निर्णय नं. २६८६ - विष खुवाई मारेको ज्यान

निर्णय नं. २६८६ ने.का.प. २०४३ २०४३ अङ्क – ४
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको फौ.पु.नं. ६५५
फैसला भएको मिति : २०४३।२।१६।६ मा
पुनरावेदक/प्रतिवादी : हाल जिल्ला कार्यालय कारागार शाखा त्रिपुरेश्वर काठमाडौंमा थुनामा रहेकी रेशममाया थापा मगर्नी
विरुद्ध
विपक्षी/वादी : तेजबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : विष खुवाई मारेको ज्यान
(१) प्र.को र मृतकको बीचमा पहिलेदेखि मुद्दा परी निजहरू पहिलेदेखिको झगडीया पनि भएको देखिएको र मृतक र अभियुक्तहरू बीचमा बारम्बार घरायसी झगडा पनि भइरहेको देखिन आएका र प्र. गाउँ घरकी अशिक्षित महिला हुनुको साथै निज मृत्युको परिणाम यस्तो हुन्छ भन्ने कुराको साथै आवेशमा आएर मृतकलाई मार्नमा षडयन्त्र गरेको देखिन आएको साथै प्र. ६५ वर्षकी बृद्ध आइमाईलाई जन्मकैद गर्दा चर्को हुन जाने र ६५ वर्षकी महिलालाई ५ वर्षको अवधि नै निजको लागि सजायँ पर्याप्त हुने ।
(प्रकरण नं. २२)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
विपक्षी/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान
आदेश
न्या. बब्बरप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१२।३० को फैसला उपर चित्त नबुझी प्रतिवादी रेशममाया थापा मगर्नीको पुनरावेदन परी पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. मिति ०३७ साल पौष ७ गते आइतबार म गाउँकै बलबहादुर थापाको कोदो कुट्ने मेला गएको थिएँ सो दिन खाना बलबहादुरको घरमा खाएँ बेलुकी मृतक बाबु नरबहादुर थापा मगर जो तामा कोदो पिस्ने बहिनी बेलकुमारी मगर खाना बनाउने गरी सकी बाबुले पिसेको कोदोबाट बनेको खाना खाएपछि पेट पोल्यो भन्दै छटपटाउँने गरी वान्ता समेत गरी बाबु नरबहादुरको ऐ.८ गते विहान १२ बजे परलोक हुनुभएका र बहिनी बेलकुमारीलाई नुनपानी उमाली खुवाई छदाएपछि केही विशेक भई घरमै बसी रहेको र सो खाना सँगुरलाई खुवाउँदा सँगुर पनि मरेको र कुखुरा समेत मेरेको हुँदा मेरा छुट्टी भिन्न भएका कान्छा बाबु र हामीहरूको जग्गा सम्बन्धी झगडा चलेको हुँदा सो जाँतोमा मेरो परिवारले थाहा नपाउने गरी विषालु चीज पिनी छोडी दिएको कान्छी आमा (चेतबहादुरको श्रीमती) उपर शङ्का लागेकोले पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको तेजबहादुर थापाको जाहेरी दर्खास्त ।
३. ०३७।९।७ गते मैले कपडा बुनी रहेको तानमा बुहारी निमकुमारी आई निजको ससुरा मेरो जेठाजुलाई मार्ने विचार उठी बुहारीलाई मुसाको औषधी रु.२।– को किनी लेउ भनी रु.५।– दिई पठाए औषधी र रु.३।– फिर्ता दिई औषधी तेरो ससुरालाई खुवाउन पर्यो भन्दा खुवाउन्न भनी मैले झगडा परेको घरमा गएर हाल्न सक्छु र । तैले हालिदे भनी फकाएर जाँतोको छेउछाउमा हाल्ने भनी औषधी दिई पठाएँ, मैले भैंसी बाँध्ने ठाउँबाट हेरें, भने जस्तो गरी हाल्दै गई बुहारीले सो काम गरेकी मलाई धेरै मान्ने भई हार्न नसकेकी र माइत जान पाउँला भनी लोभिएर हो । पहिले नाइँ भनेकी थिई जे परेका मैले व्यहोरुँला तलाइँ गाल पर्दैन भनेकी हुँ भन्ने समेत व्यहोराको रेशममाया थापाले प्रहरीमा गरेको कागज ।
४. ०३७ पौष ७ गते कान्छी सासूको घरमा गई चुरोट खान मन लाग्यो भने १ खिल्ली खान दिनु भयो १ खिल्ली पैंचो दिनुस् बजार जानुछ ल्याई दिउँला भने पंचो पर्दैन भनी १ खिल्ली दिनु भयो र बजार जाने भए मलाई रु.२।– को मुसाको दबाई ल्याई दिनु भनी रु.५।– को नोट दिनु भयो पसलमा गई मुसाको औषधी रु.२।– को रु.३।– फिर्ता दिएँ औषधी मुसाको लागि भनेर ल्याई दिएकी हुन् भन्ने समेत व्यहोराको निमकुमारीको प्रहरीमा भएको कागज ।
५. ०३७ साल पौष ७ गते दाई विरामी भएको रातभर थाहा पाइन भोलिपल्ट थाहा पाई म पनि सो ठाउँमा मर्ने बेलासम्म छु लाशको अवस्था हेर्दा विषकै कर्तव्यबाट मरेको लाग्यो भन्ने समेत व्यहोराको चेतबहादुरको बयान ।
६. ०३७।९।७ गते बाबुले कोदो पिसी पिठो लगी दिनु भयो मैले ढेडो पकाई बाबु छोरीले मात्र खाएका हुन् मलाई पेट पोल्ने वाक् वाक् लाग्ने भयो र ढोका लगाई सुतें छट्पट् भयो र भित्र बाहिर गर्दै थिएँ माहिला दाइले नूनपानी तताई खान दिँदा पनि कम नभई छादें बाबु पनि पेट पोल्ने वाक् वाक् लाग्ने भएको छ शत्रुले जाँतोमा विष हालि दिएछ जस्तो लाग्यो भन्नु भएको थियो ऐ.८ गते ११ बजे तिर मर्नु भयो मैले अरु औषधी खाइन नून पानीसम्म खाएँ भन्ने समेत व्यहोराको बेलकुमारीको प्रहरीमा भएको कागज ।
७. रेशममायाले नै विष हाली दिएको विश्वास लाग्छ भन्ने समेत व्यहोराको ०३७।९।२२ मा भएको सरजमीन मुचुल्का ।
८. बुहारीबाट मुसा मार्ने औषधी मगाई रेशममायाले औषधी हालेको हुँदा ज्यानसम्बन्धीको १ नं. को अपराध गरेमा ज्यान सम्बन्धीको १३(२) अनुसार सजायँ हुन र निमकुमारीलाई ज्यानसम्बन्धीको २६ नं. अनुसार दावी लिई प्रस्तुत गरेको प्रहरी प्रतिवेदन ।
९. ०३७ पौष ७ गते निमकुमारीलाई मुसाको औषधी किन्न पठाएको जाँतोमा पिसी नरबहादुरलाई खान दिएको भन्ने कुरा मैले भनेको छैन प्रहरीले किन मैले नभनेको कुरा लेखे उनीहरू जानून नरबहादुर कसरी मरेको हो म भन्न सक्दिन, मैले मुसाको विष प्रयोग गरी नरबहादुरलाई मारेको छैन झुठ्ठा आरोपबाट सफाई पाउँ भन्ने समेत व्यहोराको रेशममायाले अदालतमा गरेको बयान ।
१०. ०३७ साल पौष ७ गते आफ्नै घर गोठ बनाउन काठ काट्न दिलबहादुर समेत गई ८ बजे घर पुगी खाना खाई सुतेको हुन मुसा मार्ने औषधी जाँतोमा पिठोमा हाली खुवाएको हैन ०३७।७।९ गते प्रहरीमा बयान दिएको हुँ सोही कागजबाट थाहा हुनेछ भन्ने समेत व्यहोराको चेतबहादुरले अदालतमा गरेको बयान ।
११. प्रतिवादीहरूका साक्षी जवान ५ र सरजमीनका मानिस जवान ६ को बकपत्र भएको रहेछ ।
१२. चेतबहादुर थापा मगर मुसा मार्ने विष खुवाई नरबहादुरलाई मारेमा इन्कार गरेका साक्षीहरूले निर्दोष भनी बकपत्रमा लेखाएकोबाट सफाई पाउने ठहर्छ । निमकुमारी थापा मुसा मार्ने विष किनेर ल्याएको र नरबहादुर मगर विष खुवाई मरेको कुरा थाहा पाई जाहेर नगरी बसेको देखिँदा ज्यानसम्बन्धीको १६ नं.बमोजिम १ वर्ष कैद हुने ठहर्छ । रेशममाया थापा अदालतमा मुसा मार्ने विष खुवाई मारेमा इन्कार गरे पनि प्रहरी र अदालतमा मुसा मार्ने विष किन्न पठाई ल्याएको कुरा सावित भएकी र सरजमीनका मानिसहरूले विष प्रयोग गरी मृत्यु भएको भनी लेखाएको देखिँदा ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम निज रेशममायालाई जन्मकैद हुन्छ । अशिक्षित बृद्ध महिला हुँदा र जन्मकैदको सजायँ गर्दा चर्को पर्ने हुँदा ५ वर्ष मात्र कैद गर्न मनासिब देखिई अ.बं. १८८ नं. बमोजिम राय पेश गरेको भन्ने समेत ०३८।६।२९ को गोर्खा जिल्ला अदालतको फैसला ।
१३. अदालतमा कसूर गरेमा इन्कार रही बयान गरेको छु झुक्यानमा प्रहरीमा भएको साविती बयानको आधारमा दोषी ठहर्याई गरेको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको रेशममायाको क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
१४. यसमा रेशममाया प्रहरीमा सावितीसम्म देखिएको र निमकुमारी इन्कारी रहेको हुँदा शुरु अदालतको इन्साफ फरक पर्ने भएबाट अ.बं.२०२ नं. र क्षे.अ.नियमावली बमोजिम प.क्षे.स.अ.को कार्यालयलाई सूचना दिई नियम बमोजिम गर्नु भन्ने समेत ०४०।१२।२ को क्षे.अ.को आदेश ।
१५. प्र. निमकुमारीलाई शुरुले ज्यानसम्बन्धीको २६ नं. अनुसार १ वर्ष कैद गरेकोमा निजको पुनरावेदन परेको नदेखिँदा निजका हकमा बोली रहनु परेन । मृतक नरबहादुरलाई विष खुवाई मार्नमा रेशममायाको मुख्य हात रहेको मिसिल प्रमाणबाट देखिँदा शुरु जि.अ.ले लगाएको बुँदा प्रमाण आधारबाट समेत प्र.रेशममायालाई ज्यान सं. १३(२) अनुसार जन्मकैद गर्ने गरेको शुरु जि.अ.को फैसला मनासिब ठहर्छ प्र. को पुनरावेदन जिकिर पुग्न सक्दैन । साथै निज प्र.लाई जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले अ.बं. १८८ नं. बमोजिम ५ वर्ष कैद हुनुपर्ने देखि राय व्यक्त गरेका छौं साधक सदरको लागि स.अ.मा पेश गर्नु भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४०।१२।३०।५ को फैसला रहेछ ।
१६. जाहेरवालाको म उपरमा किटानी जाहेर नगरी शङ्काको भरमा जाहेरी दिएको छ मैले नै विष हाली दिई मृतक नरबहादुरलाई मारे मराएको हो भन्ने देख्ने सुन्ने व्यक्ति नत कोही नै छन्, नत निमकुमारीलाई मैले विष खरीद गर्न बचन दिएको कसैले देखे सुनेको छ, निमकुमारीको पोल समर्थन भएको छैन अदालत समक्ष इन्कार बयान छ केवल प्रहरी समक्ष भएको बयानको आधारमा म बृद्धा र अशिक्षित महिलालाई जन्मकैद गर्ने गरी गरेको प.क्षे.अ.को फैसलामा चित्त बुझेन आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत प्र.रेशममायाको जिल्ला कार्यालय कारागार शाखा काठमाडौं मार्फत यस अदालतमा पर्न आएको पुनरावेदन रहेछ ।
१७. खुवाइएको वस्तुमा विष थियो भन्ने कुराको पक्का सबूद आउन सकेको नदेखिएको र खुवाएको बस्तुको रसायनिक जाँच गर्न जिल्ला प्रहरी कार्यालयबाट पठाएकोमा सो जाँचको प्रतिवेदन मिसिल सामेल राख्न सकेको नदेखिएको स्थितिमा विष खुवाई मारेको भन्ने शङ्कारहित सबूद प्रमाणको अभावमा प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सजायँ गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा मु.ऐ.अ.बं. २०२ नं. तथा स.अ.नियमावली बमोजिम छलफल निमित्त उपस्थित हुन भनी म.न्या.का.लाई सूचना पठाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति ०४२।११।२० को आदेश रहेछ ।
१८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रेशममाया थापा मगर्नीको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले मेरो पक्ष रेशममाया उपर किटानी नगरी विष जाँतोमा हाली दिन लगाएको भन्ने कुराको शङ्का गरी जाहेरी दर्खास्त परेको विष हाल्न लगाएको वा भनेको समयमा सुन्ने वा देख्ने चस्मदिद गवाही कोही पनि नभएको, अदालतमा इन्कारी रहेको र प्रहरी समक्ष भएको बयानलाई मात्र आधार बनाई उक्त विषालु पदार्थको परीक्षण नभएको स्थितिमा मेरो पक्षलाई ज्यान जस्तो मुद्दामा अभियोग लगाई जन्मकैद गर्ने गरी गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त फैसला मिलेको छैन उक्त फैसला उल्टी गरी मेरो पक्षले सफाई पाउनु पर्दछ भन्ने र विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले प्रतिवादी रेशममाया थापा मगर्नीले अदालत समक्ष इन्कार बयान गरे तापनि अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान गरेकी उक्त साविती बयानलाई समेत प्रतिवादी निमकुमारीले प्रहरी तथा अदालत समक्ष गरेको बयानबाट पूर्ण समर्थन भएको साथै प्रहरीमा गरेको बयान समेत स्वेच्छा विपरीत भएको भनी कुनै तथ्ययुक्त प्रमाण पुर्याउन नसकेकी र विषालु पदार्थको परीक्षण नगरिएको भन्ने जहाँसम्म विपक्षी विद्वान अधिवक्ताको जिकिर छ सो सम्बन्धमा उक्त विषालु पदार्थ मिसिएको सो कोदोको खाना (ढिडो) खाई मृतक नरबहादुरको मृत्यु पश्चात बहिनी बेलकुमारीलाई वान्ता भएको तथा सुँगुर कुखुरा समेत मरेकोबाट विषालु पदार्थको परीक्षण नगर्दैमा निज प्र.लाई सफाई पाउँन पर्ने स्थिति छैन । यस्तो अवस्थामा विपक्षी विद्वान अधिवक्ताको जिकिर तर्कसंगत छैन प्रतिवादीलाई सजायँ गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै हुँदा सदर हुनु पर्दछ भन्ने समेत गर्नुभएको बहस जिकिरहरू सुनियो ।
१९. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी रेशममायालाई वादी दावी बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
२०. यसमा बाबु मृतक नरबहादुरले जाँतोमा पिसेको कोदोको पिठोबाट बहिनी बेलकुमारीले खाना बनाई खाएपछि पेट पोल्यो भन्दै छटपटाउने गरी र वान्ता समेत गरी नरबहादुरको मृत्यु भएको र सोही खाना खाएपछि बैनी बेलकुमारी समेत पेट पोल्यो भन्दै छटपटाए पछि नुन पानी उमाली खुवाई छदाएपछि केही विशेष भएको र सोही खाना सुंगुरलाई खुवाउँदा सुंगुर पनि मरेको र जाँतोमा बाँकी रहेको कोदो कुखुराले खाँदा कुखुरा समेत मरेकोले कान्छा बाबु चेतबहादुरसंग जग्गा सम्बन्धी मुद्दा परिरहेको र निजै चेतबहादुरकी श्रीमती (अर्थात् कान्छी आमा) को खसीको खुट्टा को कसले भाँची दिएछ, मेरो परिवार उपर नै शंका गरी झै झगडा समेत गरी रहने हुनाले जाँतोमा कुनै विषालु चिज पिसी छोडी दिएको निज रेशममाया उपर शङ्का लागेकोले निज उपर ज्यानसम्बन्धी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको तेजबहादुर थापा मगरको जाहेरी दर्खास्त भएको देखिन्छ । प्रतिवादी रेशममायाले निमकुमारीद्वारा मुसा मार्ने औषधी मगाएकोमा प्रहरी र अदालतमा साविती भई बयान गरेकी र प्रहरी समक्ष बयान गर्दा जेठाजु नरबहादुरलाई मार्नु पर्यो भन्ने विचार उठी निमकुमारीलाई मुसाले ज्यादै सताएको हुनाले बाउन डाँडाको बगुवालीको पसलमा मुसाको औषधी पाइन्छ । रु.२।– को औषधी किनी ल्याउ भनी रु.५।– दिई पठाई ल्याएपछि तेरो ससुरालाई खुवाउनु पर्यो तैले नै भित्र गई कतै खाने कुरामा हालिदे जो परे म व्यहोरुला भन्दा त्यस्तो हाल्न मिल्ने अवस्था (प्वाल) छैन भनेकीले त्यसो भए जाँतोमा हालिदे भनेपछि उल्ले गई जाँतोमा हाली मैले भैंसी बाँध्ने ठाउँबाट हेरे भन्ने समेतको बयान गरेको देखिन्छ । साथै प्रतिवादी निमकुमारीले प्रहरी र अदालत समक्ष बयान गर्दा निज रेशममायाले मुसा मार्ने औषधी किनी ल्याउ भनेकोले औषधी किनी ल्याएको र मूसाको औषधी जाँतोमा हाली सकेपछि कसैलाई नभन्नु उ मरेपछि उसको सम्पत्ति तिमीहरू र हामीहरू बाँडेर खाउँला र तँलाई माइती घर डोल्पा जान परे जति चाहिन्छ बाटो खर्च पनि दिउँला भनेकी भन्ने कुरा समेत बकी लेखाई दिएको पाइन्छ । प्रतिवादी रेशममायाको उक्त प्रहरी समक्ष भएको साविती बयानलाई प्रतिवादी निमकुमारीको बयानबाट समेत समर्थन भएको मिसिल प्रमाणबाट प्रष्ट देखिन्छ । प्रतिवादी रेशममायाले अदालत समक्ष बयान गर्दा सवाल ३ को जवाफमा प्रहरी प्रतिवेदन जाहेरी दर्खास्त सरजमीन मुचुल्का र प्रहरीमा भएको कागज समेत मलाई यस अदालतबाट पढी बाँची सुनाउँदा सुनि पाए प्रहरीमा गरेको बयान कागज मेरो राजी खुसीबाट गरे गराएको भन्दै विष प्रयोग गरी नरबहादुरलाई मारेको छैन प्रहरीले झुठ्ठा कुरा लेखाएको हो भनी बयान गरेको देखिन्छ । मृतक नरबहादुरसँग अंश सम्बन्धमा झै झगडा रहेको भन्ने समेत निज प्र.रेशममायाले गरेको अदालत समक्षको बयानको सवाल ४ को जवाफमा उल्लेख गरेको समेत देखिन्छ ।
२१. प्र.रेशममायाले जाँतोमा उक्त विष हाल्न लगाएपछि उक्त जाँतोमा पिसेको कोदोको पिठोबाट पकाएको (ढिडो) खाना खाएपछि मृतक नरबहादुरले वान्ता गरेको त्यस्तै सोही खाना सुंगुर तथा कुखुराले खाएपछि कुखुरा समेत मरेको भन्ने कुरा मिसिल प्रमाणहरूबाट प्रष्ट देखिएबाट मृतक नरबहादुरको मृत्यु उक्त विषको प्रयोगबाट भएको भन्ने सिद्ध हुन आएकोले प्रतिवादीले प्रयोग गरेको मुसा मार्ने औषधीबाट मर्ने नरबहादुरको मृत्यु भएको भनी प्र.रेशममायालाई मु.ऐन ज्यानसम्बन्धी महलको १३(२) बमोजिम जन्मकैद गर्ने ठहर गरेका शुरु जि.अ.को फैसलालाई सदर गरेको इन्साफ पश्चिमाञ्चल क्षेत्रीय अदालतको मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
२२. अब प्रतिवादी अशिक्षित नारी ६३ वर्षकी बृद्ध भएकीलाई उक्त सजायँ गर्दा चर्को पर्ने हुँदा अ.बं. १८८ नं. अनुसार ५ वर्ष कैद हुन पर्ने देखी राय व्यक्त गरेको क्षे.अ.को फैसला रायतर्फ विचार गर्दा प्रतिवादी रेशममाया थापा मगरको लोग्ने प्र.चेतबहादुर थापा मगरको र मृतक नरबहादुरको बीचमा पहिलेदेखि मुद्दा परी निजहरू पहिलेदेखिको झगडीया पनि भएको देखिएको र मृतक र अभियुक्तहरू बीचमा बारम्बार घरायसी झगडा पनि भइरहेको देखिन आएका र प्र.रेशममाया गाउँघरकी अशिक्षित महिला हुनुको साथै निज मृत्युको परिणाम यस्तो हुन्छ भन्ने कुराको साथै आवेशमा आएर मृतक नरबहादुरलाई मार्नमा षडयन्त्र गरेको देखिन आएको साथै प्र.रेशममाया ६५ वर्षकी बृद्ध आइमाईलाई जन्मकैद गर्दा चर्को पर्ने हुनजाने र यसरी ६५ वर्षकी महिलालाई ५ वर्षको अवधि नै निजको लागि सजायँ प्रयाप्त हुने देखिएकोले निज प्र.रेशममाया थापा मगरलाई ५ वर्ष मात्र कैद गर्ने गरी मुलुकी ऐन अ.बं.१८८ नं. बमोजिमको राय समेत लगाई पेश भइआएको प.क्षे.अ.को इन्साफ राय मनासिब ठहर्छ । निज प्र.रेशममाया थापा मगरनी मिति ०३७।९।१६ देखि प्रहरी हिरासतमा रहेको देखिएको र उपरोक्त उल्लिखित कैद मिति ०४२।९।१५ मा भुक्तान हुने भई उक्त ठेकिएको कैद म्याद समेत भुक्तान भइसकेको मिसिलबाट देखिँदा निज प्र.रेशममायालाई यस मुद्दा बाहेक अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए प्रस्तुत मुद्दाबाट छुट्कारा दिनु भनी थुनामा निज रहेको जि.का.कारागार शाखा काठमाडौंमा जानकारी दिई मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४३ साल ज्येष्ठ १६ गते रोज ६ शुभम् ।