निर्णय नं. ३११६ - तायदाती फैसला बदर अंश ।

निर्णय नं. ३११६ ने.का.प. २०४४ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४२ सालको दे.पु.नं. ४५७
मुद्दा : तायदाती फैसला बदर अंश ।
पुनरावेदक/वादी:का.जि.का.न.पं.वार्ड नं. ३ बस्ने महाराजगन्ज बाँसवारी बस्ने पृथ्वीराज सिग्देल ।
ऐ.ऐ बस्ने विश्वराज सिग्देल ।
विरुद्ध
विपक्षी/प्रतिवादी:ऐ.ऐ घर भै हाल वीरगंज नेपाल बैंकको नोकरी गर्ने वैजु शर्मा ।
ऐ.ऐ घर भै हाल धर्मस्थली महांकाल बस्ने थानकुमारी सिग्देल ।
फैसला भएको मिति: २०४४।४।१२।३ मा
अंश लिई भिन्दै बसेपछि छोरा जन्मेमा त्यस्तो छोराले अंश लिई बेगल बसेकोबाट अंश नपाउने ।
(प्रकरण नं. २४)
मानो छुट्टिनु र अंश लिई बेगल बस्ने एउटै कुरा नभई अलग अलग विषय वस्तु हुन, तसर्थ मुद्दा पर्दैको अवस्थामा वादीहरूको जन्म भएको र अंश लिई बेगल बसी सकेको भन्ने ठहर नभई सकेको अवस्थामा समेत मुलुकी ऐन अंश बण्डाको १ र २ नं. बमोजिम आफ्नो अंश भाग पाउनु पर्ने ।
(प्रकरण नं. २५)
पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रेमबहादुर
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई
उल्लेखित मुद्दाःX
फैसला
न्या.बब्बरप्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई संयुक्त इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा जिकिर यस प्रकार छ :
२. हामीहरूको बाबु विपक्षी बैजु शर्माको विवाहिता २ पत्नी मध्ये जेठी विपक्षी थानकुमारी तर्फ १ छोरी मात्र जायजन्म भएको र कान्छी हामीहरूको आमा लक्ष्मीकुमारीतर्फ हामी नावालक वर्ष १० को शक्तिराज सिग्देल १, माहिला वर्ष ८ को विश्वराज सिग्देल १ र कान्छो वर्ष ३ को पृथ्वीराज सिग्देल समेत ३ जना छोराहरूको जायजन्म भएकोमा विपक्षी जेठी आमा थानकुमारीले हाम्रो अंश मार्ने नियतले बाबु बैजु शर्माका नाउँमा ३ जना मात्र अंशियार देखाई नालेश दिएकोमा बाबु बैजु शर्माले प्रतिउत्तर नै नदिएपछि थानकुमारीबाट तायदाती लिई हामी अंशियार छोराहरुको हक नै मेटाई निज विपक्षी थानकुमारीको छोरीलाई विवाह खर्च पर सार्ने गरी ३ भाग अंश गरी दिने भनी २०२७।८।२१।१ मा का.जि.अ. बाट फैसला भएको रहेछ भन्ने कुरा मिति ०२९।७।२ गते विपक्षी गाउँघरमा हल्ला गर्दै हिंडेकोले गएर बुझ्दा हाम्रो अंश मार्ने नियतले फैसला भएको थाहा हुन आएकोले यो नालिश गर्न आएको छु । अतः विपक्षीले दिएको तायदाती र ०३७।८।२१ गते भएको फैसला समेत बदर गरी निजहरूबाट दोश्रो तायदाती लिई निज विपक्षी २ जना र हामीहरूको आमा लक्ष्मीकुमारीको आधी अंश छुट्याई बाँकी हामी ३ जनाको आधी अंश र हाम्रो विवाह खर्च समेत छुट्याई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको ३ जनाको संयुक्त फिरादपत्र ।
३. यी वादीहरू समेत कान्छी स्वास्नी तर्फका छोराहरू भएकोले निजहरू समेत अंशियार हुँदा अघि मेरी जेठी श्रीमती थानकुमारीले अंशमा नालिश गर्दा अंशियार नदेखाई दिएको तायदाती र फैसला समेत बदर गरिपाउँ र मसंग भएको श्री सम्पत्तिको तायदाती लिई वादीहरू तीनजना र दुई श्रीमती समेतको अंश छुट्याई बण्डा गरी विवाह खर्च परसारी दिन समेत मन्जूर छ भन्ने समेत व्यहोराको वैजु शर्माको प्रतिउत्तरपत्र ।
४. २०२१।१२।७ मा मेरा पतिदेव वैजु शर्माले घरबाट निकाली दिनु हुँदा यी वादीहरूको जन्म नै भएको थिएन । म उपर सौता लक्ष्मीकुमारी ल्याउनु भएको थियो जग्गा जमीन जथाभावी बिक्री गरी निरअंशी बनाउन लाग्नु भएकोले मैले आफ्नो अंश समेत दावी लिई वैजु शर्मा समेत उपर अंश र लिखत बदरमा नालेश दिई वैजु शर्माबाट ०२१।१२।२७ गते मानो छुटिएको मिति कायम गरी ३ भागको १ भाग अंश समेत पाउने ठहरी २०२७।८।२१।१ मा जि.अ. बाट फैसला भएको कुरा यी वादीका आमा समेतलाई थाहा भई अन्तिम रुपमा रहेको सो फैसला बदर गरिपाउँ भनी वैजु शर्मा समेत मिली यी वादीहरूद्वारा यो निराधार फिराद गराएको हुँदा अ.बं. ७३।८९ बमोजिम खारिज गरिपाउँ भन्ने समेत व्यहोराको थानकुमारी सिग्देलको प्रतिउत्तरपत्र ।
५. फैसला बदर गरी अंश दिलाई पाउँ भन्ने २ विषयको एउटै नालेश पर्न आएकोले अ.बं. ७२ नं. बमोजिम अंश तर्फ यसबाट निर्णय दिन नमिल्ने र अंश बण्डाको १ नं. बमोजिम नभएकोमा नावालकको उजूर परेकोले यो अंशबण्डा तर्फका तायादाती फैसला बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.बाट मिति ०३१।४।२३ मा भएको फैसला ।
६. उक्त का.जि.अ. को फैसलामा चित्त नबुझी प्र. थानकुमारी सिग्देलको वा.अं.अ. मा पुनरावेदन परेको ।
७. तायदाती लिँदा अंशियारहरू जन्मिसकेको भन्ने कुरा स्पष्ट देखिएको कारण तथा का.जि.अ. बाट अंशबण्डातर्फको तायदाती फैसला बदर हुने ठहर्याएको शुरु इन्साफ मनासिब देखिँदा पुनरावेदनको जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको वा.अं.अ. बाट मिति ०३१।९।१८ मा भएको फैसला ।
८. उक्त फैसलमा चित्त बुझेन कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्र. थानकुमारीको निवेदन परेकोमा अ.बं. ७२ नं. र १९२ नं. प्रत्यक्ष कानूनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने व्यहोराको म.क्षे.अ. बाट मिति ०३२।११।६ मा भएको आदेश ।
९. वादीले दावी लिएको सम्पूर्ण कुरामा निर्णय गर्नु पर्ने अ.बं. ७२ नं. ले निर्दिष्ट गरेको हुँदा फैसला बदर तर्फमा मात्र निर्णय गरी अंशतर्फ निर्णय नगरेको शुरु र अञ्चल अदालतको फैसला अधुरो देखिनाले अ.बं. १९२ नं. अनुरुप नहुँदा कानूनी त्रुटि देखिनाले का.जि.अ.को सदर गरेको वा.अं.अ. को फैसला नमिलेको हुँदा उक्त दुवै फैसलाहरू बदर हुन्छ । वादी दावी बमोजिम सम्पूर्ण कुरामा तहकिकात तथा निर्णय गर्नु भनी तारेखमा रहेका पक्ष विपक्षीलाई तारेख समेत तोकी मिसिल का.जि.अ. मा पठाई दिनु भन्ने समेत व्यहोराको म.क्षे.अ. को फैसला ।
१०. वादी विश्वराज र पृथ्वीराज २०२१ सालमा प्र.थानकुमारी मानो छुटिएको मितिसम्म जन्मिसकेको थियो भन्ने प्रमाण वादीले प्रस्तुत गर्नुपर्नेमा त्यस्तो प्रमाण देखिएन र थानकुमारीले शक्तिराजलाई अंशियार कबूल गरेको देखियो । प्र.वैजु शर्माले यी वादीहरूलाई अंशियारसम्म भनी जायजन्म भएको मिति उल्लेख गरेको देखिएन । तसर्थ वादी मध्ये शक्तिराज सिग्देलले अंश पाउने र विश्वराज पृथ्वीराजले अंश पाउने ठहर्दैन र मिति ०२७।८।२१ गतेको फैसला बदर हुने ठहर्दैन भन्ने समेत व्यहोराको का.जि.अ. बाट मिति ०३६।१।३०।१ मा भएको फैसला ।
११. का.जि.अ. ले अंश नपाउने ठहर्याएको इन्साफमा चित्त नबुझेकोले बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन ।
१२. तायदातीमा जम्मा विगो रु. ५६,६८६।५७ देखिएकोेले वादी दावीको सन्दर्भमा विगोको हदले पुनरावेदन सुन्ने अधिकार वा.अं.अ. को हुँदा यस अदालतको लगत कट्टा गरी कानून बमोजिम किनारा गर्न उपस्थित पक्षलाई तारेख तोकी मिसिल वा.अं.अ. मा पठाई दिनु भन्ने समेत क्षे.अ. को आदेश ।
१३. २०२१।१२।२७ मा मानो छुट्टिई पेश भएको तायदातीबाट ४ अंशियार भई अंशवण्डा हुने ठहरे पछि सोही एक भाग नपुगेको हदसम्मलाई सो २०२७।८।२७ को फैसला बदर हुन पर्नेमा सो नगरी जि.अ.बाट भएको इन्साफ कानूनी त्रुटि भई बदर हुने ठहर्छ र शक्तिराजले आफ्नो अंश भाग छुटाई पाउने तर्फ दं.स.का. ४६ नं. अन्तर्गत दर्खास्त गरे छुट्टाई दिने तपसीलमा उल्लेख गर्नु पर्नेमा सो उल्लेख नभएको समेत संशोधन गरिपाउने ठहर्छ भन्ने समेत व्यहोराको वा.अं.अ. बाट मिति ०३८।११।२० मा भएको फैसला ।
१४. अंशवण्डाको ११ नं. बमोजिम गोश्वारा धनबाटै अंश पाउन पर्ने कानूनी व्यवस्था छँदाछँदै सो ऐनको समेत कानूनी त्रुटि गर्दै हामीलाई गोश्वारा सम्पत्तिबाट त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीहरूको क्षे.अ.मा परेको निवेदनपत्र ।
१५. निवेदकलाई वा.अं.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान गरिएको छ नियम बमोजिम गरी डिभिजन बेञ्जमा पेश गर्नु भन्नेसमेत व्यहोराको म.क्षे.अ.बाट ०४०।२।२५ मा भएको आदेश ।
१६. मैले अंश पाउँ भनी फिराद गरेको अंश मुद्दा पर्दा पर्दै जन्मदै नजन्मिएको छोराको विवाह खर्च मैले पाउने अंशबाट कट्टा गर्ने गरी भएको वा.अं.अ. को फैसला कानून विरुद्ध हुँदा सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र.थानकुमारीको निवेदनमा वा.अं.अ. को फैसला उपर पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ । दे.डि.पु.नं. ९५६ पुनरावेदन साथै पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.बाट ०४०।८।५ मा भएको आदेश ।
१७. वादीहरू पछि जन्मिएको कारणबाट विपक्षीको संयुक्त परिवारमा रहेको सम्पत्तिको हकमा कुनै असर पार्न नसक्ने हुँदा अञ्चल अदालतले वादी मध्येका विश्वराज तथा पृथ्वीराजले अंश नपाउने ठहर्याएकोमा कुनै कानूनी त्रुटि देखिन नआएकोले मनासिब ठहर्छ । तर सो फैसलाको तपसील खण्डमा विवाह खर्च छुट्याउँदा माथि लेखिए बमोजिम अंश नपाउने ठहरेको विश्वराज तथा पृथ्वीराजको विवाह खर्च छुट्टयाई दिने ठहर्याएको सम्म गल्ती ठहर्छ भन्ने समेत म.क्षे.अ. को मिति २०४२।३।२० को फैसला रहेछ ।
१८. वादी दावी बमोजिम तायदाती फैसला बदर गरी हाम्रो भाग समेत दिनुपर्नेमा मुलुकी ऐन अंशबण्डाको १, २ र ११ नं. समेतको त्रुटि गरी गरेको म.क्षे.अ. को इन्साफमा चित्त बुझेन उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी विश्वराज तथा पृथ्वीराजको यस अदालत समक्ष पर्न आएको निवेदनमा उक्त क्षे.अ. को इन्साफमा अंश बण्डाको १ नं. तथा २ नं. को कानूनी त्रुटि देखिन आएकोले न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको मिति ०४२।४।३० को आदेश रहेछ ।
१९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रहेका वादी तथा प्रतिवादीका वा. समेतलाई रोहवरमा राखी पुनरावेदक वादीको तर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री प्रेमबहादुर तथा विपक्षी प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराईले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
२०. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२१. यसमा प्रतिवादी थानकुमारीले वादीहरूको अंश मार्ने नियतले बाबु बैजु शर्माका नाउँमा ३ जनामात्र अंशियार देखाई अंशियार छोराहरूको हकै मेटाई विपक्षी थानकुमारीको छोरीलाई समेत विवाह खर्च पर सार्ने गरी ३ भाग अंश गरिदिने भनी का.जि.अ. बाट ०३७।८।२१ मा भएको फैसला बदर गरी दोश्रो तायदाती लिई आमा लक्ष्मीकुमारीको आधी अंश छुट्याई बाँकी हामी तीनजनाको अंश र विवाह खर्च समेत छुट्याई दिलाई भराई पाउँ भन्ने फिराद दावी भएकोमा पति वैजु शर्माले २०२१।१२।२७ गते घरबाट निकाली दिनु हुँदा वादीहरूको जन्म नै नभएको र पति वैजु शर्माले सौता लक्ष्मीकुमारीको मात्र कुरा सुनी घरबाट निकाला समेत गरिदिनु भएकोले अंश र लिखत बदरमा समेत मेरो नालेश परी ०२१।१२।२७ गते मानो छुट्टिएको मिति कायम गरी ३ भागको १ भाग अंश पाउने ठहरी का.जि.अ. बाट ०२७।८।२१।१ मा फैसला भएकोले मानो छुट्टी भिन्न भई सकेपछि जन्मेको वादीहरूले अंश पाउने होइन भन्ने समेतको प्रतिवादी थानकुमारीको प्रतिउत्तर जिकिर भएको पाइन्छ ।
२२. वागमती अञ्चल अदालतको इन्साफ उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको म.क्षे.अ. मा निवेदन पर्दा म.क्षे.अ. बाट मुद्दा पर्दा पर्दैको अवस्थामा मानो छुटिए पछि जन्मिएको सन्तानले मानो छुटिएको सँग पैत्रिक सम्पत्तिमा अंशमा दावी गर्न नपाउने भन्ने कानूनी व्यवस्थाको अभावमा गोश्वरा पैत्रिक सम्पत्तिबाट अंश नपाउने गरेको नमिलेको भन्ने समेतको आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान भएको देखिन्छ । साथै म.क्षे.अ. बाट इन्साफ हुँदा वादी मध्येका शक्तिराज मुद्दा पर्नु भन्दा पहिले नै मानो छुट्टिनु अगावै जन्मिएको देखिएको र अञ्चल अदालतबाट निजको विवाह खर्च पर सारी अंश दिलाउने गरे तर्फ प्र.थानकुमारीको कुनै जिकिर नलिई वादी मध्येका विश्वराज र पृथ्वीराजका सम्बन्धमा मात्र विवाह खर्च पर सार्ने गरेको सम्म कानूनी त्रुटि भनी देखाएको हुँदा त्यसतर्फ विचार गरिरहन परेन भन्दै वादी मध्येका विश्वराज २०२२ सालमा जन्मेको र पृथ्वीराज ०२६ सालमा जन्मेको देखिन आएबाट प्र.थानकुमारीले आफ्नो लोग्ने उपर २०२२।१२।४ मा फिराद दिई मुद्दा किनारा नहुँदै जन्मेको भए पनि मानो छुटिएको मिति २०२१।१२।२७ पछि मात्र जन्मेको देखिन आएकोले लेनदेन व्यवहारको ११ नं. मा भएको व्यवस्थाले अंश पाउने हो कि भन्नलाई ले.दे. व्यवहारको ११ नं. मा भएको व्यवस्थामा प्रस्तुत मुद्दामा जस्तै अघि नै निकाला आदि गरेको कारणबाट मानो छुटिई पछि मात्र अंश मुद्दा परी फैसला भई अंश पाउने ठहरेको कुरालाई लिएर व्यवस्था भएको नदेखिई तत्काल मानो छुट्टी अंश लिई भिन्न बसेको अवस्थाको सन्दर्भमा हुनु पर्ने कुरालाई ध्यानमा राखी व्यवस्था भएको हो भन्ने कुरा उक्त व्यवस्थामा प्रस्तुत मुद्दाको जस्तो अवस्थामा के कसो हुने हो केही नखुलाएकोबाट प्रष्ट हुन आउँछ भनी वादी मध्येका विश्वराज र पृथ्वीराजले अंश नपाउने ठहर्याएको वा.अं. अदालतको इन्साफ मनासिब ठहर गरी निजै वादीहरूको विवाह खर्च छुट्याई दिने सम्म ठहर गरेको अञ्चल अदालतको इन्साफलाई गल्ती ठहर गरेको पाइन्छ । साथै वादीहरूको यस अदालतमा पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा म.क्षे.अ. को इन्साफमा अंशबण्डाको १ नं. र २ नं. को त्रुटि भएको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान भएको पाइन्छ ।
२३. वादी विश्वराज र पृथ्वीराजको जन्म मुद्दा पर्दा पर्दैको अवस्थामा भएको कुरालाई म.क्षे.अ.बाट पनि स्वीकार गरिएको पाइन्छ । अंश बण्डाको १ नं. हेर्दा अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जिय जियैको अंश गर्नु पर्छ भन्ने व्यवस्था भएको र ऐ.ऐनको २ नं. मा यस महलमा अन्यथा लेखिएमा बाहेक यसै महलको १ नम्बर बमोजिम अंशबण्डा गर्दा अंश पाउने सबैको अंश बराबर गर्नुपर्छ भन्ने समेत स्पष्ट व्यवस्था भएको पाइन्छ ।
२४. अंशबण्डाको ११ नम्बर लिई बेग्लै भएपछि आफ्नो र कोही स्वास्नी छोराको अंश समेत मिलाई संग राखेको रहेछ भने पछि अरु स्वास्नी ल्यायो वा छोरा जन्मे भने संग बसेकाहरुको अंश जिउनी जम्मा गरी संग बसेका र पछि ल्याए जन्मेका स्वास्नी छोरालाई ऐन बमोजिम अंश गरिदिनु पर्छ । आफ्नो अंश लिई बेग्लै भएपछि अर्को स्वास्नी ल्यायो वा छोरा जन्मे भने पछि ल्याए जन्मेकोले लोग्ने वा बाबुको अंश जिउनी सबै खान पाउँछन पछि ल्याए जन्मेकाले अघि अंश लिई पर सरेकोसंग अंशमा दैया गर्न पाउँदैनन् भन्ने व्यवस्था भएबाट यदि अंश लिई भिन्दै बसेपछि छोरा जन्मेमा त्यस्तो छोराले अंश लिई बेगल बसेकोबाट अंश नपाउने भन्ने देखिन्छ ।
२५. प्रस्तुत मुद्दामा त्यस्तो अवस्था नभई थानकुमारीले आफ्नो उपर अंश मुद्दा दायर गरी सो मुद्दा किनारा नहुँदै वादी विश्वराज र पृथ्वीराजको जन्म भएको भन्ने कुरा मिसिल प्रमाणबाट प्रष्ट देखिएको छ । तर मध्यमाञ्चल क्षेत्रीय अदालतले मानो छुटिएको मितिलाई नै अंश लिई बेगल बसिसकेको भन्ने तर्क लिएको देखियो । मानो छुटिनु र अंश लिई बेगल बस्नु एउटै कुरा नभई अलग अलग विषय वस्तु हुन् । तसर्थ मुद्दा पर्दापर्दैैको अवस्थामा वादीहरूको जन्म भएको र अंश लिई बेगल बसिसकेको भन्ने ठहर नभई सकेको अवस्थामा समेत मुलुकी ऐन अंशबण्डाको १ र २ नं. बमोजिम आफ्नो अंश भाग पाउनु पर्नेमा वादी विश्वराज र पृथ्वीराजले थानकुमारीको अंश भाग नपाउने र वादी दावी बमोजिम तायदाती फैसला बदर नहुने ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको रायसंग सहमत हुन सकिएन । वादी दावी बमोजिम तायदाती फैसला बदर हुने भई वादी दावी बमोजिम अंश पाउने ठहर्छ म.क्षे.अ. को इन्साफको केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम बादी मध्येका शक्तिराज मुद्दा पर्नु भन्दा पहिले नै जन्मिसेको भन्ने समेतको आधारमा निज वादी शक्तिराजको अंश भाग छुट्याई दिने गरेको वा.अं. को इन्साफ सदर गरेको तर वादी मध्येका विश्वराज र पृथ्वीराजले अंश पाउन नसक्ने र अं.अ. ले निज वादी विश्वराज र पृथ्वीराजको विवाह खर्च पर सार्ने गरी गरेको वा.अं. को इन्साफलाई गल्ती ठहर गरेको म.क्षे.अ. को इन्साफ केही उल्टी भई वादी दावी बमोजिम तायदाती फैसला बदर भई सबै वादीहरूले बराबरी अंश पाउने ठहरी फैसला भएकोले म.क्षे.अ. का मिति ०४२।३।२० को फैसलाले कायम गरेको लगत कट्टा हुने हुँदा उक्त लगत कट्टा गरिदिनु भनी का.जि.अ. मा लगत दिनु...........१ ऐ.ऐ. ठहरी फैसला भएकोले पुनरावेदक वादीहरूको मुलुकी ऐन दण्ड सजायँका ४६ नं. बमोजिम दर्खास्त पर्न आएमा ऐन बमोजिम अंश भाग छुट्टयाई दिनु भनी का.जि.अ.त. मा लगत दिनु ....२ ऐ.ऐ.ठहरी फैसला भएकोले पुनरावेदक वादीले शुरु जि.अ. मा राखेको कार्टफि रु. ४५।– र क्षे.अ. मा पुनरावेदनगर्दा राखेको कोर्टफि रु. १३३।४० गरी जम्मा रु. १७८।४० मध्ये पुनरावेदक वादीहरूले देहाय बमोजिम भरी पाउने हुँदा जेथा देलाई ऐनको म्याद भित्र प्रतिवादीहरूबाट भराई पाउँ भनी वादीहरूका दर्खास्त पर्न आए भराई दिनु भनी का.जि.अ.त. मा लगत दिनु । प्र.वैजु शर्मा के रु. ५९।४७ पैसा, प्र. थानकुमारके रु. ५९।४७ पैसा.......३ ऐ.ऐ. ठहरी फैसला भएकोले पुनरावेदक वादीहरूले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु. १०६।९५ प्रतिवादीहरूबाट भरी पाउने हुँदा वादीहरूको ऐनको म्यादभित्र दर्खास्त पर्न आए बराबरका दरले प्रतिवादी बाट देहाय बमोजिम गरी भराई दिनु भनी का.जि.अ.त. मा लगत दिनु । प्रतिवादी वैजु शर्माके रु ५३।४७पैसा, प्रतिवादी थानकुमारीके रु. ५३।४७.............४ माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ. को इन्साफ केही उल्टी भएकोले म.क्षे.अ. का मा.मुख्य न्या.श्री हिरण्येश्वरमान प्रधान तथ मा.न्या.श्री गोविन्दबहादुर श्रेष्ठको केही उल्टीमा रेकर्ड राख्नु ......५ मिसिल नियम बमोजिम गरी बुझाई दिनु .......६
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्दसिंह प्रधान
इतिसम्वत् २०४४ साल श्रावण १२ गते रोज ३ शुभम् ।