शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३१२३ - खिचोला

भाग: २९ साल: २०४४ महिना: असोज अंक:

निर्णय नं. ३१२३ ने.का.प. २०४४ अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्रप्रसाद सिंह

सम्वत् २०४२ सालको दे.पु.नं. ७०७७०८

मुद्दा : खिचोला ।

 

पुनरावेदक/वादी: का.जि.का.न.पं. वार्ड नं. ३ बस्ने नरेश्वरानन्द वैद्य ।

विरुद्ध

पुनरावेदक/प्रतिवादी:का.जि.का.न.पं. वार्ड नं. ३० महावौद्ध बस्ने रमेशचन्द्र वैद्य ।

         ऐ.ऐ बस्ने रन्जन वैद्य ।

         ऐ.ऐ बस्ने रामेश्वरानन्द वैद्य ।

फैसला भएको मिति: २०४४।४।१७।१

    न.नं. १४ को पूर्वपट्टि न.नं. ६ को प्र्र्र्र्रतिवादी रामेश्वरानन्दको जग्गा भएको र प्रतिवादीको न.नं. ६ को जग्गालाई पश्चिम र दक्षिण तर्फबाट पर्खालले छुट्याई दिएको र सो पर्खाल नाघी प्रतिवादीको न.नं. १४ मा हक कायम हुने स्थिति नदेखिएकोले न.नं. १४ को जग्गा जोडिएकै देखिएकोले न.नं. १४ को जग्गा वादीको कायम गर्ने गरी शुरुको सदर गरेको वागमती अञ्चल अदालतको इन्साफलाई मनासिब ठहर्‍याई म.क्षे.अ. ले गरेको निर्णय मिलकै देखिने ।

(प्रकरण नं. १५)

    वादीको न.नं. १३ को घर सो घरसंग वादीको कायम हुन आएको न.नं. १४ को जग्गा न.नं. ५ को कृष्ण मन्दिर संग उत्तर तर्फको न.नं. १२ को साझा चोक समेत जोडिएको, विवादित न.नं. ५ को कृष्ण मन्दिरमा वादीले आवत जावत गर्न सक्ने नै देखिएको, न.नं. ३ र न.नं. ६ को जग्गालाई पश्चिम तर्फबाट प्रतिवादीहरूले पर्खाल लगाई छुट्याएको छ, त्यसरी नै न.नं. ५ को पश्चिम तर्फ पर्खाल लगाई छुट्याएको पनि देखिन नआएकोबाट दुवै पक्षको पूर्खाले निर्माण गरेको न.नं. ५ को कृष्ण मन्दिर वादी प्रतिवादी दुवै पक्ष समेतको साझा देखिने ।

(प्रकरण नं. १५)

पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी एवं विद्वान अधिवक्ता श्री सिताराम तिवारी

पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

उल्लेखित मुद्दाःX

फैसला

न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.   का.न.पं. वार्ड नं. ३० मेरो घर पूर्व म समेतको साझा कृण मन्दिर र रामेश्वरानन्दको जग्गादेखि पश्चिम आफ्नै जग्गादेखि उत्तर मिलापत्रबाट आफ्नो ठहर भएको २ फिट जग्गा हाल नापी भएको साझा इनारमा गाभिएको जग्गादेखि दक्षिण यति ४ किल्ला भित्रको साविकमा पूर्व उत्तर २ फिट २ इन्च र पूर्व दक्षिण फराकिदै गएर ३ फुट ६ इन्च र उत्तर दक्षिण लम्वाई ११ फुटमा म फिरादीले का.न.पं. बाट पास भएको नक्शामा हेरफेर गरी घर बनाउँदा घरको क्षेत्रफल घट्न गई पूर्व उत्तरमा २ फिट २ इन्चको साटो ३ फिट २ इन्च हुन गई करीव ४३ वर्ग फिट कायम भएको जग्गामा म फिरादीको साविक देखिको स्ववासी जग्गामा २०३३।११।११।३ मा विपक्षी रामेश्वरानन्दसंग का.न.पं. समक्ष भएको मिलापत्र का.न.पं. बाट नै ०३४।८।२३।४ मा पास भएको नक्शा ०३४।८।२० मा म दिनेश्वरानन्द संग भएको मिलापत्रबाट समेत पुष्टि हुन्छ । का.न.पं. बाट नक्शा पास गरी घर बनाउन लाग्दा विपक्षी रमेश चन्दले नक्शा विपरीत घर बनायो भनी उजूर परी छानबीन गर्दा घरको लम्वाई घटी गरी बनाएको आधार लिई उपत्यका नगर विकास योजना कार्यान्वयन समितिबाट म फिरादीलाई रु. १,५००।जरिवाना गरेकोमा सो उपर विपक्षी रामेश्वरानन्दको पुनरावेदन परी निर्माण तथा यातायात राज्य मन्त्री श्री डम्बरबहादुर मल्लको इजलासबाट उ.नि.वि.यो.का.स. बाट भएको निर्णय मनासिब ठहर्‍याई विपक्षीको पुनरावेदन तामेलीमा राखिदिने निर्णय भएको र तेरो मेरो सम्बन्धी विषयमा अदालतमा जानु भनी ०३६।१०।७ मा सुनाएको निर्णय अन्तिम छ । यस निर्णयबाट मेरो घर पूर्व साविकमा रहेको जग्गा भन्दा बढी जग्गा भएको प्रष्ट छ । मेरो जग्गादेखि पूर्व साझा चोक देखि पश्चिम साझा चोक र रामेश्वरानन्दको जग्गा देखि दक्षिण आफ्नो र  रामेश्वरानन्दको जग्गाको उत्तर यति ४ किल्ला भित्रको बराजु राजबैद्य श्री गजाधर वैद्यले स्थापना गरेको साझा कृष्ण मन्दिरमा म समेतको सो मन्दिरमा पूजा गर्ने हक हुँदा हुँदै विपक्षीले मन्दिरलाई समेत एकलौटी पारी नापीमा रन्जन वैद्यका नाउँमा दर्ता गर्ने निर्णय भएकाले विपक्षीले गरेको खिचोला मेटाई मेरो हक भोगको जग्गा साथै कृष्ण मन्दिर सम्बन्धमा समेत म फिरादीको नाउँमा संयुक्त दर्ता गरिपाउँ भन्ने व्यहोराको फिराद दावी ।

३.   वादी दावीको जग्गा विपक्षीको हक भोगको जग्गा होइन, हामीहरूको हक भोगको जग्गा हो । विपक्षीले घर बनाउन घडेरी दिनुहोस् भनी माग गरेकोमा दाजु भाइका सन्तान भएकाले घर बनाउन जग्गा सम्म दिएको हो । बढी जग्गा पाउने उद्देश्यले यो झुठ्ठा उजूर गरेको मात्र हो । विपक्षीले हक प्राप्तीको कानूनी श्रोत र प्रमाण दिन नसकी नक्शा दर्खास्त र सो सम्बन्धमा उठेको मिलापत्र लगायतको गैरकानूनी कारवाहीको हवाला दिएको छ । नगरपञ्चायतलाई हक बेहकमा निर्णय गर्ने अधिकार नभएको हुँदा आफ्नो अधिकार नभएको कुरामा मिलापत्र गराउन पनि कानूनले नमिल्ने हुँदा विपक्षीले भर गर्नु भएको मिलापत्रबाट कानूनी हक श्रृजना हुन सक्ने स्थिति नै छैन । नगर विकास योजना कार्यान्वयन समितिको निर्णय उपर परेको पुनरावेदनमा माग दावा गरेको भन्दा बढी कुरामा कसलाई हक बेहक सुनाएको हो उल्लेख नभएको, हक बेहकमा नापी भएको भन्दा अगाडिको नापीमा विपक्षी समेतले नापी भएको कुरामा मन्जूर गरी मिलापत्र रुपको संयुक्त दस्तखत गरी आफ्नो घर घडेरी अडेको जग्गा भन्दा बढी जग्गा हात पार्ने कुनियत गरी मेल मिलापको वातावरण पुनः प्रत्यावर्तन हुन गएको देखिन्छ । विपक्षीले मन्दिर भनेको ठाउँमा मन्दिर छैन । देवल मात्र छ । मूर्ति नभएकोले सो मन्दिरको रेखदेख हामीले गरी मर्मत इत्यादी गरी त्यस भित्र नुहाउने, कपडा धुने आदि काम गरी हालसम्म हामीले नै भोग गर्दै आएका छौं । कि.नं. १९१६ मा कृष्ण मन्दिर म रन्जनको नाउँमा नापी गराएको कुरामा चारै जना भाइहरूले कित्ता फोड हुँदा सहमति जनाएबाट कुनै विवाद देखिन्न। साझा भए सबैको साझा हुने कुरा आउँदथ्यो र वादीले मात्र म रन्जनको नाउँमा एकलौटी नापी भएको कुरामा उजूर गरेको अन्य वादी समानको अंशियारहरूले उजूर नगरेबाट वादीले मात्र धर्म छाडी झुठ्ठा कुरा लिई अदालतमा आएको प्रष्ट हुन्छ । फिराद दावी झुठ्ठा हुँदा अ.बं. ८२ नं. बमोजिम खारेज गरिपाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र ।

४.   वादी दावी बमोजिम कि.नं. १९१४ को वादीको घरजग्गाको ४३ वर्गफुट जग्गा प्रतिवादीले कि.नं. १९१६ मा घुसाई खिचोला गरेको देखिँदा यसमा वादीको हक कायम हुने ठहर्छ र कृष्ण मन्दिरमा वादीको दावी पुग्न सक्दैन, प्रतिवादीको हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ. को मिति ०३८।१।४ को फैसला ।

५.  हामीलाई आंशिक रुपमा हराई भएको उक्त फैसलामा चित्त बुझेन । शुरुको फैसला त्रुटिपूर्ण र अन्यायपूर्ण हुँदा प्रतिवादी जिकिर अनुसार वादी दावीको जग्गा हाम्रै कायम गरिपाउँ भन्ने समेत व्यहोराको संयुक्त पुनरावेदनपत्र ।

६.   वादी दावीको ४३ वर्गफुटको जग्गा प्रतिवादी कि.नं. १९१६ मा घुसाई खिचोला ठहर्‍याएकोे शुरुको इन्साफ मिलेको देखिएकाले प्रतिवादी पुनरावेदक रामेश्वरानन्दको पुनरावेदन जिकिर पुग्न सक्दैन । साक्षीको बकाईबाट मन्दिर साझा भन्ने लेखाई दिएको देखिएकोले सो मन्दिर साझा नजनाई प्रतिवादीले एकलौटी दर्ता गरेको देखिँदा उक्त मन्दिरमा वादीको समेत संयुक्त साझा कायम हुन्छ । कृष्ण मन्दिर प्रतिवादीको मात्र हक कायम गरेको शुरुको इन्साफ मिलेको देखिएन भन्ने समेत व्यहोराको वा.अं.अ. को ०३८।६।२९ को फैसला ।

७.  वागमती अञ्चल अदालतले गरेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उपर चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी मिति ०३९।१२।२८।२ मा मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदनपत्र ।

८.   वा.अं.अ. ले गरेको फैसलामा प्रमाणको मूल्यांकन एवं कानूनी त्रुटि समेत विद्यमान रहेको देखिन आएकोले निवेदकलाई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदन गर्न अनुमति प्रदान गरिएको छ । विपक्षी र मिसिल झिकाई नियमानुसार डिभिजन बेञ्जमा पेश गर्नु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जको मिति ०३९।१२।२४ को आदेश ।

९.   विवादित न.पं. ५ को मन्दिर प्रतिवादी रामेश्वरानन्दको पूर्खाले बनाएको भन्ने र प्रतिवादीको भोगचलन छैन भन्ने तथ्ययुक्त वादी दावी नभएको न.नं. ५ को मन्दिर रहेको जग्गा प्रतिवादीको न.नं. ३ र ६ को बीचमा एकै मिलान भई रहेकोबाट वादी दावी अनुसार वादीकै भोगचलनमा रहेको भन्ने पुष्टी हुन आएन, यस स्थितिमा विवादित न.नं. ५ को जग्गा साझा कायम गरेको वा.अं.अ. को इन्साफ मनासिब देखिएन । साथै विवादको न.नं. १४ को जग्गा सम्बन्धमा यिनै पक्ष विपक्षीको बीचमा मुद्दा परी ०३३।११।११ मा मिलापत्र भएको समेतबाट उक्त जग्गा वादी दावी अनुसार प्रतिवादीले कि.नं. १९१६ मा घुसाई नापी गराएको देखिँदा प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको शुरु जि.अ. को इन्साफ सदर गरेको हदसम्म वा.अं.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ. को मिति ०४१।११।२७।१ को फैसला ।

१०.  म.क्षे.अ. को उक्त फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३४ समेतको त्रुटि हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको निवेदन यस अदालतमा पर्न आएको रहेछ ।

११.  यसमा विवादित जग्गा ०३४ सालमा नापी हुँदा न.नं. १४ को जग्गा विपक्षीको कि.नं. १९१४ मा समावेश नभई प्रतिवादीहरूको हक भोगचलनको हुँदा १९१६ मा नै नापी भएको देखिन्छ । वादीको जग्गा भएको भए नापी गराउँदा उक्त विवादित न.नं. १४ को जग्गा आफ्नो कि.नं. १९१४ मा पारी नक्शा गराउनु पर्ने स्थिति देखिन्छ । सो बाहेक नापी हुँदा विपक्षी वादी पनि सो ठाउँमा उपस्थित भई आफ्नो जग्गा १९१४ को सीमाना भित्रको हो भनी सही गरी सकेको कुरालाई पछि सोही पक्षले अस्वीकार गर्न पाउने देखिँदैन । यस्तो स्थितिमा भएको प्रस्तुत विवादमा प्रतिवादीले खिचोला गरेको ठहर्‍याई गरेको म.क्षे.अ. को इन्साफमा प्रमाण ऐन, २०३१ को दफा ३४ समेतको त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०४२।१।२५ को आदेश रहेछ ।

१२.  म.क्षे.अ. को उक्त फैसलामा प्रमाण ऐन, ०३१ को दफा ५४ समेतको त्रुटि हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले यस अदालतमा निवेदन दिएको रहेछ ।

१३.  हाल विवादग्रस्त मानिएको कृष्ण मन्दिर मन्दिर नै हो र सो कृष्ण मन्दिर यिनै वादी प्रतिवादीका बाजे बराजुले बनाएको कुरामा पनि विवाद देखिँदैन । तर सो कृष्ण मन्दिरमा प्रतिवादीको कसरी हक हुन आयो भन्ने कुरा प्रतिउत्तरमा समेत खुल्न नआएको र मेरो एकलौटी हो भनी प्रतिवाद गरी प्रमाण पुर्‍याउने भार प्रतिवादीमा नै रहने हुँदा विना प्रमाण नै विवादित कृष्ण मन्दिर प्रतिवादीको मात्र एकलौटी हकको ठहर्‍याएको म.क्षे.अ. को फैसलामा प्रमाण ऐनको दफा २६ को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४२।१।५।४ को आदेश रहेछ ।

१४.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी  पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी एक सिताराम तिवारीले र पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता द्वय श्री मुकुन्द रेग्मी एवं सर्वज्ञरत्न तुलाधरले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१५.  यसमा सर्भे नापीमा वादी प्रतिवादीले गरेको मिति ०३४।८।१।१५ को कागजमा जग्गा वादी प्रतिवादीहरू आफू आफूले छुट्याएको भन्ने प्रष्ट रुपमा उल्लेख भएको नदेखिँदा र नापीले चित्त नबुझेमा अदालतमा जानु भनी सुनाएको आधारबाट फिराद परेको देखिन्छ । झगडा परेको न.नं. १४ को सम्बन्धमा विचार गर्दा न.नं. १४ को पूर्वपट्टि न.नं. ६ को प्रतिवादी रामेश्वरानन्दको जग्गा भएको र प्रतिवादीको न.नं. ६ को जग्गालाई पश्चिम र दक्षिण तर्फबाट पर्खालले छुट्याई दिएको र सो पर्खाल नाघी प्रतिवादीको न.नं. १४ मा हक कायम हुने स्थिति नदेखिएकोले न.नं. १४ को जग्गा जोडिएकै देखिएकोले न.नं. १४ को जग्गा वादीको कायम गर्ने गरी शुरुको सदर गरेको वागमती अञ्चल अदालतको इन्साफलाई मनासिब ठहर्‍याई म.क्षे.अ. ले गरेको निर्णय मिलेकै देखियो । अब अर्को विवादित न.नं. ५ को कृष्ण मन्दिरको सम्बन्धमा विचार गर्दा कृष्ण मन्दिर भएको र सो मन्दिर वादी प्रतिवादी दुवै पक्षमा पूर्खाले बनाएकोमा कुनै विवाद देखिँदैन । वादीको न.नं. १३ को घर सो घरसंग वादीको कायम हुन आएको न.नं. १४ को जग्गा न.नं. ५ को कृष्ण मन्दिरसंग उत्तरतर्फको न.नं. १२ को साझा चोक समेत जोडिएको, विवादित न.नं. ५ को कृष्ण मन्दिरमा वादीले आवत जावत गर्न सक्ने नै देखिएको, न.नं. ३ र न.नं. ६ को जग्गालाई पश्चिमतर्फबाट प्रतिवादीहरूले पर्खाल लगाई छुट्याएको छ । त्यसरी नै न.नं. ५ को पश्चिमतर्फ पर्खाल लगाई छुट्याएको पनि देखिन नआएकोबाट दुवै पक्षको पूर्खाले निर्माण गरेको न.नं. ५ को कृष्ण मन्दिर वादी प्रतिवादी दुवै पक्ष समेतको साझा देखिन आयो । अतः उक्त विवादित न.नं. ५ को कृष्ण मन्दिर साझा कायम नगरी प्रतिवादीको मात्र एकलौटी हक कायम हुने ठहर्‍याएको सम्म म.क्षे.अ. को इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ । सो कृष्ण मन्दिर साझा हक कायम गर्ने ठहर्‍याएको वागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । म.क्षे.अ. को इन्साफ केही गल्ती ठहर्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम न.नं. ५ को मन्दिर तथा जग्गा प्रतिवादीहरूको एकलौटी हक कायम हुने ठहर्‍याएको म.क्षे.अ. को फैसला उल्टी भएको हुँदा सो सम्बन्धमा म.क्षे.अ. ले कसैको लगत कायम राख्नु परेन । म.क्षे.अ. को फैसला बमोजिम वादीले यस अदालतमा पुनरावेदन गर्दा धरौट राखेको कोर्ट फी रु. ६।पुनरावेदक वादीलाई कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी शुरु का.जि.अ. मा लगत दिनु.......१ माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ. कै फैसला केही उल्टी हुने ठहरेकोले मा.न्या.श्री अरविन्दनाथ आर्चाय तथा मा.न्या.श्री हरिप्रसाद शर्माको उल्टीमा रेकर्ड राख्न स.अ. प्रशासन शाखामा जनाउ दिनु...१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्र बहादुर सिंह

 

इतिसम्वत् २०४४ साल श्रावण १७ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु