शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३११३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

भाग: २९ साल: २०४४ महिना: असोज अंक:

निर्णय नं. ३११३ ने.का.प. २०४४  अङ्क ६

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४३ सालको रिट नं. १७५९

विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 

रिट/निवेदक: जि.कास्की राखी गा.पं. वडा नं. ९ कन्धर्नी डाँडा बस्ने हीमबहादुर कनियल ।

विरुद्ध

विपक्षी     : भूमि सुधार शाखा कास्की पोखराका शाखा अधिकृत श्री बाबुराम श्रेष्ठ ।

     श्री संचालक समिति भवानी कालिका मा.वि.धार्रा पाटन राखी गा.पं. वडा नं.८ कास्की ।

आदेश भएको मिति: २०४४।५।११।५ मा

    प्रत्यर्थीबाट जग्गा कमाउन लिएको कबूलियत रिट निवेदकले पेश दाखिल गर्न सकेको छैन, विवादित जग्गा विद्यालयले प्राप्त गर्नु भन्दा अघि नै रिट निवेदकले मोहियानी प्राप्त गरेको भए साविकको अमुक जग्गावालाबाट मोहियानीमा कमाउन लिएको भन्न सकेको छैन, ४ नं. जो.अ.नि. पाएको भनेको छ, तर त्यसमा झगडा जनाएको देखिन्छ, यस्तो स्थितिमा प्रत्यर्थी जिल्ला कार्यालय भूमिसुधार शाखा रिट निवेदकको मोही दर्ता गरिपाउँ भन्ने निवेदनमा सबुद प्रमाणबाट वादी दावीको विवादित जग्गामा निवेदक वादीको दावी पुग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न सकिने स्थिति नदेखिने ।

(प्रकरण नं. ९)

रिट, निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री राजन ढुंगाना

प्रत्यर्थीतर्फबाट   : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा,विद्वान अधिवक्ता श्री बद्रिप्रसाद शर्मा

उल्लेखित मुद्दाःX

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.   जिल्ला कास्की कन्धर्नी डाँडा गा.पं. वडा नं. ९ कि.नं. ४४५ को ४२ र कि.नं. ४४० को १११३३ समेत जग्गाको भवानी कालिका मा.वि. जग्गाधनी र म निवेदक कानून बमोजिमको मोही हुँ सर्भे नापीका अवस्थामा फिल्डबुकमा मेरो नाम कायम भई हालसम्म मैले नै जोती कमाई आएको एवं भूमिसम्बन्धी ऐन नियम बमोजिम ४ नं. जो.अ.नी. प्राप्त गरेको उक्त जग्गा हाल विजयपुर वेगनास सिंचाई योजनाले अधिग्रहण गरेको हुँदा मुआवजा दिलाई मेरो नाममा मोहियानी समेत दर्ता गरी अर्थात् जोताहाको स्थायी प्रमाणपत्र दिलाई पाउँ भन्ने निवेदकले मिति २०४१।३।२० मा विपक्षी कार्यालयमा निवेदन दिएकोमा श्री भवानी कालिका मा.वि. का संचालक समितिका तर्फबाट उक्त  जग्गा २०२४ सालमा नै श्री भवानी कालिका मा.वि. ले प्राप्त गरेको र वादीको जग्गाको मोही होइन भन्ने व्यहोराको प्रतिवाद बयान मिति २०४१।४।१० मा भएको थियो । विपक्षी कार्यालयले मिति ०४३।३।९ मा वादीले प्रमाण पेश गर्न नसकेको भनी वादी दावी नै खारेज गर्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत रिट निवेदन गर्न आएको हुँ ।

३.   मोहियानी हकको तेरो मेरो सम्बन्धी प्रस्तुत विषय विपक्षी कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने भएकोले अधिकार क्षेत्रको प्रयोग गर्नुका सट्टा मुद्दा नै खारेज गर्ने गरेको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१क. को प्रत्यक्ष त्रुटि छ । मैले कानून बमोजिम प्राप्त गरेको ४ नं. जो.अ.नि. एवं फिल्डबुक समेत बदर भएको छैन । मैले पेश गरेको यी प्रमाणहरू के कति कारण, प्रमाण नलाग्ने हो निर्णय कर्ताले बोल्नु पर्दछ । म निवेदकको मोहियानी हक सम्बन्धमा आफ्नै कार्यालयमा रहेको रेकर्ड श्रेस्ता नहेरी निराधार शंका गर्ने अथवा प्रमाण पेश गर्न नसक्ने आधार छैन । जो.अ.नि. को कैफियतमा स्कूलवारे झगडा छ भन्ने व्यहोरा मोहियानी समाप्तीको आधार हुन सक्दैन त्यो के कस्तो झगडा र अन्तिम परिणाम के भयो सो प्रमाण पक्षले पेश गर्न नसक्ने असमर्थता देखाएकोमा सम्बन्धित गा.पं. कार्यालयसंग बुझी प्रमाण झिकाई यकिन गरी निर्णय गर्नु पर्नेमा प्रमाण नै नबुझी अंग नै नपुर्‍याई मोहियानी हकमा प्रतिकूल असर पारी खारेज गरिएको निर्णय प्रत्यक्ष नै त्रुटिपूर्ण छ । म निवेदक २०२३ सालमा कानून बमोजिम मोही भइसकेकोमा २०२४ सालमा जग्गा धनी हक पाउनेले मेरो मोहियानी हक इन्कार गर्न पाउने हैन। उपरोक्त बमोजिम उल्लेखित कानूनी त्रुटिपूर्ण निर्णयलाई नेपालको संविधानको धारा १०(१), ११(२)(ङ) एवं जग्गा प्राप्ती ऐनद्वारा प्रदत्त क्षतिपूर्ति पाउने हकमा समेत आघात पुर्‍याएको हुँदा अन्य उपचारको अभावमा ऐ. को धारा १६।७१ अन्तर्गत गर्न आएको छु । अतः उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी निर्विवाद मोहियानी हक वा मोहियानी हक वापत क्षतिपूर्ति पाउने हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४.   विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको मिति २०४३।६।१६।५ को आदेश ।

५.   तत्कालीन भवानी कालीका प्राइमरी स्कूलले कार्ली जरुवा ककर रह र निवेदकले दावी गरेको कि.नं. ४४५ र ४४७ को खरतरो समेतका पर्ति बाझो जग्गाहरू २०३४ सालमा स्कूलका नाउँमा दर्ता भई स्कूलकै तर्फबाट आवाद कमोद गरिआएको जग्गा हो । उक्त जग्गामा साविक जग्गा धनी कोहि पनि नभएबाट २०२४ साल भन्दा अगावै उक्त जग्गामा कसैको स्वामित्व वा मोही हक रहन सक्तैन । रिट निवेदकले विवादित जग्गा २०२३ साल देखि जोत कमोद गरेको भन्ने दावी लिनु भएकोले भूमिसम्बन्धी ऐनको दफा २५(२) बमोजिमको मोही हुनलाई दफा ३४ बमोजिमको कबूलियत तथा भर्पाई छ भन्न सकेको छैन कानूनले किटानी पूर्वक तोकेको कार्यविधि पूरा नगरी प्राप्त गरेको जोताहा अस्थायी निस्साको कुनै प्रमाणिक महत्व नरहने हुँदा निवेदकले प्राप्त गरेको भनेको कथित जो.अ.नि. को प्रमाणिक महत्व शून्य बराबर छ । फिल्डबुकमा मोही महलमा विपक्षीको नाउँ उल्लेख हुँदैमा मोहियानी हक प्राप्त हुन वा गुम्न सक्दैन र फिल्डबुकमा निजको सहिछाप नपरेको कुरा स्वयं निवेदकले भू.सु.का. मा दिएको निवेदनमा स्वीकार गरेको छ यी सम्पूर्ण कुराहरूबाट निवेदकले आवश्यक दुःख मात्र दिएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी श्री भवानी कालिका मा.वि. को संचालक समितिको लिखितजवाफ ।

६.   निवेदकले भवानी कालिका हाइ स्कूलको राखी गा.पं. स्थित केही जग्गा मैले मोहियानीमा कमाई आएको सम्बन्धमा अघि नै कन्धनी डाँडा गा.पं. मा मुद्दा  पर्दा पञ्चायतबाट मैले जितेको प्रमाण कागज लिएकोमा मेरो घर आगलागीमा परी डढी सखाप भएकोले गा.पं. बुझिपाउँ भन्ने समेत व्यहोराको निवेदन दिएको, अन्तिम निर्णयको सबुद प्रमाण वादीबाट पेश हुन नआएको र पेश भएका अन्य प्रमाण कागज तथा प्राकृतिक न्याय सिद्धान्त अनुरुप वादी दावी खारेज गर्ने गरी पर्चा खडा भएको हो । निवेदकले विवादित जग्गा मोहियानी गरी कमाई आएको भनेकोमा बाली बुझाएको भर्पाईहरू पेश गर्न सकेको छैन । विवादित जग्गा मध्ये केही जग्गा विजयपुर वेगनास सिंचाई योजनाको लागि अधिग्रहण हुँदा केवल मुआवजा रकमको लागि मात्र उक्त जग्गा मेरो मोहियानीको जग्गा भनी पुरानो कागज लिई रिट निवेदकले दावी गर्न आएको समेत हुँदा रिट निवेदन नै खारेज हुनुपर्ने व्यहोरा सादर अनुरोध गरिन्छ भन्ने समेत प्रत्यर्थी भूमिसुधार कार्यालय कास्कीको लिखितजवाफ ।

७.   रिट निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री राजन ढुंगानाले रिट निवेदक विवादित जग्गाको मोही हो । मोही तेरो मेरो सम्बन्धमा निर्णय गर्नु पर्छ खारेज गरेको त्रुटि छ । ४ नं. जो.अ.नि. प्राप्त छ । रिट निवेदकले नापीमा मोही भनी लेखाएको छ । सो प्रमाणहरूको न्यायिक ध्यानमा लिइएन । तसर्थ भू.सु.का. को निर्णय त्रटिपूर्ण हुँदा बदर हुनुपर्दछ भन्ने र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र प्रत्यर्थीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्रिप्रसाद शर्माले यो जग्गा नापीमा पर्ति जनेको छ । निवेदक मोही हुने अवस्थै छैन । ०२३ सालदेखि कमाएको भन्ने छ । भू.सु. लागू भएपछि कमाएकोमा कबूलियतको आवश्यक पर्छ । सो छ भन्न सकेको छैन । जो.अ.नि.को कुनै महत्व रहँदैन । तसर्थ भू.सु.का. ले कानून अनुरुप निर्णय गरेको हुँदा रिट खारेज हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।

८.   प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

९.   यस्मा निर्णयतर्फ हेर्दा सबुद प्रमाण पेश नभएबाट वादी दावीको विवादित जग्गा निवेदक वादीको दावी पुग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भनी प्रत्यर्थी जिल्ला कार्यालय भूमिसुधार शाखा कास्कीबाट निर्णय गरेको देखिन्छ । प्रत्यर्थी श्री भवानी कालिका माध्यमिक विद्यालय घारी पाटनको सञ्चालक समितिको लिखितजवाफबाट विवादित जग्गा पर्ति बाझो २०२४ सालमा हुकुम प्रमांगीद्वारा स्कूलको नाउँमा दर्ता भई स्कूलले प्राप्त गरेको हो । निवेदक मोही होइन भन्ने उल्लेख भएको पाइन्छ । प्रत्यर्थी विद्यालयबाट सो जग्गा कमाउन लिएको कबूलियत रिट निवेदकले पेश दाखिल गर्न सकेको छैन । विवादित जग्गा विद्यालयले प्राप्त गर्नु भन्दा अघि नै रिट निवेदकले मोहियानी प्राप्त गरेको भए साविकको जग्गावालाबाट मोहियानीमा कमाउन लिएको भन्न सकेको छैन । ४ नं. जो.अ.नि. भएको भनेको छ । तर त्यसमा झगडा जनाएको देखिन्छ । यस्तो स्थितिमा प्रत्यर्थी जिल्ला कार्यालय भूमिसुधार शाखा कास्कीले रिट निवेदकको मोही दर्ता गरिपाउँ भन्ने निवेदनमा सबुद प्र्रमाणबाट वादी दावीको विवादित जग्गामा निवेदक वादीको दावी पुग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न सकिने स्थिति नदेखिँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४४ साल भाद्र ११ गते रोज ५ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु