निर्णय नं. २६७० - परमादेशको आदेश जारी गरिपाउँ

निर्णय नं. २६७० ने.का.प. २०४३ अङ्क - ३
सिंगलबेञ्च
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४३ सालको रिट नं. २५४९
आदेश भएको मिति : २०४३।३।२९।१ मा
निवेदक : हाल का.न.पं.वडा नं.२६ नरदेवी बस्ने उपेन्द्रधर सुवेदी
विरुद्ध
विपक्षी : श्री काठमाडौं जिल्ला अदालतसमेत
विषय : परमादेशको आदेश जारी गरिपाउँ
(१) अदालतमा कारवाही उठे चलेको मुद्दामा निवेदकका जिकिर बमोजिम अ.बं. ७२ नं., अ.बं. ७३ नं. र अ.बं. १८० नं. समेतको जे जस्तो त्रुटिहरू भएका छन् ती सबैको निराकरण अदालतबाटै अदालती कारवाहीद्वारा हुने हुँदा यस्तोमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने ।
(प्रकरण नं. ६)
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला : प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता हुन आएको रहेछ ।
२. निवेदन जिकिर यसप्रकार छ : रै.नं.१५२२ को पुरानो लगतमा मचाभाइको नाउँमा दर्ता भएको जग्गाम का.जि.बालाज्यू गा.पं.वडा नं.१(क) बाट नक्शा भई सर्भे नापी हुँदा कायम भएको जग्गा मध्ये कि.नं.२८९ को अवल खेत रोपनी १–३–२ को जग्गा मचाभाइबाट ०२५।१।१ गते बच्छेलेश्वरीले घरसारमा हा.व.गरी लिएको निजबाट मैले ०३१।११।२९ मा घरसारमा राजीनामा गराई लिएको पारीत गरी नदिँदा फिराद गरी ०३३।६।१ गते मालपोत का. काठमाडौंबाट पारीत गरी लिई दा.खा.दर्ता गरिपाउँ भनी निवेदन दिँदा भू.प्र.का.बाट ०३४।९।७ मा तामेली राखि दिएको बदर गरिपाउँ । यस अदालतमा रिट दिँदा ०३४।१०।२८ मा खारेज भयो । मचाभाइ परलोक भएपछि निजकी श्रीमती शन्तु मर्हजनले खिचोला मेटाई पाउँ भनी का.जि.अ.मा मेरा नाउँमा फिराद गर्दा ०३६।९।३ गते मिलापत्र भई ०३६।९।४ गते पुर्जी बमोजिम दा.खा. दर्ता गरिपाउँ भनी मा.पो.का.का.मा निवेदन दिँदा ०३९।४।२५ गते साँध संधियार समेतको सरजमीन गरी ०३९।१०।१२ गते सूचना गर्दा कसैको उजूरी नपरी ०४०।२।२० गते ज.ध.प्र.पूर्जा पाई ०४०।७।१० मा लक्ष्मीनारायणलाई राजीनामा गरी दिई अवछिन्न भोग चलन गर्दे आएको ।
३. लक्ष्मीनारायणलाई राजीनामा गरी दिएको ५ महीना १२ दिनपछि बेटीमाया, दिव्यरत्न २ जनाले कि.नं.२८९ को जग्गामा मोही कान्छा महर्जन देखाई ०२७ सालको दोहोरो भर्पाईको प्रमाण देखाई देवानी ३ जालसाजी ३ मुद्दा ०४०।१२।२३ मा दायर गरेको थियो । मोही भए जोताहामा उजूर हुनुपर्ने सो नभई राजीनामा लिखतमा अन्तरसाक्षी बसेको छ । भू.सं.ऐन, ०२१ को दफा २ को देहाय (क)(१)(३) र दफा ९ को उपदफा (१) बमोजिम जग्गाधनी हुनसकेको छैन । दफा ९ को उपदफा (२) बमोजिम फाँटवारी पेश गरेको छु भन्न नसकेकोले दफा ९ को उपदफा (३) ले हक समाप्त भएको जग्गा नापजाँच ऐन, ०१९ लाई संशोधित दफा ८(१) नं. बमोजिम सम्बन्धित अधिकारी समक्ष उजूर गर्न नसकेपछि अ.बं. ३५ नं. को त्रुटि गरेको अ.बं. २७ नं. ले फिराद दरपीठ गर्नुपर्ने नगरी लिएको अ.बं. १८४(क) तथा १८५ नं. बमोजिम विपक्षीहरूको फिराद खारेज गर्नुपर्ने संविधानको धारा ११(४) अनुसार कुनै पनि व्यक्ति उपर अदालतमा त्यसै कसूर अनुसार एकपटक भन्दा बढ्ता मुद्दा चलाइने छैन, वादी दावी दिन नपाउने दिएको अ.बं. ७३ नं. त्रुटिपूर्ण हुने गरी लिएको फिराद ०४३।३।३ गते मुद्दा बेञ्च समक्ष पेश हुने वित्तिकै अ.बं. १८० नं. बमोजिम खारेज गर्नुपर्ने त्रुटि गरी कारवाही गरेको निर्णय नगर्न भनी अन्तरिम आदेश जारी गरी संविधानको धारा ७१ बमोजिम परमादेश, उत्प्रेषण समेतको आदेश जारी गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ ।
४. प्रस्तुत रिट निवेदन जिकिर बमोजिम आदेश जारी गर्नुपर्ने नपर्ने के रहेछ भनी निर्णय दिनु परेको छ ।
५. नियम बमोजिम दैनिक कज लिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा यसमा द.दा.भि.नं. १३५५ को फिरादमा अवैध कारवाही गरेको उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य जिकिर देखिन्छ ।
६. निवेदकको निवेदन जिकिर अनुसारको लिखत बदर मुद्दा काठमाडौं जिल्ला अदालतमा फिरादपत्र परी त्यसमा रिट निवेदक विपक्षी भई तारेख पर्चा उठी कारवाही चलिरहेको भन्ने कुरा निजको निवेदन जिकिरबाटै स्पष्ट देखिन आएको छ । यसरी अदालतमा कारवाही उठे चलेको मुद्दामा निवेदकका जिकिर बमोजिम अ.बं. ७२ नं., अ.बं. ७३ नं. र अ.बं. १८० नं. समेतको जे जस्तो त्रुटिहरू भएका छन् ती सबैको निराकरण अदालतबाटै अदालती कारवाहीद्वारा हुने हुँदा यस्तोमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने हुँदा विपक्षीहरूलाई लिखितजवाफ पठाउनु भनी आदेश गरी रहनु पर्ने किसिमको प्रस्तुत निवेदन नहुँदा अरु केही गरी रहनु परेन रिट निवेदन तामेलीमा राखी दिनु । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
इति सम्वत् २०४३ साल आषाढ २९ गते रोज १ शुभम् ।