निर्णय नं. ३११७ - उ

निर्णय नं. ३११७ ने.का.प. २०४४ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् २०४३ सालको रिट नं. २४९५
विषय : उत्प्रेषण ।
निवेदक :का.जि. का.न.पं. वार्ड नं. ३ महाराजगंज बस्ने गोपालबहादुर के.सी.।
विरुद्ध
प्रत्यर्थी : गुठी संस्थान केन्द्रीय कार्यालय,काठमाडौं ।
गुठी संस्थान काठमाडौं,गुठी तहसील कार्यालय,कालमोचन,काठमाडौं ।
आदेश भएको मिति: २०४४।४।२७।४ मा
गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) मा भएको व्यवस्थालाई हेर्दा श्री ५ को सरकारले शहरी क्षेत्र घोषित गरेको क्षेत्र भित्रको राजगुठी जग्गाको ३ खण्डको २ खण्ड दर्तावालकै नाममा र एकखण्ड खास जोताहाको नाममा दर्ता गरिने छ भन्ने व्यवस्था भएको पाइन्छ, अतः रिट निवेदक उपरोक्त बमोजिम दर्तावाला मोही नभई जोताहा मोही भएको देखिएकोले गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) बमोजिम खास जोताहा मोहीले पाउने ३ खण्डको १ खण्ड छुट्टाई दिने गरी अधिकार प्राप्त अधिकारीले कानून बमोजिम गरेको निर्णयमा कुनै त्रुटि देखिन नआएकोले निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ७)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना
प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय
उल्लेखित मुद्दाःX
आदेश
न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छ ।
२. का.जि.का.न.पं. वार्ड नं. २३(ख) कि.नं. १०० को कित्ताकाट भई कायम भएको कि.नं. ४५१ को क्षेत्रफल २–९–० जग्गा ज.ध. मा श्री टुडाल देवी गुठी र जोताहा दर्तावाला मोहीमा मेरो नाम दर्ता भई नापी भई मैले बुझाउन पर्ने कुत गुठी संस्थानलाई बुझाई जग्गा आफैंले भोगचलन गरिआएको छु । यस्तो मैले भोगचलन गरिआएको मोहीमा मेरो नाम दर्ता भएको गुठी अधिनस्थ जग्गा आफू खुशी बेचविखन गर्न पाउने गरी गुठी संस्थान ऐन, २०३३ को नेपालको संविधान, २०१९ को धारा ११(२)(ङ) ले पनि मलाई अधिकार दिएको छ र कानूनको अख्तियार विना अपहरण गर्न नपाउने गरी धारा १५ ले हक सुरक्षित राखेको छ । उक्त कि.नं. ४५१ को जग्गाको २०४२ सालसम्मको गुठीलाई बुझाउन पर्ने कुत बुझाई सकेको छु यस्तो मेरो हक भोगको जग्गा गु.स. बाट मिति २०४१।१।२९ च.नं. ९२४० का आदेशानुसार तपाइलाई जोताहाको हैसियतले पाउने ३ खण्डको १ खण्ड कि.नं. ४५१ को क्षे.फ. २–९–० जग्गा मध्ये पूर्व पश्चिम गरी उत्तरतर्फ ०–१३–३ कित्ताकाट गरिदिने र बाँकी जग्गा गुठी संस्थानकै नाममा राख्ने गरी मिति २०४१।१।२६ मा निर्णय भएकोले सोही बमोजिम कार्य गर्नु भनी यस कार्यालयमा आदेश भएकोले तपाइको नाममा कि.नं. ४५१ बाट क्षेत्रफल ०–१३–३ कि.का. भई हाल कायमी कि.नं. ६३२ रहेको र कि.नं. ६३३ मा क्षे.फ. १–११–१ जग्गा गुठी संस्थानकै नाममा कायम भएकोले तपाइले पहिले यस कार्यालयबाट लैजानु भएको जगगा धनी प्रमाण पूर्जाको प्रतिलिपि यस कार्यालयमा बुझाई आफ्नो नाममा कायम भएको कि.नं. ६३२ को ज.ध.प्र.पू. को प्रतिलिपि लिन आउनु हुन यो ३ दिने म्याद लेखिएको छ । म्याद बुझी लिए वा घर दैलामा टाँस भएका मितिले ३ दिनभित्र उपस्थित नभएमा नियमानुसार हुने व्यहोरा यसै पत्रद्वारा सुचित गरिन्छ भन्ने मिति ०४३।२।१४ को पत्र मलाई मिति २०४३।२।१५।५ मा बुझाइयो । मेरा नाउँमा दर्ता भएको कि.नं. ४५१ को जग्गाको जिन्सी कुत मैले बुझाई आएको हुँदा सो जग्गा गुठी संस्थान ऐन, २०३३ को दफा २(ट) ले गुठी अधिनस्थ जग्गा भएको र सो को दर्तावाला मोही म हुँ । गुठी अधिनस्थ जग्गाको सम्बन्धमा दर्तावाला र जोताहा अलग अलग रहेको अवस्थामा गुठी संस्थान ऐन, २०३३ को दफा २६ ले शहरी क्षेत्रको जग्गा भए दर्तावाला मोहीको नाममा दुई खण्ड र एक खण्ड खास जोताहाको नाममा दर्ता गर्ने व्यवस्था छ । सो बाहेक अन्य अवस्थामा जग्गा छुट्याउने अधिकार गुठी संस्थानलाई छैन । साविक कि.न. ४५१ को हाल विपक्षीले एक तर्फी कित्ताकाट गरी कायम गरेको कि.नं. ६३२ र ६३३ को जग्गा क्षेत्रफल २–९–० को जग्गाको जोताहाको एवं दर्तावाला मोही छु मलाई बुझ्दै नबुझी आफूलाई अधिकार नभएकोमा मेरो नाउँमा मोहियानी दर्ता भएको जग्गाको दई तिहाई आफ्नो नाममा राख्ने गरी अनाधिकृत निर्णय गरेको र सो निर्णयले गुठी संस्थान ऐन, २०३३ को दफा २७ एवं ३० र नेपालको संविधान, २०१९ को धारा ११(२)(ङ) तथा १५ द्वारा प्रदत्त एवं सुरक्षित हकमा आघात परेको उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी गुठी संस्थानको मिति ०४१।१।२६ को निर्णय र सो आधारमा कित्ताकाट गरिएको बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन पत्र ।
३. विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको आदेश ।
४. टुंडालदेवी गुठी राजगुठी भएको र त्यस्तो गुठीको जग्गामा दर्तावाला र जोताहा २ थरी मोही भएको शहरी क्षेत्रको जग्गामा ३ (तिन) खण्डको २ खण्ड दर्तावालाको भई एक खण्ड मात्र जोताहाले पाउने गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) मा व्यवस्था भएको र त्यसबखत सम्म दर्तावालाको उपस्थित नभएको हुँदा ३ खण्डको २ खण्ड सुरक्षित राख्ने गरी जोताहा पाउने ३ खण्डको एक खण्ड जग्गा जोताहालाई छुट्याई दिने गुठी संस्थानबाट मिति ०४१।१।२६ मा निर्णय गरी सो अनुसार गर्न गराउन मिति २०४१।१।२७ गते यस कार्यालयका नाउँमा पत्र लेखी पठाएकोले त्यसको कार्यान्वयन निमित्त यस कार्यालयबाट मिति ०४३।२।१४ गते निवेदकका नाउँमा पत्र लेखी पठाएको हो । यस कार्यालयबाट निवेदकको हक र हितमा असर पर्ने कुनै कार्य गरे भएको नहुँदा रिट निवेदनपत्र खारेज गरिपाउँ भन्ने समेत व्यहोराको काठमाडौं गुठी तहसील कार्यालयका लिखितजवाफ ।
५. का.न.पं. वार्ड नं. २३(ख) कि.नं. १०० को फिल्डबुक उतारमा जोताहाको महलमा गोपालबहादुर के.सी. का.इ. महाराजगन्ज लेखिएको र जग्गाको क्षेत्रफल ३–९–० भई किसानको व्यहोरामा यो जग्गा का.इ. यटखा टोल बस्ने जयन्तीप्रसाद सुवालको पंचदान गुठी र का.इ. झोंछे बस्ने कृष्णमाया बानियाको टुंडाल देवी गुठी दर्ता हो जोती खाएको छु भन्ने लेखिएको भई जोताहा गोपालबहादुरलाई बुझ्दा सो कित्तामा उत्तरतर्फ जयन्तीप्रसादको र दक्षिणतर्फ कृष्णमाया वानिया को हो भनी कागज गरिदिनु भएपछि सो कि.नं. १०० बाट कित्ताकाट भई उत्तर तर्फको रोपनी एक पंचदान गुठीको दक्षिण तर्फको रोपनी २–९–० टुंडालदेवी गुठीको छुट्याएको सम्बन्धित फायलबाट देखिन आउँछ । दर्तावाला र जोताहा २ थरी मोही भएको शहरी क्षेत्रको जग्गाको ३ खण्डको २ खण्ड दर्तावालाको हुने र १ खण्ड जोताहाको हुने भन्ने कुरा रिट निवेदनमा नै उल्लेख भएकोबाट सोही अनुरुप ३ खण्डको १ खण्ड जग्गा निवेदकलाई छुट्याई दिने गरेकै भए पछि निवेदकको हकमा आघात पर्न गएको छैन । तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको गुठी संस्थान केन्द्रीय कार्यालयको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनको फायल अध्ययन गरी निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगानाले दर्तावाला र जोताहा अलग अलग भएमा गुठी संस्थान ऐन अनुसार दुई तिहाई दर्तावालाको नाममा र एक तिहाई जोताहाको नाममा हुन्छ । सो बाहेक शहरी क्षेत्र भित्र रहेको गुठी अधिनस्थ जग्गा दर्तावाला मोहीबाट झिक्न पाउने कुनै कानूनी व्यवस्था छैन । तसर्थ अनाधिकृत निर्णय बदर हुनुपर्छ भन्ने र गुठी संस्थान तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शोभाकर उपाध्यायले गुठी संस्थान ऐनमा गुठीको जग्गामा दर्तावाला जोताहा २ थरी मोही भएको शहरी क्षेत्रका जग्गामा ३ खण्डको २ खण्ड दर्तावालाको र एक खण्ड मात्र जोताहाले पाउने व्यवस्था दिएकै हुँदा कानून अनुरुप भएको निर्णय बदर हुनु पर्ने होइन भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
७. रिट निवेदकको माग बमोजिम आदेश जारी गर्नुपर्ने नपर्ने के रहेछ त्यसतर्फ विचार गर्दा म टुडालदेवी गुठीको जग्गाको जोताहा दर्तावाला मोही हुँ । मलाई बुझ्दै नबुझी मेरा नाउँमा मोहियानी दर्ता भएको जग्गा विपक्षी गुठी संस्थानले ३ खण्ड मध्ये २ खण्ड गुठी संस्थानका नाउँमा राख्ने र एकखण्ड जग्गा मोहीको हैसियतले मेरा नाउँमा छुट्याई दिने गरी मिति २०४१।१।२६ मा गरेको निर्णय त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर देखिन्छ । विपक्षी गुठी संस्थानको लिखितजवाफ हेर्दा का.न.पं. वार्ड नं. १० को नापी फिल्डबुकमा जोताहाको महलमा निवेदकको नाम लेखिएको र कि.नं. १०० बाट कित्ताकाट भई उत्तरतर्फको रोपनी एक पंचदान गुठीको दक्षिणतर्फको रोपनी २–९–० टुडाल देवी गुठीको लागि छुट्याइएको भन्ने उल्लेख गरेको पाइन्छ । टुडालदेवी गुठीको जग्गाको निवेदक दर्तावाला मोही भएकोमा विवाद देखिँदैन । यस्तो विवादित जग्गामा गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) मा भएको व्यवस्थालाई हेर्दा श्री ५ को सरकारले शहरी क्षेत्र घोषित गरेको क्षेत्र भित्रको राजगुठी जग्गाको ३ खण्डको २ खण्ड दर्तावालाकै नाममा र एक खण्ड खास जोताहाको नाममा दर्ता गरिने छ भन्ने व्यवस्था भएको पाइन्छ । अतः रिट निवेदक उपरोक्त बमोजिम दर्तावाला मोही नभई जोताहा मोही भएको देखिएकोले गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) बमोजिम खास जोताहा मोहीले पाउने ३ खण्डको १ खण्ड छुट्याई दिने गरी अधिकार प्राप्त अधिकारीले कानून बमोजिम गरेको निर्णयमा कुनै त्रुटि देखिन नआएकोले निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४४ साल श्रावण २७ गते रोज ४ शुभम् ।