शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८८ - लेनदेन

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. १८८                  ने.का.प. २०२०

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री दुर्गादत्त उपाध्याय

न्यायाधीश श्री वाशुदेव शर्मा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. ३६

निवेदक, वादी : श्री ३ माहिली महारानी कृष्णकुमारी राणाजीनी

विरुद्ध

विपक्षी, प्रतिवादी : तारा शम्सेर ज.ब.रा. समेत

मुद्दा : लेनदेन

(१)   साहुले ऐनको म्याद भित्रै ऋणीबाट आफ्नु लेना असूल गर्न आयस्ता रोक्का गरेमा र आसामीबाट सोही नै कर्जा विषयमा पत्र लेखिएको भएमा त्यसै चुप लागी बसेको भन्न नमिल्ने । म्यादै भित्र कारवाई उठाएको भन्न पर्ने ।

            लिखत भएको मितिले १० बर्षभित्र साहु आसामीको २ नं.बमोजिम ब्याज असूली वा भाखापत्रसमेत भएको देखिन नआएकाले म्याद नाघी सकेको हो कि भन्ने हकमा लिखतमा ब्याज लिने शर्त नभएकाले ब्याज असूली जनिने अवस्यै नभएपनि सोही लेनामा ०३ साल देखि रानी रत्नकुमारी समेत ३ जनाका आयस्ता वादीको एकाघरको ज. निर सम्मेशरले रोक्का राखी निर भवन तहवीलबाट सावाँतर्फ कटाउँदै लगेकोमा प्रतिवादीहरू सावितै रहेको र सो कुरामा साहु आसामीको ३५ नं.बमोजिम म्याद भित्र नालिस उजुर नगरी चित्त बुझाई बसेको मात्र नभई सो कुरालाई मञ्जुर गरी मेरोतर्फको आयस्ता रोकी राखी बक्सेकोले खरिदी दाज्येज्यूतर्फको ५।६ सालको मिन्हा होस भन्ने ज. निर सम्शेरले र आयस्ता रोक्का गरी बक्सेकोले सारै संकटमा परेको छु सबै माफी बक्सने वा ३ जनाको २५०० दरले ७५०० लिई बक्सी अरु फुकुवा बक्सने चाँडो छिनी पाउँ भन्ने भन्ने रत्नकुमारीले तहबीलको सुब्बा मार्फत चिठ्ठी लेखिएको देखिएको । आयस्ता फुकुवा गरीपाउँ भन्ने मुद्दाको वादी लेखाइबाट उक्त चिठ्ठीको रुपैयाँ सोही कर्जा विषयमा उल्लेख भएको हो भन्ने कुराको परिपुष्टि हुन आएकाले साहु त्यसै बसी केही नगरी आसामीको मोलाहिजामा रहेको भनी भन्न नहुने हुनाले म्याद नाघेको भन्ने प्रतिवादीतर्फको जिकिर पुग्न सक्तैन ।

(प्रकरण नं. २२)

(२)   एउटै लिखतको आधारमाधेरै व्यक्तिहरू भएमा एउटा उपर चलाइएको म्याद भित्रै कारवाई भएमा पछि अरुहरूले म्याद नाघेको दाबी भन्न नपाउने बाबुले लिएको ऋण सबै अंशियारले व्यहोर्नुपर्ने ।

            वादी दावीको कर्जा सापटी आयस्ता रोक्का रहने रत्नकुमारी, बिनायक सम्शेर, उदय सम्शेर, बाहेक अरु प्रतिवादीले तिर्नुनपर्ने हो कि भन्नलाई कर्जा सापटी लिने क. मान सम्शेर, प्रतिवादी आमा, छोराहरूका लोग्ने र बाबु भई एउटै तमसुकको कर्जा देखिएको र उक्त कर्जा सापटी असूल गर्नाको निमित्त माथि उल्लेख भएबमोजिम साहुतर्फबाट १० बर्षभित्रै चलेकोले अरु प्रतिवादीहरूको हकमा पनि सोही तमसुकको म्याद गएको भन्न नमिल्ने । रत्नकुमारी, बिनायक सम्शेर, उदय सम्शेरले मात्र तिर्ने गरी साहुको समेत मञ्जुरी लिई साहु आसामीका २१ नं.बमोजिम निजहरूको भागमा परेका प्रमाणीत हुन नआएको र लोग्ने बाबुले लगाएको ऋण निजको सम्पत्ति बण्डा गरी लिने सबै अंशियार स्वास्नी छोराहरूले तिर्नुपर्ने हुनाले सबै अंशियारले दामासाहीले पर्न आउने रु. २५००। का दरले बुझाउनु पर्ने हुन आउँछ ।

फैसला

            १.     फुल बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याइ पाउँ भनी निवेदीकाको निवेदन परी बक्स भई आएका हुकुम प्रमांगीबमोजिम दोहोर्‍याउने भई दुवै पक्ष राखी पेश हुन आएको मुद्दा हेर्दा :

            २.    क. मान सम्शेरले मसँग २ महिनाको भाखा गरी ९६ साल मार्ग महिनामा नोट रु. २० हजार निब्र्याजी सापटी लिएकोमा, उदय सम्शेर, बिनायक सम्शेर, रत्नकुमारी समेत ३ जनाको आयस्ता ०३ देखि ०७ सालसम्म रोक्का गरी लिएकोमा निज उदय सम्शेर, बिनायक सम्शेर, रत्नकुमारी समेतले आयस्ता दिलाई पाउँ भनी नालिस गरेको । सो मुद्दामा लेनातर्फ छुट्टै नालिस परेकाबखत ठहरेबमोजिम हुने भनी अपील दोश्रा फाँटवाट ०१०।१।२९ मा फैसला भएकोले मेरो उक्त लेना बाँकी अन्यायका अंशियार ८ जना जसबाट पाउने हो दिलाई भराइ पाउँ भन्ने माइली महारानी कृष्णकुमारीको फिराद ।

 

            ३.    निज वादीबाट कर्जा लिएको पनि थाहा छैन । लिएकै भए पनि लिखतको म्याद भित्रै बुझाई सक्नुपर्ने र उसमा पनि हदम्याद नाघी सकेकोले हामीले तिर्न बुझाउन नपर्ने भन्ने तारा सम्शेर, उदय सम्शेर, बिनायक सम्शेर, लक्ष्मी सम्शेर, रत्नकुमारी समेतको र हामीहरूको आयस्ता पनि नरोकिएको र हामीहरूको अंश हुँदासमेत सो कुरा भन्न नसकेको र लिखतको हदम्याद समेत नाघी सकेकाले तिर्न बुझाउन नपर्ने भन्ने महेश्वर सम्शेर, फणिन्द्र सम्शेर समेतको प्रतिवादी ।

            ४.    दधी सम्शेरले म्याद गुजारेको ।

            ५.    आयस्ता रोक्का फुकुवा पाउँ भन्ने प्र. रत्नकुमारी समेतको नालिस परेको मुद्दामा लेनातर्फ छुट्टै उजुर परेको बखत ठहरेबमोजिम हुने भन्ने अपीलका फैसलामा उल्लेख भएको र त्यस पछि यो नालिस पर्न आएकोले हदम्याद गएको भन्न नहुने । रत्नकुमारी, उदय सम्शेर, बिनायक सम्शेर ३ जनाको हकमा म्याद भित्रै आयस्ता रोक्का गरेको देखिएको । अरु प्रतिवादीहरूको आयस्ता रोक्का नभएपनि एकै कागजको कुरा हुँदा म्याद गयो भन्न पनि नहुने र दधी सम्शेरले शुरु म्यादै गुजारी बसेको । आयस्ता मुद्दामा पेश भएको चिठ्ठी प्र. रत्नकुमारीले किर्ते भन्नसमेत नसकेकोले प्रतिवादी ८ जनाबाट दामासाहीले वादी दावीबमोजिम बिगो भरी पाउने ठहर्छ भन्नेसमेत ललितपुर अदालतको ०१०।१२।२६ को फैसला ।

            ६.    उक्त इन्साफमा चित्त बुझेन भन्ने लक्ष्मी सम्शेर, उदय सम्शेर, बिनायक सम्शेर, तारा सम्शेर, रत्नकुमारी समेतको अपील परेको । महेश्वर सम्शेर, फणिन्द्र सम्शेरले अपील नगरेको ।

            ७.    ९६ सालको लिखतबमोजिमको लेना तिरी सकेको भन्ने सबुद पेश हुन नआएको र प्रतिवादीहरूका चिठ्ठी कागजहरूबाट म्याद भित्रैको देखिँदा र २ जनाले शुरु उपर अपील समेत नगरी चित्त बुझाई बसेको समेतबाट शुरुको इन्साफ मनासिव छ भन्ने अपील पहिला फाँटको ०११।९।७ को फैसला ।

            ८.    उक्त इन्साफमा चित्त बुझेन भन्ने रत्नकुमारी लक्ष्मी सम्शेर तारा सम्शेर, बिनायक सम्शेर उदय सम्शेर समेतको अपील ।

            ९.    महेश्वर सम्शेर, फणिन्द्र सम्शेरले अपीलै नगरेको । दधी सम्शेरले शुरु म्यादै गुजारेकोले विचार गर्नुनपर्ने । आयस्ताबाट भर्ना दिलाउन रत्नकुमारी, उदय सम्शेर, बिनायक सम्शेरको हकमा शुरु अपीलको इन्साफ मनासिव छ । तारा सम्शेर, लक्ष्मी सम्शेरको हकमा ०१ सालमै छुट्टी भिन्न भएको बण्डापत्रबाट देखिएकाले र आयस्ता रोक्का भएको समेत नदेखिएकाले, निजहरू २ जनालाई नलाग्ने भई राय नमिलेकाले छलफलमा झगडिया झिकाई नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश ।

            १०.    तारा सम्शेर, लक्ष्मी सम्शेरको हकमा लिखत भएको र आयस्ता रोक्का भएको समेत नदेखिएकोले सिंगलबेञ्चको राय मनासिव छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१३।३।६ को फैसला ।

            ११.    हा.का. १२ नं. का ऐनले एउटै मुद्दामा उल्टीने भई फैसला हुँदा अपील नदिएका हकमासमेत उल्टाइ छिनी दिनुपर्ने र साहु आसामीका २ नं. का ऐनले हदम्याद नाघेको नालिस खारेजै हुनुपर्नेमा सो कुराको विचारै नगरी हराई दिएकोले इन्साफ दोहराई पाउँ भन्ने महेश्वर सम्शेर, फणिन्द्र सम्शेरको निवेदनमा व्यहोरा साँचो भए दोहर्‍याई ऐन सवालबमोजिम कारवाई गरी दिनु भन्ने हुकुम प्रमांगी ।

            १२.   एउटा लिखितको कुरामा लक्ष्मी सम्शेर, तारा सम्शेर २ जनाको हकमा अपुताली खाएपछि साहु तिर्दिन भन्न नपाउनेमा निजहरूले तिर्ननपर्ने गरी हराइ दिएकोले चित्त बुझेन । इन्साफ दोहराई पाउँ भन्ने माहिली महारानी कृष्णकुमारीको निवेदनमा व्यहोरा साँचो भए मिसिल साथ राखी ऐन सवालबमोजिम तुरुन्त कारवाई गरी दिनु भन्ने हुकुमको प्रमांगी ।

            १३.   उक्त आदेशबमोजिम पेश हुँदा कर्जा लिई लिखत भएको भन्ने कुरामा प्रतिवादीहरू कायमै भएको । तिरो बुझाएको छौं भन्ने र फट्टा भरपाई पेश गर्नै नसकेको । कर्जा लिनु भन्दा अगाडि नै भिन्न भएको भन्न पनि नसकेको । अंश अपुताली खाने अंशियारहरूले आफ्नो साहु ऋण तिर्न बुझाउनपर्छ भन्ने साहु आसामीको २२ नं. र अपुतालीको १८ नं. को ऐनमा उल्लेख भएको । सो ऐनबमोजिम आसामी कायम भएको । एउटै लिखतको कुरामा अंशियार धेरै थोरैको गणना गरी केही दिलाउने केही नदिलाउने भन्न पनि नहुने । ऐनबमोजिम कायमै ठहरी सकेको लिखतको पुरै थैली साहुलाई भराई दिनुपर्ने उचित देखिएको र तिर्न बुझाउन नपर्ने कुराको कुनै सबुद तारा सम्शेर, लक्ष्मी सम्शेरले गुजार्न नसकेकोले लिखतबमोजिमको पुरै रुपैयाँ वादी दाबीबमोजिम तारा सम्शेर र लक्ष्मी सम्शेर समेतबाट वादीलाई भराई दिने ठहराएको शुरु अदालत अपीलको इन्साफ मनासिवै देखिनाले डिभिजन बेञ्चको फैसलासँग राय नमिलेकाले निज तारा सम्शेर, लक्ष्मी सम्शेरलाई झिकाई पेश गर्नु भन्ने ०१३।१२।२१ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

            १४.   बिनायक सम्शेर, रत्नकुमारीहरूसँग आयस्ता दिलाई पाउँ भन्ने मुद्दामा श्री ३ मुमाज्यूको लेना २० हजार मैले कटाई मुमालाई बुझाएकोमा मुद्दा परी एकाको लेना एकाले कट्टा गर्न नपाउने भनी अपील लगायतबाट फैसला भई सरकारिया काममा बेलायत जाँदा तायदातसमेत आई मुमातर्फबाट सो नोट रु. २० हजारमा नालिस परी अपील लगायतबाट सदर गरी सो मुद्दा न्यालयमा छ । मैले कटाइ लिएको मुद्दा न्यायालयमा महेन्द्रबहादुर न्यायाधीश कहाँ छलफल हुँदा रु. २० हजारको मुद्दा पनि सँगै राखी इन्साफ गरी पाउँ भनी निवेदन गर्दा एकै साथ राख्ने आदेशसमेत भईसकेकोमा पछि बिनायक सम्शेरले प्रधान न्यायाधीश कहाँ निवेदन गरी मुद्दा फर्काइ दिनुपर्नेसम्म फिर्ता दिनुपर्ने गरी फैसला गरी दिए । एउटा न्यायाधीशले आदेश दिइसकेको कलममा अर्को न्यायाधीशले मनोमानी आदेश गरी यस्तो भएकोले निवेदन गरेको छु । रत्नकुमारीले दिनुपर्ने २० हजार अंशियारबाट भराउने भएको । मैले रत्नकुमारी र सँगै बसेको छोरा २ को मात्र किन कट्टा गरेको भने, अरुलाई राजर्षि महाराजले छुट्याइ दिएको हुनाले छुट्टिएकोलाई लाग्न नसक्ने भनी कट्टा नगरेको हो । रत्नकुमारीले मुमालाई लेखेको चिठ्ठीमा अंशियारले तिर्नपर्ने केही नलेखिएकोले निजले मात्र स्वीकार गरेको छ । मेरो मुमाको लेनामा मैले कटाएको सदर नहुने भई मेरो जायजात गर्न आएको छ । मुमाको लेना २० हजार र मैले कटाइ ल्याएको मुद्दा एकैसाथ राखी लिनु दिनु दुवै एकैपटक इन्साफ भएमा सुपथ इन्साफ पाउने हुनाले दुवै मुद्दा एकैसाथ राखी फुल बेञ्चबाट इन्साफ गरी दिनु भन्ने आदेश पाउँ भनी मे.ज. निर सम्शेरले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको ०१।८।१९।१ को निवेदनमा अहिलेलाई निवेदक श्री निर सम्शेरको जायजाततर्फ केही नगरी उक्त निवेदनपत्रमा उल्लेखित निजको दुवै मुद्दा पछि एकैसाथ किनारा लगाई दिनु भन्ने हुकुम बक्सेबमोजिम लेख्ने काम भएको छ । निवेदकलाई आजका ३ दिन भित्र सूचना गर्नु होलाभन्ने ०१२।७।१८।६ को राजदरवारको पत्र ।

            १५.   उदय सम्शेर, बिनायक सम्शेर, रत्नकुमारी समेतका हकको बिर्ता जग्गाको आयस्ता ०३ साल देखि ०७ सालसम्म रोक्का गरेकोमा निजहरूको उजुर परी कारवाइ हुँदा आयस्ता रोक्का गरेको बदर भई ०१२।५।२१ गतेमा प्रधान न्यायालय डिभिजन बेञ्चबाट फैसला भई रोक्का बदर भएकोले म्याद भित्रै देखिइ आफ्नो रुपैयाँ सधाउन आसामीको आयस्ता कब्जा गरी रहेकै देखिएको र चिठ्ठीबाट समेत रोक्का भईरहेको रु. ७५००। लाई स्वीकार गरेको देखिएको । लक्ष्मी सम्शेर, तारा सम्शेरको हकमा आयस्था रोक्का नभएको र निजहरूले चिठ्ठीपत्र गरेको समेत कुनै निस्सा देखाउन नसकेको र निजहरूको अंशबण्डा हुँदा साहु आसामीका २१ नं. का ऐनबमोजिम साहुको मञ्जुरी लिई सो रुपैयाँ बदर गरेका पनि नदेखिएको र एउटै लिखतको रुपैयाँमध्ये हद भित्रकै देखि आयस्ता रोक्का गरी भर्ना गर्दै ल्याएको । सबै प्रतिवादीहरूको आमा मानरानीबाट स्वीकार गरी चिठ्ठी लेखेको देखेकोले एउटै लिखतलाई हद नाघेको भन्न नहुने र साहु आसामीको २२ नं. अपुतालीको १८ नं. ले अपुताली खानेले साहु तिरी मात्र खान पाउने हुनाले आठै जना प्रतिवादीहरूले तिर्नुपर्ने ठहराएको डिभिजन बेञ्चको राय मनासिव छ भन्ने ०१४।५।२५ गतेको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

            १६.    सो उपर २ डिभिजन बेञ्चको राय बाझी फैसला भएकाले सर्वोच्च अदालत नियमावलीको दफा ३१बमोजिम फुल बेञ्चबाट रिभ्यू गरी पाउँ भन्ने तारा सम्शेरको निवेदनबमोजिम पेश हुँदा अघि भएका डिभिजन बेञ्चको फैसलासँग राय नमिली रुलिंग बाझिएको देखिनाले सर्वोच्च अदालत नियमबमोजिम यो मुद्दा फुल बेञ्चबाट निर्णय दिनुपर्ने भएकाले मुद्दातर्फ दर्ता गरी फुल बेञ्चमा पेश गर्नु भन्ने ०१४।११।२८ को फुल बेञ्चको आदेश ।

            १७.   तमसुक भएका मितिले १० बर्ष भित्र ब्याजीमा रीतपूर्वक व्याज असूल गरेको वा भाखापत्र गराएको र निब्र्याजीमा भाखापत्र गराएको समेत भए मात्र त्यस मितिले फेरी १० बर्षको हदम्याद पाउने । सो नभए नगरेकोमा तमसुक भएका मितिबाटै १० बर्षभित्र नालिस गरी भरी माग्ने व्यवस्था साहु आसामीका २ नम्बरको ऐनमा उल्लेख छ । यो तमसुक ९६ साल मार्गको निब्र्याजी सापटी लेखाई बीचमा ऐनमा रीत पुगेको भाखापत्र समेत गराएको नदेखिएकाले सो ऐन अन्तर्गत ०६ साल मार्गसम्ममा फिराद दिनु पर्नेमा ०१० साल जेष्ठ २८ गते मात्र फिराद दायर भएकाले १४ बर्षमा नालिस परेको देखिन्छ । ९६ साल देखि ०६ सालसम्म १० बर्षका हदभित्र साहु आसामीका २ नं. अन्तर्गत आयस्ता रोकिने समेत व्यवस्था भईसकेकोले हदम्याद नाघेको भन्न नहुने भन्ने वादी र अगाडिका इन्साफ गर्ने अड्डा र बेञ्चहरूको राय देखिन्छ तापनि सो आयस्ता रोकेको भनेको व्यवस्था हेर्दा ९६ सालमा तमसुक गरी ९८ सालमा मान सम्शेर परलोक हुनुभई ०१ सालमा रानी छोराहरूको ८ बण्डा लागि आठै जनाले साहु समेत ब्यहोर्ने करारबाट बण्डापत्र लेखी खड्गनिशाना हुँदा पनि यस लेनदेनतर्फ भाखापत्र वा करार र अरु कुनै उल्लेख भएको देखिएन र मान सम्शेरका ८ अंशियारहरले खान पाउने अर्को जग्गाको आयस्ता मध्ये रत्नकुमारी, बिनायक सम्शेर, उदय सम्शेर ३ जनाकोसम्म ०३ सालदेखि वादीले आयस्ता रोक्नु भएछ र हाम्रो रोक्न नहुने आयस्ता रोकी दिनु भएकोले भराइ पाउँ भन्ने ०८ सालमा फिराद दावा पर्दा त्यसैका प्रतिवादीमासम्म ९६ सालमा मान सम्शेरले लिएको ।२० हजार कर्जाको कट्टा मट्टा मिलाउन आयस्ता रोकिएको हो भन्ने जिकिर हाल वादीले लिनु भएकोमा आफ्नो लेना बाँकी भए उजुर गरेमा ठहरेबमेजिम हुनेछ । सो आयस्ता रोक्का हुन सक्तैन भनी ०११।१।२९ गते अपीलबाट फैसला भएपछि चित्त बुझेन भन्ने यता अपील र सो २० हजार भराई पाउँ भन्ने ०१०।२।२८ गते अदालतमा यो फिराद गर्नुभएको रहेछ । अपील तह चढेका मुद्दामा प्रधान न्यायालय बेञ्चमा पेश हुँदा सो लेनदेनमा हाम्रो आउने आयस्ताबाट कट्टा गरेमा मञ्जुर छ भन्ने सरोकारवालाको मञ्जुरी बेगर आफ्नो मनासिवले आयस्ता रोकी कटाएको मनासिव नदेखिएकाले आयस्ता भराइ दिने गरी अपीलबाट छिनेको मनासिव भनी किनारा भएको देखिएकोले जुन धारणँबाट वादीले प्रतिवादी मध्ये ३ जनाको आयस्ता रोक्नु भई १० बर्ष भित्रको भाखा करार वा मञ्जुरी भएको भन्नेसमेत कानूनी सिद्धान्त अपनाउनु भएको थियो । सो धारण कानून देखि बाहिरको अव्यवहारिक गलत धारण भन्ने ठेगाना लागि आयस्ता वापस दिनु परेको देखियो । ०३ साल देखि आयस्ता रोकिंदा यही २० हजार लेना वापसको व्यवहारमै हो भन्ने रत्नकुमारी, उदय सम्शेरका चिठ्ठीहरूबाट मञ्जुरी देखिने भन्ने पनि साहु आसामीका २ नं. लाई भरोसा दिएको छ भन्ने जिकिरबाट प्रमाण पेश हुन आएका चिठ्ठीहरू हेर्दा हाम्रो लेना बाँकी २० हजार वापत रोकिएको हो वा सो रुपैयाँ तिर्छौं बुझाउछौं । भाखा पाउँ वा कट्टा होस भन्नेसमेत कुनै पनि कानूनमा मिल्ने शब्दहरू लेखिएको देखिंदैन । आयस्ता जम्मा गरी बाँडी दिने मुख्य व्यक्तिले आयस्ता रोकी दिएका बारेमा सो रोकिंदा दुःख पाए नरोकियोस, रोकिन्छ भनेपनि ७५००। लिई माफ पाउँ । सो कुरो श्री ३ महारानीमा जाहेर गरी दिनु भनी रत्नकुमारीले दुःख पुकार गरी र मुद्दा परिसकेपछि एक किसिम सोधनी जस्तोसम्म कुरा उदय सम्शेरका चिठ्ठीमा व्यहोरा देखिन्छ । हाम्रा बाबु, खसमले २० हजार लिनु भएकोमा हामी अंशियारले बुझाउनु पर्ने हो बुझाउँछौं । भाखा पाउँ भन्नेसमेत शब्द परेका कागजहरू बेगर आफ्नो मातहतबाट किनपर्ने ? अर्कोको आफ्ना खुशीले रोकी दिएका कुरालाई रोक्का नहोस भनी दुःख पुकार गरेका चिठ्ठीलाई भाखापत्र सरहको मञ्जुरी मानी अर्थ लगाउन र कानून अन्तर्गतको व्यवहारिक व्यवस्था भनी मान्यता दिन न्यायमा उचित देखिएन । हाम्रो सरकार तिर्न मञ्जुर छौं, भाखा पाउँ भन्ने शब्दको लिखत बेगर ऐनका मनसायमा मिल्ने भाखापत्र बेगर मञ्जुरी भन्न नभई म्याद भित्रको उचित कानूनी कारवाई नभएपछि म्याद खिलाप भएकै भन्नुपर्छ । म्याद भित्र भाखापत्र वा उजुर नगरी अफैंले आफ्ना मनासिवबाट रोकी दिएका आयस्तालाई भाखा करार वा मञ्जुरी सम्झी एकाका सो कुरै बदर र अवैधानिक ठहरेको भए पछि १० बर्षभित्रको भाखापत्र वा मञ्जुरी भनी हदम्याद थामी दिन नमिल्ने हुँदा दिलाउने भराउने गरेको अगाडिका बेञ्चको फैसला मनासिव देखिएन । वादी खारेज हुने देखिन्छ । खारेज हुन नसक्ने ऐनको रीत पुगेको सबुद भए सो समेत लिई आउनु भनी वादीलाई छलफलको १५ दिने म्याद दिई हाजिर हुन आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत फुल बेञ्चको ०१५।५।१०।३ को आदेश ।

            १८.   ०१५।५।१९।३ का फुल बेञ्चको राय मनासिव भनी सर्वोच्च अदालत फुल बेञ्चको ०१५।८।१२।५ को फैसला ।

            १९.    ८ अंशियार मध्ये कसैले प्रतिउत्तरै नदिएको र अ.ले पनि रुपैयाँ खाएको होइन भन्न नसकेकोमा मेरो वादी नै खारेज गरेकोमा चित्त बुझेन फुल बेञ्चबाट छिनेको इन्साफ दोहराई पाउँ भनी माहिली माहारानी कृष्णकुमारी राणाले श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदनमा मुद्दा दोहर्‍याई अरुमा ऐन सवालबमोजिम गर्नुभन्ने हुकुम बक्सेबमोजिम निजहरूको देहायबमोजिमको बिन्तिपत्र थान ३ यसैसाथ पठाएको छ भन्ने राजदरबारको ०१७।५।१३।१ को पत्र।

            २०.   निवेदक, वादीतर्फबाट रहनुभएको विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरे, विद्वान एडभोकेट मधुप्रसादले प्रतिवादीतर्फबाट सापटी कर्जा बुझाईसकेको भए लिखत फट्टा वा भरपाई हुनुपर्ने, नभएको । सोही लेनामा म्यादै भित्र एकाघरको छोराले आयस्ताबाट ०३ साल देखि कट्टा गर्दै आएको र त्यस कुरालाई स्वीकार गरी मुख्य आमा रत्नकुमारी र उदय सम्शेरले चिठ्ठी लेख्नु भएको समेतबाट १० बर्ष म्याद नाघी सकेको भन्ने युक्ति लाग्न सक्दैन । प्रतिवादीहरू क. मान सम्शेरको अंशियार छोरा स्वास्नी भएको । सगोलमा कर्णेल मान सम्शेरले लिएको कर्जा सबै अंशियारले तिर्न कर लाग्ने । प्रतिवादीहरूले आपसमा गरेको बण्डामा ऋणको उल्लेख भएन भन्दैमा साहुको थैली भुस हुन नसक्ने भनी र प्रतिवादीतर्फबाट रहनुभएको विद्वान एडभोकेट कृष्णप्रसाद भण्डारी प्लिडर मिन मर्दनले ९८ सालमा कर्णेल मान सम्शेर परलोक भई ०१ सालमा हाम्रो पक्षको बण्डा हुँदा यो रुपैयाँ लिन बाँकी भए सो कुराको उल्लेख हुनुपर्ने, नभएको । रत्नकुमारी समेतले चिठ्ठी लेखेको भन्ने हकमा चिठ्ठीलाई भाखापत्र भन्न नमिल्ने । वादी साहु आसामीको २२ नं. अन्तर्गत नालिस गर्न आएको । यस्तोमा साहुको ३८ नं. को म्यादभित्र नालिस दिनपर्ने । सा.अ. को २ नं. मलाई नलागी आसामीको लागि हो । प्रतिवादीहरू उपर अपुतालीको दाइत्व छ । अपुताली राख्नेसित भाखापत्र गराउन कर नलगाएको । माहिली माहारानीको लेनामा निर सम्शेरले आयस्ता रोक्का गरेकोमा साहु आसामीको ३५ नं. को हदम्याद नलाग्ने । उजुरी म्याद नाघी सकेको खारेज हुनपर्ने भन्नेसमेत बहस गर्नुभयो ।

            २१.   दुवै पक्षका विद्वान वकीलहरूको बहस र मुद्दाको उपरोक्त विवरणहरूबाट (१) वादी उजुरी म्याद भित्रको हो होइन ? (२) दावीबमोजिम प्रतिवादीहरूबाट भरी पाउने नपाउने के हो ? भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आयो ।

            २२.   सर्वप्रथम, वादीको उजुरी म्याद भित्रको हो होइन भन्नेतर्फ विचार गर्दा, ९६ साल मार्गमा प्रतिवादीहरूको लोग्ने बुबा मान सम्शेरले लिएको कर्जा लेनामा म्यादै भित्र ०३ सालदेखि आयस्ता रोक्का गर्दै आएको भन्ने वादी र तिरी बुझाई सकेको हुनुपर्छ उजुरी म्याद नाघिसकेको भन्ने प्रतिवादीको मुख्य जिकिर देखिन्छ । लिखत भएको मितिले १० बर्ष भित्रमा साहु आसामीको २ नं.बमोजिम ब्याज असूल वा भाखापत्रसमेत भएको देखिन नआएकाले म्याद नाघिसकेको हो कि भन्ने हकमा लिखतमा ब्याज लिने शर्त नभएकाले ब्याज असूली जनिने अवस्था नभए पनि सोही लेनामा ०३ सालदेखि रानी रत्नकुमारी समेत ३ जनाका आयस्ता वादीको एकाघरको छोरा ज. निर सम्शेरले रोक्का राखी निर भवन तहविलबाट साँवातर्फ कटाउँदै लगेकोमा प्रतिवादीहरू सावितै रहेको र सो कुरामा साहु आसामीको ३५ नं.बमोजिम म्यादभित्र नालिस उजुर नगरी चित्त बुझाई बसेको मात्र नभई सो कुरालाई मञ्जुर गरी मेरोतर्फको आयस्ता रोकी राखी बक्सेकोले खरिदी दाज्येज्यूतर्फको ५।६ सालका मिन्हा होस भन्ने ज. निर सम्शेरलाई उदय सम्शेरले र आयस्ता रोक्का गरी बक्सेकोले सारै संकटमा परेको छु । सबै माफी बक्सने वा ३ जनाको २५०० दरले ७५०० लिई बक्सी अरु फुकुवा बक्सने चाँडो छिनी पाउँ भन्ने रत्नकुमारीले तहबीलको सुब्बा मार्फत चिठ्ठी लेखिएको देखिएको । आयस्ता फुकुवा गरीपाउँ भन्ने मुद्दाको वादी लेखाईबाट उक्त चिठ्ठीको रुपैयाँ सोही कर्जा विषयमा उल्लेख भएको हो भन्ने कुराको परिपुष्टी हुन आएकाले साहु त्यसै बसी केही नगरी आसामीको मोलाहिजामा रहेका भनी भन्न नहुने हुनाले म्याद नाघेको भन्ने प्रतिवादीतर्फको जिकिर पुग्न सक्तैन ।

            २३.   अब दोश्रो प्रश्नको विचार गर्दा, प्रतिवादीहरू ०१ सालमा छुट्टिंदा सो कर्जा विषय कुनै उल्लेख नभएकाले तिरी बुझाईसकेको भन्ने प्रतिवादी जिकिरका हकमा कर्णेल मान सम्शेरले तिरी बुझाईसकेको भए लिखत फट्टा वा भरपाइ हुनुपर्ने । सो छ भन्न र पेश दाखिल हुन नआएकोले तिरी बुझाईसकेको भन्ने प्रतिवादी जिकिर प्रमाणित हुन आएन । वादी दावीको कर्जा सापटी आयस्ता रोक्का रहने रत्नकुमारी बिनायक सम्शेर, उदय सम्शेर बाहेक अरु प्रतिवादीले तिर्नुनपर्ने होकि भन्नालाई कर्जा सापटी लिने क. मान सम्शेर प्रतिवादी आमा छोराहरूका लोग्ने र बाबु भई एउटै तमसुकको कर्जा देखिएको र उक्त कर्जा सापटी असूल गर्नाको निमित्त माथिउल्लेख भएबमोजिम साहुतर्फबाट १० बर्ष भित्रै चलेकोले अरु प्रतिवादीहरूको हकमा पनि सोही तमसुकको म्याद गएको भन्न नमिल्ने । रत्नकुमारी, बिनायक सम्शेर, उदय सम्शेरले मात्र तिर्ने गरी साहुको समेत मञ्जुरी लिई साहु आसामीका २१ नं.बमोजिम निजहरूको भागमा परेको प्रमाणित हुन नआएको र लोग्ने बाबुले लगाएको ऋण निजको सम्पत्ति बण्डा गरी लिने सबेै अंशियार स्वास्नी छोराहरूले तिर्नुपर्ने हुनाले सबै अंशियाराले दामासाहीले पर्न आउने रु. २५००। का दरले बुझाउनुपर्ने हुनआउँछ । प्रतिवादी रत्नकुमारी, बिनायक सम्शेर, उदय सम्शेरको हकमा आज यसै बेञ्चबाट किनारा लागेका निजहरूको र ज. निर सम्शेरको आयस्ता दिलाई पाउँ भन्ने मुद्दाबाट निजहरूको भागमा पर्ने जति रोक्का राखेको सदरै ठहरी फैसला भएकाले अरु तारा सम्शेर, लक्ष्मी सम्शेर, महेश्वर सम्शेर, फणिन्द्र सम्शेर, दधी सम्शेरसमेत ५ जनाबाट दामासाहीले हुन आउने रु. २५०० का दरले वादीले भरी पाउने ठहर्छ । म्याद नाघी वादी परेकोले मुद्दा खारेज गर्ने ठहराएको मनासिव नदेखिएकोले तपसीलको कुरामा तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी माहारानी कृष्णकुमारी राणाजीनीके माथि लेखिएबमोजिम ठहरी प्रतिवादी रत्नकुमारी, बिनायक सम्शेर, उदय सम्शेरसँगको मुद्दाबाट भरी नपाउने ठहरेकोले त्यसतर्फको दामासाही कोर्टफीसमेत जफत हुनेमा निजहरूबाट डिभिजन बेञ्चका फैसलाबमोजिम कोर्टफी र बिगोसमेत भरी पाईसकेकोमा सर्वोच्च अदालत फुल बेञ्चका १५।८।१२।५ का फैसला ०१६।४।१३ का आदेशले वादीबाट निजहरूलाई भराई दिने गरेको कायमै हुने भएकाले केही गर्नु परेन ................१

ऐ.ऐ. के सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१३।३।६ का फैसलाले देहायका प्रतिवादीबाट देहायबमोजिम कोर्टफी र बिगो वादीले भरी पाईसकेकोमा फुल बेञ्चका उक्त फैसलाले भरी नपाउने भनी भरिभराउ भईसकेको बिगो वादीबाट प्रतिवादीहरूलाई भराई दिने र दशौंद बिशौंद असूल भईसकेको भए फिर्ता दिने गरेकोमा हाल लेखिएबमोजिम ठहरी भरी पाउने भएकाले फुल बेञ्चका फैसलाबमोजिम वादीबाट प्रतिवादीहरूलाई भराई दशौंद बिशौंद फिर्ता गईसकेको भए ऐनको म्यादभित्र वादीको दर्खास्त परेमा देहायका मानिसबाट देहायबमोमिजम भराइ दिनु । वादीबाटफिर्ता लिईनसकेको र वादीले पाईसकेको कायमै रहेको भए वादीबाट प्रतिवादीलाई भराइ दिई दशौंद बिशौंद फिर्ता दिने गरेको उक्त फुल बेञ्चको फैसला आदेशबमोजिमको लगत काटी दिनु भनी ल.पु.इ.अ. लाई पूर्जी गर्न का.दे.त. मा लगत दिनु ..................२

            आसामी                  बिगो भारु.    कोर्ट फी नेरु.

            फणिन्द्र सम्शेर ज.ब.रा के रु. २५००      १०६।८७

            दधी सम्शेर ज.ब.रा. के ऐ. २५००        १०६।८७

            महेश्वर सम्शेर ज.ब.रा. ऐ.   २५००        १०६।८७

ऐ. के शुरु ललितपुर अदालतका ०१०।१२।२४ का फैसलाले देहायका प्रतिवादीबाट वादी भरी पाउने ठहरेको देहायबमोजिमको बिगो कोर्टफी भरी नपाउने भनी फुल बेञ्चका ऐ. मितिका फैसला आदेशले लगत कट्टा गरेकोमा हाल भरी पाउने ठहरेकोले फुल बेञ्चका फैसला आदेशबमोजिमको लगत काटी शुरु फैसलाबमोजिमको लगत कायम गर्नु भनी ऐ. ऐ ................३

            आसामी                  बिगो भारु.    कोर्ट फी नेरु.

            तारा सम्शेर ज.ब.रा के रु.   २५००        १०६।८७

            लक्ष्मी सम्शेर ज.ब.रा. के ऐ.            २५००  १०६।८७

शुरु उपर अपील गर्दा तारा सम्शेरले कोर्टफी ने.रु. १०६।८७ साल ०११।३।१७ मा रत्नकुमारीले कोर्टफी ने.रु. १०६।८७ साल ०११।४।१९ मा बिनायक सम्शेर, उदय सम्शेरले ने.रु. १०६।३७ दरले जम्मा ने.रु. २१२।७४ साल ०११।४।१९ मा लक्ष्मी सम्शेरले ने.रु. १०६।८७ ऐ.ऐ. मा अ.त. बिगो फाँटमा धरौट राखेको उक्त रुपैयाँ अपील पहिला फाँटका ०११।९।७।४ का फैसलाले वादी कृष्णकुमारीलाई भराई दिने गरेकोमा सर्बेाच्च अदालत फुल बेञ्चका फैसलाले धरौट राख्नेहरूलाई नै ऐन सवालको रीतपुर्‍याई फिर्ता दिने गरेकोमा भरी पाउने कोर्टफीतर्फ कट्टामट्टा हुने हुनाले फिर्ता दिने गरेको लगत काटी दिनु भनी ऐ.ऐ .................४

सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१४।५।२५ को फैसलाबमोजिम महेश्वर सम्शेर, फणिन्द्र सम्शेर जना २ बाट इन्साफ जचाएमा जनही कोर्टफी रु. १०।६९ का दरले असूल गर्ने गरेकोमा सर्वोच्च अदालत फुल बेञ्चका ऐ. मितिका फैसलाले असूल भए फिर्ता र नभए लगत काट्ने गरेको हाल लेखिएबमोजिम ठहरी फिर्ता नपाउने हुँदा डिभिजन बेञ्चका फैसलाबमोजिम लगत कायम गर्नु भनी ऐ. ऐ ....................५

सर्वोच्च अदालत फुल बेञ्चका ०१५।८।१२।५ का फैसलाले गर्ने गरेको देहायबमोजिमको कलम नलाग्ने हुँदा लगत काटी दिनु भनी ऐ.ऐ ..................६

देहायका प्रतिवादीहरूले अपील गर्दा राखेको कोर्टफी वादीबाट भराई दिने गरेको कलम प्रतिवादी रत्नकुमारीलाई ने.रु. १६।६, प्र. उदय सम्शेरलाई ने.रु. १६।६ प्र. बिनायक सम्शेरलाई ऐ. १६।६ प्र. लक्ष्मी सम्शेरलाई ऐ. १६।६ प्र. तारा सम्शेरलाई ऐ. १६।६ इन्साफ उल्टमिा ल.पु.इ.अ. का देहायका मानिसबाट लिने गरेको ने.रु. १ को कलम, ना.सु. सम्शेरराज श्रेष्ठबाट ने.रु. ।६० अ.डि. हिरामानबाट ने.रु. ।२५ बि. इच्छाहर्ष बाट ने.रु. ।१५ ....................७

अपील पहिलाका देहायका मानिसबाट इन्साफ उल्टीमा लिनेगरेको देहायबमोजिमको जरिवानाको कलम.............८

का.मु. हाकिम सु. खड्ग बिक्रमबाट ने.रु. ।७५ बि. पद्मराजबाट ने.रु. ।२५

वादी कृष्णकुमारीबाट प्रतिवादी तारा सम्शेरलाई भराइ दिने गरेका वकीलफी ने.रु. १५। को कलम ................९

नियमबमोजिम मिसिल बुझाई दिनु ...................... १०

 

इति सम्वत् २०१९ साल चैत्र १४ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु