निर्णय नं. १९० - अंश

निर्णय नं. १९० ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
दे.फु.नं. १८
निवेदक, प्रतिवादी : गणेशबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी, वादी : आशालाल श्रेष्ठ
मुद्दा : अंश
(१) चल धानमाल बुझेको छोडपत्र पास गर्नु नपर्ने ।
...चल धनमाल बुझेको कागज रजिष्ट्रेशनको ३।४ नं. का ऐनले पास गर्नुनपर्ने भएकोले चल धनमाल अर्थात लत्ताकपडा नगद सुनाचाँदीको हकमा सो लिखतबाट वादीले लिइसकेको कायम हुने भएकोले चल धनमालतर्फ बण्डा गरी दिनपर्ने देखिएन ।
(प्रकरण नं. २५)
(२) अचल घर जग्गा गैह्रको हकदावी छाड्दा अड्डामा गई पास गराउनु पर्ने ।
रजिष्ट्रशनको ३ नं. मा देहायमा लेखिएबमोजिमको कागजपत्र गर्दा गराउँदासमेत रजिष्ट्रेशन अड्डामागै पास गराउनु भन्ने र देहायमा आफ्नो हक छोडी दिएको इत्यादि कागजपत्र भन्ने लेखिएको हुनाले उक्त ऐनले अचल घर जग्गा गैह्रको हकदावी छाड्दा अड्डामागै पास गराउनुपर्ने देखिन्छ । पास नगराएको सदर नहुने भएकाले अचल घर जग्गाको हकमा बण्डा गरी दिनै पर्ने देखिन आयो ।
(प्रकरण नं. २७)
निवेदकतर्फबाट : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी
विपक्षीतर्फबाट : प्लिडर श्री पूर्णनारायण प्रधान
फैसला
१. बाबु वीरबहादुरको ३ छोरामा जेठा म, माहिला गंगाबहादुर, कान्छा गणेशबहादुर भएको । मे.ज. महाबीर सम्शेरको बैठके भई कलकत्तामा रहने र घरमा जहान बालबच्चासमेत रहेको । मैले नोकरी गरी कमाएको घरमा बराबर पठाउने गरेको थिएँ । जेठा बाबुको स्वास्नी वनदेवी र छोरा समेत भई उनीहरूको घर दिलबहादुर समेतलाई बेचेको कुरा सुनें ।०११ साल जेष्ठ १७ गते घर आई बुझ्दा सगोलको धनबाट भाइ गंगाबहादुरले घर निखनाइ पाउँ भनी रु. ८००१। धरौट राखी उजुर गरेको रहेछ । मेरो निखन्नेतर्फ नालेस परेकै छ । धरौट रुपियाँ फिर्ता लेउ भन्दा नलिएको हुनाले ०११।३।१। देखि मानु छुट्टि नालेस गर्न आएको छु । धरौट राखेको रु. ८००१। मध्ये ३ खण्डको १ खण्ड मोरु २६६७। भाइहरूले नपाउने गरी रोकी मलाई दिलाई ३ खण्डको १ खण्ड अंशसमेत छुट्याइ पाउँ भन्ने वादी ।
२. बाबु बीरबहादुरको जेठो वादी माहिलो म, साहिला गणेशबहादुर, कान्छा भिमबहादुर समेत ४ छोरा जन्मेको । बाबु परलोक भई आमा र हामी भाइहरू सगोलै बसी आएको । ९१ सालमा ज. महावीर सम्शेरका साथ इलामतर्फ गएको । निजले ईलाममै विवाह गरी ९८ सालमा घर आई आमासँग आफ्नो भागको नगदी कसन तमन घरको मोल गर्दा मोरु. ६०००। ठहरेकोले त्यसको ५ भागको १ भाग रु. १२००, ।९८।४।२०।२ मा बुझी आमाका नाउँमा अंश हक दावी छोडी छोडपत्र गरी दिएकोले २००० साल आश्विन ११ गते मैले पनि रु. १२००। लिई हक छाडी दिएको । आमा र कान्छो भाइ परलोक भईसकेको हुनाले घरमा वादीको र मेरो अंश नभई गणेशबहादुरको एकलौटी हक भोग छ । घर निखनाइ पाउँ भनी नालेस गरी अंशमा समेत झुट्टा दावी गरेको हो । सगोलको धनबाट धरौट राखी निखनाइ पाउँ भनी नालेस गरेको होइन । वादीको जहान बच्चा घरमा बस्न आएको र निजले खर्च पठाउने गरेको समेत होइन भन्नेसमेत गंगाबहादुरको प्रतिवादी।
३. वादीले ९८ सालमा आई अंश छुट्याई दिनुहोस भनी घरको मोल रु. ६०००। राखी त्यसको ५ भागको १ भाग मोरु १२००। अचल धनमालसमेत बुझी ९८।४।२० मा अंश छाडेको छोडपत्र लेखी देशतर्फ गएको र माहिला दाजु गंगाबहादुरले पनि २०००।६।११ मा रु. १२००। लिई छोडपत्र गरी बेगल बस्न गएको । आमा र म कान्छो भाइ सगोल बसी आएको अवस्था भाइ र आमासमेत परलोक भई मैले काजकृया गरी आमा र भाइको अंशसमेत मैले ब्यहोरी आएको र साहुहरू तिर्नुपर्ने भई धर पकड गरेकोले २००७ साल श्रावणमा घर बन्धकी लेखी कर्जा लिई साहु तिरी, पछि २००७ चैत्रमा घर निखनी भोग गरेको छु । १९९८ सालमै छुट्टी सकेको हुनाले २०११ सालमा मानु छुट्टियो भन्ने कुरा झुट्टा हो । घर निखन्ने रुपैयाँ सगोलको होइन भन्नेसमेत गणेशबहादुरको प्रतिवादी ।
४. १९९८।४।२०।२ को सक्कल कागज देखें हेरें सुनें । सो कागज मैले गरी दिएको भए म लेख्न जान्नेको हस्ताक्षरबाट लिखत सही हुनुपर्ने नभएको र पुछारमा पनि सही नभएको हुनाले मलाई झुक्याई जालसाजबाट छोडपत्र गराएको हो । सहीछाप भिडाई मिले जालसाजी र नमिले किर्ते खडा गरेको हो । कहाँ बसी कहिले झुक्याई जालसाज गरेको हो ? प्रतिवादीहरू जानुन भन्नेसमेत वादी वा. जनकबहादुरको बयान ।
५. १९९७।४।२० को कागज झुक्याई जालसाजसमेत कौनै कुरा गरेको होइन । यो वादी उस बेला लेख्न नजान्ने भएको हुनाले ल्याप्चे सहीछाप भएको हो । छोडपत्र पास गर्नुपर्ने भन्ने हकमा यस्तो बेईमान होला भन्ने नसम्झिएको हुनाले नगराएको । साक्षीहरू समेत बुझीपाउँ भन्ने गणेशबहादुरको वा. मोहनप्रसादको बयान ।
६. सो छोडपत्र कागज जालसाजी किर्ते समेत होइन । सद्दे हो भन्नेसमेत गंगाबहादुरको बयान ।
७. वादीले रु. १२००। बुझी गरी दिएको कागजमा अन्तरसाक्षी म समेत बसेको छु । झुक्याई जालसाज गरेको होइन भन्ने महारत्नको बयान ।
८. म समेत साक्षी बसी बण्डापत्र भएको कागज यही हो । झुक्काई जालसाज गरे भन्ने वादी झुट्टा हो भन्ने जोगरत्नको बयान ।
९. १९९८ सालमा वादी आई भिन्न हुनुपर्यो भनी भनेकाले ५ बण्डा गरी १९९८ साल श्रावण २० गते वादी भिन्न बसेका हुन । सो कागज मैले लेखी दिएको सद्दे हो । जालसाजी किर्ते भन्ने वादी झुट्टा वादी हो भन्ने प्र. न्हुछेराजको बयान ।
१०. १९९८।४।२० को कागज जालसाजी भन्ने सबुद वादीले दिन नसकेको हुनाले कागज जालसाजी ठहर्दैन । सो छोडपत्र अंशबण्डाको ४९ नं. को हद भन्दा बढीको अचल घर जग्गा देखिएकोले रजिष्ट्रेशनको ३ नं. ले पास गर्नुपर्ने पास नगरेकोले सदर नहुने भई सो लिखतबाट चलका हकमा लिनु दिनु भईसकेको सिद्ध हुन आएको हुनाले अचलको हकमा सो श्रावण २० गतेको अघिल्ला दिन श्रावण १९ गते तकको दुवै थरबाट तायदाती लिई बण्डा गरी दिने भन्नेसमेत २०१२।६।११ को रा.का.दे.दो. को पर्चा ।
११. मेरो जिम्मा बण्डा गर्नुपर्ने केही छैन भन्ने गंगाबहादुरको कागज ।
१२. वादीको लिखतसमेतबाट मेरो एकलौटी हक भएको दिल्ली बजारको रु. ६०००। जाने दुईनाले तीनतले घर बाहेक अरु केही छैन भन्ने गणेशबहादुरको कागज ।
१३. जो भएको सम्पत्ति भाइहरूको जिम्मा छ । मसँग केही छैन । अंशियार हामी ३ भाइ छौं भन्नेसमेत आशालालको कागज ।
१४. पर्चाबमोजिम घर एकको ६०००। को फाँट आएको र यी वादी प्रतिवादीहरू ५ अंशी देखिएको हुनाले विवाह खर्च कटाई ५ खण्डको १ खण्ड वादीले अंश पाउने र निखनाई पाउँ भनी धरौट राखेको रुपैयाँका हकमा मानु छुट्टी सकेपछिको हुँदा वादी दावी नपुग्ने भन्नेसमेत देवानी दोश्रा फाँटबाट ०१३।२।३१ मा फैसला भएको रहेछ ।
१५. बण्डा गर्नेतर्फ हाकिमको रायसँग मिलेको र ९८ सालको छोडपत्र सदर नभई हालै बण्डा हुने ठहरेको अंशबण्डाको ३३ नं. मा बाबु लोग्नेको शेषपछि अंश गर्दा बाँकी राखेको सबै स्वास्नी छोरहरूलाई बाँडी दिनु भनी लेखिएको । मरी सकेका अंशियारको अंश लगाउनु नपर्ने भएको र अपुतालीको ९।१० नं. मा नीतिपूर्वक अंशबण्डा भएपछि भन्ने लेखिएको । फेरी बण्डा हुने भएपछि अंशबण्डा नहुँदै मरेको । अपुताली सबैले ब्यहोर्न पाउने भएकाले ३ खण्डाको १ खण्ड अंश वादीले पाउने गरी अ.डि. गुणराजको राय पर्चा ।
१६. अंशबण्डा दिनै पर्ने भए वादीले लिएको रुपियाँको समेत निर्णय हुनुपर्ने । सो समेत नगरी ३ बण्डा हुने गरी गरेको फैसला पर्चामा चित्त बुझेन भन्नेसमेत गणेशबहादुरको अपीलपत्र ।
१७. निखनाई पाउँ भनी धरौट राखेको रु. ८००१। मा मेरो भाग रुपैयाँ मैले नपाउने गरी गरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत आशालालको अपीलपत्र ।
१८. नीतिपूर्वक अंश भएको नदेखिएकोले बाँकी रहेको ३ भाइले बाँडी खान पाउने हुँदा इन्साफ असिष्टेण्ट डिठ्ठाको मनासिव छ भनी ०१३।११।११ मा अपील तेश्रा फाँटबाट फैसला भएको रहेछ ।
१९. ९८।४।२० को कागज खास जालसाजी किर्ते हो । त्यस्तो लिखत प्रमाणै नलाग्ने लगाई गरेको इन्साफमा चित्त बुझेन भन्ने आशालालको अपीलपत्र ।
२०. अंश वापत नगदी बुझी गरी दिएको सो रुपैयाँ यसो गर्ने निर्णय नगरी र खास ५ अंश हुनेमा ३ अंश गरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत गणेशबहादुरको अपीलपत्र ।
२१. ३ बण्ड गर्ने गरेको इन्साफ अपील तेश्राको मनासिव छ । अंश वापत भनी लिएको रु. १२००। कपाली हुने भई कपालीबाट लिन पाउने अपीलको फैसलामा उल्लेख नभएको । त्यति कुरामा राय नमिलेबाट डिभिजन बेञ्चमा पेश गर्नुु भन्ने ०१४।११।२३ को सिंगलबेञ्चको आदेश ।
२२. ९८।४।२० मा अंश हक दावी छोडी छोडपत्र गरी सकेको भन्ने जिकिरलाई रजिष्ट्रेशनका ३ नं. का ऐनबमोजिम छोडपत्र पास भएको नदेखिएकोले ऐनको रीत नपुगेको लिखतलाई मान्यता दिन नमिल्ने हुनाले अंशतर्फ ३ भागको १ भाग वादीले पाउने ठहराई गरेको इन्साफ मनासिव छ । मो.रु. १२००। वादीले लिएको छोडपत्रबाट देखिएको र ३ भागको १ भाग वादीले अंश पाउने भएपछि सो रुपैयाँ वादीले मात्र पाउँछ भन्न नभएको र गंगाबहादुरले पनि रु. १२००। लिएको भनी प्रतिउत्तरमा लेखिएको सोसमेत जम्मा रु. २४००। को ३ भागको १ भाग रु. ८००। का दरले पाउने भई सो रुपैयाँ कट्टा गरी बाँकी रु. ४००। प्र. गणेशबहादुरले आशालालउपर नालेस गरेमा कपाली सरह पाउने ठहर्छ भन्नेसमेत ०१८।८।२९ मा डिभिजन बेञ्चबाट फैसला भएको रहेछ ।
२३. ९८ सालको लिखत अड्डाले सद्दे ठहराई सकेको छ । बण्डापत्र पास नभए पनि फुल बेञ्चबाट भएको फैसलामा घरायसमा बण्डा गरी आ–आफ्नो भाग भोगै बिक्री भएमा त्यस्तो व्यवहार सदर गरी फैसला भएको हुनाले डिभिजन बेञ्चबाट भएको फैसला चित्त बुझेन भन्नेसमेत गणेशबहादुरको निवेदनपत्रमा “यसमा छोडपत्र रजिष्ट्रेशनका ३ नं.बमोजिम पास गर्नुपर्ने नपर्ने के हो ? पास गर्नुपर्ने भए त्यसको नतिजा के हुन्छ ? नपर्ने भए के ठहर हुन्छ ? कानूनी प्रश्न हुनाले त्यसको निर्णयको लागि दोहर्याउने निस्सा दिएको छ । लगतमा दर्ता गरी दुवै थर झगडीया राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०१८।१०।२६ मा श्री माननीय प्रधान न्यायाधीशज्यूबाट आदेश भएको रहेछ ।”
२४. प्रस्तुत मुद्दामा वादी पक्षबाट रहनुभएका विद्वान वकील प्लिडर पूर्णनारायण प्रधानको र प्रतिवादी पक्षबाट रहनुभएको विद्वान वकील एडभोकेट कृष्णप्रसाद भण्डारीको बहससमेत सुनी विचार गर्दा, ९८।४।२० मा ने.रु. १२००। बुझी अंश हक छोडी छोडपत्र गरी दिएको भनेको सो छोडपत्र झुक्याई जालसाजी किर्ते गरेका भन्ने वादीको जिकिर छ । तापनि त्यसतर्फ पत्यारलायकको सबुद वादीले दिन नसकेको हुनाले झुक्याई जालसाजी किर्ते गरेको भन्ने वादी आशालालको दावी मनासिव देखिएन ।
२५. सो ९८।४।२० को कागज सद्दे साँचो व्यवहारको देखिएको र सो कागजमा चल धनमालसमेत बुझेको भन्ने लेखिएको । चल धनमाल बुझेको कागज रजिष्ट्रेशनको ३।४ नं. का ऐनले पास गर्नु नपर्ने भएकाले चल धनमाल अर्थात लत्ता कपडा नगद सुना चाँदीको हकमा सो लिखतबाट वादीले लिईसकेको कायम हुने भएकाले चल धनमालतर्फ बण्डा गरी दिनुपर्ने देखिएन ।
२६. अचल घर जग्गा अंश पाउँ भन्नेतर्फ अंश वापत रु. १२००। बुझी छोडपत्र गरी दिएको लिखत सद्दे ठहरेकाले अंश पाउँ भन्ने वादी पुग्दैन कि भन्नालई सो कागजमा अचल घर जग्गाको फाँट खुलाई बण्डा गरेको र सो बण्डाबमोजिम भोग चलन दर्ता तिरो बिक्री बन्धक गरेको केही नदेखी अंश वापत नगद रु. १२००। बुझी लिई अंशको छोडपत्र गरी दियो भन्ने लेखिएको मात्र देखियो ।
२७. रजिष्ट्रशनको ३ नं. मा देहायमा लेखिएबमोजिमको कागजपत्र गर्दा गराउँदासमेत रजिष्ट्रेशन अड्डामा गई पास गराउनु भन्ने र देहायमा आफ्ना हक छोडी दिएको इत्यादि कागजपत्र भन्ने लेखिएको हुनाले उक्त ऐनले अचल घर जग्गा गैह्रको हक दावी छोड्दा अड्डामा गई पास गराउनुपर्ने देखिन्छ । पास नगराएको सदर नहुने भएकाले अचल घर जग्गाको हकमा बण्डा गरी दिनै पर्ने देखिनआयो ।
२८. सो ९८।४।२० गतेको कागज भएको मितिमा मानु छुट्टिएको कायम गरेतर्फ सो कागजमा ९१ सालमा मानु छुट्टी सकेको भनी वादी आफैले लेखेको हुनाले मानु छुट्टिएको मिति ९१ साल चैत्र महिनाको ठहराउनु पर्ने ९८।४।२० गते ठहराएको मनासिव भन्न भएन ।
२९. वादी मानु छुट्टिएको बखत वादीसमेत ५ जना अंशयिार देखिएको हुनाले र अचल घर जग्गाको हाल बण्डा उठ्ने भएकाले ५ बण्डा गरी दिनुपर्छ कि भन्नालाई आमा र भाईबाट निजहरूको हक लिन खान पाउने ऐनबमोजिम रीतपूर्वकको लिखत गराई राखेको छु भन्न प्रतिवादी गणेशबहादुरले नसकेको र यिनै वादी प्रतिवादीहरूको नीतिपूर्वक बण्डापत्र भई छुट्टिएको देखिन नआएको हुनाले ५ बण्डा लाग्छ भन्न मनासिव नदेखिई वादी १ प्रतिवादी गणेशबहादुर १ प्र. गंगाबहादुर १ समेत ३ जना अंशियार देखिएको हुनाले अंशबण्डाको ६ नं. का ऐनबमोजिम ३ अंश हुने ठहर्छ ।
३०. वादी आशालालले अंश वापत भनी रु. १२००। लिई ९८।४।२० मा कागज गरी दिएको देखिएको र प्र. गंगाबहादुरले पनि २०००।६।११ गते अंश वापत भनी रु. १२००। बुझी लिएमा साबितै भएको हुनाले सो रुपैयाँको हकमा उक्त लेखिएबमोजिम अंशबण्डा हुने भएपछि अंश वापत भनी लिएको रुपैयाँ निजहरूले पाउने । अचल घर जग्गाको अंशमा कट्टामट्टा गरी अंश गरी दिनुपर्ने ठहर्छ ।
३१. माथि लेखिएका कारण परिबन्दबाट वादी आशालाल ९१ साल चैत्र महिनामा मानु छुट्टिएको मिति कायम गर्नुपर्नेमा ९८।४।२० गते मानु छुट्टिएको ठहराएको शुरु अपील डिभिजन बेञ्चको र ५ बण्डा गर्ने गरेको शुरुको हाकिम विचारीको मनासिव देखिएन । वादीले लिएको रु. १२००। र प्र. गंगाबहादुरले लिएको रु. १२००। समेत जम्मा रु. २४००। को ३ खण्ड गरी वादीले पाउने रु. ८००। कटाई बाँकी रु. ४००। प्रतिवादी गणेशबहादुरले बाँकी वा कपाली सरह लिन पाउँछ भनी डिभिजन बेञ्चको फैसलामा लेखिएको हकमा उक्त लेखिएबमोजिम वादी र प्र. गंगाबहादुरले ने.रु. १२००। का दरले लिएको रुपैयाँ निजहरूको अंशमा नै कट्टा हुने भएकोले डिभिजन बेञ्चको फैसलाबमोजिम गर्नु पर्दैन । अरु इन्साफ मनासिव छ । तपसीलको कुरामा तपसीलबमोजिम गर्नु।
तपसील
यो फैसलाबमोजिम वादी आशालाल ९१ साल चैत्र महिनामा मानु छुट्टिएको मिति कायम गरी अंशबण्डा गरी दिनु भनी र अंशबण्डा हुँदाको फीतर्फ कोर्टफी सवालबमोजिम गर्नु भनी पक्षहरूलाई तारेख तोकी यो मिसिल काठमाडौ देवानी इलाका अदालतमा पठाई दिनु ....................१
वादी आशालाल के रु. १२००। को छोडपत्र जालसाजी किर्ते भनेमा किर्ते कागजको १३ नं. ले सयकडा २५ ले रु. ३००। र साक्षी जवान ३ के ऐ. १६ नं. ले तजविजी रु. १० का दरले रु. ३०। समेत जम्मा रु. ३३०। दण्ड हुने काम भई नसकेकाले किर्ते कागजको ७।१६ नं. ले आधी रु. १६५। सजाय हुने कुरा पोली साबित गर्न नसकेकाले ऐ. २२ नं. ले आधा रु. ८२।५० शुरु दण्ड र अपील गरेमा हा.का. १० नं. ले दशौंद रु. ८।२५ दोश्रा अपीलमा ऐ. नं. ले सयकडा ५ ले रु. ४।१३ समेत जम्मा रु. ९४।८८ दण्ड हुनेमा रु. ६०००। को छोडपत्र जालसाजी किर्ते भनेमा भनी शुरु दे.दो. को १३।२।३१ को फैसला र १३।६।१५।१ को लगतले रु. ३८२।५० अपील तेश्रा फाँटका १३।११।११।६ का फैसलाले र १३।१२।२८ का लगतले अपील गरेमा भनी रु. ३८।२० र सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१८।८।२९ का फैसला, ०१८।१९।२१ का लगतले रु. १९।१० समेत जम्मा रु. ४२९।८० दण्ड गरेको सोबमोजिम नलाग्ने भई उक्त लेखिएबमोजिम ९४।८८ मात्र लाग्ने हुनाले रु. ४३९।८० मा लाग्ने रु. ९४।८८ कटाइ बाँकी रु. ३४४।९२ असूल भए फिर्ता र नभए व्यहोरा जनाइ लगत काटी दिनु भनी काठमाडौ देवानी तहसिलमा लगत दिनु ............२
मिसिल नियमबमोजिम गरी बुझाई दिनु .......................३
इति सम्वत् २०१९ साल जेष्ठ १२ गते रोज ६ शुभम् ।