शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९२ - जग्गा निखनाई पाउँ भन्ने

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय न. १९२                  ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. ४०

निवेदक, प्रतिवादी : गुणनीधि घिमिरे जैशी

विरुद्ध

विपक्षी : छविन्द्र शर्मा घिमिरे मरी मुद्दा सकार गर्ने निजको स्वास्नी मणिकर्णी ब्राम्हणी

मुद्दा : जग्गा निखनाई पाउँ भन्ने

(१)   साहु आसामीको ९ नं. अनुसार ६ महिनासम्मको अवधिमा थाहा पाएको ३५ दिन भित्र निखन्न पर्ने ।

            साहु आसामीको ९ नं. मा बेचे किनेको मितिले हकवाला यसै सरहदमा भए ६ महिना विदेश गएको भए १ बर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछभन्ने उल्लेख भएको । उक्त ऐनमा ६ महिना बर्ष दिन भित्र भन्ने बोली नपरी सम्ममाभन्ने लेखिएकाले ६ महिना र एक बर्षसम्म थाहा पाउने म्याद र सो अवधिसम्ममा थाहा पाएका ३५ दिन भित्र निखन्ने म्याद दिएको देखिन आएकोले निखन्न पाउने अन्तिम हद ६ महिनासम्म हो र सो अवधिमा थाहा पाएको ३५ दिनभित्र नालेस दिनपर्ने भन्ने निवेदक तर्फका विद्वान वकीलको जिकिर उक्तकानूनको मनसायबमोजिम देखिएन ।

(प्रकरण नं. २०)

(२)   हकदारले निखन्नलाई थाहा पाएको मिति कसरी कायम गर्ने ?

            वादी हकदारै होइन भन्ने प्रतिवादी नपरेकाले र अघि करकाप मुद्दामा पुरुषोत्तमले वारेस दिंदा वादी साक्षी बसेकोबाट थाहा पाएको भन्ने हकमा लिखत पास हुनुभन्दा अगावैको हुनाले सो मिति कायमै मान्न नमिल्ने र वादीको शुरु उजुरीमा म हकदारलाई थाहा नदिई राजिनामा लिन दिन गरेछन र लिखत पासमा नालिस परी पास हुने ठहराई फैसला भई ०१२।४।१३ मा पास गरी लिएछन । सो कुरा ०१२।१०।५ मा नक्कल सारी लिए पछि थाहा पाएभन्ने उल्लेख भएको । यो किसिमबाट नक्कल लिई थाहा पाएको भन्ने नभएकोले अगाडि नै वादीले यो कुरा थाहा पाईसकेपछि मात्र नक्कल लिन गएको भन्ने झल्किन आए पनि लिखत पास भएपछि यो मितिमा वादीले थाहा पाएको भनी प्रतिवादीले सबुद पुर्‍याई खण्डन गर्न नसकेको हुनाले वादीले थाहा पाए भनेको ०१२।१०।५ गते नै थाहा पाएको मिति कायम मान्नु पर्ने हुन आई कानूनको अवधि भित्रैको वादीको दावी उजुर परेको देखिंदा वादीले निखन्न पाउने नै देखिन ठहर्न आएकोले निजले निखन्न पाउने गरी ०१४।११।१५ मा डिभिजन बेञ्चबाट भएको फैसला मनासिव छ ।

(प्रकरण नं. २२)

निवेदकतर्फबाट      : विद्वान वकील श्री कृष्णप्रसाद उपाध्याय

विपक्षीतर्फबाट : विद्वान प्लिडर श्री इच्छाहर्ष

फैसला

      १.     यसमा डिभिजन बेञ्चबाट ०१४।११।१५।४ मा फैसला भए उपर दोहराइ पाउँ भन्ने निवेदकको बिन्तिपत्र परी दोहराई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई आई दायर भई दुवै थरी झगडीया राखी पेश हुन आएको यो मुद्दा हेर्दा,

      २.    मेरो सहोदर दाजु पुरुषँेत्तमले गुणनिधिलाई दुर्गा फाँट भन्ने खेत मुरी ।२० मोहरू ५८२५। मा म हकदारलाई समेत थाहा नदिई घरायसमा राजिनामा गरी दिई पास गराइ पाउँ भन्ने साहुको नालेस परी पास हुने ठहराई पाल्पा अदालतबाट फैसला भई ०१२।४।१३ मा पाल्पा मालबाट पास गराइ लिएको ०१२।१०।५ मा नक्कल लिंदा थाहा भयो । साहु गुणनिधिसँग निखन्न देउ भन्न जाँदा निखन्न दिएन । थैली धरौट राख्न ल्याएको छु । सो थैली साहुलाई बुझाई जग्गा निखनाई पाउँ भन्नेसमेत छविन्द्र शर्माको ०१२।१०।१३ को दर्खास्त ।

      ३.    यही जग्गा ०१०।११।१६ मा घरायसमा राजिनामा लिएमा करकाप गरे भन्ने आसामी पुरुषोतमले म उपर पाल्पा अदालतमा उजुर दिएको । ०११ साल चैत्रमा डिसमिस भएको र सो राजिनामा ०१२।४।१२ गते पास गराई लिएको । ०११।१०।१३ साल देखि नै जग्गा मैले भोग गरेको । गाउँ घरमै भएको वादीले मौकामा थाहा पाएको ३५ दिन भित्र उजुर गर्न नसकेको र पास भएको ०१२।४।१३ ले ०१२।१०।१२ गते ६ महिना पुगेकोमा ऐ. १३ गते ६ महिना नाघेपछि उजुर गरेको हुँदा खारेज हुनुपर्ने । थैली बुझ्न कर नलाग्ने भन्नेसमेत गुणनिधिको ०१२।१२।१२।१ को कागज ।

      ४.    अगावै थाहा पाएको प्रमाण दिन नसकेको र पास भएको ०१२।४।१३ को मितिले म्याद ६ महिना भित्रकै उजुर देखिने र वादी हकदार होइन भन्न नसकेकोले समेत थैली बुझी निखन्न दिनपर्ने निखन्न नदिएको ठहर्छ । धरौट राखेको थैली ऐन सवालबमोजिम म्याद भित्र लिन आएमा साहुलाई दिने । उजुरवालालाई जग्गाको चलन पुर्जी गरी दिन भन्नेसमेत गुल्मी तम्घास मालको ०१२।१२।१९ को पर्चा ।

      ५.    सो उपर चित्त बुझेन भन्ने प्रतिवादी गुणनिधिको अपील ।

      ६.    अ.बं. ७० नं. ले हदम्याद तारिखको लागि दिनको हिसाब गर्नुपर्दा महिना बर्ष तोकिएकोमा जति दिनको महिना भए पनि सक्रान्तिले हिसाब गर्नु भन्ने किटिएको । ०१२।४।१३ ले ०१२।१०।१२ मा ६ महिना पुग्ने । ऐ. १३ गते ६ महिना १ दिन हुने र विदेश गएको थिएँ भन्न नसकेकोले साहु आसामीको ९ नं. ले सरहदमा हुनेले ६ महिना भित्रैको थाहा पाएका ३५ दिन भित्र उजुर गर्नुपर्ने । सो हद नाघेपछि उजुर गरेको हुँदा दण्ड सजायको ५० नं. ले खारेज हुने ठहर्छ भन्ने पाल्पा अपीलको ०१३।२।२१।१ को फैसला ।

      ७.    सो उपर चित्त बुझेन भन्ने वादी छविन्द्रको अपील ।

      ८.    साहु आसामीको ९ नं. बारेको फुलकोर्टको ०१३।१०।५ को निर्णयले वादी यसै सरहदमा हुँदा थाहा पाउनालाई ६ महिनाको म्याद र सो थाहा पाएका ३५ दिन भित्र थैली धरौट राखी निखन्न पाउँ भनी उजुर गर्ने म्याद पाएको देखिएको र वादीले सो म्याद भन्दा अगावै थाहा पाएको भन्ने सबुद केही मिसिल सामेल रहेको नदेखिएकोले उजुर खारेज हुन्छ भन्न मनासिव नदेखिएकोले छलफललाई प्रतिवादीलाई झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१३।११।८।३ को सिंगलबेञ्चको आदेश ।

      ९.    पाल्पा अपीलबाट फैसला भईसकेपछि ०१३।१०।५ मा भएको फुलकोर्टको निर्णयबाट समेत निखन्न पाउने म्याद भित्रै वादीले थैली धरौट राखेको देखिएकोले निखन्न पाउने ठहराएको ०१३।११।८ को सिंगलबेञ्चको राय मनासिव छ भन्ने डिभिजन बेञ्चको ०१४।११।१५ को फैसला ।

      १०.    वादी घर गाउँमै भई करकाप मुद्दाको वारिसनामामा सहीछाप समेत गरेकोले थाहा पाएको ३५ दिन भित्र उजुर गर्नुपर्ने नगरेबाट म्याद गैसकेको कुरामा पास भएको मिति भन्ने ऐन छँदाछँदै नलाग्ने अर्थ लगाई निखन्न नपाउने गरी डिभिजन बेञ्चबाट फैसला भयो । दोहराई दिनु भन्ने प्रंमागी पाउँ भन्नेसमेत गुणनिधिको बिन्तिपत्र ।

      ११.    उक्त बिन्तिपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए दोहराई ऐन सवालबमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भन्नेसमेत मौसुफको प्रमुख निजी सचीवालयको ०१६।४।१५।५ को पत्र ।

      १२.   बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने श्री का.मु. प्रधान न्यायाधीज्यूबाट भएको ०१६।६।१४ को आदेश ।

      १३.   वादी छविन्द्र शर्मा राखी छलफल गर्न निज वादीलाई झिकाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१८।६।२।२ को आदेश ।

      १४.   मिलापत्र गर्नालाई कारणी झगडीया हाजिर गर्न महिनाको समय पाउँ भनी दुवै पक्षका वारेसले बेञ्चमा निवेदन गरेकाले वारेस दिने कारणी झगडीया हाजिर गराउनु भनी १ महिनाको तारेख तोकी दिनु भन्ने फुल बेञ्चबाट भएको ०१९।३।२६ को आदेश ।

      १५.   मिल्ने इच्छापत्र दर्खास्तहरू समेत मिसिलमा पेश भईरहेको देखिएकोले दुवै थर झगडीयालाई म्याद दिई झिकाई निजहरू मिलापत्र गर्नेनगर्ने समेत के हो ? बुझी मिलापत्र नगर्ने भनेमा सोही व्यहोराको र मिलापत्र गर्न भनेमा बक्सौनी समेत लिई मिलापत्र गर्न सर्वोच्च अदालतमा हाजिर हुन जानु नगए मुद्दा फैसला हुनेछ भनी हाजिर हुने यथोचित समयसमेत तोकी सुनाई सो व्यहोराको कागज गराई पठाई दिनु भनी गुल्मी इ. अदालतलाई लेखी पठाई सो कागज भई आएपछि पेश गर्नु भन्ने फुल बेञ्चबाट भएको ०१९।५।२२।६ को आदेश ।

      १६.    सो मुद्दामा मिलापत्र नगर्ने भएकाले फैसला नै गरी पाउँ भन्ने गुणनिधि घिमिरेको ०१९।७।६।२ को दर्खास्त ।

      १७.   यसमा निवेदक, प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वकील कृष्णप्रसाद उपाध्यायले साहु आसामीको ९ नं. अनुसार सरहदमा भएको हकवालाले ६ महिना भित्र थाहा पाएको ३५ दिनसम्मा नालिस गर्नुपर्ने प्रस्तुत मुद्दामा पास भएको मितिले ६ महिना नघाई नालेस गरेको र माललाई भएको ०४ सालको सनदबमोजिम मेरो पक्षले म्याद नाघेकोले निखन्न दिन मञ्जुर छैन भनी मनासिव कारण देखाएपछि अदालतमा पठाउनु पर्ने आफैले फैसला गरेकोले मालले आफूले पाएको अधिकार बेगर मुद्दा किनारा गरेको हुँदा मुद्दा खारेज हुनु पर्ने भनी र वादीतर्फबाट रहनुभएका विद्वान वकील इच्छाहर्षले साहु आसामीको ९ नं. मा सम्ममाभन्ने लेखेकोले सो ६ महिनासम्मको अवधि थाहा पाउनका लागि राखिएको हो । सो अवधिको अन्तिम दिनमा थाहा पाए पनि सो दिनबाट ३५ दिन उजुर दिने म्याद पाउने । ६ महिना भित्रै नालेस दिनु पर्ने कुरामा भित्र भन्ने शब्दहरू अन्य ऐनहरूमा पाईन्छन् । मालले सनद अन्तर्गत नै निर्णय गरेकोले निखन्न पाउने भनी डिभिजन बेञ्चबाट भएको इन्साफ सदर हुनुपर्ने भन्नेसमेत बहस गर्नुभयो ।

      १८.   उपरोक्त विवरणहरूबाट प्रस्तुत मुद्दामा वादी उजुरी म्याद भित्रको हो होइन र निजले निखन्न पाउने हो होइन ? भन्ने कुरा निर्णय गरी मुद्दा किनारा गर्नुपर्ने देखियो ।

      १९.    प्रस्तुत मुद्दाको उजुरी घरसारमा लिखत हुँदा सहीछाप नगर्ने वादीले रजिष्ट्रेशन पास भएको मिति ०१२।४।१३। बाट १२।१०।१३ गते अर्थात ६ महिना १ दिनको दिन दायर गरेको रहेछ।

      २०.   साहु आसामीको ९ नं. मा बेचे किनेका मितिले हकवाला यसै सरहदमा भए ६ महिना र विदेश गएको भए १ बर्षसम्म थाहा पाएका ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउँछभन्ने उल्लेख भएको । उक्त ऐनमा ६ महिना बर्ष दिन भित्र भन्ने बोली नपरी सम्ममाभन्ने लेखिएकोले ६ महिना र १ बर्षसम्म थाहा पाउने म्याद र सो अबधिसम्म थाहा पाएका ३५ दिनभित्र निखन्ने म्याद दिएको देखिन आएकाले निखन्न पाउने अन्तिमा हद ६ महिनासम्म हो र सो अवधिमा थाहा पाएको ३५ दिन भित्र नालेस दिन पर्ने भन्ने निवेदकतर्फका विद्वान वकीलको जिकिर उक्त कानूनको मनसायबमोजिम देखिएन ।

      २१.   मालले अनाधिकृत फैसला गरेकोले मुद्दा खारेज हुनुपर्ने भन्ने हकमा माललाई भएको ०४।४।६ को सनदमा मनासिव माफिकको कारण बताइ थैली बुझी लिन मञ्जुर नगरेमा नालेस गर्नु भनी सुनाउनुभन्ने लेखिएको । प्रस्तुत मुद्दामा म्याद भित्र परेको उजुरीलाई म्याद नाघेकोले थैली बुझ्न कर नलाग्ने भन्ने जिकिर मनासिव कारण मान्न नभएकोले मालले सनद काटी फैसला गरे भन्ने जिकिर पनि मनासिव देखिएन ।

      २२.   वादी हकदारै हैन भन्ने प्रतिवादी नपरेकोले र अघि करकाप मुद्दामा पुरुषँेत्तमले वारेस दिंदा वादी साक्षी बसेकोबाट थाहा पाएको भन्ने हकमा लिखत पास हुनुभन्दा अगावैको हुनाले सो मिति कायमै मान्न नमिल्ने र वादीको शुरु उजुरीमा म हकदारलाई थाहा नदिई राजिनामा लिन दिन गरेछन र लिखत पासमा नालिस परी पास हुने ठहराई फैसला भई ०१२।४।१३ मा पास गरी लिएछन । सो कुरा ०१२।१०।५ मा नक्कल सारी लिएपछि थाहा पाएभन्ने उल्लेख भएको । यो किसिमबाट नक्कल लिई थाहा पाएको भन्ने नभएकाले अगाडि नै वादीले यो कुरा थाहा पाईसकेपछि मात्र नक्कल लिन गएको भन्ने झल्किन आए पनि लिखत पास भएपछि यो मितिमा वादीले थाहा पाएको भनी प्रतिवादीले सबुद पुर्‍याई खण्डन गर्न नसकेको हुनाले वादीले थाहा पाए भनेको ०१२।१०।५ गते नै थाहा पाएको मिति कायम मान्नु पर्ने हुन आई कानूनको अवधि भित्रैको वादीको दावी उजुर परेको देखिँदा वादीले निखन्न पाउने नै देखिन ठहर्न आएकोले निजले निखन्न पाउने गरी ०१४।११।१५ मा डिभिजन बेञ्चबाट भएको फैसला मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी गुणनिधि घिमिरे के इन्साफ दोहर्‍याएमा शुरु दण्ड ने.रु. १४।५। को हा.क. का ११। नं. ले दशौंद ने.रु. १४।५० दण्ड हुन्छ । बेरुजु हुँदा असुल गर्नु भनी तहसीलमा लगतदिनु ................१

नियमबमोजिम मिसिल बुझाई दिनु .........................  २

 

इति सम्वत् २०१९ साल कात्तिक २४ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु