निर्णय नं. २६८४ - लिखत दर्ता बदर

निर्णय नं. २६८४ ने.का.प. २०४३ २०४३ अङ्क – ४
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको दे.पु.नं. ७२३
फैसला भएको मिति : २०४३।४।७।३ मा
पुनरावेदक/वादी : वीरगञ्ज नगर पञ्चायत वडा नं.६ बस्ने कृष्णकुमारी भन्ने चेतकुमारी शाह
विरुद्ध
विपक्षी/प्रतिवादी : जिल्ला झापा अर्जुनधारा गा.पं.वडा नं.४ बस्ने लेखनाथ गुरागाइसमेत
मुद्दा : लिखत दर्ता बदर
(१) अधिकारविहिन व्यक्तिबाट भएको राजीनामा लिखत र सोही आधारबाट भएको दर्ता समेत बदर गर्नुपर्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी र विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।९।२५ को फैसलामा चित्त नबुझेकोले पुनरावेदनको लागि अनुमति पाउँ भनी वादीको परेको निवेदनमा मिति २०४२।२।२ मा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।
२. मेची अञ्चल अदालत पाराखादी गा.पं.वडा नं.२ मा दर्ता भाग भएको दामकाम गर्नलाई विपक्षी मध्येका कृष्णराजलाई मिति २०३३।२।१५।६ मा मञ्जूरनामा गरी दिएकी हुनाले सो साल देखि दामकाम गरी आउनु भएकोमा निज कृष्णराजले सन्तोषजनक काम नगरेकोले दामकामबाट हटाउन परी मिति २०३५।७।५।१ मा दामकाम गरेसम्मको पारिश्रमिक बुझाई दिएपछि दामकाम गर्दा बिक्री भएका बाहेक बाँकी जग्गामा कित्ताहरू खुलाई जग्गा घर र धनमाल बुझाई विभिन्न मुद्दा मामिला समेतका कामलाई वारिसनामा लिखतका कागजमा सीर पुछारमा मेरो सहिछाप भएको व्यहोरा लेखी लिफा थान आठ बाँकी रहेको र मेरा नामको नागरिकता प्रमाणपत्र तथा धनिपुर्जी समेत १ महीनाभित्र बुझाउनु भनेर मलाई दिएको दामकाम गर्ने मञ्जूरनामा बदर छ भन्ने समेत व्यहोराका भर्पाई सरहको उक्त २०३५।७।५ मा लिखत गरी दिनु भएको भाखामा बुझाउन नआएकोले ताकिता गरी रहेको अवस्था कृष्णराजले दामकाम छाडी सकेकोले जग्गा घर बेच्ने र लिने लेखनाथ समेतको मानिसलाई भई रजिष्ट्रेशन गर्दैछ चाँडो आउनु भन्ने प्रमाणका मानिस मध्ये हरिबहादुरले २०३५।९।२२ मा खबर पठाएकोले २०३५।९।२३ गते मालपोत कार्यालयमा आई बुझ्दा विपक्षी कृष्णराजले लिखतमा उल्लेख गरी बुझाएको कित्ता मध्ये कि.नं. ३४१, ३७४, ६७९ को ज.वि.१–१२–५ र कि.नं. ३४१ को कित्तामा बनेको घर कटेरा समेत विपक्षी मध्येका लेखनाथ मोहनप्रसादलाई र कि.नं. ६७८ को जग्गा चन्द्रप्रसादलाई कि.नं. ६५८ मध्ये ०–४–१० को जग्गा दातारामलाई कि.नं. ६५७ मध्ये ०–३–० ठगबहादुरलाई भर्पाई कागजले बदर भइसकेको मञ्जूरनामा कागजबाट २०३५।८।२२ मा राजीनामा पारीत गरी लिनु दिनु गरेको २०३५।९।२४ मा थाहा पाएको र हक नपुग्ने व्यक्तिबाट लिनु भएको मेरो सम्पत्ति फिर्ता गर्नु होस् भनी विपक्षी लेखनाथ समेतलाई भन्दा ठगबहादुर दातारामले जग्गा फिर्ता दिन मञ्जूर गरेकोले निजहरू बाहेक लेखनाथ चन्द्रप्रसाद मोहनप्रसाद कृष्णराजका हकमा ज.मि.को १८ नं. बमोजिम फिराद गर्न आएकी छु । अनाधिकार मिति २०३५।८।२२ मा विपक्षीहरूले र.नं. ७३७ मा गरेको राजीनामा लिखत र दर्ता समेत बदर गरिपाउँ भन्ने मिति २०३६।३।१९ को कृष्णकुमारी भन्ने चेतकुमारी शाहको मिति २०३६।३।१९ को फिरादपत्र ।
३. सर्वप्रथम कृष्णकुमारी भन्ने मानिस कसरी चेतकुमारी हुन गयो कारण उल्लेख गर्न नसकेको र दर्ता श्रेस्तामा चेतकुमारी भन्ने नदेखिएकोले वादीको उजूरी दायर रहन सक्ने अवस्था देखिँदैन । वादीलाई प्रतिवादी कृष्णराजले भर्पाई गरी दिएपछि अ.बं. को ७१(ग) बमोजिम कार्य हुनुपर्ने सो नभएको र मञ्जूरनामा बदर गराएको समेत नदेखिएका अर्कोतिर यिनै फिरादीले मञ्जूरनामा दिएकै आधारबाट प्र.कृष्णराजले पारीत गरेको २०३५।८।१ को लिखतलाई प्रमाण लगाई मानकुमारी काफ्लेसंगको पास मुद्दामा मिति २०३५।९।२६ गते यी फिरादीले प्रतिउत्तरपत्र फिराएका छन् । यसबाट प्रमाण ऐन, ०३१ को दफा २४ अनुसार मञ्जूरनामा सदर भएको भन्न मिल्दैन । त्यसरी फिरादीका हक स्थापित भइरहेको जग्गाको मञ्जूरनामा बमोजिम बिक्री गर्ने कृष्णराजलाई हामी लेखनाथ मोहनप्रसादले रु.२५,०००।– गनी गनाउ गरी दिई दावीको जग्गा पारीत गरी लिएको हो । गैरकानुनी अनाधिकार रजिष्ट्रेशन गराई लिएको भए दावी ठगबहादुर उपर पनि दावी लिन सक्नु पर्ने सो समेत नहुँदा दामकाम नियुक्ति गरी मञ्जूरनामा पाउने प्रतिवादी कृष्णराजबाट पारीत गरी लिएको पारापोपी गा.पं.वडा नं.२(क) कि.नं. ३४१, ६७४, ६७९ को ज.वि.१–१२–५ र कि.नं. ३१ को कित्तामा बनेका घर समेत पास दर्ता बमोजिम सदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी लेखनाथ मोहनप्रसाद समेत २ जनाको संयुक्त प्रतिउत्तरपत्र ।
४. वादीका नाममा झापा पाराखापी अन्तर्गतको जग्गा बेच विखन गर्न र बाली उठाउन समेत पाउँने गरी २०३३।२।१५ मा अख्तियारनामा पारीत गरी लिएको र अ.बं.को ७१(ग) बमोजिम सो कागज बदर नभएसम्म अख्तियारनामा कागज पूरा मान्नु पर्ने हुँदा कि.नं. ३४१, ६७४, ६७९ को ज.वि. १–१२–५ को जग्गा रु.२५,०००।– मा लेखनाथ मोहनप्रसादलाई बिक्री गरी रुपैयाँ वादीलाई बुझाएको हुँदा ०३५।७।५ मा वादीलाई मैले कागज गरी दिएको भए उसै बखत दामकाम गर्न दिएको अख्तियारनामा कागज बापत दरपीठ हुनुपर्ने सो समेत नहुँदा वादी दावी झुठ्ठा हुने भन्ने समेत व्यहोराको कृष्णराज उपाध्यायको प्रतिउत्तरपत्र ।
५. अख्तियारनामा बदर गराउनेतर्फ अ.बं. ७१(ग) बमोजिमको कार्यविधि वादीले अपनाएको नदेखिएको र बदर भइसकेको भनेको अख्तियारनामा दामकामबाटै प्रतिवादी कृष्णराजले भीमबहादुर काफ्ले समेतलाई ०३३।५।८ मा पास गरी दिएको लिखतलाई स्वीकार गरी भोटकुमारी काफ्लेसँगको फौ.नं. १३४ को जालसाज मुद्दामा यी फिरादीले प्रतिउत्तर फिराएका देखिँदा अख्तियारनामा कागज बदर भएको नदेखिएकोले सो कागज अनुसार गरेको काम कारवाही बदर हुन नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको झापा जिल्ला अदालतको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी कृष्णकुमारी भनेकी चेतकुमारी शाहको मेची अञ्चल अदालतमा परेको पुनरावेदन ।
७. आफूलाई अधिकार नभएको पारीत गर्न कार्यबाही गरेको देखिँदा साहू लेखनाथ भई कृष्णकुमारीको तर्फबाट कृष्णराजले गरी दिएको रु.२५,०००।– का मिति २०३५।८।२२ को पारीत लिखत बदर हुने ठहर्छ र सो लिखत बदर भएको ठहर भएकोले सो पारितको आधारमा भएको दर्ता समेत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको फैसला ।
८. उक्त इन्साफमा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी लेखनाथ गुरागाई १, मोहनप्रसाद धिताल १, समेत २ जनाको छुट्टै व्यहोरा लेखी इन्साफमा चित्त बुझेन भन्ने कृष्णराज उपाध्यायको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन पर्दा अनुमति प्रदान गरिएको छ, भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश ।
९. हक हस्तान्तरण गर्ने जग्गा पारीत भएको अड्डामा रहने सार्वजनिक लिखत देखिएको र सो लिखतलाई बदर नगराए सम्म परस्परमा कृष्णकुमारी र कृष्णराज भएको २०३५।७।५ को घरसारको लिखतबाट अचल सम्पत्ति हक हस्तान्तरण गर्न पाउने गरी भएको अख्तियारनामा मञ्जूरनामा बदर भएको भनी सम्झन नमिल्ने हुँदा विधिवत हस्तान्तरण भएको लिखत बदर गर्ने गरेको मेची अञ्चल अदालतको फैसला बदर हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा वादीको निवेदन पर्दा “२०३३।२।१५ मा वादीले प्रतिवादी कृष्णराज उपाध्यायलाई गरी दिएको इच्छा पत्रमा जग्गा बेच विखन गर्न पाउने अख्तियार गरी दिएको देखिन्छ । त्यस्तो अख्तियारनामा दिंदा अ.बं. ७१(ख) नं. अनुसार जिल्ला न्यायाधीशबाट प्रमाणित गराउनु पर्नेमा सो नगराएकोबाट उक्त कागज आधारमा कृष्णराजले बेच बिखन गर्न पाउने कानुनी अधिकार प्राप्त भएको नमिल्नेमा पनि निजले ०३५।७।५ मा गरी दिएको कागजबाट पनि बेच विखन गर्न पाउने अधिकार रहेको नदेखिनाले समेत त्यस्तो बेच विखनको कागज बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको मिति २०४१।९।२५ को निर्णयमा अ.बं. ७१(ख) र रजिष्ट्रेशनको १ नं. समेतको त्रुटि गरेको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ” भन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।
११. नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शिवराज अधिकारी र अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विपक्षीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिन पर्ने हुन आएको छ । कानुनी मान्यता नभएको रीत पुगेको र विपक्षी प्रतिवादी मध्येकै अधिकृत वारिस लिने कृष्णप्रसादले नै सो मञ्जूरी बदर गर्ने गरी गरेको कागजले अधिकार विहिन भइसकेका व्यक्तिले अंश विपक्षी प्रतिवादीहरूलाई मेरा नामको जग्गा बिक्री गरेको बदर गरिपाउँ भन्ने समेत मुख्य वादी दावी भएको पाइन्छ । सो दावी अनुसार गर्न मिल्ने नमिल्ने के रहेछ भनी त्यसतर्फ हेर्दा, वादी पुनरावेदकले प्र. मध्येका कृष्णराज उपाध्यायलाई तत्कालीन रजिष्ट्रेशनको १ नं. अनुसार भनी अधिकृत वारिसनामा भनी २०३३।२।१५ मा भू.प्र.का.बाट पारीत गरी दिएको देखिन्छ । कानुनी स्थिति हेर्दा मुलुकी ऐन सातौं संशोधन २०३४ सालमा आएपछि अ.बं. ७१(ख) मा “अधिकृत वारिस मुकरर गर्दा नेपाल अधिराज्य भित्र भए कुनै जि.न्या. र विदेशमा भए शाही नेपाली राजदूतावास वा वाणिज्य दूतावासका रोहवरमा लेखी निजद्वारा प्रमाणित गराउनु पर्छ” भन्ने कानुनी व्यवस्था रहे भएको पाइन्छ । प्रतिवादीले सो २०३३।२।१५ मा लिएको अधिकृत वारिसनामा लिने कृष्णराजले २०३५।७।५।१ मा नै सो अधिकृत वारिस रद्द गर्ने वादीलाई कागज गरेको पनि देखिन्छ । सोही २०३३।२।१५ को वारिसलाई नै मुख्य अधिकार मानी २०३५।८।२२ मा अन्य प्र.लेखनाथ गुरागाई, मोहनप्रसाद धिताल समेतलाई राजीनामा पारीत गरी दिई सोही आधारबाट निजहरूका नाममा दर्ता भएको देखिन्छ । यस्ता स्थितिमा उक्त लेखिए बमोजिम कानुनी व्यवस्था अनुसारको मान्यता नै नभएको अधिकृत वारिसनामा भएकोमा पनि स्वयं आफैंले नै २०३५।७।१ मा नै सो लिखत बदर रद्द गर्ने गरी कागज गरी दिइसकेको अधिकारविहिन व्यक्तिबाट भएको राजीनामा लिखत र सोही आधारबाट भएको दर्ता समेत बदर गर्नुपर्नेमा सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला तथा लिखत दर्ता समेत बदर भई उल्टी हुने ठहर्छ । तससीलका कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
वादी पुनरावेदक कृष्णकुमारी भन्ने चेतकुमारी शाह के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पू.क्षे.अ.को इन्साफ उल्टी भई लिखत दर्ता बदर हुने ठहरेकाले वादीले क्षे.अ.का मिति २०४१।९।२५ का फैसला बमोजिम यस अदालतमा पुनरावेदन गर्दा मिति २०४२।२।९ मा प्र.लाई भराई दिने भनी लेखिएको रु.३।– धरौटी राखेको सो धरौटी फिर्ता पाउँ भनी वादीको म्यादमा दर्खास्त परे दस्तुर केही नलिई कानुनको रीत पुर्याई फिर्ता दिन भनी शुरु झापा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ....... १
वादी पुनरावेदकले यस अदालतमा पुनरावेदन गर्दा राखेको शुरु कोर्टफी रु.२०।– को सयकडा १५ ले लाग्ने कोर्टफी रु.३।– तीन भराई पाउँ भनी प्र. को यसै सदरहको ज्यथा देखाई म्यादमा दर्खास्त परेमा प्र.कृष्णराज, लेखनाथ, मोहनप्रसाद समेतबाट बराबरका दरले वादी कृष्णकुमारी भन्ने चेतकुमारी शाहलाई भराई दिनु भनी शुरु झापा जिल्ला अदालतमा लेखी पठाउन भनी का.जि.अ.मा लगत दिनु.....२
मिसिल नियमानुसार गरी बुझाइदिनू....३
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४३ साल श्रावण ७ गते रोज ३ शुभम् ।