शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १९४ - घरको बाहाल भराई घरबाट उठाई पाउँ

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. १९४                  ने.का.प. २०२०

फुल बेञ्च

माननीय न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

दे.फु. नं. १८४

निवेदक, प्रतिवादी : हिरालाल श्रेष्ठ

विरुद्ध

विपक्षी : धर्मदेव तुलाधर

मुद्दा : घरको बाहाल भराई घरबाट उठाई पाउँ

(१)   अपुतालीको २ नं.बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउँदैन ।

            ....मर्नेकासँग बसेका वा भिन्न भई बसेका स्वास्नी छोराहरू अथवा ३ पुस्तासम्मको सँग बसेका हकवाला पनि रहेनछन् । विवाह नभएकी कन्या छोरी मात्र वा विवाह भएका अथवा आफू मिल्दामा पोइल गएका छोरीहरू पनि रहेनछन् भने विवाह भएका र पोइला गएका छोरीले पाउँदैनन् । विवाह नभएका कन्या छोरीले मात्र विवाह नहुन्जेल र आफू मिल्दामा पोइला नजाउन्जेल बाबु आमाको अपुताली पाउँदछन । बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउँदैनन ।

(प्रकरण नं. २२)

(२)   आफ्नो हकभन्दा बढी हक कसैले कसैलाई प्रदान गर्न नसक्ने ।

            अपुतालीको २ नं.बमोजिम बाजेको आर्जनमा कन्या अवस्थामा जीवित रहुन्जेल उपभोग गर्न पाउने हक मात्र लानीदेवीको भएको हुँदा निजको मृत्युको साथै निजको वा निजबाट हक प्राप्त गर्नको उपभोग गर्ने हक स्वतः खतम हुने र आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई प्रदान गर्न नसक्ने हुँदा लानीदेवीको वादीको स्वीकृति बिना गरी दिएको लिखतको आधारमा लानीदेवी मरेपछि घर भोग चलन गर्ने वादीको हक छैन भन्ने र रत्नदेवको अपुतालीका नाताबाट घरमा हक पाउने वादीले लानीदेवीले लिएको ऋण रु. ६५। नतिरेसम्म वादीको बाहाल भराई उठाई पाउँ भन्ने दावी पुग्न सक्तैन भन्ने जिकिर कानून मिल्दो देखिएन ।

(प्रकरण नं. २५)

निवेदकतर्फबाट      : प्लिडर श्री सुधानाथ

विपक्षीतर्फबाट : प्लिडर श्री नारायणप्रसाद

फैसला

      १.     डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याई पाउँ भनी निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को नियम ६२ अन्तर्गत निवेदन परी ऐ. नियमावली ६३ बमोजिम दोहर्‍याउने निस्सा भई पेश हुन आएको यो मुद्दा हेर्दा,

      २.    जेठा धर्मदेव माहिला चन्द्रदेव, कान्छा रत्नदेव भएकोमा अघि नै अंशबण्डा भएकोमा स्वास्नी अघि नै र भाइ रत्नदेव ९६ सालमा मर्दा मेरो हक हुन आएको । छोरो ३ लाई पालनपोषण गरी २ जनाको विवाहसमेत गरी दिई कान्छी लानीदेवी मैसँग रहेको अवस्थामा हिरालालले मलाई बाहालमा बस्न देउ भनी ९७।३।२३।७ मा कबुलियत गरी बस्ने बन्दोबस्त गरी बसेकोमा लानीदेवीलाई बेथा बढेका अवस्थामा लक्ष्मीदेवीले बकसपत्र गराएको केही दिन पछि मरी काज कृया समेत मैले गरी उमेर नपुगेकासँग बकसपत्र गराएकोमा मुद्दा परी प्रधान न्यायालय दोश्राबाट पुर्खाको पालाको घर भन्ने वादीको उजुर भएकोमा ऐनले उठाउन पाउनेसँग दिएको भनी ०७।१२।२ मा फैसला भएको । पुर्खाको पालाको घर अपुतालीका ऐनले उठाउन नपाउने भई मेरै हक रहेको प्र. हिरालाल उठी जाउ भन्दा नउठेको र लक्ष्मीदेवीले उठ्नु पर्दैन भनेकोले सजाय गरी सो घरको ०५ सालदेखि ०७ साल तक बर्ष ३ को बाहाल मोहरू १८०। भराई घरबाट उठाई पाउँ भन्ने धर्मदेवको वादी ।

      ३.    रत्नदेवको भाग कोतवालीका फैसला समेतबाट लानीदेवीको हक भई निजका बकसपत्रबाट लक्ष्मीदेवीको हक भई लानीदेवी छँदै मबाट मोहरू ६५१। मा दृष्टिबन्धक त्यसपछि लानीदेवीको कृया गर्न समेत ०८।१।१५ मा थप समेत जम्मा १६०१। को ब्याजमा भाग गरी आएको हुँदा कबुलियत हात पारी झुट्टा उजुर गरेका हो । म रत्नदेवको घरमा बसेको र निजको छोरी लक्ष्मीदेवी हुँदा हकदैया नपुग्ने वादीको दावीबाट फुर्सद पाउँ भन्ने हिरालालको प्रतिवादी ।

      ४.    सो घरमा मुद्दा परी बहिनी लानीदेवीकै हक भएको बहिनीले मलाई गरी दिएको बकसपत्र सदरै थामी प्रधान न्यायालय दोश्रा फाँटबाट ०७।१२।२ मा फैसला भएकोले वादीको हकै नपुग्नेमा झुट्टा उजुर गरेको हो । मेरो हक भएकोले हिरालालबाट रु. १६०१। कर्जा लिई ब्याजमा निज बसेका हुँदा वादीका दावीबाट फुर्सद गरी पाउँ भन्ने लक्ष्मीदेवीको प्रतिवादी ।

      ५.    लानीदेवी लक्ष्मीदेवीलाई गरी दिएको बकसपत्रमा धर्मदेवको उजुर परेको मुद्दा रजिष्ट्रेशनले लगाउन नहुने ऐन लगाएको अपुतालीको २ नं. ले बाजेको आर्जन लानीदेवीले आधासम्म खुश गर्न पाउने लानीदेवीले हिरालाललाई लेखी दिएको आधा घरको बाहाल रु. ३०। का दरले रु. ९०। भरी पाउने र मुद्दै ०८।७।१८।१ मा छिनिएकोले बीचको बाहालमा घरबाट उठाई पाउँ भन्ने वादीको दावा पुग्दैन भन्नेसमेत रा.का.दे.दो. को फैसला ।

      ६.    चित्त बुझेन भन्ने वादी धर्मदेवको अपील ।

      ७.    चित्त बुझेन भन्ने प्रतिवादी हिरालाल समेतको अपील ।

      ८.    प्रमाण निमित्त पेश भएको लक्ष्मीदेवीको र धर्मदेवको बकसपत्र बदर मुद्दा प्रधान न्यायालय दोश्राबाट लानीदेवीले लक्ष्मीदेवीलाई अपुतालीका २ नं. ले उठाउन पाउने जति बकस दिएको सदर गरी माननीय प्रधान न्यायाधीशबाट फैसला भएको देखिएको अपुतालीको २ नं. मा बाजेका आर्जनमा आधीसम्म दिन पाउने भएको र सो घर बाजेको आर्जनको भन्ने मिसिल लेखाईबाट देखिएकोले शुरुको इन्साफ सदर भन्ने अपील पहिलाको फैसला ।

      ९.    सो इन्साफमा चित्त बुझेन भन्ने धर्मदेवको अपील ।

      १०.    सो इन्साफमा चित्त बुझेन भन्ने हिरालाल समेतको अपील ।

      ११.    बाहाल भराई घरबाट उठाई पाउँ भन्ने वादीको दावा भएको । ०६ साल आश्विनमा लानीदेवीले सो घर हिरालाललाई भोगबन्धकी दिएको देखिएको । भोगबन्धकी दिए भन्दा अघिको बाहाल बाँकी भए लानीदेवीले नै खोजी गर्न पर्नेमा भोगबन्धकी दिंदा हरहिसाब भईसकेको भन्नु पर्ने । भोगबन्धकीबाटै साहुले भोग गर्न पाउने हुँदा सो घरको बाहाल पाउँ उठाई पाउँ भन्नेसमेत वादीको दावा झुठ्ठा, शुरु अपीलको गल्ती भन्ने प्र.न्या. सिंगलबेञ्चको फैसला ।

      १२.   उक्त इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने धर्मदेवको निवेदनपत्र ।

      १३.   हाल प्रकाश भएका गजेटबमोजिम मुद्दा दोहर्‍याई पाउँ भन्ने निवेदन सिंगलबेञ्चमा पेश हुँदा ०११।४।१८ मा प्र.न्या. बाट छिनिएकोमा ०१४।२।१० गते मुद्दा दोहर्‍याई दिने शाही आदेश भएकाले सो म्याद ०१४।३।१२ मा टाँस भएको मिति भन्दा अगावै ०१४।२।१७ मा यो निवेदन परेकाले रिभ्यूको निस्सा गरी दिने भन्ने सिंगलबेञ्चको आदेश ।

      १४.   पूर्णकुमारीले लक्ष्मीदेवीबाट फास्र्या गराई लिएको लिखत प्रधान न्यायाधीशबाट ०८।७।१८ को फैसलाले अपुतालीका २ नं. ले पाउने जति भन्नेसमेत उल्लेख भएको देखिएको र अपुुतालीका २ नं. मा विवाह नभएको कन्या छोरीले विवाह नहुन्जेल र आफू मिल्दामा पाइल नजाउन्जेल बाबु आमाको अपुताली ब्यहोर्न पाउँछन । बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउदैनन भन्ने भएकाले र यो बिक्री भएको घर पुर्खाका पालाको देखिएकोले धनी पूर्णकुमारी, ऋणी लक्ष्मीदेवी भई ०८।८।२० को मोहरू ३००१। को लिखत बदर हुने ठहरी मि.नं. ११६८ नं. को लिखत बदर मुद्दा आजै फैसला भएको देखिएकोले बाहालै नपाउने ठहराएको ०११।४।१८।२ को प्रधान न्यायालय सिंगलबेञ्चको इन्साफमा यस बेञ्चको सहमती नहुँदा नियमबमोजिम प्रतिवादीहरूलाई छलफलको म्याद दिई झिकाई नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चबाट भएको ०१५।१२।२।४।२ को आदेश ।

      १५.   अपुतालीको २ नं. मा बाजेको आर्जन बेचबिखन गर्न नपाउने उल्लेख भएको र रु. ३००१। को लिखत बदर भईसकेको देखिएकोले शुरु अपीलको केही उल्टी र प्रधान न्यायालय सिंगलबेञ्चको पुरै उल्टी गरी वादीले बाहाल भराई घरबाट उठाउन पाउने समेत ठहर्छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

      १६.    अपुतालीको २ नं. का ऐन र लेखिएको न्यायालय लगायतका फैसलाहरूले समेत आधीलाई कसैले केही गर्न नहुने आधीको हकमा पनि सोही ऐनले समेत मैले खरीद गरी लिएको सदरै गराई इन्साफ हुनुपर्नेमा सो नभई गरेका इन्साफ दोहराई पाउँ भन्ने हिरालालले दिएको निवेदनमा यसमा पुर्णकुमारी श्रेष्ठनीले लिखत बदर मुद्दा एकपटक दोहराई हेरी ऐन सवालबमोजिम गरी दिनु भन्ने हुकुमको प्रमांगी पाउँ भन्ने श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए दोहराई दिई ऐन सवालबमोजिम गर्नु भन्ने हुकुम बक्सेको भनी मौसुफका प्रमुख निजी सचीवालयबाट ०१६।१२।३०।३ को चिठ्ठी यस सर्वोच्च अदालतमा दाखिल हुन आएकोले यो घर बाहाल मुद्दासमेत उक्त मुद्दाकै लगाउको देखिएकाले यो मुद्दासमेत हेर्नुपर्ने हुन आएबाट उक्त हुकुम प्रमांगीबमोजिम गर्नु हुन यो मुद्दा पनि दर्ता गरी स.अ. नियमावलीबमोजिम कजलिष्टमा चढाई साथै बेञ्चमा पेशगर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।

      १७.   निवेदक पूर्णकुमारीको र धर्मदेवको लिखत बदर मुद्दा हुकुम प्रमांगीबमोजिम दोहरिएकोमा आज पेश भई इन्साफ सिंगलबेञ्चबाट फैसला भएका अर्थात प्रधान न्यायाधीशबाट भएको फैसला सदर भई छिनिएको यो घर बाहाल मुद्दा डिभिजन बेञ्चमा पेश हुने भएको । आज छिनिएको लिखत बदर मुद्दा साथै पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश भए पनि डिभिजनमा पेश हुने निवेदन सिंगलबाट हेर्न नहुने भएकाले सो लिखत बदर मुद्दासमेत साथै प्रमाणमा राखी यो घर बाहाल मुद्दातर्फको निवेदन डिभिजन बेञ्चमा पेशगर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश ।

      १८.   निवेदक, प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वकील प्लिडर सुधानाथले बाहाल भराइ पाउँ भनेको घर रु. ६५१। मा ०६।६।३ मा लानीदेवीले बन्धकी दिएको हुनाले सो थैली तिरेसम्म भोग चलन गर्ने हक मेरो पक्ष प्रतिवादी हिरालालको भएको । सो बन्धकी लिखतको रुपैयाँ ०८।९।२० गते मात्र न्हेडिक तिरिएको हुनाले सो भन्दा अगाडि बाहाल बुझाउने कुरै उठ्दैन । साहु आसामीको २२ नं. ले लानीदेवीले लगाएको ऋण नतिरी अपुताली खानेवालाको हक नपुग्ने र सो नतिरेसम्म बाहालमा दावी गर्न नपाउने । फिराद दायर भएको । ०८।२।१७ मा घरबाट उठाई पाउँ भन्ने दावी गर्न वादीलाई हकै नभएको । सो पछि मात्र न्हेडिक तिरिएको छ । लानीदेवी ०६ सालमा मरेकी । निज जीवित अवस्थाको ०५ सालसमेतको बाहालमा दावी गरेकै नहुनाले अ.बं. १०६ नं. ले खारेज हुने । सो बन्धकी लिखतको रुपैयाँ लक्ष्मीदेवीले तिरेको हुनाले लख सरह लक्ष्मीदेवीको हुने हुँदा सो थैली नतिरेसम्म वादीको बाहाल पाउने हक छैन । अतः यो उजुर नै खारेज हुनुपर्ने भनी र वादी धर्मदेवतर्फबाट रहनुभएको प्लिडर नारायणप्रसादले विपक्ष प्रतिवादीले लक्ष्मीदेवीले गरी दिएको रु. १६०१। को लिखतको नाताबाट भोग गरेको भन्नेको रु. ६५१। को लिखतको नाताले होइन । सो लिखत फट्टा भईसकेको, रु. १६०१। को लिखतले भोग गर्न पाउने हो होइन ? सो पनि पुर्णकुमारीलाई गरी दिएको रु. ३०००। को लिखतमा गाभिएको लक्ष्मीदवीले दावी गर्न आएमा रु. ६५१। को प्रश्न उठ्छ । प्रतिवादीको रुपैयाँ तिरी सकेकाले उहाँको केही हक छैन । बेच भनेको बिक्री र बिखन भनेको बन्धकी हुँदा अपुतालीका २ नं. ले जसलाई बिक्री गर्ने हक छ, उसले मात्र बन्धकी दिन पाउने हुँदा बिक्री गर्ने हक नभएकी लानीदेवीले बन्धकी दिने हक नभएको । ०५ सालको बाहालमा दावी नलाग्ने भन्ने हकमा लानीदेवी मरेपछि हकवालाले पाउने हुँदा डिभिजन बेञ्चबाट भएको फैसला न्यायसङ्गत छ । सोही कायम रहनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।

      १९.    उपरोक्त विवरणहरूबाट प्रस्तुत मुद्दामा निम्नलिखत २ प्रश्नको निरोपण गर्नुपर्ने हुन आयो ।

(१)    झगडा परेको घरमा वादीको हक पुग्ने हो होइन ?

(२)   हक पुग्ने हो भने दावीबमोजिम बाहाल भराई घरबाट उठाउन पाउने हो होइन ?

      २०.   प्रधान न्यायालय दोश्राका ०७।१२।२ का फैसलाबाट मेरो हक भएको भन्ने वादी र सो फैसलाले मेरो हक लाग्ने भन्ने लक्ष्मीदेवी र लक्ष्मीदेवीको हक हुँदा वादी दावा नलाग्ने भन्नेसमेत हिरालालको जिकिर हुनाले ०७।१२।२ मा प्रधान न्यायालय दोश्रा फाँटबाट फैसला भएको वादी यिनै धर्मदेव प्रतिवादीसमेत भएको बकस बदर मुद्दा हेर्दा, सो फैसलाउपर वादी धर्मदेवको उजुरबाट दोहरिई ऐनले उठाउन पाउने जति बकसपत्र लेखी दिएको सदर ठहराएको इन्साफ प्रधान न्याँयलय दोश्राको मनासिव भनी ०८।७।१८।१ मा किनारा लागेको रहेछ ।

      २१.   लक्ष्मीदेवीले यी प्रतिवादी हिरालाको श्रीमती पुर्णकुमारीलाई रु. ३००१। मा ०८।८।२० मा यही घर फार्छे गरिदिएको मुद्दामा अपुतालीका २ नं. ले पाउने जति बकसपत्र सदर गरी प्रधान न्यायालयबाट फैसला भएको र उक्त ऐनमा बाजेका आर्जनको अचल बेचबिखन दानदातव्य गर्न पाउँदैन भन्ने लेखिएको भनी लिखत बदर गर्ने गरेको इन्साफ शुरु अपीलको मनासिव ठहराई ०१५।१२।२४ गते सिंगलबेञ्चले गरेको इन्साफ उपर दोहरिंदा पनि सोही सदर भई ०१७।१०।१०।२ मा सर्वोच्च अदालत सिंगलबेञ्चबाट अन्तिम किनारा लागेको पनि प्रमाण मिसिलबाट देखिन आयो ।

      २२.   उक्त फैसलाहरू अपुतालीको २ न.को आधारमा गरेको देखिएकोले सो अपुतालीको २ नं. हेर्दा, मर्नेको सँगै बसेका वा भिन्न भई बसेको स्वास्नी छोराहरू अथवा ३ पुस्तासम्मको सँगै बसेका हकवाला पनि रहेनछन । विवाह नभएकी कन्या छोरी मात्र वा विवाह भएका अथवा आफू मिल्दामा पोइला गएका छोरीहरू पनि रहेछन भने विवाह भएका र पोइला गएका छोरीले पाउँदैनन । विवाह नभएका कन्या छोरीले मात्र विवाह नहुन्जेल र आफू मिल्दामा पोइला नजाउन्जेल बाबु आमाको अपुताली व्यहोर्न पाउँछन । बाजेका आर्जनको अचल बेचबिखन दानदातब्य गर्न पाउँदैनन भन्ने उल्लेख भएको ।

      २३.   झगडा परेको घर मिसिल प्रमाणबाट पुर्खौली भन्ने देखिएकाले रत्नदेव मरेपछि निजकी कन्या छोरी लानीदेवीले उक्त ऐनले निर्देश गरेबमोजिम विवाह नहुन्जेल र आफू मिल्दामा पोइला नजाउन्जेल व्यहोर्न पाउने । बेचबिखन दानदातब्य गर्न नपाउने र कन्या अवस्थामै निज लानीदेवीको ०६।८।२५ गते मृत्यु भएको देखिएकोले रत्नदेवको अपुताली परेको पुर्खौली घरमा ऐनबमोजिम तीन पुस्ताका हकवाल वादीको हक हुन आउने हुनाले वादीको हक नपुग्ने भन्ने प्रतिवादीको जिकिर मनासिव देखिएन ।

      २४.   वादी दावीबमोजिम बाहाल भरी पाउने नपाउने के हो ? त्यसतर्फ विचार गर्दा, लानीदेवीको मृत्यु भन्दा अगावै ०६ साल आश्विन ३ गतेमा लानीदेवीको घर दृष्टिबन्धक दिई कर्जा लिएको देखिएको । सो कर्जा रु. ६५१। लानीदेवीले प्र. हिरालाललाई तिर्न बाँकी नै रहेको देखिँदा ०५ सालदेखि लानीदेवी मरेको ०६।८।२५ गते तकको बाहाल बाँकी भन्न नमिल्ने हुँदा त्यसमा पनि वादी दावी पुग्ने देखिएन ।

      २५.   अपुतालीका २ नं.बमोजिम बाजेको आर्जनमा कन्या अवस्थामा जीवित रहुन्जेल उपभोग गर्न पाउने हक मात्र लानीदेवीको भएको हुँदा निजको मृत्युको साथै निजको वा निजबाट हक प्राप्त गर्नेको हक स्वतः खतम हुने र आफ्नो हक भन्दा बढी हक कसैले कसैलाई प्रदान गर्न नसक्ने हुँदा लानीदेवीले वादीको स्वीकृति बिना गरी दिएको लिखतको आधारमा लानीदेवी मरेपछि घर भोगचलन गर्ने वादीको हक छैन भन्न र रत्नदेवको अपुतालीको नाताबाट घरमा हक पाउने । वादीले लानीदेवीले लिएको ऋण रु. ६५१। नतिरेसम्म वादीको बाहाल भराई उठाई पाउँ भन्ने दावी पुग्न सक्तैन भन्ने जिकिर कानून मिल्दो देखिएन ।

      २६.   तसर्थ, ०५ साल देखि लानीदेवी मरेका ०६।८।२५ तकको दामासाहीले हुने बाहाल ने.रु. ९९।१६ भराई पाउँ भन्ने दावी नपुग्ने र ०६।८।२६ देखि वादीको हक हुन ०७ सालसम्मको दामासाहीले पाउने बाहाल ने.रु. ८०।८४ वादी धर्मदेवले प्रतिवादी हिरालालबाट भरी पाउने र घरबाटसमेत उठाउन पाउने ठहर्छ । डिभिजन बेञ्चको केही उल्टी हुँदा अरु तपसीलबमोजिम गर्नु।

 

तपसील

वादी धर्मदेव तुलाधरके माथि लेखिएबमोजि ठहरेकोले भरी नपाउने बिगो ने.रु ९९।१६ वापतको कोर्टफी ने.रु. ४।९६ जफत हुने हुँदा सो बाहेकको कोर्टफी ने.रु. ९।४ र बिगो ने.रु. ८०।८४ समेत जम्मा ने.रु. ८९।८८ प्र. हिरालालबाट भरी पाउँ भनी ऐनका म्याद भित्र वादीको दर्खास्त परेमा बिगोतर्फ २।। दस्तूर लिई कोर्टफीतर्फ केही नलिई भराई दिनु भनी का.दे.त. मा लगत दिनु ...........................१

माथि लेखिएबमोजिम हाल भरी पाउने ठहरेको बिगो कोर्टफीको १ दफाबमोजिम छुट्टै लगत हुने भएकोले सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१६।५।१४।१ को फैसला र ०१८।१।२७ को लगतले प्र. हिरालालबाट वादी धर्मदेवलाई भराई दिने गरेका बिगो कोर्टफीसमेत जम्मा रु. १९४। को लगत काटी दिनु भनी ऐ.ऐ. ...............................२

नियमबमोजिम मिसिल बुझाई दिनु ............................. ३

 

इति सम्वत् २०१९ साल मार्ग १९ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु