गोष्ठी तथा प्रकाशन शाखा) को सूचना नं. २०२।०३० मिति ०३९।९।१३ को गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो ।
३. सो सूचना बमोजिम म निवेदकले पनि उम्मेदवारी दर्खास्त दिएको थिएँ । विपक्षी बढुवा समितिले मिति ०४१।२।३० मा उक्त पद ३ मा तुल्सीभक्त, प्रजापती, सूर्यप्रसाद जोशी र मोहनप्रसाद ढुङ्गेललाई बढुवामा सिफारिश गरेको सूचना गोरखापत्रमा मिति ०४१।३।७ मा प्रकाशित गरियो ।
४. उक्त बढुवा सिफारिश उपर चित्त नबुझी म निवेदकले ३५ दिनभित्र आफूले बढुवा पाउनुपर्ने आधारहरू खुलाई विपक्षी लोकसेवा आयोगमा उजूरी गरेकोमा आधारहीन ठहर्याई विपक्षी लोकसेवा आयोगबाट मिति ०४१।६।४ मा भएको निर्णयको जानकारी मिति ०४१।६।७ मा प्राप्त हुन आएको छ ।
५. मैले विभिन्न वर्गीकृत क्षेत्रमा काम गरेबापत (क) वर्गमा ३.२७७, (ग) वर्गमा १०.५८८, (घ) वर्गमा ४.५३८ र ९ महीना २४ दिनको (ग) वर्गको ३.२६६ अंक गरी सो समेत जम्मा अंक २१.६६९ वर्गीकृत क्षेत्रमा काम गरेको अंक पाउनुपर्नेमा विपक्षी बढुवा समितिले १५.५२७ अंक मात्र दिएको प्रत्यक्ष कानुनी त्रुटिपूर्ण छ । विपक्षी सूर्यप्रसाद जोशीले अनुभव बापत १४.८६४ अंक मात्र पाउनेमा १८.८७२ अंक दिएको मिलेको छैन । निजले भू तथा जलाधार संरक्षण विभागबाट ०३५।९।२२ देखि तिनाउ जलाधार योजना पाल्पामा गई ०३८।६।७ सम्म (ग) वर्गमा पर्ने पाल्पा जिल्लामा २ वर्ष ८ महीना १६ दिन कार्यरत रहनु भएको त्यहाँ १०.८४३ अंक पाउनुपर्नेमा भू तथा जलाधार संरक्षण विभागको मिति ०३८।६।५ को पत्रानुसार मिति ०३८।६।७ देखि ०३९।५।६ सम्म जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काजमा रहँदाको अवधि १० महीना २९ दिन मात्र भई १ वर्ष नपुग हुँदा नि.से.नि. ३.५ को उपनियम (६) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश (३) अनुसार सो अवधिको नम्बर पाउन नसक्ने सो अवधिको र अन्य नम्बर नपाउने अवस्थाको पनि नम्बर प्रदान गरि निजलाई ४.००८ अंक बढी बढुवा समितिबाट प्रदान गरिएको छ जुन बढी अंक ४.००८ निजको कूल अंक २३६.६४० मा घटाउँदा २३२.६३२ मात्र हुन आउँछ । जसबाट निजको अंक निवेदकको भन्दा कम हुन आउँछ ।
६. त्यस्तै अर्का विपक्षी मोहनप्रसादको जम्मा कूल अंक २३५.५८९ मात्र हुन आउँछ । निवेदकले वास्तविक अंक २३७.७२९ हुन आउँछ जसबाट निवेदकको बढुवा निश्चित हुँदा हुँदै पनि निवेदकलाई बढुवामा सिफारिश गर्नुपर्नेमा नगरी बढुवा समितिले विपक्षीहरूलाई बढुवामा सिफारिश गर्ने गरेको नि.से.नि., ०२१ को नियम ३.५ को उपनियम (६) को प्रत्यक्ष त्रुटिपूर्ण भएको हुँदा विपक्षी बढुवा समिति र लोकसेवा आयोग समेतको काम कारवाही र निर्णय सूचनाहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई बढुवा गरी दिनु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेत बद्रीराज जोशीको मिति ०४१।९।६ को रिट निवेदन जिकिर ।
७. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४१।९।६ को आदेश ।
८. रिट निवेदकले (क) वर्गीकृत क्षेत्र बापत ३.२७७ अंक पाउनुपर्ने भन्ने जिकिर भएकोमा छानबीन गर्दा आयोगबाट ३.२८१ अंक प्रदान गरिएको, (ग) वर्गमा काम गरेको १०.५८८ अंक जिकिर लिएकोमा छानबीन गर्दा १०.५८४ अंक ठहरिएको, त्यस्तै (घ) वर्गको ४.५३८ जिकिर लिएकोमा ४.५२१ पाउने देखिएको र त्यस्तै अर्को दाङ वन डिभिजनमा ९ महीना २४ दिन काम गरेको, तनहूँ वन कार्यालयमा काम गरेको अवधिसँग लगातार नभएकोले सो बापत दावी गरिएको अंक नपाउने हुँदा वर्गीकृत क्षेत्रमा २१.६६९ पाउनुपर्ने भन्ने जिकिर भए पनि सो भन्दा कम पाउने भई अरु सिफारिश उम्मेदवार भन्दा निजको कूल प्राप्ताङ्क कम देखिँदा निज सिफारिशको क्रममा नपर्नु भएको हो । रिट निवेदकले सूर्यप्रसाद जोशी ०३८।६।७ सम्म मात्र पाल्पामा रहेको भन्ने सम्बन्धमा तिनाउ जलाधार योजनाको मिति ०३९।५।२३ को पत्रमा ०३८ साल पौष मसान्तसम्मको हाजिर रेकर्ड फाइलमा देखिएको र वन मन्त्रालयको मिति ०३९।६।२१ को पत्रबाट ०३९।७।२१ देखि लागू हुने गरी २ वषर््ाको अध्ययन विदा स्वीकृत भएको देखिएकोले ०३९।७।२० सम्म तिनाउ जलाधार योजना पाल्पामै कार्यरत देखिन आएकोले ०३८।६।७ सम्म पाल्पामा बसेको भन्न नमिल्ने हुँदा उक्त तिनाउ जलाधार योजनाको पत्र तथा वन मन्त्रालयको विदाको पत्र अनुसार निजको ०३९।७।२० सम्म पाल्पा जिल्लामा नै भएको मानी (ग) वर्गको अंक गणना गरेको हो । त्यस्तै सूर्यप्रसाद जोशीको दर्खास्त फाराममा ०३२ साल चैत्र १५ गते देखि ०३४ असार १५ सम्म कपिलवस्तुमा काम गरेको भन्ने उल्लेख भएको देखिएको तर निजलाई लुम्बिनी वन कार्यालयमा ०३२।१२।२९ देखि हाजिर हुन जानु भनी वन विभाग बागमती अञ्चल वृक्षारोपण शाखाबाट रमाना दिएको देखिएकोले ०३२।१२।२९ देखि मात्र कपिलवस्तु वर्गीकृत क्षेत्रको अंक गणना गर्ने आयोगबाट ठहर भएको सिफारिश हुने उम्मेदवारहरूको भन्दा रिट निवेदकको अंक कम देखिएको र आयोगको निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी लोकसेवा आयोग नि.नि.तथा उजूरी शाखाको लिखितजवाफ ।
९. ०४१।२।३० मा बसेको बढुवा समितिले क्रमशः तुल्सीभक्त प्रजापती, सूर्यप्रसाद जोशी, म मोहनप्रसाद ढुंगेललाई नियमानुसार बढुवा गरी सिफारिश गरेकोमा सो उपर चित नबुझी विपक्षीको उजूर परेकोमा उजूरी सुन्ने निकाय लोकसेवा आयोगबाट सम्बन्धित कागजात प्रमाणहरूको मूल्याङ्कन गरी हेर्दा निवेदकको उजूरी आधारहीन ठहराई निर्णय भएको छ । रिट निवेदकको जिकिर कानुन प्रतिकूल र निरर्थक हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी मोहनप्रसाद ढुंङ्गेलको लिखितजवाफ ।
१०. रिट निवेदकले मलाई समेत विपक्षी बनाएको छ तर मबाट यो यति कारणबाट असर परेको छ भनी भन्न सकेको छैन । मूल्याङ्कनमा बढुवा समितिले र लोकसेवा आयोगले पक्षपात गर्नुपर्ने कुनै कारण छैन । आफू बढुवा हुन नपाएको आधारमा कपोलकल्पित आधारबाट लान्छना लगाई खाली बढुवा पाएका व्यक्तिलाई अलमलाउने उद्देश्यले मात्र रिट निवेदन गरेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी तुल्सीभक्त प्रजापतीको लिखितजवाफ ।
११. विपक्षी सूर्यप्रसाद जोशीलाई वर्गीकृत क्षेत्रमा काम गरेको बढी अंक दिएकाले निवेदक बढुवाबाट बञ्चित हुनु पर्यो भन्ने निवेदकको मूल जिकिर छ । १ वर्ष भन्दा कम रुजू हाजिर भएकोमा अंक नपाउने व्यवस्था भएको र नियमानुसार रुजुु हाजिर रहेको अवधिको मात्र निवेदक र सूर्यप्रसाद जोशी समेतलाई अनुभवको अंक दिँदा बढुवाको क्रममा निवेदन पर्न नआएको हो । निवेदकले अन्य उपचारको उपभोग गरी उजूरी दिएको र सो उजूरी उपर उजूर सुन्ने अधिकारीबाट छानबीन गर्दा आधारहीन ठहरिएको समेत हुँदा रिट जारी हुनुपर्ने अवस्था छैन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी बढुवा समिति वन तथा भू संरक्षण मन्त्रालय बबरमहल काठमाडौंको लिखितजवाफ ।
१२. मैले विभिन्न भौगोलिक क्षेत्रमा गई काम गरेको अनुभव बापत प्राप्त गरेको अंक यथोचित एवं कानुनी छ । विपक्षीले भू तथा जलाधार संरक्षण विभागले तिनाउ जलाधार योजना पाल्पामा काम गरे बापत २ वर्ष ८ महीना १६ दिनको वर्गीकृत क्षेत्रको नम्बर मात्र दिइनु पर्नेमा भू तथा जलाधार संरक्षण विभागको जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काजमा रहेको हुँदाको अवधि १० महीना २९ दिन मात्र भई १ वर्ष नपुग हुँदा सो अवधिभर नम्बर पाउन नसक्ने भनी उल्लेख गरिएको सन्दर्भमा सो सम्पूर्ण अवधि भरको मेरो हाजिर रेकर्ड उक्त कार्यालयमा रहनुको साथै तहीबाट तलब भत्ता पाएकोले विपक्षीको अभिकथन सत्य नभएको प्रष्ट हुन्छ । बढुवा समिति तथा लोकसेवा आयोगले मलाई बढुवाको लागि सिफारिश गर्दा नि.से.नि.बमोजिम कार्य क्षमता शैक्षिक योग्यता अनुभव र अन्य आन्तरिक मूल्याङ्कनको आधारमा गरिएको निर्णय कानुन बमोजिम नै हुँदा त्यसको औचित्यमा विपक्षीले विवाद उठाई आफू बढुवा नभएको कारणबाट गैरकानुनी भन्न मिल्ने होइन । अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी सूर्यप्रसाद जोशीको लिखितजवाफ ।
१३. रिट निवेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले रिट निवेदकले वर्गीकृत क्षेत्रमा काम गरेको अनुभव बापत २१.६६९ अंक पाउनुपर्नेमा सो बमोजिम अंक नदिई निवेदकको भन्दा कम अंक १४.८६४ हुने विपक्षी सूर्यप्रसाद जोशीलाई विपक्षी बढुवा समितिबाट भू तथा जलाधार संरक्षण विभागको मिति ०३८।६।५ को पत्रानुसार मिति ०३८।६।७ देखि ०३९।५।६ सम्म जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काजमा रहेको अवधि १० महीना २९ दिनको नम्बरै दिन नमिल्नेमा पनि काठमाडौं काज बसेकोमा पनि (ग) वर्गमा पर्ने पाल्पामा काम गरेको मानी अंक प्रदान गरेको र त्यस्तै कम अंक पाउनुपर्ने अन्य वर्गीकृत क्षेत्रको अड्ढमा पनि बढी अंक प्रदान गरी कुल वर्गीकृत अंक १८.८७२ कायम गरी निज विपक्षी सूर्यप्रसाद जोशीलाई तथा अन्य मोहनप्रसाद ढुङ्गेल समेतका विपक्षीहरूलाई अनियमित ढंगबाट नम्बर प्रदान गरी उक्त जनरल फरेस्ट्री समूह रा.प.द्वितीय श्रेणी पदमा रिट निवेदकलाई बढुवा सिफारिश नगरी विपक्षी सूर्यप्रसाद जोशी लगायतको ३ जना विपक्षीहरूलाई बढुवा गर्ने गरेको विपक्षी बढुवा समितिको मिति ०४१।२।३० को निर्णय तथा सो निर्णयलाई कायमै राखी निवेदकको उजूरी आधारहीन ठहराएको विपक्षी लोकसेवा आयोगको मिति २०४१।६।४ को निर्णय समेत गैरकानुनी अनियमित भई त्रुटिपूर्ण हुँदा उक्त त्रुटिपूर्ण निर्णयहरू बदर गरी रिट निवेदकलाई उक्त पदमा बढुवामा सिफारिश गर्नु भन्ने विपक्षी बढुवा समिति समेतको नाउँमा परमादेशको आदेश समेत जारी हुनुपर्छ भन्ने र प्रत्यर्थी लोकसेवा आयोग समेत तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहालले बढुवा समितिबाट सिफारिश उम्मेदवार तथा रिट निवेदकलाई प्रदान गरिएको अंक मनासिब छ । सूर्यप्रसाद जोशी भू तथा जलाधार संरक्षण विभागबाट जलाधार व्यवस्थापन तथा संरक्षणमा शिक्षा आयोजना काठमाडौंमा काज रहेको अवधिको हाजिरी रेकर्ड समेत (ग) वर्गमा पर्ने तिनाउ जलाधार योजना पाल्पामा रहेको र तलब समेत त्यहीबाटै खुवाएको हुँदा तलब भत्ता खाएको ठाउँमै काम गरेको सम्झनु पर्ने हुँदा पाल्पामा रहेको मानी अवधि गणना गरेको र अंक प्रदान गरेको मिलेको छ । बढुवा समितिको बढुवा सिफारिश निर्णय कानुन अनुरुप भएको र सो निर्णय उपर परेको निवेदकको उजूरी आधारहीन ठहरी लोकसेवा आयोगबाट निर्णय भइसकेको समेत हुँदा रिट जारी हुनुपर्ने अवस्था छैन । अतः रिट निवेदन खारेज हुनुपर्छ । भन्ने र प्रत्यर्थी सूर्यप्रसाद जोशी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले सूर्यप्रसाद जोशीले रिट निवेदकले भन्दा बढी अंक प्राप्त गर्नुभएको छ । अंक प्रदान गर्दा बढुवा समितिबाट कुनै पक्षपात र अनियमित भएको छैन । रिट निवेदकले जिकिर लिनु भएको सूर्यप्रसाद जोशी काठमाडौं जलाधार व्यवस्थापन तथा संरक्षरण शिक्षा आयोजनामा काज रहेको अवधिको पाल्पाको समय अवधिसँग जोडी अंक गणना गर्न मिल्दैन भन्ने जिकिर तर्क संगत छैन, सूर्यप्रसाद जोशी काठमाडौं काज रहेको पनि निजको हाजिरी रेकर्ड तिनाउ जलाधार योजना पाल्पा मै रहेको र तलब समेत सोही ठाउँबाट खाईपाई आएकोले पाल्पा रहेको मानी समय अवधि गणना गर्न मिल्छ नोकरी ज्येष्ठता शैक्षिक योग्यता तथा वर्गीकृत क्षेत्रमा काम गरेको अनुभवको अंक समेतको आधारमा सूर्यप्रसाद जोशी बढुवा सिफारिश भएको र बढुवा समितिको बढुवा सिफारिश निर्णय तथा लोकसेवा आयोगको निर्णय समेत कानुन अनुरुप नै हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने तथा प्रत्यर्थी मोहनप्रसाद ढुङ्गेल तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्यायले मोहनप्रसाद ढुङ्गेलको बढुवा उपर रिट निवेदकले अनियमित भएको छ भनी आपत्ति जनाउन सक्नु भएको छैन । मोहनप्रसाद ढुङ्गेलले आफूले पाउनुपर्ने नम्बर प्राप्त गरी बढुवा हुनुभएका र उहाँको बढुवा सिफारिश सम्बन्धमा बढुवा समिति तथा लोकसेवा आयोग समेतबाट कुनै अनियमितता नभएको हुँदा रिट खारेज भई मोहनप्रसाद ढुंगेलको बढुवा कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१४. प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको ।
१५. यसमा निर्णयतर्फ हेर्दा रिट निवेदकको भन्दा कम अंक हुने विपक्षी सूर्यप्रसाद जोशीलाई १० महीना २९ दिनसम्म जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काज रहेको अवधि १ वर्ष नपुगी अंक नपाउनेमा पनि तिनाउ जलाधार योजना पाल्पामा रहेको मानी (ग) वर्गमा पाउने अंक प्रदान गरी तथा अन्य वर्गीकृत क्षेत्रमा समेत बढी अंक दिई अनियमित एवं गैरकानुनी तबरबाट रिट निवेदकको भन्दा बढी अंक देखाई विपक्षी सूर्यप्रसाद जोशी समेतका विपक्षीहरूलाई जनरल फरेष्ट्री समूह रा.प.द्वितीय श्रेणी पद ३ मा बढुवामा सिफारिश गर्ने गरेको प्रत्यर्थी बढुवा समितिको मिति ०४१।२।३० को निर्णय तथा सो निर्णय कायमै राखेको प्रत्यर्थी लोकसेवा आयोगको मिति ०४१।६।४ को निर्णय समेत त्रुटिपूर्ण हुँदा उक्त निर्णयहरू उत्प्रेषणद्वारा बदर गरी रिट निवेदकलाई बढुवामा सिफारिश गर्नु भन्ने परमादेश जारी गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर छ ।
१६. बेञ्च समक्ष पेश भएको बढुवा सम्बन्धी फाइल हेर्दा जनरल फरेष्ट्री समूहको रा.प.द्वितीय श्रेणी पद ३ मा बढुवाद्वारा पदपूर्ति गर्ने भनी मिति ०३९।९।१३ मा सूचना प्रकाशित गरी प्रत्यर्थी बढुवा समितिको मिति ०४१।२।३० मा प्रत्यर्थी मध्ये तुल्सीभक्त प्रजापती सूर्यप्रसाद जोशी र मोहनप्रसाद ढुङ्गेललाई बढुवामा सिफारिश गर्ने निर्णय गरेको र सो उपर रिट निवेदकको उजूरी पर्दा सो बढुवालाई कायमै राखी प्रत्यर्थी लोकसेवा आयोगबाट मिति ०४१।६।४ मा निर्णय भएको देखिन्छ ।
१७. सम्बन्धित फायलबाट प्रत्यर्थी सूर्यप्रसाद जोशी भू तथा जलाधार संरक्षण विभागको मिति ०३८।६।५ को पत्रानुसार मिति २०३८।६।७ देखि ०३९।५।६ सम्म तिनाउ जलाधार योजना पाल्पामा लियन पद रही जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा जम्मा १० महीना २९ दिन काज रहेको देखिन्छ । काज रहे बसे सम्बन्धमा प्रत्यर्थी सूर्यप्रसाद जोशी तथा अन्य प्रत्यर्थीहरू समेतले स्वीकार गरेको पाइन्छ ।
१८. प्रत्यर्थी बढुवा समितिले निज सूर्यप्रसाद त्यसरी तिनाउ जलाधार योजना पाल्पामा लियन पद रही जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काजमा रहेको अवधि १० महीना २९ दिन समेत काज रहँदा तलब पाल्पाबाट खाएको हाजिरी रेकर्ड तिनाउ जलाधार योजना पाल्पामा पठाएको कारण आधार देखाई सो काज रहेको अवधि १० महीना २९ दिन समेत जोडी तिनाउ जलाधार योजना पाल्पामा काम गरेको मानी (ग) वर्गमा पाउने अंक प्रत्यर्थी सूर्यप्रसादलाई प्रदान गरेको देखिन्छ । त्यसरी बढुवा समितिले दिएको अंकलाई प्रत्यर्थी लोकसेवा आयोग समेतबाट समर्थन गरिएको छ ।
१९. विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभव बापत अंक प्रदान गर्दा कुनै पनि भौगोलिक क्षेत्रमा एक वर्ष भन्दा कम अवधिको लागि रुजु हाजिर रहेकोमा अंक नपाइने र १ वर्ष भन्दा बढी बसेमा १ वर्ष भन्दा बढीको चानचुन महीना दिनको दामासाहीको हिसाबले अंक पाउने र पदस्थापना भएको क्षेत्र बाहेक अन्य क्षेत्रमा १ वर्ष भन्दा बढी काज रहेकोमा काज रहेको क्षेत्र अनुसारको अंक दिइने व्यवस्था निजामती सेवा नियमावली, २०२१ ले गरेको पाइन्छ ।
२०. प्रत्यर्थी सूर्यप्रसाद जोशी ०३८।६।७ देखि ०३९।५।६ सम्म जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काज रहँदा काज रहेकै कार्यालयमा रुजु हाजिर रही सो हाजिरी रेकर्ड सम्म तिनाउ जलाधार योजना पाल्पामा पठाई तलब भत्ता खाएको देखिन्छ । काजमा रहेको त्यस्तो रुजू हाजिरीको अवधि पनि १ वर्ष भन्दा कम १० महीना २९ दिन देखिन आएको छ ।
२१. जसबाट ०३८।६।७ देखि ०३९।५।६ सम्मको जलाधार तथा व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काज रहेको अवधि १० महीना २९ दिन मात्र भएकाले काज रहेको स्थान काठमाडौंमा काम गर्दा पाउने अंक पाउन सक्ने देखिएन ।
२२. जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काज रहे पनि निज सूर्यप्रसाद जोशीको हाजिरी रेकर्ड काज रहेको कार्यालयबाट तिनाउ जलाधार योजना पाल्पामा पठाई हाजिरी रेकर्ड पाल्पामै रहेको र तलब समेत पाल्पाबाट खाईपाई आएको हुँदा सूर्यप्रसाद जोशी ०३८।६।७ देखि ०३९।५।६ सम्म पनि तिनाउ जलाधार योजना पाल्पामा रुजू हाजिर रहेको मान्नु पर्छ भनी प्रत्यर्थी लोकसेवा आयोग तथा प्रत्यर्थीहरू तर्फका विद्वान वकिलहरूले बहस जिकिर लिनु भएको देखिन्छ ।
२३. कुनै पनि कर्मचारी कुनै कार्यालयमा रुजु हाजिर रहेको भन्नाले सो कार्यालयमा कार्यरत रही सोही कार्यालयमै हाजिर रहेको हुनुपर्छ काज रहेको कार्यालयबाट हाजिरी रेकर्ड लियन पद रहेको कार्यालयमा पठाई तलब खाँदैमा सोही आधारमा प्रत्यर्थी सूर्यप्रसाद जोशी काठमाडौं काज रहेको अवधि १० महीना २९ दिन तिनाउ जलाधार योजना पाल्पामा रुजु हाजिर रहेको भन्ने प्रत्यर्थीहरू तथा विद्वान कानुन व्यवसायीको उक्त तर्क ऐन नियम तथा न्यायसंगत देखिन आएन ।
२४. त्यसरी रुजु हाजिर नरहेको अवस्थामा अंक प्रदान गर्न मिल्ने कानुनी व्यवस्था पनि देखिँदैन ।
२५. यसबाट प्रत्यर्थी बढुवा समितिले प्रत्यर्थी सूर्यप्रसाद जोशीलाई तिनाउ जलाधार योजना पाल्पामा लियन पद रही मिति ०३८।६।७ देखि ०३९।५।६ सम्म १० महीना २९ दिन जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काज रहेको अवधिलाई तिनाउ जलाधार योजना पाल्पामा रुजु हाजिर रहेको मानि सो अवधि समेत जोडी (ग) वर्गीकृत क्षेत्रको, अंक प्रदान गरेको अनियमित तथा गैरकानुनी देखिन आएको छ ।
२६. रिट निवेदक बद्रीराज जोशीलाई प्रत्यर्थी लोकसेवा आयोगबाट पाउने ठहराई कायम गरेको अंक जोडी हुन आएको कुल अंक र प्रत्यर्थी सूर्यप्रसाद जोशीले प्राप्त गरेको कुल अंकमा दिन नमिल्ने काज रहेको अवधि १० महीना २९ दिनको दिएको अंक कट्टा गरी हुन आएको कुल अंकमा घटाउँदा प्रत्यर्थी सूर्यप्रसाद जोशीको भन्दा रिट निवेदक बद्रीराज जोशीको बढी अंक हुन आउने देखिन्छ ।
२७. त्यसरी रिट निवेदक बद्रीराज जोशीको भन्दा कम अंक हुने प्रत्यर्थी सूर्यप्रसाद जोशीलाई अंक दिनै नमिल्ने जलाधार व्यवस्थापन तथा संरक्षण शिक्षा आयोजना काठमाडौंमा काजमा रहेको १० महीना २९ दिन अवधिको (ग) वर्गीकृत क्षेत्रको अंक प्रदान गरी उक्त जनरल फरेष्ट्री समूह रा.प.द्वितीय श्रेणी पदमा बढुवामा सिफारिश गर्ने गरेको प्रत्यर्थी बढुवा समिति वन तथा भू संरक्षण मन्त्रालय काठमाडौंको मिति ०४१।२।३० को निर्णय सूचना तथा सो बढुवा निर्णय कायम गरेको प्रत्यर्थी लोकसेवा आयोगको मिति ०४१।६।४ को निर्णय समेतमा प्रत्यर्थी सूर्यप्रसाद जोशीको बढुवा सिफारिशसम्म गैरकानुनी भई त्रुटिपूर्ण हुँदा प्रत्यर्थी सूर्यप्रसाद जोशीको बढुवा सिफारिश उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । सूर्यप्रसाद जोशीको बढुवा बदर भएकाले सो रिक्त पदमा रिट निवेदक बद्रीराज जोशीलाई बढुवा गर्नु भनी प्रत्यर्थी बढुवा समिति वन तथा भू संरक्षण मन्त्रालय काठमाडौं समेतका नाउँमा यो परमादेशको आदेश समेत जारी गरिएको छ जानकारीको लागि निर्णयको प्रतिलिपि प्रत्यर्थी बढुवा समिति समेत कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४३ साल आषाढ २५ गते रोज ४ शुभम् ।