निर्णय नं. २६८८ - कीर्ते जालसाजी

निर्णय नं. २६८८ ने.का.प. २०४३ २०४३ अङ्क – ४
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४१ सालको फौ.पु.नं. ६६४५
फैसला भएको मिति : २०४३।४।१६।५ मा
पुनरावेदक/वादी : जि.सुनसरी भवानी गा.पं.वार्ड नं. ३ बस्ने बेचु साहुतेली
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.वार्ड नं. ४ बस्ने रामप्रसाद साहुतेलीसमेत
मुद्दा : कीर्ते जालसाजी
(१) विशेषज्ञको रायलाई प्रमाणमा लिनको लागि राय दिने विशेषज्ञलाई साक्षी सरह बकपत्र गराई उक्त रायलाई समर्थन गराउन आवश्यक पर्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह
फैसला
न्या. पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।
२. मेरो नाउँ दर्ताको सतेर झोरा गा.पं.वार्ड नं. २(ख) कि.नं.६०, ६३ को जग्गामा मलाई ऋणी बनाई विपक्षी रामप्रसाद साहू भई के कुन व्यक्तिलाई सहिछाप गराई राजीनामा गराएछन् सो राजीनामा पास गराई पाउँ भनी अदालतमा नालेश गरी पास हुने ठहरी फैसला भएको कुरा मैले थाहा पाई माल अड्डामा गई नक्कल सारी लिंदा मेरा नाउँमा उक्त कि.नं. ६३–०–१५–१४½ जग्गा रु.५९४५।– थैली राखी ०३४।९।१५ मा कीर्ते लिखत खडा गरी ०३६।४।२४ मा एकतर्फी फैसला भएको कुरा जानकारी भएकोले फिराद गर्न आएको छु । मेरो हक मेट्ने गरी कीर्ते सहिछाप गरी गराई कीर्ते लिखत खडा गरेमा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराका बेचू साहूको दावी ।
३. वादी दावी झुठ्ठा हो वादीलाई रु.५९४५।– दिई हामी लेखक र कलमीलाई सहिछाप गर्न लगाई वादीले रुपैयाँ बुझिलिई राजीखुसीले सहिछाप गरी दिएका हुन्, कारणाीको ठाउँमा लागेको सहिछाप वादीकै हो, कीर्ते लिखित खडा गरेको होइन भन्ने समेत व्यहोराको रामप्रसाद समेतका संयुक्त प्रतिउत्तरपत्र ।
४. रेखा तथा लेखा विशेषज्ञको राय अनुसार निज बेचू शाहका ल्याप्चे सहिछाप भिडेको देखिँदा मेरो होइन भन्ने अवस्था कारणीका देखिएन । अतः वादी दावा झुठ्ठा ठहर्छ भन्ने समेतको सुनसरी जि.अ.को ०३७।३।९ को फैसला ।
५. उक्त फैसला उपर को.अं.अ. मा वादीको पुनरावेदन परेकोमा शुरु इन्साफ मनासिब ठहर्याई ०३८।३।१६ मा फैसला भएको रहेछ ।
६. उक्त को.अं.अ.को समेत इन्साफमा चित्त बुझेन भनी वादीको पुनरावेदनको अनुमतिको लागि पू.क्षे.अ.मा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुँदा शुरु तथा अञ्चलको इन्साफ मनासिबै ठहर्याई मिति ०४०।५।२७ मा फैसला भएको रहेछ ।
७. उक्त फैसला उपर पुनरावेदनको अनुमतिको लागि वादीको यस अदालतमा निवेदन परी डिभिजनबेञ्चमा पेश हुँदा विशेषज्ञको रायलाई आधार लिएर फैसला भएको तर विशेषज्ञलाई साक्षी सरह नबुझेको प्रमाण ऐनको दफा ५२ को त्रुटि भएको भनी पुनरावेदनको अनुमति प्रदान गरी सो आदेश मुताविक पुनरावेदनमा दर्ता भएको ।
८. विवादीत लिखतमा लागेको ल्याप्चे सहिछाप सम्बन्धमा राय दिने विशेषज्ञलाई साक्षी सरह झिकाई बकपत्र गराएको ।
९. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली तथा विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंहले गर्नुभएको बहस समेत सुनियो ।
१०. अब प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय गर्नु परेको छ ।
११. निर्णयतर्फ विचार गर्दा यसमा वादीले ०३४।९।१५ को रु.५९४५।– थैली भएको राजीनामा लिखत मैले गरी दिएको होइन मेरो नाम राखी प्रतिवादीहरूले कीर्ते लिखत खडा गरेछन् सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी दावी भएकोमा वादीले नै पैसा बुझी लिखत गरी दिएका हुन् कीर्ते लिखत होइन भन्ने समेत प्रतिवादी परेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीले दावी लिए बमोजिम कीर्ते गरी प्रतिवादीहरूले राजीनामाको लिखत खडा गराएको हुन होइनन् ? भन्नेतर्फ विचार गर्नुपर्ने देखिन आयो । लिखतमा लागेको सहिछाप नै कीर्ते हो होइन भन्ने सम्बन्धमा निर्णय गर्दा सबै भन्दा महत्वपूर्ण मानिन्छ– लिखतको स्थिति, त्यसमा लागेको सहिछाप आदिको विचार गर्नु अनिवार्यता रहन्छ । विवादीत लिखत सद्देकीर्ते के रहेछ भन्नको लागि विशेषज्ञको रायले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । प्रस्तुत मुद्दाको विवादीत लिखत विशेषज्ञबाट जाँच गराउँदा रेखात्मक सहिछाप वादीको सहिछापसँग भिडेको भनी विशेषज्ञले राय दिएको देखिन्छ । करकापबाट वादीले सही गरेको पनि भन्न सकेको पाइँदैन । सही नै कीर्ते गरेको भए उक्त रेखात्मक सही मिल्न भिड्न आउन सक्ने स्थिति हुँदैन । विशेषज्ञको रायलाई प्रमाणमा लिनको लागि राय दिने विशेषज्ञलाई साक्षी सरह बकपत्र गराई उक्त रायलाई समर्थन गराउन आवश्यक पर्ने हुन्छ । प्रस्ततु सन्दर्भमा विवादीत लिखतमा लागेको सहिछापको सम्बन्धमा राय दिने विशेषज्ञलाई यस अदालतमा झिकाई बकपत्र गराउँदा विवादीत लिखतमा लागेको रेखात्मक सहिछाप मिलेको भनी आफूले दिएको राय समर्थन गरेबाट वादी दावी बमोजिम प्रतिवादीहरूले कीर्ते गरेको नठहराई शुरु सुनसरी जि.अ.बाट भएको फैसला मनासिब ठहर्याई कोशी अञ्चल अदालतबाट भएको फैसला सदर गरी पू.क्षे.अ.बाट भएको फैसला मनासिबै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम शुरु जरिवाना रु.१४८६।२५ को सयकडा ५ ले हुने रु.७४।३२ पुनरावेदक वादीलाई थप जरीवान हुन्छ । लगत कसी असूल उपर गर्नु भनी सुनसरी जि.अ.लाई लेखी पठाउन का.जि.अ.त. मा लगत दिई नियम बमोजिम मिसिल बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४३ साल श्रावण १६ गते रोज ५ शुभम् ।